लोकतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : एकीकृत समाजवादी


काठमाडौं । पूर्व प्रधानन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी पुस्ताको माग संविधानको खारेजी र संसदको विघटन नभए पनि लोकतन्त्र विरोधीहरूले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने भएको बताएका छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर घुसपैठियाले लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन तर लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रको अन्त्य गर्न खोज्दै छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।’
लोकतन्त्र नै रहेन भने सामाजिक सञ्जाल मात्र होइन वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र संगठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने उनले बताएका छन् । लोकतन्त्रविहीन राज्यमा भ्रष्टाचार र कुशासनविरुद्धका आन्दोलन त के बोल्न समेत नपाइने अवस्था सिर्जना हुने बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले उठाएका मागको सम्वोधन वर्तमान संविधान र संसदभित्रैबाट गर्न सकिन्छ । भ्रष्ट नेताहरूलाई कारबाही गर्न सकिन्छ, उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्न सकिन्छ, जुन माग हाम्रो पार्टीले पहिलेदेखि नै राख्दै आएको छ । संविधान संशोधन गरेर जेन–जीले भने जस्तो बनाउन सकिन्छ ।’ उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउन सकिने बताएका छन् ।