रेशम चौधरीको चेतावनी : मलाई चुनाव लड्न नदिए, देशमा चुनाव नै हुँदैन
काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने बताएका छन् । उनले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका हुन् । उनले टीकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने दावी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले भने, ‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’
उनले भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । के को चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’ चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे । उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।
‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नु भयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने ?,’ चौधरीले भनेका छन् । उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् । ‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नु पर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो ।’
