`

हरिबोधिनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

Nepal One HD १५ कार्तिक २०८२ १२:३६
फिचर

काठमाडौं। आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा-अर्चना गर्दै यो पर्व मनाइन्छ।

आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

बुढानीलकण्ठ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको लाम लागेको छ। दर्शन, पूजा र तुलसी विवाहको अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्। मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड बढ्दै गएको छ। भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्।

बुढानीलकण्ठमा आजको दिन विशेषरूपले धार्मिक उत्सवको माहोल देखिएको छ- भक्तजनले दीपदान, भजन-कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *