गृहमन्त्री अर्यालका स्वकीय सचिव जोशी कञ्चनपुर–३ बाट उम्मेदवार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धीरज जोशी कञ्चनपुर क्षेत्र नम्बर–३ बाट आसन्न चुनाव उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेका हुन् ।
‘कञ्चनपुर–३ बाट चुनाव लड्ने तयारी गर्दैछु । केही दिनअघि चुनावी क्षेत्र पुगेर अहिले काठमाडौं फर्किएको छु,’ उनले सुनाए । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट छन् । गृहमन्त्री अर्यालको स्वकीय हुनुपूर्व उनी मेयरको सचिवालयमा बसेर काम गरिरहेका थिए । उनी बाल अधिकार सम्बन्धी काम गर्दै आएका अभियानी समेत हुन् । महानगरमा हुँदा धीरज जोशी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो । त्यही बेला महानगरले काठमाडौंबाट ८३ जना जोखिममा परेका बालबालिकाको उद्धार गरेको थियो ।
जेनजी आन्दोलनपछि उनी सचिवालयबाट राजीनामा दिएर मन्त्री अर्यालको स्वकीय सचिव भएका हुन् । जेनजी आन्दोलनपछि भएका विभिन्न वार्तामा पनि उनी सहभागी हुँदै आएका थिए । त्यसअघि उनी विभिन्न आन्दोलनमा पनि सहभागी भएका छन् । कोभिड महामारीको समयमा उनले कञ्चनपुरमै बसेर ’इनफ इज इनफ’ आन्दोलन गरेका थिए ।
यसअघिको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका थिए । उनले ३० हजार ५७५ मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार निरूदेवी पालले त्यतिबेला १८ हजार ४८५ मत पाएकी थिइन् । यस्तै रास्वपाका कृष्ण लुहारले २ हजार ३१ मत ल्याएका थिए । यसपालि पनि कञ्चनपुर–३ बाट कांग्रेसमा लेखक सिफारिस भएका छन् ।
