माओवादीसँगको एकताबारे नेकपा एसका नेता मेटमणि चौधरी : बोरामा एक–दुईटा बियाँ भेटिनु स्वाभाविक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी तीव्र बनेको छ । राजधानीमा जारी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक प्रस्ताव पेस भए लगत्तै नेताहरू दुई धारमा विभाजित देखिएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिँदै बैठकमा सक्रियता देखाएको छ भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको पक्षले तत्काल एकता नगर्ने मत राखेको बताइन्छ । नेताहरूका अनुसार पार्टीभित्रको यही मतभेदले समाजवादी फेरि संकटको संघारमा पुगेको छ ।
बैठकमा आज झलनाथ खनाल र महासचिव भुसालले धारणा राख्दैछन्, त्यसपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै परिस्थितिमा पार्टीका उपमहासचिव मेटमणि चौधरीले माओवादी केन्द्रसँग एकता हुनुपर्ने जिकिर गरेका छन्। उनले भने, ‘म त कम्युनिष्ट पार्टीहरूबीच एकता गर्दै जानुपर्छ भन्ने पक्षमा छु । त्यो काम सुरु गरिहालौं भन्ने मेरो भनाइ हो । पार्टीको निर्णय पनि यही दिशामा जान्छ ।’
चौधरीका अनुसार माओवादी केन्द्रसँग एकता गर्नुपर्ने विषयमा पार्टीभित्र लगभग सर्वसम्मति छ । ‘९९ प्रतिशत नेताहरू एकताको पक्षमा छन् । लाखमा, हजारमा त एक–दुईटा फरक कुरा निस्किन्छ नि । बोरामा एक–दुईटा बियाँ भेटिनु त स्वाभाविक हो’, उनले भने । उनले स्पष्ट पारेका छन् कि पार्टीको एकता प्रक्रिया अब ढिलो नहुनेछ । ‘हामी आगामी मंसिरमा एकता महाधिवेशन गरेर चुनावमा जान्छौं’, चौधरीले बताए ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम र चिन्हबारे पनि उनले संकेत दिएका छन् । उनका अनुसार, नयाँ पार्टीको नाममा ‘समाजवादी’ शब्द रहने निश्चित जस्तै छ । ‘नेकपा समाजवादी भन्ने सम्भावना बढी छ’, उनले भने । चुनाव चिह्नबारे भने उनले भने, ‘हामीले कलम नै राख्ने भनिराखेका छौं । माओवादी केन्द्रले तारा भनिरहेको छ, हेरौं अन्ततः केमा सहमति हुन्छ ।’ नेताहरूको व्यवस्थापन र संरचना एकता महाधिवेशनकै क्रममा टुंगिने चौधरीले बताएका छन् । उनका अनुसार, ‘एकता ऐतिहासिक मोडमा पुगेको छ, केही मतभेदहरू स्वाभाविक हुन् । अब नेपाली कम्युनिष्ट आन्दोलन एक ढिक्का बन्दैछ ।’
