`

५२ औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवस सम्पन्न

काठमाडौँ । काठमाडौँको नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा ५२ औं नेपाल पर्वतारोहण संघ ९एनएमए० दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

एनएमएले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा कीर्तिमानी पर्वतारोहीहरू, पर्वतीय पर्यटनसँग सम्बन्धित संस्थाहरू, पत्रकारहरू र कर्मचारीहरूलाई संस्थाका उल्लेखनीय व्यक्तित्वहरूको नाममा पुरस्कार प्रदान गर्दै सम्मान गर्दै आएको छ।

जसमा डाउन फेदर पहिरन बिना ८००० मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गरेर इतिहास रच्ने मिङ्मा तेन्जी शेर्पाले कुमार खड्ग विक्रम शाह साहसिक पुरस्कार प्राप्त गरे। विश्वको दोस्रो अग्लो शिखर माउन्ट के२ छ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने श्री सिद्धिबहादुर तामाङलाई डा। हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको थियो।

यसका साथै, सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला सब इन्स्पेक्टर कुञ्जाङ त्शोपेल शेर्पालाई पासाङ ल्हामु शेर्पा साहसिक महिला पर्वतारोही पुरस्कारले सम्मानित गरिएको थियो। पत्रकार सुरज कुँवर र पवन फुयाँललाई दावा नोर्बु माउन्टेन जुमालिज्म अवार्ड प्रदान गरिएको थियो ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा एनएमए अध्यक्ष फर गेल्जे शेर्पा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्स भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

रुपन्देही । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्स जहाजको इन्जिन फेल भएर आकस्मिक रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । शनिबार विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ । जसका कारण करिब ४० मिनेट विमानस्थलमा उडान अवरुद्ध हुन पुगेको समेत विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरू सकुशल छन् । अहिले उनीहरू विमानस्थलमै रहेका छन् । उनीहरूलाई लिन काठमाडौँबाट अर्को विमान आउने बताइएको छ ।

वामपन्थीहरूमा ‘मिसिने तर नमिल्ने’ प्रवृत्ति छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरूको ‘मिसिने तर नमिल्ने’ प्रवृत्तिका रहेको पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले लेखेका छन्, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता ।’ उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

 

‘जेनजीलाई राष्ट्रियसभा पुर्‍याउन दलको इच्छा होइन, संविधानको अनुमति चाहिन्छ’

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीव्र बनेका बेला कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी पुस्ताको प्रतिनिधित्व अहिलेको संरचनामा सम्भव नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार राष्ट्रिय सभाको आवधिक निर्वाचन संविधानले तोकेको प्रक्रिया र मापदण्डअनुसार मात्रै गर्न सकिने भएकाले कुनै पनि राजनीतिक दल वा सरकारले चाहेर मात्र नयाँ पुस्तालाई प्रतिनिधित्व दिलाउन सक्दैन । निर्वाचन आयोगको सल्लाहमा सरकारले माघ ११ गते राष्ट्रिय सभा सदस्यका रिक्त १८ पदका लागि निर्वाचन मिति तय गरेको हो । आगामी फागुन २० गते एक तिहाइ अर्थात १९ सदस्यको कार्यकाल समाप्त हुने भएकाले सो पदपूर्तिका लागि आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार सातै प्रदेशका राजधानीहरूमा मतदान केन्द्र तोकिनेछ ।

संविधान २०७२ को धारा ८६ अनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । यसमध्ये ५६ जना प्रदेश सभाबाट निर्वाचित र ३ जना राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । संविधानले कुनै विशेष उमेर समूह, आन्दोलन वा पुस्ताका लागि छुट्टै कोटा नदिएकाले जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) हालको प्रणालीबाट उम्मेदवार बन्न सक्दैनन् । संविधानको धारा ८७(१) ले राष्ट्रिय सभा सदस्य हुन कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख गरेको छ । जसका कारण जेनजी उमेर समूह स्वतः अयोग्य ठहरिन्छ ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार यो कानुनी सीमा संविधानमा निहित भएकाले दलहरूको इच्छाले मात्र तोड्न सकिँदैन । ‘राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्व गर्न संविधान संशोधन आवश्यक छ’, उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत चाहिन्छ, तर अहिले प्रतिनिधि सभा नै विघटन भएकाले तत्काल सम्भव छैन ।’

उनले आयोगले सरकारको सल्लाह र संवैधानिक दायराभित्र रहेर मात्रै काम गर्न सक्ने बताए । ‘यदि सरकारले संविधानको अधीनमा रही कुनै प्रस्ताव ल्यायो भने हामी कार्यान्वयन गर्न तयार छौं’, भण्डारीले भने, ‘तर संविधान संशोधन नगरी राष्ट्रिय सभाको उमेर सीमा परिवर्तन गर्न सकिँदैन ।’

निर्वाचन आयोगका तथ्यांकअनुसार सातै प्रदेशमा रहेका प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख १,५९५ जना गरी १ हजार ९ सय ४ मतदाताले आगामी निर्वाचनमा मतदान गर्नेछन् । मतदानमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुने व्यवस्था छ ।

राष्ट्रिय सभा स्थायी प्रकृतिको सदन हो, जहाँ हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल समाप्त भएर नयाँ सदस्यको निर्वाचन हुने संवैधानिक व्यवस्था छ । यसपालि पनि १८ जना सातै प्रदेशबाट निर्वाचनद्वारा र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई १९ जना सदस्य पदपूर्ति हुनेछ ।

हालैको जेनजी आन्दोलनपछि राज्यका सबै तहमा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवाज उठेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्वबारे चासो देखाए पनि प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार अहिलेको संवैधानिक संरचनाभित्र त्यो सम्भव छैन । उनले भने, ‘यो आवधिक निर्वाचन हो, जसमा संविधानले तोकेको भन्दा फरक प्रक्रिया अपनाउन सकिँदैन । जेनजी पुस्तालाई राष्ट्रिय सभामा ल्याउन चाहिने बाटो भनेको संविधान संशोधन नै हो । त्यस बिना दलहरूको इच्छाले मात्र सम्भव छैन।’

भाषण गर्दागर्दै ढलेर निधन भएका जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन्। जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो ।

श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताए । उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरुको रोजीरोटी गुमेको बताए । उद्योगी र सरकारकाबीचको टकरावको मारमा श्रमिकहरु पर्न नहुने उनको भनाई छ । सरकारले जेन—जी आन्दोलनको माग पुरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको उनले बताए ।

उनले भने, ‘अस्ती भर्खरै जेन-जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथीबाट आउन नसकेर मर्नेहरु पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु । ५० औँ हजार मजदुरहरुका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने रु हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु’

उनले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताए ।

 

 

एक सातादेखि बेपत्ता सरोजको हत्या, खोलामा गाडिएको अवस्थामा भेटियो शव

झापा । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शर्मा कार्तिक ९ गतेदेखि गाडीसहित बेपत्ता थिए ।

शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बीचमा रहेको बिरिंग खोला किनारमा प्लाष्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो । उनले चढ्ने कारमा आगो लगाइएको थियो ।

शर्माको शव झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले जानकारी दिएका छन् । उनले शर्माको शव खोला किनारमा गाडिएको र दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए । लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, शर्माको के कारणले हत्या भएको हो यसबारेमा अनुसन्धान भइरहेको छ ।

 

एमाले सचिवालय बैठक शुरु (तस्बिरसहित)

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक शुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।

साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने पार्टीले बताएको छ ।

फेरियो बाटो : माधव पक्ष आज प्रचण्डसँग भेट्दै, झलनाथ समूह अलग्गै भेला गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको निर्णयपछि नेकपा (एकीकृत समाजवादी) भित्र खुला दुई ध्रुवीय स्थिति बनेको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले आज (शनिबार) दिउँसो ३ बजे प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्ने तयारी गरेको छ । यस्तै एकता अस्वीकार गर्दै झलनाथ खनाल नेतृत्वको पक्षले दिउँसो १ बजे नै सुकेधारास्थित मिराकल पार्टी भेन्युमा छुट्टै भेला बोलाएको छ ।

खनाल पक्षका एक नेताका अनुसार सो भेलामा आधा दर्जन पदाधिकारीसहित करिब १५० बढी केन्द्रीय सदस्य सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूले शुक्रबार पार्टी केन्द्रीय कमिटीबाट पारित माओवादीसँग एकताको निर्णय अस्वीकार गर्दै पार्टी पुनर्गठन र आगामी रणनीतिमा केन्द्रित छलफल गर्ने तयारी गरेका छन् ।

प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले ‘भेला होइन, सीमित नेताबीचको छलफल’ का रूपमा कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘पहिले त माओवादीमा जाने साथीहरूलाई रोक्नु पर्छ, त्यसपछि हाम्रो पक्षका नेताहरूले एक स्टेटमेन्ट जारी गर्ने तयारी छ ।’

अर्यालले शुक्रबारकै बैठकपछि माधव नेपाल पक्षसँग राजनीतिक सम्बन्ध विच्छेद भइसकेको दाबी गर्दै भने, ‘अब उनीहरूले कोसँग के कुरा गर्छन् भन्ने हाम्रो मतलब छैन । हामी पार्टी पुनर्गठन र राष्ट्रिय भेलाको तयारीमा लागेका छौं ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबारको ‘मूल पार्टीमा फर्किनुहोस्’ भन्ने आह्वानबारे पनि टिप्पणी गर्दै भने, ‘यदि ओलीले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका निम्ति बोल्नु भएको हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ, हावादारी भाषणले हुँदैन ।’

खनाल पक्षभित्र पनि नेतृत्वबारे मतभेद देखिएको छ । केही नेताहरूले झलनाथ खनाललाई ‘अभिभावक’ को भूमिकामा मात्र रहन सुझाव दिएका छन् । एक नेताले भने, ‘झलनाथजीले आफू अध्यक्ष बन्ने अडान लिए कुरा मिल्दैन । नयाँ पुस्तालाई कार्यकारी नेतृत्व दिनुपर्नेमा हामी अडिग छौं ।’

त्यस्तै, माधवकुमार नेपाल पक्ष भने आज माओवादी केन्द्रसँग एकताको सम्पूर्ण प्रक्रिया लिखितरूपमा टुंग्याउने तयारीमा छ । शुक्रवारको बैठकबाट पारित नेपालको राजनीतिक प्रतिवेदनअनुसार माओवादी केन्द्रसँग एकताका विषयहरूमा अन्तिम सहमति हुने भएको हो । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनाल समूहले त्यसको विरोध गर्दै शनिबार छुट्टै भेला बोलाएको हो ।

सो भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित अन्य केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ । माओवादीसँग एकताको निर्णयले एकीकृत समाजवादी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ ।

हरिबोधिनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं। आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको लाम लागेको छ। दर्शन, पूजा र तुलसी विवाहको अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्। मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड बढ्दै गएको छ। भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।

बुढानीलकण्ठमा आजको दिन विशेषरूपले धार्मिक उत्सवको माहोल देखिएको छ- भक्तजनले दीपदान, भजन-कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन्।

आज हरिबोधिनी एकादशी फूलको डोली सहित बागमतीमा टाँगियो तोरण

काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

एकादशीको दुई दिनदेखि चोखो बसेकाहरु एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र त्यही दिन बेलुका सत्यनारायणको पूजा महादीप लगायत एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरु उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ ।

आजको दिन सो गर्नाले पुण्यप्राप्ति हुने जनविश्वास रहेको छ । यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मरेपछि वैतरिणी तर्ने जनविश्वास समेत रहेको छ ।

 

पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

काठमाडौं । हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ ।

उद्धार गरिएका पर्यटकहरूमा एक जना खुट्टामा चोट लागेका व्यक्ति, एक जना ९ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति छन् । सबैको अक्सिजन लेभल कम रहेको सशस्त्र प्रहरी बलका सहप्रबक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमाण्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्दार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असोज महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सह प्रबक्ता थापाको भनाइ छ ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिनेछ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्व तयारीको महत्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

 

योगेश भट्टराईद्वारा एकताका चार आधार प्रस्तुत, ओलीको आह्वानलाई गरे समर्थन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेताहरूप्रति मूल घर फर्कन आह्वान गरेको प्रसंगलाई स्वागत गर्दै यो समयानुकूल र सान्दर्भिक भएको बताएका छन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले निषेध, प्रतिशोध र घृणाको राजनीति त्यागेर सहकार्य र सहअस्तित्वको बाटोबाट एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको राष्ट्रिय आवश्यकता वाम आन्दोलनलाई जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा एकताबद्ध बनाउनु हो ।

भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र बन्नै पर्छ, त्यो एमाले हो ।’

एकताको दिशामा अघि बढ्न उनले चार आधार समेत प्रस्तुत गरेका छन् । ती हुनु–जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई मान्यता दिनु, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी पार्टीको पुनर्गठन गर्नु र नेकपा एमालेको नेतृत्वमा आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु । ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौं,’ भट्टराईले लेखेका छन् ।

चार वर्ष अघि एमालेबाट विभाजित बनेको एकीकृत समाजवादी माओवादीसँग एकताको निर्णयमा पुगेको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितका नेताहरुले असहमति जनाउँदै आएका छन् । शुक्रबार एकीकृत समाजवादीले यस्तो निर्णय गर्दा विवाद उत्पन्न हुँदै गर्दा एमाले अध्यक्ष ओलीले घर फर्कन आह्वान गरेका थिए ।

योगेश भट्टराईले एकताका लागि प्रस्तुत गरेका चार आधार :
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
–पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
–२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
–नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

 

ओलीको आह्वानमा खनालको प्रतिक्रिया : ‘जबज’ हटाए एकता हुनसक्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादीसँगको एकता निर्णयप्रति असहमति जनाउँदै झलनाथ खनालको समूह पार्टी पुनर्गठनको तयारीमा जुटेको छ । खनालले एमाले अध्यक्ष केपी ओलीको आह्वानलाई ‘सकारात्मक’ भन्दै जबज (जनताको बहुदलीय जनवाद) हटाए वाम एकताको सम्भावना बढ्ने बताएका छन् ।

उनले नेपालले एकीकृत समाजवादीमा माधव नेपालको नेतृत्व असफल भएको र पार्टीलाई ‘विसर्जन’ गर्ने दिशामा लगेको समेत आरोप लगाए । खनालले करिब डेढ सय जना केन्द्रीय सदस्यले आफूहरूको पक्षमा सकारात्मक धारणा दिएको दाबी गरेका छन् । खनालले माओवादीसँगको एकताबारे भने, ‘यो अस्वीकार गरेको माओवादीसँग कहिल्यै एकता हुँदैन भनेर होइन, पहिले विगतको चार वर्षको अनुभव समीक्षा गर्नुपर्छ’, भन्दै त्रुटिहरू सच्याएर मात्र वाम एकता सम्भव हुने बताए ।

एमालेसँग एकताका शर्त प्रस्तुत गर्दै उनले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, जबज परित्याग गर्ने, समाजवादी क्रान्तिको कार्यक्रम र नीति–दिशामा एकरूपता ल्याउने तथा साम्राज्यवाद र दलाल पूँजीवादविरुद्ध स्पष्ट धारणा अपनाउनु पर्ने बताएका छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो (शुक्रबार) सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका थिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को नाम नलिइकन सामाजिक सञ्जालमार्फत ओलीले यस्तो अपिल गरेका थिए । नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले घर तपाईहरूको पसिना र रगतले बनेको हो भन्दै यस्तो अपिल गरेका थिए ।

उनले भनेका थिए, ‘विगतमा नेकपा (एमाले) निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईहरूको पसिना र रगतले बनेको हो ।’ ओलीको आह्वानपछि खनालले शर्तसहितको प्रतिक्रिया जनाएका हुन् ।

खनालले पुनर्गठित पार्टीले निर्वाचन प्रक्रियामा सहभागी हुने संकेत दिँदै नयाँ दल दर्ता वा विद्यमान संरचनालाई अघि बढाउने विकल्पहरू खुलेका बताए । उनले नयाँ वाम शक्ति निर्माणका लागि देशभक्त र प्रगतिशील शक्तिसँग संवाद सुरु गर्ने तयारी समेत रहेको जानकारी दिएका छन् ।

‘बिकार’ बोकेर माधव माओवादीतिर, म क्रान्तिकारी बाटोतिर : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी वैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको छ । शुक्रबारको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले असहमति जनाउँदै पार्टी पुनर्गठनको घोषणा गरेका छन् ।

२०७८ साल भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीभित्र अहिले खुलेर दुई धार बनेका छन् । एक पक्ष अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा माओवादी केन्द्रसँग एकतामा जाने तयारीमा छ भने अर्का वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह त्यसको विरोधमा उत्रिएको छ ।

खनालले भने, ‘माधवजीले चाहिँ एकता गरे, हामीले गरेनौं । पार्टी दुई टुक्रा भयो अब ।’ उनका अनुसार माओवादीसँग एकता गर्ने निर्णयमा आफू लगायत कम्तीमा ११ जना केन्द्रीय नेताहरू असहमत छन् । खनालले आफूहरूको समूहले छिट्टै पार्टी पुनर्गठनको तयारीमा रहेको बताए। ‘पार्टी पुनर्गठनको काम तुरुन्तै गरिहाल्छौं’, उनले भने । उनले अब मार्क्सवाद–लेनिनवादी पार्टी निर्माण गर्ने बताए ।

खनाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतको साथ छ ।

खनालले विकृति बोकेर अध्यक्ष माधव नेपाल माओवादीमा गएको आरोप पनि लगाए । पार्टी पुनर्गठन गरौँ भन्दा नेपालले नमानेको उनको भनाई छ । ‘पुनर्गठन गर्न त माधवकुमार नेपालले मानेनन् । उनी त्यही दक्षिणपन्थी अवसरवादमा हिँड्न चाहे क्यारे । अनि जो विकार, विकृतिको झोली–तुम्बा बोकेर जान चाहे माधवजीले’ उनले भने, ‘मैले त पहिला पार्टीलाई पुनर्गठन गरौं, रूपान्तरण गरौं अनि त्यसपछाडि एकीकरणको कुरा गरौंला । सबै वामपन्थीलाई एकताबद्ध बनाऊँ भनेकै हो । तर, मानेनन् ।’

पार्टीको नेतृत्व सम्भावनाबारे उनले भने, ‘अब नयाँ साथीहरू पनि आउन सक्छन् । तर अहिले तय भइसकेको छैन, बसेर टुंग्याउँछौं ।’ एमालेमा फर्किने कि भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा अस्वीकार गरे । ‘हामी नयाँ तरिकाले पार्टी बनाउँछौं । पार्टी पुनर्गठन हुन्छ’, उनको भनाइ छ । खनालले आफूले नेतृत्व गर्ने पुनः गठित पार्टी ‘माक्र्सवादी–लेनिनवादी, क्रान्तिकारी पार्टी’ हुने बताए ।

