कम्युनिष्ट एकताका लागि घनश्याम भूसालको आह्वान


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २४ गते मुलुकभर गरिएको ताण्डवले राजनीतिक पार्टीहरूको नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज (शुक्रबार) स्ट्याटस लेख्दै भूसालले मुलुकमा क्रियाशील मुख्य दलहरूको राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै नहुने समेत बताएका छन् ।
‘२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरुले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्टालाई छर्लङ्ग पारेका छन् । हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिविजोग कहिल्यै हुने छैन । अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौं । यस अवस्थामा, म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुल्ला छलफलमा उत्रिन आह्वान गर्दछु,’ उनले भनेका छन् ।
नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै आफूहरूलाई विभाजित गरेको उनले बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार हुनुपर्ने पनि बताएका छन् । ‘म कम्युनिष्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिष्ट पार्टीका सदस्यहरू, खास गरी एमाले र माओवादीको स्कुलिङबाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई आह्वान गर्न चाहन्छुः हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔं,’ उनले भनेका छन्।
गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए, त्यो नेपालको राजनीतिक इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता रहेको पनि भूसालले बताएका छन् । भदौ २४ गते मुलुकमाथि तोडफोड, आगजनी, लूटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक भएको उनको बुझाइ छ ।