रेशम चौधरीको उम्मेदवारीमाथि निर्णायक दिन, निर्वाचन अधिकृतसमक्ष पाँच बुँदे स्पष्टीकरण
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी कायम रहने वा खारेज हुने विषयमा आजै निर्णय आउने भएको छ । माघ ६ गते उम्मेदवारी दर्ता गरेका चौधरीविरुद्ध माघ ७ गते उजुरी परेको थियो । उजुरी परेपछि उनी आज निर्वाचन अधिकृत कार्यालय पुगेर पाँच बुँदे लिखित स्पष्टीकरण प्रस्तुत गरेका हुन् । निर्वाचन अधिकृत कार्यालय स्रोतका अनुसार उनको स्पष्टीकरणपछि उम्मेदवारीको वैधताबारे आजै टुंगो लाग्नेछ ।
रेशम चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति हुन् । पछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी रिहा भएका थिए । तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था रहेकाले उनको उम्मेदवारीलाई लिएर विवाद उत्पन्न भएको हो ।
स्पष्टीकरणमा चौधरीले आफूले संविधान बमोजिम आंशिक होइन, पूर्ण माफी पाएको दाबी गरेका छन् । उनले राष्ट्रपतिबाट प्राप्त माफीपत्रमा आफूसहित १९ जनालाई माफी दिइएको उल्लेख गर्दै ‘फैसला बमोजिम लागेको कैद सजाय माफी’ भन्ने शब्दावली प्रयोग भएकाले यो पूर्ण माफी भएको स्पष्ट पारेका छन् । उनको भनाइ छ, ‘कैद सजाय माफी भएपछि त्यो पूरै सजाय माफी हो । आंशिक माफी भएको भए बाँकी कैद माफी भन्ने शब्द प्रयोग हुने थियो । मेरो हकमा त्यस्तो नभएकाले आपराधिकता समाप्त भइसकेको छ ।’
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी जेलमै रहेकाले उनको उम्मेदवारी खारेज भएको थियो । पछि उनका बुवा लालवीर चौधरी सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए, जो हाल नागरिक उन्मुक्ति पार्टीमै आबद्ध छन् । अब निर्वाचन अधिकृत कार्यालयले चौधरीको स्पष्टीकरण, कानुनी प्रावधान र अघिल्ला नजीरका आधारमा निर्णय गर्नेछ । सो निर्णयले न केवल कैलाली–१ को चुनावी प्रतिष्पर्धा, तर आममाफी पाएपछि निर्वाचनमा भाग लिन पाउने / नपाउने विषयमा पनि महत्वपूर्ण नजिर स्थापित गर्ने अपेक्षा गरिएको छ ।

