`

नेकपा एसका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता हुँदैन : ओली

Nepal One HD १६ कार्तिक २०८२ ११:५०
नेकपा एमाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत एकता नहुने प्रष्ट पारेका छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलगायतका नेताहरू नयाँ पार्टी गठनको तयारीमा छन् । यो पंक्ति एमालेमा फर्कने चर्चा चलिरहेका बेला ओलीले यस्तो अडान सार्वजनिक गरेका हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले समूहका रूपमा आउनेहरूलाई स्वीकार नगर्ने तर कोही व्यक्ति व्यक्तिगत रूपमा एमालेमा फर्कन चाहेमा स्वागत गर्न तयार रहेको बताए । ‘कुनै अमुक समूहसँग एकता हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँहरूसँग मैले कुरा गरेको छु । तपाईंहरू आउनुहोस् भनेको छु । व्यक्तिगत रूपमा १०–२० जना आए पनि व्यक्तिगत नै हुनेछ । अलग्गै समूह बनाएर एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन ।’

अध्यक्ष ओलीले शुक्रबार नै विगतमा एमाले छाडेर गएका नेता कार्यकर्तालाई पुरानो घरमा फर्कन आह्वान गरेका थिए । उनको यो भनाइलाई एकीकृत समाजवादीभित्रको असन्तुष्ट पक्षलाई लक्षित गरिएको रूपमा हेरिएको छ । यद्यपि, ओलीले समूहगत एकतालाई अस्वीकार गरेर व्यक्तिगतरूपमा फर्कने ढोका खुला राखेका छन् । यसले एकीकृत समाजवादीको असन्तुष्ट समूहभित्र थप अन्योल सिर्जना गर्ने देखिन्छ । यसअघि, एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि खनाल–भूसाल पक्षले असन्तुष्टि व्यक्त गर्दै आएको छ । उनीहरूले नयाँ पार्टी गठनको तयारी गरिरहेको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *