`

प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

काठमाडौँ । दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुर तनावग्रस्त बनेको छ । दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ ।

झडपमा २० जना घाइते भएका छन् । स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन् । ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबीच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी, सशस्त्र र दुई स्थानीय घाइते भएका छन् । प्रहरीको गाडी जलाइएको छ,’ नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने ।

घिमिरेका अनुसार पाँचजना स्थानीय, १२ जना जनपथ र चारजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताए । विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको घिमिरेले बताए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सरकारको जवाफ माग गरेका थिए । उनले सोमबार राति थारु समुदायका दुई पक्षबीच भएको झडपमा गाडी तोडफोड भएको र गोलीसमेत चलेको भन्दै त्यसको यथार्थ जवाफ माग गरेका हुन् ।

मन्त्रिपरिषद्‌ निर्णय सार्वजनिक, के छन् ?

काठमाडौँ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गरेका हुन् । बैठकले गरेका विभीन १५ निर्णयहरु सार्बजनिक गरिएको छ ।

पूर्वबाट रातो सूर्य उदाउँदैछ, यसले देशव्यापी उर्जा दिनेछ : प्रचण्ड

मोरङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा उर्जा दिने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रुपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिने बताए ।

पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले दावी गरे। अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको जिकिर गरे।

अहिले एकातिर जनताले चाहे जति अधिकार पूर्ण नभएको र अर्कोतिर काङ्ग्रेस एमाले जस्ता दलहरूले भएकै संविधान लागू गर्न नचाहिरहेको उल्लेख गर्दै उनले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए । जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुपर्ने बताए।

अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नु सरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको सङ्कल्प गर्न अभियान ल्याएर आएको बताए। उनले आजको दिनमा नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि जनतालाई आग्रह गरे।

हिजो आफ्नो पार्टीलाई कसैले दया मायाले ठूलो पार्टी बनाएको नभई नेपाली जनताको बलले स्थापित भएको उल्लेख गर्दै अब पनि जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने बताए । उनले आगामी चुनावमा गठबन्धन राजनीतिको भुल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

विगतमा कहिले काङ्ग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको,माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने म्याक्रोँको भनाइ

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले अगाडिको बाटो निर्धारण भएको उनको भनाइ छ। रुसले युक्रेनमा आक्रमण शुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभमा युरोपेली नेताहरूसँग भेट गरेका छन्। मंगलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको संकेतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए।

आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ। छिमेकी देश पोल्यान्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमान तैनाथ गरिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघमा, अमेरिकाले सोमबार दुई पटक रुसको पक्ष लिएको थियो। वासिङ्टनले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि मस्कोको आक्रमणको कुनै पनि निन्दाबाट बच्न चाहेको थियो।

“यो शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु होइन,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले भने। राष्ट्रपति म्याक्रोँले वासिङ्टनले कुनै पनि युरोपेली शान्ति सेनालाई सहयोग प्रदान गर्नु महत्त्वपूर्ण रहेको पनि बताए। “अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि अगाडि बढ्ने बाटो छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु,” उनले भने।

ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः शुरू गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि म्याक्रोँ वासिङ्टन पुगेका थिए। ट्रम्पले युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको र आगामी दुई हप्तामा ह्वाइट हाउसमा जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको बताएका छन्।

“मलाई लाग्छ कि यदि हामी अपेक्षाकृत रूपमा अघि बढ्न सकेमा हामी यसलाई हप्ताभित्र अन्त्य गर्न सक्छौँ। तर, सशक्त रूपमा काम भएन भने यो केही लामो समय जारी रहनेछ,” ट्रम्पले म्याक्रोँसँगै गरेको पत्रकार सम्मेलनमा भने।

कर वृद्धि तोकिएकै समयमा : राष्ट्रपति ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताए ।

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उनी र म्याक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो ।

पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरे ।

वार्ता जारी रहेकै बेला उनले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गरेका थिए।

यो विराम अर्को मङ्गलबार समाप्त हुनेछ, र सबैको नजर उत्तर अमेरिकी छिमेकीहरूले उनीहरूको कार्यान्वयन रोक्नका लागि सम्झौतामा आउन सक्छन् कि सक्दैनन् भन्नेमा छ ।

कर वृद्धिले अटो उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा आपूर्ति श्रृङ्खलालाई कमजोर पार्नेछ।

ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “करहरू निर्धारित समयमा नै लागु हुनेगरी प्रक्रियाहरू अघि बढिरहेका छन् ।

७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंग्लबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन माग गरे ।

‘अहिले देशव्यापीरूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्,’ उनले भने ।

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसद्मा उठाए। यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्मार्फत सरकारसँग माग गरे।

यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए । चालु आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा उनले आपत्ति जनाए।

सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन्। त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइन्।

सांसद लालवीर चौधरीले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै उक्त  समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए। राष्ट्रिय निकुञ्ज, वन क्षेत्र र भारतीय सीमा क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढेको उनले बताए।

सांसद डा अमरेशकुमार सिंहले विभिन्न धार्मिक सम्प्रदायबीच वैमनस्यता उत्पन्न हुने र सामाजिक सद्भाव बिग्रिने गरी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिमाथि निगरानी र नियन्त्रण आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
 
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।
 
नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान  गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।
 
यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
 
राष्ट्रिय सेवा दल (एनसीसी)बाट प्रदान गरिने तालिम प्रशिक्षणले युवाहरूलाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा रूपान्तरण गरिँदै आएको छ ।

एनसीसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।
 
यही फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको छ । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसीसीका महानिर्देशक गुरवीरपाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह- छात्रवृत्तिका लागि छिटाे आवेदन दिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका भन्दै प्रधानमन्त्री ओलीले आवेदन दिन विद्यार्थीलाई अनुरोध गरेका हुन् ।

अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिटमा खाली रहेको छ ।

‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् । [email protected] आवेदन पठाउ सकिने छ।

लुम्बिनीमा त्रिपिटक वाचन गरिने

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गर्न लागिएको हो ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानका अनुसार अभिधर्म, सुत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ ।

उक्त ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । थेरवाद, महायानलगायत सबै सम्प्रदायका बौद्ध धर्मावलम्बीले अवलम्बन गर्ने यो ग्रन्थलाई सम्बन्धित सम्प्रदायको धार्मिक प्रभावअनुसार अभ्यास गर्ने गरेको पाइन्छ । त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्यान्ड, कोरिया, जापानलगायत एसियाली देशका भिक्षु, धर्मगुरु र अनुयायीको सहभागिता रहनेछ ।

अन्तरराष्ट्रिय युवा भिक्षु महासङ्घका केन्द्रीय उपाध्यक्ष भिक्षु तपस्वीले अन्तरराष्ट्रिय समुदायलाई लुम्बिनीका पुरातात्विक महत्वका सम्पदास्थलबारे प्रचार तथा तीर्थाटनलाई प्रेरित गर्न, बौद्ध शिक्षा, साहित्य तथा दर्शनको महत्वबारे जानकारी गराउन त्रिपिटक वाचन कार्यक्रमले सहयोग गर्ने बताए ।

कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन गरिनेछ ।

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण

राँझा (बाँके)। संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए ।

“तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,” उनले भने, “सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।”

करिब एक हजार आठ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउनेगरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताउँछन् । तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ । त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार खटाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुव्र्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिए ।

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जा । यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।

नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।

आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, “नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा अभियानमा आवद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पुर्‍याउन निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हौँ ।”

नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बिमा गर्न रु २५ लाख ६० हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा छ सय परिवारको बिमा गरिएको र दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी एक सय २५ जनाको बिमा गरिदिने नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा सात सय २५ जनाको स्वास्थ्य बिमा गर्न बजेट विनियोजन गरेकामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि थप बजेट व्यवस्थानको तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य बिमा बनाइदिएका नागरिकलाई बिमा कार्ड वितरण गरेको छ । स्वास्थ्य बिमा कार्ड बनाइदिएसँगै पाँच जनाको परिवारलाई रु एक लाखसम्मको स्वास्थ्य उपचार सेवा निःशुल्क प्राप्त हुने भएको छ ।

स्याङ्जा पुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका हुन्। 

केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ। मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ।

राष्ट्रिउ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ । उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले सुरु गर्ने स्टेपलाई साथ दिन उनले आह्वान गरेका थिए । जसलाई लिएर अहिले नेपाली समाज दुई कित्तामा विभाजित भएको छ ।

स्याङ्जामा उनका समर्थकले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।

नारायणकाजीले भने- झापाको घटनाप्रति सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहन्छु

झापा।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।

यस्का साथै श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफुलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफुले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थीति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।

उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढंगले अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकता, शुभेच्छुकहरुको भावनालाई सकारात्मक रुपमा लिदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको बताए ।

उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरंकुश ढंगले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।

बैंकिङ प्रणालीबाट फेरि आज २५ अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

बैंकका अनुसार अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको र आजै मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

साँवा र ब्याज भुक्तानी मिति भने चैत ६ गते निर्धारण गरिएको र यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

काठमाडौं महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।

४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।

उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।

पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन्।

उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”

उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरिन् ।

प्रधानमन्त्री ओली र प्रकृतिका आमाबाबु बिच कुराकानी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका  बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।

एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।

कुराकानीकाक्रममा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिएका छन्।

प्रधानमन्त्रीसँगको कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’

जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताएका छन्। ओलीले सुझाव सुनिसकेपछि भनेका छन्, ‘हामीले चासो लिएका छौँ। कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएकै छौँ।’

प्रधानमन्त्री ओलीले समग्र विषयमा परिवारसँग थप जानकारी लिँदै न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। नेता बस्नेतले भैरहवा स्थित उनको घरमै पुगेर बुवाआमा र परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् । यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको दुर्व्यवहारको भारतमै चर्को विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई अध्ययनमा फर्किन आग्रह गरेको छ । यो घटनापछि दुई सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । कीट विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

रिंकुकुमारी मृत्यु प्रकरण : घटना दबाउन पञ्चायती बस्ने ३ जनाविरुद्ध ५ दिन म्याद थप

 काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ ।

 प्रहरीले उनीहरूमाथि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको हो ।

सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार म्याद थप भएर हिरासतमा हुनेहरुमा नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास छन् ।

उनीहरूमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

मृतक परिवारले गत फागुन ८ गते चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।

गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलको अपहरणपछि सामूहिक जबरजस्ती करणीमा परेका थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वरलगायतले घटना गाउँमै मिलाउन पञ्चायती गरेका थिए ।

माघ २९ र ३० मा गाउँकै दलानमा भएको पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायतीमा आरोपितका आफन्त बीच नै पैसा तिर्ने विषयमा विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माण

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका– ३ स्थित लौठचौरमा निर्माण हुने भनिएको ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’को काम अझै अघि बढेको छैन । 

तालिम केन्द्रको नाममा जग्गा पास नहुँदा निर्माण रोकिएको छ । विद्यालयको नाममा रहेको जग्गामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गर्ने कि अर्को ठाउँमा निर्माण गर्न विषयमा विवाद हुँदा अहिले निर्माण अघि नबढेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

जग्गा विवादको विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठकबाट निर्णय गरेर छिट्टै जग्गा विवाद टुङ्गो लगाई ट्रेनिङ निर्माणको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ । विद्यालयको जग्गा छोडेर बाँकी रहेको जग्गामा समेत उक्त ठाउँमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गर्न सकिन्छ । जग्गा विवाद देखाएर सरकारबाट विनियोजन भएको बजेट सदुपयोग गर्न नदिने खेल भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए । विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य ट्रेनिङ सेन्टरले लिइएको गाउँपालिका उपाध्यक्ष रोकायाको भनाइ छ ।

विभिन्न चरणमा गरेर सरकारको करिब रु तीन करोड ट्रेनिङ सेन्टर निर्माणमा खर्च भइसकेको छ । ट्रेनिङ सेन्टरलाई चाहिने जग्गा पालिका वडा नं ३ का स्थानीयवासीले निःशुल्क दान गर्ने प्रतिबद्धता जनाएको हुँदा उक्त जग्गा पासको प्रक्रिया अघि बढेको वडाध्यक्ष गोविन्द रावतले जानकारी दिए । 

चालु आर्थिक वर्ष २०८१/८२ मा रु छ करोड २९ लाख बजेट विनियोजन भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेतमा रु चार करोड र सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लामा रु दुई करोड २९ लाख ३० हजार  बजेट ट्रेनिङ सेन्टरको नाममा विनियोजन भएको आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । 

यो आर्थिक वर्षभित्र उक्त बजेट खर्च गरिसक्नुपर्ने हुन्छ । जग्गा पास नहुँदा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको काम रोकिएको सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सूचना अधिकारी खड्काको भनाइ छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले हाइ अल्टिच्युट मैदानको डिपिआर भने रु ३२ करोड तीन लाख बजेटको बनेको छ । रु १० लाख बजेटमा चिमारा इञ्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गरेको थियो ।

विसं २०७४ पुस ३ मा युवा तथा खेलकुद मन्त्रालयका तत्कालीन सचिव महेश दाहालले मैदान निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमन गरेका थिए । यसपछि विद्यालयको जग्गा र स्थानीयवासीको जग्गामा रङ्गशालाको निर्माण कार्य थालिएको थियो । पटक पटकको करिब रु तीन करोड बजेटमा मैदान समथलमा खर्च भइसकेको छ । 

हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ । त्यसैगरी स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।

संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ । खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्युला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने छ । 

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मोरङ । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए । 

सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ। जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिदैछ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

भोजपुर।  भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।

लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी– ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए ।

स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।

गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाइ स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताइन् ।

स्वास्थ्य एकाइ स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ ।

नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ ।

खैराङका साविकका वडाहरू २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह थालिएको अध्यक्ष राईले बताए ।

गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार यहाँ स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईले बताए ।

हतुवागढी गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

शिक्षामन्त्री विद्या भट्टराई अस्पताल भर्ना, के हो स्वास्थ्य समस्या ?

 काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो । उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् ।

नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए । ‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षणको काम पनि भइरहेको छ’, स्रोतले भन्यो । आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ वीरगन्जबाट आयात

पर्सा । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उनले भने । गत आवको सात महिनाको अवधिमा भने रु एक खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट रु ४३ अर्ब ११ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट रु ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा रु ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट रु २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालु आवको सात महिनामा रु २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा रु १४ अर्ब ४९ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको सात महिनाको अवधिमा रु २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा रु तीन अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

 धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । 

धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८:२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १८ जना घाइते भएका छन्। बसमा २४ जना सवार थिए ।

घाइतेहको धुलिखेल अस्पतालमा उपचार भइरहेकोप्रहरीले जनाएको छ । चालक र सहचालक गम्भीर घाइते छन्।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ? 

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँच घाइते

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोभबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीय खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।

जिप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले जानकारी दिए । घाइतेमध्ये एक जनाको सनाखत हुन सकेको छैन ।

घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको यादवले बताए । दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए ।  जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।

पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ । ओझाले यसअघि नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन् ।

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सोमबार जेनेभामा सम्बोधन गर्दै मन्त्री देउवाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् ।

मन्त्री राणाले भनिन्, “नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ ।”

नेपालमा हाल लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका राजनीतिक दलहरुको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवद्र्धनप्रति थप प्रतिबद्ध रहेको उनले स्पष्ट गरिन् ।

नेपालले दश बर्षे सशस्त्र द्वन्द्वको समाधानका लागि अपनाएको शान्ति प्रक्रियाको मोडल विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टै टुङ्ग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् । 

नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसदमा महिलाको एक तिहाइ र स्थानीय सरकारमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको तथा अल्पसङ्ख्यकहरुको मानवअधिकारको व्यवस्था र रक्षाप्रति प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् ।

नेपाल सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएकाले ‘गानरी’ प्रमाणीकरणमा स्थापनादेखि नै नेपालको आयोग ‘ए ग्रेड’ मा रहँदै आएको उल्लेख गर्दै मन्त्री राणाले नेपाल प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा रही आएको बताइन् । 

जलवायु परिवर्तनले नेपाललाई परेको असर, नेपालको अवस्था र जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा वकालत गरिरहेको बताउँदै मन्त्री राणाले नेपालले आगामी मे महिनामा काठमाडौँमा ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना गरेको जानकारी गराइन् ।

“जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य” मुख्य शीर्षक रहेको सो संवादमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई यस महत्त्वपूर्ण पहलमा सामेल गराउने प्रयास नेपालले गरेको उनको भनाइ थियो । 

उनले नेपालले मानवअधिकारका क्षेत्रमा व्यक्त गर्दै आएको यही प्रतिबद्धताका साथ यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुसँग नेपाललाई समर्थन गर्न आह्वान पनि गरिन् ।

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ । सोमबार केदार घिमिरेले सामाजिक संजालमार्फत फिल्म आगामी हरितालिका तीजमा आउने जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘चलचित्र ‘माग्ने राजा’ हरितालिका तीज –२०८२ ,सिनेमाघरहरुमा आशीर्वाद दिनुहोला !’ फिल्ममा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय छ । फिल्मको निर्देशन ऋषि लामिछानेले गर्नेछन् ।

ठमेलमा प्रहरी कुट्ने अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले निकटको अखिलका नेतालाई धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले प्रहरीलाई कुटपिट गरेको प्रकरणमा पक्राउ परेका पाँचैजना विद्यार्थी नेतालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । रमेश फुलारालाई १५ हजार रुपैयाँ तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको थियो ।

उनीहरु धरौटी बुझाएर रिहा भएका प्रहरीले जनाएको छ । उनीहरूले प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई माघ २४ गते राति कुटपिट गरी घाइते बनाएका थिए ।

सरकारले ‘नो केबलकार’ समूहलाई वार्तामा बोलायो

काठमाडौं । सरकारले नो केबलकार समूहलाई वार्तामा बोलाएको छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारविरूद्ध आन्दोलन गरिरहेका समूहलाई सरकारले सोमबार वार्तामा बोलाएको हो । गृ

ह मन्त्रालयले भनेको छ, ‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ ।’

विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ।

सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन्  
सोमबार पार्टीले झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने बताएका हुन् ।

“सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,” उनले भने, “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।”

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए । 

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए । उनले भने, “जुनबेला हामीले उनीहरुसँग सहकार्य गर्यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

उनले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गर् । कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए । 

एमालेसँग कांग्रेस बराबरको व्यवहार चाहन्छ, दुव्र्यवहार भए सरकार छाड्छौंः महामन्त्री थापा

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सोमबार पार्टीको प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुलाई दुव्र्यवहार भयो भने सरकार छाड्ने बताएका हुन् ।

उनले भने, ‘हामी विधि र कानूनको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं । तर, कानूनको शासनमा सम्झौता गर्दैनौं। प्रजातान्त्रिक अधिकार, त्यो भनेको बोल्न र हिँड्न पाउने अधिकारसँग सम्झौता गर्नुपर्यो भनेर कांग्रेसले सरकार छाड्छ । एमालेसँग कांग्रेस बराबरको व्यवहार चाहन्छ, न एमालेलाई हेप्छौं, न हेपिन्छौं। न माथि न तल हामी केन्द्रदेखि जिल्लासम्म त्यही चाहन्छौं। हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं।’

महामन्त्री थापाले एमालेसँग सहकार्यमा कांग्रेसको आफ्नै शर्त रहेको बताए।

पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सामेबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थिए । जिलेस्पी जंग कार्कीले बायाँ विंगबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोलको दिशा दिएका थिए । पहिलो हाफमै पुलिसको बराबरी गर्ने प्रयासमा क्रसबार बाधक बन्यो ।

४३ औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेको थियो । ८० औं मिनेटमा आर्मीको आक्रमणमा रहेका चारै खेलाडी आवद्द मुभमा अग्रता दोब्बर भयो ।

निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे । त्यसमा जिलेस्पीको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाए । फुस्केको बललाई नवयुगले लो क्रस दिँदा दिनेशले फिनिस गरे । आर्मीले अब सेमिफाइननलमा भोलि हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ ।

सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको एकीकृत समाजवादीको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप लगाएको छ । फागुन ९ र १० गते बसेको पार्टीको दोस्रो पूर्ण बैठकले सरकार दमनमा उत्रिएकाले वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको हो ।

बैठकले राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो।

सो अवसरमा प्रधानमन्त्री ओलीले युुवा आदान–प्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्रराष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताए।

उनले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको अझ बढी बुुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाई सम्पूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान्, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे।

कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ। एनसिसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्दै आएको छ।

उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो। भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी थिए।

सांसदहरुको आग्रहः सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने कानुन निर्माण गरौं

काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरुले सशस्त्र प्रहरी बलको सङ्गठन स्वायत्त बनाउन माग गरे । 

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

सांसदहरुले सशस्त्र प्रहरी कर्मचारीहरुले सेवा छाड्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनीहरुको मनोबल उच्च बनाउने गरी विधेयक निर्माण आवश्यक भएको बताए । उनीहरुले विधेयक समावेशी बनाउनुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय नीति स्पष्ट हुनुपर्ने सुझाव समेत दिए । 

 विधेयकमाथि विचार प्रस्तुत गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सशस्त्र प्रहरी बलको परिचालन स्वायत्त बनाउन सुझाव दिए ।

“यो मिलिटेन्ट कर्मचारीतन्त्र हो । यसको सञ्चालन, परिचालन र नियन्त्रण सिभिलियनलाई दिन मिल्दैन”, सांसद पौडेलले भने, “यसलाई अलगै स्वायत्त, संस्थाका रुपमा जनसेवामा प्रयोग गर्ने गरी कानुन बनाउनुपर्छ ।”

माओवादी केन्द्रका सांसद विमला सुवेदीले सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउन सक्नेमा आशङ्का व्यक्त गरे । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यदेश तथा कार्यक्षेत्रबारे स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिए । 

माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सशस्त्र प्रहरी परिचालन केन्द्र सरकारको नियन्त्रणमा रहने गरी विधेयक बनेको बताए । “आपतकालीन अवस्थामा सशस्त्र प्रहरीको परिचालन गर्न प्रदेशले सङ्घीय सरकारको स्वीकृति लिनुपर्ने अवस्थाले तत्कालीन आवश्यकता परिपूर्तिमा ढिलाइ हुनसक्छ”, सांसद घर्तीले भने ।  

विधेयकमाथिको छलफलका क्रममा सांसद डा अमरेशकुमार सिंहले सुरक्षा बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने व्यवस्था विधेयकले गर्नुपर्ने राय व्यक्त गरे । “सशस्त्र प्रहरीको ‘चेन अफ कमान्ड’ कसको हातमा हुने ? गृह कि प्रमुख जिल्ला अधिकारीको हातमा ?”, सांसद सिंहले सशस्त्र प्रहरीको स्वायत्ततामाथि विधेयकमा भएका व्यवस्थाबारे प्रश्न गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले सशस्त्र प्रहरी कर्मचारीले बीचमै जागिर छाड्ने समस्या समाधानका विषयमा विधेयक स्पष्ट नभएको बताइन् । उनले यसलाई राजनीति मुक्त राख्नुपर्नेमा जोड दिइन् । “सशस्त्र प्रहरीलाई फोर्सका रुपमा हैन । गृह मन्त्रालयको एउटा शाखाका रुपमा किन राखिएको हो ?”, सांसद कार्कीले प्रश्न गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सुरक्षा बललाई राजनीतिबाट जोगाउने गरी कानुन निर्माण गर्नुपर्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा परिचालनमा गर्न आवश्यक रहेको बताइन् । सशस्त्र प्रहरीलाई कमजोर बनाइएको भन्दै उनले प्रमुख जिल्ला अधिकारीले परिचालन गर्ने व्यवस्थाप्रति आपत्ति जनाइन् ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सीमा अपराधको परिभाषामा स्पष्ट पार्दै यसका लागि सशस्त्र प्रहरी परिचालन गर्नुपर्ने धारणा प्रस्तुत गरे । उनले सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन र सीमा सुरक्षामा सशस्त्र प्रहरी परिचालनमा जोड दिए ।

रास्वपा सांसद गणेश पराजुलीले सुरक्षा बलमा राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन जोड दिँदै सङ्गठन प्रमुखलाई जवाफदेही र जिम्मेवार बनाउनुपर्ने सुझाव प्रस्तुत गरे ।

उनले भने, “बढुवाका लागि योग्य अधिकारीहरु राजनीतिक शक्ति केन्द्रको घरघरमा पुगेको देखिन्छ । अधिकारीहरु घरसम्म नपुगे भने त्यहीँबाट बोलावट हुन्छ । राज्यमा कानुनी सर्वोच्चता हुनुपर्नेमा हामीले कति हदसम्म राजनीतिकीकरण गरिरहेका छौँ !”

विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले सशस्त्र प्रहरी अर्धसैनिक बलको चरित्रमा रहेको उल्लेख गर्दै यसलाई आफ्नै सङ्गठनको ‘चेन अफ कमान्ड’मा सरुवा, बढुवालगायत वृद्धिविकासमा सङ्गठनको प्रमुख अधिकारीहरुलाई जिम्मेवार बनाउनुपर्ने बताए । उनले सङ्गठन प्रमुखलाई नै मुख्य जवाफदेही बनाउनुपर्ने भन्दै विधेयकमा आवश्यक सुधारका लागि सुझाव प्रस्तुत गरे । 

“सशस्त्र प्रहरी कस्तो अवस्थामा निर्माण गरिन्छ भन्नेबारे सुझाव दिन गठित सुझाव कार्यदलले थुप्रै सुझाव दिएको छ ।  विधेयकले ती सुझावहरुको उचित सम्बोधन गरेको छैन”, सांसद भट्टराईले भने । 

एमाले सांसद रघुजी पन्तले सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र द्वन्द्व नियन्त्रण मुख्य जिम्मेवारी दिनुपर्ने राय व्यक्त गरे ।  उनले सशस्त्रलाई स्रोत साधन र उपकरणयुक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । 

एमाले सांसद दामोदर पौडेल वैरागीले विधेयकमा अनिवार्य अवकाशको उमेर हद परिवर्तनको प्रभावबारे स्पष्ट हुनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सशस्त्र प्रहरीलाई दज्र्यानी चिह्न निर्वाचित संस्थाबाट दिने व्यवस्था गर्न सुझाव दिए । “सशस्त्र प्रहरीको नियुक्ति सरकारले गर्छ तर दज्र्यानी चिह्न गृह सचिवले लगाउने प्रचलन छ । विधेयकमा पनि यही आउनु राम्रो भएन कि त प्रधानमन्त्री कि त गृहमन्त्रीले दज्र्यानी चिह्न राख्ने व्यवस्था गरौं”, उनले भने । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद   रामप्रकाश चौधरीले सशस्त्र प्रहरीको कार्यक्षेत्र स्पष्ट तोक्न आवश्यक रहेको बताए । सशस्त्र प्रहरी बललाई समावेशी बनाउनुपर्नेमा समेत जोड दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बीना लामाले सशस्त्र प्रहरीलाई प्रमुख जिल्ला अधिकारीले परिचालन गर्नसक्ने व्यवस्था उचित नभएको बताइन् । “सशस्त्र प्रहरी बललाई फोर्सका रुपमा हैन मन्त्रालयको शाखाका रुपमा राख्न खोजिएको छ, यसलाई प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने गरी विधेयकले व्यवस्था गरेको छ, यो उचित होइन”, सांसद लामाले भनिन् । 

विधेयकमाथिको छलफलमा सांसदहरु मनीष झा, बासुदेव घिमिरे, विजुला रायमाझी, शिव नेपाली, अमृतलाल राजवंशी, सूर्यप्रसाद ढकाल, भगवती चौधरी, सराज अहमद फारुकी, अशोक चौधरी र रणेन्द्र बराली, धुव्रबहादुर प्रधान, अच्युतप्रसाद मैनाली, मेटमणि चौधरी, प्रतीक्षा तिवारीलगायतले विचार प्रस्तुत गरेका थिए ।

परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेशराज्यमन्त्रीबीच भेटवार्ता

जेनेभा (स्वीट्जरल्याण्ड)। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ।

भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरेकी थिइन्।

नेपाल र अजरबैजान नाम र जि७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरु साझा रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका मन्त्री डा देउवाले बताएकी थिइन्।

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरुमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताइन्।

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरिन्।

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौँ। जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाख रुपैयाँको सहयोगमा उक्त भवन निर्माण गरिएको हो।

सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरेको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ।

उक्त विद्यालय विसं २०१७ मा स्थापना भएको थियो। सो विद्यालयमा हाल करिब तीन सय ३० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ।

जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठनपाठनमा समस्या झेल्दै आएका थिए। नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालयलगायत सुविधा रहेको दूतावासले जनाएको छ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान

दाङ । दाङको घोराही–तुलसीपुर चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर, उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।

पछिल्लोपटक २६ फागुन २०७८ देखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठूल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।

अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत तीन अर्ब १९ करोड रुपैयाँ रहेको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार ३० फागुनसम्म आवेदन गर्ने अवधि छ । उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभई सबै खण्डमा चार लेनको सडक हुनेछ ।

विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडकखण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।