`

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष खड्काको मृत्यु

रुकुमपश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको निधन भएको छ । मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौंस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा मृत्यु भएको हो ।

पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले बताए । उनले राजनैतिक सहकार्य र आत्मियताका हस्तीको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरे ।

मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत थिए । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाइन् । उनले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक सोंचका सामाजिक अगुवा भएको बताइन् ।

उनको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गरिन् । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउन पुगेको बताए । खड्काले समाजका लागि दिएको योगदान उच्च सहरानीय रहेको नगर प्रमुख केसीले जनाए । मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत थिए । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध थिए ।

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, पार्टी भड्खालोमा पर्ने चेतावनी (वक्तव्य)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं ।’ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप पनि लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् । उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

 

मौलिक पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

‘नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ ।’

उनले दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि कामना गरेका छन् ।

घनश्याम भुसालको चेतावनी : दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय संकटमा फस्दैछ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शीर्ष नेताहरूमा बहानाबाजी सुरु भइसकेको बताएका छन् ।

जेनजी आन्दोलनको माग पुराना नेताहरूको नेतृत्व परिवर्तन रहेको भए पनि संकटको बेलामा नेतृत्वलाई जोगाउनु पर्ने भनेर बहानाबाजी सुरु भइसकेको बताएका हुन् । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको बताएका हुन् ।

मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको दाबी गरे । अहिलेका नेताहरूबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गरे । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरूले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्न सक्ने बताए ।

उनले भने, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी सुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनु पर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् ।’

उनले भने, ‘राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरु संविधान विरुद्धमा गतिविधि सुरु गर्नेछन् । तिनै नेताहरू देखाएर समाजमा ती नेताहरुको आक्रोश प्रयोग गरिरहने छन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहने छन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’

महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको उनले स्पष्ट पारे । सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए । राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए । जेन जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए । आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनको भनाई थियो ।

उनले भने, ‘सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्ने कुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्ने कुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ ।’

महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सीमित रहेको बताए । राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए । रासस

मुख्य नेताहरूलाई जति सकिन्छ, छिटो बिदा दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन् ।

जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलन आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएको बताए । बाम एकता र कम्युनिष्ट मोर्चाको अभियान चलाइरहेका नेता भुसालले अहिले भएका पार्टीहरु बढीमा दुई महिनाभित्र सुध्रिएनन् भने राजनीतिक दल र देशमै ठूलो क्षति पुग्ने चेतावनी दिएका छन् ।

भुसालले भने, ‘अहिलेको नेतृत्वलाई बचाउने दृष्टिकोणहरु पनि आएका छन् । तर पहिले भइरहेका कमजोरी नसल्टाई कसैको नेतृत्व स्वीकार गरेर जाने अवस्था छैन । यो मेरो पार्टीमा पनि लागू हुन्छ । ठूला साना दलमा पनि लागू हुन्छ । बहालवाला दलमा अहिलेको नेतृत्व जोगाएर जान सम्भव छैन,’ उनले भने, समग्रमा बाम एकता अभियान थालेका थियौं । माओवादी र यस मात्रै एकता गर्ने गरी मेरै पार्टीले पनि अभियान चालेको थियो । तर प्रचण्डकै नेतृत्वमा अथवा माधव नेपालकै नेतृत्वमा त्यो सम्भव छैन र हुँदैन ।’

उनले कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई नैरास्यता बनाउने मुख्य विषय भएको बताउँदै भने ‘विचारमा सिद्धान्तमा कम्युनिष्ट कस्ता हुन्छन् भनेर पढाइयो । तर व्यवहारमा त्यो गर्न सकिएन लागू भएन त्यो हाम्रो नेताहरूको जीवन शैलीलाई हेरेर अहिलेको निराशा बढेको हो । अब भ्रष्टाचार नगर्ने पार्टी होस्, भन्ने अभियान जेनजीले चलाए त्यो हामीले पनि भनेका हौं तर कार्यान्वयनमा लैजान सकेनौं ।’

भ्रष्टाचार गर्ने तर भाषामा त्यसको विरोध गर्ने नेताहरू भएकोले अहिलेको समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेका पार्टी केही महिनामै नसुध्रिए इतिहासमा सीमित रहने दावी गरे । ‘यति ठूलो दवाव आउँदा नि दलको नेतृत्व नसुध्रिए सकिने हो, त्यसको विकल्पमा नयाँले स्पेश पाउने हो,’ उनले भने, ‘मुख्य नेतृत्व नबुझ्ने छैन तर उनीहरूलाई घेराउमा राख्नेहरूले नै गलत सूचना दिए, ढाकछोप गरे, अनि सतहमा पुग्नै दिएनन् ।’

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमी कमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ ।

नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरेको पार्टीले एकताका लागि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाइएको छ ।

पार्टी पुनर्गठन नगरी जनतामा जान सकिँदैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन नगरी जनतामा जान नसकिने बताएका छन् । पार्टीमा लिखितरुपमा प्रस्ताव अघि सार्दै मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं । यो मुख्य विषयलाई गलैँचामुनि राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ । ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेन्डा’ भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ ।’

राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता पार्टीमा रहेको उल्लेख छ । ‘हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔँ । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ’ प्रस्तावमा भनिएको छ ।

जेनजी आन्दोलनपछि एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेको उल्लेख छ। प्रस्तावमा भनिएको छ, ‘त्यसले संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ । हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौँ ।’ अहिले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वाम–लोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढेर मात्रै प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नुपर्ने उल्लेख छ ।

माधव नेपाल पनि निस्किए बाहिर, कोटेश्वर पुगेर गरे जलेको घर अवलोकन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पनि पार्टी काममा फर्किएका छन् । जेनजी आन्दोलनले उग्ररूप लिएपछि सेनाको सुरक्षामा रहेका अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर आएका हुन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले जलाएको घर हेर्न पुगेका छन् । प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।

अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए । आन्दोलनपछि अवस्था सामान्य बन्न थालेपछि शीर्ष नेताहरु धमाधम बाहिर निस्किन थालेका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पार्टी कार्यालय पेरिसडाँडा पुगेर अवलोकन गरेका छन् । उनीले आगजनीबाट कार्यालयमा धेरै क्षति भएको भन्दै अब नयाँ र भव्य कार्यालय बनाइने बताएका छन्।

कम्युनिष्ट एकताका लागि घनश्याम भूसालको आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभर गरिएको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज (शुक्रबार) स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै नहुने समेत बताएका छन् ।

‘२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरुले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु,’ उनले भनेका छन् ।

नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको उनले बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि बताएका छन् । ‘म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खास गरी एमाले र माओवादीको स्कुलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहन्छुः हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔं,’ उनले भनेका छन्।

गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए, त्यो नेपालको राजनीतिक इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता रहेको पनि भूसालले बताएका छन् । भदौ २४ गते मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक भएको उनको बुझाइ छ ।

लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : एकीकृत समाजवादी

काठमाडौं । पूर्व प्रधानन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।’

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनले बताएका छन् । लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासनविरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले उठाएका मागको सम्वोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन–जीले भने जस्तो बनाउन सकिन्छ ।’ उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताएका छन् ।

नेकपा एसका जिल्ला अध्यक्ष नै रास्वपामा प्रवेश

काठमाडौँ । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । दाहालसँगै नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा समाहित भएका छन् ।

बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले उनीहरूलाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विष्णुप्रसाद दाहालले कम्युनिस्ट पार्टीमा रहेका नेताहरू कहिल्यै नसच्चिने भएकाले आफू नयाँ विकल्पको खोजीमा रास्वपामा आएको बताए ।

उनले पुराना पार्टीहरूप्रति जनताको विश्वास घट्दै गएको र देशले परिवर्तन खोजेको तर्क गरे । ‘पुराना पार्टीमा बसेर देश बन्छ भन्ने विश्वास अब रहेन,’ दाहालले भने, ‘युवाहरू विदेश पलायन भइरहेका छन्, समाजमा विचलन बढ्दो छ। राष्ट्रिय स्वतन्त्र पार्टी नै मुलुक परिवर्तनकारी शक्ति हो भन्नेमा म विश्वस्त छु ।’ दाहाल र अर्यालको रास्वपा प्रवेशले मकवानपुरमा रास्वपाको संगठन विस्तारमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।