`

एमाले यो धर्तीमा छ, बालेनहरूको खेल सफल हुन दिंदैनौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले यस्तो काम सफल हुन नदिने दाबी गरेका छन् । आज (शनिबार) भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ उनले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत बताए । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाएका छन् ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनु भयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

ओलीको प्रश्न : पासपोर्ट रोक्ने रे, यो ‘हाहुँ’ सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन् ।सत्ताच्युतपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको आरोप लगाएका छन् ।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र गर्दैनौं । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौ ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरेका छन् । उनले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दैछु । के ठानेको छ । यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौं ? हामीले यो देश बनाउनु पर्नेछ । फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’

अध्यक्ष ओलीले देशको अर्थतन्त्र असहज अवस्थामा गुज्रिएको बेला एमालेको सरकार बनेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र सबल भएको र विकासका कामले तीब्रता पाएको दाबी गरेका हुन् ।

उनले सुशासन र विकासमा एमालेले ध्यान केन्द्रित गरेको उल्लेख गरे । उनले मनमोहनको पालादेखि २०७४ र अहिले पनि सरकारमा जाँदा धेरै राम्रा काम गरेको बताए । पूर्व प्रधानमन्त्री ओलीले भ्रष्टाचार उन्मूलन नभए पनि आफ्नो पालामा भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे । उनले जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरामा सदैव जोड दिएको बताए । उनले देशभक्ति र देशको पक्षमा बोल्दा झोले भन्ने ट्रेन चलाइएको भन्दै आपत्ति जनाए । उनले राष्ट्रको हितको पक्षमा उभिदा विरोधीहरु सल्बलाएको धारणा राखे ।

अहिले देशको पक्षमा बोल्यो कि झोलेको ट्रेन्ड चलाइन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताबाट नभएर तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरेका छन् । जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक मञ्चमा उभिएका ओलीले यो सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।

उनले सत्तामा गएदेखि आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको र अरूलाई पनि गर्न नदिएको दाबी गरेका छन् । उनले सरकारमा हुँदा देश र जनताको लागि सकारात्मक काम गरेको उल्लेख गर्दै ती कामलाई प्रचार गर्न अहिलेको सरकारलाई आग्रह गरे ।

उनले आफू सरकारमा हुँदा गरेका सबै कामको रेकर्ड यथावत रहेको पनि बताए । अध्यक्ष ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको दशैँ भेटघाट कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ । कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइ दिने गरिएको छ । कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ ।’

 

पूर्व पदाधिकारीले गैरकानुनी सुविधा फिर्ता गरे–नगरेको हेर्दैछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबरजस्ती उपभोग गरिरहेका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको जानकारी दिएका छन् ।

आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै उनले यो कुरा बताएका हुन् । उनले लेखेका छन्, ‘कानुनले नदिएको सुविधा जबरजस्ती उपभोग गरिरहनु भएका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ ।’

ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो, दिएपछि ध्वस्त पारियो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि मात्रै देशमा ध्वंस मच्याइएको दाबी गरेका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित युवा संघको कार्यक्रमस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देश ध्वस्त बनाइएको टिप्पणी गरे । उनले भने, ‘भ्रष्टाचारविरुद्ध भनेर जेनजी भाइबहिनीहरूलाई उचालियो । तर त्यहाँ ठुलो अन्तर्राष्ट्रिय चलखेल र खुपिया एजेन्सीहरूको समेत लगानी भएको कुरा भएको छ । केपी ओलीले राजीनामा नदिँदासम्म देश जोगिएको थियो । उहाँले राजीनामा दिएपछि देश ध्वस्त पारियो ।’

उनले २३ गते २१ जनाको हत्या भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र भोलिपल्ट ५४ जनाको हत्या भएको विषयमा पनि बेग्लै छानबिन हुनुपर्ने बताए । उनले आजको शान्तिपूर्ण र सामान्य भेटघाट मात्र आयोजना गरिएको जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको मन्त्रीहरूले आफूलाई सेलिब्रेटी भनेर घोषणा गर्दै हिँडेका छन् । त्यो खालको देखिँदैन । जनता केही दिनमै पछुताउने छन् ।’

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति भए उत्तीर्ण ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले नतिजा हेर्न IVR – SMS – USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

बोर्ड केन्द्रीय कार्यालयको वेबसाइट www.see.gov.np बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ ।

बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्याेग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउनसक्ने व्यवस्था गरेको छ । यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ः०० बजेभित्र परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्नसक्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

अमेरिकाको डिभी भर्न अब अनिवार्य शुल्क

काठमाडौं । अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) का लागि आवेदन दिने व्यक्तिले दर्ता शुल्क वापत अनिवार्यरुपमा एक डलर तिर्नुपर्ने नियम ल्याएको छ ।

चिट्ठामार्फत ग्रीनकार्ड प्रदान गरिने ई–डीभी आवेदन दर्ता गर्दा यसअघि अमेरिकी सरकारले शुल्क लिने गरेको थिएन । अब प्रत्येक आवेदकले एक डलर तिर्नुपर्ने नियम अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

दर्ताका समयमा विद्युतीय दर्ता शुल्क संकलन गरिने अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा उल्लेख छ । दर्ता शुल्क एक अमेरिकी डलर हुने जनाइएको छ । उक्त शुल्क आधिकारिक सरकारी पोर्टलमार्फत् तिर्नुपर्ने बताइएको छ । आफूले तिरेको शुल्क डीभी चिट्ठा नपर्दा अथवा परेर पनि भिसाका लागि आवेदन दिन नचाहेमा फिर्ता नहुने प्रष्ट पारिएको छ ।

एक डलर तिर्न ठूलो कुरा नभए पनि नेपालजस्ता देशका नागरिकले कुन प्रक्रियाबाट बुझाउने भन्ने अन्यौल भने देखिएको छ । अधिकांश नेपालीसँग डलर कार्ड नहुने भएकोले आवेदकहरूलाई व्यावहारिक कठिनाइ हुनेछ । बैंकमार्फत एक डलर तिरेर आवेदन दिने प्रक्रिया झन्झटिलो हुने देखिन्छ । आवेदन भर्ने विभिन्न कन्सल्टेन्सीहरुले यसवापत थप शुल्क लिने सम्भावना पनि उत्तिकै छ ।

बर्सेनि विश्वभरिबाट लाखौँ मानिसले डीभी लटरी कार्यक्रमअन्तर्गत आवेदन दिने गरेका पृष्ठभूमिमा त्यसका लागि ठूलो प्रशासकीय खर्च बेहोर्नुपरेको अमेरिकी सरकारको तर्क छ । त्यसका लागि यो रकम उठाउन लागिएको हो ।

डीभी लटरी कार्यक्रमअन्तर्गत बर्सेनि विश्वभरका साढे दुई करोड मानिसहरूले आवेदन दिने गरेका छन् । यो तथ्यांक हेर्ने हो भने एक वर्षमा अब अमेरिकाले एक डलरका दरले पनि कम्तिमा साढे २ करोड डलर संकलन गर्नेछ ।

 

पार्टी वा नेतृत्वको भविष्य एजेण्डामा निर्भर रहन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहने बताएका छन् । जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेलामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यतः स्पष्ट एजेण्डामा निर्भर रहन्छ’, उनले भनेका छन्, ‘विगतमा असोज १८ मा आलोचित र अस्वीकार्य देखिएको नेतृत्व माघ १९ पछि थप सान्दर्भिक बन्यो । किनभने असोज १८ ताका राजनीतिक दलहरू एजेण्डामा विभाजित र अन्योलग्रस्त थिए । तर माघ १९ पछि उनीहरूले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ।’

राजनीतिक दलहरू एजेण्डामा एकताबद्ध भएको परिणामस्वरूप जनता सार्वभौम बनेको र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको स्मरण गरेका छन् ।

गृह मन्त्रालयले भन्यो–अन्य पक्षलाई उक्साहट हुने गरी कुनै कार्यक्रम नगर्नू

काठमाडौं । सरकारले अहिलेको अवस्थामा सभा सम्मेलन र विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण र अन्य पक्षलाई उक्साहट नहुने गरी गर्न अनुरोध गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शनिवार विज्ञप्ति जारी गर्दै अहिंसात्मक हुने गरी अन्य पक्षलाई असर नपर्ने ढंगले कार्यक्रम गर्न भनेका छन् । एमाले निकट युवा संघले आज गर्न लागेको दशैं भेटघाटको पूर्व सन्ध्यामा गृह मन्त्रालयले यो विज्ञप्ति निकालेको हो । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् । भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दशैंका बेला चिनियाँ नाकामै रोकिए कन्टेनर, नेपाली व्यवसायी मारमा

काभ्रेपलाञ्चोक । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अरु समय भन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् । पहिरोका कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

दशैंका लागि सामान हालेका व्यवसायीहरूको कन्टेनरहरू चिनियाँ पक्षले पर्याप्त रुपमा नछाड्दा मारमा परेको गोल्डस्टारका सप्लाई हेड संजीव कर्णले जानकारी दिए । दशैँमा बनाएर बेच्नको लागि ल्याइएको ५० करोड बराबरको कच्चा सामान ल्याउन नपाउँदा ३० दिनदेखि कारखाना नै नचलेको बताउँछन् ।

गोल्डस्टारका सप्लाई हेड कर्णले दशैंको लागि लिएर आएको १७ वटा कन्टेनरमध्ये दुईवटा कन्टेनर मात्र नेपाल भित्रिएको जानकारी दिए । दशैंको लागि भनेर गोल्ड स्टार जुत्ताको कच्चा पदार्थ ल्याएको कन्टेनर चिनमै रोकिएपछि ठूलो मारमा परेको जानकारी दिए ।

‘पहिरोको मारमा परेर अड्किएको सामान अहिले चिनियाँ पक्षले रोक्दा दशैंमा माग भए अनुसारको सामान दिन सकिएन । ५० दिन सडक अवरुद्ध भयो । पाँच दिन लगाएर खुल्यो । त्यसपछि सडकमा जम्मा भएको कन्टेनरहरू पास गराउने काम भयो । तर हाम्रो सामान लिएर आउने पहल भएन’, कर्णले भने, ‘दशैं त बिग्रियो बिग्रियो, तिहारसम्ममा जुत्ता बनाउन सकियो भने अलिकति भरथेग हुन्थ्यो कि भन्ने हो तर सरकारको पहल शून्य भो ।’

संरचनाहरू भए पनि तातोपानी भन्सारको कोर्डिनेसन नपुगेको जस्तो देखिएको बताउँदै उनले तातोपानी भन्सारले नसके चोभार सुख्खा बंदरगाहबाट काम गर्न सकिने बताए । ‘मेरो त कच्चा सामग्री मात्रै हो । तर रेडिमेड तयार भएर आएका कपडा जुत्ता लगायत लत्ता कपडा त्यही रोकिँदा व्यापारीहरुलाई बढी समस्या भएको छ । स्याउ, सुन्तला र आँपमा मात्रै ध्यान दिइएको छ । कतिखेर पानी पर्छ र फेरि रोकिन्छ’, उनले भने ।

नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए । थापाका अनुसार अन्य दिनको तुलनामा कन्टेनरहरूको अनुपात कम भएको जानकारी दिए ।

‘अहिले सिजनल समय हो। यो दशैंको बेलामा रेडिमेड कपडा र फलफूलको माग छ । ५० दिन पहिरोले रोकियो । बल्ल खुलेको बेला रोकिएका जति सबै कन्टेनरहरु आउने अपेक्षा थियो। तर के कारणले रोकियो थाहा भएन’, थापाले भने, ‘एभरेजमा दैनिक ४० वटा कन्टेनर आउनुपर्नेमा अहिले मुस्किलले ७–८ कन्टेनरहरू मात्र आइरहेका छन् ।’

अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । चिनियाँ पक्षले खासमा निर्माण गर्न लागेको निर्माणका क्रममा ट्राफिक समस्या भयो भन्दै दशैं लक्षित सामग्रीहरू खासामै अड्किएको उनको भनाइ छ ।

यसबारेमा चिनियाँ पक्षसँग कुरा भइरहेको पनि उनले जानकारी दिए । चिनको खासाबाटै ट्रकहरु कम आएको छ, खासामा निर्माण भइरहेको छ, उनीहरुले निर्माण र ट्राफिकलाई देखाएर कन्टेनरहरु रोकेका छन् । हामी पारी नै गएर हेर्‍यौं, हामीले दशैं अगाडि नै सामान पुगेन भने व्यवसायीहरू डुब्छन् भनेका छौं उहाँहरुले ट्राफिकलाई दोष दिएर कन्टेनर रोक्नु भएको छ । सायद शनिबारबाट कन्टेनर छाड़छन् कि ।’

गुण्डुमा युवा संघको दशैं कार्यक्रम, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुर जिल्लाका सबै प्रहरीहरु अहिले गुण्डु केन्द्रीत भएका छन् । काठमाडौंबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली गुण्डु केन्द्रीत भएका छन् ।

युलेन्स स्कुल व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाको राजीनामा

काठमाडौ । युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्षबाट निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । अभिभावक बैठकमा कांग्रेस नेतृ समेत रहेकी राणाले राजीनामा दिएकी हुन् । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।

‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनु भएको जानकारी गराइएको छ’, एक अभिभावकले सुनाए । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । राणा युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।

भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । हाल अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस सञ्चालन गर्ने तयारी छ ।

विद्यालले पूर्णरुपमा फेस टु फेस कक्षा ३–४ महिनाभित्र सञ्चालन गर्ने योजना बनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए । युलेस फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।

यस्तै बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको युलेन्स फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ । आन्दोलनबाट विद्यालयमा एक अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । युलेन्समा १ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत थिए।

‘३० मुनिका ३०’ को व्यवस्था पार्टी विधानमा ल्याउनु पर्छ : विश्वप्रकाश शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन् । बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्षमुनिका युवाहरू केन्द्रीय समितिमा समेटिने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन् । यसलाई उनले ‘३० मुनिका ३०’ अवधारणा भनेका छन् । ‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिको निश्चित संख्या तोकौं । उनीहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ लाई केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,’ महामन्त्री शर्माले भने ।

शर्माले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रमा सहभागिता सुनिश्चित गर्न प्रत्येक महादेशबाट एक-एक जना तथा मध्यपूर्वबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । उनले देश, लोकतन्त्र र पार्टी नै खतरा परेको बताउँदै पार्टीभित्रको गुटबन्दी रोक्नुपर्ने बताए ।

‘देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनु पर्ने अवस्था आउनु हुँदैन । गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच र संकल्प ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,’ उनले भने । महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बिरगंज पुगेका थिए ।

शिक्षामन्त्रीले सच्याए शिक्षकको तलवसम्बन्धी सूचना

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकको तलव रोक्कासम्बन्धी सूचना सच्याएका छन् । विद्यालय प्रधानाध्यापकले शिक्षकहरुको तलब रोकेको भन्दै गरिएको कारबाहीको सूचना मन्त्री पुनले सच्याएका हुन् । उनले यसअघि भोलिसम्म शिक्षकहरुलाई तलब निकासा नगरे प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।

तर, शिक्षकलाई तलब प्रअले नभइ पालिकाले दिने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले यसअघि सामाजिक सञ्जालमा राखेको आफनो स्टाटस सच्याएका हुन् । शिक्षकलाई तलब कसले दिन्छ भन्ने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै आलोचना भएपछि उनले दोस्रो सूचना जारी गरेका हुन् ।

दोस्रो सूचनामा उनले भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धित पालिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् । मन्त्रालयबाट पालिकामा तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरि दिएन भनेर केहि प्रअ र शिक्षकहरुको गुनासो आएको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् । उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको छ । तर पनि केही पालिकाले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ, सास्ती भोग्दै यात्रु

पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोला बाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।
तमोर कोरिडोर सडकको मुलघाट गणेशचोक खण्डको सबैभन्दा उत्तरमा पर्ने हेंवा खोलामा पुल निर्माणका लागि डिजाइन मात्रै बनेको छ । हेंवा खोलामा पुल तथा डाइभर्सन नहुँदा फिदिमबाट छोटो दूरीमा जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका विभिन्न वडा तथा यो बाटो हुँदै ताप्लेजुङ जाने यात्रु मर्कामा परेका छन् । यहाँ ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने डिजाइन बनेको छ ।
बाढीले हेंवा खोलामा कोरिडोरको करिब एक किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ । यहाँ सडकको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानका प्रमुख सिडिई दीपक झाले जानकारी दिए । तमोर कोरिडोरमा पर्ने बघुवा खोला पुलको ठेक्का स्वामीनारायाण आशिर्वाद जेभीले लिएको छ । जसको अवधि आगामी वैशाक २९ मा सकिने भए पनि काम नै सुरु हुन सकेको छैन । जसको लम्बाइ ४० मिटर रहेको छ ।
स्वामीनारायाण आशिर्वाद जेभीले नै ठेक्का लिएको खम्बुवा खोला पुलमा भने ४० प्रतिशत भौतिक प्रगति देखिएको छ । यहाँ ३८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । यस पुलको लम्बाइ पनि ४० मिटर नै रहेको छ ।
सोही निर्माण कम्पनीले ठेक्का लिएको रघुवा खोला पुलमा १५ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख झाले जानकारी दिए । उनका अनुसार यस पुल निर्माणको ठेक्काको अवधि पनि आगामी वैशाख २९ गतेसम्म रहेको छ । यस पुलको लम्बाइ १५० मिटर रहेको छ । बघुवा, खम्बुवा र रघुवा खोला पुलको कूल लागत रु २२ करोड ५२ लाख ७५ हजार ७९० रहेको छ ।
यही असोज २७ गते म्याद समाप्त हुन लागेको छरुवा खोला पुल निर्माणमा हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छभने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । यस कार्यको ठेक्का लुम्बिनी–रौताहा–खानी जेभीले लिएको छ । छरुवा खोला नाम जस्तै धेरै भङ्गालो फाटिएको खोला हो । जसमा निर्माणाधीन पुलको लम्बाइ १६५ मिटर रहेको छ । जुन यस कोरिडोरमा निर्माण हुने सबैभन्दा लामो पुल भएको झाको भनाइ छ । यस पुल निर्माणको कूल लागत रु १७ करोड २३ लाख ७९ हजार ५४० रहेको छ ।
पानीको मात्रा ठूलो भएका कारण यात्रुहरूलाई सधैँ दुःख दिइरहेको नावा खोलामा पुल निर्माणको हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ । शर्मा सगुन जेभीले ठेक्का लिएको यो पुल निर्माण सम्झौताको म्याद भने ०८३ साल फागुन १२ गतेसम्म छ । नावा खोलामा निर्माणाधीन पुलको लम्बाइ १५० मिटर रहेको छ । यहाँ पुलका पिल्लर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तर सोही कम्पनीले सोही समयभित्र सम्पन्न गर्ने गरी ठेक्का लिएका लखुवा खोला र लोरिपा खोलामा भने निर्माणको काम नै सुरु हुन सकेको छैन। लखुवा खोला पुलको लम्बाइ १५० मिटर र लोरिपा खोला पुलको लम्बाइ २० मिटर रहेको छ । लखुवा, लोरिपा र हेंवा खोला पुलको कुल लागत रु ३७ करोड २१ लाख ५३ हजार ६४० रहेको पुल सेक्टर कार्यालयका प्रमुख झाले जानकारी दिए ।
बजेट अभावका कारण आफूहरूले निर्माण व्यवसायीलाई दबाबमा राखेर काम लगाउन नसकेको झाको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मै निर्माण व्यवसायीले पाउनुपर्ने करिब रु चार करोड रकम अझैसम्म निकासा हुन सकेको छैन । ‘गत आवकै केही रकम हामीले निकासा दिन सकेका छैनौँ’, कार्यालय प्रमुख झाले भने, ‘रकमान्तर भएर बजेट थप गर्ने कुरा थियो । तर भनेअनुसार भएन ।’
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन् । तर यसको मार भने यात्रुले खेप्दै आएका छन् । विशेषत पाँचथर–धनकुटा सीमावती नावा खोलामा चैतदेखि कात्तिकसम्म पानीको बहाव घटबढ हुने गर्दछ । जसकारण सवारीसाधनको नियमित आवागमन प्रभावित हुने गरेको छ ।
तमोर कोरिडोर सडक योजना कार्यालयका सूचना अधिकारी जयराम अधिकारी सडक बाह्रै महिना सवारी सञ्चालनयोग्य भए पनि पुल निर्माण नहुँदा यात्रुहरूले समस्या भोग्नुपरेको बताउँछन् । ‘सडक त बाह्रैमास सञ्चालन गर्न योग्य भएको छ । अब पुल निर्माणमा ढिलाइ हुनु भएन’, अधिकारीले भने ।

ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो : पाकिस्तानी प्रधानमन्त्री

न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत–पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताए ।

ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार दिनुपर्ने बताएका हुन् । ‘यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो’, शरीफले भने, ‘त्यसैले भारत–पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि योग्य छन् ।’

भारतले पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप लगाउँदै शरीफले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए । भारतले भने भारत–पाकिस्तान संघर्ष रोक्न कुनै तेस्रो पक्षको भूमिका थियो भन्ने कुरालाई लगातार अस्वीकार गर्दै आएको छ ।

भर्खरै एक अन्तरवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका थिए, ‘धेरै वर्षदेखि यो राष्ट्रिय सहमति छ कि पाकिस्तानसँगका सबै विषयहरू आपसी अर्थात् द्विपक्षीय रूपमा मात्रै समाधान हुन्छन ।’ त्यस्तै भारतले पहलगाम हमलापछि भारतीय सेनाले ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानस्थित नौवटा आतंकवादी शिविर नष्ट गरेको र १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ ।

नेपाल प्रहरीका एसपीहरुको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका केही एसएसपीको सरुवा गरेको छ । जेनजी आन्दोलनमा उपत्यका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरका प्रहरी प्रमुख हटाइएपछि ललितपुर प्रहरी प्रमुख पनि फेर्ने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय पठाएर ललितपुरमा सीआईबीको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख होविन्द्र बोगटीलाई पठाइने भएको छ ।

सीआईबीमा कर्णाली प्रदेश प्रहरीबाट शिवकुमार श्रेष्ठ खटाइँदै छन् । जिम्मेवारी हेरफेरको खबर प्राप्त भइसकेको र आफू जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको ललितपुरका एसएसपी अधिकारीले जनाएका छन् ।

पृथ्वी राजमार्गका पेट्रोल पम्पमा पेट्रोलियम अभाव छैन : आयल निगम

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा केही दिनयता पृथ्वी राजमार्गअन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा राजमार्गमा रहेका सबै पेट्रोल पम्पहरूमा इन्धन आपूर्ति सहज रहेको र पेट्रोलियम पदार्थको अभाव नरहेको उल्लेख छ । निगमले उपभोक्ताहरूलाई अनावश्यक त्रास नलिन आग्रह गर्दै आपूर्ति प्रणाली नियमित भएको स्पष्ट पारेको छ ।

‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।

बेपत्ता बालिका मृत भेटिइन्

धनगढी । धनगढीमा बेपत्ता अवस्थामा रहेकी एक बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

 

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई युवकको मृत्यु

सर्लाही । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका–२ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर र एक जना केहि सामान्य घाइते भएका थिए । स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तलब रोक्ने विद्यालयका प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरुको तलव निकासा नगर्ने प्रधानाध्यापकहरुलाई कारवाहीको चेतावनी दिएका छन् । उनले भोलिसम्ममा पनि शिक्षकहरुको तलब निकासा नगरे नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् ।

मन्त्रालयबाट तलब निकासा गरिसकेको जानकारी गराउँदै तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । दशैं–तिहारमा पनि कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो बढेको बताउँदै मन्त्री पुनले फेसबुकमाफर्त चेतावनी दिएका हुन् ।

उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै शिक्षकहरूको तलब सम्बन्धित विद्यालयहरूमा पठाइएको हो । तर पनि केही विद्यालयले शिक्षकहरूको तलब जानाजान रोकेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब नदिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति सदस्यहरूलाई नियमअनुसार कारवाही गरिनेछ’, पुनले भनेका छन् । दसैँ तिहार जस्तो ठूलो चाडपर्वमा शिक्षकहरूलाई तलब नदिएर मानसिक तनावमा पार्नु दुःखद भएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘तलव नखुवाउने प्रअहरुलाई सूचना – दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाईसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारवाही गरिनेछ ।

मेयर साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा, कुलमानको विरोध

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज (शनिबार) विहानै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा पुनः सक्रिय भएका उनले कार्कीको राजीनामा मागसँगै उर्जामन्त्री कुलमान घिसिङको विरोध समेत गरेका छन् । मोबाइल हराएका कारण केही समय निष्क्रिय रहेका उनले अर्को डिभाइसबाट सामाजिक सञ्जालमा पुनः सक्रियता देखाउँदै एकपछि अर्को स्ट्याटस लेखेका छन् ।

यसबीचमा उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागदेखि ऊर्जा मन्त्री कुलमान घिसिङको निर्णयको विरोध गरेका छन् । जेन–जीका माग पूरा गर्न नसकेको भन्दै मेयर साम्पाङले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।

उनले लेखेका छन्, ‘सुशीलाजी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नु भएन । राजीनामा दिनुस् । म गर्छु उनीहरूको माग एक–एक गरेर पूरा !’ आफू नेतृत्व लिन र जेन–जीका माग पूरा गर्न सक्षम भएको उनको दाबी छ । उनले अर्को स्ट्याटस लेखेका छन्, ‘अहिलेको सरकारले भ्रष्टाचार छानबिन गर्छ भने सबैभन्दा पहिले प्रधानमन्त्री र मन्त्रीहरू आफैंबाट सुरु गर्नुपर्छ । बिना स्रोतको सम्पत्ति राखेको पाइए पुष्टि भए आफैंलाई हतकडी लगाउने हिम्मत गर्नुपर्छ अनि मात्र अरूतिर लम्कँदा राम्रो होला ।’

त्यस्तै, ऊर्जा मन्त्रीले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई हटाएको कुराको पनि उनले विरोध गरेका छन् । उनले लेखेका छन्, ‘हितेन्द्रलाई निकाल्नु भन्दा पनि देश र जनताको लागि कजाउनु पर्ने थियो । यस्तो प्रतिशोधको भावनाले निको गर्दैन । हामी बदला होइन बदलावको पक्षमा उभिनु पर्छ । गलत चाल कुलमानजी ।’ अर्को प्रसङ्गमा उनले मेरो मोबाइल खोल्ने बित्तिकै चोर्ने व्यक्ति पक्राउ पर्ने चेतावनी दिँदै तत्काल फिर्ता गर्न अनुरोध पनि गरेका छन् ।

दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिजसँग खेल्दै नेपाल

काठमाडौं । नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध खेल्दैछ । नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल्न लागेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता टोली वेस्ट इण्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इष्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारी स्वरूप नै नेपालले वेस्ट इण्डिजसँग खेल्न लागेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर जस्ता खेलाडी रहेका छन् ।

अन्तरिम सरकारका अर्थमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले आफ्नो पहिलो विदेश भ्रमण अमेरिकाको गर्ने भएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री त्यता जान लागेको स्रोतले जनाएको छ । हिजो बसेको क्याविनेटले उक्त भ्रमण स्वीकृत गरिसकेको छ । मन्त्री खनालको भ्रमण मितिबारे भने खुलाइएको छैन । उनीसँगै अर्थ सचिव घनश्याम उपाध्याय पनि अमेरिका जाने बताइएको छ ।

सोमबार बसेको क्याविनेटले राष्ट्र र सरकार प्रमुखको हकमा दश अनि मन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिको हकमा तीन जनाको प्रतिनिधिमण्डल मात्रै विदेश भ्रमणमा जान पाउने कार्यविधि बनाएको थियो । अर्थमन्त्री खनालको अमेरिका भ्रमणमा सचिव उपाध्याय र एक सुरक्षाकर्मी सहभागी हुने बताइएको छ । त्यस्तै बिहीबारको क्याविनेट बैठकले संयुक्त राष्ट्रय संघको खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने २२ लाख ४२ हजार अमेरिकी डलर र संयुक्त राष्ट्रसंघकै पुँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रचण्डले भने–अब म माओवादीको अध्यक्ष रहिनँँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको दावी गरेका छन् । बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौं । अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ ।’

माओवादीले आज केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

हेर्नुस् माओवादी केन्द्रको सातौं पूर्ण बैठकका निर्णय

–केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
–पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
–नेपोटिज्म (नातावाद, आफन्तवाद) बारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने। संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।
–जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
–आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
–अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
–विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।

प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको फरक मतबारे के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा पेस गरेको प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) सकिएको केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रस्ताव पारित हो । बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई पनि समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।

श्रेष्ठले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न भन्दै आफूलाई कार्यवाहक दिन माग गरेका थिए भने शर्माले प्रचण्डसहित सबै पदाधिकारी आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने गरी सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

सबै नेताको सम्पति छानबिन गरी सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनु पर्ने आवश्यकता औँल्याएका छन् । ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नु पर्छ,’ प्रचण्डले भने ।

संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो । बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।

‘आगामी केन्द्रीय कमिटीमा जेनजीको अधिकतम प्रतिनिधित्व हुन्छ’
अध्यक्ष ‘प्रचण्ड’ ले आगामी केन्द्रीय कमिटीमा जेनजी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा युवाहरूलाई निर्णायक तहमा ल्याउनु पर्नेमा नेताहरूले जोड दिएका थिए । ‘जेनजीलाई आगामी केन्द्रीय समितिमा अधिकतम प्रतिनिधित्व गर्न अहिलेदेखि तयारी गरिनेछ’ प्रचण्डले भने, ‘सक्रिय र क्षमतावान जेनजीहरू केन्द्रीय कमिटीमा आउने छन् ।’

छायाँमा परेका ‘जेनजी’ अभियन्ता मिराज ढुङ्गानाले भेटे प्रधानमन्त्री

काठमाडौं । ‘जेनजी’ आन्दोलन ‘हाइज्याक’ भएको टिकाटिप्पणी चलिरहेका बेला सुरुताका अभियानमा सक्रिय मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका हुन् । सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनको गृहकार्य हुँदैगर्दा मिराज केन्द्रमा देखिएका थिए । तर, आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईंलाई उनकै निवासमा गएर भेटेपछि उनी विवादित बने । उनले आफू प्रसाईंलाई आन्दोलनमा नआउनु भनेर सम्झाउन गएको प्रष्टिकरण दिएका थिए ।

जेनजी आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति लिनेहरुमध्येमा मिराज पनि एक थिए । तर, आन्दोलन र सरकार निर्माणमा उनी नदेखिएपछि उनको खोजी शुरु भएको थियो । ढुङ्गाना जेनजी आन्दोलनमा भने सहभागी नै भएनन् । आफू २३ र २४ भदौमा सडकमा ननिस्किएको उनले एक अन्तरवार्तामा बताएका छन् । केही युवाहरुले आफू आएमा विरोध गर्ने भनेर ‘थ्रेट’ दिएकाले नगएको उनको भनाइ छ ।

अन्तर्वार्ताका क्रममा उनले त्यस दिन उनी आफ्नै व्यवसायमा व्यस्त रहेको बताएका छन् । उनको फुलको व्यवसाय गर्छन् । आन्दोलनपछि एकाएक सुधन गुरुङ जेनजी लिडर बनेर बाहिरिएका थिए । सैनिक हेड क्वार्टरदेखि शीतल निवाससम्म गुरुङकै चहलपहल चल्यो र सरकार निर्माणमा पनि उनकै हात रह्यो । अहिले पनि बालुवाटारदेखि शीतलनिवाससम्म उनको पहुँच छ । तर ढुङ्गाना भने ओझेलमा परेका थिए । सुधनले जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लाग्दै आएको छ । ढुङ्गाना आन्दोलनमा नदेखिएपछि उनको खोजी भयो । उनले आफूलाई धाकधम्की आएको प्रष्टीकरण दिए । अहिले भने उनी फेरि बाहिर देखिन थालेका छन् । यही सिलसिलामा उनले प्रधानमन्त्री कार्कीसँग भेटेका हुन् ।

नेपालकै ‘जेनजी’ शैलीमा लद्दाखमा हिंसा भड्काएको आरोपमा सोनम वाङचुक पक्राउ

काठमाडौं । भारतको लद्दाखमा नेपालकै ‘जेनजी’ शैलीमा प्रदर्शन गर्ने समूहका नाइके सोनम वाङचुक पक्राउ परेका छन् । बुधबार लेहमा भएको हिंसात्मक प्रदर्शनपछि, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनम वाङचुकलाई उनको गाउँ उले तोक्पोबाट पक्राउ गरिएको हो ।

इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए । गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे । अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे । उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिंसा भड्काएको आरोप लागेको छ ।

नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ । इन्जिनियर, नवप्रवर्तक, शैक्षिक तथा वातावरणीय कार्यकर्ता सोनमले विगत एक वर्षदेखि विभिन्न अवसरमा लद्दाखलाई संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै भोक हड्ताल र दिल्लीसम्म प्रदर्शन गराएका थिए ।

गत वर्षको मार्चमा, उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै २१ दिने भोक हड्ताल गरे। अक्टोबर २०२४ मा, उनले सोही मागलाई दबाब दिन लद्दाखबाट दिल्लीसम्म पैदल यात्रा पनि गरे । उनले अमेरिका र युरोपबाट फन्ड ल्याएर भारतमा हिंसा भड्काएको आरोप लागेको छ । नेपालमा पनि सोही शैलीमा हामी नेपालका सुदन गुरुङले जेनजी आन्दोलनलाई भड्काउन उक्साएको आरोप लाग्ने गरेको छ ।

पूर्व प्रधानमन्त्रीलगायत ‘भीआइपीहरु’ को सुविधा तत्काल रोक्न अर्थको पत्र

काठमाडौं । सरकारी खर्च कटौतीमा जोड लगाइरहेका अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक तथा प्रशासनिक पूर्व पदाधिकारीको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन् । अर्थमन्त्री खनालले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीलगायतको सुविधा रोक्न शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएका हुन् । अर्थ मन्त्रालयको पत्र अनुसार भीआइपीको सवारीसाधन फिर्ता गरिनेछ ।

यस्तै सुरक्षाकर्मी पनि फिर्ता गराइने भएको छ । भीआइपीका नाममा मन्त्रिपरिषद्बाट निर्णय गराएर जथाभावीरुपमा सुविधा उपभोग गर्दै आएकाहरुलाई तत्काल सवारीसाधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न तथा अन्य सेवा सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले पत्र काटेको हो । अर्थमन्त्री खनालको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले खर्च कटौतीको निर्णय गरेको थियो ।

पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीलगायतका भीआइपीलाई सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनी व्यवस्था छैन । सेना र प्रहरीका अवकाशप्राप्त हाकिमका घरमा काम गर्न बाध्य पारिएका सुरक्षाकर्मी पनि फिर्ता हुने भएका छन् । यसअघि अर्थले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ । साथै, पूँजीगततर्फ खुद्रे आयोजना रोक्का गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ । सो निर्णयबाट बच्ने रकम निर्वाचन, पुनर्निर्माण र राहतमा उपयोग गरिने छ। अर्थको खर्च कटौतीबाट १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकम बच्ने अनुमान गरिएको छ ।

 

मुलुकको अस्थिरताले अन्तर्राष्ट्रियस्तरमा समेत चुनौती सिर्जना गर्ने खतरा : विद्या भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक भएको बताएकी छन् । आज (शुक्रबार) काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको औंल्याइन् ।

‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्,’ उनले भनिन् । उनले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएर मात्र हामीले यो समस्यालाई समाधान दिन सक्छौं ।’

देशको अस्थिरताले मित्र राष्ट्रहरूलाई समेत चिन्ताको अवस्था आउन सक्ने चेतावनी दिँदै उनले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन आग्रह गरिन् । ‘हामी जस्तो खालको बसाईमा छौं, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पिर पर्न सक्छ । समस्याहरू आउन सक्छ’ उनले भनिन्, ‘त्यसले हामीले हाम्रो शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै भण्डारीले भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही पनि गर्न नसक्ने तरिका सही होइन । सबैको कुरा सुन्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’ उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । ‘नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा हामी जानुपर्छ,’ उनको भनाइ थियो । भण्डारीले सबै जिम्मेवार नागरिकहरूलाई छलफललाई अगाडि बढाउँदै समाधान खोज्ने साझा प्रयासमा जोड दिन पनि आग्रह गरिन् ।

भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्छ, प्रतिशोध साँध्न पाइँदैन : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्ने भए पनि प्रतिशोध साँध्न नपाइने बताएका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज (शुक्रबार) काठमाडौंमा भएको कार्यक्रममा उनले राजनीतिक दलहरूले आगामी निर्वाचनमा संविधान संशोधनका ठोस एजेण्डा लिएर जानुपर्ने बताए।

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः प्रधानमन्त्री बन्न नदिने व्यवस्था संविधानमै राख्नुपर्छ,’ उनले भने । भट्टराईले सरकारलाई खबरदारी गर्दै कार्यकारी आदेशका नाममा संविधान र कानुन मिचिने काम तत्काल रोक्न माग गरे । उनले प्रेस स्वतन्त्रता संरक्षण गर्नुपर्ने, संवैधानिक निकायलाई दलको प्रभावमुक्त बनाउनुपर्ने र निर्वाचनलाई नै सुरक्षित निकासका रूपमा अघि बढाउनु पर्ने सुझाव दिएका छन् ।

भट्टराईले जेनजी आन्दोलनपछि नागरिक समाजले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाएर संविधान रक्षा गर्न सुझाएको स्मरण गरे । उनले संविधानमा देखिएका समस्याबारे चर्चा गर्दै धारा ७४, ७५, ७६, ७७ र १३२ मा ग्रहण लागेको टिप्पणी गरे । गत भदौ २३–२४ गते जेन–जी युवाहरूले गरेको आन्दोलनपछि सरकार बन्दैदेखि नेपालको संविधानमा ग्रहण लागेको उनको भनाई छ ।

लिलामणिको टिप्पणी : प्रचण्डको राजीनामा माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’

पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् । पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् । माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् । तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए ।

‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरू भङ्ग गरौ’ कार्कीको प्रस्ताव छ । अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव पनि बोलेका छन् । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् ।

मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ । महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् ।

आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् । उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

जेनजी आन्दोलन प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको विशेष कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई राहतस्वरूप कर्जा नीतिमा विशेष व्यवस्था गरेको छ । शुक्रबार जारी गरिएको निर्देशनअनुसार व्यवसाय सञ्चालनमा आउने समयसम्मका लागि कर्जामा लाग्ने ब्याजमा सहुलियत दिइने भएको छ ।

निर्देशनअनुसार प्रभावित व्यवसायलाई दिइने कर्जामा स्वपुँजी अनुपात ८०ः२० भन्दा बढी भए पनि तत्काल नोक्सानी व्यवस्थापन गर्नुपर्ने छैन । एक वर्षपछि मात्र नोक्सानी व्यवस्थापन गर्ने प्रावधान गरिएको छ । त्यस्तै आन्दोलनका कारण क्षतिग्रस्त भइ प्रतिस्थापन गर्नुपर्ने व्यवसायिक सवारीसाधन तथा ढुवानीका साधन किन्न कर्जा लिँदा डाउन पेमेन्ट २० प्रतिशत मात्र पु¥याए पुग्ने व्यवस्था गरिएको छ । यसअघि सो अनुपात बढी हुने गरेकामा राष्ट्र बैंकले लो टुर भ्यालु कम गरी सजिलो बनाएको हो ।

निजी क्षेत्रका कर्मचारीलाई तलब वितरण गर्नका लागि पनि राष्ट्र बैंकले सस्तो दरको ऋण सुविधा उपलब्ध गराएको छ । जेनजी आन्दोलनबाट प्रभावित उद्योग प्रतिष्ठानले आधार दरमा ०.५ प्रतिशत ब्याजमा एक वर्ष अवधिको ऋण लिन सक्ने छन् । यसरी प्रवाह हुने ऋणमा सरकारले पहिलो ६ महिनासम्म २ प्रतिशत ब्याज अनुदान दिनेछ । ऋण लिनका लागि पुस मसान्तभित्र निवेदन दिनुपर्ने व्यवस्था छ । यस्तै कम्तीमा २५ प्रतिशत मूल्य अभिवृद्धि गर्ने, उत्पादनको चौथाइ निर्यात गर्ने र कम्तीमा सय जना महिलालाई रोजगारी दिने उद्योगलाई आधार दरमा १ प्रतिशतमात्र प्रिमियम लिएर ऋण प्रवाह गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यी सबै व्यवस्था अर्थ मन्त्रालय र राष्ट्र बैंकको संयुक्त कार्यदलको सुझावका आधारमा लागु गरिएको हो । प्रभावित उद्योगव्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन र श्रमिकको तलब वितरण सुनिश्चित गर्न सहुलियत दिनुपर्ने निष्कर्षमा कार्यदल पुगेपछि राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो ।

प्रभावित उद्योग व्यवसायलाई गाडी किन्न ८० प्रतिशतसम्म कर्जा सुविधा
नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा सुविधा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको यसअघिको निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले उक्त सुविधा प्रदान गरेको हो ।

यद्यपि सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधन खरिदमा ६० प्रतिशतसम्म मात्र कर्जा दिनसक्ने व्यवस्था भने यथावत् छ । जेनजी आन्दोलनमा भएको क्षतिलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उद्योग व्यवसायलाई सुविधा दिएको जनाएको छ । राष्ट्र बैंकले ऋण मूल्य अनुपात यस्तो हकमा ८० प्रतिशतसम्म कायम गर्न सकिने भनेको छ ।

आन्दोलनमा प्रभावित रोजगारदातालाई कर्मचारीलाई तलब दिन कम दरमै ऋण
जेनजी आन्दोलनमा प्रभावित रोजगारदाता संस्था तथा प्रतिष्ठानले कर्मचारीलाई तलब दिन कम दरमै ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न रोजगारदाता संस्था प्रतिष्ठानले पेरोल प्रोटेक्सन स्किम ल्याई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउन यो सुविधा प्रयोग गर्न सक्ने छन् ।

यसअनुसार कर्जा माग गरेमा इजाजतपत्रप्राप्त संस्थाले कर्जा प्रवाह गर्दा आधारदरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि मात्र प्रवाह गर्नुपर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनासम्मका लागि २ (दुई) प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ । यसबमोजिमको अनुदान नेपाल सरकारबाट प्राप्त भएपश्चात् ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।

यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्रमा निवेदन दिनुपर्नेछ । यस बाहेक राष्ट्र बैंकले कम्तीमा १०० जना महिलालाई रोजगारी प्रदान गरी न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा १ प्रतिशत विन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

 

एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ ।

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँमा निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशन हुँदै मकवानपुरमा निर्माणाधीन हेटौँडा सवस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६ दशमलव ५० लाख अमेरिकी डलर रहेको छ । यस सम्झौताअन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि श्री निर्माण गौलीले आज एक समारोहबीच एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरे ।

हस्ताक्षर पश्चात एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले भने, ‘यस सम्झौताले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ । यो उपलब्धि नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो ।’

एमसिए–नेपालले नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशनदेखि तनहुँमा निर्माणाधीन दमौली सवस्टेशनसम्मको, उक्त सवस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन नयाँ बुटवल सवस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सवस्टेशन, नयाँ दमौली सवस्टेशन र नयाँ बुटवल सवस्टेशन निर्माणसम्बन्धी सम्झौता भइसकेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु–याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।

रामेछापको भटौंली केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

सेनामा बढुवासहित यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णयहरु (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका छन् । बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय भएको छ ।

त्यस्तै नेपाली सेनातर्फ २ जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र ९ जना महासेनानीको सहायक रथिमा बढुवा गर्ने तथा ३ जना सहायक रथीको सरुवा गर्ने निर्णय भएको छ । बैठकले नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधितर्फका २ जना सचिवको राजीनामा पनि स्वीकृत गरेको छ । राजीनामा दिनेमा रामगोविन्द अर्याल र रमेश शर्मा रहेका छन् ।
हेर्नुस् निर्णयहरू

सरकारले खर्च कटौतीमार्फत भौतिक संरचनाको पुनर्निर्माण अघि बढाउने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनर्निर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उनले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनर्निर्माण गरिने बताए ।

बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिए । उनले वर्तमान सरकारका तत्कालका प्राथमिकता प्रकाश पारे । ‘नेपालमा हालै गठित अन्तरिम सरकारद्वारा युवाहरुको चाहना अनुरूप पारदर्शी, जवाफदेही, भ्रष्टाचारमुक्त समाज र विधिको शासन स्थापना गरिने छ’, उनले भने, ‘आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ । अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुनर्निर्माण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने छ ।’

कार्यक्रममा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्रसंघका आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधिलगायतले आफ्नो भनाइ राख्दै नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाएका थिए ।

विकास साझेदारले चालू अवस्थाका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् । मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले बैठकमा राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको जानकारी दिए ।

प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावको विपक्षमा उभिए राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र संयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भंग गरौ’ कार्कीको प्रस्ताव छ ।

बाँकी बोल्ने नेताहरूले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् । हालसम्म पदाधिकारीतर्फबाट नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव बोलेका छन् । उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ । तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

अर्थमन्त्री समक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्ने छन् ।