जेन्जी आन्दोलनको भित्री रहस्य स्क्रिनमा भिडियो प्रमाण सार्वजनिक गर्छु : दुर्गा प्रसाई
काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं प्रसाईले जेन्जी आन्दोलनको भित्री रहस्य सार्वजनिक गर्ने बताएका छन् ।
आज (शनिबार) साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले १६ कार्तिक गते (भोलि) बिहान ठिक ९ः३० बजे आफ्नै निजी निवास, भक्तपुरमा पत्रकार सम्मेलन गरेर उक्त रहस्य सार्वजनिक गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘यस आन्दोलनको सुरुवात कहाँबाट भयो, कसरी परिचालित गरियो र अहिलेको सरकार कसरी बनेको हो–यी सबै भित्री रहस्यहरू अब सार्वजनिक हुँदैछन् । भोलि म यी सबै तथ्यहरू ३०० इञ्चको विशाल एलइडी स्क्रिनमा भिडियो प्रमाणसहित प्रस्तुत गर्दैछु ।’
उनले देशका ठुला मेनस्ट्रिम मिडियाका सम्पूर्ण पत्रकारहरूलाई यस कार्यक्रममा आउन आमन्त्रण समेत गरेका छन् । प्रसाईले यसअघि नै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । सात दल र माओवादी केन्द्रबीच दिल्लीमा १२ बुँदे सहमति भएको मंसिर ७ गतेको दिनबाट व्यवस्था परिवर्तनको आन्दोलन शुरू गर्न लागेको उनले बताइसकेका छन् ।
उनले आफूहरूको आन्दोलन मेचीदेखि महाकालीसम्म एकै पटक शुरू हुने बताएका छन् । प्रसाईंले आफूहरूको आन्दोलनको बेला पसल–व्यवसाय बन्द गरेर समर्थन गर्न आग्रह गरेका छन् । उनले देश शून्य अवस्थामा रहेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र प्रहरीको समेत समर्थनको अपेक्षा गरिएको बताए ।
