आफै कार्यकक्षमा ताला लगाएर सडकबाट सेवा दिंदै वडाध्यक्ष
रोल्पा । रोल्पाको थवाङका दुई वडाध्यक्षले आफ्नै कार्यकक्षमा ताला लगाएर गाउँपालिकालाई चावी बुझाएका छन् । वडा नम्बर १ का वडाध्यक्ष हिराप्रसाद बुढा र अभिलाषा रोकाले हिजो आ–आफ्नो कार्यकक्षमा ताल्चा लगाएर गाउँपालिलाई साँचो बुझाएका हुन् । सडक स्तरोन्नति र विद्युत प्रसारणसम्बन्धी समस्या समाधानका लागि पालिकालाई पटक–पटक ध्यानाकर्षण गराए पनि वेवास्ता गरिएपछि यो कदम चालेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाले काम नगर्ने तर जनताको नजरमा आफू दोषी देखिने परिस्थिति आएकाले वडा कार्यालयमा ताला लगाउन बाध्य भएको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘जनताको समस्या समाधान गर्न मैले बारम्बार पालिकामा कुरा राखेको छु, तर आजसम्म मेरो आवाज सुनिएन, जनप्रतिनिधिको आवाज त बेवास्ता गरिन्छ भने आम जनताको आवाज कसरी सुनिन्छ ?’
अर्का वडाध्यक्ष रोकाले पनि प्रतिकात्मक विरोध जनाउँदै गाउँपालिकामा चावी बुझाएको बताए । ‘जनताले आफ्नो समस्या हामीलाई सुनाउँछन्, हामीले पालिकामा सुनाउने हो, तर पालिकाले न मेरो आवाज सुन्छ, न जनताको, अब पालिकाले नै भनिदेओस् हामीले कसरी काम गर्ने !’, उनले सुनाए । आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका छन् ।

ल्याप्टप र एउटा फोटोकपी मेशिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले जनाएका छन् । बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडाध्यक्ष अभिलाषा रोकाले बिहीबार वडा कार्यालयमा ताला लगाएर साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए । आफ्नो माग सम्बोधन नभए उनले पदबाट राजीनामा दिएर जनतासँगै आन्दोलनमा होमिने चेतावनी उनले दिएका छन् । वडाध्यक्ष रोकाका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा जनता अन्धकारमा बस्न बाध्य बनेको उनको भनाइ छ ।
