मधेसका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
जनकपुरधाम । मधेस प्रदेशका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू आफ्नो हकहितका लागि आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखि जारी श्रमशोषण, न्यून पारिश्रमिक र असुरक्षित कार्य वातावरणको विरोधमा उनीहरूले ८ सूत्रीय मागसहित शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हुन् ।
यदि माग पूरा नभए आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार, निजी स्वास्थ्य संस्थाहरूले नेपाल सरकारको ऐनविपरीत न्यून तलबमा काम गराइरहेका छन् भने समान कामको लागि पनि असमान व्यवहार गर्ने गरेका छन् । आफूहरू निकै जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ।
मुख्य मागहरू :
नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गरिनुपर्ने ।
सरकारी स्वास्थ्य संस्थाका करारकर्मीहरूलाई हटाई लोक सेवा आयोगमार्फत विज्ञापन गरिनुपर्ने ।
स्वास्थ्यकर्मीहरूको बीमा र सुरक्षाको व्यवस्था गरिनुपर्ने ।
हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोकिनुपर्ने ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले त्यसलाई कार्यान्वयनमा नल्याएको बताए । यसले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको र बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले प्रस्ट पारे । आन्दोलनरत स्वास्थ्यकर्मीहरूले यस विषयमा जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको बताएका छन् । उनीहरूले आन्दोलनका कारण बिरामी सेवामा कुनै समस्या आएमा त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने बताएका छन् ।
