`

ओलीलाई ‘कलम’ बुझाउँदै झाँक्रीले भनिन्–एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ

Nepal One HD २४ कार्तिक २०८२ १७:५५
राजनीति

काठमाडौं । नेकपा एकीकृत समाजवादी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले एमाले पार्टी विगतमा भन्दा फरक रहेको बताएकी छिन् । उनले विगतमा आफूले बाटो बिराए पनि अहिले मूलप्रवाहमा फर्किएको बताइन् । सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमार्फत पार्टी प्रवेश गर्दै झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको छाती उदार रहेको बताएका हुन् । ‘म देख्छु कि– एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ । हर मान्छेका लागि हाम्रो अध्यक्ष हाम्रो अभिभावक केपी ओली उदारपूर्वक सबै मान्छेलाई घर फर्क भनेर छाती ओपन गरेको दृष्य हो,’ झाँक्रीले भनिन् ।

उनले तत्कालीन परिस्थितिमा माधव नेपालसँग लागेर पार्टी विभाजन गरेको कुरा समयले नै मूल्याङ्कन गर्ने र सजाइ दिने बताइन् । ‘विगतमा जोसँग यात्रा गरेँ, उहाँलाई आलोचना गर्नु र गुनासो गर्नु छैन, सबैप्रति सम्मान र शुभकामना छ । तर त्यहाँबाट केही हुँदैन,’ झाँक्रीले भनिन्, ‘मौसम हेरेर चङ्गा उडाउने होइन, गन्तव्य हेरेर बोइङ उडाउने दृढ संकल्प भएका क्याप्टेनहरू यो पार्टीमा फर्किऔं ।’

सोमबार घर फर्क अभियानमार्फत एमाले फर्किएकी झाँक्रीले सम्बोधनको शुरूमै ओलीलाई राष्ट्रवादी व्यक्तित्व भनेकी हुन् । उनले ओलीलाई ‘पूर्व प्रधानमन्त्री आदरणीय नेता एक जना राष्ट्रवादी व्यक्तित्व कमरेड केपी ओली’ भनेर सम्बोधन गरेकी हुन् । एमाले प्रवेश गरेकी झाँक्रीलाई ओलीले माला लगाएर स्वागत गरेका थिए । २०७८ मा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि झाँक्री पार्टीको सचिव बनेकी थिइन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी) की स्थायी समिति सदस्य झाँक्रीसहित १० केन्द्रीय सदस्य एमालेमा फर्किएका छन् । आज राष्ट्रिय सभा गृहमा आयोजित एमालेको ‘घर फर्क अभियान’ घोषणा कार्यक्रममार्फत् उनीहरु फर्किएका हुन् ।

यसरी फर्किनेमा स्थायी समिति सदस्य झाँक्री,केन्द्रीय सदस्यहरु किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ,पीताम्बर तिम्सिना, राजाराम स्याङतान, कर्ण विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, बबी चाम्लिङसहित ४० जना छन् । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह सूर्य अंकित फेटा दिएर स्वागत गरेका थिए । एमालेमा फर्किने नेताहरुले पनि अध्यक्ष ओलीलाई एकीकृत समाजवादीको चुनाव चिन्ह कलम बुझाएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *