मन्त्रालयमा अनुचित हस्तक्षेप हुन दिएको छैन : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । दलीय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उनको दाबी छ । उनले वर्तमान संविधानलाई यथावत कायम गर्नका लागि पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताए । उनले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकाले निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे । उनले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताए ।
उनले भने, ‘विद्रोहपछि पनि यो संविधान यथावत् रुपमा बहाली हुनुपर्छ । विद्रोहले गर्दा तत्कालीन अवस्थाको संवैधानिक सरकारको म्याण्डेडबीचमा भंग भइसकेपछि र प्रतिनिधि सभाको म्याण्डेड बीचमा भंग भइसकेपछि पनि फेरि संवैधानिक व्यवस्था त्यही बहाली हुनुपर्छ । त्यही नै सुचारु हुनुपर्छ । संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनु पर्छ भन्ने व्यवस्था संविधानमा छ ।’
उनले भने, ‘त्यो चुनाव गराउने र चुनाव गर्दाखेरि पनि कनै दलिय पक्षधरता नभएको स्वतन्त्र व्यक्तिहरुको सरकारले जसमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की नै प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । निष्पक्षताको, स्वतन्त्रताको प्रतिकको रुपमा मानिन्छ पूर्व प्रधानन्यायधीशलाई । निष्पक्ष सरकारको जन्म भएको छ, यसले चुनाव मात्रै गराउँदैन, निष्पक्ष चुनाव गराउँछ । दलीय पक्षधरताबाट मुक्त भएको निष्पक्ष धाँधलीरहित चुनाव गराउँछ ।’
उनले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताए । हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने बताए । उनले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिए । उनले आफूले जोखिम लिएर भए पनि प्रहरीको मनोबल बढाउन काम गरेको बताए । गृह मन्त्रालयमा केही व्यक्तिहरुले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उनको भनाई छ । उनले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गरे ।
उनले भने, ‘यो सरकार बन्ने वित्तिकै सुरक्षा फौजको मनोवल बढेको हो । नागरिकको मनोवल बढेको हो । नागरिकले सुरक्षा फौजसँग सहकार्य गर्न थाल्नु भएको हो । यसलाई हामीले निरन्तरता दिन्छौँ । यो ठुलो क्रमभंगता पनि हो । विगतमा सुरक्षा फौजलाई गृह प्रशासनलाई दुरुपयोग पनि गरिए होला । कुनै बर्दीधारीलाई दुरुपयोग गर्दा मनोबल बढ्छ की खस्किन्छ ? पक्कै पनि मनोवल खस्किन्छ, एकाधलाई काखाँ च्याप्दा बाँकी सुरक्षाकर्मीको, कर्मचारीको मनोबल गिर्ने अवस्था हुन्थ्यो ।’
उनले भने, ‘अहिले हामीले त्यो हुन दिएका छैनौ । अहिले हामीले मनोबल बढाउनको लागि निष्पक्षतलाई पहिलो आधार बनाएका छौँ । अहिलेको सरकार अहिलेको मन्त्रीहरु हामी जोखिममा परेर भए पनि हजुरहरुको मनोबल बढाउनको लागि, मर्यादालाई अझै बढाउनको लागि हामी खडा भएका छौँ । गृहमन्त्रीको हैसियतमा मैले धेरै आलोचना खेपेर भए पनि, मैले विषै पिई दिएर भए पनि मेरो मन्त्रालय र मातहतको कुनै पनि निकायमा अनुचित हस्तक्षेप हुन दिएको छैन, कुनै पनि नाममा । पुरानो राजनितिक दलको नाममा होस् या नयाँ विद्रोहबाट आउनु भएको साथीहरुमध्ये केही जसले चाँही अकै किसिमको ईच्छा राख्नुभएको थियो । तर म आफू जोखिममा परेर भएपनि मैले त्यो खालको हस्तक्षेप हुन दिएको छैन ।’ उनले हाल जेन–जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गरे ।