अनुसार अहिले माओवादी केन्द्रसँग हुने भनिएको एकता वामपन्थी एकताको होइन, वामपन्थी विभाजनलाई गहिर्‍याउने प्रकारको हो । ‘अध्यक्षको सारा भाषण केपी ओलीविरुद्ध थियो । नीति गलत भए त्यसको खण्डन गर्नुपर्छ, गाली गरेर होइन’, उनले भने । उनले आफ्नो पक्ष एकता विरोधी नभई ‘सही लाइनका आधारमा सबै वामपन्थीहरूलाई एकताबद्ध गर्ने’ पक्षधर भएको बताए ।

‘पहिले पार्टीलाई शुद्ध बनाऔं, क्रान्तिकारी दिशा दिऔं, त्यसपछि मात्रै एकतामा जाऊँ भन्ने मेरो भनाइ हो’, उनले भने । उनका अनुसार अब पार्टी औपचारिक रूपमा दुई भागमा विभाजन भइसकेको छ । उनले भने, ‘अब तपाईं सानो भन्नु हुन्छ वा ठूलो भन्नु हुन्छ, त्यो तपाईंको कुरा हो । तर पार्टी विभाजन भएको छ, सच्चाइ यही हो ।’

कम्युनिष्ट आन्दोलनबारे विप्लवका चार धारणा : नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य

काठमाडौं । प्रस्तावित कम्युनिष्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य भएको बताएका छन् । कम्युनिष्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

विप्लवले चार बुँदामा आफ्नो धारणा राखेका छन् । कम्युनिष्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिष्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ । उनले एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पछि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् । आउँदो फागुन २१ गतेको निर्वाचनमा होमिने तयारी गरिरहेका बेला हिजो (शुक्रबार) मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि फुटेको हो । पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ ।

भेलाले गरेका निर्णयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताएका छन् । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई आह्वान गर्ने निर्णय गरेको महासचिव सीले बताएका छन्। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरेका छन् ।

 

‘अत्यावश्यक बाहेक नारायणगढ–मुग्लिन–मलेखु सडकमा यात्रा नगर्नू’

काठमाडौं । लगातारको वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ–मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो । वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथापि यो खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको अर्यालको भनाई छ ।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने पनि उनले बताएका छन् । उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यात्रा गर्न पूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हेर्नुस् सूचना

बालेनबारे प्रधानमन्त्री- मैले छोरो भन्छु, ऊ दिदी भन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएको स्वीकार गरेकी छन् । तर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भने आफूलाई नभनेको बताइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनको प्रसंग निस्किएपछि प्रधानमन्त्रीले यसबीचमा तीन चारपटक आएर भेटेको स्मरण गर्दै आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ किन नगरेको भन्ने कुरा नै राखेको बताइन् ।

उनले भनिन्, “बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ । आज बिहान पनि फोनमा कुरा भएको थियो ।”उसको कुरा हामीले सुन्नुपर्छ तर उसले हाम्रो कुरा सुन्दैन । उसको बानी नै फरक छ, जहाँसम्म लाग्छ उसले दल त खोल्ने खालको मान्छे होइन ।

प्रधानमन्त्री कार्कीले बालेनसँग प्रधानमन्त्री बन्नुअघि पनि धेरै भेट भएको र कानूनका कुराहरू सम्झाउने गरेको बताइन् ।

धितोपत्रका कर्मचारीहरुले मागे अध्यक्ष श्रेष्ठको राजीनामा, कार्यालय छिर्न नदिने

काठमाडौं । एक महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागेका छन् । उनीहरुले अध्यक्ष श्रेष्ठलाई कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा समेत गरेका छन् । उनले राजीनामा नदिएसम्म कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा गरेका हुन् ।

धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र कर्मचारी युनियनले आज संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन ।’ अध्यक्षद्वय क्रमशः राजकुमार पण्डित र अजय ढुंगानाले जारी गरेको वक्तव्यमा सन्तोषनारायण श्रेष्ठले पदबाट तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिएसम्म अध्यक्षको कार्यकक्षमा प्रवेश नै गर्न नदिने बताएका छन् । उनीहरुले १२ गते प्रहरी अघि लगाएर कार्यकक्ष प्रवेश गरेको प्रति समेत खेद प्रकट गरेका छन्।

अध्यक्ष श्रेष्ठ कर्मचारीका समस्या समाधानमा चुक्नुका साथै कर्मचारीको हित तथा सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसकेकाले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न योग्य नरहेको उनीहरुको ठहर छ । अर्थ मन्त्रालयबाट समेत धितोपत्र बोर्डमा सिर्जित विषम परिस्थिति सम्बोधनका निम्ति यथोचित प्रयास नभएको गुनासो गरेका छन् । पूँजी बजारको नियामक निकाय बन्द गरेर पूँजी बजारको विकास र विस्तारको सरकारी लक्ष्य प्राप्त हुन नसक्ने भन्दै कर्मचारीहरुले बोर्ड सञ्चालक समितिद्वारा जारी कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले बोर्डबाट सञ्चालनमा रहेका कर्मचारी कल्याणकारी कोषको कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि, २०७५ खारेज गर्न पत्र पठाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । सो निर्णय फिर्तीको माग गर्दै उनीहरुले चार सातादेखि शान्तिपूर्ण धर्ना तथा पेन डाउन गरिरहेका छन् । बोर्डलगायत अन्य सरकारी संघ, संस्था, बैंक तथा समितिमा रहेका त्यस्ता सुविधा कटौतीमा पछाडि नहट्ने मन्त्रालयको दाबी छ ।

आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन : जेनजी अगुवा यादव

काठमाडौँ । आन्दोलन सफल नहुँदासम्म आफूहरुलाई चुनाव नचाहिएको जेनजी अगुवा पुरुषोत्तम यादवले बताएका छन् । शुक्रबार बालुवाटारमा रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगको बृहत राजनीतिक संवादमा उनले अहिले आन्दोलनको माग र मर्म अनुसारको प्रतिफल नआएको गुनासो गरे ।

