हर्क साम्पाङले पार्टी दर्ता प्रमाणपत्र पाउँदै, को–को छन् पदाधिकारीमा ?
काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ताको प्रमाणपत्र दिने तयारी अगाडि बढाएको छ । श्रम संस्कृति पार्टीको सनाखतलगायत प्रशासनिक प्रक्रिया पूरा भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । ‘श्रम संस्कृति पार्टीको सनाखत गराउनेलगायत सबै काम सकिएको छ, आज आयोगको बैठक बस्यो भने दर्ताको प्रमाणपत्र दिने निर्णय पनि हुन सक्छ’, उनले भने । त्यसो त पार्टीका अध्यक्ष साम्पाङ आजै धरानबाट काठमाडौँ प्रस्थान गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले हालै आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । पार्टीमा पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य रहेका छन् । चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन् ।
