`

नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखि महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रुपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्‍याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको जनाइएको छ ।

जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङका लागि आवश्यक थप सहायता, बिपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौँ उपत्यकाको एक सय वर्षको सहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायतका सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे ।
भेटमा राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरे ।

जाँचबुझ आयोगद्वारा क्षतिको विवरण मगाउने निर्णय

काठमाडौं । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो ।

आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी कार्यालयको क्षतिको विवरण गृह मन्त्रालयबाट मगाउने निर्णय गरेको छ । साथै, निजी क्षेत्र, उद्योगधन्दा, व्यक्तिगत सम्पतिमा भएको क्षतिका विषयमा आयोगमा आएर वा इमेलमार्फत बुझाउन सकिने उल्लेख गरेको छ ।

‘आयोगले काम सुरु गरेकै दिन क्षतिको विवरण मगाउने निर्णय गरेको छ, सात जना कर्मचारी दिइएको छ’, आयोगका संयोजक कार्कीले भने, ‘घटनाको छानबिन गर्ने विज्ञ छैन, गोलीसम्बन्धी अध्ययन गर्ने विज्ञ छैन, सरकारी वकील, प्रहरी चाहिन्छ भनेर सरकारलाई भन्छौँ, तोकिएको समय तीन महिनाभित्र सक्ने गरी काम गछौँ ।’

आयोगले क्षतिसम्बन्धी विवरण पुष्ट्याई गर्ने, कागजात-श्रव्यदृश्य सामग्रीलगायत अन्य कुनै प्रमाण भएमा संलग्न गरी आयोगको कार्यालय व आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाएको छ ।

यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरुमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । यो आयोगको कार्यअवधि तीन महिनाको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने धनको क्षतिबारे विवरण संकलन भइरहेको छ ।

नेतृत्व परिवर्तनको बहस सडकमा होइन, महाधिवेशनमा गरौंला : हरिबोल गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्ने बेला नभएको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै प्रचण्डको विकल्प खोज्नेभन्दा पनि जेनजी आन्दोलन समर्थन गरेर जानुपर्ने बताएका छन् ।

उनले भने, ‘युवाहरूले आन्दोलनलाई विकृति, भ्रष्टाचारविरुद्वको विद्रोह गरेका हुन् । हामीले यसलाई समर्थन गर्नुपर्छ । तर त्यसलाई टेकेर हुनसक्ने षड्यन्त्रमा हामी सचेत हुनुपर्छ ।’ उनले कांंग्रेस एमालेकै कारणले अहिलेको परिस्थिति आएको भन्दै ओली र देउवालाई नेतृत्व छाड्न दबाब पर्नु स्वभाविक भए पनि प्रचण्डले नपर्ने तर्क गरे ।

उनले सडकबाट उठेको आवाजले नेतृत्व परिवर्तन नहुने भन्दै छलफल र महाधिवेशन गरेर नेतृत्वबारे निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । बैठकमा बोल्न टोली नेतालाई १० र पदाधिकारीलाई ५ मिनेट समय दिइएको छ ।

मन्त्री घिसिङसँग युरोपेली संघका राजदूत लोरेन्जोको भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा मन्त्री घिसिङलाई राजदूत लोरेन्जाले युरोपेली संघकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली संघका राजदूतसँगको भेटमा रणनीतिक महत्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायतालगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण भएता पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानुनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत् बजार थप सुनिश्चित गर्नु रहेको बताए ।

युरोपेली संघबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरे । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य गर्न युरोपेली सङ्घ सधैँ तयार रहेको बताइन् ।

माओवादी बैठकमा १० टोलीको निष्कर्ष : प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रस्तावहरूमा समूहगत धारणा राख्ने क्रम सकिएको छ । बैठकमा अब बोल्न बाँकी पदाधिकारीले आफ्नो कुरा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

बैठकमा कोशीबाट अजम्बर काङमाङ, मधेशबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्र शाही, सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत धारणा राखेका छन् ।

बैठकमा समूहगत धारणा राख्ने सबै नेताहरू अध्यक्ष प्रचण्ड निकटका हुन् । उनीहरूले प्रचण्डको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरूको साझा निष्कर्ष थियो, ‘पार्टी रूपान्तरण गर्नुपर्छ तर, प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ । सबै दोष अध्यक्षलाई देखाएर अरू उम्कन मिल्दैन ।’ समूहगत धारणा राख्ने बेलामा नेताहरूले ९५ प्रतिशता धेरै प्रचण्डको प्रस्तावमा उभिएको एक नेताले दाबी गरे । प्रचण्डलाई नेतृत्व छाड्न भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको पक्षको प्रस्तावको पक्षमा केही कुरा उठे पनि धेरैले आलोचना भएको ती नेताले बताए ।

सरकारका प्रवक्ता मन्त्री खरेल अस्पताल पुगेर भेटे जेनजी आन्दोलनका घाइते {तस्वीरहरु}

काठमाडौं । सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरुलाई उनले भेटेका हुन ।

उनले घाइतेको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरुको उपचारका लागि सरकारले गरेका व्यवस्थाहरुका बारेमा जानकारी गराएका थिए । यसअघि उर्जामन्त्री कुलमान घिसिङ, प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेका थिए । भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे । सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईहरूसँगै देशको पनि उपचार गर्ने हो ।’

तस्वीरहरु

नेतृत्वमा अहिले नै प्रचण्डको विकल्प छैन : पासाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पासाङले माओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्न नहुने पक्षमा उभिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न दबाब बढाइरहेको बेलामा पुन भने प्रचण्डको पक्षमा उभिएका हुन् । उनले पार्टी मात्रै नभई देश नै अफ्ठेरो अवस्थामा गुज्रिरहेको बेलामा प्रचण्डको विकल्प सोच्न नहुने उनको भनाइ थियो । अहिले बैठकमा समूहगत छलफलपछि टोली नेता र पदाधिकारीले धारणा राख्ने क्रम जारी छ ।

अध्यादेश जारीपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच आज अनौपचारिक भेटवार्ता भएको शीतल निवास स्रोतले जानकारी दिएको छ । भेटमा दुई जनाबीच समसामियक विषयमा छलफल भएको भए पनि विस्तृत जानकारी भने स्रोतले दिएन ।

यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । त्यसको एक दिनपछि राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी हुन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ ।

एक्काको चाल म हो तर, अहिले चल्दिनँ : दुर्गा प्रसाई

विराटनगर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् । काठमाडौंबाट गृह जिल्ला बिर्तामोड पुगेका उनलाई स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको दावी गरे । चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको पनि बताएका छन् ।

उनले भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदाहुँदै एक्का किन चलाउनु ?’ प्रसाईले आफू ‘एक्का’ भएको जिकिर समेत गरेका छन् । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेण्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्ड बिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।

प्रसाईले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको समेत टिप्पणी गरेका छन् । प्रसाईले भने, ‘जेनजी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’ अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईले टिप्पणी गरे । ‘बङ्गलादेशको बाछिटा नेपालमा छिर्‍यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ?’, उनले प्रश्न गरे । प्रसाईले ओलीलाई वाल्मिकी बन्ने अवसर रहेको, कार्यकर्ता समेतले गल्ती गरेको र अब सच्चिएर आफ्नो घरमा आए आश्रय दिने बताए ।

माओवादीले कसरी छान्दैछ विशेष महाधिवेशन प्रतिनिधि ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक हाल काठमाडौंमा जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावले केन्द्रीय समिति भङ्ग गरी नयाँ संरचना बनाउने योजना अघि सारेको छ ।

बैठकमा प्रचण्डको प्रस्तावमा समूहगत छलफल भइरहेको छ । निर्णय अनुसार माओवादी केन्द्र विशेष महाधिवेशनमा जाने तयारीमा छ । जारी केन्द्रीय समिति वैठकमा आज (शुक्रबार) समूहगत निष्कर्ष राख्ने सुनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ । यो समूहका नेता जगत सिंखडाले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वम्मतिमा पास गरेको रिर्पोटिङ गरेका छन् ।

एउटा प्रदेशबाट रिर्पोटिङ गरेपछि एक जना पदाधिकारीले बोल्ने र त्यसपछि अर्को प्रदेशमा जाने र फेरि एक जना पदाधिकारीले बोल्ने गरी समय व्यवस्थापन गरिएको छ । कोशी प्रदेशबाट उपमहासचिव हरिबोल गजुरेल बोलेका छन् ।उनले वर्तमान नेतृत्वको निरन्तरता आवश्यक रहेको बताए । अहिले लुम्बिनी प्रदेशको निष्कर्ष प्रस्तुत भइराखेको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रस्तावित विशेष महाधिवेशनमा प्रतिनिधि छनोटको लागि निम्न ११ व्यवस्था तय गरिएका छन्ः
१. पालिका र शाखाबाट प्रतिनिधि
प्रत्येक पालिका र पार्टी शाखाबाट १ जना प्रतिनिधि चयन गरिनेछ ।

२. जिल्ला र महाशाखाबाट
पार्टी सदस्य संख्या अनुसार प्रतिनिधित्व हुनेछ– १,००० सदस्य बराबर १ प्रतिनिधि ।
यसमाः
प्रत्येक ३ जनामा कम्तीमा १ महिला अनिवार्य ।
१ दलित र १ युवा प्रतिनिधि अनिवार्य ।
थप १ जना जेनजी समूहको प्रतिनिधि पनि हुनुपर्नेछ ।

३. प्रदेशस्तरबाट प्रतिनिधित्व
सात वटै भौगोलिक प्रदेशबाट २५–२५ जना प्रतिनिधि पठाइने ।

हरेक प्रदेशबाट :
७ महिला ।
२ दलित ।
१ युवा अनिवार्य ।
तीन प्रवासी प्रदेशबाट ७–७ जना, जसमा :
२ महिला ।
१ युवा अनिवार्य ।
गैर–भौगोलिक १० जना प्रतिनिधि ः
३ महिला ।
१ दलित ।
१ युवा अनिवार्य ।
४. पार्टीका विभागहरूबाट

हरेक विभागबाट २–२ जना प्रतिनिधि पठाइने ।
५. पार्टी आयोगहरूबाट
सबै आयोगहरूबाट १०–१० जना प्रतिनिधि पठाइनेछ ।
६. ज्येष्ठ र सल्लाहकार मञ्च
ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार परिषद्बाट १०–१० जना प्रतिनिधि रहने ।
७. केन्द्रीय कार्यालय
पार्टीको केन्द्रीय कार्यालयबाट १० जना प्रतिनिधित्व हुने ।
८. जनवर्गीय र अन्य संगठन
केन्द्रीय तहका जनवर्गीय संगठनबाटः
१ महिला अनिवार्यसहित २–२ जना ।
जातीय-क्षेत्रीय मोर्चाबाट १–१ जना ।
प्रतिष्ठान-फाउन्डेसन-समाज-सामाजिक संगठनबाट १–१ जना ।

पार्टी सहायक संगठन (थ्ऋी) बाट ५ जना ।
९. मनोनयन
केन्द्रीय सचिवालयले अधिकतम ५ प्रतिशतसम्म प्रतिनिधि मनोनयन गर्न सक्ने ।
१०. आयोजक समिति प्रतिनिधि
संयोजकसहित आयोजक समिति सदस्यहरूलाई निर्धारित प्रतिनिधि क्षेत्रबाटै निर्वाचित हुनुपर्ने ।
यदि कुनै सदस्य निर्वाचित हुन नसके, उनीहरू महाधिवेशन गतिविधिमा सहभागी हुन पाउने छन् ।
११. प्रदेशस्तरको संरचना
सबै प्रदेश समिति अब प्रदेश अधिवेशन आयोजक समितिमा रूपान्तरण हुने ।
प्रदेश अध्यक्ष संयोजकको भूमिकामा रहने छन्, पदाधिकारीहरू सचिवालयको भूमिकामा ।

माओवादी वैठक : समूहगत निष्कर्ष सुनाइँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिमा आज (शुक्रबार) समूहगत निष्कर्ष राख्ने सुनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेशबाट प्रस्तुतीकरण सुरु भएको छ । यो समूहका नेता जगत सिंखडाले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वम्मतिमा पास गरेको रिर्पोटिङ गरेका छन् ।

एउटा प्रदेशबाट रिर्पोटिङ गरेपछि एक जना पदाधिकारीले बोल्ने र त्यसपछि अर्को प्रदेशमा जाने र फेरि एक जना पदाधिकारीले बोल्ने गरी समय व्यवस्थापन गरिएको छ । कोशी प्रदेशबाट उपमहासचिव हरिबोल गजुरेल बोलेका छन् । उनले वर्तमान नेतृत्वको निरन्तरता आवश्यक रहेको बताए । अहिले लुम्बिनी प्रदेशको निष्कर्ष प्रस्तुत भइराखेको छ । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यबाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ । तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ ।

राजनीतिक दबाबमा रोकिएका ठूला अनुसन्धानको फाइल खोल्न सीआइबीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै ठूला फाइलका अनुसन्धान अघि बढाउन सीआइबीलाई निर्देशन दिएका छन् । शुक्रबार सीआईबीको केन्द्रिय कार्यालय लैनचौर पुगेर गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । सीआईबीलाई कुनै पनि राजनीतिक दबाब र प्रभावमा नपरी काम गर्न र राजनीतिक दबाबमा यस अघि रोकिएको फाइल अनुसन्धान अघि बढाउन गृहमन्त्री अर्यालले निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जानकारीदियो।

‘गृहमन्त्री अर्याल आज बिहान अनुगमनका लागि सीआईबी पुग्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कुनै पनि दबाब महसुस नगरी काम गर्न र यस अघि राजनीतिक दबाबका कारण रोकिएका कुनै फाइल तथा अनुसन्धान छ भने त्यसलाई अघि बढाउन निर्देशन दिनुभयो ।’ गृहमन्त्रीको निरीक्षण तथा अनुगमनमा प्रहरी महानिरीक्षक कुवेरचन्द्र खापुङ, सीआईबी प्रमुख एआईजी डा.मनोज केसी लगायतका अधिकारीहरू सहभागी थिए । गृह मन्त्रालयको जिम्मेवारीमा अर्याल आए लगत्तै एआईजी मनोज केसीको सीआईबीमा सरुवा भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको म्यान्डेड नै सुशासन भएको बताएका छन् । सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ड बीचमै भंग भएको बताउँदै उनले सुशासन नभए शान्ति सुरक्षा पनि नहुने बताए ।

उनले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताएका छन् । सरकार मुख्य दायित्व भनेको चुनाव गराउने नै भएको बताउँदै मन्त्री अर्यालले भने, ‘सरकारको म्यान्डेन्ड सुशासन हो । सुशासन भएन भने शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाव पनि हुँदैन । त्यसैले सुशासन त हामीले दिनैपर्छ ।’

उनले कुनै एउटा विषयमा मात्रै आफूले निर्देशन नदिने भन्दै सबै बिषय बुझेर मात्रै निर्णय गर्ने बताए । उनले अगाडि कसरी बढ्ने भन्ने विषयमा आफूले अपडेटहरू लिइरहेको समेत बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान के हुन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धान अघि बढ्ने बताएका हुन् ।

हाल सीआईबी प्रमुखमा एआईजी मनोज केसी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई सीआईबीमा सरुवा गरेको थियो । एआईजी केसी तिनै प्रहरी अधिकारी हुन्, जसले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा भुटानी शरणार्थीको फाइल खोलेका थिए । एसएसपी हुँदा केसीलाई २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो । बालकृष्ण खाँण २०७८ असार २९ गते गृहमन्त्री भएका थिए । उनी गृहमन्त्री बनेपछि त्यति बेला एसएसपी रहेका वसन्त कुँवर (तत्कालीन आइजिपी) लाई २०७८ पुस २२ गते अपराध अनुसन्धान कार्यालयको प्रमुख बनाइएको थियो ।

कुँवर २०७९ असार १७ गतेसम्म कार्यालय प्रमुख रहेका थिए । भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए । दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाका तर्फबाट उजुरी दर्ता गराएका थिए । तर, कुँवरले आफू कार्यालय प्रमुख भए पनि अनुसन्धानमा चासो देखाएका थिएनन् । २०७९ जेठ २८ गते काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ गरे पनि उनीहरूलाई छाडिएको थियो ।

त्यसबीच डिआइजी बढुवा निस्किँदा कुँवर एक नम्बरमा परे । उनको बढुवापछि अपराध अनुसन्धान कार्यालयमा असार २२ गते जनक भट्टराई प्रमुख भएका थिए । पुस २८ गते उनको सरूवा भयो। उनको कार्यकालमा भुटानी शरणार्थीको अनुसन्धान नै भएन । मनोज केसीलाई कार्यालय प्रमुख बनाएपछि भने नक्कली भुटानी शरणार्थीको अनुसन्धान अघि बढ्यो ।

वसन्त कुँवरले आइजीपीको शपथ लिनुअघि नै चैत १२ गत बिहानै तत्कालीन समयमा एसएसपी केसीले यस घटनाका तीन जना मुख्य आरोपीलाई पक्राउ गरेका थिए । केशव दुलाल, टंक गुरूङ र सानु भण्डारीलाई पक्राउ गरिएको थियो ।
त्यसपछि अनुसन्धान क्रममा पूर्व गृहमन्त्री खाँण, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायतको नाम जोडिएको थियो । उनीहरू समेत पक्राउ परेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई केसीको सरूवा गर्ने दबाब परेको थियो । कांग्रेसको समर्थनमा बनेको सरकारमा रहेकाले दबाब भएपछि केसीलाई २०८० भदौ ४ गते सरूवा गरिएको थियो ।

मनोज केसीको २०८१ जेठ ४ गते डिआइजीमा बढुवा भएको थियो । डिआइजीमा बढुवा भएपछि केसीलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो । विशेष ब्युरोमा कार्यरत रहँदा २०८१ असार १४ गते उनले त्यही नक्कली भुटानी शरणार्थीमा संलग्न बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ गरे ।

उक्त घटनापछि थप सशंकित भएको कांग्रेसले केसीलाई दुई महिना नबित्दै विशेष ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाएको थियो । यसरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेकै कारण पटक–पटक सरुवामा परेका एआईजी केसी अहिले सीआईबी प्रमुख छन् भने अहिलेको सरकार पनि गैरराजनीतिक भएकाले उनलाई अनुसन्धान गर्न सहज हुने देखिन्छ ।

रास्वपाका केन्द्रीय सदस्य अधिकारीले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे । उनले भने, ‘आज राजीनामा दिनुभएको छ । उहाँ संस्थापक केन्द्रीय सदस्य हो । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनु भएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नु भएको छ ।’

जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुई दिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो । कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने केही नेताहरुको विचार थियो ।

नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुनसक्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का मात्र नभई उनीहरूलाई पक्राउ नै गर्नुपर्ने हुनसक्ने बताएका छन् । बिहीबार बेलुकी सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूले सरकारले दलका मुख्य नेताहरूको पासपोर्ट रोक्काबारे प्रश्न गरेका थिए । जबाफमा मन्त्री अर्यालले पासपोर्ट मात्रै नभई पक्राउ गरी बयान नै लिनुपर्ने हुनसक्ने बताएका हुन् ।

‘कानुनमा यो सबै कुरा छ । अनुसन्धान गर्ने निकायले के–के रोक्का गर्नुपर्छ गर्छ । त्यति मात्रै होइन पक्राउ पनि गर्नुपर्ने होला, बयान लिनुपर्ने होला । जे आवश्यक पर्छ त्यो गर्छ,’ उनले भने । मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकाय सक्रिय भइसकेको पनि बताए । ‘तत् कानुनमा यो लेखिएको छ । त्यही बमोजिम हुन्छ,’ उनले भने । उनले भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा सरकारले राम्रैसँग खुट्टा टेक्ने पनि दावी गरेका छन् । ‘पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचमै भंग भयो । सुशासनको मामिलामा खुट्टा टेकेन भने यो सरकारको पनि म्यान्डेटमा प्रश्न उठ्छ,’ उनले भने,’ त्यसकारण त्यसमा खुट्टा टेक्छ, राम्रैसँग टेक्छ ।’

बिहीबार नै मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा अध्ययन गरिरहेको बताएका थिए । ‘पासपोर्ट रोक्काको सन्दर्भमा खासगरी भ्रष्टाचार, अनियमितता, विभिन्न अपराधसँग जोडिएका ठूला साना जेसुकै अवस्था हुन् राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको छ,’ उनले भनेका थिए, ‘राहदानीको सन्दर्भमा पनि केकसो गर्ने भनेर अनुसन्धान अघि बढेको छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको थाहा भएको छ । उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो। स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ।

भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घर तोडफोड र आगजनी हुँदा उनीहरूको पासपोर्ट जलेको वा हराएको अनुमान गरिएको छ । देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको सिआइबी र राहदानी विभागले उनीहरूको पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेको स्रोतले बतायो ।

नेतन्याहुलाई वेस्ट बैंक कब्जा गर्न दिइने छैन : ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई वेस्ट बैंक कब्जा गर्न अनुमति नदिने बताएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने, ‘म इजरायललाई वेस्ट बैंक कब्जा गर्न अनुमति दिने छैन । यो हुनेवाला छैन।’

राष्ट्रपति ट्रम्पले सोमबार प्रधानमन्त्री नेतन्याहुसँग भेट्ने कार्यक्रम छ । बैठकअघि उनले गाजा सम्झौता ‘धेरै नजिक’ भएको बताएका छन् । गाजामा युद्ध र वेस्ट बैंकमा यसको कब्जा अन्त्य गर्न इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । धेरै वटा पश्चिमी देशले प्यालेस्टाइनलाई औपचारिक रूपमा देशको रूपमा मान्यता दिइरहेका छन् ।

प्रधानमन्त्री कार्कीको नामका ‘फेक आइडी’, कारबाहीकाे चेतावनी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा आइडी बनाएर समाचार तथा अन्य पोस्टहरू गरिएका आइडी नक्कली भएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोस्टको भ्रममा नपर्न भनेको छ ।

यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग गर्दै विभिन्न सामग्री पोस्ट गर्ने क्रम बढेको छ ।

दसैंमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

तनहुँ । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ ।

उनले भने, ‘दसैँ–तिहार जस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेनजीको प्रदर्शनपछि बदलिएको छ ।’ दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरे पनि यस वर्ष भने भएको बुकिङ समेत रद्द हुन थालेको उहाँको भनाइ छ । उनले भने, ‘दसैँका लागि भएका बुकिङ रद्द हुन थालेका छन्, कोभिडपश्चात् तङ्ग्रिदै गरेको पर्यटनमा फेरि अहिले आएर धक्का लागेको महसुस गरेका छौ ।’ बन्दीपुर गाउँपालिकाले केही समय अगाडिमात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर जेनजी प्रदर्शनपश्चात् परिस्थति बदलिएको गुरुङको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित छ भन्ने सन्देश दिएर पर्यटकलाई आमन्त्रण गर्नुपर्ने चुनौती आएको बताउँछन् । उनले भने, ‘देशमा विषम परिस्थिति सिर्जना भएपनि बन्दीपुर सुरक्षित छ, हामी पर्यटक स्वागत गर्न तयार छौ ।’ उनका अनुसार भदौमा आन्दोलन सुरु हुनु अघि एक हजारभन्दा बढी पर्यटक आइरहेकामा पछिल्ला दिनमा मुस्किलले १०० पर्यटक पुग्ने गरेका छन् । ‘आन्दोलन पहिलो कारण हुनसक्छ, त्यसबाहेक सडकको अवस्थाका कारण पनि पर्यटक आउन नसकेको हो कि भन्ने छ, अब हामी बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटक ल्याउनेमा केन्द्रित हुनेछौँ’, उनले भने । अध्यक्ष थापाले आगामी विश्व पर्यटन दिवसका दिन बन्दीपुर आउने पर्यटकलाई स्वागतको कार्यक्रम राखिएको छ ।

विसं २०८१ मा दुई लाख पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमण गरेका थिए । त्यसमध्ये विदेशी पर्यटक ६० हजार र स्वदेशी पर्यटक एक लाख ५० हजार रहेको जनाइएको छ । यस वर्ष त्यसको दोब्बर पर्यटक भित्र्याउने लक्ष्य थियो। बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

 

 

पहिरो र चाडपर्वका कारण बढे हवाई यात्रु, टिकट पाउनै मुस्किल

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको संख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमान समेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको संख्या थपिएको छ ।

उनले भने, ‘सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन् ।’ अन्य समयमाभन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि स्थल मार्ग पहिरोले जोखिम बन्दा चाप बढेको उनले बताए।
काठमाडौँबाट आउने र काठमाडौँ जाने दुवैको चाप बढेको उनले जानकारी दिए । पहिला काठमाडौँबाट आउने यात्रुको चाप बढ्ने गरे पनि अहिले दुवैतर्फ बढेको उनले बताए । दसैँ नजिकिएकाले पनि यात्रुको चाप बढेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला लगायका ठाउँ र पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा पहिरोको जोखिम भएसँगै यात्रुको चाप बढेको उनले बताए । बिहान ८ः०० देखि अपराह्न ३ः३५ बजेसम्ममा अहिले दैनिक १० उडान भर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । भरतपुर–पोखरा एउटा उडान र भरतपुर–काठमाडौँ नौ उडान भरिँदै आएको उनले बताए । बस्नेतका अनुसार एयर ट्राफिकका कारण समस्या हुने भएकाले थप उडान गर्न नसकिएको उनले बताए । उडान थप हुँदा समेत यात्रुले सहज टिकट पाउने अवस्था छैन ।

रात्रिकालीन उडान नहुँदा हवाई यात्रा गर्ने यात्रुलाई समयको परिधिमा गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । उनले भने, ‘धावन मार्ग छोटो हुँदा र रात्रिकालीन उडान नहुँदा मागअनुसारको उडान गर्न सकेका छैनौँ ।’ यहाँबाट बुद्ध एयरले मात्र उडान भर्दै आएको छ । विमानस्थल प्रमुख दीपक विकेका अनुसार सामान्य अवस्थाभन्दा अहिले हवाई यात्रा गर्नेको चाप बढेको छ । पहिरो र चाडपर्वका कारण यात्रुको चाप बढेको उनले बताए । यहाँ हुँदै चितवनसहित मकवानपुर, नवलपरासीका यात्रु आउने जाने गर्दछन् ।

जेनजी आन्दोलनमा फरार ६,४९४ कैदीबन्दी कहाँ गए ?

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागार फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो ।

भागेकामध्ये अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधार गृहबाट भागेका ६२२ जना छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । देशभरका कारागारमा कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना मात्रै रहेका छन् । रासस

दशैंका बेला यस्तो छ सूर्यविनायक–धुलिखेल सडकको अवस्था {तस्वीरहरु}

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दशैंको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।
भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिए पनि हालसम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ। यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दाया–ँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए । संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिक समेत काठमाडौं आवतजावत गर्दै आएका छन् ।

तस्वीरहरु 

गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण

गुल्मी । गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले २०० रोपनीमा फैलिएको कार्यक्रममा जातीय परीक्षण भइरहेको बताए ।

उक्त कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्तावता तयार गरी पेस गरिएको उनको भनाइ छ । त्यसका अतिरिक्त कफीका अरु जातीय तथा रोगकिरा व्यवस्थापन परीक्षण भइरहेको छ । गौतमका अनुसार कफीको माउबोट, त्यसको हाँगा, बीउ छनोट गरी बीउअनुसारको माटो, बिरुवा, उत्पादन र गुणस्तरसम्मको अनुसन्धान गर्न कार्यालयमा अझै दक्ष जनशक्तिको अभाव छ ।

अनुसन्धान कार्यक्रममा वार्षिक १० हजारभन्दा बढी कफीका बीउ बेर्ना उत्पादन गर्नुका साथै १०० किलोसम्म कफीको स्रोत बीउ उत्पादन गरी वितरण भइरहेको कार्यालय प्रमुख गौतमले बताए । अनुसन्धान कार्यक्रमले कफी बालीमा मलखाद व्यवस्थापन परीक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गबाँरो तथा अन्य रोगकिरा व्यवस्थापनसम्बन्धी परीक्षणका साथै कफीको गुणस्तरबारेमा अध्ययन अनुसन्धान गर्दै आएको छ ।

रास्वपा केन्द्रीय कार्यालय भवन खाली गर्न सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गरि दिन आग्रह गरेका छन् । देवकोटाले १० महिनाको भाडावापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम नपाएको बताएका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताएका छन् ।

अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडा वापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख ५० हजारमा घरभाडामा सहमति भएको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले बताएका छन् । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटा भन्छन्, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।’ स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

तीन किशोर सवार मोटरसाइकल दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

जनकपुरधाम । धनुषामा तीन जना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको हो । दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो ।
मोटसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो । कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ । दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अर्थ मन्त्रालयमा आजदेखि ‘डिजिटल’ टिप्पणी

काठमाडौं । अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया आजदेखि डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन।

उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन(दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुनेछ । यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे मन्त्री पुन : संगठित रूपमा चुनावमा भाग लिनुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन् ।

पुराना नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुन मन्त्री पुनले अपिल गरेका छन् ।

मन्त्री पुनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्ट आह्वान–भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्दछु । कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’

जेनजी आन्दोलको एउटा माग प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने पनि हो भनेर आवाज अहिले उठिरहेको छ । तर प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताएकी छन् । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने बताइन् ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, गाडीको लामो जाम

काठमाडौँ । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गए राति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भइरहेकाले लामो जाम भएको छ। यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजार बढी गाडी गुड्ने गर्छन् । काठमाडौँ ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिए लगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडौं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहोरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

