`

कात्तिक मसान्तसम्म मतदाता नामावली नाम दर्ता गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको आयोगको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । ‘कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने छन्’, कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ । तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ ।

 

‘तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार छ’

काठमाडौं । निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको जानकारी दिएका हुन् । ‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला । हाम्रोतर्फबाट आजैदेखि तयारीमा लाग्छौं ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भए लगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन् । कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । अहिले मन्त्रिपरिषद विस्तारबारे गृहकार्य भइरहेको छ ।