`

भारतका छविकार नलिनिकान्त भैश्यकको ‘हेरिटेज इण्डिया’ प्रदर्शनी काठमाडौंमा

Nepal One HD १७ कार्तिक २०८२ १८:०६
फिचर

काठमाडौं । २०८२
नेपाल कला परिषद्, बबरमहलमा भारतका प्रख्यात छविकार नलिनिकान्त (निकुञ्ज पी) भैश्यकको आठौं एकल फोटोग्राफी प्रदर्शनी “हेरिटेज इण्डिया” जारी छ।

गत कार्तिक १६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकारले एक समारोहका बीच प्रदर्शनीको समुद्घाटन गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा प्रख्यात कलाकार तथा लेखक रतनकुमार राई उपस्थित भएका थिए।

यस प्रदर्शनीमा भारतका विभिन्न राज्यका कला, संस्कृति, वास्तुकला र पुरातात्त्विक सम्पदासँग सम्बन्धित कलात्मक छविचित्रहरू प्रदर्शित गरिएका छन्। छविकार भैश्यकका अनुसार, यी छविचित्रहरूले भारतको सांस्कृतिक गहिराइ र विविधतालाई मात्र होइन, नेपाल–भारतबीचको साझा सांस्कृतिक सम्बन्धलाई पनि उजागर गर्छन्। गुजरात राज्यका प्रतिष्ठित छविकार भैश्यकले भारतका विभिन्न सहरमा आफ्ना एकल प्रदर्शनीहरू आयोजना गरिसक्नुभएको छ र गुजरात सरकारले उनलाई ‘राज्य गौरव पुरस्कार समेत प्रदान गरेको छ।

नेपालमा पहिलो पटक आयोजना गरिएको यो अन्तर्राष्ट्रिय प्रदर्शनीलाई ललितकला एकेडेमी, गुजरात सरकारले सहयोग गरेको हो। प्रदर्शनीको संयोजन वरिष्ठ चित्रकार तथा कला–समालोचक नगेन्द्रप्रसाद पौड्यालले गरे।

दोस्रो दिनसम्म प्रदर्शनी हेर्न कलाकार, विद्यार्थी र फोटोग्राफी प्रेमीहरूको उल्लेख्य भीड देखिएको छ। दर्शकहरूका अनुसार, प्रदर्शनीमा प्रस्तुत छविचित्रहरूले भारतको धरोहर, जनजीवन र ऐतिहासिक सम्पदाको जीवित कथा प्रस्तुत गर्छन्।

तीन दिनसम्म चल्ने यो प्रदर्शनी कार्तिक १८ गतेसम्म नेपाल कला परिषद्, बबरमहलमा सर्वसाधारणका लागि खुला रहने आयोजकहरूले जनाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *