घनश्याम भुसालको चेतावनी : दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय संकटमा फस्दैछ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शीर्ष नेताहरूमा बहानाबाजी सुरु भइसकेको बताएका छन् ।
जेनजी आन्दोलनको माग पुराना नेताहरूको नेतृत्व परिवर्तन रहेको भए पनि संकटको बेलामा नेतृत्वलाई जोगाउनु पर्ने भनेर बहानाबाजी सुरु भइसकेको बताएका हुन् । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी सुरु भइसकेको बताएका हुन् ।
मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको दाबी गरे । अहिलेका नेताहरूबाट राजनीतिक दलहरू निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गरे । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरूले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्न सक्ने बताए ।
उनले भने, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरू फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी सुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनु पर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् ।’
उनले भने, ‘राजनीतिक पार्टीहरू जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरू अरु संविधान विरुद्धमा गतिविधि सुरु गर्नेछन् । तिनै नेताहरू देखाएर समाजमा ती नेताहरुको आक्रोश प्रयोग गरिरहने छन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहने छन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’
महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । राजनीतिक पार्टीहरु नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको उनले स्पष्ट पारे । सोमबार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले बताए । राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरुको कारणले राजनीति दुर्घटनातिर गइरहेको बताए । जेन जी आन्दोलनबाट भएका घटनाहरु आफ्ना लागि नयाँ नभएको बताए । आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनको भनाई थियो ।
उनले भने, ‘सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरु नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरु घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो। नत्र भने घरहरू जल्छन् भन्ने कुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्ने कुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारेमा मैले भनेको थिएँ ।’
महासचिव भुसालले अर्थतन्त्र केही विचौलियाहरुको घरानामा मात्रै सीमित रहेको बताए । राजनीतिक पार्टीहरुमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरु संकट थपिने स्थिति रहेको बताए । रासस