`

पावर ट्रेडर र प्रशारण लाइन अपरेटरको हिसावले निजी क्षेत्रलाई भित्राउन सकिन्छ : हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पावर ट्रेडर र प्रशारण लाइन अपरेटरको हिसावले निजी क्षेत्रलाई भित्र्याउनका लागि आफूहरु सकारात्मक रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानको वार्षिकोत्सव समारोहमा बोल्दै शाक्यले आन्तरिक बजारमा खपत नहुने बिजुली विक्री गर्नका लागि निजी क्षेत्रलाई लाइसेन्स दिएर अघि बढ्नेबारे आफूहरु सकारात्मक रहेको बताए ।

निजी क्षेत्रलाई अघि बढाउने विषयमा आफू सदैव सकारात्मक रहेको उनको भनाइ छ । शाक्यले निजी क्षेत्रलाई पावर ट्रेडिङ र प्रशारण लाइन सञ्चालनमा भित्र्याउन प्राधिकरणले आवश्यक गृहकार्य अघि बढाएको बताए । कार्यकारी निर्देशक शाक्यकाअनुसार अहिले प्राधिकरणसँग भएका पीपीएहरूमा गरिएको गृहकार्य मुख्य रूपले आन्तरिक बजारमा खपत नहुने बिजुली भारतलगायत वाह्य बजारमा विक्री गर्न केन्द्रित थियो । यो प्रयास नै बिजुली विक्रेताका रूपमा निजी क्षेत्रलाई भित्र्याउने पहिलो कदम भएको उनको भनाइ छ । प्रशारण लाइनमा पनि निजी क्षेत्रको सहभागिता बढाउन तयारी भइरहेको उनले जानकारी दिए । निजी क्षेत्रलाई प्रशारण लाइनमा खुला पहुँच दिने सम्बन्धमा ब्रेकथ्रु भइसकेको र नेपाल सरकारले केही मोडलहरू पास गरिसकेको उनले उल्लेख गरे ।

यद्दपि, प्रशारण शुल्क (ट्रान्समिसन चार्ज) निर्धारणको विषय अझै छलफल चरणमा रहेको उनले बताए । ट्रेडिङ लाइसेन्स दिन सकिने व्यवस्था आए पनि त्यसका लागि नियमावली निर्माण आवश्यक रहेको उनको भनाइ छ । नियमावली नबन्दासम्मको वैकल्पिक व्यवस्था स्वरूप नेपाल पावर ट्रेडिङ कम्पनीलाई सञ्चालनमा ल्याउने निर्णय गरिएको उनले बताए । उनकाअनुसार यो कम्पनीलाई अब सञ्चालन (अपरेशनलाइज) गरेर अघि बढाइनेछ । सरकारी कम्पनीहरूबाट पीपीए गरी आवश्यकता अनुसार आन्तरिक बजार र भारतमा बिजुली विक्री गर्न सकिने उनले बताए । ट्रेडिङ लाइसेन्स दिएपछि पनि अनुगमन र नियमन गर्ने स्वतन्त्र निकाय नभएमा प्रभावकारी नहुने उनको धारणा छ । साथै, घरेलु बजार (डोमेस्टिक मार्केट) खडा गर्न र ट्रेडिङलाई व्यवस्थित बनाउन खुला पहुँच अपरिहार्य रहेको उनले जोड दिए ।

कार्यकारी निर्देशक शाक्यले भने, ‘पावर ट्रेडर र प्रशारण लाइन अपरेटरको हिसाबले निजी क्षेत्र आउनका लागि विद्युत् प्राधिकरणले आफ्नो धारणा व्यक्त गरिसकेको छ । यसमा गृहकार्य भइरहेको छ । अहिले प्राधिकरणसँग भएका पीपीएमा गृहकार्य गरिएको थियो । त्यो भनेको हाम्रो अहिले आन्तरिक बजारमा खपत नहुने बिजुली बिक्री गर्नका लागि बेच्नका लागि गृहकार्य गरिएको थियो । यो भनेको बिजुली विक्रेताका रुपमा निजी क्षेत्रलाई भित्र्याउने प्रयास नै हो ।’

उनले भने, ‘ट्रासमिसनमा पनि त्यस्तै तयारी गरिएको छ । केही ट्रासमिसनलाइन छानेर निजी क्षेत्रलाई आमन्त्रण गरिएको थियो । प्राइभेट सेक्टरलाई पावर ट्रेडमा ल्याउनका लागि खुल्ला पहुँच आवश्यक थियो । ट्रासमिसनलाइनमा प्राइभेट सेक्टरलाइ ल्याउनका लागि ब्रेक थ्रु भइसकेको छ । नेपाल सरकारले केही मोडललाई पास गरिसकेको छ । निजी क्षेत्रलाई ट्रासमिसनमा पहुँच दिने भन्दै गर्दा त्यो भन्दा पहिला ट्रासमिसन चार्जेजहरु अहिले छलफलकै चरणमा छ । अहिले ट्रेडिङ लाइसेन्स दिन सकिने भनेर आयो, त्यसमा नियमावली बनाएर जानुपर्नेछ । नियमावली नबन्दै गर्दा अब के त ? भन्दा नेपाल पावर ट्रेडिङ कम्पनी छ । जोसँग पावर टेडिङ गर्ने लाइसेन्स मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । प्राधिकरणसँगै नेपाल पावर ट्रेडिङ कम्पनीलाई विद्युत् खरिद विक्री गर्ने लाइसेन्स छ ।’

शाक्यले भने, ‘त्यसलाई हामीले अप्रेसनलाइज गर्ने निर्णय गरेर अघि बढाएका छौँ । हामीले सरकारी कम्पनीसँग पिपिए गछौँ, आवश्यकता अनुसार आन्तरीकसँगै भारतमा बेच्न सक्छौँ । विजुली खरिद विक्रिमा रणनीतिक पार्टरका रुपमा निजी क्षेत्रलाई ल्याउन सकिन्छ । यो प्राइभेट सेक्टरलाई ट्रेडिङ लाइसेन्स नदिदाँसम्मको योजना हो । ट्रेडिङ लाइसेन्स दिइसकेपछि पनि अनुगमन, नियमन गर्ने निकाय नहुँदासम्म त्यो सम्भव छैन । एउटा डोमेस्टिक मार्केट यहाँ खडा हुनुपर्छ । डोमेस्टिक मार्केटका लागि ट्रेडस गर्ने हो भने पहुँच चाहियो नै ।’

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जलविद्युत क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुले समेत चासो देखाइरहको बताए । उनकाअनुसार २०० मेगावाट बढिका आयोजनामा लगानीकर्ताले चासो देखाइरहेका छन् । जसमा बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले विगतको ढिलासुस्ती हटाएर फास्ट ट्रयाकमा काम अघि बढाएको बताए । बोर्डले ती आयोजनाहरूको सहजीकरण गरेर अघि बढाइरहेको छ । लगानी बोर्डले लगानी भित्र्याउने व्यवस्थापन र सुपरीक्षणको काम पनि मिलाइरहेको उनको भनाइ छ ।

जलविद्युत आयोजनाहरूको सन्दर्भमा ऊर्जा मन्त्रालयसहित सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आयोजनाहरूलाई जोड्ने काम भइरहेको ज्ञवालीले बताए । लगानी बोर्डले ठूला आयोजनाहरूको सहजीकरणमार्फत नेपालमा लगानी भित्र्याउने प्रयासलाई तीब्रता दिएको देखिन्छ ।

सीइओ ज्ञवालीले भने, ‘लगानी बोर्डमा विगतमा ढिलासुस्ती हुने गरेको थियो । अहिले फास्ट ट्याकमा काम गर्नेगरी अघि बढेका छौं । अहिले ढिलो भयो भन्ने गुनासो सुन्न परेको छैन । २०० मेगावाट भन्दा बढिका प्रोजेक्टहरु लगानी बोर्डमा आउने गर्नु भएको छ । हामीले सहजीकरण गरेर अघि बढिरहेका छौँ । लगानी बोर्डले लगानी भित्राउने व्यवस्थापन, सुपरीवेक्षणको काम मिलाइरहेको छ । अहिले जलविद्युतको कुरा गरिरहँदा हामीले उर्जा मन्त्रालयसहित सरोकारवाला निकायहरुसँग सम्वन्य गर्ने काम गरिरहेका छौँ । सम्बन्धित निकायहरुसँग प्रोजेक्टहरुलाई जोड्दै गएका छौँ । यसले फास्ट ट्रयागमा काम हुनेछ ।’ उनले लगानी बोर्डले विगतमा हुने ढिलासुस्तीलाई हटाएको बताउँदै अन्तर निकाय समन्वयको समेत काम गरिरहेको बताए ।

 

 

जलेको घरबाट हितेन्द्रदेवको प्रश्न : चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लगातार दुई दिनसम्म चलेको आगजनी र लुटपाटपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घर खरानी भएको छ । जीवनभरको मेहनत, विदेशमा गरेको जोखिमपूर्ण काम, श्रीमतीसँगको संयुक्त श्रम र दशकौँमा जोडिएको कमाइ—सबै एकैपटक ध्वस्त भएपछि शाक्यले सोमबार साँझ आफूभित्रको चिरिएको मन फेसबुकमार्फत पोखेका छन् । भावुक हुँदै उनले लेखेका छन्, ‘चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?’

शाक्यले भनेका छन्, ‘आफूले नेपालको ऊर्जा क्षेत्रमा बिताएको लामो समय ‘युद्धभूमिमा काम गरेझैं ज्यान र प्रतिष्ठा दाउमा राखेर’ बितेको थियो, तर अहिले भने ‘देशले हार्दा दरबारले लान्छना लगाएको’ अमरसिंह थापाको कथा जस्तै पीडा महसुस भइरहेको छ । ‘सन्तानको दागबत्ती दिँदा आमालाई कस्तो पीडा होला–त्यस्तो अनुभूति अहिले मलाई भइरहेको छ’, शाक्यले लेखेका छन् । घरका ढोका–झ्यालदेखि प्लास्टरसम्म आफ्नो पसिना मिसिएको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले मेरो हातमा कालो खरानी मात्र बाँकी छ ।’

शाक्यले आफूले बनाएको घर कुनै सहज आम्दानीले सम्भव नभएको बताउँछन् । अफगानिस्तानमा बम–गोलीको डरबीच मासिक ८–१० हजार डलर बचत गर्दै उनले करिब एक वर्षपछि घर बनाउने रकम जोडेका थिए । बाँकी रकम सञ्चय कोषका ऋण, चिलिमे कम्पनीका बोनस र थोरै थोरै गरेर जोडिएको सेवाको आम्दानीबाट जुटाइएको थियो । ‘इमानदार भएर जागिर खानेको घर सजिलै बन्दैन’, भन्दै श्रीमतीलाई ढाडस दिने श्रीमान–आज भने यही इमानदार कमाइले बनेको घरले आफैँलाई ‘नपुंसक’जस्तै ठट्टा गरेको अनुभूति भइरहेको उनी लेख्छन् ।

आगो र लुटपाटले शाक्यको भौतिक सम्पत्ति मात्र होइन, दशकौँको सम्झना पनि लगे । कलेज प्रमाणपत्र, छोराछोरीका सफलता–प्रमाण, विवाहको सारी, बुवाले दिएका कोट र घडी—सबै जलेर गएका छन् । उनले आफूले दीपावलीदेखि मनको अँध्यारो हटाउन लेख्दै आएका निजी डायरी, जीवनका अनुभव समेटिएका ५–६ हार्डडिस्क र फोटो एल्बम समेत जलेर नष्ट भएको बताए । ‘धन–सम्पत्ति लानु, तर यादहरू त छाडिदिनु नि—मुटु चसक्कै हो’, उनले मन बुझाए । इतिहासका काजी भीम मल्ललाई राज्यले बलिवेदीमा चढाउनु परेको प्रसङ्ग उल्लेख गर्दै शाक्यले आफू ‘बलिको बोका’ नबन्न चाहेको स्पष्ट पारे ।

थर मिलेकै आधारमा ‘सालो केटो’ को आरोप लगाइने व्यवस्थापकीय संस्कृतिप्रति उनले कडा आपत्ति जनाउँदै भनेका छन्, ‘कसैलाई सालो केटो नबनाउनू, कालो केटो पनि नबनाउनू । मेरो थर मिल्यो भन्दै बलि चढाइयो ।’ उनले आफू भीम मल्ल बन्नु नचाहेको, बरु बिशे नगर्ची जस्तो सच्चा, समर्पित नागरिक बन्ने चाहना रहेको उल्लेख गर्दै ‘देशमा कोही पृथ्वीनारायण भएर आउन’ आग्रह गरेका छन् । विद्युत् प्राधिकरणमा विभिन्न जिम्मेवारी सम्हाल्दा आफूले कुलेखानी, मस्र्याङ्दी, चिलिमेदेखि एलडीसी र योजनासम्ममा गरेको काम देशकै आत्मनिर्भरताको लागि भएको शाक्यको दाबी छ ।

उनले भनेका छन्, ‘मैले के बिराएँ ? यदि मैले अपराध गरेकै हुँ भने, राज्य, मलाई भन । तर यदि यो परिवर्तनका लागि मागिएको बलिदान हो भने, म शिर चढाउन तयार छु । तर अर्थहीन खरानी–यो स्वीकार्य छैन ।’ सबै नष्ट भएको भन्दै शाक्यले आफू पुनः उठ्ने दृढता व्यक्त गरेका छन् । तर उनले भनेका छन्, ‘सन्तानका प्रमाणपत्र, फोटो, डायरी र जीवनका स–साना यादहरू कहाँबाट फेला पारूँ ?’ आगजनी र लुटपाटले शारीरिक भने जस्तै मानसिक क्षति झनै गहिरो भएको बताउँदै उनले भनेका छन, ‘मुटु फेरि चरक्कै गर्छ ।’

 

 

 

कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेव शाक्य पुगे सर्वोच्च

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान  घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले उत्प्रेषणको आदेश माग गरेका छन्।

शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

शाक्य २०८१ चैत ११ गते नियुक्त भएका थिए। कार्यकालको ६ महिना राम्ररी पुग्न नपाउँदै गत असोज ५ गते उनलाई मन्त्री घिसिङले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरूवा गरिदिएका थिए।

उनलाई आयोगमा पुर्‍याएपछि घिसिङले कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका हुन्।