गृहमन्त्रीको निर्देशन : न्याय अनुभूति दिलाउने गरी काम गर्नू
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आज (आइतबार) गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरुले एक्टिभिष्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।
‘अहिलेको सरकार भनेकोकै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरि जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने । मन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई आ–आफ्नो माताहतका कार्यालयहरुको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरुले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूती महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु ।’
उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेन–जी समन्वय समिति र पीडितहरुका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए । बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरुको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेन–जी घाइतेहरुलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।
गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफु माताहतका कर्मचारीहरुले गर्नु भएको कार्यसम्पादनमा आफु सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछी दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।
सचिव दंगालले मातहतका प्रमुहरुलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए । भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउंदै, कर्मचारीहरुलाई त्यसै अनुरुपको भावना कायम राख्न निर्देशन दिए । बैठकमा मन्त्रालय अन्तर्गतका रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुहरुले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितिबारे जानकारी गराएका थिए ।
