`

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बनेका दीपक

सुर्खेत । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे।

लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । तर सबैका सबै योजना पूरा कहाँ हुन्छन् अनि सबै सपनाहरु विपनामा साकार पनि त हुँदैनन् । सायद त्यसैले होला दीपकको त्यो सपना सपनामै सीमित हुने रहेछ र उनी खेलाडी दीपकका रुपमा अगाडि बढे।

विसं २०४९ असोज १५ गते सुर्खेतको छिञ्चुमा जन्मिएका दीपक आफ्नो सपनालाई त्यागेर उसु खेलतर्फ मोडिनु पनि समयको चक्र नै मान्नुपर्छ । विभिन्न समयमा भएका खेलहरुमा स्वर्ण र कास्य पदकको विजेता बनेका थिए सायद ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक ‘प्लस टू’को अध्ययन सकेपछि मात्रै पूर्ण रुपमा खेल क्षेत्रमा होमिने अवसर प्राप्त गरेका हुन्। सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनिन्छन् । खेलजगत्ले नै उनलाई दीपक बनाएको छ ।

दीपकले २०६८ सालमा फिटनेसका लागि सेन्सन केन्द्रीय खेलकुद परिषद्बाट उसु खेललाई रोजेका थिए । प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० सालमा नेसनल च्याम्पियन सुरु गरेका थिए । त्यसलगत्तै उनले २०७० मा नवौँ राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । आफ्नो डेब्यु प्रतियोगितामा उनले पदक त जित्न सकेनन् तर पनि सम्भावनाको यात्रामा पछि हटेनन् ।

लगातारको मिहेनत र निरन्तरको प्रयासले नै सम्भावनाको ढोका खोल्न भने सफल भए उनी । डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ सालमा विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमबाट खेलेका उनले थाइल्यान्डमा स्वर्ण पदकसमेत जितेका थिए । यसले एकातिर हौसला र अर्कोतिर अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको थियो उनलाई ।

आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल हमालले रसियामा सन् २०१८ मा भएको १४औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए । पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका उनले खासै पदवी नै हात पार्न नसके पनि ६८ राष्ट्रमध्ये आफूलाई २०औँ स्थानमा उभ्याउन सफल भए ।

त्यस्तै, सन् २०१९ मा चीनको सङ्घाइमा भएको १५औँ वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट खेलाडी २० भित्र पर्न सफल भए । त्यसपछि स्वदेशमै आयोजना भएको १३औँ सागमा स्वर्ण जित्दै हमालले इतिहास रच्न सफल भए ।

विश्वलाई हलचल बनाउने कोभिड–१९ का कारण २ वर्ष अन्तरराष्ट्रिय सहभागिता जनाउन नपाएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी २० मध्ये उनले १२औँ स्थान हासिल गरे । हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कास्य पदक हात पारेका थिए ।

उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारे । यसले उनलाई अझै मिहेनतको खाँचो छ भन्ने कुरा आफैँले महसुस गराएको छ । यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल बने । यसमा सफलता हात पार्ने मात्र होइन, आफूप्रतिको खेलको क्षेत्रको विश्वाससमेत दिलाउने गरी मिहेनत गरिरहेका छन्।

यतिबेला उसु वल्र्डकपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन् । ‘उसु वल्र्डकप लगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराखेको उनले बताए । उनले भने, ‘नेपाल उसु महासङ्घले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ । यसले गर्दा ममा अझै पनि हौसला थपिएको छ’, उनी भन्छन्, ‘वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पुर्याउँछ ।’

एउटै खेलको दुईवटा महासङ्घ हुँदा समस्या भएको बताउँछन्, दीपक । ‘दुईवटा महासङ्घ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ । कुन कामका लागि कुन महासङ्घमा जाने भन्ने समस्या छ,’ उनी भन्छन्, ‘अन्तरराष्ट्रिय मान्यता प्राप्त महासङ्घले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । तर, पनि दुईवटा सङ्घ हुँदा समस्या त भइहाल्छ । एउटाले एउटा विषयको उठान गरिरहेको बेलामा अर्कोले अर्कै विषयवस्तुको उठान गरिदिन्छ ।’

