`

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ।

गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ।

विभागले यो निर्णय सार्वजनिक गर्दै सबै नेपालीलाई कुनै पनि विचौलियाको प्रभावमा नपरी निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैधता भएको राहदानी,
२. सम्बन्धित देशको भिसा (वा अनअराइभल भिसा प्रदान गर्ने देशका लागि त्यस्तो प्रमाण),
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको प्रयोजन स्पष्ट गर्दै स्वघोषणा।

विभागका अनुसार यो निर्णय अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) मा संशोधन गरी गरिएको हो। यसअघि लागू गरिएको छ बुँदे मापदण्डले भिजिट भिसामा हुने प्रस्थानलाई सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा त्यसले अनावश्यक झन्झट र अनियमितता बढाएको भन्दै व्यापक आलोचना भएको थियो।

 

 

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकले अध्यागमन र भिजिट भिसाको सन्दर्भमा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ भने इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकले डीआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको छ ।

नागरिक उड्ययन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रूपैया बराबरको ऊर्जा फण्ड चरणबद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

भारतीयलाई भिजिट भिसा : ६ हजारलाई अवैधरुपमा तेस्रो मुलुक उडाइयाे

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय मानव तस्करीको ‘ट्रान्जिट हव’ को रुपमा परिणत हुँदै गएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा सात महिनामै ६ हजार भारतीय नागरिक तेस्रो मुलुक उडेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सहसचिव तीर्थराज भट्टराई नेतृत्वमा संगठित टोलीले ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC) विना नै यो कार्य गरेको खुलेको हो । भट्टराई २०८१ असोज २३ देखि विमानस्थल अध्यागमन प्रमुखको रूपमा कार्यरत रहँदा गैरकानुनी रूपमा भारतीय नागरिकलाई अमेरिका, क्यानडा र युरोपतर्फ पठाइएको पाइएको हो । प्रतिव्यक्ति एक हजारदेखि दुई हजार अमेरिकी डलरसम्म असुली यस्तो अवैध काम गरिएको विवरणमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार सो रकम बिचौलियादेखि गृह प्रशासनको उच्च तहसम्म पुगेको आशंका गरिएको छ ।

छापा, नियन्त्रण र प्रारम्भिक संकेत
गत ७ जेठमा आयोगले अध्यागमन कार्यालयमा छापा मारी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले उच्च तहको संलग्नता समेत संकेत गरेका छन् । अनुसन्धान अधिकृतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका संलग्नता छानबिनको घेरामा छन् ।

नक्कली NOC र भारतीय दूतावासको सहयोग

अनुसन्धानको क्रममा केही भारतीयले नक्कली NOC देखाएर विदेश गएका थिए भने कयौंले त NOC नै नलिइकन यात्रा गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासले NOC जारी भएकाहरूको विवरण उपलब्ध गराएपछि धेरै अनियमितता खुल्न आएको हो ।
सुन तस्करीका अभियुक्त पनि भागे विमानस्थलबाट

२०७९ चैतमा भएको ९५.५ किलो सुन तस्करी प्रकरणमा संलग्न देखिएका जागेश्वर शाहलाई कालोसूचीमा राखिएको भोलिपल्टै उनी विमानस्थलबाट दुबई भागेको छानबिनमा देखिएको छ । उनका छोरा आसिफ शाह भने दूतावासको पत्र आउनुअघि नै विदेश पुगेका थिए ।

राजनीतिक संरक्षण र अनुसन्धानमा अवरोध
गृहमन्त्री लेखक कार्यकालमा दुई पटक छानबिन गर्न आग्रह गरिएको भए पनि गृह मन्त्रालयले चासो नदेखाएपछि प्रधानमन्त्री कार्यालय हुँदै अख्तियारले निगरानी बढाएको थियो । छानबिनकै बीच भट्टराईको सरुवा भएपछि सूचना चुहिएको आशंका गरिएको छ ।

भिजिट भिसा गिरोह : ट्राभल एजेन्सी र सचिवालयसम्म सम्बन्ध

अनुसन्धानका क्रममा भट्टराई ट्राभल एजेन्सी सञ्चालकहरूसँग नियमित सम्पर्कमा रहेको देखिएको छ । विशेष गरी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कासँग बारम्बार सम्पर्क भएको कल विवरणबाट पुष्टि भएको हो। संकलित रकमको व्यवस्थापनमा सीआईएसटी कलेजकी कर्मचारी कविता पौडेल र भक्तपुरका खगेन्द्र सुवेदीको संलग्नता समेत अनुसन्धानमा आएको छ।

स्पेन प्रकरण : अन्तर्राष्ट्रिय सम्मेलनको आवरणमा मानव तस्करी

संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा स्पेन पठाइएका नेपालीहरूबारेको अनुसन्धान भने बीचमै अलपत्र परेको छ । १५ लाख रुपैयाँसम्म असुलेर ११७ नेपाली दिल्ली हुँदै स्पेन प्रवेश गराएका थिए । अधिकांश फिर्ता आए पनि ठूलो संख्यामा भारतीय विमानस्थल हुँदै गएका नेपाली युरोपमै हराएको पाइएको छ ।

यूएईले एकाएक रोक्यो नेपालीलाई भिजिट भिसा दिन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिजिट भिसा नदिने भएको छ । यसअघि यूएईले अनलाइन मार्फत भिजिट भिसा दिने गरेको थियो । अब भने रोक लगाएको छ ।

यूएईले सोमबारदेखि नै भिजिट रहेको हो । अब कुनै नेपाली भिजिटका लागि यूएई जान लागेका भिसा आवेदन अस्वीकृत हुनेछ । यो एकाएक भने भएको होइन । केही समययता दुबई इमिरेट्सले भिसामा कडाइ भने गरिरहेको थियो ।

नेपालीहरुले यूएईमा भिजिनका लागि जाँदा शारजाहले १ हजार ३० दिह्राम डिपोजिट राखेर एक महिनाका लागि ५५० र दुई महिनाका लागि ६५० दिह्राममा भिसा दिने गरेको थियो । आबुधाबीले भने यसअघि नै बन्द गरिसकेको थियो ।

यूएईमा भिजिट भिसा अनुमति प्राप्त ट्राभल्स एजेन्सीले गर्दै आएका थिए । नेपालीहरु भिजिट भिसामा धेरै नै यूएई जाने गरेका थिए ।