नेकपा एसभित्र उर्लियो ‘आँधी’ : अबको बाटो एकता कि फुट ?
 Nepal One HD									१४ कार्तिक  २०८२ १०:५२
Nepal One HD									१४ कार्तिक  २०८२ १०:५२
								 
 					काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अहिले आफ्नै अस्तित्व संकटको घडीमा उभिएको छ । पार्टीभित्र माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणले यति ठूलो तरङ्ग ल्याएको छ कि–अध्यक्ष माधवकुमार नेपालको नेतृत्व समेत प्रश्नचिह्नमा परेको छ । एकातिर नेपाल माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने अन्तिम तयारीमा छन् भने अर्कोतिर वरिष्ठ नेताहरूले त्यसको औचित्यमै ठूला प्रश्न उठाइरहेका छन् ।
पार्टीभित्र अहिले दुई स्पष्ट धार बनिसकेका छन् । पहिलो धारमा अध्यक्ष नेपाल, उपाध्यक्ष वेदुराम भुसाल, राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडा छन् । जसले माओवादीसँग एकता अबको ‘राजनीतिक अपरिहार्यता’ भएको बताइरहेका छन् । दोस्रो धारमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्रीलगायत छन् । जो माओवादीसँगको एकतालाई ‘विचार र अस्तित्व दुवैको हार’ भन्दै कडा विरोध गरिरहेका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भुसालले खुलेरै भने, ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता । नाम र झण्डा मिलाएर प्राविधिक एकता गर्नु अपमानजनक हुन्छ ।’ उनले माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपाल दुबै जनतालाई अस्वीकार्य भइसकेको भन्दै नेतृत्वबाट पछि हट्न सुझाव दिए । ‘तपाईंहरू फरक भूमिकामा जानुस्, त्यतिबेला मात्र नयाँ एकताको वातावरण बन्न सक्छ’, पार्टी वैठकमा उनले खुलेर भने ।
त्यस्तै, झलनाथ खनालले माओवादीसँगको एकता असमय र अव्यावहारिक भएको टिप्पणी गर्दै माधव नेपालको राजीनामा समेत माग गरेका छन् । उनले भने, ‘एमाले फुटाएर बनाएको पार्टी अब माओवादीमा जानु हाँस्यास्पद हो । यो एकताको समय होइन, नयाँ क्रान्तिकारी समाजवादी पार्टी निर्माण गर्ने समय हो ।’ खनालले अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दा देखाउँदै भने, ‘नेपालले त्यसैका कारण पनि अध्यक्ष पदमा बसिरहनु उचित छैन ।’
तर, पार्टीभित्र अर्को धार पनि छ–जसका अनुसार अब पार्टी आफैंलाई टिकाइराख्न कठिन भइसकेको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘अब पार्टी चल्न कठिन छ । नचल्ने पार्टीलाई चलाउन खोज्नेभन्दा एकता गरेर नयाँ बाटो रोज्नु पर्छ ।’ खतिवडाले पनि ‘एकता अहिलेको आवश्यकता हो, पछि ढिलाइ विनाश हुनेछ’ भन्दै नेपालको पक्ष लिए । यता पार्टी नेता प्रमेश हमालले भने, ‘माओवादीसँगको एकता लगभग अन्तिम चरणमा पुगेको छ ।’
उनले सिद्धान्त, संगठन र नेतृत्व बाँडफाँटसम्बन्धी प्रारम्भिक सहमति बनेको र एकता पछि ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने योजना रहेको बताए । नयाँ पार्टीको नामका लागि ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ वा ‘नेकपा समाजवादी’ प्रस्ताव गरिएको छ । तर, यी सबै सहमति र तयारीबीच पार्टीभित्रको अविश्वास र असहमति गहिरिँदो छ । माओवादीसँग मिल्ने कि अलग्गै पुनर्गठन गर्ने भन्ने द्विविधाले पार्टीलाई फुटको संघारमा पुर्याएको विश्लेषण भइरहेका छन् ।
२०७८ सालमा एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) तीन वर्षमै फेरि विभाजनको जोखिममा पुगेको छ । नेताहरूको वैचारिक मतभेद, नेतृत्वको असन्तुष्टि र राजनीतिक असफलताले गर्दा यो पार्टी अहिले अस्तित्वको संकटमा छ । अबको प्रश्न एउटै छ–माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी माओवादीसँग एकता गर्दै नयाँ पार्टीको बाटो रोज्छ कि आफ्नै मार्गमा टेकेर पुनर्गठनको यात्रा सुरु गर्छ ? यो निर्णयले पार्टीको भविष्य मात्र होइन, नेपालका वाम राजनीतिको समीकरण नै फेरबदल गर्न सक्छ ।

 
   
   
   
   
   
   
   
   
   
   
   
   
 							