पछिल्लो समय उसुका दुई महासङ्घ छन् । जनक बर्तौला नेतृत्व महासङ्घलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छभने वीरबहादुर लामा नेतृत्वको महासङ्घलाई नेपाल ओलम्पिक कमिटी र अन्तरराष्ट्रिय उसु महासङ्घको मान्यता छ ।

‘कर्णालीको हुँभन्दा गर्व लाग्छ’

दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएको छ । कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउँछन् । ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ । मलाई विभागीय टोलीबाट धेरैपटक ‘अफर’ आयो । तर मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय लिएर अहिलेसम्म अघि बढिरहेको छु’, उनले भने, ‘कुनै पनि विभागमा गइनँ तर, विभाग बाहिरका खेलाडीका लागि समस्या नै समस्या छन् । सबैभन्दा ठूलो समस्या त आर्थिककै छ ।’

खेल जीवनबाट आफू सन्तुष्ट भए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा नपाउँदा भने निकै नै गाह्रो हुने दीपकको अनुभव पनि छ । सरकारले आश्वासन मात्र दिन्छ खेलाडीका लागि पछिसम्मको भविष्य सोचेर सेवा सुविधा दिनएको भए खेललाई अगाडि बढाउन सकिने उनको भनाइ छ ।

कर्णाली आफैँमा दुर्गम जिल्ला हो, त्यसमा पनि खेललाई अगाडि लैजानमा निकै चुनौतीपूर्ण रहेको उनी बताउँछन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी भएको छ । परिषद्ले बिहानको खाजा खर्च मात्रै दिँदै आएको छ । आफ्नो घर छोडेर बाहिर बस्नुको पीडासँगै खाजा खर्चले काठमाडौँमा बसेर प्रशिक्षण गर्न निकै समस्या हुने गरेको उनको गुनासो छ । यसले उनलाई खेलबाटै अघि बढेर भविष्यका लागि खेलाडी उत्पादन गर्ने र आफू कोचका रुपमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जागेको छ ।

सन् २०१७ मा पहिलोपल्ट रसियाका लागि नेपालबाट खेल खेल्न जाँदा प्रशिक्षकहरु साथमा नहुँदा आफूहरु एक्लो भएको महसुस भएको त्यो दिनलाई उनले अहिले पनि भुल्न सकेको छैन । रसिया खेल खेलियो तर आफ्नो समर्थनमा कोही नहुँदा ‘नर्भस’ भएर पनि खेल हारिएको हो कि जस्तो लाग्छ उनलाई ।

अन्य देशका खेलाडीहरुको उत्साहका लागि गरिएका व्यवस्थापनको व्याख्या गर्ने हो भने एउटा बनावटी कहानी जस्तो लाग्न सक्छ धेरैलाई । त्यो खेलसँगै आफ्नो प्रशिक्षकहरुको पनि साथ भएको भए सायद खेल जित्न पनि सकिन्थ्यो जस्तो उहाँलाई अहिले पनि लाग्दछ ।

बाल्यकालसँगै लाहुरेको सपना

सानैदेखि निकै चकचके स्वभावका उहाँ पढ्नमा भन्दा खेल्नमा बढी समय खर्चिन चाहन्थे । दीपकको बाल्यकाल भेरीगङ्गामा नै बित्यो । १–५ कक्षासम्म उनी घर नजिकैको अमिलाचौर प्राथमिक विद्यालयमा अध्ययन गरेको थियो । त्यसपछि उनले छिञ्चु बजारमा रहेको शारदा माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेपछि अभिभावकले छोराले राम्रोसँग पढोस् र भविष्यमा आफ्नो सहारा बनोस् भन्ने लागेर आफूले सकेको दुःखजिलो गर्दै उनलाई काठमाडौँ पढ्न पठाएको थियो ।

सानै उमेरबाट खेल्न मन पराउने उनमा खेललाई नै जीवन बनाउने सोच भने थिएन । उनी भन्छन्, ‘पहिले मेरो सपना भनेको लाहुरे हुने देश र जनताका निम्ति केही गर्छु भन्ने सोचेर २०७७ सालमा ब्रिटिस लाहुरे हुन गएको थिएँ ।’ ब्रिटिसमा भर्ती हुन नसकेपछि शरीरलाई राम्रो बनाउन खेलमा प्रवेश गरेका थियो दीपक । उनी अहिले पनि खेल क्षेत्रलाई अघि बढाउने र कर्णाली देशव्यापी रुपमा कसरी चिनाउने भन्ने चिन्तामै छन् । उनले १३ वर्ष खेल क्षेत्रमै बिताइसकेका छन् । खेलकुदबाट देशका सातै प्रदेश तथा चीन, रसिया, थाइल्यान्ड, साउथ कोरिया जापानलगायतका देशमा भएका प्रतियोगिताहरुमा सहभागी भइसकेका छन् । 

झापाको कचनकवलबाट जनतासँग माओवादी तराई मधेस जागरण अभियान सुरु

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ।
सोमबार झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् ।

झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ। अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छ्न्। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन्।

गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो। यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ।

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ। मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।

उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ ।

बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पुर्‍याएको सहयोगका निम्ति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसधैँ तयार रहेको जानकारी गराए ।

उक्त बैठकमा दुवै पक्षबाट नेपाल चीनबीच व्यापार, वाणिज्य र पारवहन क्षेत्रलाई थप सुदृढ बनाउन नेपालको कृषि उत्पादनलाई चीनमा निर्यात गर्न पहल गर्ने सहमत भएका छन् । सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका क्रममा कार्यान्वयन गर्ने भनिएका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्न क्रियाशील रहने, सबै सीमा नाकालाई अझ प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थित गर्न पहल गर्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा सीमा नाकाहरूमा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, त्यस क्षेत्रको पूर्वाधार विकास गर्ने, दुइ पक्षीय भ्रमणहरू आदानप्रदान गर्ने, एक अर्का देशमा आयोजना हुने व्यापार मेला र महोत्सवहरूमा सहभागिता जनाउने र दुई देश र जनताको हितका कार्यहरूमा समन्वयात्मक रूपमा कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।

प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

स्वर्णिम वाग्लेले बोलेको ‘श्रद्धाञ्जली’ शब्द संसद्‌को रेकर्डबाट हटाइने

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिए ।

स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर स्वास्थ्य मन्त्रीले सपना बाँडेको सांसद कार्कीको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कार्कीले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेको बताइन् । सांसद कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य बीमा अनिवार्य सुरू गर्नुपर्नेमा जोड दिइन् ।

उनले अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् । उनले भनिन्,‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन । यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौं ।’

‘विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन नकाट्न किन निर्देशन दिन्छ ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले कुलमानलाई बिहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ। उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे? बरु सम्मान गर्नुपर्छ।’

उनले विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? भन्दै प्रश्न गरे । महसुल नतिर्नेको लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको भन्दै आपत्ति जनाए ।

उनले प्रश्न गरे, ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ उनले दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङलाई ऊर्जा मन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएकोप्रति आपत्ति जनाए ।

सर्वोच्चको निर्देशन एकपक्षीय रहेको एनआरएनए बद्री केसी पक्षको आरोप

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको विषयलाई एनआरएनए डा.बद्री केसी पक्षले आपत्ति जनाएको छ ।

आइतबार संघको सचिवालयलाई पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएपछि डा.बद्री केसी समूहले अदालतको निर्देशनलाई एकपक्षीय र पूर्वाग्राही रहेको जनाएको हो ।

संघका महासचिव गौरिराज जोशीले सोमबार विज्ञप्ति जारी गर्दै फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्च अदालतको फैसलाको भावना विपरित क्षेत्राधिकार बाहिर गई सम्पूर्ण कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्तावेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गरिदिन भनी दिइएको निर्देशनप्रति संघले कानुनी उपचार खोज्ने बताए ।

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्न सरकारलाई सांसद प्रधानको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताए ।

“महेशपुरमा ५० लाख बराबरको चिनी जम्मा भएको छ । समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै रु पाँच लाख लाग्ने भयो”, उनले भने, “देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकललगायत सवारीसाधन खिया लागेको अवस्थामा छन् । सरकारको राजस्व खेर गइरहेको छ ।”

मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्न सरकारलाई सुझाव दिएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा उनले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गरिन् ।

सांसद झाले मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।

जर्मनीमा फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीको जित

बीबीसी । फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ ।

आइतबार भएको मतदानबाट चरम दक्षिणपन्थी दल ’अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ। यो दलले २० प्रतिशत मत पाएको छ ।

मेट्र्सको क्रिश्चन डेमोक्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको छ ।

‘आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ,’ मेट्र्सले खुसी मनाइरहेका आफ्ना समर्थकहरूलाई भने। उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताएका छन्।

प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकहरूको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो ।

मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ । सोमबार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ। सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशत मत कटाउने देखिएको छ।

युक्रेन युद्ध तेस्रो वर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

सोमबारको युरोपेली बैठकलाई उदृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।”

सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए ।

युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् ।

जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौं।”

नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताएका छन् ।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।

“यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने, “म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु।”

उनले युक्रेनको स्रोतसाधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताए । जेलेन्स्कीले भने, “युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेको छ ।”

ट्रम्प–पुटिन वार्ताप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै युक्रेनको सहभागिताबिना कुनै पनि शान्ति सम्झौता बेकार हुने उनले बताए । हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरबमा रुससँग छलफल गर्ने बताएका थिए ।

वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन । जेलेन्स्कीले युद्ध रोक्ने विषयमा हुने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

युक्रेनबाहेक धेरै युरोपेली देशले पनि यस्ता वार्तामा युक्रेनसँगै युरोपलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् । जेलेन्स्कीले पनि आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा रहेको बताएका छन् । उनी सम्झौतापछि रूसले भविष्यमा युक्रेनमाथि आक्रमण नगर्ने सुनिश्चितता गराउन चाहन्छन् ।

संविधानको पूर्ण कार्यान्वयनमार्फत् पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छः प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत सोमबार झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताए ।

कोच, शेर्पालगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनले स्पष्ट पारे ।

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले बताए ।

अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए । उनले त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्व र बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरुलाई सुझाव दिएका थिए।

न्हु पोखरी संरक्षण गर्न ललितपुर महानगरले भत्कायो अनधिकृत संरचना

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा भत्काएको छ । महानगरले सोमबार पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घरटहरा भत्काएको हो ।

अनधिकृत रूपमा बनेका संरचना भत्काउन डोजर चलाएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिएका छन् ।

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको जनाएको छ ।

प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै सञ्जाल विस्तार र व्यापार अवसरहरू सृजना गराउने विश्वास लिइएको छ ।
पोखरा प्रकृतिप्रेमीका साथै साहसिक गतिविधिमा रमाउनेका लागि गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि ८२२ मिटरको उचाइमा अवस्थित पोखरा तालहरूको सहर र हिमालय र पदमार्गको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ । यहाँबाट विश्वका १४ अग्लो चुचुराहरूमध्ये तीन धौलागिरी, अन्नपूर्ण–१ र मनास्लु हिमाल हेर्न सकिन्छ ।

‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभइ माइस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने पाटा नेपालले जनाएको छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोत बजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ लगायतका विषयमा पर्यटन विशेषज्ञहरुले ज्ञान आदनप्रदान गर्नेछन् । साथै प्रदर्शनीमा बिटुबी प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका सत्रहरु पनि आयोजना हुनेछन् ।

प्रदर्शनीले भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवर्द्धनका लागि पनि प्रदर्शनी सहयोगी बन्ने विश्वास गरिएको छ । कार्यक्रमले तीन देशबीच विशेष गरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गर्नेछ ।

पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पहिलो पटक करिब २० करोड पर्यटकको यात्रा व्यवस्थापन गर्ने नेपाल, भारत र चीनका विश्वप्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविद्हरू, तथा आयोजक संस्थाका अन्तरराष्ट्रिय प्रतिनिधिहरू पोखरामा भेला हुन महत्वपूर्ण र ऐतिहासिक क्षण भएको पोखरा महानरपालिका प्रमुख धनराज आचार्यले बताए ।

अन्तरराष्ट्रिय प्रदर्शनीले भविष्यमा अपेक्षित पर्यटकलाई आमन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । नेपाल, भारत र चीनबीचको पर्यटन, व्यापार, र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ छ ।

‘यो विशेष कार्यक्रम हाम्रो क्षेत्रीय सहकार्य र समृद्धिको सेतु बन्नेछ’, महानगर प्रमुख आचार्यले भने, ‘व्यापार, पर्यटन, र साझेदारीलाई बलियो बनाउन, हामी सबैको साथ र सहभागिता अपरिहार्य छ ।’

पोखराको पर्यटन प्रवद्र्धनमा प्रदर्शनी विशेष महत्वको हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । ‘एक्स्पोले पोखराको पर्यटकीय सभ्भावनालाई पनि थप उजागर गर्नेछ’, उनले भने, ‘पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धनसँगै त्रिदेशीय पर्यटकीय साझेदारीका लागि पनि यो महत्वपूर्ण उपलब्धि हुनेछ ।’ 

प्रहरी निरीक्षक सन्तोषी महत मृत्यु घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सन्तोषी महत मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ । कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा शनिबार राति महत मृत भेटिएकी थिइन् ।

घटना अनुसन्धानका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । पाँच सदस्य समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी आयोजना गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजनामा गरिएको प्रभातफेरिमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागी भएका थिए। पशुपति क्षेत्र विकास कोषको आयोजना भएको प्रभातफेरीमा कोषका पदाधिकारी, संस्कृत विद्याश्रमका विद्यार्थी, गुरुवर्ग र स्थानीयको सहभागिता थियो ।

पशुपतिको मूलढोकाबाट सुरु भएको प्रभातफेरी पिंगलास्थान, गौशाला र जयबागेश्वरी हुँदै मन्दिर परिसर परिक्रमा गरी पुनः मन्दिरको मूलढोकामा नै पुगेर समापन भएको थियो । प्रभातफेरीपछि मन्दिर परिसरको निरीक्षण गर्दै मन्त्री पाण्डेले पशुपति पुग्ने भक्तजनहरूलाई सहज दर्शनको व्यवस्था मिलाउन कोषलाई निर्देशन दिए।

महाशिवरात्रीको पूर्व सन्ध्याको सोमबारमा पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो थियो। दर्शनार्थीहरूलाई असुविधा नहोस् भनेर मन्त्री पाण्डे मूल मन्दिर परिक्रमा गरेर मात्र फर्र्किएका थिए ।

यसैबीच कोषले महाशिवरात्रिका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । बुधबार परेको महाशिवरात्रीमा नेपाल र भारतलगायतका देशबाट साधुसन्तहरू आउने क्रम जारी छ।

साधुसन्तका लागि खानेबस्ने सुविधाको प्रबन्ध गरिएको छ ।
शिवरात्रि (फाल्गुण कृष्ण चतुर्दशी)मा आउने साधुसन्तलाई धुनीका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ। शिवरात्रिको भोलिपल्ट औँसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिनेछ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। पशुपति दर्शनका लागि मन्दिर पुग्ने भक्तजनहरूको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको कोषले जानकारी दिएको छ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन सोमबार बढेर एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा माथिल्लो सदन दुईवटा दायित्वबाट मुक्त छः एउटा बजेट निर्माण र अर्को सरकार निर्माण । राष्ट्रियसभाको विधायिकी भूमिका अलिक बढी छ भन्ने अनुभव भयो । तुलनात्मक रुपमा यहाँ अनुभवी र लामो समयसम्म राजनीतिक क्षेत्रमा काम गर्नुभएका साथीहरु सभाको सदस्य बनेर आउनु हुँदो रहेछ । मूलतः सांसद नीति निर्माण गर्ने व्यक्ति हो तर नेपालमा त्यो अभ्यास अलि कम छ । सांसदको नीति निर्माणको भूमिका कस्तो हुन्छ भनेर अनुभव लिने हो भने एक पटक राष्ट्रियसभा सदस्य हुनुपर्छ जस्तो लाग्छ ।

हरेक सांसदले आफ्नो भूमिका देखाउने दुई ठाउँमा हुन्छः एउटा सदन, अर्को संसदीय समिति । राष्ट्रियसभाका सदस्यहरुले समितिमा धेरै मेहेनतका साथ काम गरिरहेका हुन्छन् । त्यो राम्रो पक्ष हो । प्रतिनिधिसभामा कोरम नपुगेर बैठक अवरुद्ध भएका समाचार सुन्नुपर्छ । तर राष्ट्रियसभामा त्यस्तो विरलै हुन्छ । सदस्यहरु समयमा आउने र सभा वा समितिका बैठकमा पूरै समय बस्नुहुन्छ । जुन जिम्मेवारी पाएका छन् त्यो पूर्ण इमानदारीका साथ काम गरेको जस्तो देख्छु ।

एउटा सदस्यको हैसियतले के नपुगेको जस्तो लाग्छ भने हामीले सरकारसँग प्रश्नोत्तर गर्नुपर्ने हो, तर विषयान्तर भएको देख्छु । हामीले सदनमा थुप्रै सार्वजनिक महत्वका जल्दाबल्दा प्रस्ताव दर्ता गराउन र छलफल गर्न सक्छौँ, त्यो गर्न सकेका छैनौँ । राष्ट्रियसभामा अहिलेसम्म महिला समिति गठन गर्न नसक्नु हाम्रो कमजोरी हो जस्तो लाग्छ । यी कमजोरीका बावजुद राष्ट्रियसभालाई प्रस्तुतिका आधारमा हेर्ने हो भने तुलनात्मक रुपमा राम्रो छ ।

सङ्घीयता कार्यान्वयनको कुरा हेर्ने हो भने दश वर्ष हुन लाग्यो । संविधान संशोधनको कुरा उठिरहेको छ, र मुलुकमा राजनीतिक स्थायित्व दिने, निर्वाचन प्रणालीमा सुधार गर्ने, आर्थिक विकास गर्ने, समावेशी पक्षलाई अझ सबल बनाउने जस्ता कतिपय विषयमा आवश्यक परेको खण्डमा कम्तीमा सदनमा रहेका दलहरुबीचको साझा सहमतिमा संशोधन गर्नुपर्छ ।

संविधानको समीक्षा गर्ने हो भने संविधानमा व्यवस्थित मौलिक अधिकारहरु लागू गर्नका निम्ति कानुनहरु अझै बन्न सकेका छैनन् । जस्तै, आमाको नामबाट नागरिकता दिने कानुन बनिसकेको छ तर अभ्यासमा लैजानका लागि फेरि एउटा विधेयक दर्ता गर्नुपर्ने अवस्था सृजना भएको छ । एउटा त संविधान लागू गर्नेगरी कानुन बनेका छैनन् र अर्को संविधान लागू गर्न बनेका कानुन पनि लागू भएका छैनन् । संविधानमा जेजति अधिकार लेखिएका छन् त्यसलाई थप परिस्कृत गर्ने गरी संविधान संशोधन हुनुपर्छ । पछाडि हट्ने गरी संविधान संशोधन हुनु हुँदैन ।

जहाँसम्म सङ्घीयता सबलीकरणको कुरा छ, सङ्घीयता लागू गर्नका निम्ति खासगरी स्थानीय सरकार अलि स्वायत्त प्रकृतिका छन्, आफ्ना क्षमता अनुसार काम गरिरहेका छन् । प्रादेशिक सरकारलाई बलियो बनाउन प्रहरी ऐन र निजामती सेवा ऐन आवश्यक छ । यी दुईवटा ऐन नबन्दासम्म उनीहरुले केही गर्नै सक्दैनन् । यी दुईवटा कानुन चाँडो बनुन् भनेर केन्द्र सरकारलाई झक्झक्याउन जोड पुगेन की ? अब सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन । अब हाम्रो देश सङ्घीयतामा गइसक्यो ।

त्यसलाई बलियो बनाउनुबाहेक हामीसँग अर्को विकल्प छैन । केन्द्र सरकार र केन्द्रीय संरचना पनि अब अलि सहिष्णु भएर खुला सोच लिएर सङ्घीयता बलियो बनाउने गरी अगाडि बढ्नुपर्छ । राष्ट्रियसभा त सङ्घीयताको पहरेदार नै हो । दुवै सदन, सरकार र राज्य सबैले सङ्घीयता सबलीकरणमा जुन प्रकारको भूमिका निर्वाह गर्नुपर्ने छ त्यसमा कमी देखिन्छ ।

केही समयअघि ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सूचकाङ्कमा नेपालको स्थान राम्रो छैन । यस्ता रिपोर्टले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि कस्तो रहेछ भन्ने देखाउँछ । भ्रष्टाचारको जुन रोग नेपालमा छ यसबाट पहिला उन्मुक्ति पाउनुपर्ने हुन्छ । बीचमा केही भ्रष्टाचार गरेका व्यक्ति जेल गए, केहीको नाम आए, केही अनुसन्धानमा तानिए ।

भ्रष्टाचार नियन्त्रण गर्न सक्यौँ भने स्वतः सुशासन हुन्छ । सर्वसाधारण जनताले पनि सही र गलत छुट्याउनु पर्दछ । जो खराब छ त्यो प्रवृत्ति उजागर हुनुपर्छ । भ्रष्टाचारलाई हटाइएन भने धनी र गरिबको खाडल अझ बढ्ने देखिन्छ । यसलाई नियन्त्रण गर्न सबैले मिलेर काम गर्नुपर्ने हुन्छ । भ्रष्टाचार भनेको पैसामात्र होइन आचरण पनि हो । आचरण स्वच्छ हुनुपर्यो । चाहे राजनीतिज्ञ होस् वा आमनगरिक सबैले आफ्नो सामाजिक दायित्व निर्वाह गर्नतिर ध्यान दिनुपर्यो । जसलाई जे काम दिएको छ त्यो पूर्ण इमानदारीको साथ गर्नुपर्यो ।

सांसद रेणु चन्दको परिचय

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी रेणु चन्द राष्ट्रियसभा सदस्य हुन् । उनले बैतडीबाट २०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेकी थिइन् । उनी अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्षका साथै पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुन् ।

कुराकानीमा आधारित

वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन पिक माविलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ ।

यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे । फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । खेल धुन्कमाण्डु, सिमलटारमा भएको थियो ।

खेल नकआउट प्रणालीबाट खेलाइएको थियो । कार्यक्रम समापन अवसरमा वडाध्यक्ष भुवन लामाले, युवाहरुको सिर्जनात्मक उर्जालाई जोगाउन र सहरी स्वास्थ्यको प्रवर्धन गर्न वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

वडासचिव कमल गौत्तमका अनुसार खेलमा सबैभन्दा धेरै ६२ स्कोर भएको थियो । छैटौँ खेलमा यो स्कोर गोल्डेन पिकले बौद्ध चिल्ड्रेन स्कूलविरुद्धको खेलमा गरेको थियो ।

सुनसरीमा असिना र हावाहुरीले गहुँबालीमा क्षति

आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका गहुँबाली। असिना तथा हावाहुरीका किसान मारमा परेका छन् ।

तस्बिर : नवीन गड्तौला / रासस

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् ।

अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।

दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

पाथीभरामा केबलकार निर्माणको विवादलाई सरकारले वार्ताबाट समाधान खोज्नुपर्छ

-डा. युवराज संग्रौला ।

पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा परिणत हुने खतरा पैदा भइरहेको छ । कुनै परियोजना बन्दा, त्यसको आर्थिक लाभ मात्र हेरिँदैन । सबैलाई हेक्का होला नि भारतमा नर्वदा बाँध बनाउने परियोजनाका विरुद्धमा बहुगुणाको आन्दोलन । अहिले पाथीभरा पनि विवादको घेरामा छ । यसको समाधान खोज्नु सरकारको दायित्व हो । तर सरकार निर्माताको पक्षमा उभिएको देखिन्छ, सरकारले के बुझ्नु पर्छ भने ‘देशका मालिक नागरिक हुन्’। राज्यका शासक जनताका मालिक होइनन् । अतः

