एकीकृत समाजवादीका महासचिव भुसालको दावी : माओवादी अझै फुट्न सक्छ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रमा एकता गर्न चाहने पार्टी नेताहरुलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्न सुझाव दिएका छन् । जारी पार्टीको बैठकमा चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौतारिँदा खिइँदै गएको र अब पनि यो रुपमा नरहने दाबी गरेका छन् ।
पटक–पटक विभाजित भएको माओवादी फेरि पनि विभाजित हुनसक्ने उनको तर्क थियो । १० वर्षसँगै जनयुद्ध लडेका बाबुराम भट्टराई, विप्लज, मोहन वैद्यलगायतका नेताहरु प्रचण्डसँग छुट्टिसकेका छन् । महासचिव भुसालले भने, ‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ । म पनि राम्रो सम्पर्कमा छु ।’ उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको भन्दै नेता मात्र मिल्ने एकताको अर्थ नहुने बताए ।
बैठकमा उनले भने, ‘हामीले २०७५ सालमा माओवादीसँग एकता गर्यौं । तर त्यो एकता भागबण्डामा आधारित थियो । त्यसैले निरन्तर हुन सकेन ।’ उनले अहिले पनि त्यस्तै गर्न खोजिएको भन्दै एकताको प्रयोग असफल हुने शंका व्यक्त गरे । माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गर्दै उनले भने, ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’ उनले भने, ‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो । माओवजादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौं ।’
