`

तीन दिनपछि बीपी राजमार्गमा चल्न थाले गाडी

काभ्रेपलाञ्चोक । बाढी–पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध छ ।

 

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्थगित बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफलको तयारी गरेका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ। संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ । साझा एजेण्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।

 

जेनजी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन् : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेनजीले उठाएका माग आफूहरुले यसअघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका हुन्।  नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराए । उनले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरे।

नेता सापकोटाले भने, ‘हामी जेनजीले उठाएका मागहरुमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरु हुन् । उनीहरुको हाम्रो धारणा समान छ, साझा छ। अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौं। चाहे प्रधानमन्त्रीले बोलाउँदा होस्, चाहे राष्ट्रपतिले बोलाउँदाखेरी होस्। जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरुपता भइरहेको छ । यही कुरा म फेरि पनि स्पष्ट पार्न चाहन्छु।’ नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको टिप्पणी समेत गरे।

कहिले बस्दैछ नेकपा एस र माओवादीको संयुक्त बैठक ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त बैठक बोलाएको छ । आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो ।

त्यसै गरी बैठकले १८ गते (मंगलवार) भने पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिए । बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले शनिवारको बैठक गरेका थिए । तर आज भने उनी बैठकमा नआएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए । उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए ।

नेता सापकोटाले भने, ‘हाम्रो केन्द्रिय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ । अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्ने कुरा भएको छ । आज छलफल भएको विषयहरु अब यो समायोजना गर्ने विषयमा, नीतिगत र बैचारिक विषयहरुमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक संगठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो ।’

उनले भने,‘आज जनार्दन शर्मा आउनु भएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिए–उहाँले आफ्नो कुरा राख्नु भयो । अनि अध्यक्ष बस्नुस् अरुको पनि कुरा सुन्नुहोस् भन्नु भयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नु भयो । र हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिँजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन ।’ बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।

 

 

बञ्चरेडाँडा फोहोर फाल्न मन्त्री घिसिङले जुटाए सहमति

काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापन गर्न सहमति जुटेको छ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि चार दिनदेखि फोहोर फाल्न अवरोध गर्दै आएका स्थानीय सहमत भएका छन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई आग्रह गरेको थियो ।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो । त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

स्थानीयबासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिएका छन् । अध्यक्ष तामाङले भने, ‘अहिलेसम्म निर्णय गरिएका र हुन नसकेका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री ज्यूले गर्नु भएको छ । कुनै कारणले त्यो अवधिभित्र पनि सहमति कार्यान्वयन हुन नसके तपाईहरुको विरोध गर्ने अधिकार त छँदैछ भन्नु भएको छ ।’

 

मधेसका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी

जनकपुरधाम । मधेस प्रदेशका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो हकहितका लागि आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि जारी श्रमशोषण, न्यून पारिश्रमिक र असुरक्षित कार्य वातावरणको विरोधमा उनीहरूले ८ सूत्रीय मागसहित शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हुन् ।

यदि माग पूरा नभए आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार, निजी स्वास्थ्य संस्थाहरूले नेपाल सरकारको ऐनविपरीत न्यून तलबमा काम गराइरहेका छन् भने समान कामको लागि पनि असमान व्यवहार गर्ने गरेका छन् । आफूहरू निकै जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ।

मुख्य मागहरू :
नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गरिनुपर्ने ।
सरकारी स्वास्थ्य संस्थाका करारकर्मीहरूलाई हटाई लोक सेवा आयोगमार्फत विज्ञापन गरिनुपर्ने ।
स्वास्थ्यकर्मीहरूको बीमा र सुरक्षाको व्यवस्था गरिनुपर्ने ।
हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोकिनुपर्ने ।

स्वास्थ्यकर्मी नवेश अधिकारीले मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसलाई कार्यान्वयनमा नल्याएको बताए । यसले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले प्रस्ट पारे । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले यस विषयमा जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको बताएका छन् । उनीहरूले आन्दोलनका कारण बिरामी सेवामा कुनै समस्या आएमा त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने बताएका छन् ।

हुम्लाको पर्यटकीयस्थल लाप्चामा पुग्यो सञ्चार सुविधा नहुँदा समस्या

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ । लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन । लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउनसके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन । लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ । नेपाली भूमि लाप्चाबाट वर्षमा ६ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ । हिउँद याममा हिमपातले ६ महिना न्यालु, नारा लेख अवरुद्ध हुने हुँदा वैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ । रासस

थापाथली ट्राफिक प्रहरी बिट भत्काउन पुग्यो कामपाको डोजर (तस्वीरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । महानगरको डोजर ट्राफिक प्रहरी बिटको संरचना भत्काउन पुगेको हो । काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् । महानगरपालिकाले अहिले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको इरानी चिया पसलको भवन भत्काइरहेको छ ।

महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो । त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको ट्राफिक प्रहरी कार्यालयको संरचना पनि महानगरले हटाउन थालेको हो । महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बसेको बिट बसेको बताउँदै आएको छ ।

दुर्गा प्रसाई र नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनले नेपाली कांग्रेस (बीपी) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन् । आइतबार प्रसाई निवास मध्यपुरथिमिमा दुई पक्षबीच सहकार्य सम्बन्धी ६ बुँदे सहमतिमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले दुर्गा प्रसाईं पक्षबाट सहकार्यको प्रस्ताव आएको र आफूहरु त्यसमा सहमत भएको बताए । ‘हामीले २०८३ सालदेखि आन्दोलन थाल्ने तयारीमा थियौं । तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु गर्ने आन्दोलनमै सहकार्य गरौं भनेर प्रस्ताव आयो र हामी त्यसमा सहमत भयौं,’ शेरचनले सुनाए ।

सम्झौता पत्रमा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने उल्लेख छ । सहमति अनुसार आगामी मंसिर ६ गतेदेखि सुरु हुने भनिएको देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुने छन् ।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झण्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति भएको छ । नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप जनजागरण आवश्यक रहेको भन्दै उनीहरुले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने जनाएका छन् ।

हेर्नुस् सम्झौता पत्रको मस्यौदा
नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन् । राष्ट्र, धर्म र नागरिकको रक्षा तथा सुशासन र स्वतन्त्रताको पुनस्र्थापनाको लक्ष्यसहित सञ्चालन हुँदै आएको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र नेपाली कांग्रेस (बी.पी.) बीच निम्न सहमति भएको छ ।

१. साझा उद्देश्य

राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने सहमति गरेका छन् ।

२. आन्दोलनमा सहभागिता

आगामी मङ्सिर ६ गते देखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।

३. स्वतन्त्र प्रचार र पहिचान

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ । यसले बी.पी. कांग्रेसको विचार र योगदानलाई अभियानभित्र सम्मानका साथ अभिव्यक्त गर्ने सुनिश्चितता गर्नेछ।

४. नेतृत्व र सह–समन्वय

आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ । बीपी कांग्रेसको तर्फबाट सहभागी टोलीलाई सभापतिको निर्देशनअनुसार तोकिएको जिम्मेवार व्यक्तिले नेतृत्व गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्नेछ ।
५. नीति र मर्यादा
दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति गरिएको छ ।

६. प्रेस र जनसम्पर्क

दुवै पक्षले सहकार्य सम्झौता र आन्दोलनबारे संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन् ।

हस्ताक्षरकर्ताहरूः

दुर्गा प्रसाईं अध्यक्ष, राष्ट्रियता धर्म संरक्षण र नागरिक बचाउ महाअभियान सभापति,

सुशीलमान शेरचन नेपाली कांग्रेस (बीपी)

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरुमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गर्न थालेको हो । नेपाल राष्ट्र बैंकले (आज) आइतवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो ।

गत बुधबार पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरुमा निक्षेप उठाएको थिएन । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको यसबाट प्रष्ट देखिएको छ । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक–पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

 

नेकपा एसका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता हुँदैन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता नहुने प्रष्ट पारेका छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरू नयाँ पार्टी गठनको तयारीमा छन् । यो पंक्ति एमालेमा फर्कने चर्चा चलिरहेका बेला ओलीले यस्तो अडान सार्वजनिक गरेका हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले समूहका रूपमा आउनेहरूलाई स्वीकार नगर्ने तर कोही व्यक्ति व्यक्तिगत रूपमा एमालेमा फर्कन चाहेमा स्वागत गर्न तयार रहेको बताए । ‘कुनै अमुक समूहसँग एकता हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँहरूसँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा १०–२० जना आए पनि व्यक्तिगत नै हुनेछ । अलग्गै समूह बनाएर एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले शुक्रबार नै विगतमा एमाले छाडेर गएका नेता कार्यकर्तालाई पुरानो घरमा फर्कन आह्वान गरेका थिए । उनको यो भनाइलाई एकीकृत समाजवादीभित्रको असन्तुष्ट पक्षलाई लक्षित गरिएको रूपमा हेरिएको छ । यद्यपि, ओलीले समूहगत एकतालाई अस्वीकार गरेर व्यक्तिगतरूपमा फर्कने ढोका खुला राखेका छन् । यसले एकीकृत समाजवादीको असन्तुष्ट समूहभित्र थप अन्योल सिर्जना गर्ने देखिन्छ । यसअघि, एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि खनाल–भूसाल पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । उनीहरूले नयाँ पार्टी गठनको तयारी गरिरहेको बुझिएको छ ।

 

आन्दोलन घोषणा गरेका निकोलस ‘सम्पर्कविहीन’

काठमाडौं । सामाजिक सञ्जालमार्फत आइतबार दिउँसो २ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल ‘सम्पर्कविहीन’ बनेका छन् । कार्यक्रम अघि नै उनी हराएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार भुसालले लागूऔषध सेवन गरेको अवस्थामा प्रदर्शनको घोषणा गरेका थिए, जसले मुठभेड हुने सम्भावना देखिएकाले उनलाई नियन्त्रणमा लिन तयारी गरिएको थियो । तर उनी न घर–परिवारको सम्पर्कमा छन्, न प्रहरीको । प्रहरीले भेटिएपछि उनलाई रिह्याब सेन्टर पठाउने तयारी गरेको छ ।

काठमाडौंका विभिन्न प्रहरी टोली आइतबार बिहानैदेखि उनको खोजीमा सक्रिय छन् । उनी बस्ने डेरामा पुग्दा ढोका बाहिरबाट बन्द अवस्थामा भेटिएको र मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले समेत उनी सम्पर्कविहीन रहेको पुष्टि गरेका छन् ।
भुसालले घोषणा गरेको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको पाइएको छैन । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले अनुमति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै अनधिकृत गतिविधि भए नियन्त्रणमा लिइने चेतावनी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार भुसालको प्रदर्शनको जानकारी पाएपछि एमाले सम्बद्ध युवा संघ र काठमाडौंका मेयर बलन साहका समर्थकहरूले प्रतिकार गर्ने तयारी समेत गरेका थिए । यही सम्भावित भिडन्त रोक्न प्रहरी सचेत भएको हो । यसअघि पनि निकोलस भुसाल पटक–पटक पक्राउ परेका थिए । गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पुष्टि भएको थियो । सोभन्दा अघि २०८१ पुस ७ गते कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

 

कान्ति लोकपथ खुल्यो, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द

मकवानपुर । ढुंगा पन्छाएपछि कान्ति लोकपथ खुलेको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो । केहीबेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए । यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन ।

डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो । सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । हाल पहिरो पन्छाउने क्रम चलिरहेको डीएसपी बोगटीले बताए ।

 

फेरि बढ्न थाल्यो सुनको मूल्य, चाँदीको कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेर सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मात्रै सुनको मूल्यमा प्रतितोला २७ सय रुपैयाँको वृद्धि भएको थियो ।

यो साता सुनको मूल्यमा उतारचढाव कायमै रहेको देखिन्छ । यसअघि असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । प्रतितोला ५ रुपैयाँले कमी आई चाँदी ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हङकङको अर्थतन्त्र ३.८ प्रतिशतले विस्तार

काठमाडौं । २०२५ को तेस्रो त्रैमासिकमा हङकङको अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ । कुल गार्हस्थ्य उत्पादन वार्षिक रूपमा ३.८ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको जनगणना र तथ्याङ्क विभागको अग्रिम अनुमानअनुसार वृद्धि गति अघिल्लो त्रैमासिकमा दर्ता गरिएको ३.१ प्रतिशत भन्दा छिटो थियो ।

निजी उपभोग खर्च एक वर्ष अघिको तुलनामा वास्तविक हिसावले २.१ प्रतिशतले बढेको छ । जुन अघिल्लो त्रैमासिकमा १.९ प्रतिशतले बढेको थियो । जुलाई–सेप्टेम्बर अवधिमा हङकङको अर्थतन्त्रले बलियो प्रदर्शन गरेको छ । जसले गर्दा निर्यातमा निरन्तर वृद्धि र घरेलु मागमा निरन्तर विस्तार भएको छ । विश्वव्यापी शेयर बजारमा भएको वृद्धिको बीचमा आन्तरिक पर्यटनमा निरन्तर वृद्धि र सीमापार वित्तीय गतिविधिहरूमा जीवन्तताले समर्थन गरेको सेवाहरूको निर्यातमा पनि उल्लेखनीय विस्तार भएको छ ।

 

हर्क साम्पाङले पार्टी दर्ता प्रमाणपत्र पाउँदै, को–को छन् पदाधिकारीमा ?

काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ताको प्रमाणपत्र दिने तयारी अगाडि बढाएको छ । श्रम संस्कृति पार्टीको सनाखतलगायत प्रशासनिक प्रक्रिया पूरा भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । ‘श्रम संस्कृति पार्टीको सनाखत गराउनेलगायत सबै काम सकिएको छ, आज आयोगको बैठक बस्यो भने दर्ताको प्रमाणपत्र दिने निर्णय पनि हुन सक्छ’, उनले भने । त्यसो त पार्टीका अध्यक्ष साम्पाङ आजै धरानबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले हालै आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । पार्टीमा पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन् ।

कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ । मुस्ताङस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए ।

उनका अनुसार ती स्थानमा सडक संरचनासहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौं स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।

त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताए ।

यसैबीच शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीनवटा उपकरण परिचालित गरिएको छ । यसैगरी, कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक सञ्चालनमा ल्याउन भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजनाका अनुसार स्थानीय व्यक्तिको दुईवटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको जनाएको छ ।

कागबेनी–छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिए । शनिबारदेखि कोरला सडक मर्मत सुरु भए पनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केही दिन लाग्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।

यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।

 

 

बालेनलाई मन्त्री पुनको सुझाव : सर्को तानेको बेला केही नबोलौं, नलेखौं

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित गर्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’ हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमै डिलिट गरेको स्टाटसको स्क्रिन सर्ट राख्दै अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’ मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

 

गृहमन्त्रीले तत्काल बालेनलाई गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’

मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । आइतबार दिउँसो ४ बजे बालुवाटारमा सात प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

‘बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्रीले आउँछु भन्नु भएको छ,’ रावलले भने, परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउनका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लाग्नु भएको हो ।’ बैठकमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सकारकारका काम काहबाहीलाई कसरी प्रभावकारी बनाउने, निर्वाचनको वातावरण निर्माण, शान्ति सुरक्षा, सरकारको मितव्ययी नीति जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा सहभागीताको लागि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण सडकमा लेदो र ढुंगा थुप्रिँदा तीन दिनदेखि राति बन्द बीपी राजमार्ग खुलाउने प्रयास जारी छ ।काभ्रेपलाञ्चोकको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ ।

सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकाले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन् । प्रहरी निरीक्षक कार्कीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ ।

बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो ।

लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेर अवरुद्ध भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

बालेनले मध्यराति लेखेर मेटेको ‘अश्लील’ स्टाटसको स्क्रिनसट ‘भाइरल’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिजो (शनिबार) मध्यराति लेखेर केहिछिनमा मेटेको एक स्टाटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ ।

अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको भनी चर्काे आलोचना भइरहेको छ । शनिबार राति ११ः५६ बजे लेखेको त्यो स्टाटस उनले केहीबेरपछि नै हटाएका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट राखेर व्यापक टिप्पणी र आलोचना गरिरहेका छन् ।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका छन् । उनले ‘सबै मिले पनि केही गर्न सक्दैनन्’ भनेका छन् ।

छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गरी आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हँसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए। दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी भएलगत्तै प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्ती नेतृत्वको टोली खटिएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको छ । कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अरु दुई जना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए । दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

राष्ट्र अझ संकटतिर धकेलिँदैछ : राप्रपा नेतृ ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि ‘देखिने र नदेखिने दबाबमा परेर देशलाई अन्योलमा पुर्‍याएको’ आरोप लगाएकी छन् । उनले सरकारलाई राष्ट्रिय एकता र मेलमिलापको बाटोमा फर्किन आग्रह गरेकी छन् ।

ओलीका अनुसार, जेनजी आन्दोलन भएको झण्डै दुई महिना बित्दा पनि सरकारले संवाद र सहमतिको दिशा लिन सकेको छैन । ‘सरकारले सबै पक्षसँग गम्भीर वार्ता गर्न सकेको छैन, फलस्वरूप देश पुनः आन्दोलन र अस्थिरतामा फस्ने संकेत देखिएको छ’, उनले भनिन् ।

उनका अनुसार प्रधानमन्त्री कार्कीले पनि आफू विभिन्न समूहको दबाबमा परिरहेको कुरा सार्वजनिक रूपमा स्वीकार गरिसकेकाले त्यो पदको गरिमा विपरीत भएको छ । ‘दबाबमा चल्ने प्रधानमन्त्रीबाट देशले के अपेक्षा गर्न सक्छ ?’ उनले प्रश्न गरिन् ।

सामाजिक सञ्जाल टिकटिकमार्फत एक भिडियो सन्देश जारी गर्दै ओलीले वर्तमान संविधान र त्यसकै जगमा हुने आगामी निर्वाचनले समस्या समाधान नगर्ने दाबी गरिन् । ‘वृहत संवाद र नयाँ सहमति बाहेक देशको समस्या समाधान सम्भव छैन’, उनले भनिन् ।

जेनजी आन्दोलनलाई उनले ‘भ्रष्टाचार अन्त्य र प्रणालीगत सुधारको आवाज’ बताउँदै त्यसको सार गुमिरहेको उल्लेख गरिन् । ‘सरकारले जेनजी युवा र दलबीच द्वन्द्व बढाउने काम गरेको छ, जसले आन्दोलनको वास्तविक उद्देश्यलाई कमजोर बनाएको छ’, उनले आरोप लगाइन् ।

अर्थतन्त्र र सुशासनका विषयमा ओलीले सरकारको निष्क्रियता प्रति चिन्ता व्यक्त गरिन् । ‘व्यापारी त्रसित छन्, लगानीकर्ता पलायन भइरहेका छन्, तर सरकारले कुनै ठोस कदम चालेको छैन’, उनले भनिन् । राजदूत फिर्ता बोलाउने र साना खर्च कटौती जस्ता ‘पपुलिष्ट निर्णय’ ले सुशासन स्थापित नहुने उनको टिप्पणी छ ।

‘राजदूत फिर्ता बोलाएर नयाँ नपठाउने दोहोरो मापदण्डले अन्तर्राष्ट्रिय छवि पनि धमिलिएको छ’, उनले भनिन् । ओलीले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भनेकी छन्, ‘अझै समय छ-राष्ट्रिय एकताको नीति लिनुहोस् र सबैलाई साथ लिएर अघि बढ्नुहोस् । दबाबबाट मुक्त भएर स्वतन्त्र निर्णय लिनुहोस्, नत्र भावी पुस्ताले अझ दुःख पाउनेछ ।’

 

 

जेन्जी आन्दोलनको भित्री रहस्य स्क्रिनमा भिडियो प्रमाण सार्वजनिक गर्छु : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं प्रसाईले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

आज (शनिबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले १६ कार्तिक गते (भोलि) बिहान ठिक ९ः३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस आन्दोलनको सुरुवात कहाँबाट भयो, कसरी परिचालित गरियो र अहिलेको सरकार कसरी बनेको हो–यी सबै भित्री रहस्यहरू अब सार्वजनिक हुँदैछन् । भोलि म यी सबै तथ्यहरू ३०० इञ्चको विशाल एलइडी स्क्रिनमा भिडियो प्रमाणसहित प्रस्तुत गर्दैछु ।’

उनले देशका ठुला मेनस्ट्रिम मिडियाका सम्पूर्ण पत्रकारहरूलाई यस कार्यक्रममा आउन आमन्त्रण समेत गरेका छन् । प्रसाईले यसअघि नै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताइसकेका छन् ।

उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने बताएका छन् । प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरेका छन् । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए ।

 

जनार्दनबारे प्रचण्ड- आफ्नो कुरा राखेर उठेर हिँड्ने शैली अराजक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई अराजकको संज्ञा दिएका छन्।

सचिवालय बैठकपछि आफ्नो कुरा राखेर बैठकबाट हिँड्ने शर्माको शैली अराजक भएको बताए। केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा जनार्दन पनि एकै हुने जिकिर गरे।

शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिएका थिए । शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले यही विषयमा सोधेका थिए, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’

प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए । ‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको भनेकोबारे प्रचण्डलाई प्रश्न गरे । जवाफमा प्रचण्डले भने, ‘त्यो गलत आरोप हो, अराजक आरोप हो ।’

एमालेको महाधिवेशन स्थल परिवर्तन, अब काठमाडौंमै हुने

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।

यसअघि पोखरामा हुने तय भएको भए पनि आज बसेको सचिवालय बैठकले त्यसलाई परिवर्तन गरेर काठमाडौँ सारेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘महाधिवेशन पोखराको सट्टा काठमाडौँमा आयोजना गरिने छ,’ ज्ञवालीले भने, ‘निर्धारित समय मंसिर २७ देखि २९ मै हुनेछ।’

शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकमा आफ्ना कुरा राखेर बाहिरिए जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा आफ्नो कुरा राखेर पार्टीको सचिवालयबाट बाहिरिएका छन् ।

उनले माओवाद छाडेर अन्य पार्टीसँग एकता गर्न नहुने र एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि स्थगित गर्नुपर्ने मत राखेका छन् । आफ्ना कुरा राखेपछि उनी सचिवालय बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको सचिवालय बैठक भने मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । छलफलमा प्रचण्ड सहितका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

एकीकृत समाजवादी, माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको प्रचण्डको ब्रिफिङ छ । उनका अनुसार संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएता पनि छलफल चलिरहेको छ ।

तर  सचिवालय बैठकमा नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका हुन् ।

 

मन्त्री गुप्ताले गरे त्रिवि क्रिकेट ग्राउन्डको अवलोकन (तस्बिरहरू)

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्। मन्त्री गुप्ताले शनिबार क्रिकेट ग्राउन्डको अवलोकन गरेका हुन् ।

हाल सो क्रिकेट मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्य पहिलो चरणमा पुगेको छ भने १० हजार क्षमताको प्याराफिट निर्माण कार्य सकिएको छ ।

जनार्दनको प्रस्ताव : एकीकृत समाजवादीसँगको हतारको एकता रोकौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता तत्कालका लागि रोक्न माग गरेका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले एकता प्रक्रियालाई स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशातर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।

शर्माले हतारमा गरिने एकताले देशको राजनीतिक संकट समाधान नगर्ने दाबी गर्दै यस्तो कदमले कम्युनिष्ट आन्दोलनको विघठन दोहो¥याउने चेतावनी दिएका छन् । उनका अनुसार, बिना पर्याप्त गृहकार्य र वैचारिक स्पष्टता गरिएको एकता केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिमा सीमित हुनेछ र दीर्घकालीन दृष्टिले हानिकारक परिणाम ल्याउनेछ ।

उनले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना र त्यागलाई बेवास्ता गर्दै गरिएको एकता क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पु¥याउने ठहर गरेका छन् । यसअघि बैठकमा पार्टी अध्यक्ष प्रचण्डले भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सैद्धान्तिक तथा नीतिगत विषय टुंगिएको जानकारी दिएका थिए ।

उनका अनुसार, नेतृत्व तहमा संगठनात्मक विषयहरू पनि करिब–करिब अन्तिम चरणमा पुगेका छन् । तर कसरी दुवै पार्टीलाई एकताबद्ध गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको बताइएको छ । बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादवलगायत नेताहरू उपस्थित थिए । तीमध्ये जनार्दन शर्माले हतारमा एकता गर्न नहुने र गम्भीर तयारीपछि मात्र अघि बढ्नुपर्ने मत प्रस्तुत गरेका हुन् ।

संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको प्रतिक्रिया दिए । नेपालको संविधानअनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि सभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको रावलको भनाई थियो ।

नेता रावलले यही संविधानअनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गरे । उनले भने,‘सरकारले हामी त चुनाव मात्रै गर्ने हो, संविधान मान्छौँ भन्ने हो भने त गम्भिर प्रश्न उठ्छ । यदि यो संविधानलाई जस्ताको तस्तै मान्छौं, केही पनि गर्दैनौ भन्ने हो भने प्रधानमन्त्रीको आधिकारिता र बैधतामाथि प्रश्न उठछ । विद्रोहले मात्रै संविधान विपरित प्रधानमन्त्री हुन पाईन्छ । यदि विद्रोह होइन, संविधानको घेराभित्रबाटै अघि बढ्छौँ भन्यो भने नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक कहीँ पनि जाने अधिकार छैन । राष्ट्रपतिलाई प्रतिनिधि सभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि सरकार अवैध हुँदैन रु होइन हामी विद्रोहबाट आएका हौं भने त्यहीअनुसार काम किन हुँदैन भनेर आवाज उठाउनु होला ।’

नेता रावलले मुलुकमा परिवर्तनको आभास दिलाउने हो भने संविधानमा रहेका कयौं विषयहरु संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता समेत औँल्याए ।

पोखरामा नेकपा एमालेले निकाल्यो मोटरसाइकल र्‍याली

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिफ्लेढुंगा, न्यूरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकाल्ने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

र्‍याली मा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जगत विश्वकर्मा, पोलिटब्युरो सदस्य महेश बस्नेत, राजीव पहारीसहितका नेता सहभागी थिए ।

पार्टी एकताबारे निर्णय लिन पेरिसडाँडामा माओवादी सचिवालय बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

खनाल अब नेकपा एसमा ‘संरक्षक’ मात्र, पार्टी भुसालले हाँक्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असहमति जनाएका नेताहरु पार्टी पुनर्गठनको बहसमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन् ।

अध्यक्ष माधव नेपाल पक्ष माओवादी केन्द्रसँग एकतामा जाने भएपछि असहमति जनाउँदै बसेका सम्मानित नेता झलनाथ खनाल पक्ष पार्टी पुनर्गठनको बहसमा जुटेको हो । अध्यक्ष नेपाल नै माओवादी केन्द्रसँग एकता गर्ने गरी छुट्टिएपछि अहिले नेकपा एसको अबको नयाँ नेतृत्वका विषयमा पनि छलफल सुरु भएको छ । माधव नेपालपछि सम्मानित नेता झलनाथ खनाल भए पनि अब पार्टी पुनर्गठनका बेला उनी संरक्षकको भूमिकामा रहनु पर्ने पनि चर्चा सुरु भएको छ ।

माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एसका पोलिटव्यूरो सदस्य धर्म निरौलाले अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए । नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौं । सबै कम्युनिष्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौं र मिल्दै जान्छौं । अहिले हामी माधवजीहरूसँग अलग भएका छौं । अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौ ।’ उनले अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको उनले बताएका छन्।

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : प्रचण्ड

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभा सम्बोधन गर्दै उनले अहिलेको समय ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए ।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई “समाजवादी क्रान्तिको प्रारम्भिक संकेत”का रूपमा व्याख्या गरे, र भने “२३ र २४ का घटनाक्रमले देखाएको छ—क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भने,“हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो। म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु।”

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे।“हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गर्दै भने,“हामीले त्यतिबेलै भनेका थियौं—नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।”उनका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ।“हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं—क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,” उने भने ।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे।“हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उनले भने।

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गरे।गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताए । इतिहासको समिक्षा गदै उनले भने,“संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो।”

तर, उनले जोड दिए—त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताए। प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गरे र भने,“भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाई थियो ।प्रचण्डले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता औंल्याउँदै भने,“अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन—प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो।”

उनले शहीद प्रतिष्ठान नेपाल लाई शहीद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन निर्देशन समेत दिए।संयोजक प्रचण्डले भने,“म विश्वास गर्छु—यो साधारण सभाले फेरि जनताको तागतलाई केन्द्रित गर्नेछ, सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ। म संरक्षकको हैसियतले यो अभियानमा सहयोग गर्नेछु।”

 

कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौँ । पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमती जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमती जुट्न नसकेको हो । समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतीको नजिक पुगेको पनि आफूले अनुभुति गरेको बताए ।

प्रवक्ता महतले भने,‘पदाधिकारीहरुको बैठक बस्यो । र बैठक टुंगियो । जुन हामीले केन्द्रिय कार्य समितिमा छलफल चलाईराखेका छौं । एउटा सर्वसम्मत निर्णयमा कसरी पुग्ने भन्नेमा हाम्रो सम्पूर्ण छलफल केन्द्रित थियो । धेरै नजिक आएको अनुभव मैले गरेको छु । र, एउटा सहमतीबाटै केन्द्रिय समितिले टुंग्याउँछ । र एउटा समान दुुष्टिकोण बन्छ । र त्यही अनुसार हामी निष्कर्षमा पुग्छौँ भन्ने मलाई लागेको छ । १५ औ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचन पछि गर्दा राम्रो हुन्छ रु भन्ने विषयमा नै मतान्तर हो । यसमा धेरै हिसावले हामी नजिक आएको महशुस मैले गरेको छु । र, एउटा समान निष्कर्षमा हामी पुग्छौ भन्ने मलाइ लागेको छ ।’

नेपाली काँग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन भने महामन्त्री द्धय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रिय समितिको बैठक समेत भोलीसम्मका लागि स्थगित गरिएको छ ।

दर्शकसँगै परान हेरेपछि पूजा चन्द भन्छिन्ः दर्शकको प्रतिक्रिया राम्रो पाएँ

काठमाडौँ । नेपाली चलचित्र ‘परान’ले प्रतिकुल मौसमका बाबजुद पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको अभिनेत्री पूजा चन्दले बताईन् ।

नेपाली चलचित्र ‘परान’ प्रदर्शनमा आएको दोस्रो दिन दर्शकको उत्साह कायम रहेको छ । शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलहरूमा प्रदर्शनमा आएको यस चलचित्रले मौसम प्रतिकुल भएपनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसै बिच चलचित्रकी अभिनेत्री पूजा चन्दले मौसमले पूर्ण साथ नदिए पनि दर्शकको प्रेमप्रति खुशी व्यक्त गरिन् । मौसम सुधार भएपछि अझ धेरै दर्शक हलमा आउनेमा आफू विश्वस्त उनले बताईन् ।

उनकाअनुसार चलचित्रको पहिलो दुई दिनमै विभिन्न स्थानबाट राम्रो समीक्षात्मक प्रतिक्रिया आएको छ । उनेले भनिन्, ‘डेफिनेट्लि हामीलाई वेदरले चाहीँ एकदम साथ दिइरहेको छैन । होपफुल्लि आजदेखि बेटर हुन्छ होला, अनि दर्शकहरु हलमा अझ धेरै झुम्मिने क्रम बढ्छ होला, किनभने दर्शकहरु जति पनि आउनु भएको छ, आएर पनि उहाँहरुले जुन प्रतिक्रिया दिनुभएको छ, जति पनि अहिले सोसल मिडियामा कभरेज भएको छ, पोष्टहरु बनाई राख्नुभएको छ त्यसले पनि धेरै इफेक्ट पार्छ । सबै ठाउँबाट पोजेटिभ रेसपोन्सहरु आई राखेको छ । त्यसले गर्दा चाहीँ आइम फिलिङ भेरि ह्याप्पि ।’

दीपकराज आचार्य (काकु) बाट निदेर्शित उक्त चलचित्रमा अभिनेता निर शाहसहित अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय रहेको छ ।

खनाल भन्छन्–ओलीले ढोका राम्ररी खोलेर बस्ने ठाउँ राम्रो बनाए, फर्किन आपत्ति छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने आह्वान गरेर मात्र नपुग्ने बताएका छन् ।

ओलीको ‘घर फर्क’ भन्ने आह्वानबारे प्रत्यक्ष प्रतिक्रिया दिँदै उनले भने, ‘घर फर्क भनेर मात्र पुग्दैन, ढोका राम्रोसँग खोल्नु पर्छ, बस्ने ठाउँ राम्रो बनाउनु भयो भने फर्किन के आपत्ति छ र ?’

माओवादी केन्द्रसँग एकता गर्ने पार्टी निर्णयपछि खनाल निकट नेताहरूले सुकेधारामा आयोजना गरेको भेलामा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन् । खनालले आफूहरू फरक भएर गए पनि लक्ष्य एउटै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध रूपमा अघि बढाउने रहेको बताए ।

उनले पार्टी एकताका नाममा व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीति अघि बढेपछि आफूहरूले नयाँ बाटो समात्न बाध्य भएको बताए । उनले भने, ‘हामी अलग भएका हौं, तर अलग भएर पनि सिङ्गै हुनका लागि । आन्दोलनलाई अझ बलियो बनाउन छलफल र समन्वय जारी रहनेछ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र स्पष्ट विभाजन देखिएको छ । सुकेधारामा भइरहेको खनाल–घनश्याम भुसाल पक्षको भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि खनाल पक्षले नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने घोषणा गरेको हो । आजको भेला नयाँ पार्टी गठन र आगामी रणनीतिसम्बन्धी निर्णय गर्ने तयारीमा छ ।

काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन् ।

पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताए।

उनले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव समेत गरे । महाधिवेशन प्रतिनिधि वा केन्द्रिय समितिको सुझावलाई नमान्ने हो भने महासमितीको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुंगो लगाउन उपयुक्त हुने उनको भनाई थियो ।

महामन्त्री शर्माले भने,‘जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि । जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिटदा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली काँग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसावले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबै भन्दा पहिले २५ गते बक्तव्य कसेको थियो, काँग्रेसको नै थियो । त्यस लगत्तै सबैभन्दा पहिले जुम बैठक कसेको भएको थियो रु काँग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधान सम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो रु काँग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रुपमा असोज ३ गते बैठक कसले गरेको थियो रु केन्द्रिय कार्यालयमा खरानी पन्छाउँदै काँग्रेसले नै गरेको थियो ।

अहिले हामीले समय लगाएर गर्नुको पछिल्तिर पनि कारणहरु छन । सबैलाई एकतावद्ध गर्नु छ । फरक फरक विचारहरु छन । सबैलाई एक ठाउँमा राख्नु छ । मन्थन गर्नुछ । त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ । काँग्रेस फुटछ भनेर कसैले कल्पना नगरे हुन्छ । नेपाली काँग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए । अहिले पनि छन । भविष्यमा पनि रहन्छन । नेपाली काँग्रेस पार्टी भित्रको सौन्दर्यलाई हेर्नु न ।

पार्टीको आदरणीय सभापतिजीले अहिलेको राष्टिङय परिस्थिति ध्यानमा राखेर मैले पोष्ट गर्दा पनि भनेको थिए–केन्द्रिय समितिमा बहुमत त छदैथियो त । केन्द्रिय समितिको बैठक बसेर तपाई छोडनुस भन्न परेन त । देशभरका महाधिवेशन प्रतिनिधिहरु हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । दर्ता गरेकै थिएन त । कुन राजनीतिक दलमा देख्नुभएको छ । फष्ट म्यानले अहिलेको परिस्थितिमा म मेरो काँधको जिम्मेवारी अरुलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नु भएको छ ।

कुनैको पनि छैन । त्यसैले नेपाली काँग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढंगले अहिलेको विषयबस्तु र समयलाई हेर्छ । त्यो हेर्ने कार्यक्रमको सुरुवात नेपाली काँग्रेस पार्टी सभापतिको सारगर्वित स्टेटमेन्टबाट भईसकेको छ । अहिलेको कार्यबाहक सभापति पूर्णबहादुर खड्कोको नेतृत्वमा हामी छलफलहरु गरिरहेका छौं । छलफलहरु हुन दिनुस । फरक फरक विचार छन । फरक फरक विचार राख्दै गर्दा मध्यमार्गी ढंगको कुरा मैले राखिरहेको तपाईहरुले सुन्नु भएकै छ । कसैले मंसीरमा नै गरौ भन्ने होला । कसैले बैशाखमा पु¥याउ भन्नु भयो होला । मैले के भनेको छु भने मंसीरमा गर्न ढिलो हुन लाग्यो । चार वटा विकल्प छन । मंसीरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्ताव अनुसार जाउ, त्यो पनि ठिक छ । हुन्न भने विशेष अधिवेशन दुई वटा तरिकाले गर्ने । एउटा केन्द्रिय समितिले बोलाउने । अर्को महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ विपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो । जुन दिन हो । त्यही ऐतिहासिक दिनको दिन गरौ भने । त्यसमा आज मैले थप के कुरा भनेको छु भने भोलीदेखि बैठक बस्ने कुरामा सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । मंसीर वा बैशाख कहिले गर्ने भनेर सहमतीपूर्वक प्रस्ताव लिएर जाउ । तर महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । त्यसलाई केन्द्रमा राखेर जाउ । त्यो गर्न सकिएन भने केन्द्रिय समितिको बहुमत आफ्नो ठाउँमा छ । महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ ।दुवै यो ठाउँमा समाउने भन्दा मध्यमार्गीबाट यी दुवै भन्दा माथि महासमिति छ । डिजिटल भोटिङ सिष्टमबाट जान सकिन्छ । महासमितिमा युरोप अमेरिकादेखि खाडी मुलुकसम्म रहेका ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरुको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि बैशाखमा पु¥याउने भनेर हामीले राय लिन सक्छौं । यो कुरा मैले आजको बैठकमा पनि भनेको छु ।’

महामन्त्री शर्माले आफूहरुले विपी कोईरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रश्तावमा जोड दिएको समेत बताए ।