भ्रष्टाचारबारे सरकारले प्रष्ट जानकारी पाइसक्यो, छानविन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन् । आज (बिहीबार) पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको बताएकी हुन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा यो छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ,’ उनले भनिन्, ’तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ ।’

‘नेतामा घरमा जलेका नोटबारे छानबिन सुरु भइसक्यो’
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएका नगद रकमका सन्दर्भमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन ऊर्जामन्त्री दीपक खड्कालगायतको घरमा जलेका नोटहरू भेटिएका दृश्य सामाजिक सञ्जालमा देखिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती नोटहरू संकलन गरी अनुसन्धान सुरु गरेको हो ।

सञ्चारमन्त्री खरेललाई तोकियो सरकारकाे प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

फागुन २१ भित्र चुनाव गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने मुख्य लक्ष्यका साथ आफ्नो अन्तरिम सरकारले काम गरिरहेको बताएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री र सुरक्षाको तयारी सुरु भइसकेको बताइन् ।

उनले १८ वर्षका जेनजी युवा पुस्तालाई मताधिकार प्रदान गर्न र मतदाता नामावली अद्यावधिक गर्न अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरिसकिएको जानकारी दिइन् । विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानमा सहभागी गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरिन् ।

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले देशैभर शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई आग्रह गरेकी छन् । उनले ६ महिने चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै आफ्नो मुख्य ध्यान निर्वाचन सम्पन्न गराउनमा केन्द्रित हुने स्पष्ट पारिन् ।

होमस्टे प्रवर्द्धनका लागि अतिथि सत्कार तालिम

काठमाडौँ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘अतिथि सत्कार तथा प्राथमिक उपचारसम्बन्धी एकीकृत तालिम’ आयोजना गरिएको छ ।

मधेस प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सो तालिम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा तीन दिनसम्म सञ्चालन तालिम सञ्चालन गरिएको थियो । तालिममा १२ पुरुष र २७ महिला गरी ३९ जना स्थानीयले सहभागिता जनाएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले स्थानीय तहमा पर्यटनसम्बन्धी सीप अभिवृद्धिका कार्यक्रमले समुदायमै रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने बताए । उनले भने, “ठोरी जस्ता सम्भावनायुक्त क्षेत्रहरूमा होमस्टे संस्कृति विस्तार गर्नु नेपालको ग्रामीण पर्यटन विकासको मेरुदण्ड बन्नेछ ।”

संविधान परिवर्तन र शासकीय स्वरुप फेर्ने अधिकार यो सरकारलाई छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार यो अन्तरिम सरकारलाई नभएको स्पष्ट पारेकी छन् । देशबासीका नाममा नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् । ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा–युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन् ।

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’
सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन् ।
उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’

उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको जानकारी दिइन् । ‘१८ वर्ष पुुगेका मतदतालाई निर्वाचमा सहभागी हुन पाउने गरी मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेश जारी भइसकेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ । सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो ।

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरीदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए ।

उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ ।

आन्दोलनका दोषीउपर सख्त कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने उपर कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन् । आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा–युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन् ।

नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षरोपण

वीरगञ्ज पर्सा । नेपाली सेनाको श्रीजङ्ग गणले आज वीरगञ्ज महानगर–१३ वेल्वास्थित भेडाहा खोलाको तटमा वृक्षरोपण गरेको छ । श्रीजङ्ग गणको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा आजदेखि वृक्षरोपण थालनी गरिएको हो ।

श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरुवा रोपिएको जानकारी दिए । “श्रीजङग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरुवा रोप्ने अभियान थालनी गरेका छौँ,” उनले भने, “यो अभियान असोज महिनाभरि नै सञ्चालन गरिनेछ ।”

गणपति कार्कीले बाँसको बिरुवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षरोपण अभियान अघि सारेको बताए । “एकातर्फ पर्यावरणको संरक्षण र सम्वद्र्धन गर्न मद्दत पुग्नेछ”, उनले भने, “यसले भूसंरक्षण र नदी कटान लगायतको समस्यालाई रोकथाम गर्ने अपेक्षा गरेका छौँ ।”

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

काठमाडौँ । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते(घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए। “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।

उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

देउवा दम्पतीमाथि सरकारले बढायो निगरानी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले नयाँ राहदानी बनाएको खुलेपछि सरकारले कडा निगरानी बढाएको छ । उनीहरूको पासपोर्टमा थाइल्यान्ड भिसा समेत लागेको खुलेको छ । देउवा र आरजुले यही असोज ३ गते, शुक्रबार नयाँ पासपोर्ट (राहदानी) निकालेको पाइएको छ ।

उनीहरूले नयाँ पासपोर्ट बनाएको सूचना सरकारले केही दिन अगाडि नै पाइसकेको एक उच्च स्रोतले जनायो । स्रोतका अनुसार उनीहरूको पासपोर्टमा थाइल्यान्डको भिसा पनि लागिसकेको छ । भदौ २४ मा बुढानीलकण्ठस्थित देउवा निवासमा तोडफोड र आगजनी हुँदा पुरानो पासपोर्ट हराएको अनुमान गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले पासपोर्ट रोक्का गर्नेबारे छलफल गरिरहेका छन् ।

देउवा दम्पती उपचारका लागि वा अरू कुनै कारण देखाएर विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क पनि गराएको थियो । राहदानी ऐनअनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ । यसअघि देउवा निवासमा बरामद रकमबारे विभागले मुचुल्का उठाइसकेको छ । पूर्व ऊर्जामन्त्री दीपक खड्काको घरबाट प्रदर्शनकारीले पैसा फाल्दै गरेको भिडिओ पनि सार्वजनिक भएको थियो । यसपछि विभागको टोली त्यहाँ पनि मुचुल्का उठाउन पुगेको थियो ।

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौँ । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो ।

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।

भृकुटी मण्डप खुल्ला बजार चहलपहल छ, व्यापार छैन (तस्बिरहरु)

काठमाडौँ । दशैं लागि सकेको छ, बजारमा किनमेल गर्नेहरूको बाक्लो भीड पनि देखिएको छ तर यस वर्ष भने पहिलेको वर्ष जस्तो व्यापार नभएको व्यापारीहरु बताउँछन् ।

पहिलेको वर्ष भृकुटीमण्डपको खुल्ला बजार क्षेत्र भित्र टेकी नसने भीड हुने र व्यापार पनि राम्रो हुने गरेकोमा यस वर्ष ७५ प्रतिशतले नै व्यापार घटेको खुल्ला बजारमा व्यापार गर्दै आएको सर्मिस्था श्रेष्ठले बताइन् । यसवर्ष व्यापार नै छैन व्यापार भएको भए त बोल्ने फुर्सद पनि हुँदैन थियो उनले भनिन् ।

अर्को व्यापारी शारदा कोइरालाको पनि भनाइ त्यही छ, व्यापार आदिले भन्दा बढी घटेको छ, मान्छे आउँछन् तर किनमेल खासै छैन उनले भनिन् ।

देशमा भर्खरै भएको जेन जी आन्दोलनले पनि व्यापार असर परेको व्यापारी बताउँछन् ।

‘जनस्वास्थ्यमा फार्मासिस्टको योगदान प्रशंसनीय’

काठमाडौँ । आज आज विश्व फार्मासिस्ट दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य सोचौँ, फार्मासिस्ट सम्झौँ’ नाराका साथ मनाउन लागिएको यो दिवसको मुख्य उद्देश्य स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र समुदायलाई सुरक्षित राख्न फार्मासिस्टहरूको महत्वपूर्ण भूमिकालाई सम्मान र उजागर गर्नु हो ।

यस अवसरमा नेपाल फार्मेसी सङ्घले देशभरका जिल्ला र प्रदेशस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी फार्मासिस्टहरूलाई एकीकृत गर्ने, जनचेतना अभिवृद्धि गर्ने र समाजप्रति पेसागत प्रतिबद्धता दोहो¥याउने कामा गरिरहेको छ ।

फार्मेसी केवल औषधि वितरणमा सीमित नभइ जीवन रक्षा र स्वास्थ्य प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्ने पेसा रहेको सङ्घका अध्यक्ष युवराज भुसालले बताए । उनले सुरक्षित, प्रभावकारी र जिम्मेवार औषधि प्रयोग सुनिश्चित गर्न उनीहरूको योगदान रहने बताए ।

भुसालले भने, “फार्मासिस्ट जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् । औषधि दिने मात्र होइन त्यो औषधिको पूर्ण जानकारीसहित फार्मासिस्टले औषधि दिने काम गर्छन् । समुदायमा उनीहरुको ठूलो भूमिका छ । औषधिको वैज्ञानिक प्रयोग, जनस्वास्थ्यमा सचेतना, अनुसन्धान र सेवाप्रति समर्पणमार्फत समाजमा फार्मासिस्टहरूले निर्वाह गर्दै आएको योगदान प्रशंसनीय छ ।”

यस अवसरमा आज देशव्यापी रूपमा ¥याली, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, अन्तरक्रियात्मक छलफल, सरोकारवालासँग प्राविधिक सत्र, विशेष तालिम सञ्चालन भइरहेका छन् ।

बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ । साढे पाँच सय विद्यार्थी हुने अर्घा रजस्थल माविमा अहिले दुई सय विद्यार्थी छन् ।

पहिले गाउँमा मोटरबाटो थिएन । गाउँलेहरु बुटवल र पत्थरकोट पुगेर ढाकरमा नुन तेल बोकेर ल्याउँथे । घरघरमा धारा थिएन, पँधेराको पानी पिउँथे, घाँस–दाउरा गर्थे । अहिले समय बदलिएको छ । गाउँमा पक्की बाटो पुगेको छ । खानेपानीको सुविधा छ । बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ । गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ । बिरामी भए अस्पताल जान गाउँगाउँमा एम्बुलेन्स पुग्न सक्छन् । लामो समयसम्म विकास पुग्न नसकेका गाउँ अहिले आधुनिक सुविधाको पहुँचले शहरको सुविधाको झल्को पाइन्छ ।

शितगङ्गा नगरपालिका–११ छापमा केही वर्ष अघिसम्म ४५ घर परिवार बसोबास गर्थे । अहिले सबै घर बसाइँ सरेर अन्यत्र गएपछि गाउँ खाली भएको छ । त्यसैगरी ५० घर रहेको दुम्सी गाउँ पनि अहिले रित्तिएको छ । बसाइँ सरेर सिंगो गाउँ हिडेपछि खेतबारी बाँझिएका छन् । शितगङ्गा नगरपालिका–१० सिद्धाराका अगुवा माधवप्रसाद पौडेल गाउँ नै रित्तो बनाएर उनीहरु कपिलवस्तुको लुङ्ग्री, मौवावारी, खयरभट्टी, ढोडेनीमा बसाइँ सरेर गएको बताँउछन् । सिद्धाराकै झाते, पात्ले, उनाए गाउँबाट बसाइँ सर्ने बढ्दै गएपछि गाउँहरु खाली हुँदै गएका छन् ।

बसाइँसराईको विकराल अवस्था

अर्घाखाँचीका छ वटै पालिकाबाट तराई झरिरहेका छन् । बसाइँसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिदै छन् । तीव्र बसाइँसराईले अर्घाखाँचीमा खेतीयोग्य जमिन बाँझिदै गएको छ । एक दशकमा सात हजार ३६२ हेक्टर जमिन बाँझिएको छ । खेतीयोग्य जमिन बाँझिदै जाँदा आगामी दिनमा खाद्य सङ्कट निम्तिन थालेको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० मा खेतीयोग्य जमिन घटेर २८ हजार ६०९ हेक्टरमा खुम्चिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले २१ हजार २४७ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । दशकमै सात हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझो भएको छ । सन्धिखर्क–९ गौचौरका पोमनारायण पौडेल भन्छन्, “गाउँमा मानिसको सङ्ख्या कम भएसँगै जङ्गली जनावरबाट खेतीपाती जोगाउन सकस भयो । गाउँबाट धमाधम बसाइँ सरेपछि एक्लिदै बस्न अप्ठारो भयो । सकेसम्म गाउँमै बस्नुपर्छ भनेको म पनि अहिले बुटवल आएर बसेको छु ।” ‘पहिले टारी तथा बगरमा खेत बनाएर धान र गहुँ खेती गरिने गरेको बताउँदै उनी भन्छन्, “खेतबारी बाँझै राख्नुहुन्न भनेर सम्भव भएसम्म खेती लगाइन्थ्यो । अहिले नयाँ खेत र बारी बनाउने क्रम रोकिएको छ । बरु खेती हुँदै आएका खेत र बारी बाँझिएका छन् । खेतबारीमा अहिले खर र बनमाराले ढाकेको छ ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको व्यक्तिगत घटना दर्ताको तथ्याङ्कअनुसार जिल्लाको बसाइँसराई दर विकराल छ । अर्घाखाँचीबाट पाँच वर्षयता पाँच हजार ८२ घरपरिवारले बसाइँ सरेका छन् । अर्थात एक घरमा पाँच जनाको हिसावले औसत निकाल्दा पनि झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् । पालिकागत बसाइँसराइको अवस्था हेर्दा शितगङ्गा नगरपालिकामा एक हजार ६४४, सन्धिखर्क नगरपालिकामा ७१७, भूमिकास्थान नगरपालिकामा ६७३, पाणिनी गाउँपालिकामा ८०१, छत्रदेव गाउँपालिकामा ७१२ र मालारानी गाउँपालिकामा ५३५ घरपरिवार बसाइँसराई गरेर अन्यत्र गएका छन् ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसङ्ख्या एक लाख ९७ हजार ६३२ थियो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसङ्ख्या एक लाख ७७ हजार ८६ रहेको छ । दश वर्षको जनसङ्ख्या हेर्दा २० हजार ५०० घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा धान, मकै, गहुँ, कोदो, फापरलगायतका खाद्यान्न ८६ हजार ४३८ मेट्रिकटन उत्पादन भएकामा उपभोगका लागि प्रशोधित खाद्यान्न ६५ हजार ५४१ मेट्रिक टन थियो । २०७९ सालको प्रक्षेपित जनसङ्ख्या एक लाख ७९ हजार ४७७ रहेको थियो । औसतमा जिल्लामा एक व्यक्तिका लागि प्रतिवर्ष २०१ केजी खाद्यान्न आवश्यक पर्छ । जिल्लामा उत्पादन भएको खाद्यान्नलाई औसतमा प्रतिव्यक्ति ३६५ केजी पुग्ने तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाई छ ।

खाद्य सुरक्षाको हिसावले अर्घाखाँची जिल्ला पूर्णसुरक्षित देखिन्छ तर मकैको प्रयोग पशु चौपायालाई धेरै हुन्छ । पशुपंक्षीको दानाका लागि मकै खपत हुन्छ भने तराईबाट चामल झिकाउने क्रम बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा सात हजार ४२५ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा अहिले त्यो क्षेत्रफल घटेर छ हजार ३५४ हेक्टरमा झरेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटे पनि धानको उत्पादनमा भने कमी नआएको कृषि ज्ञान केन्द्रका अधिकृत टिकाराम न्यौपाने बताँउछन् । आव २०७५/७६ मा २४ हजार १३१ मेट्रिकटन धान उत्पादन भएकामा गत आव २०८०/८१ मा २५ हजार ८८७ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख घिमिरेका अनुसार तीव्र बसाइँसराई र बाँझिदै गएको खेतीयोग्य जमिनले खाद्य सङ्कटको जोखिम बढेको छ । अहिले खेती गर्ने नयाँ प्रविधि, उन्नत जातको बिउ र रासायनिक मलको प्रयोगले उत्पादन बढ्दा उत्पादनमा कमी नआए पनि खेतीयोग्य जमिन बाँझिदै गएकाले खाद्य सङ्कट निम्तिने उनको भनाई छ ।

पालिकाको सकारात्मक पहल

स्थानीय, प्रदेश र सङ्घीयका निर्वाचनहरुमा राजनीतिक दलले जिल्लाको बसाइँसराई रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि कार्यान्वयन हुन नसक्दा बसाइँसराई मुख्य चुनौतीको रूपमा रहेको छ । त्यसो त कतिपय पालिकाले युवालाई गाउँमै आकर्षित गर्ने कार्यक्रम ल्याएका छन् । कृषकले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरण तथा गुणस्तरीय मल र बिउका लागि समस्या हुन नदिन सन्धिखर्क नगरपालिकाले जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सहकार्य गरेर काम गरेको छ ।

सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिले उत्पादित अर्गानिक कृषिजन्य बस्तुको समर्थन मूल्यमा बजारीकरण तथा सुनिश्चितका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौसँग सम्झौतासमेत गरेका छन् । विदेशमा रोजगारी गरेर फर्किएर व्यावसायिक बाख्रापालन सुरु गरेका मालारानी–६ गौराडाडाँका कृषक प्रेमबहादुर घर्तीमगरले गउँपालिकाले हेफरको साझेदारीमा बाख्रापालनमा विभिन्न किसिमको सहयोग गरेकाले सहज भएको बताँउछन् ।

मालारानी गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्रको सहजीकरणमा मालारानी गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मालारानीका नौ वटै वडामा सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । पूर्वसांसद पुष्पा भुसाल विकासको प्रतिफल नागरिकको अपेक्षा अनुसार नहुँदा बसाइँसराई रोकिन नसकेको बताँउछन् । विकाससँगै रोजगारी र उद्यमशीलता बढाउन सक्दा बसाइँसराई रोक्न सकिने उनको भनाई छ ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ पनि भुसालको भनाईसँग सहमत छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराई भएकाले उद्यमशीलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । सुपा देउराली, अर्घाभगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिंह स्थान, सिद्धेश्वर शिवालयलगायतका ठाउँमा पर्यटनको सम्भावनासम्बन्धी एकिकृत योजना ल्याउनसके बसाइँसराई रोकिने देखिन्छ ।

– प्रेमनारायण आचार्य