काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई आसन्न महाधिवेशन प्रतिनिधि छनोटका क्रममा सन्तुलित, जिम्मेवार र विवेकपूर्ण रूपमा अघि बढ्न आग्रह गरेकी छन् ।
आज (बिहीबार) बिहान पार्टी सदस्यहरूलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई संगठनात्मक मजबुती र राजनीतिक दिशानिर्णयका लागि ‘ऐतिहासिक अवसर’ का रूपमा चित्रण गरेकी हुन् । उनले विधानअनुसार सदस्यता नवीकरण गरिरहे पनि पार्टी नेतृत्वले अनुचित तरिकाले रोकिदिएको बताइन् । यसका कारण महाधिवेशनमा भौतिक उपस्थिति जनाउन नसक्ने परिस्थिति बनेको उनको भनाई छ ।
तर पनि उनले आफ्नो पार्टीप्रतिको प्रतिबद्धता यथावत रहने स्पष्ट गरेकी छन् । उनले महाधिवेशनले पार्टी मात्र नभई आम नागरिकका भविष्यसँग पनि प्रत्यक्ष सम्बन्ध राख्ने बताइन् । महाधिवेशन निर्धारित समयभन्दा एक वर्षअघि हुन लागेको सन्दर्भ उल्लेख गर्दै भण्डारीले पार्टीभित्रको समग्र संरचनालाई सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘महाधिवेशन सफल बनाउन वैचारिक रूपमा परिपक्व नेतृत्व, उर्जाशील युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व अपरिहार्य छ ।’ पूर्व राष्ट्रपतिले संगठनभित्र बढ्दो राजनीतिक ध्रुवीकरण र आन्तरिक तनावप्रति संकेत गर्दै, प्रतिनिधि छनोटदेखि महाधिवेशन सञ्चालनसम्म अनुशासन, निष्पक्षता र आन्तरिक ऐक्यबद्धता कायम राख्न सबैलाई अपिल गरिन् ।
