`

नाउपा नेपालले मुक्त कमैयालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने

Nepal One HD १८ मंसिर २०८२ ११:०७
प्रमुख खबर

कैलाली । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले पनि माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार खडा गर्ने भएको छ । चौधरीका अनुसार कमैया आन्दोलनकी अगुवा तथा मुक्त कमैया वार्ता टोली सदस्य हेमादेवी चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिएको हो । उनी टिकापुर जिवनगर शिविरकी हुन्।

‘हामीले कमैयाले मुक्ति पाएर मात्रै हुँदैन उनीहरूको अधिकार स्थापना गर्दै राज्यसत्तामा उहाँहरूको पहुँच हुनुपर्छ भन्दै आइरहेका छौँ’, चौधरीले भने, ‘नीति निर्माण गर्ने ठाउँमा उहाँहरूलाई पुराउनु पर्छ भनेरै मुक्त कमैयालाई उम्मेदवार बनाउन लागेका छौँ ।’ २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ । १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना निर्वाचित हुनेछन् ।

निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । निर्वाचन आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । सोही दिन उम्मेदवारी दिनेगरी अन्य दलहरूसँग पनि छलफल भइरहेको उनले बताए । ‘हामीले उम्मेदवार उठाउन मात्रै लागेका छैनौँ उहाँलाई जिताउने पनि हो ’ उनले भने ‘हाम्रो मतले मात्रै जित्न सक्नु हुन्न, त्यसैले गठबन्धनको तयारी गरिरहेका छौँ ।’ उनले माओवादी काङ्ग्रेससहितका दलहरूसँग चुनावी तालमेलको संवाद भइरहेको समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *