`

जनार्दनको प्रस्ताव : महाधिवेशनपछि पनि नफर्किने गरी सबै पदाधिकारीले राजीनामा दिऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी विघटित अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन् । केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै लाखौँ पार्टी सदस्य र नेतृत्व भएको पार्टी हेडक्वार्टर जलिरहँदा पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुगेको बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टी यतिबेला विघटित अवस्थामा छ । पार्टी केन्द्रीय कार्यालय आगजनीमा परेको छ । आन्दोलनले निम्त्याउने सम्भावित खतराबारे पूर्व आंकलन गर्न नसक्नु, लाखौँ पार्टी सदस्य र नेतृत्वको यति ठुलो फर्मेसन हुँदाहुँदै हाम्रो पार्टी हेडक्वार्टर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु, आफैलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकतालाई उजागर गरेको छ ।’

आन्दोलन सबैतिर विस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्यौलता रहेका नेता–कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौँ राज्यविहीनताको अवस्थासँगै पार्टीविहीनताको अवस्था रहेकाले पार्टी विघटनको तथ्यलाई स्पष्ट गर्ने उनले बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘यो परिस्थितिबाट पार्टीलाई फेरि नयाँ ढङ्गले गठन गरी हाम्रा अभिभारा र जनताका सपनाहरूलाई पूरा गर्ने जनयुद्धमा भएका त्याग र बलिदानहरूको स्मरण गर्दै सम्पूर्ण कमजोरीहरूलाई धोइ पखाली गर्ने गरी हाम्रो सोच दृष्टिकोण र भूमिकालाई आजको जनभावना आन्दोलनको माग र हाम्रा विगतका कमीहरू नदोहोरिने गरी पार्टीलाई नयाँ निर्माण गर्न जरुरी छ ।’

नेतृत्व हस्तान्तरणबारे विगतमा नै माग गरेको भए पनि जेनजी आन्दोलनले ती कुरा सही साबित गरेको बताएका छन् । प्रस्तावमा भनिएको छ, ‘अब यथास्थितिमा पार्टी अगाडि बढ्न नैतिक मनोवैज्ञानिक विधिगत र राजनीतिक अवस्थाका दृष्टिले पनि नसक्ने अवस्थालाई आत्मसात् गर्नु पर्दछ । पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउन यस बैठकबाट अध्यक्ष कमरेड लगायत हामी सबै पदाधिकारीहरूले आफ्नो पदबाट राजीनामा गर्नुपर्दछ महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी पदाधिकारीबाट नभए स्थायी समितिबाट कार्यभार दिन डराउनु हुँदैन ।’

प्रचण्डले हिजो खेलेको भूमिकासहित टिमको भूमिका समेतको सम्मान र वर्तमानको आवश्यकता माग पूरा गर्दै समस्याको समाधानको बाटो खोल्ने उनको भनाइ छ। प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ र आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौं ।’

हेर्नुस् जनार्दनको प्रस्ताव

 

आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति: सिएनआई अध्यक्ष पाण्डे

काठमाडौँ  ।  नेपाल उद्योग परिसङ्घ(सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार समाज(सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको समेत उल्लेख गरे । “पछिल्लो आन्दोलनमा निजी क्षेत्रमा ठूलो क्षति भएको छ, मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहँदा पनि यसमाथि निरन्तरको आक्रमण रोक्न सकिएको छैन”, उनले भने, “आन्दोलनका क्रममा जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको प्रारम्भिक आकलन छ ।”
अध्यक्ष पाण्डेले नागरिक समाज, राजनीतिकर्मी र सर्वसाधरणमा निजी क्षेत्रले पु¥याएको योगदानबारे अझै पनि बुझाउन नसकिएको बताए। “जबसम्म आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गर्न सकिन्न, तबसम्म समस्या रहिरहन्छ, उद्यमशीलता बढाउने, त्यसतर्फ युवालाई केन्द्रित गर्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ”, उनले भने।
उनले आन्दोलनका कारण लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै अब लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्नेमा समेत जोड दिए ।
त्यस अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)लाई बहुदरमा लैजान आवश्यक रहेको धारणा राखे । “हामीले अध्ययन गरेर सरकारलाई भ्याटमा बहुदर कायम गर्न सुझाव दिएका थियौँ, पाँच, आठ र १३ प्रतिशत गरी भ्याटलाई बहुदरमा लैजान सकिन्छ भन्ने हाम्रो सुझाव थियो”, उनले भने ।
सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले सरकारले नीति बनाउँदा सबै क्षेत्रलाई समेट्न जरुरी रहेको बताए ।
“हामी विराटनगरमा रहेर काम गरिरहेका छौँ, त्यहाँका समस्या हामीलाई बढी थाहा हुन्छ, त्यहाँका व्यापारीले भारतीय बजारसँग प्रतिष्पर्धा गर्नुपरिरहेको छ”, उनले भने, “सरकारले नीति निर्माण गर्दा हाम्रो अवस्थालाई पनि ध्यान दिन जरुरी छ ।” उनले गत भदौमा भएको जेनजी आन्दोलनले मुलुकलाई सुशासनको बाटोमा लैजानका लागि नयाँ अवसर सृजना गरेको समेत उल्लेख गरका  छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, लगतै राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो । बैठकमा विकसित घटना क्रमको समीक्षा गर्दै केही महत्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ ।

यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

धानबालीमा मरुवा रोगको समस्या

चितवन । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो ।

कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन् । ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ । अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उहाँले सुझाब दिए। यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उनले जानकारी दिए ।

उनका अनुसार बालादेखि तलको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ । यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उनले सुझाब दिए । खेतमा पानी जमाई राख्न पनि उनको सुझाब छ । ढुसि सहन सक्ने जातका धान लगाउनु पर्ने उनले जानकारी दिए ।

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए।

राजस्व सचिव घिमिरे वित्त आयोगमा सरुवा, अर्थमा एक मात्रै सचिव

काठमाडौं । अर्थ मन्त्रालयमा अबदेखि राजस्व सचिव नरहने भएका छन् । अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो । यसअनुसार हालका राजस्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन् ।

मंगलवार मन्त्रिपरिषद्ले गृह सचिवमा रामेश्वर दंगाललाई लगिएको थियो भने गृहमा रहेको गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । आयोगमा त्यसअघि काम गरिरहेको सुमन अर्याललाई रक्षा सचिवमा सरुवा गरिएको थियो । त्यसअघि रामेश्वर दंगालले रक्षा सचिवको भूमिका निर्वाह गरिरहेका थिए ।

 

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै खँर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षकस्थल बनेको छ । केही समयअघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आएको थिए । “काम रमाइलो भए पनि, कमाइ प्रायःबस–भाडा र खानपिनमै सकिन्थ्यो उनले भने, “किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।”

पर्यटक आउदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उनले बताए । “प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,” उनी भन्छन्, “त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन ।”

धामी यतिमै रोकिएका छैनन् । उनको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गीन सजावटले आकर्षक बनाउने रहेको छ ।

पुलमा सजावट गरिएपछि दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिँच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानिय रामबहादुर साउदले बताए ।

“अलपत्र अबस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ” उनले भने, “गाउँका बासिन्दाको आय आर्जनमा बृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफुल, खाद्य सामग्री बिक्री हुन थालेका छन ।”

पुलमै मोवाइल फोनको क्यामेरामा सेल्फी लिदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।”

उनी अगाडी थप्दै भन्छन्, “पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ।” तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्कि मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो ।

त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अबस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ ।

दसैँ सुरुभएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

सिमकोट(हुम्ला) । रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ ।

दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् । रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगञ्जलगायतका शहरमा रहेका विद्यार्थीसमेत दसैँ मनाउन घर आएका कारण यतिबेला विभिन्न वस्तिमा चहलपहल बढेको छ ।

यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए । कुबाडी प्रहरी चौकीलाई उद्धिर्त गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए । गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भएपनि अहिले सडक आएपछि दसैँको फूलपातिअगाडि नै गाउँभरिभराउ हुन थालेका छन् ।

शहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन् । यतिबेला गाउँघरमा सबैको जमघट हुनु साथै दसैँ, तिहार जस्ताले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए। उतिबेला जिल्लाको सदरमुकाम सिमकोटसमेतमा मानिसको चहलपहलसमेत विस्तारै घट्दै गएको छ । काम, अध्ययन र रोजगारीलगायतका शिलशिलामा सिमकोट बसेका नागरीक दसैँ मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो ।

गाउँमा रहेको व्यरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका चाँडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले सुनाए । गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायःजसो युवा भारतमा जाने गर्छन् । कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन् ।

जिल्लाका नागरीक कामको खोजीमा अन्यत्र जानु पर्ने बाध्यता जस्तै बनेको छ । यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले बताए । गाउँमै रोजगारी नहुँनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन् ।

नारायणकाजीको प्रस्ताव : प्रचण्डलाई अध्यक्षबाट बिदा दिउँ, सम्मान कायमै राखौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी अध्यक्षबाट बिदा गर्नुपर्ने प्रस्ताव गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव राख्दै श्रेष्ठले प्रचण्डलाई कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ गर्दै सम्मान कायम राख्नु पर्ने प्रस्ताव गरेका हुन् ।

‘के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्ने छ । यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ,’ उनले भने, ‘अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँप्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनु पर्दछ । नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ ।’

नेता श्रेष्ठले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कामको सुरुवात अहिले नै गर्नुपर्ने पनि बताएका छन् । ‘पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ,’ उनले भने, ‘अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ ।’

‘प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नु पर्दछ । तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिल सहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ’ उनले भनेका छन् ।

 

 

मन्त्री महावीर पुनले कार्यकक्षबाट हटाए ‘माननीय’ शब्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् । सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए । तर, मन्त्री पुनले त्यो बोर्ड देखेपछि ‘माननीय’ शब्द हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । उनले दिएको निर्देशनपछि कर्मचारीले नयाँ प्रिन्ट निकालेर सिर्फ नाम मात्र उल्लेख गरिएको बोर्ड टाँसेका छन् ।

यसअघि पनि मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्दा महावीर पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए । उनको भनाइमा, मन्त्रालयभित्र कर्मचारीले ‘मन्त्री’ भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिरका मानिसले सामान्य रूपमा मात्रै सम्बोधन गर्नु उपयुक्त हुने बताइएको छ ।

नवरात्रको चौथो दिनः देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । आश्विन शुक्ल चतुर्दशी दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्र शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । यसैले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं शक्ति साधनाका लागि भक्तजनको घुइँचो बढेको हो ।

राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागेश्वरीलगायत देवी मन्दिर, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, बिजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो बढेको हो ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका कालीका भगवती, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाम लागेको जनाइएको छ ।

नवरात्रका अवसरमा शक्तिपीठ एवं देवी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । प्रायः सबैजसो शक्तिपीठ उज्यालो बत्ती, ध्वजापताकालगायतले आकर्षक रुपमा साजसज्जा गरिएको हो । दर्शनसँगै शक्तिपीठमा तस्बिर खिचाउने, टिकटक बनाएर रमाइरहेकाहरु पनि देखिन्छन् ।

नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको आह्वान गरी विशेष पूजा आराधना गरिँदै छ । नौ दिनसम्म नौ वटी देवीको विशेष पूजा हुन्छ । नौ दिनसम्म पूजा गरी विजयादशमीका दिन देवीको प्रसादका रुपमा प्रसाद र समृद्धिको प्रतीकका रुपमा जमरा लगाइन्छ । यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले शिक्षामन्त्री पुनले आफूलाई विद्यालय कर्मचारीका समस्या थाहा भएको र चाडपर्वपछि आपसमा बसेर के सम्बोधन गर्न सकिन्छ गरौँला भन्ने आवश्वासन दिएको जानकारी दिए। मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका हुन् ।

परिषद्का बागमती प्रदेश कमिटीका अध्यक्ष रामशरण फुयाँलले प्रत्येक सामुदायिक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी राख्न शिक्षामन्त्री पुनको हालैको निर्देशनलाई सकारात्मक मान्दै कम्प्युटरमा क्षमतावान लेखापाललाई नै उक्त दरबन्दीमा रुपान्तरण गर्न सकिने सुझाव मन्त्री पुनलाई दिइएको बताए। प्रदेश अध्यक्ष फुयाँलले त्यती रकमले कसरी ती कर्मचारीले परिवार पाल्ने भन्ने विषयमा गम्भीर भएर सोच्न मन्त्रालयलाई ध्यानाकर्षण गराइएको बताए ।

सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशमा कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाइ कार्यान्वयन गर्न उल्लेख गरिए पनि हाल विद्यालयका लेखापालले मासिक रु १५ हजार र कार्यालय सहायकले रु १० हजार पाउँदै आएका छन् । सङ्घीय संसदमा विचारधीन रहेको विद्यालय शिक्षा विधेकमा विद्यालय कर्मचारीलगायतका समस्या सम्बोधनको पहल गरिएको भए पनि प्रतिनिधिसभाको विघटन भएकाले अहिले कानुन बन्ने स्थिति छैन । रासस

 

 

तुइनखोलाको पहिरो आज सकिएला पन्छाएर ?

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो अहिलेसम्म ६० प्रतिशत पन्छाइएको छ । डिभिजन सडक कार्यालय, भरतपुरले बिहीबार दिउँसो सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्साभेटर ३ वटा प्रयोग गरी निरन्तर रुपमा काम भइरहेको कार्यालयले जनाएको छ । यसका अलावा दुवैतर्फ १-१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन् ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाहरूका कारण कठिनाइ भएको डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पञ्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ ।

कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवत आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने डिभिजन कार्यालयको आंकलन छ । पटक–पटक ठूलो पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकमा गएको एक सातादेखि गाडी चल्न सकेका छैनन् । तीन दिन लगाएर पहिरो पन्छाएको ठाउँमा गएको मंगलबार झन् ठूलो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । दसैँसहितका चाडपर्वको संघारमा राजधानी काठमाडौँ आवात जावत गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन

भोजपुर । जिल्लामा रेविज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेविज रोग निन्यन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा विरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरेनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए ।

“रेविज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ” उनले भने,“यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई खोप लगाउँछौँ ।”

निःशुल्क खोप अभियान यहि असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५-२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेविज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

कमल थापाको दाबी : जति ठूलो पार्टी खोले पनि बालेनले बहुमत ल्याउन सक्दैनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि एक दलको बहुमत आउन नसक्ने दाबी गरेका छन् । आज (बिहीबार) एक कार्यक्रममा बोल्दै थापाले यस्तो दावी गरेका हुन् ।

‘एकथरीले हल्ला गर्दैछन्–अब बालेन साहले पार्टी खोल्छन्, बालेनको पार्टी ठुलो हुन्छ,’ थापाले भने, ‘जति ठुलो भए पनि एउटै पार्टीले अहिलेको निर्वाचन प्रणालीअनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा बहुमत प्राप्त गर्न सक्दैन ।’ त्यो अवस्थामा बालेन अथवा अन्य कोही नयाँ पार्टी खोल्ने व्यक्तिले पनि पुरानै नेपाली कांग्रेस र नेकपा एमालेकै सहयोगमा सरकार बनाउनु पर्ने उनले बताए । ‘के अर्थ आयो त्यसपछि भन्नुस् त ?,’ थापाले प्रश्न गरे ।

गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ ।

मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो । असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार दोस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुद्र बरुवालले जानकारी दिए।

‘अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौ,” उनले भने,“यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

यहाँ आर्थिक वर्ष २०८१/८२ ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उनले बताए । अन्नपूर्णले सुरक्षित प्रसूति सेवा, पोषण सुधार लगायतका कार्यक्रमका लागि सङ्घीय र प्रदेश सरकारको अनुदान बाहेक वार्षिक रु एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको अध्यक्ष भारतकुमार पुनले बताए ।

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको घार स्वास्थ्य चौकीको अहेब मातृकाप्रसाद जोशीले बताए। नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको उनले बताए ।

गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दाना बाहेक, भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् ।

वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा । नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम रु ४४ करोड नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकी बक्यौता रु ४४ करोड ९२ लाख ५७ हजार १८४ रहेको छ ।

कार्यालयले बक्यौता असुल गर्न विद्युत् लाइन काट्ने अभियान सञ्चालन गरेपछि हालसम्म रु १७ लाख ३२ हजार ३१२ सङ्कलन गर्न सफल भएको छ । वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बाँकी बक्यौता रकम तिर्नुपर्नेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू रहेका छन् ।

“कृषि सिँचाइ मिटरअन्तर्गत लहान नगरपालिकाले मात्रै रु एक करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी छ”, प्रमुख गुप्ताले भने, “गत असार २५ गते पत्र काटिएको भए पनि हालसम्म नगरपालिकाले कुनै भुक्तानी गरेको छैन ।”

प्राधिकरणको नियमअनुसार उपभोक्ताले ६० दिनभित्र विद्युत् महसुल तिर्नुपर्ने व्यवस्था भए पनि लहान वितरण केन्द्रमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन नसकेको उनको भनाई छ । “अब बाँकी रकम असुल गर्न लाइन काट्नुबाहेक हामीसँग अर्को विकल्प छैन”, गुप्ताले भने ।

विद्युत् चुहावटको अवस्था पनि वृद्धि हुँदै गएको छ । आव २०८०/८१ मा चुहावट दर ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१/८२ मा बढेर ३८ दशमलव १० प्रतिशत पुगेको प्रमुख गुप्ताले जानकारी दिने। उनका अनुसार चालु आवको साउन मसान्तसम्ममा यो दर बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ । यसैबीचमा प्राधिकरणले ७०३ जना ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको कार्यालयले जनाएको छ ।

सिरहामा प्राधिकरणका लहान, मिर्चैया र सदरमुकाम गरी तीन वटा वितरण केन्द्र रहेका छन् । लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका र बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी, नवराजपुर तथा भगवानपुर गाउँपालिका रहेका छन् ।

कात्तिक मसान्तसम्म मतदाता नामावली नाम दर्ता गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । ‘कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने छन्’, कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।

 

माओवादी वैठकमा सुदन किरातीको प्रश्न : हाम्रो प्रतिनिधित्व कसले गर्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आ–आफ्नो कुरा राख्न पाउनु पर्ने माग गरेका छन् । आज (बिहीबार) देखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा किरातीले सबैले आफ्ना कुरा आफैले राख्नु पर्ने माग गरेका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने प्रतिवेदनमा भौगोलिक र गैरभौगोलिक समूह बनाउने र त्यहाँ छलफल गरेर हलमा निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची थियो । यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितिबारे दुई-तीन मिनेट भए पनि बोल्न पाउनु पर्ने भनेका थिए । माओवादी निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रञ्जित तामाङले नेताहरुमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताएका छन् ।

‘अहिलेको परिस्थितिका विषयमा बाहिर अनेकौं कुराहरू आइराखेका छन् । बाहिर राखेका कुराहरू हामी आधिकारिक मानिरेहका छैनौं । अवको यो स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुई-तीन मिनेट राख्नुपर्छ । बाहिर अनेकौं तर्क राख्ने । पार्टीको बैठकमा केही नराख्ने । केही सीमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन,’ तामाङले भने । तामाङलाई बीचमा रोकेर महासचिव देव गुरूङले ती सबै विषयवस्तु समूहगत छलफलमा पनि आउने बताएका थिए । त्यसपछि सुदन किराती बोलेका हुन् ।

‘आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन । हामी आफै बोल्नु पर्छ,’ किरातीले भने । पूर्व पर्यटन मन्त्री समेत रहेका किराती माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । शर्माले जेनजी आन्दोलनपछिको परिस्थितिमा अध्यक्षलगायत सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइतबारको बैठकमा राखेका थिए । उनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको विषयलाई उठाउँदै आएका छन् ।

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रचण्डको आशंका : नेताहरूलाई जेल हालेर चलखेल हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि देश झनै गम्भीर मोडमा रहेको भन्दै धेरैखाले चलखेलहरू भइरहेको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले संविधान मास्ने, अन्तरिम सरकार जारी गर्ने र देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हावी गराउने खेल हुनसक्ने आशंका गरिएको छ । प्रचण्डले लोकतान्त्रिक दलका नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउने खतरा समेत औंल्याएका छन् । उनले सबै परिस्थितिलाई गम्भीरता साथ लिएर फागुन २१ मै चुनाव गराउन लाग्नुपर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भनिएको छ– जेनजी आन्दोलनपछि गैरदलीय सरकार बनेपनि हाम्रा उपलब्धिहरू माथिको संकट भने टरेको छैन । विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने र आफू अनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थसिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरु बाँकी नै रहेका छन् ।

यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्छ । प्रचण्डले यसबीचमा आफूसहितको पहलमा संविधान जोगाउन सफल भइएको भन्दै षडयन्त्रहरू कायमै रहेको बताएका छन् । उनले शीतल निवासमा सुशीला कार्की प्रधानमन्त्री बन्नुअघिका वार्तामा वार्तामा आफूले संविधान र लोकतन्त्रमा कुनै सम्झौता गर्न नसकिने, संसदबाटै नयाँ सरकार गठन गरी समस्याको निकास खोजिनु पर्ने, संसदबाटै नयाँ जनादेशमा जानुपर्ने, संसदले नियमित कारवाही नगर्ने तर जेनजीले उठाएका प्रत्यक्ष कार्यकारीलगायतका मागहरु सम्बोधन गर्नुपर्ने अडान प्रस्तुत गरेको जनाएका छन् ।

लोकतन्त्रमाथि सरकारकै गतिविधिका कारण संकट आउनसक्छ र जनतामा चुलिएको आक्रोश कुनै पनि बेला सडक तथा सदनबाट विष्फोट हुनसक्ने भन्दै आफूहरुले चेतावनी दिएको पनि प्रचण्डले जनाएका छन् । ‘तर सरकारले हाम्रो खबरदारीको संवेदनशीलता र गाम्भीर्यता बोध गरेन । बरु सरकार विचौलिया र दलालहरुको हितका पक्षमा एकपछि अर्को कुशासनका श्रृंखलामा तल्लीन रह्यो । दुई तिहाइ संख्याको दम्भमा संवेदनहीन बन्दै असन्तुष्टिका आवाजहरु दबाउँदै आएको सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि परिस्थिति विष्फोटक बन्न पुग्यो’, प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

सरकारका यिनै गतिविधिहरुले सिर्जना भएको असन्तुष्टि र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुले उपयुक्त मौका पाए । यसकै परिणामस्वरुप गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेन जी आन्दोलन नरसंहारमा रुपान्तरित भयो ।

भदौ २४ गते राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सर्वोच्च अदालत, सिंहदरबार जस्ता देशकै ऐतिहासिक सम्पदाका साथै सयौं सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुका निवास, बैंक, वित्तीय संस्था, मिडिया तथा व्यावसायमा भीषण आगजनी, लुटपाट, तोडफोड गरिनुका साथै भौतिकरुपमा समेत आक्रमण गरियो र राष्ट्रले अकल्पनीय क्षति बेहोर्नु पर्‍यो ।

एउटा कुरा के प्रष्ट छ भने आन्दोलनमा तोडफोड, लुटपाट र आगजनीका साथै राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण हुने कुरा पूर्णत नियोजित र योजनावद्ध थियो । हामीले नै उठाएका मुद्दाहरुमा सुरु भएको आन्दोलनमा हामीमाथि नै आक्रमण हुने जस्ता घटनाहरु जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन, ऊनीहरुबाट भएका होइनन् ।

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।

केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र सञ्चालनमा ल्याएको महसुल काउन्टरमा चारवटा एयर कण्डिसन (एसी)जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य हुने अवस्थाको अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।

“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको थियो, अहिले वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्”, श्रीवास्तवले भने । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न सहज र उत्साहजनक वातावरण उपलब्ध गराएको छ । सेवाग्राहीको घुइँचो नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन महसुल काउन्टरमा टोकन प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

ग्राहकले अनावश्यक समस्या र अवरोध बिना शान्तिपूर्वक पालोअनुसार महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ । वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार विद्युत् ग्राहक छन् । तीमध्ये करिब ४० हजार ग्राहक महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउने गर्छन् ।

बाँकी ग्राहकलाई सहज बनाउने उद्देश्यले झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए। प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ ।

वातानुकूलित काउन्टर सञ्चालनलाई पनि सोही अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीयवासीले विद्युत् महसुल बुझाउन अब सहज हुने र सेवाग्राहीलाई समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।

कर्मचारीले घुस मागे, अनावश्यक दुःख दिए, रुखो व्यवहार गरे सिधै उजुरी दिनुस् : मन्त्री घिसिङ

काठमाडौं । अब विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजन तथा मातहतका कार्यालयहरु यस्ता प्रकारका गुनासोहरु आए सेवाग्राहीलाई उजुरी गर्न अनुरोध गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले सम्हालेको मन्त्रालयअन्तर्गतका विभाग आयोजनाहरुमा सेवाग्राहीलाई दुख दिए खबर गर्न आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा हुने ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उनले बताए । कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यमहरू प्रयोग गरी जानकारी दिन सकिने उनले बताए । मन्त्रालयपिच्छे फरक–फरक नम्बरहरु राखिएको छ । यसअघि अर्थ मन्त्रालयले पनि सेवाग्राहीलाई दुख दिए उजुरी गर्न भनिसकेको छ ।

हेर्नुस् सूचना

सडकको समस्याले हवाई चाप बढ्यो (तस्बिरहरु)

काठमाडौँ । मुग्लिन-नारायणघाट सडक अबरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् ।

मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशै‌को मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।

 

माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खँर्चको जोहो गर्न थालेका छन् । सधैँ खँर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् ।

दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने मधेसको स्थापित परम्पराका कारण यहाँका गरिब परिवारले अतिरिक्त आर्जनको अवसर पाएका छन् । किसानको खेतपातीमा श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक अहिले माटोको खोजीमा निस्कन्छन् ।

दसैँमा कमेरे (सेतो), चिम्टाइलो (पहेँलो)र रातो माटोको माग हुने भएकाले श्रमिकका परिवार माटो खोज्न र बेच्न जुटेका छन् । पहेँलो र कमेरे माटो ठूलठूला पोखरीका डिल, नदी किनारको भिर र पुराना खाल्डा नजिक पाइन्छ । रातो माटो लिन चुरे पहाडका थुम्काहरूमा पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहरले बताएकी छिन् ।

“पवनी (पर्व)लाई हामीले साँचेर राखेको केही हुँदैन । दैनिक काम गरेर आउने रकमले जीविकोपार्जन भइरहेको छ”, उनले भनिन्, “हाम्रा लागि पवनीभित्रै अवसर आउँछन्, अहिले माटो बेचेर दशहरा मेलाका लागि खँर्च बनाउँदैछौँ ।” दशहरा खाने, पिउने, रमाइलो गर्ने पर्व भएकाले यसका लागि बढी खँर्चको जोहो गर्नुपर्ने उनको भनाई छ ।

अहिले माटो खोज्न, खन्न र ओसार्न बस्तीबस्तीबाट समूहमा निस्कने गरिएको उनले बताएकी छिन् ।

ग्रामीण बस्तीमा अधिकांश बाँसका चोयाको बारसहितका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठअघि माटोले पोतेर रङग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले श्रमिकले अतिरिक्त नगदको जोहोमा जोड्दै छन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह, विभिन्न खेतका डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्न, दुर्गामेला खँर्च र पवनीमा घरखर्चको व्यवस्थापन गर्न सकिने स्थानीय भुठ्ठी सदाले बताईन्।

नवरात्रको आज चौथो दिनसम्ममा भङ्गाहा–६ की पुर्नी महराले रु पाँच हजारको माटो बेचिसकेकी छिन् । अझै दुई–तीन दिन मेहनत गर्दा थप रु पाँच–सात हजार आम्दानी हुने जनाउँदै उनले यसले पर्व खँर्चको व्यवस्थापन हुने बताईन् । “दशहरा पर्व सुरु भएसँगै गरिब बस्तीका महिलाले घर पोत्ने, रङग्याउने काम पनि पाएका छन् । अरु बेलाको भन्दा अलि बढी पारिश्रमिक पाइने हुँदा श्रमिकहरूलाई यो पनि अवसर बन्ने गरेको छ”, उनले भनीन्।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर गौशाला रजखोरबिर्ता र धनसपुरसहितका थारु बस्तीमा अहिले माटो सङ्कलन गरी बेच्नेको व्यस्तता देखिन्छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, विभिन्न रङका माटो सङ्कलन गरी बेच्न व्यस्त छन् । घरघरमा हाँस, कुखुरा र परेवा पाले पनि थारु बस्तीका घरहरू सफा चिटिक्क देखिन्छन् । घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला अब्बल देखिन्छन् ।

अहिले थारु महिलाको सङ्गतले अन्य समुदायका गरिब महिला पनि माटो सङ्ग्रहमा लागेका छन् । अहिले माटो जम्मा गर्नसके मेलामा रमाउन र स–साना नानीहरूको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने भएकाले माटो सङ्कलनमा जुटेको स्थानीय आसवती चौधरीले बताएकी छिन् । उनका अनुसार अहिले जम्मा गरेको माटो दसैँपछिको दीपावली र छठसम्म बिक्री हुन्छ ।

मधेसका ग्रामीण बस्तीमा बाँसका कच्चीघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने भएकाले लिपपोत गर्न माटो आवश्यक पर्ने चौधरीको भनाई छ । प्रत्येक वर्षको दसैँ, तिहार र छठमा घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर चाडपर्वको खँर्च जोहो गर्ने अवसर बन्ने उनले बताएकी हुन् । पछिल्ला वर्षहरूमा बस्तीबस्तीमा पक्कीघर बन्ने थालेपछि यो कामको विकल्प खोज्ने बेला आएको श्रमिक महिला बताउँछन् ।

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् । आज (बिहीबार) बाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केहि नेताले आपत्ति जनाएका छन् । माओवादी नेता रन्जित तामाङ, सुदन किरातीलगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भने, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’ उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । उक्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने र पार्टीको महाधिवेशन चुनाव पछाडि गर्नुपर्ने श्रेष्ठको प्रस्ताव छ ।

चुनाव पछाडि महाधिवेशन गरेपनि अध्यक्ष प्रचण्डले भने अहिले नै राजीनामा दिनुपर्ने उनको आग्रह छ । बदलिएको परिस्थितिमा प्रचण्डले नेतृत्व भने अहिले नै छाड्नुपर्ने श्रेष्ठको आग्रह छ । श्रेष्ठले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाइ कार्यबाहक अध्यक्ष दिनुस । यो मेरो कुरा होइन, आम कार्यकर्ता र यो हलको कुरा राखेको हुँ ।’ यसअघि गत आइतबार बसेको माओवादीको पदाधिकारी बैठकमा समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष माग गरेका थिए ।

‘…नारायणकाजीले पनि मलाई कार्यवाहक दिनुपर्‍यो भनेर माग गर्नु भएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनें दिइदिनुस् न त उहाँलाई कार्यवाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले गत सोमबार भनेका थिए । केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ ।

 

बालेन–हर्कलाई बाबुरामको सुझाव : संविधानको रक्षाका लागि मिल्नुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउनुपर्ने उनले बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, गत निर्वाचनमा उदय हुनु भएका बालेन्द्र शाह, हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जुन नयाँ पुस्ता आगाडि आएको छ, तपाईंहरू एक ठाउँमा आउने, सहकार्य गर्ने वातावरण तपाईंहरूले बनाउनु पर्छ ।’

उनले भने, ‘सकेसम्म मिल्नेहरू जतिले खास एजेण्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने, त्यो खास एजेण्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ त्यसमा टेक्ने । योभन्दा पछाडि फर्कने होइन । यसमा टेकेर कति थप्न सकिन्छ थप्ने ।’

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आधारस्तम्भ भन्दै त्यसलाई साझा विन्दु मानेर वैकल्पिक शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने बताए । ‘कथंकदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर, मोर्चा बनाएर, अल्टरनेटिभ एलाइन्स गरेर पनि जान सकिन्छ,’ उनले भने ।

उनले कांग्रेस, एमाले, माओवादीलाई ‘थोत्रा’ पार्टीको संज्ञा दिएका छन् । ती पार्टी सच्चिने सम्भावना नरहेको बताउँदै उनले भने, ‘सँगसँगै मेरो आग्रह– पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन् । कांग्रेस, एमाले, माओवादी सच्चिने सम्भावना देख्दिनँ । टाउकैसम्म कुहिएर बसेको त्यो शक्ति छ त्यसको रुपान्तरणको सम्भावना म देख्दिनँ ।’

ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका युवाहरूलाई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘ती पुराना पार्टी भित्रका दोस्रो, तेस्रो र नयाँ पुस्ताका साथीहरूले पनि विद्रोह गरेर फेरि वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ डा. भट्टराईले भने, ‘त्यसो हुन सक्यो भने छिटो नै तपाईंहरूले चाहेजस्तो शासकीय सुधारमा परिवर्तन ल्याएर निर्वाचन तोकिएकै समयमा हुनेछ ।’

 

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिका(७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राष्ट्र पुनर्निर्माणमा आर्थिक सहयोग गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट अमूल्य योगदान गरी यो अभियानमा सहभागी हुन आह्वान गरेको हो ।

मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र उक्त कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको छ । त्यसका लागि सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको खाता नं १९६०१००१०२०७०००४ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद्को यही असोज ५ को बैठकको निर्णयअनुसार यस्तो आह्वान गरेको जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदानका लागि नेपाल सरकार आह्वान गर्दछ ।’ ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाउँदै मन्त्रालयले त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायतका कार्यलाई भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको प्रस्ट पारेको छ ।

चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

दमौली(तनहुँ) । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।

आचार्यले भने, “जिल्लाको कूल क्षेत्रफल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन छ । एकाउन्न हजार ५१० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तर सबै ठाउँमा सिँचाइ सुविधा पुग्न सकिरहेको छैन ।”

कार्यालयले गत आव सिँचाइतर्फ चार वटा इन्टेक, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको आचार्यले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारमार्फत नदी नियन्त्रणतर्फ ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ । जसकारण १३ हेक्टर जग्गा उकासमा सहयोग पुगेको बताउँदै उनले एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरिएको जानकारी दिए ।

सो वर्ष प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि रु चार करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि रु ३३ लाख ८२ हजार, सिँचाइ आयोजना निर्माणका लागि रु आठ करोड ९९ लाख ९१ हजार, आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि रु ३२ लाख २८ हजार बजेट खँर्च भएको छ ।

कार्यालयले विभिन्न आयोजनामार्फत रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार घिरिङ गाउँपालिका–३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५, घिरिङ गाउँपालिका–१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४०, म्याग्दे गाउँपालिका–७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५, ऋषिङ गाउँपालिका–४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ र व्यास नगरपालिका–६ स्थित मदीखोला ठूलोकुलो मर्मत कार्यमा २० जनाले रोजगारी पाएका छन् ।

सचिव योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले पार्टी पुनर्गठनको अपिल गरेका छन् । भट्टराईले अब एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्ने बेला आएको भन्दै नेतृत्वका सम्मानसहित पुनर्गठनको अफिल गरेका छन् ।

भट्टराईले लामो लिखित र भिडिओ सन्देश जारी गर्दै परिवर्तित सन्दर्भलाई बुझ्न र संकटले सिर्जना गरेर नयाँ चेतनाबाट पार्टी पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन् । उनले पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न ।’ पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाई–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’

फेरि यहाँनिर पुनर्गठन र रूपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईँहरूलाई भन्न चाहन्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौँ । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।

हेर्नुस् यस्तो छ भट्टराईको अपिल

जेन जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल, साहरा विहिन

काठमाडौं । बूढानीलकण्ठको एक घरमा भाडाको सानो कोठा । एउटा कुनामा भान्छा, अर्कोतिर कुनामा पलाङ्ग, पलङ्गसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्षअगाडि संसार छाडिसकेकी श्रीमतीसँगको तस्बिरहरू ।

जेनजी आन्दोलनमा गोली लागि भर्खर तंग्रदै गरेका कुस्मा पर्वतको ३१ वर्षीय अनिल परियारको डेरा हो यो । सिलाइकटाइ व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेन जी आन्दोलन किन ? के कारणले भयो ? को हुन् र के हो जेन जी केही जानकार थिएन ।

आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका विद्यार्थी भाइहरूको माया र क्रुरतबाट रिस उठेपछि २४ गते आन्दोलनमा पुगेको उनी सुनाउँछन् । आफूसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडि बढेको एक समूहमा उनी पनि मिसिए ।

त्यही बेला चलेको गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो । उनी अचेत अवस्थामा पुगे । डेढ वर्ष अगाडि श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदूरी गरी कोठा भाडा र आफ्नो एकमात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादिक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक गुजारा चलाउन उनलाई गार्‍हो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सीयूमा थिए । २५ गते बिहान करिब ३ बजेतिर होसमा आएका उनको मृत्यु भइसकेको भन्दै हल्ला नै फैलिसकेको रहेछ ।

भाउजू संगिता परियारलगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले हिजो साँझ अपरेसन गर्दा नै बितिसकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन समेत भनेको संगीताले सुनाइन् ।

निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैँले नै फोन गरे र आफूलाई भर्खर आईसीयू बाट वार्डमा सारेको र अहिले ठिक भएको जानकारी दिए ।

चार दिने अस्पताल बसाइ पछि उनी भदौ २९ मा डिस्चार्ज भए ।

गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आईसीयू मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए उनलाई बचाउन असम्भव हुने डाक्टर अनिल भट्टराई बताउँछन् ।

‘हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो ‘, डा. भट्टराईले भने ।

भाउजू संगीता अहिले अनिलको हेरचाहमा खटिएकी छन् । उनको स्वास्थ्य सुधार हुँदै आएको छ । तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ । जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले घर चलाउने र छोराको पढाइ साथै पालनपोषणको ठूलो चिन्ता छ ।

अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् भनी उनी कामना गर्छन् ।

लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा प्रतिबन्ध

श्रीनगर (भारत)। भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् ।

अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिँदा बजार र व्यवसाय बन्द भएका छन् ।

उच्च उचाइको सहर लेहमै पदयात्रा रोकेपछि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाइएको छ । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा समेत आगजनी गरेका थिए ।

सन् २०१९ मा भारतले लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गर्दै राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यस क्षेत्रमा राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका छन् । प्रदर्शन हालै भोक हडतालमा सहभागी दुई जनाको स्वास्थ्य बिग्रिएपछि सुरु भएको हो ।

भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’ मा गोली चलाएको बताउँदै शीर्ष जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ, जसले स्थानीय बासिन्दाको निराशालाई उजागर गरेको छ । सुरुमा सन् २०१९ को परिवर्तनलाई समर्थन गरेका उनीहरू अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट भएका छन् ।

लद्दाख प्रतिनिधिहरूले भारत सरकारसँग पटक–पटक वार्ता गरे पनि परिणाम प्राप्त भएको छैन । अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ ।

यस क्षेत्र जलवायु परिवर्तनबाट पनि गम्भीर रूपमा प्रभावित छ । हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएर लाखौँ मानिसको पानी आपूर्ति सङ्कटमा पारेको छ । चीनसँगको सीमा विवाद र सन् २०२० यताका सैन्य गतिविधिले प्रदूषण बढाई पग्लनलाई अझ गति दिएको छ ।

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा प्रचण्डले सम्बोधन गरिरहेका छन् । त्यसक्रममा उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’

२३ र २४ भदौमा भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनका लागि चुनावको मिति तोकेका छन् । क्त चुनाव समयमै सम्पन्न गराउन पार्टीले भूमिका खेल्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका हुन् ।

कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
नेकपा माओवादी केन्द्रले माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन गरेर आगामी फागुन २१ को चुनावको तयारीमा जुट्ने उनको प्रस्ताव छ । यसबीचमा समेत माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने प्रचण्डको प्रस्ताव रहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकताको गृहकार्य भइराखेको छ । यो बेला प्रचण्डले केन्द्रीय समितिको बैठकमा भनेका छन्, ‘विभिन्न पार्टीहरुसंगको एकतालाई जोड गर्नुपर्छ । यसका लागि वातावरण बन्दै गएको छ, बनाउनुपर्ने पनि छ ।’ आज प्रचण्डका यी लगायतका प्रस्तावमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।

वासिङ्टनमा सरिफ र ट्रम्प बीच भेट : टिकटक सम्झौतामाथि कार्यकारी आदेश तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ओभल अफिसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग बन्द–ढोका सत्रसहित उच्च–स्तरीय द्विपक्षीय बैठक गर्ने तयारी भएको ह्वाइट हाउसले सार्वजनिक तालिकामा जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्नेछन् । उनले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिएका थिए । यसले इस्लामाबादले हरितगृह ग्यास उत्सर्जन घटाउन चालेको दाबीलाई कमजोर बनाएको टिप्पणी गरिएको छ ।

मङ्गलबार ट्रम्प र पाकिस्तानसहित आठ इस्लामिक–अरब देशका नेताहरूबीच भेट हुँदा सरिफले अनौपचारिक रूपमा ट्रम्पसँग कुराकानी गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री शाहबाज र उपप्रधानमन्त्री र विदेशमन्त्री सिनेटर इशाक दार पनि छलफलमा सहभागी भएको बताएका छन् ।

तालिकाअनुसार, सरिफसँग भेटअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नेछन् । यसमा टिकटक सुरक्षा सम्झौताको अन्तिम निर्णय पनि समावेश हुनेछ ।

सोमबार ह्वाइट हाउसले यसै साताभित्र सम्झौतामा ट्रम्पले हस्ताक्षर गर्ने घोषणा गरेको थियो । सम्झौताअनुसार टिकटक अमेरिकी लगानीकर्ताहरूको बहुमत स्वामित्वमा रहनेछ र राष्ट्रिय सुरक्षा तथा साइबर सुरक्षा विशेषज्ञता भएको बोर्डद्वारा सञ्चालित हुनेछ ।

ओरेकलले विश्वसनीय सुरक्षा प्रदायकका रूपमा सबै अमेरिकी प्रयोगकर्ता डाटाको स्वतन्त्र निगरानी गर्नेछ, जुन अमेरिकाभित्रैका ओरेकल सञ्चालित सर्भरहरूमा भण्डारण गरिनेछ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सम्झौताका सर्त स्पष्ट गर्दै भने, “राष्ट्रपतिले यस हप्ताभित्र आधिकारिक सम्झौतामा हस्ताक्षर गर्ने छन् ।”

यसअघि, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिन सम्झौतामा सहमति जनाएका थिए । ट्रम्प र सीबीच टेलिफोन वार्तापछि बाइटडान्सले आवश्यक प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो । कम्पनीले चिनियाँ कानूनअनुसारको काम निरन्तर गर्ने बताउँदै अमेरिकी प्रयोगकर्ताहरूलाई सेवा दिन प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ अप्रिलमा पारित कानूनअनुसार जनवरी १९ देखि टिकटक प्रतिबन्धित हुने प्रावधान थियो, तर ट्रम्प प्रशासनले कार्यान्वयन नगरेको हो ।

अमेरिका र चीनबीच भइरहेको प्रस्तावित सम्झौताअनुसार अमेरिकी लगानीकर्ताहरूले टिकटकको ८० प्रतिशत नियन्त्रण गर्ने र बाँकी २० प्रतिशत बाइटडान्ससहितका चिनियाँ कम्पनीहरूले राख्ने योजना रहेको द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सले जनाएका छन् ।

यसैबीच, ट्रम्पले आफ्नो दिनको सुरुआत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको कार्यक्रमबाट गर्नेछन् ।

बालेन लक्षित हर्कको कटाक्ष : विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाह लक्षित कटाक्ष गरेका छन्। उनले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको भन्दै कटाक्ष गरेका हुन् ।

हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाएका छन् । ‘विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

माओवादीको केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् ।

थोत्रा र भ्रष्ट पुराना दललाई टाउको उठाउन दिनु हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्याग घोषणा गरेपछि आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए ।

डा. भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।

‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’ उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ । पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनु पर्छ कि सच्चिनु पर्छ । त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ। म अभियान र आन्दोलनबाट अलग भएको होइन ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने बताएका छन् । उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ । अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नु भएको छ । अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ । स्वतन्त्र ठुलो शक्ति छ । त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ ।’

 

 

डेनमार्कका विमानस्थलहरूमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द

कोपनहेगन । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलहरूमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो ।

हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा यसले थप तनाव बढाएको छ ।

प्रहरीका अनुसार आलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेस वरिपरि ड्रोनहरू देखिएका थिए । देशको दोस्रो ठूलो आलबोर्ग विमानस्थललाई केही घण्टा बन्द गरी पछि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो ।

“ड्रोनहरू दुई घण्टासम्म ठूलो क्षेत्रमा उडिरहेका थिए तर तल झार्न सकिएनन्”, नर्थ जुटल्यान्डका प्रमुख प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने, “यस समयमा ड्रोन चलाउने व्यक्तिहरूलाई पनि हामीले पक्राउ गरेका छैनौँ ।”

दक्षिण जुटल्यान्ड प्रहरीले बुधबार साँझ एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप विमानस्थल वरिपरि ड्रोन देखिएको रिपोर्ट पाएको जनाएको छ । तर त्यहाँ तत्काल कुनै उडान तय नभएकाले ती विमानस्थलहरू बन्द गरिएका थिएनन् ।

प्रहरीका अनुसार ड्रोनहरू ‘बत्ती बालेर उडाइएका’ थिए र जमिनबाट स्पष्ट देखिएका थिए, तर ती कस्तो प्रकारका थिए वा उद्देश्य के थियो भन्ने अझै पत्ता लागेको छैन । ‘परिस्थिति स्पष्ट पार्न’ गुप्तचर निकाय र सशस्त्र सेनासँग संयुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोपेनहेगन विमानस्थलमाथि ठूला ड्रोन उड्दा केही दिनअघि सुविधा घण्टौँका लागि बन्द भएपछि अनुसन्धानलाई तीव्र पारिएको हो । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले कोपेनहेगनको घटनालाई ‘डेनमार्कको महत्त्वपूर्ण पूर्वाधारमा भएको सबैभन्दा गम्भीर आक्रमण’ भनेका छन् ।

“हामीले हालै देखिरहेका अन्य ड्रोन आक्रमण, हवाई उल्लङ्घन र युरोपेली विमानस्थलमाथि साइबर आक्रमणहरूसँग यो घटनाको सम्बन्ध देखिन्छ”, उनले भने ।

तर मस्कोले संलग्नता अस्वीकार गरेको छ । पोल्यान्ड, एस्टोनिया र रोमानियाले पनि लडाकू जेट वा ड्रोनमार्फत हवाई उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन् ।

डेनमार्कले पहिलो पटक लामो दूरीका सटीक हतियार प्राप्त गर्ने घोषणा गरेपछि यस हप्ताका ड्रोन गतिविधि भएका हुन् । कोपेनहेगनका लागि मस्कोका राजदूत भ्लादिमिर बार्बिनले डेनमार्कको यो कदमलाई ‘शुद्ध पागलपन’ भनेर टिप्पणी गरेका थिए ।

ढिलो होला, सधैं अँध्यारो भइरहँदैन : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले ढिलो भए पनि सधैं अँध्यारो भइ नरहने बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जालमार्फत उनले १७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको बताएका छन् ।

सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेन–जी नै भदौ २३ गते सडकमा निस्किएका बताउँदै रिजालले २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारेको जिकिर गरेका छन् । रिजालले भने, ‘कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको नकाव उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ । ढिलो होला, सधैं अँध्यारो भइरहँदैन ।’

 

जेनजी आन्दोलनले सरकार ढले पनि पुरानो सत्ता ढलेको छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिवर्तन ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । उनले दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
पार्टीको अध्यक्ष त्यागेको भोलिपल्ट आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे ।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नु भयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन ।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन । भ्रष्टाचार र अस्थायित्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ । उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन । त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’

संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले बताएका छन् । ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ । किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे । उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन । जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन ।’

समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन । यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए । उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए ।