एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् ।
प्रेस चैतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताए । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताए । उनले वर्तमान सरकार आफैँ संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गरे।
महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए ।
उनले भने, ‘तपाईहरुलाई मैले यतिमात्र भन्छु तर नेकपा एमाले पार्टी चुनावबाट भाग्ने पार्टी त होइन फेरि । जनताको रोजाइको पहिलो पार्टी जनमतबाट अलग हुने भन्ने चाहीँ कल्पना नै गर्न सकिँदैन तर नहुने चुनावमा हामी भाग लिन्छौ भन्दै हिड्ने कुरा केटाकेटी पन हुन्छ जस्तो लाग्छ ।
किनकि चुनाव गराउने सरकारनै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ पहिले कुरा त त्यही कुरा के हुन्छ भन्ने कुराकै ठेगान त छैन नि त । केही समय पछाडि सर्वोच्चको फैसला के आउने हो त्यसले बाटो तय गर्नेवाला छ । दोस्रो चाहीँ शान्ति सुरक्षाको अवस्था नै सुनिश्चित छैन । आम जनता चुनावमा सहभागि हुनसक्ने वातावरण छ कि छैन, राजनैतिक दल चुनावमा सामेल हुन सक्ने वातावरण छ कि छैन भन्ने कोणबाट हेर्दा खेरी चाहीँ अहिले यो सरकार चाहीँ चुनावको बाटोतिर हिँड्या छ भन्ने देखिँदैन ।’
जेन–जी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।
साथै उनले पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाए । महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताए । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेन–जी आन्दोलन भएको उनको भनाई छ ।
उनले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताए । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको भन्दै उनले सरकारले वातासंवाद गर्ने अवसर नै नपाएको दाबी गरे ।
उनले भने, ‘हाम्रा नवयुवाहरुलाइै जेनजीको नाममा जसरी संगठित गर्ने प्रयत्न गरियो, त्यो हाम्रो परम्परा होईन । पश्चिमा पुँजीवादीहरुले आफूसंग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि डिप स्टेटको अवधाराण अन्तर्गत विश्वप्यापी रुपमा डिप स्टेटको प्लान अन्र्तगत कलर रिभोलुसन गर्ने प्रयोजनको लागी नयाँ पुस्तालाई तिमी आम मानिसभन्दा फरक छौँ भन्ने प्रकारको एउटा नियोजित मनोविज्ञान तयार गर्ने काम गरियो र जेनजीका नाममा तिमीहरु पुराना पुस्ताभन्दा फरक फरक हौँ, भिन्न हौँ, तिमिहरुको मनोविज्ञान भिन्न छ, पुरानो पुस्ताले तिमिहरुको मनोविज्ञान बुझ्न सक्दैन भन्ने भाष्य निर्माण गरिकन नयाँ पुस्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने खालको रणतिनितिको प्रयोग गरियो । जसका कारण नेपाल अहिले असामान्य अवस्थातर्फ प्रवेश गरेको छ । खासगरि जेनजीका नाममा नवयुवाहरुले अगाडी सारेका मागहरु कुनै अनुचित मागहरु थिएन । मुलुकमा भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्दछ र सामाजिक सञ्जालको निवार्द प्रयोग गर्न पाउनुपर्छ भन्ने उनीहरुको माग जायज हो र त्यो अनुचित हो भन्ने हामी ठान्दैनौँ । त्यो सरकारले पूरा गर्न नसक्ने पनि होइन । तर तपाई,हामीले के बुझ्नुपर्छ भने उनीहरुले राखेका मागहरु सरकारसमक्ष प्रश्तुत नै भएन । कसले यो आन्दोलनको नेतृत्व गरिरहेका छ भन्ने पूर्ववर्ती सरकारलाई जानकारी समेत रहेन । माग प्रश्तोता पनि थिएन । त्यस अर्थमा जानकारी हुने विषय पनि भएन । जानकारी नै छैन भने संवादको विषय पनि भएन ।’
उनले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको बताए । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गरे । सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उनको भनाई ।
उनले भने, ‘हाम्रा युवाहरु सुचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ की उनीहरु सुचना प्रविधि विना बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोवाईल छाड्न नसक्ने तहमा भएका युवाहरुलाई गतल तत्वहरुले भड्काउने कुरामा सफलता हासिल गरे । सरकारको तर्फबाट भएको कमी के हो भने हाम्रा युवाहरुको सूचनाप्रविधिप्रतिको लगाव, आशक्ति लत कुन तहमा छ भन्ने उसले बुझ्न नसक्दा त्यसलाई गतल तत्वहरुले प्रयोग गर्न पाए ।’
पुँजीवादी शक्तिहरुले युवाहरुलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको दाबी गरे।
