`

ओलीको आह्वानमा खनालको प्रतिक्रिया : ‘जबज’ हटाए एकता हुनसक्छ

Nepal One HD १५ कार्तिक २०८२ १०:२४
प्रमुख खबर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र माओवादीसँगको एकता निर्णयप्रति असहमति जनाउँदै झलनाथ खनालको समूह पार्टी पुनर्गठनको तयारीमा जुटेको छ । खनालले एमाले अध्यक्ष केपी ओलीको आह्वानलाई ‘सकारात्मक’ भन्दै जबज (जनताको बहुदलीय जनवाद) हटाए वाम एकताको सम्भावना बढ्ने बताएका छन् ।

उनले नेपालले एकीकृत समाजवादीमा माधव नेपालको नेतृत्व असफल भएको र पार्टीलाई ‘विसर्जन’ गर्ने दिशामा लगेको समेत आरोप लगाए । खनालले करिब डेढ सय जना केन्द्रीय सदस्यले आफूहरूको पक्षमा सकारात्मक धारणा दिएको दाबी गरेका छन् । खनालले माओवादीसँगको एकताबारे भने, ‘यो अस्वीकार गरेको माओवादीसँग कहिल्यै एकता हुँदैन भनेर होइन, पहिले विगतको चार वर्षको अनुभव समीक्षा गर्नुपर्छ’, भन्दै त्रुटिहरू सच्याएर मात्र वाम एकता सम्भव हुने बताए ।

एमालेसँग एकताका शर्त प्रस्तुत गर्दै उनले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, जबज परित्याग गर्ने, समाजवादी क्रान्तिको कार्यक्रम र नीति–दिशामा एकरूपता ल्याउने तथा साम्राज्यवाद र दलाल पूँजीवादविरुद्ध स्पष्ट धारणा अपनाउनु पर्ने बताएका छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिजो (शुक्रबार) सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका थिए ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को नाम नलिइकन सामाजिक सञ्जालमार्फत ओलीले यस्तो अपिल गरेका थिए । नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले घर तपाईहरूको पसिना र रगतले बनेको हो भन्दै यस्तो अपिल गरेका थिए ।

उनले भनेका थिए, ‘विगतमा नेकपा (एमाले) निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईहरूको पसिना र रगतले बनेको हो ।’ ओलीको आह्वानपछि खनालले शर्तसहितको प्रतिक्रिया जनाएका हुन् ।

खनालले पुनर्गठित पार्टीले निर्वाचन प्रक्रियामा सहभागी हुने संकेत दिँदै नयाँ दल दर्ता वा विद्यमान संरचनालाई अघि बढाउने विकल्पहरू खुलेका बताए । उनले नयाँ वाम शक्ति निर्माणका लागि देशभक्त र प्रगतिशील शक्तिसँग संवाद सुरु गर्ने तयारी समेत रहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *