वैज्ञानिक समाजवादी पार्टीको आरोप : सुशीला कार्की नेतृत्वको सरकार ‘कठपुतली’ हो
काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष निकालेको छ । यही कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौँमा सबेको पार्टी केन्द्रीय समितिको ध्रवीकरण बैठकले यस्तो निष्कर्ष निकालेको सो पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘बरु ‘जेनजी विद्रोह’ लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न सक्दैन ।’ सो पार्टीले सच्चा जेनजीहरूलाई ‘जेनजी विद्रोह’ पछि वैदेशिक हस्तक्षेपहरूमार्फत भएका विभिन्न षड्यन्त्र र चलखेललाई चिन्दै ‘जेनजी विद्रोह’ को मर्म र भावनालाई तार्किक निष्कर्षमा लैजान नेपाली समाजको रूपान्तरणको वैज्ञानिक विचार, संगठन र वैचारिक नेतृत्व निर्माणको प्रक्रियामा लामबद्ध हुनसमेत विशेष अपील गरेको छ ।
‘जेनजी विद्रोह’पछि उत्पन्न नेपाली समाजमा देखिएको राजनीतिक अन्तर्विरोध कुनै पनि खालको प्रतिगमन वा यथास्थितिबाट हल हुने सम्भावना नरहेको सो पार्टीको ठहर छ । ‘जेनजी विद्रोहले धुलिसात पारिसकेको दलाल संसदीय पुँजीवाद र फगत संसदीय निर्वाचनको यथास्थितिवादी प्रपञ्चमा मात्रै देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ विद्रोहका निम्ति सच्चा देशभक्त, क्रान्तिकारी, प्रगतिशील र जेनजीहरूले अपिल र पहलकदमी लिनुपर्ने निर्णय बैठकले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको खास विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय स्वरूप, संरचना, मोडेल र खाकाको प्रस्ताव तय गरेको छ । बैठकले तय गरेको वैज्ञानिक समाजवादी कार्यक्रमको प्रस्तावलाई तत्काल देशव्यापी बहसमा लैजाने निर्णय भएको छ ।’

