`

यो सरकारका मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको दोहोर्‍याए । तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न उनले आग्रह गरेका छन् ।

जेन–जी आन्दोलन सुशासन कायमका लागि भएको भन्दै अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताए । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन अर्यालको आग्रह छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सचेत गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने जोड दिए । एआई र सामाजिक सञ्जालबाट फैलाइनसक्ने भ्रम र असरबारे पनि उनले ध्यानाकर्षण गराए ।

 

साँच्चीकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो : गृहमन्त्री अर्याल

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए । उनले राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए ।

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढीकरण भइरहेको अर्यालले बताए । आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए । अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थितिको सामान्यीकरण हुने बताए । जेनजीको सम्झौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताए । आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नु पर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे ।

उनले भने, ‘स्थिति सुदृढीकरण हुँदै गएको छ । मनोबल सुदृढ हुँदै गएको छ । २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न । बंगलादेशको हालत के हुँदैछ ? त्यस्तो त हामीले हुन दिएनौं नि । साँच्चीकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो । यो सबै कुरा दीर्घकालीन शान्तिको मार्गमा जानुपर्छ । यो राष्ट्र जोगाउनु पर्छ । त्यो बेला राष्ट्रको जीवन नै जोखिममा थियो । राष्ट्रिय सुरक्षा संकट आइसकेको थियो, औपचारिक रुपमा घोषणा नगरेको मात्रै हो ।’

उनले भने, ‘एक दिन मात्रै अघि बढेको भए धेरै कुरा अर्कै हुन्थ्यो । एक्लै परेको बेलामा मनोबल बढाइ दिन आउनु पर्छ । राम्रो काम गर्दा साथ दिनुपर्छ । म नागरिक भएर पेशामै फर्किन्छु । म दण्डहिनताको पक्षमा छैन । गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन् । संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो । यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठूलो धक्का पर्दछ । यो कुरा ख्याल गरौं । व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन । राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ ।’ मन्त्री अर्यालले देश नै कालोसूचीमा रहने गरी कुनै अराजकता हुन नदिने बताए ।

गृहमन्त्री अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति पनि जनाए । उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने बताए । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरे । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे । उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताए ।

उनले भने, ‘कतिपय कुराहरु परिवर्तनलाई स्वीकार्नु पर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अब यसलाई केही पनि भएन । हो भएन, हिंसा भएन नि । गृहमन्त्री आएपछि केही पनि भएन, हिंसा भएन। आगजनी रोकियो, मान्छे मर्न छोड्यो । अरु हत्या, हिंसा हुन छोड्यो, राजनीतिक प्रकृतिको । केही पनि भएन ? यस्तो भाष्य पत्याइ दिने मान्छेले ? यो भाष्य पत्याइ दिनु भएन । विधिको शासन मिचिनु हुन्न । विधिको शासन बमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ ? सुशासनको मुद्दाभित्र केके पर्छ ? त्यो बुझ्नु पर्छ ।’

 

 

गृहमन्त्रीको निर्देशन : न्याय अनुभूति दिलाउने गरी काम गर्नू

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आज (आइतबार) गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरुले एक्टिभिष्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

‘अहिलेको सरकार भनेकोकै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरि जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने । मन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई आ–आफ्नो माताहतका कार्यालयहरुको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरुले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूती महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु ।’

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेन–जी समन्वय समिति र पीडितहरुका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए । बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरुको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेन–जी घाइतेहरुलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।

गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफु माताहतका कर्मचारीहरुले गर्नु भएको कार्यसम्पादनमा आफु सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछी दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।

सचिव दंगालले मातहतका प्रमुहरुलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए । भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउंदै, कर्मचारीहरुलाई त्यसै अनुरुपको भावना कायम राख्न निर्देशन दिए । बैठकमा मन्त्रालय अन्तर्गतका रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुहरुले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितिबारे जानकारी गराएका थिए ।

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने भएको छ ।

शनिवार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए ।

सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने बताए । उनले अहिलेसम्म जेन जी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताए। आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको बताए । गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् ।

उनले भने, ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ । हतियारको विषय वस्तु छ । ७ सय १० वटा हतियार फिर्ता गरिसकेका छौँ ।

कतिपय डढेका पनि छन् । केही फिर्ता हुन बाँकी छ । कैदीबन्दीहरु अहिलेसम्म १४ हजार ५ सय ४९ जना फरार भएकोमा ९ हजार ५ सय २१ जना ९६५ प्रतिशत० फिर्ता भइसकेका छन् । केही संख्या अझै पनि बाहिर छ । पाँच हजार १ सय ५ जना अहिले पनि बाहिर छन् ।

हतियार र कैदीहरुलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेशन चलाउँछौँ । यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताए । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु भएको बताए। सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

गृहमन्त्री अर्यालले गरे पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता : आन्दोलनमा जलेको घर निरीक्षण

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीबार बिहान निरीक्षण गरे ।

साथै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन् । भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरू र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

बोहोराटारस्थित राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास अवलोकन गरेका छन् । बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर उनले निरीक्षण एवं क्षतिबारे जानकारी लिएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति पौडेलको घरमा आगजनी र तोडफोड भएको थियो । निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे ।

राष्ट्रका लागि पौडेलको भूमिकाको चर्चा गर्दै उनले उनका निजी सम्पत्तिबारे राज्यले चासो राख्नुपर्ने बताए । ‘जुन अवस्थामा देश पुगेको थियो, त्यस्तो विषयम परिस्थितिबाट निकास दिनका लागि उहाँले खेलेको भूमिका महत्वपूर्ण छ,’ निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले भने, ‘उहाँको सम्पत्तिबारे राज्यले चासो राख्नु आवश्यक छ ।’ उनले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन् ।

तथ्यमा आधारित भएर सुरक्षा प्रबन्ध गरौँ : गृहमन्त्री अर्याल

जनकपुरधाम। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् बिग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवर्द्धन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

गृहमन्त्री अर्यालले अहिलेको परिस्थितिमा सरकार जिल्लाहरूको शान्ति सुरक्षाको अवस्था विश्लेषण गरी चुनौतीहरूलाई कम गर्दै चुनाव लक्षित भएर अगाडि बढेको बताए ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्ने र राहत उपलब्ध गराउने सम्बन्धमा सरकारबाट भएका निर्णय जानकारी गराउँदै उनले ती निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

गृहमन्त्री अर्यालले भने, “हामी अबका दिनमा मृतक र मृतकका परिवारलाई सम्मान, घाइतेहरूको प्रभावकारी एवं दीर्घकालीन उपचार र सहयोगका सम्बन्धमा थप सम्बोधन गर्ने क्रममा रहेका छौँ, जुन छिट्टै गर्नेछौँ ।”  जनताले अनुभूति गर्ने गरी शान्ति सुरक्षालाई थप सुदृढ तुल्याएर निर्वाचनको तयारीमा सरकार लागेको उनको भनाइ छ ।

उनले निर्वाचनको लागि वातावरण बनाउन र सम्पन्न गर्नका लागि सुरक्षासँग सम्बन्धित सबै निकायको भूमिका अहम् रहने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

गृहमन्त्री अर्यालले भने, “केन्द्रबाट गर्ने नीतिगत एवं कानुनी दायित्व र जिम्मेवारीलाई हामीहरूले समयमै गर्छौँ र गरिरहेका छौँ । कानुन संशोधन, आवश्यक स्रोतसाधनको व्यवस्थापन, राजनीतिक दलहरूसँग र सरोकारवालाहरूसँग छलफल भइरहेका छन् ।”

मतदान केन्द्रको पुनर्निर्माण गर्नुपर्ने, मतदान केन्द्रहरूलाई सुदृढ गर्न आवश्यक पर्ने विषयहरू विश्लेषण गरेर शीघ्र प्रतिवेदन दिन निर्देशन दिँदै उनले प्रदेश र जिल्लास्तरले निर्वाचन सुरक्षा योजनालाई शीघ्र अन्तिम रूप दिन सुझाव दिए ।

प्रदेशस्तर र जिल्लास्तरमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलगायतका विषयहरूमा सही सूचना सङ्कलन, विश्लेषण गर्ने र आवश्यकताअनुसार जोखिमका आधारमा समयमै सम्बन्धित निकायमा सम्प्रेषित गर्न निर्देशन दिँदै उनले भने, “सुरक्षा निकायहरूबिच आपसी समन्वय गरी संयुक्त गस्ती गरेर जनतामा सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी ढङ्गबाट काम गर्नुहोला ।”

सरकार गठनको अर्को एजेण्डा सुशासन र पारदर्शिता भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले  हिजोभन्दा आज र आजभन्दा भोलि आमनागरिक वा जनताको माग, चाहना र सोचाइअनुरूप सेवा प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सुरक्षा निकायले गर्ने अनुसन्धानहरू निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले राजस्व चुहावट नियन्त्रण, अपराध नियन्त्रणजस्ता विषयलाई गम्भीरतापूर्वक हेर्न निर्देशन दिए ।

गृहमन्त्री अर्यालले भने, “काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि आगामी दिनमा हामीले यहाँहरूको कार्यसम्पादनलाई तथ्यमा आधारित भएर हेर्ने र मूल्याङ्कन गर्नेछौँ ।”उनले छिट्टै सुरु हुने चिसो मौसम र यसमा देखिने शीतलहरको जोखिम कम गर्नका लागि सक्रिय भएर लाग्नुपर्ने बताए ।

मन्त्री अर्यालले शीतलहरबाट तराई क्षेत्रमा हुने हुनसक्ने मानवीय क्षति न्यूनीकरण गर्ने गरी योजनाबद्ध रूपमा कार्यहरू गर्न पनि सुझाव दिए ।

गृहमन्त्री अर्यालले भने, “गत विपद्मा जसरी हामीले समन्वयात्मक ढङ्गबाट कार्य गर्न सक्यौँ, त्यसैगरी शीतलहरको अवस्था भएमा राज्यको उपस्थिति महसुस हुने गरी गर्नुपर्छ, त्यसको पूर्वतयारी गर्नुहोला ।”

गृहमन्त्रीको आग्रह : सडकमा होइन, संवादमा आउनुस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे ।

‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ।

‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने । बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

 

गृहमन्त्रीको आलोचनापछि कोषले भन्यो–उहाँ जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र जानु भएको होइन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ । कात्तिक ५ गते बुधबार गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शन गरेको र निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिरभन्दा बाहिरको नैऋत्य कोणमा बनाइएको ढोकाअघि खिचेको तस्बिर सेयर गरी सामाजिक सञ्जालमा गलत प्रचार गरिएको उनको भनाइ छ । विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य सचिव हुँदा खोलिएको ढोकाअघि गृहमन्त्रीले तस्बिर खिचाएका थिए ।

आर्यघाट हुँदै गुह्येश्वरी मन्दिरतिर जाने बाटोसँगै त्यस पेटीमा गृहमन्त्री अर्याल परिवारसहित निमित्त सदस्य सचिव र एक जना पण्डित पनि भएको तस्बिरलाई गलत रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कोषले जनाएको छ । बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ । रासस

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको गृहमन्त्रीको दाबी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको दाबी गरेका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताए । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए । आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ ।

उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुप¥यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वाता छापिएपछि आउनुभयो नी उहाँ त ।’

गृहमन्त्री अर्यालले आईतवार सञ्चारमाध्याममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहको अन्तर्वार्ता दिएका थिए । सोमवार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिएका छन् ।