`

खनाल भन्छन्–ओलीले ढोका राम्ररी खोलेर बस्ने ठाउँ राम्रो बनाए, फर्किन आपत्ति छैन

Nepal One HD १५ कार्तिक २०८२ १५:०३
राजनीति

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने आह्वान गरेर मात्र नपुग्ने बताएका छन् ।

ओलीको ‘घर फर्क’ भन्ने आह्वानबारे प्रत्यक्ष प्रतिक्रिया दिँदै उनले भने, ‘घर फर्क भनेर मात्र पुग्दैन, ढोका राम्रोसँग खोल्नु पर्छ, बस्ने ठाउँ राम्रो बनाउनु भयो भने फर्किन के आपत्ति छ र ?’

माओवादी केन्द्रसँग एकता गर्ने पार्टी निर्णयपछि खनाल निकट नेताहरूले सुकेधारामा आयोजना गरेको भेलामा सहभागी हुँदै उनले यस्तो टिप्पणी गरेका हुन् । खनालले आफूहरू फरक भएर गए पनि लक्ष्य एउटै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध रूपमा अघि बढाउने रहेको बताए ।

उनले पार्टी एकताका नाममा व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित राजनीति अघि बढेपछि आफूहरूले नयाँ बाटो समात्न बाध्य भएको बताए । उनले भने, ‘हामी अलग भएका हौं, तर अलग भएर पनि सिङ्गै हुनका लागि । आन्दोलनलाई अझ बलियो बनाउन छलफल र समन्वय जारी रहनेछ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र स्पष्ट विभाजन देखिएको छ । सुकेधारामा भइरहेको खनाल–घनश्याम भुसाल पक्षको भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायत सहभागी छन् ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बहुमतले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि खनाल पक्षले नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने घोषणा गरेको हो । आजको भेला नयाँ पार्टी गठन र आगामी रणनीतिसम्बन्धी निर्णय गर्ने तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *