पार्टी पुनर्गठन नगरी जनतामा जान सकिँदैन : घनश्याम भुसाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन नगरी जनतामा जान नसकिने बताएका छन् । पार्टीमा लिखितरुपमा प्रस्ताव अघि सार्दै मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
प्रस्तावमा भनिएको छ, ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीव्यापी छलफल चलाउन तयार होऔं । यो मुख्य विषयलाई गलैँचामुनि राखेर अरू विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ । ‘पार्टीहरूको पुनर्गठन र राष्ट्रिय पुनरुत्थानमा हाम्रा एजेन्डा’ भन्ने विषयमा राष्ट्रिय बहस हामीबाट सुरु हुनु सम्पूर्ण पार्टी परिवारका लागि गौरवको कुरा हुनेछ ।’
राष्ट्रिय बहसमा मुद्दा र कार्यक्रमका साथ अगाडि लाग्ने पर्याप्त क्षमता पार्टीमा रहेको उल्लेख छ । ‘हाम्रा सीमा र अभावहरू अरूबाट सिक्न र पूरा गर्न तयार होऔँ । भयानक दुर्भाग्यले हामीलाई नयाँ निर्माणको अवसर पनि दिएको छ’ प्रस्तावमा भनिएको छ ।
जेनजी आन्दोलनपछि एउटा विषम परिस्थितिमा राष्ट्रपतिले सडकसँग सम्झौता गरेको उल्लेख छ। प्रस्तावमा भनिएको छ, ‘त्यसले संविधानको सीमा छोइएको छ । हामीले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै निर्वाचनमा जाने क्रममा त्यसलाई असफल बनाउनु पर्नेछ । आगामी निर्वाचनमा जाने क्रममै संविधानलाई पूर्णतः लिकमा ल्याउनु पर्नेछ । हेक्का राख्नु पर्ने कुरा के छ भने यसका प्रायोजकहरूको काम फत्ते भैसकेको छैन । यसरी हेर्दा अहिले हामी क्रान्ति र प्रतिक्रान्तिको तानातानीको अवस्थामा छौँ ।’ अहिले मुद्दामा आधारित भएर बृहत् लोकतान्त्रिक, वाम–लोकतान्त्रिक तथा वामपन्थी सहकार्यका दायरा बढाउँदै, तिनलाई सुदृढ गर्दै अगाडि बढेर मात्रै प्रतिक्रान्तिकारी सम्भावनालाई पराजित गर्नुपर्ने उल्लेख छ ।