`

फेरियो बाटो : माधव पक्ष आज प्रचण्डसँग भेट्दै, झलनाथ समूह अलग्गै भेला गर्दै

Nepal One HD १५ कार्तिक २०८२ १२:३८
राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको निर्णयपछि नेकपा (एकीकृत समाजवादी) भित्र खुला दुई ध्रुवीय स्थिति बनेको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पक्षले आज (शनिबार) दिउँसो ३ बजे प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्ने तयारी गरेको छ । यस्तै एकता अस्वीकार गर्दै झलनाथ खनाल नेतृत्वको पक्षले दिउँसो १ बजे नै सुकेधारास्थित मिराकल पार्टी भेन्युमा छुट्टै भेला बोलाएको छ ।

खनाल पक्षका एक नेताका अनुसार सो भेलामा आधा दर्जन पदाधिकारीसहित करिब १५० बढी केन्द्रीय सदस्य सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूले शुक्रबार पार्टी केन्द्रीय कमिटीबाट पारित माओवादीसँग एकताको निर्णय अस्वीकार गर्दै पार्टी पुनर्गठन र आगामी रणनीतिमा केन्द्रित छलफल गर्ने तयारी गरेका छन् ।

प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले ‘भेला होइन, सीमित नेताबीचको छलफल’ का रूपमा कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘पहिले त माओवादीमा जाने साथीहरूलाई रोक्नु पर्छ, त्यसपछि हाम्रो पक्षका नेताहरूले एक स्टेटमेन्ट जारी गर्ने तयारी छ ।’

अर्यालले शुक्रबारकै बैठकपछि माधव नेपाल पक्षसँग राजनीतिक सम्बन्ध विच्छेद भइसकेको दाबी गर्दै भने, ‘अब उनीहरूले कोसँग के कुरा गर्छन् भन्ने हाम्रो मतलब छैन । हामी पार्टी पुनर्गठन र राष्ट्रिय भेलाको तयारीमा लागेका छौं ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबारको ‘मूल पार्टीमा फर्किनुहोस्’ भन्ने आह्वानबारे पनि टिप्पणी गर्दै भने, ‘यदि ओलीले कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका निम्ति बोल्नु भएको हो भने परिपक्व ढंगले प्रस्तुत हुनुपर्छ, हावादारी भाषणले हुँदैन ।’

खनाल पक्षभित्र पनि नेतृत्वबारे मतभेद देखिएको छ । केही नेताहरूले झलनाथ खनाललाई ‘अभिभावक’ को भूमिकामा मात्र रहन सुझाव दिएका छन् । एक नेताले भने, ‘झलनाथजीले आफू अध्यक्ष बन्ने अडान लिए कुरा मिल्दैन । नयाँ पुस्तालाई कार्यकारी नेतृत्व दिनुपर्नेमा हामी अडिग छौं ।’

त्यस्तै, माधवकुमार नेपाल पक्ष भने आज माओवादी केन्द्रसँग एकताको सम्पूर्ण प्रक्रिया लिखितरूपमा टुंग्याउने तयारीमा छ । शुक्रवारको बैठकबाट पारित नेपालको राजनीतिक प्रतिवेदनअनुसार माओवादी केन्द्रसँग एकताका विषयहरूमा अन्तिम सहमति हुने भएको हो । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनाल समूहले त्यसको विरोध गर्दै शनिबार छुट्टै भेला बोलाएको हो ।

सो भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित अन्य केन्द्रीय सदस्यहरू सहभागी हुने बताइएको छ । माओवादीसँग एकताको निर्णयले एकीकृत समाजवादी औपचारिक रूपमा विभाजनको दिशामा अघि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *