`

भारतीयलाई भिजिट भिसा : ६ हजारलाई अवैधरुपमा तेस्रो मुलुक उडाइयाे

Nepal One HD १६ असोज २०८२ १६:०३
अर्थ समाचार

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय मानव तस्करीको ‘ट्रान्जिट हव’ को रुपमा परिणत हुँदै गएको देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा सात महिनामै ६ हजार भारतीय नागरिक तेस्रो मुलुक उडेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सहसचिव तीर्थराज भट्टराई नेतृत्वमा संगठित टोलीले ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC) विना नै यो कार्य गरेको खुलेको हो । भट्टराई २०८१ असोज २३ देखि विमानस्थल अध्यागमन प्रमुखको रूपमा कार्यरत रहँदा गैरकानुनी रूपमा भारतीय नागरिकलाई अमेरिका, क्यानडा र युरोपतर्फ पठाइएको पाइएको हो । प्रतिव्यक्ति एक हजारदेखि दुई हजार अमेरिकी डलरसम्म असुली यस्तो अवैध काम गरिएको विवरणमा उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार सो रकम बिचौलियादेखि गृह प्रशासनको उच्च तहसम्म पुगेको आशंका गरिएको छ ।

छापा, नियन्त्रण र प्रारम्भिक संकेत
गत ७ जेठमा आयोगले अध्यागमन कार्यालयमा छापा मारी सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले उच्च तहको संलग्नता समेत संकेत गरेका छन् । अनुसन्धान अधिकृतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका संलग्नता छानबिनको घेरामा छन् ।

नक्कली NOC र भारतीय दूतावासको सहयोग

अनुसन्धानको क्रममा केही भारतीयले नक्कली NOC देखाएर विदेश गएका थिए भने कयौंले त NOC नै नलिइकन यात्रा गरेका थिए । काठमाडौंस्थित भारतीय दूतावासले NOC जारी भएकाहरूको विवरण उपलब्ध गराएपछि धेरै अनियमितता खुल्न आएको हो ।
सुन तस्करीका अभियुक्त पनि भागे विमानस्थलबाट

२०७९ चैतमा भएको ९५.५ किलो सुन तस्करी प्रकरणमा संलग्न देखिएका जागेश्वर शाहलाई कालोसूचीमा राखिएको भोलिपल्टै उनी विमानस्थलबाट दुबई भागेको छानबिनमा देखिएको छ । उनका छोरा आसिफ शाह भने दूतावासको पत्र आउनुअघि नै विदेश पुगेका थिए ।

राजनीतिक संरक्षण र अनुसन्धानमा अवरोध
गृहमन्त्री लेखक कार्यकालमा दुई पटक छानबिन गर्न आग्रह गरिएको भए पनि गृह मन्त्रालयले चासो नदेखाएपछि प्रधानमन्त्री कार्यालय हुँदै अख्तियारले निगरानी बढाएको थियो । छानबिनकै बीच भट्टराईको सरुवा भएपछि सूचना चुहिएको आशंका गरिएको छ ।

भिजिट भिसा गिरोह : ट्राभल एजेन्सी र सचिवालयसम्म सम्बन्ध

अनुसन्धानका क्रममा भट्टराई ट्राभल एजेन्सी सञ्चालकहरूसँग नियमित सम्पर्कमा रहेको देखिएको छ । विशेष गरी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्कासँग बारम्बार सम्पर्क भएको कल विवरणबाट पुष्टि भएको हो। संकलित रकमको व्यवस्थापनमा सीआईएसटी कलेजकी कर्मचारी कविता पौडेल र भक्तपुरका खगेन्द्र सुवेदीको संलग्नता समेत अनुसन्धानमा आएको छ।

स्पेन प्रकरण : अन्तर्राष्ट्रिय सम्मेलनको आवरणमा मानव तस्करी

संयुक्त राष्ट्रसंघीय सम्मेलनको बहानामा स्पेन पठाइएका नेपालीहरूबारेको अनुसन्धान भने बीचमै अलपत्र परेको छ । १५ लाख रुपैयाँसम्म असुलेर ११७ नेपाली दिल्ली हुँदै स्पेन प्रवेश गराएका थिए । अधिकांश फिर्ता आए पनि ठूलो संख्यामा भारतीय विमानस्थल हुँदै गएका नेपाली युरोपमै हराएको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *