`

ओलीलाई ‘कलम’ बुझाउँदै झाँक्रीले भनिन्–एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले एमाले पार्टी विगतमा भन्दा फरक रहेको बताएकी छिन् । उनले विगतमा आफूले बाटो बिराए पनि अहिले मूलप्रवाहमा फर्किएको बताइन् । सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमार्फत पार्टी प्रवेश गर्दै झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको छाती उदार रहेको बताएका हुन् । ‘म देख्छु कि– एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ । हर मान्छेका लागि हाम्रो अध्यक्ष हाम्रो अभिभावक केपी ओली उदारपूर्वक सबै मान्छेलाई घर फर्क भनेर छाती ओपन गरेको दृष्य हो,’ झाँक्रीले भनिन् ।

उनले तत्कालीन परिस्थितिमा माधव नेपालसँग लागेर पार्टी विभाजन गरेको कुरा समयले नै मूल्याङ्कन गर्ने र सजाइ दिने बताइन् । ‘विगतमा जोसँग यात्रा गरेँ, उहाँलाई आलोचना गर्नु र गुनासो गर्नु छैन, सबैप्रति सम्मान र शुभकामना छ । तर त्यहाँबाट केही हुँदैन,’ झाँक्रीले भनिन्, ‘मौसम हेरेर चङ्गा उडाउने होइन, गन्तव्य हेरेर बोइङ उडाउने दृढ संकल्प भएका क्याप्टेनहरू यो पार्टीमा फर्किऔं ।’

सोमबार घर फर्क अभियानमार्फत एमाले फर्किएकी झाँक्रीले सम्बोधनको शुरूमै ओलीलाई राष्ट्रवादी व्यक्तित्व भनेकी हुन् । उनले ओलीलाई ‘पूर्व प्रधानमन्त्री आदरणीय नेता एक जना राष्ट्रवादी व्यक्तित्व कमरेड केपी ओली’ भनेर सम्बोधन गरेकी हुन् । एमाले प्रवेश गरेकी झाँक्रीलाई ओलीले माला लगाएर स्वागत गरेका थिए । २०७८ मा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि झाँक्री पार्टीको सचिव बनेकी थिइन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी) की स्थायी समिति सदस्य झाँक्रीसहित १० केन्द्रीय सदस्य एमालेमा फर्किएका छन् । आज राष्ट्रिय सभा गृहमा आयोजित एमालेको ‘घर फर्क अभियान’ घोषणा कार्यक्रममार्फत् उनीहरु फर्किएका हुन् ।

यसरी फर्किनेमा स्थायी समिति सदस्य झाँक्री,केन्द्रीय सदस्यहरु किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ,पीताम्बर तिम्सिना, राजाराम स्याङतान, कर्ण विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, बबी चाम्लिङसहित ४० जना छन् । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह सूर्य अंकित फेटा दिएर स्वागत गरेका थिए । एमालेमा फर्किने नेताहरुले पनि अध्यक्ष ओलीलाई एकीकृत समाजवादीको चुनाव चिन्ह कलम बुझाएका छन् ।

 

 

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित यी हुन् एमालेमा फर्किनेहरू (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौं नेता–कार्यकर्ता एमाले फर्किएका छन् । राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका हुन् । सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । कमल एकीकृत समाजवादीको चुनाव चिन्ह थियो । सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित भएका छन् ।

त्यस्तै अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।

आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनले भने, ‘यो अभियानको घोषणा मात्र हो, विभिन्न जिल्लामा जिल्लास्तरका घर फर्क अभियान अब निरन्तर चल्छ ।’ अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू घर फर्किएका हुन् ।

 

 

नेतृ झाँक्री आज एमालेमा फर्किंदै, अरूलाई पनि गरिन् ‘घर फर्किन’ आह्वान

काठमाडौं । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता–कार्यकर्ताहरूलाई नेकपा एमालेले आज (सोमबार) ‘घर फर्काउँदै’ छ। यसका लागि एमालेले आज दिउँसो साढे २ बजे काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’, आयोजना गर्दैछ । जसअन्तर्गत तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठलगायत एमालेमा फकिने तयारीमा छन् । यसैबीच झाँक्रीले यस अभियानमा सहभागी हुन पूर्व एमालेजनलाई आह्वान गरेकी छन् ।

‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेकी छन् ।
तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई तत्कालीन नेकपा माओवादी केन्द्रसहित १० वाम दलको एकतामा समाहित गराएपछि महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायत नेता अलग भएका हुन् ।

झाँक्री किसान श्रेष्ठलगायत केही नेता एमालेमा फर्किने भए पनि भुसाललगायत एउटा समूहले भने एकीकृत समाजवादी पुनर्गठन अभियान घोषणा गरेको छ । जसको संयोजक भुसाल बनेका छन् । उता १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छन् । जसमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल छन् ।

 

 

 

एकीकृत समाजवादी पुनर्गठन अभियानको संयोजकमा भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय संयोजकमा घनश्याम भुसाल चयन भएका छन् । शनिबार राति ६७ जना केन्द्रीय सदस्यहरूको भर्चुअल (जुम) बैठकले भुसाललाई संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए ।

बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ । यद्यपि, कानूनी र संसदीय व्यवस्थाका प्रावधानहरूको गहन अध्ययन गरी आवश्यकता अनुसार अगाडि बढ्ने मार्गचित्र पनि तय गरिएको छ । पुनर्गठित पार्टीले विशेष महाधिवेशन अघि मंसिर महिनामै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

उक्त भेलाको मिति आजभोलिमै घोषणा गरिने बस्नेतले बताए । जुम बैठकले पार्टीका नेता–कार्यकर्तामा रहेको अन्योलता चिर्न सबैले सक्रिय पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा भुसालले पार्टीलाई पुनर्गठन गरी अहिलेको अवस्थामा देशभक्त वामपन्थीहरूको मोर्चा बनाएर अघि जानुपर्ने बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलको एकता भएपछि भुसाल समूहले नेकपा एकीकृत समाजवादी पुनर्गठन गरेको हो । बैठकले आगामी मंसिरमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

एमालेमा फर्किनुअघि झाँक्री र श्रेष्ठले भेटे ओली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ लगायत नेताहरू नेकपा (एमाले) फर्किने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र झाँक्रीलगायत नेताहरूबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि कात्तिक २४ गते झाँक्रीसहित नेताहरू एमालेमा फर्कन तयार भएको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीलगायत १० दलीय घटक एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ भने उक्त पार्टीमा झाक्रीलगायत नेताहरू गएका थिएनन् । उनीहरूले पत्रकार सम्मेलन गरी एमालेमा फर्कन सकिने संकेत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन् । महासचिव घनश्याम भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् ।

 

 

 

२० वर्षमा धेरै कुरा बद्लियो तर, राजनीतिक दलको नेतृत्व बद्लिएन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिए पनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताएका छन् । काठमाडौंमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी उनले यस्तो बताएका हुन् ।

उनले संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनर्गठित भएको बताए । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिए पनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताए । उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताए । उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए ।

उनले भने, ‘हामी धेरै नयाँ भईसकेका छौँ । हामी नयाँ संविधान लेख्यौँ, राज्य व्यवस्था नयाँ बनायौँ, बसाईसराई अरु आर्थिक गतिविधि बजारको विस्तार यी गतिविधि धेरै कुराले हाम्रो समाज नयाँ हिसावले पुर्नगठित हुँदैछ । यसको संरचनामा ठुलाठुला परिवर्तन आएका छन् । प्रविधि, यसको विकास, यसले समाजमा पारेको प्रभाव, मनोविज्ञान त्यो धेरै कुरा बदलियो । गएको १० वर्षमा, १५ वर्षमा, २० वर्षमा धेरै कुरा बदलियो तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरुको नेतृत्व । त्यो बदलिएन । सबै चीज बदलिनुपर्ने र बदलिसक्यो । तर पुराना पार्टीहरु नेतृत्व सधैभरी त्यही रहनुपर्ने ।’ उनले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताए ।

प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउन मात्र : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाट विदा लिएकी नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एसबीच पार्टी एकता हुँदा वाम आन्दोलन कमजोर हुने दाबी गरेका छिन् । आफ्नो पार्टीको मूल नेतृत्व एकताको पक्षमा उभिएपछि आज पत्रकार सम्मेलन गरेकी झाँक्रीले यस्तो दाबी गरेकी हुन् ।

‘नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पर्‍यौं । अहिले फेरि नेकपा एस र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ । किनकी, त्यहाँ ओत लाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ’, उनले भनिन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भए राज्यका प्रणाली कमजोर हुने बताइन् । उनले प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउनका लागि मात्र भएको समेत आरोप लगाइन् । नेतृ रामकुमारी झाँक्रीले आजबाट एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् । झाँक्रीले भनिन्, ‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ । आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौं ।’

भयानकै होला भनेर सुरू गरेको समाजवादीसँगको यात्रा आजैबाट समाप्त भयो : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको समेत टिप्पणी गरिन् । झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् । ‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो । विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ इतिहासले मूल्यांकन गर्नेछ,’ झाँक्रीले थपिन् ।

अब यो यात्रा टुंगिएकोमा आफू खुशी नै भएको उनले बताइन् । यो यात्रा अवरुद्ध छ भन्ने धेरै पहिले थाहा पाए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको प्रष्ट पारिन् । संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन् ।

बिना शर्त पूरानै घर फर्कदै छौं, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले पुरानै घर नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताएका छन् । आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ ‘हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइ दिन अनुरोध गर्न चाहन्छु,’ श्रेष्ठले थपे ।

पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’ नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिष्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गरेको हो ।

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान बसेरा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेमा फर्कने घोषणा गरेको हो । एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए । उनीहरूले पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाउँदै एमालेसँगको एकता नै स्वाभाविक हुने तर्क गर्दै आएका थिए ।

यसअघि, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिले गर्दा प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । आजै ९ कम्युनिष्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित छ ।

खनाल अब नेकपा एसमा ‘संरक्षक’ मात्र, पार्टी भुसालले हाँक्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असहमति जनाएका नेताहरु पार्टी पुनर्गठनको बहसमा जुटेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन् ।

अध्यक्ष माधव नेपाल पक्ष माओवादी केन्द्रसँग एकतामा जाने भएपछि असहमति जनाउँदै बसेका सम्मानित नेता झलनाथ खनाल पक्ष पार्टी पुनर्गठनको बहसमा जुटेको हो । अध्यक्ष नेपाल नै माओवादी केन्द्रसँग एकता गर्ने गरी छुट्टिएपछि अहिले नेकपा एसको अबको नयाँ नेतृत्वका विषयमा पनि छलफल सुरु भएको छ । माधव नेपालपछि सम्मानित नेता झलनाथ खनाल भए पनि अब पार्टी पुनर्गठनका बेला उनी संरक्षकको भूमिकामा रहनु पर्ने पनि चर्चा सुरु भएको छ ।

माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एसका पोलिटव्यूरो सदस्य धर्म निरौलाले अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए । नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौं । सबै कम्युनिष्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौं र मिल्दै जान्छौं । अहिले हामी माधवजीहरूसँग अलग भएका छौं । अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौ ।’ उनले अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको उनले बताएका छन्।

खनाल भन्छन्–ओलीले ढोका राम्ररी खोलेर बस्ने ठाउँ राम्रो बनाए, फर्किन आपत्ति छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने आह्वान गरेर मात्र नपुग्ने बताएका छन् ।

ओलीको ‘घर फर्क’ भन्ने आह्वानबारे प्रत्यक्ष प्रतिक्रिया दिँदै उनले भने, ‘घर फर्क भनेर मात्र पुग्दैन, ढोका राम्रोसँग खोल्नु पर्छ, बस्ने ठाउँ राम्रो बनाउनु भयो भने फर्किन के आपत्ति छ र ?’

माओवादी केन्द्रसँग एकता गर्ने पार्टी निर्णयपछि खनाल निकट नेताहरूले सुकेधारामा आयोजना गरेको भेलामा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन् । खनालले आफूहरू फरक भएर गए पनि लक्ष्य एउटै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध रूपमा अघि बढाउने रहेको बताए ।

उनले पार्टी एकताका नाममा व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीति अघि बढेपछि आफूहरूले नयाँ बाटो समात्न बाध्य भएको बताए । उनले भने, ‘हामी अलग भएका हौं, तर अलग भएर पनि सिङ्गै हुनका लागि । आन्दोलनलाई अझ बलियो बनाउन छलफल र समन्वय जारी रहनेछ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र स्पष्ट विभाजन देखिएको छ । सुकेधारामा भइरहेको खनाल–घनश्याम भुसाल पक्षको भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि खनाल पक्षले नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने घोषणा गरेको हो । आजको भेला नयाँ पार्टी गठन र आगामी रणनीतिसम्बन्धी निर्णय गर्ने तयारीमा छ ।

माओवादीसँगको पार्टी एकता भाँड्न खोजियो : जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन् । शुक्रवार केन्द्रिय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ लागिपरेको बताए । उनले बैठकमा सम्मानित नेता खनालले एकता नगरौं भन्ने सुझाव दिएको भए पनि बैठकले एकता गर्ने पक्षमा निर्णय लिने दाबी गरे ।

माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई आफूहरुले पनि मान्ने गरेको बताए । आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुरानै घर फर्किनुस् भन्ने आह्वान पार्टी एकता भाँड्नका लागि भएको जिकिर गरे ।

उनले भने, ‘नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल यी तीन दलहरु एकीकरण गर्नका निम्ति पूर्ण विश्वासका साथ काम गरिरहेका छौँ । एकता हुन्छ । बैठकमा सम्मानित नेता खनालले राख्नुभएको सुझाव हो, एकता नगरौँ । गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो । बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो । निर्णय एकताको पक्षमा हुन्छ । र एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ ।’

उनले भने, ‘माओवाद उसले छोड्ने भयो, माओवादीलाई मार्गदर्शक सिद्धान्तका रुमपा माक्र्सवाद लेनिनवादलाई मान्छ । हामी पनि त्यसलाई मान्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ । केपी ओलीको आह्वान यो साजिस हो । हाम्रो एकता भाँड्न प्रयास गरेको मात्रै हो । उहाँ एकताको लागि कहिल्यै हुनु हुन्न ।’एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने जिकिर गरे ।

 

माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरुको एकता हो : नेता अर्याल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताएका छन् । सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनः गठन, ध्रुवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखे ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्पति शुद्धिकरणको निगरानीमा रहेको र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरु समेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरुको एकता हुने जिकिर गरे ।

अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन अहिलेको आवश्यकता रहेको बताए । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरुको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानविन आयोगमा गइ बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताए ।

उनले भने, ‘जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश छ । यसबारेमा नै हामीले छलफल गरेका छौँ । अहिले के छ भने प्रचण्डजी सम्पति शुद्धिकरणको निगरानीमा हुनुहुन्छ । त्यो पार्टीको उपाध्यक्ष एक जना महराजी सुन तस्करी काण्डमा जेलमा हुनुहुन्छ । त्यो भन्दा बाहेक अरु नेताहरु पनि सुन तस्करी, विभिन्न भ्रष्टाचारका मुद्दामा लागिरहेकै छन् । हाम्रै पार्टीका अध्यक्षलाई पतञ्जली काण्डमा भ्रष्टाचारको मुद्दामा आरोपित नै हुनुहुन्छ । त्यसकारण प्रचण्ड र माधव नेपालसहितको एकता भनेर र यो अभियुक्तहरुको एकता हुन्छ, सबै अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउँदैन ।’

उनले भने, ‘सारा बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन हुनुपर्छ । अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता गर्नुपर्छ । ७८ जना युवाको हत्याको आरोपमा अर्धभूमिगत रुपमा गुण्डुमा हुनुहुन्छ, ओलीजी । उहाँलाई अधिकार नै छैन । उहाँ छानविन आयोगमा जाने, बयान दिने र राजनीतिक अवकाशमा जाने बाहेकका विकल्प छैन ।’ उनले वाम पार्टीहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको बताए । आफूहरु शीर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको बताए । –न्युज एजेन्सी नेपाल

नेतृ झाँक्रीको चेतावनी : व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने चेतावनी दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र एसबीच पार्टी एकताको अन्तिम तयारी भइरहेका बेला झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले भनिन्, ‘व्यक्तिगतको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको वास्तविकता यस्तै छ ।’ उनले मान्छे नै थपेर बहुमत पु¥याउन सकिए पनि बहुमतले सबैको भावना बोक्छ भन्ने नहुने टिप्पणी गरिन् ।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी हुँदै गर्दा नेताहरूको फरक–फरक मत आइरहेको छ । एकीकृत समाजवादीको जारी केन्द्रीय समिति वैठकमा माओवादीसँगको एकताको विषयलाई लिएर नेताहरु दुई धारमा विभाजित भएका छन् । अध्यक्ष नेपालसहितका नेता एकताको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँझीलगायतका नेता एकता गर्न नहुने पक्षमा देखिएका छन् ।

 

नेकपा एसभित्र उर्लियो ‘आँधी’ : अबको बाटो एकता कि फुट ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अहिले आफ्नै अस्तित्व संकटको घडीमा उभिएको छ । पार्टीभित्र माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणले यति ठूलो तरङ्ग ल्याएको छ कि–अध्यक्ष माधवकुमार नेपालको नेतृत्व समेत प्रश्नचिह्नमा परेको छ । एकातिर नेपाल माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने अन्तिम तयारीमा छन् भने अर्कोतिर वरिष्ठ नेताहरूले त्यसको औचित्यमै ठूला प्रश्न उठाइरहेका छन् ।

पार्टीभित्र अहिले दुई स्पष्ट धार बनिसकेका छन् । पहिलो धारमा अध्यक्ष नेपाल, उपाध्यक्ष वेदुराम भुसाल, राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडा छन् । जसले माओवादीसँग एकता अबको ‘राजनीतिक अपरिहार्यता’ भएको बताइरहेका छन् । दोस्रो धारमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत छन् । जो माओवादीसँगको एकतालाई ‘विचार र अस्तित्व दुवैको हार’ भन्दै कडा विरोध गरिरहेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भुसालले खुलेरै भने, ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता । नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’ उनले माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल दुबै जनतालाई अस्वीकार्य भइसकेको भन्दै नेतृत्वबाट पछि हट्न सुझाव दिए । ‘तपाईंहरू फरक भूमिकामा जानुस्, त्यतिबेला मात्र नयाँ एकताको वातावरण बन्न सक्छ’, पार्टी वैठकमा उनले खुलेर भने ।

त्यस्तै, झलनाथ खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गर्दै माधव नेपालको राजीनामा समेत माग गरेका छन् । उनले भने, ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जानु हाँस्यास्पद हो । यो एकताको समय होइन, नयाँ क्रान्तिकारी समाजवादी पार्टी निर्माण गर्ने समय हो ।’ खनालले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा देखाउँदै भने, ‘नेपालले त्यसैका कारण पनि अध्यक्ष पदमा बसिरहनु उचित छैन ।’

तर, पार्टीभित्र अर्को धार पनि छ–जसका अनुसार अब पार्टी आफैंलाई टिकाइराख्न कठिन भइसकेको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘अब पार्टी चल्न कठिन छ । नचल्ने पार्टीलाई चलाउन खोज्नेभन्दा एकता गरेर नयाँ बाटो रोज्नु पर्छ ।’ खतिवडाले पनि ‘एकता अहिलेको आवश्यकता हो, पछि ढिलाइ विनाश हुनेछ’ भन्दै नेपालको पक्ष लिए । यता पार्टी नेता प्रमेश हमालले भने, ‘माओवादीसँगको एकता लगभग अन्तिम चरणमा पुगेको छ ।’

उनले सिद्धान्त, संगठन र नेतृत्व बाँडफाँटसम्बन्धी प्रारम्भिक सहमति बनेको र एकता पछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने योजना रहेको बताए । नयाँ पार्टीको नामका लागि ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ प्रस्ताव गरिएको छ । तर, यी सबै सहमति र तयारीबीच पार्टीभित्रको अविश्वास र असहमति गहिरिँदो छ । माओवादीसँग मिल्ने कि अलग्गै पुनर्गठन गर्ने भन्ने द्विविधाले पार्टीलाई फुटको संघारमा पुर्‍याएको विश्लेषण भइरहेका छन् ।

२०७८ सालमा एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) तीन वर्षमै फेरि विभाजनको जोखिममा पुगेको छ । नेताहरूको वैचारिक मतभेद, नेतृत्वको असन्तुष्टि र राजनीतिक असफलताले गर्दा यो पार्टी अहिले अस्तित्वको संकटमा छ । अबको प्रश्न एउटै छ–माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी माओवादीसँग एकता गर्दै नयाँ पार्टीको बाटो रोज्छ कि आफ्नै मार्गमा टेकेर पुनर्गठनको यात्रा सुरु गर्छ ? यो निर्णयले पार्टीको भविष्य मात्र होइन, नेपालका वाम राजनीतिको समीकरण नै फेरबदल गर्न सक्छ ।

प्रमेश हमालले राखे माओवादीसँग एकताका तीन आधार, ६ महिनाभित्र नेतृत्व पुनर्गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका नेता तथा एकता वार्ता कमिटीका सदस्य प्रमेश हमालले माओवादी केन्द्रसँग गरिने एकताका तीन आधारमा प्रस्तुत गरेका छन् । उनले एकताको अपरिहार्यताबारे आफ्नो धारणा राखेका हुन् ।नेता हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ ।

‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौ,’ हमालले बैठकमा भनेका छन् ।माओवादी केन्द्रसँगको वार्तामा एकताका निम्ति पहिलो शर्त समाजवादी क्रान्ति सम्पन्न गर्न शान्तिपूर्ण बाटो अपनाउने रहेको उनले बैठकमा जानकारी गराए । दोस्रोमा सम्मानजनक सांगठनिक एकता रहेको सुनाए । तेस्रोमा नेतृत्व परिवर्तनको विषय रहेको सुनाए ।

पार्टी एकतापछि ६ महिनाभित्र प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने कुरा घनिभूत रुपले चलेको उनले बताए । उनले भने, ‘यो कुरा माधव कमरेड र प्रचण्ड कमरेडले पनि बुझ्नु भएको छ ।’ एमालेबाट गरिएको विद्रोहलाई ‘बाध्यता’ भन्दै हमालले अहिले माओवादी केन्द्रसँग गरिन लागेको एकतालाई ‘उद्देश्य’ का रुपमा बुझ्नुपर्ने बताए । उनले भने, ‘समाजवादी क्रान्तिलाई ठूलो शक्ति चाहिन्छ, त्यसका लागि एकता अपरिहार्य छ ।’ नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न एकतामा जाने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ, त्यो हामी गर्छौ ।’

 

एकीकृत समाजवादीका महासचिव भुसालको दावी : माओवादी अझै फुट्न सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्न सुझाव दिएका छन् । जारी पार्टीको बैठकमा चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौतारिँदा खिइँदै गएको र अब पनि यो रुपमा नरहने दाबी गरेका छन् ।

पटक–पटक विभाजित भएको माओवादी फेरि पनि विभाजित हुनसक्ने उनको तर्क थियो । १० वर्षसँगै जनयुद्ध लडेका बाबुराम भट्टराई, विप्लज, मोहन वैद्यलगायतका नेताहरु प्रचण्डसँग छुट्टिसकेका छन् । महासचिव भुसालले भने, ‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ । म पनि राम्रो सम्पर्कमा छु ।’ उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको भन्दै नेता मात्र मिल्ने एकताको अर्थ नहुने बताए ।

बैठकमा उनले भने, ‘हामीले २०७५ सालमा माओवादीसँग एकता गर्‍यौं । तर त्यो एकता भागबण्डामा आधारित थियो । त्यसैले निरन्तर हुन सकेन ।’ उनले अहिले पनि त्यस्तै गर्न खोजिएको भन्दै एकताको प्रयोग असफल हुने शंका व्यक्त गरे । माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गर्दै उनले भने, ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’ उनले भने, ‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो । माओवजादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौं ।’

माओवादीसँगको एकताबारे नेकपा एसका नेता मेटमणि चौधरी : बोरामा एक–दुईटा बियाँ भेटिनु स्वाभाविक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी तीव्र बनेको छ । राजधानीमा जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक प्रस्ताव पेस भए लगत्तै नेताहरू दुई धारमा विभाजित देखिएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिँदै बैठकमा सक्रियता देखाएको छ भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको पक्षले तत्काल एकता नगर्ने मत राखेको बताइन्छ । नेताहरूका अनुसार पार्टीभित्रको यही मतभेदले समाजवादी फेरि संकटको संघारमा पुगेको छ ।

बैठकमा आज झलनाथ खनाल र महासचिव भुसालले धारणा राख्दैछन्, त्यसपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै परिस्थितिमा पार्टीका उपमहासचिव मेटमणि चौधरीले माओवादी केन्द्रसँग एकता हुनुपर्ने जिकिर गरेका छन्। उनले भने, ‘म त कम्युनिष्ट पार्टीहरूबीच एकता गर्दै जानुपर्छ भन्ने पक्षमा छु । त्यो काम सुरु गरिहालौं भन्ने मेरो भनाइ हो । पार्टीको निर्णय पनि यही दिशामा जान्छ ।’

चौधरीका अनुसार माओवादी केन्द्रसँग एकता गर्नुपर्ने विषयमा पार्टीभित्र लगभग सर्वसम्मति छ । ‘९९ प्रतिशत नेताहरू एकताको पक्षमा छन् । लाखमा, हजारमा त एक–दुईटा फरक कुरा निस्किन्छ नि । बोरामा एक–दुईटा बियाँ भेटिनु त स्वाभाविक हो’, उनले भने । उनले स्पष्ट पारेका छन् कि पार्टीको एकता प्रक्रिया अब ढिलो नहुनेछ । ‘हामी आगामी मंसिरमा एकता महाधिवेशन गरेर चुनावमा जान्छौं’, चौधरीले बताए ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम र चिन्हबारे पनि उनले संकेत दिएका छन् । उनका अनुसार, नयाँ पार्टीको नाममा ‘समाजवादी’ शब्द रहने निश्चित जस्तै छ । ‘नेकपा समाजवादी भन्ने सम्भावना बढी छ’, उनले भने । चुनाव चिह्नबारे भने उनले भने, ‘हामीले कलम नै राख्ने भनिराखेका छौं । माओवादी केन्द्रले तारा भनिरहेको छ, हेरौं अन्ततः केमा सहमति हुन्छ ।’ नेताहरूको व्यवस्थापन र संरचना एकता महाधिवेशनकै क्रममा टुंगिने चौधरीले बताएका छन् । उनका अनुसार, ‘एकता ऐतिहासिक मोडमा पुगेको छ, केही मतभेदहरू स्वाभाविक हुन् । अब नेपाली कम्युनिष्ट आन्दोलन एक ढिक्का बन्दैछ ।’

घनश्याम भूसालको प्रश्न : मुलुक राजनीतिक ‘ब्ल्याक होल’ तर्फ गइरहेको हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ‘ब्ल्याक होल’ तर्फ जान लागेको हो भन्दै प्रश्न गरेका छन् । पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तो राजनीतिक अवस्थाको बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्ने उनको भनाई छ ।

उनले नेकपा एसको एकताको प्रक्रियाको विषयमा पनि बैठकले समीक्षा गर्ने बताए । उनले भने, ‘हामीले यो बैठक असाधारण परिस्थतिमा गर्न लागिरहेका छौं । एकैचोटी सबैतिर प्रश्न उठेको छ । संविधान समेत केही ठाउँमा मिचिइरहेको छ । राजनीतिक ब्ल्याक होलतर्फ त गइरहेको छैन ? यो अवस्थामा हामी बैठक बस्दैछौं ।’

माधव नेपालको चेतावनी : ओली सामु लम्पसार पर्न तयार हुनेहरु गए हुन्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन् । काठमाडौंमा बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएका भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नु बाहेक अरु केही नभएको समेत बताए ।

एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै उनले त्यसै कारण आफूहरुले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको बताए ।

उनले भने, ‘सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो । उनको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन । पार्टी सञ्चालनको उनको तरिकाको बारेमा पनि हामी सबै भुक्तभोगी पनि भएका छौं । त्यसो हुनाले हामीले तिनका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने कुराको कुनै तर्क, दम पनि छैन । यी सबै घटनाले त्यसलाई पुष्टि गरेको छ ।’

उनले भने, ‘अहिले पनि हामीले ठिक गरेका थियौं भनेर यो प्रतिवेदनमा पनि अनेकौ कारणहरु उल्लेख गरिएको छ । यस भन्दा पहिले पनि हामीले महाधिवेशनमा पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने अनुमोदन गरेका छौं । केन्दिय कमिटी बैठकमा पनि हामीले पास गरेका छौं । अहिलेको घटनाक्रमले झन प्रष्ट पारेको छ । त्यसो हुनाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन सक्दैन । त्यो हामीलाई मन्जुर भएन, स्वीकार्य भएन । त्यसो भएको हुनाले देशभरका कार्यकर्ताहरुको त्यो प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भए । हामीले आफै पार्टी नयाँ पाटी निर्माण गर्‍यौँ ।’ अध्यक्ष नेपालले ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताहरुकै बेलामा नेकपा एस निर्माण गर्नुपरेको समेत बताए। –न्युज एजेन्सी नेपाल

 

 

 

 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ । नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक भर्खरै शुरु भएको हो । काठमाडौँको सुकेधारास्थित एक पार्टी प्यालेसमा शुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको सुरुमा नै बोल्ने छन् ।

बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरूले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा उभिने तयारीमा रहेका छन् । सम्मानित नेता खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आएका छन् । जेन–जी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भीर विश्लेषणसहित आवश्यक निर्णय लिने पार्टीले जनाएको छ ।

नेतृ झाँक्रीद्वारा पुस्तान्तरणसहित वाम एकताको प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा  ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को माग अगाडि सारेकी छन् । उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन्।

‘विचार र राजनीतिमा संगठित नभएकै कारण जेनजी विद्रोह अरूले हाइज्याक गरे । तपाईंहरूको प्रयास ठीक छ’, झाँक्रीले लेखेकी छन्, ‘मिल्नेहरू जोडिदै जान्छन, नमिल्नेहरू छोडिदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडि बढ्नुस मेरो सधैँ साथ र धेरै शुभकामना छ ।’ जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । राजनीतिक दलका युवा विद्यार्थी संगठनहरू समाजमा प्रभावहिन भएकै कारण जेनजी पुस्ताले ‘स्पेश’ (ठाउँ) लिएर संघर्ष सुरू गरेको झाँक्रीले जनाएकी छन् ।

जेनजी आन्दोलन र आन्दोलन पछिका घटनाक्रमले देखाए जस्तै लाखौँ वाम विचारमा विस्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिने एकीकृत समाजवादीमा आवद्ध युवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘तर, यसका लागि हामीले हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समयको मागअनुसार पार्टीलाई सुधार गरेर, प्रगतिशील युवालाई पार्टीभित्र जबरजस्त स्थान सिर्जना गरेर हामीले व्यापक रुपान्तरणसहितको वाम एकताको आह्वान गर्नुपर्छ ।’

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष खड्काको मृत्यु

रुकुमपश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको निधन भएको छ । मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौंस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा मृत्यु भएको हो ।

पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले बताए । उनले राजनैतिक सहकार्य र आत्मियताका हस्तीको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरे ।

मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत थिए । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाइन् । उनले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक सोंचका सामाजिक अगुवा भएको बताइन् ।

उनको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गरिन् । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउन पुगेको बताए । खड्काले समाजका लागि दिएको योगदान उच्च सहरानीय रहेको नगर प्रमुख केसीले जनाए । मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत थिए । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध थिए ।

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, पार्टी भड्खालोमा पर्ने चेतावनी (वक्तव्य)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं ।’ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप पनि लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् । उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

 

मौलिक पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

‘नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ ।’

उनले दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि कामना गरेका छन् ।

घनश्याम भुसालको चेतावनी : दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय संकटमा फस्दैछ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शीर्ष नेताहरूमा बहानाबाजी सुरु भइसकेको बताएका छन् ।

जेनजी आन्दोलनको माग पुराना नेताहरूको नेतृत्व परिवर्तन रहेको भए पनि संकटको बेलामा नेतृत्वलाई जोगाउनु पर्ने भनेर बहानाबाजी सुरु भइसकेको बताएका हुन् । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको बताएका हुन् ।

मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको दाबी गरे । अहिलेका नेताहरूबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गरे । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरूले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्न सक्ने बताए ।

उनले भने, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी सुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनु पर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् ।’

उनले भने, ‘राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरु संविधान विरुद्धमा गतिविधि सुरु गर्नेछन् । तिनै नेताहरू देखाएर समाजमा ती नेताहरुको आक्रोश प्रयोग गरिरहने छन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहने छन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’

महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको उनले स्पष्ट पारे । सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए । राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए । जेन जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए । आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनको भनाई थियो ।

उनले भने, ‘सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्ने कुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्ने कुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ ।’

महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सीमित रहेको बताए । राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए । रासस

मुख्य नेताहरूलाई जति सकिन्छ, छिटो बिदा दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख पार्टीका नेतृत्वको नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु भएको बताएका छन् ।

जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा आज पत्रकार सम्मेलन आयोजना गर्दै नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने यो महत्वपूर्ण अवसर भएको बताए । बाम एकता र कम्युनिष्ट मोर्चाको अभियान चलाइरहेका नेता भुसालले अहिले भएका पार्टीहरु बढीमा दुई महिनाभित्र सुध्रिएनन् भने राजनीतिक दल र देशमै ठूलो क्षति पुग्ने चेतावनी दिएका छन् ।

भुसालले भने, ‘अहिलेको नेतृत्वलाई बचाउने दृष्टिकोणहरु पनि आएका छन् । तर पहिले भइरहेका कमजोरी नसल्टाई कसैको नेतृत्व स्वीकार गरेर जाने अवस्था छैन । यो मेरो पार्टीमा पनि लागू हुन्छ । ठूला साना दलमा पनि लागू हुन्छ । बहालवाला दलमा अहिलेको नेतृत्व जोगाएर जान सम्भव छैन,’ उनले भने, समग्रमा बाम एकता अभियान थालेका थियौं । माओवादी र यस मात्रै एकता गर्ने गरी मेरै पार्टीले पनि अभियान चालेको थियो । तर प्रचण्डकै नेतृत्वमा अथवा माधव नेपालकै नेतृत्वमा त्यो सम्भव छैन र हुँदैन ।’

उनले कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैली नै सर्वसाधारणलाई नैरास्यता बनाउने मुख्य विषय भएको बताउँदै भने ‘विचारमा सिद्धान्तमा कम्युनिष्ट कस्ता हुन्छन् भनेर पढाइयो । तर व्यवहारमा त्यो गर्न सकिएन लागू भएन त्यो हाम्रो नेताहरूको जीवन शैलीलाई हेरेर अहिलेको निराशा बढेको हो । अब भ्रष्टाचार नगर्ने पार्टी होस्, भन्ने अभियान जेनजीले चलाए त्यो हामीले पनि भनेका हौं तर कार्यान्वयनमा लैजान सकेनौं ।’

भ्रष्टाचार गर्ने तर भाषामा त्यसको विरोध गर्ने नेताहरू भएकोले अहिलेको समस्या देखिएको उल्लेख गर्दै उनले अहिलेका पार्टी केही महिनामै नसुध्रिए इतिहासमा सीमित रहने दावी गरे । ‘यति ठूलो दवाव आउँदा नि दलको नेतृत्व नसुध्रिए सकिने हो, त्यसको विकल्पमा नयाँले स्पेश पाउने हो,’ उनले भने, ‘मुख्य नेतृत्व नबुझ्ने छैन तर उनीहरूलाई घेराउमा राख्नेहरूले नै गलत सूचना दिए, ढाकछोप गरे, अनि सतहमा पुग्नै दिएनन् ।’

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमी कमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो ।

पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ ।

नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने छ । बामपन्थी शक्ति, कम्युनिष्ट तथा समाजवादी विचारधारा भएका पार्टीसँग एकताका लागि छलफल सुरु गरेको पार्टीले एकताका लागि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र), विप्लव नेतृत्वको नेकपासँग छलफल गरेको जनाइएको छ ।

पार्टी पुनर्गठन नगरी जनतामा जान सकिँदैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन नगरी जनतामा जान नसकिने बताएका छन् । पार्टीमा लिखितरुपमा प्रस्ताव अघि सार्दै मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं । यो मुख्य विषयलाई गलैँचामुनि राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ । ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेन्डा’ भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ ।’

राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता पार्टीमा रहेको उल्लेख छ । ‘हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔँ । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ’ प्रस्तावमा भनिएको छ ।

जेनजी आन्दोलनपछि एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेको उल्लेख छ। प्रस्तावमा भनिएको छ, ‘त्यसले संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ । हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौँ ।’ अहिले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वाम–लोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढेर मात्रै प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नुपर्ने उल्लेख छ ।

माधव नेपाल पनि निस्किए बाहिर, कोटेश्वर पुगेर गरे जलेको घर अवलोकन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पनि पार्टी काममा फर्किएका छन् । जेनजी आन्दोलनले उग्ररूप लिएपछि सेनाको सुरक्षामा रहेका अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर आएका हुन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले जलाएको घर हेर्न पुगेका छन् । प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।

अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए । आन्दोलनपछि अवस्था सामान्य बन्न थालेपछि शीर्ष नेताहरु धमाधम बाहिर निस्किन थालेका छन्। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पार्टी कार्यालय पेरिसडाँडा पुगेर अवलोकन गरेका छन् । उनीले आगजनीबाट कार्यालयमा धेरै क्षति भएको भन्दै अब नयाँ र भव्य कार्यालय बनाइने बताएका छन्।

कम्युनिष्ट एकताका लागि घनश्याम भूसालको आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभर गरिएको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज (शुक्रबार) स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै नहुने समेत बताएका छन् ।

‘२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरुले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु,’ उनले भनेका छन् ।

नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको उनले बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि बताएका छन् । ‘म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खास गरी एमाले र माओवादीको स्कुलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहन्छुः हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔं,’ उनले भनेका छन्।

गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए, त्यो नेपालको राजनीतिक इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता रहेको पनि भूसालले बताएका छन् । भदौ २४ गते मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक भएको उनको बुझाइ छ ।

लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : एकीकृत समाजवादी

काठमाडौं । पूर्व प्रधानन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।’

लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनले बताएका छन् । लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासनविरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले उठाएका मागको सम्वोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन–जीले भने जस्तो बनाउन सकिन्छ ।’ उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताएका छन् ।

नेकपा एसका जिल्ला अध्यक्ष नै रास्वपामा प्रवेश

काठमाडौँ । लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । दाहालसँगै नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य भूमिनन्द अर्याल पनि रास्वपामा समाहित भएका छन् ।

बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्यालले उनीहरूलाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विष्णुप्रसाद दाहालले कम्युनिस्ट पार्टीमा रहेका नेताहरू कहिल्यै नसच्चिने भएकाले आफू नयाँ विकल्पको खोजीमा रास्वपामा आएको बताए ।

उनले पुराना पार्टीहरूप्रति जनताको विश्वास घट्दै गएको र देशले परिवर्तन खोजेको तर्क गरे । ‘पुराना पार्टीमा बसेर देश बन्छ भन्ने विश्वास अब रहेन,’ दाहालले भने, ‘युवाहरू विदेश पलायन भइरहेका छन्, समाजमा विचलन बढ्दो छ। राष्ट्रिय स्वतन्त्र पार्टी नै मुलुक परिवर्तनकारी शक्ति हो भन्नेमा म विश्वस्त छु ।’ दाहाल र अर्यालको रास्वपा प्रवेशले मकवानपुरमा रास्वपाको संगठन विस्तारमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।