‘आन्दोलनको माग र मर्म अनुसार प्रतिफल आएको छैन । आन्दोलन संस्थागत नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन । हामी आन्दोलनको माग पुरा नभएसम्म लडिरहन्छौ । आन्दोलनको माग पुरा नभएको अवस्थामा चुनाव मात्रै भएर केही हुँदैन’ यादवले भने । उक्त कार्याक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा लड्न मिल्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । रविमाथि अन्याए भएको भन्दै उनले अहिले रविको नेतृत्वमा सबै वैकल्पिक शक्ति एक हुनुपर्ने मत राखे । रास्वपाले आयोजना गरेको राजनीतिक संवाद बालुवाटारमा जारी छ । जसको नेतृत्व रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लले गरेका छन् ।

एनपीएलमा विराटनगर किङ्सले ल्यायो फाप डु प्लेसिस

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाप डु प्लेसिसलाई आफ्नो टिममा भित्र्याएको छ । ।

विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो । डु प्लेसिस हालसम्म एनपीएलमा भित्रिने ठूलो नाम हो ।

४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट, १४३ एकदिवसीय र ५० टी-२०आई खेल खेलेका छन् ।

टेष्टमा ४ हजार १६३, ओडिआईमा ५ हजार ५०७ र टी-२०आईमा १ हजार ५२८ रन बनाएका छन् । उनले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् । ओडिआईमा १२ शतक र ३५ अर्धशतक तथा टी-२०आईमा एक शतक र १० अर्धशतक प्रहार गरेका छन् ।

 

 

महानगरले बल प्रयोग गरे प्रतिवाद गर्ने सुकुम्बासी मोर्चाको चेतावनी

काठमाडौं । काठमाडौंका धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेपछि हलचल मच्चिएको छ । खसगरी नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुवँरले महानगर र प्राधिकरणले निकालेको सूचना आफूहरुले नमान्ने बताएका छन् ।

उनकाअनुसार यो सूचना राज्यको कानूनी प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विपरित जारी गरिएको छ । राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरबीच सुकुम्वासी समस्या समाधानका लागि सहमति भएको तर सहमति कार्यान्वयन नगरी अहिले विस्थापनको सूचना आउनु गैरजिम्मेवार कदम रहेको उनको भनाइ रहेको छ ।

अध्यक्ष कुँवरकाअनुसार राष्ट्रिय भूमि समस्या समाधान आयोगले भूमिहीन, सुकुम्वासी र अस्थायी बसोवासीका लागि लगत संकलनको प्रक्रिया अघि बढाउँदै आएको थियो । तर काठमाडौँ महानगरपालिकाले वडाहरुलाई लगत संकलन रोक्न निर्देशन दिएर भूमिसम्बन्धि समस्यालाई समाधान गर्न खोजेन । हाल सर्वोच्च अदालतमा समेत भूमि आयोग खारेजीविरुद्ध दायर मुद्दा विचाराधीन रहेकाले अहिले जनतालाई आतंक सिर्जना महानगर प्राधिकरणले गर्न नहुने कुँवरले बताए । अध्यक्ष कुँवरकाअनुसार वागमती, धोबीखोला लगायतका किनारमा दशकौँदेखि बसोवास गर्दै आए पनि त्यहाँ राज्यले बिजुलीदेखि सबै सुविधा दिएकाले विस्थापन गर्न मिल्दैन ।

अध्यक्ष कुँवरले भने, ‘हामीमाथि सार्वजनिक जग्गा कब्जाको आरोप लगाइन्छ, तर राज्यकै वडाले घर नम्बर दिएका छन्, बिजुली र खानेपानी सुविधा दिएका छन् । हामी भोटर हौं, कर तिरेका नागरिक हौं । त्यसैले हामीलाई ‘अवैध संरचना’ बनाएको भन्न मिल्दैन ।’ उनकाअनुसार काठमाडौंका ठूला नेताहरू र धनाढ्यहरूले सार्वजनिक जग्गामा लालपूर्जा निकालेका छन् । तर राज्य मौन छ । गरिब नागरिकलाई मात्र आतंकित पारिए सुकुम्वासी मोर्चाले प्रतिवाद गर्नेछ ।

कुँवरले भने, ‘हामी सडकमा आउन चाहँदैनौं, हामी वार्ताबाट समाधान खोज्न तयार छौं । तर राज्यले कानूनी प्रक्रिया बेवास्ता गरेर बल प्रयोग गर्‍यो भने त्यसको प्रतिकार पनि जनताले गर्नेछन् ।’ संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका अध्यक्ष कुँवरले भूमिहीनका समस्या समाधान गर्ने हो भने काठमाडौं महानगरपालिकाले रोकिएको लगत संकलन तुरुन्त शुरु गर्नुपर्ने भूमिहीन, सुकुम्वासी र अस्थायी बसोवासीलाई वर्गीकरण गरी पुनर्वासको व्यवस्था गर्नुपर्ने बताए।

उनकाअनुसार अहिले सर्वोच्चमा चलिरहेको मुद्दाको निर्णय नआउँदासम्म कुनै पनि संरचना हटाउनु मिल्दैन । संविधानले सुनिश्चित गरेको आवासको हकलाई सम्मान गर्दै वार्ता र सहकार्यमार्फत समाधान खोज्न उनले काठमाडौं महानगरका साथै काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आग्रह गरे । खोलाका किनाराका बस्तीहरु उठाउन आवश्यक रहेको र त्यसलाई व्यवस्थीत गर्न नमिल्ने मोर्चाको ठहर छ ।

माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का एक दर्जनबढी नेताहरु नेकपा (माओवादी केन्द्र)सँगको एकतामा सामेल नहुने भएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने बताइएको छ । यद्यपि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरु एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताईन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरु एकतामा समाहित नहुने बताईन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाई छ ।

उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरुसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताईन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनकोभनाइ छ ।

उनले भनिन्, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ । यसमा पनि मुख्यतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एकताको कुरा छ एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन । यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ । त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो । वाम एकता होइन ।

हामी वाम एकताको पक्षमा छौं । दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाँही दिएन । यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो । पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौं । किनभने यसले समाधान दिँदैन । झन पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ ।’

पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उनको भनाइ छ ।

हरि खड्का राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । उनी आउँदो एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ ।

प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए ।

 

चुनावमा होमिने बेला फुट्यो विप्लवको पार्टी : चिरण सी महासचिव रहने गरी केन्द्रीय समिति गठन

काठमाडौं । आउँदो फागुन २१ गतेको निर्वाचनमा होमिने तयारी गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि फुटेको छ । आजै सम्पन्न भेलाले पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ ।

भेलाले गरेका निर्णयबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताएका छन् । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई आह्वान गर्ने निर्णय गरेको भेला महासचिव सीले बताएका छन् । साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरे । जेनजी आन्दोलनको भवना सबै कम्युनिष्ट पार्टी एकतावद्ध हुनुपर्ने रहेको भन्दै त्यसै अनुसार समाजवादी मोर्चामा रहेका दलसँग एकता गर्न आफूले विद्रोह गरेको बताए ।

दल दर्ताको दौड तीव्र : पुराना अनुहारदेखि नयाँ पुस्तासम्म सक्रिय

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गरेको दल दर्ता आह्वानको २१ दिनभित्र जम्मा दुई राजनीतिक दल मात्रै अद्यावधिक भएका छन् । आयोगको वेबसाइट अनुसार असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी (अध्यक्ष केशवबहादुर थापा) र असोज २८ गते जनस्वराज पार्टी (अध्यक्ष दीपककुमार साह) ले आफ्नो दर्ता अद्यावधिक गरेका छन् ।

आयोगले निर्वाचनमा भाग लिन इच्छुक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । तर कानुनी व्यवस्था अनुसार, निर्वाचन प्रयोजनका लागि दर्ता गर्न चाहने दलले कात्तिक ३० गतेअघि दर्ता प्रमाणपत्र लिनै पर्ने हुन्छ । आयोगका अनुसार हालसम्म १२४ दल दर्ता अद्यावधिक भएका छन् । निर्वाचन घोषणापछि आठ वटा नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन् । दर्ताका लागि निवेदन दिने दलहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल, हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, रेशमलाल चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यीमध्ये कम्युनिष्ट पार्टी नेपाल, श्रम संस्कृति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा छन् । तर नेपाल लिभरल पार्टीले अनुसूची–३ लगायतका विवरण पेश नगरेको र राष्ट्रिय जेनजी पार्टीको विधानसम्बन्धी फाइलमा टिपोट गरिएको उनले बताए । निर्वाचन घोषणापूर्व दर्ताको निवेदन दिएका १० दलमध्ये उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीसहितका केही दलले आवश्यक कागजात नपुगेकाले दर्ता स्वीकृत पाएका छैनन् ।

आयोगले कागजात पूरा भएका दलहरूको निवेदनमा ४५ दिनभित्र निर्णय गर्ने प्रावधान राखेको छ । यसअघि दर्ता भएका १२२ दलमध्ये दुई दल विभाजन भई अहिले कुल १२४ दल पुगेका छन् । आयोगमा निर्वाचन घोषणा पूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको जनाइएको छ । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।

दल दर्ताका लागि के–के चाहिन्छन् कागजात ?
राजनीतिक दल दर्ताका लागि संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलको विधान, नियमावली, घोषणापत्र (२–२ प्रति), झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिन्ह, दलको नाम र कार्यालय ठेगाना, केन्द्रीय समितिका सदस्यहरूको नाम र ठेगाना, आयस्रोतको विवरण, समावेशी प्रतिनिधित्व, पाँच वर्षमा एक पटक निर्वाचनको व्यवस्था, केन्द्रीय पदाधिकारीको नागरिकता प्रतिलिपि, र सबै पदाधिकारीको हस्ताक्षर अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ ।

यस्तै विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था, विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था, विभिन्नस्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरु समेत रहने समावेशी व्यवस्था, दलको विधानमा दलका सदस्यहरुलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था, केन्द्रीय भेलाबाट केन्द्रीय कार्यसमितिको चयन, विधान, झण्डा, लोगो कुन राख्ने चुनाव चिन्ह कुन रोज्नेसम्बनधी निर्णय भएको हुनुपर्ने हुन्छ । यसैगरी केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि, निवेदन दर्ताको लागि सो निवेदन, विधान, नियमावली र घोषणापत्रमा सबै केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षरलगायतका सामग्री सम्लग्न भएको हुनुपर्छ ।

निर्वाचन प्रयोजनका लागि सूचना आउँदै
निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते सूचना प्रकाशन गर्नेछ । त्यसपछि पुराना र नयाँ दुवै दलले पुनः निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन दिनुपर्नेछ । यसका लागि आयोगले मंसिर १ देखि १० गतेसम्म १० दिनको अवधि दिने तयारी गरेको छ । यसरी दर्ता भएका दलहरूले मात्र समानुपातिक प्रणाली तर्फको निर्वाचनका लागि भाग लिन पाउने छन् ।

नयाँ दल र पुराना अनुहार
निर्वाचन नजिकिँदै गर्दा दल दर्ताको गतिविधि त तीव्र भएको छ नै, नयाँ दल खोल्ने घोषणा पनि त्यत्तिकै बढेको छ । केही पुराना राजनीतिक अनुहारहरू पनि नयाँ पार्टी लिएर मैदानमा उत्रिएका छन् । जस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ र रेशमलाल चौधरी—दुवै जना वर्षौंदेखि राजनीतिमा सक्रिय भए पनि राज्यका पदमा पुग्न सकेका छैनन् । उनीहरू अहिले फागुन २१ को निर्वाचनमा आफ्ना संगठनलाई स्थापित गर्ने तयारीमा छन् ।

त्यस्तै, पछिल्लो जेनजी आन्दोलनपश्चात केही नयाँ पुस्ताका अनुहारहरू पनि राजनीतिक रूपमा अघि बढ्न खोजिरहेका छन् । तीमध्ये कतिपय जेनजी युवाहरू र स्थानीय सरकारका जनप्रतिनिधिहरू रहेका छन्, जसले जनतासँग नजिक भएर काम गर्दै आएका छन् । निर्वाचन नजिकिँदै गर्दा देशभर एउटा बहस चलिरहेको छ–के नयाँ पुस्ता आफ्नै दल लिएर अघि बढ्ने छन्, वा पुराना दलमै समाहित हुनेछन् ? यो प्रश्नको उत्तर अब आउने निर्वाचनले नै दिनेछ ।

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएका छन् ।

स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौँ महानगरपालिकाबिच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।

 

जेनजी आन्दोलनपछि धेरै पुराना पात्र पोलिटिक्सबाट एक्जिट भएका छन् : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नु पर्ने बताएका छन् । शुक्रवार पार्टीले आयोजना वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो । उपसभापति वाग्लेले भने, ‘हामीले कल्पना नै नगरेका परिवर्तनहरु पनि भएका छन् । पोलिटिक्सबाट एक्जिट भएका छन् धेरै पुराना पात्रहरु । पुराना पात्रहरुप्रति रोष पनि विष्फोट भएको हो । डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलहरुमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ ।’

उनले भने, ‘त्यसलाई विस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानु नै पर्ने हुन्छ । अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरु चलिरहेका छन् । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ ।’

उनले थपे, ‘पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरुलाई पनि जोगाउनु छ । कहिलेकाँही यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरुलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरु पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरु छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरुलाई पनि ट्रयाकमा ल्याउन पर्‍यो । ट्रयाकमा ल्याउने विधिहरु पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो ।’ उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो । अब आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ । आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न समय पाउनु पर्ने बताएका थिए ।

आज पनि कार्यतालिका ल्याउन नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने महामन्त्री थापाले जानकारी गराएका थिए । कार्यवाहक सभापति खड्काले एक दुई दिन समय आवश्यक रहेको बताएका थिए । कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनु पर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ ।

ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारणसहित लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा यही कात्तिक १२ गते दायर गरेका थिए ।

रिट निवेदनमा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि गैरकानुनी कार्य, आदेश र पत्रहरू खारेज गरी संवैधानिक र कानुनी अधिकारको संरक्षण गर्न अन्तरिम आदेशको माग गरिएको थियो, तर अन्तरिम आदेश भने जारी भएन। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

आयोगले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन मुख्य निर्देशक हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो ।

रेशम चौधरीको चेतावनी : मलाई चुनाव लड्न नदिए, देशमा चुनाव नै हुँदैन

काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने बताएका छन् । उनले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका हुन् । उनले टीकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने दावी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले भने, ‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’

उनले भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । के को चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’ चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे । उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नु भयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने ?,’ चौधरीले भनेका छन् । उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् । ‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नु पर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो ।’

 

जेनजी आन्दोलनको असर : ५० दिनदेखि विमानस्थलको भीआईपी कक्ष बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भीआईपी) कक्ष ५० दिनदेखि बन्द छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भीआईपी कक्ष बन्द गरेको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको थियो । त्यसपछि भीआईपी कक्ष खोलिएको छैन ।

केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले अमेरिका जाँदा तथा आउँदा र उर्जामन्त्री कुलमान घिसिङ भारत जाँदा सामान्य नागरिककै लाइनमा बसेर यात्रा गरेका थिए ।

यसै साता नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाँदा सामान्य व्यक्तिकै लाइनमा बसेका थिए ।

विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जेनजी प्रदर्शनका समयमा सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो, । “कुनै थप निर्णय नआएकाले भीआईपी कक्ष खोलिएको छैन ।”

नेपाली सेनाले गत असोज ३१ गते जंगी अड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते दुई हजारको संख्यामा प्रदर्शनकारी त्रिभुवन विमानस्थलमा प्रवेश गर्न खोजेको जनाएका थिए ।

प्रदर्शनकारीहरू विस्फोटक पदार्थसहित विमानस्थलमा प्रवेश गर्न खोजेका थिए । सेनाले उनीहरूलाई रोक्न सफल भएको  उपरथी थापाको भनाई थियो ।

प्रदर्शनकारी विमानस्थलमा प्रवेश गर्ने खतरा बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले भदौ २४ गते साढे २ बजे एक सूचना जारी गर्दै विमानस्थल बन्द गरेको जनाएको थियो ।

कार्यालयले भदौ २५ गते साढे ११ बजे अर्को सूचना जारी गर्दै विमानस्थल बन्द रहेकाले यात्रुहरूलाई विमानस्थलमा नआउन अनुरोध गरेको थियो । भदौ २५ गते नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठक बसेको थियो ।

त्यसपछि त्यही दिन दिउँसो साढे ३ बजे कार्यालयले विमानस्थल पुनः सुचारु गर्ने निर्णय भएको सूचना जारी गरेको थियो ।

विमानस्थल सुचारु गरिए पनि भीआईपी कक्ष बन्ने अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि बन्द गरिएको भीआईपी कक्ष ५० दिन बित्दा पनि खोलिएको छैन ।  भीआईपीहरूले अन्तर्राष्ट्रिय तथा आन्तरिक यात्र गर्दा भीआईपी कक्षको प्रयोग गर्ने गर्थे । जेनजी प्रदर्शन लगत्तै भीआईपी कक्ष बन्द गरिएपछि भीआईपीहरू सामान्य व्यक्तिकै लाइनमा बसी यात्रा गर्दै छन् ।

नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाको बुँदा (ख) (३) मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनस्थित भीआईपी कक्ष प्रवेश तथा प्रयोगका लागि तोकिएका पदाधिकारीहरूलाई सम्बन्धित निकायको पत्रका आधारमा प्रवेश अनुमति दिने व्यवस्था छ ।

 

भारत महिला विश्वकपको फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त

काठमाडौं । भारतले महिला एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै भारत विश्वकप उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।

भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन् । उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन् । अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

निर्वाचन भएन भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उनले यस्तो धारणा राखेका हुन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नु पर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए ।

उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलग–अलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त।’ भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।

डा. भट्टराईले कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । भट्टराईले भने, ‘उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।

माओवादीसँगको पार्टी एकता भाँड्न खोजियो : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन् । शुक्रवार केन्द्रिय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताए । उनले बैठकमा सम्मानित नेता खनालले एकता नगरौं भन्ने सुझाव दिएको भए पनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गरे ।

माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको बताए । आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको जिकिर गरे ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल यी तीन दलहरु एकीकरण गर्नका निम्ति पूर्ण विश्वासका साथ काम गरिरहेका छौँ । एकता हुन्छ । बैठकमा सम्मानित नेता खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ ।’

उनले भने, ‘माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ । केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनु हुन्न ।’एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गरे ।

 

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।

सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।

प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लगि सुझाव दिएको हो ।

भेटपछि एक विज्ञप्ति जारी गरी सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै सङ्घले मानवस्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ  ।

“सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाकको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरु जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ । यसका लागि पहल होस्”, सङ्घले भनेको छ ।

नयाँ पार्टी खोल्ने खगेन्द्र सुनारको घोषणा

काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । दलितको झण्डा र एजेण्डा सिंहदरबार पुर्‍याउन नयाँ दल खोल्ने तयारी भइरहेको उनले आज एक कार्यक्रममार्फत जानकारी गराएका हुन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले सुनाए ।

विभिन्न अफवाह फैल्याएर आफूलाई मन्त्री बन्न रोके पनि सुनारले आफू अहिले मन्त्रीको दौडमा नरहेको बताए । ‘मन्त्री बन्ने दौडमा छैन, तर सरकारको पक्षमा र सुशीला आमाको पक्षमा छु,’ सुनारले भने, ‘अब हाम्रो तयारी फागुन २१ गतेको चुनावका लागि हुन्छ । सबै अट्ने लोकतान्त्रिक दल बनाउँछौं ।’ सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीबीच विभिन्न विवादमा परेकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ।

गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ।

विभागले यो निर्णय सार्वजनिक गर्दै सबै नेपालीलाई कुनै पनि विचौलियाको प्रभावमा नपरी निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैधता भएको राहदानी,
२. सम्बन्धित देशको भिसा (वा अनअराइभल भिसा प्रदान गर्ने देशका लागि त्यस्तो प्रमाण),
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको प्रयोजन स्पष्ट गर्दै स्वघोषणा।

विभागका अनुसार यो निर्णय अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) मा संशोधन गरी गरिएको हो। यसअघि लागू गरिएको छ बुँदे मापदण्डले भिजिट भिसामा हुने प्रस्थानलाई सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा त्यसले अनावश्यक झन्झट र अनियमितता बढाएको भन्दै व्यापक आलोचना भएको थियो।

 

 

बालुवाटारमा रास्वपाको बृहत राजनीतिक संवाद, बाबुराम र रेशम पनि सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वृहत राजनीतिक संवाद सुरु भएको छ । रास्वपाले काठमाडौँको बालुवाटारमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग बृहत छलफल सुरु गरेको हो । छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, जेनजी अगुवा सुदन गुरुङ पक्ष लगायतको उपस्थिति छ ।

पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उपभासपति डा. स्वर्णिम वाग्लेलाई सो छलफलको जिम्मेवारी तोकेको थियो । वैकल्पिक राजनीतिक शक्तिहरुसँग यसअघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन सो छलफलको कार्यक्रम आयोजना गरिएको हो ।

पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । एक भन्दा धेरै दल र समूहसँग समान धारणा र एजेण्डा बनाउन सो बैठक आयोजना गरिएको रास्वापा नेतहरुले बताएका छन् । नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।

आफै कार्यकक्षमा ताला लगाएर सडकबाट सेवा दिंदै वडाध्यक्ष

रोल्पा । रोल्पाको थवाङका दुई वडाध्यक्षले आफ्नै कार्यकक्षमा ताला लगाएर गाउँपालिकालाई चावी बुझाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा र अभिलाषा रोकाले हिजो आ–आफ्नो कार्यकक्षमा ताल्चा लगाएर गाउँपालिलाई साँचो बुझाएका हुन् । सडक स्तरोन्नति र विद्युत प्रसारणसम्बन्धी समस्या समाधानका लागि पालिकालाई पटक–पटक ध्यानाकर्षण गराए पनि वेवास्ता गरिएपछि यो कदम चालेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाले काम नगर्ने तर जनताको नजरमा आफू दोषी देखिने परिस्थिति आएकाले वडा कार्यालयमा ताला लगाउन बाध्य भएको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘जनताको समस्या समाधान गर्न मैले बारम्बार पालिकामा कुरा राखेको छु, तर आजसम्म मेरो आवाज सुनिएन, जनप्रतिनिधिको आवाज त बेवास्ता गरिन्छ भने आम जनताको आवाज कसरी सुनिन्छ ?’

अर्का वडाध्यक्ष रोकाले पनि प्रतिकात्मक विरोध जनाउँदै गाउँपालिकामा चावी बुझाएको बताए । ‘जनताले आफ्नो समस्या हामीलाई सुनाउँछन्, हामीले पालिकामा सुनाउने हो, तर पालिकाले न मेरो आवाज सुन्छ, न जनताको, अब पालिकाले नै भनिदेओस् हामीले कसरी काम गर्ने !’, उनले सुनाए । आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका छन् ।

ल्याप्टप र एउटा फोटोकपी मेशिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले जनाएका छन् । बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडाध्यक्ष अभिलाषा रोकाले बिहीबार वडा कार्यालयमा ताला लगाएर साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए । आफ्नो माग सम्बोधन नभए उनले पदबाट राजीनामा दिएर जनतासँगै आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् । वडाध्यक्ष रोकाका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा जनता अन्धकारमा बस्न बाध्य बनेको उनको भनाइ छ ।

माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरुको एकता हो : नेता अर्याल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताएका छन् । सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनः गठन, ध्रुवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखे ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्पति शुद्धिकरणको निगरानीमा रहेको र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरु समेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरुको एकता हुने जिकिर गरे ।

अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन अहिलेको आवश्यकता रहेको बताए । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरुको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानविन आयोगमा गइ बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताए ।

उनले भने, ‘जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश छ । यसबारेमा नै हामीले छलफल गरेका छौँ । अहिले के छ भने प्रचण्डजी सम्पति शुद्धिकरणको निगरानीमा हुनुहुन्छ । त्यो पार्टीको उपाध्यक्ष एक जना महराजी सुन तस्करी काण्डमा जेलमा हुनुहुन्छ । त्यो भन्दा बाहेक अरु नेताहरु पनि सुन तस्करी, विभिन्न भ्रष्टाचारका मुद्दामा लागिरहेकै छन् । हाम्रै पार्टीका अध्यक्षलाई पतञ्जली काण्डमा भ्रष्टाचारको मुद्दामा आरोपित नै हुनुहुन्छ । त्यसकारण प्रचण्ड र माधव नेपालसहितको एकता भनेर र यो अभियुक्तहरुको एकता हुन्छ, सबै अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउँदैन ।’

उनले भने, ‘सारा बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन हुनुपर्छ । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता गर्नुपर्छ । ७८ जना युवाको हत्याको आरोपमा अर्धभूमिगत रुपमा गुण्डुमा हुनुहुन्छ, ओलीजी । उहाँलाई अधिकार नै छैन । उहाँ छानविन आयोगमा जाने, बयान दिने र राजनीतिक अवकाशमा जाने बाहेकका विकल्प छैन ।’ उनले वाम पार्टीहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । आफूहरु शीर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको बताए । –न्युज एजेन्सी नेपाल