`

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, उम्मेदवार हुन नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (आइतबार) सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुनु भनी अदालतले बोलाएको छ । सर्वोच्चले उम्मेदवारी खारेजविरुद्ध अन्तरिम आदेश जारी नगरेपछि उनी उम्मेदवार हुन नपाउने भएका छन् । कैलाली–१ बाट उनले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेसँगै उनी सर्वोच्च अदालत पुगेका थिए । टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यानमुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भएकाले निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो । सर्वोच्चले खारेजीविरुद्ध अन्तरिम आदेश दिन पर्ने या नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ दिन समेत निर्वाचन आयोगलाई आदेश गरेको छ ।

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबीसहित चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी कायम गरिदिनु भनि अन्तरिम आदेशको माग गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहँदै निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । चौधरीको निवेदन शुक्रबार दर्ता भएको र आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । कैलाली क्षेत्र नम्बर–१ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो । ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरी दिएको छ । कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ ।

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् । २०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए । त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए । पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । लालवीर अहिले नाउपा नेपालमा छन् ।

रेशम चौधरीको उम्मेदवारीमाथि निर्णायक दिन, निर्वाचन अधिकृतसमक्ष पाँच बुँदे स्पष्टीकरण

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी कायम रहने वा खारेज हुने विषयमा आजै निर्णय आउने भएको छ । माघ ६ गते उम्मेदवारी दर्ता गरेका चौधरीविरुद्ध माघ ७ गते उजुरी परेको थियो । उजुरी परेपछि उनी आज निर्वाचन अधिकृत कार्यालय पुगेर पाँच बुँदे लिखित स्पष्टीकरण प्रस्तुत गरेका हुन् । निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार उनको स्पष्टीकरणपछि उम्मेदवारीको वैधताबारे आजै टुंगो लाग्नेछ ।

रेशम चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । पछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी रिहा भएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले उनको उम्मेदवारीलाई लिएर विवाद उत्पन्न भएको हो ।

स्पष्टीकरणमा चौधरीले आफूले संविधान बमोजिम आंशिक होइन, पूर्ण माफी पाएको दाबी गरेका छन् । उनले राष्ट्रपतिबाट प्राप्त माफीपत्रमा आफूसहित १९ जनालाई माफी दिइएको उल्लेख गर्दै ‘फैसला बमोजिम लागेको कैद सजाय माफी’ भन्ने शब्दावली प्रयोग भएकाले यो पूर्ण माफी भएको स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘कैद सजाय माफी भएपछि त्यो पूरै सजाय माफी हो । आंशिक माफी भएको भए बाँकी कैद माफी भन्ने शब्द प्रयोग हुने थियो । मेरो हकमा त्यस्तो नभएकाले आपराधिकता समाप्त भइसकेको छ ।’

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी जेलमै रहेकाले उनको उम्मेदवारी खारेज भएको थियो । पछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए, जो हाल नागरिक उन्मुक्ति पार्टीमै आबद्ध छन् । अब निर्वाचन अधिकृत कार्यालयले चौधरीको स्पष्टीकरण, कानुनी प्रावधान र अघिल्ला नजीरका आधारमा निर्णय गर्नेछ । सो निर्णयले न केवल कैलाली–१ को चुनावी प्रतिष्पर्धा, तर आममाफी पाएपछि निर्वाचनमा भाग लिन पाउने / नपाउने विषयमा पनि महत्वपूर्ण नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ ।

रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको कैद सजाय मिनहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ जनाको बाँकी कैद सजाय मिनहा गरेका थिए । सोही निर्णयअनुसार चौधरी १५ जेठ २०८० मा जेलमुक्त भएका थिए ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी श्रीमती शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

त्यसयता पटक–पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । सोही मुद्दामा तीन तहका अदालतले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

 

रेशम चौधरीको प्रश्न : ओली, बालेन र रविले चुनाव लड्न पाउने, मैले नपाउने भन्ने हुन्छ ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरीले आफूलाई चुनाव लड्न नदिने हो भने देशका शीर्ष नेताहरू पनि चुनाव लड्न अयोग्य हुने दाबी गरेका छन् । आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई लिएर उठाइएका प्रश्नहरूलाई उनले ‘राजनीतिक पूर्वाग्रह’ को संज्ञा दिएका छन् ।

आफ्नो दलको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू चुनाव लड्न नपाउने भन्ने बहस नै गलत रहेको बताएका छन् । ‘रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो’, उनले भने, ‘यदि म अयोग्य हुँ भने केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने कसरी योग्य हुन्छन् ?’

उनले कानुनी र नैतिक मापदण्ड सबैका लागि समान हुनुपर्नेमा जोड दिए । जेल जीवन भोगेका वा विभिन्न विवादमा मुछिएका नेताहरूलाई चुनाव लड्न दिइने तर आफूलाई रोक्ने प्रयास हुनु अन्यायपूर्ण भएको उनको भनाइ थियो । चौधरीले २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’ स्मरण गर्दै उक्त आन्दोलन राज्य दमनविरुद्ध भएको दाबी गरे । आन्दोलनका क्रममा ७७ जनाले ज्यान गुमाएको र धेरै घाइते अझै उपचाररत रहेको उल्लेख गर्दै उनले ती घटनाका बेला सत्तामा रहेका नेताहरूलाई चुनाव लड्न छुट दिइनु तर आफूलाई वञ्चित गरिनु दोहोरो मापदण्ड भएको बताए ।
‘जेनजी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै ओली–देउवाहरू चुनाव लड्न पाउने, थारु भएकै कारण म नपाउने ?’ उनले प्रश्न गरे ।

उनले अदालत र राज्य संयन्त्रप्रति पनि प्रश्न उठाउँदै भने, ‘यहाँ जे पनि सम्भव छ । अदालतले प्रचण्डलाई चुनाव लड्न दिने अधिकार दिन्छ भने मलाई किन नदिने ?’ टीकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको विषय उठेपछि चौधरीले आफू घटनामा संलग्न नै नरहेको दोहोर्‍याए । ‘फौजदारी कार्यविधि संहिताअनुसार घटनास्थलमा नभएको व्यक्तिलाई अभियुक्त बनाउन मिल्दैन’, उनले भने, ‘म घटनास्थलमै थिइनँ, त्यसपछि म कसरी दोषी भएँ ?’ उनले नेपालमा अझै पनि जातीय पहिचानका आधारमा विभेद र अन्याय भइरहेको आरोप लगाउँदै थारु समुदाय भएकै कारण आफूलाई लक्षित गरिएको दाबी गरे । ‘जातका आधारमा अन्याय र दमन अब स्वीकार्य हुँदैन, चौधरीले भने ।

 

 

नाउपा नेपालले मुक्त कमैयालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने

कैलाली । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले पनि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार खडा गर्ने भएको छ । चौधरीका अनुसार कमैया आन्दोलनकी अगुवा तथा मुक्त कमैया वार्ता टोली सदस्य हेमादेवी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिएको हो । उनी टिकापुर जिवनगर शिविरकी हुन्।

‘हामीले कमैयाले मुक्ति पाएर मात्रै हुँदैन उनीहरूको अधिकार स्थापना गर्दै राज्यसत्तामा उहाँहरूको पहुँच हुनुपर्छ भन्दै आइरहेका छौँ’, चौधरीले भने, ‘नीति निर्माण गर्ने ठाउँमा उहाँहरूलाई पुराउनु पर्छ भनेरै मुक्त कमैयालाई उम्मेदवार बनाउन लागेका छौँ ।’ २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् ।

निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । सोही दिन उम्मेदवारी दिनेगरी अन्य दलहरूसँग पनि छलफल भइरहेको उनले बताए । ‘हामीले उम्मेदवार उठाउन मात्रै लागेका छैनौँ उहाँलाई जिताउने पनि हो ’ उनले भने ‘हाम्रो मतले मात्रै जित्न सक्नु हुन्न, त्यसैले गठबन्धनको तयारी गरिरहेका छौँ ।’ उनले माओवादी काङ्ग्रेससहितका दलहरूसँग चुनावी तालमेलको संवाद भइरहेको समेत जानकारी दिए ।

रेशम चौधरीको चेतावनी : मलाई चुनाव लड्न नदिए, देशमा चुनाव नै हुँदैन

काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूले चुनावमा भाग लिन नपाए देशमा चुनाव नहुने बताएका छन् । उनले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका हुन् । उनले टीकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने दावी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले भने, ‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’

उनले भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । के को चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’ चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे । उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नु भयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनु पर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने ?,’ चौधरीले भनेका छन् । उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् । ‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नु पर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो ।’