१. अहिलेलाई तत्काल निर्माण बन्द गरेर बौद्धिकहरु, संस्कृतिविदहरु, वातावरणविदहरुलाई मुकुक्लुङ्ग पठाएर अध्ययन गर्न र वातावरण शान्त पार्न आह्वान गर्नुहोस् । आगोमा घिउ नथप्नुहोस्, गाउँमा जनता कुटेर ।

२. सरकारका प्रतिनिधिले जनताका के तर्क हुन् सुन्नुपर्यो धैर्यताका साथ। विज्ञहरुले ती तर्कको विश्लेषण गर्छन् तब मात्र वार्ताका बुँदा तयार हुन्छन् । वार्ता भनेको फकाएर काम फत्ते गर्ने परिपन्च होइन ।

३. परिस्थितिलाई सहज पार्न मेलमिलाप विज्ञहरुलाई पठाउनुहोस् । जनता भेडाबाख्रा होइनन् । सरकारमा बस्नेका हिजो राजा हुँदा नागरिक प्रजा थिए। अहिले दलतन्त्रमा नागरिकले झोले हुनुपर्ने बाध्यता छ। हिजो एमसीसीका समयमा पनि जनता कुटिकुटी पास गर्नुभयो । खोइ आज देउवा, माधव र प्रचण्डको व्याख्यात्मक टिप्पणी ? यी घटना किन घटिरहेका छन् ? एकातिर देश वित्तीय पुँजीवादको बन्धक बनेको छ भने अर्कोतिर लोकतन्त्रका नाममा नागरिकतन्त्रको उन्नयन गर्ने होइन दलतन्त्र खडा गरिएको छ । अनि देशको समृद्धिको उपाय खोज्ने र उन्नत राज्यव्यस्थाको निर्माण कसरी हुन्छ भन्ने बहस कतै छैन ।

तत्काल निर्माणको काम बन्द गरी सद्भाव निर्माणको काममा ध्यान दिनुहोस् । अन्यथा ताप्लेजुङ्ग, पाँचथर, इलाम र तेह्रथुमका सबै जनताले सामूहिक निर्णयको अह्वान गर्नुपर्ने परिस्थिति आउन सक्छ । यो कुरालाई राजनीतिकरण नगर्नुले नै सबैको कल्याण हुन्छ । केही अभद्र चाहना पोख्ने खेल हुनसक्छ। अभियन्ताहरु सजग हुनुहोस् ।

स्टारलिङ्कको पहुँच कटौती भएमा ‘विकल्प’ मा काम गर्दै किएभ

किएभ । युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न सक्ने खबरहरू आएपछि अग्रपङ्क्तिको स्याटेलाइट सञ्चारका लागि अमेरिकी अपरेटर स्टारलिङ्कको विकल्पहरू खोजिरहेको बताएका छन् । 

मिडिया रिपोर्टका अनुसार किएभले युक्रेनी महत्त्वपूर्ण स्रोतहरूमा वासिङ्टनलाई अधिकार दिने सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेमा वासिङ्टनले युक्रेनी सेनाका लागि महत्त्वपूर्ण सञ्चार नेटवर्कमा युक्रेनी पहुँचमा बाधा पुर्याउने धम्की दिएको छ ।

“हामीले पहिले नै यसमा काम गरिरहेका छौँ । त्यहाँ विकल्पहरू छन् । त्यहाँ एउटा समाधान छ, त्यहाँ एउटा विकल्प छ”, उमरोभले किएभमा पत्रकार सम्मेलनमा भने ।

युक्रेनले वासिङ्टनले तयार पारेको महत्त्वपूर्ण खनिज सम्झौताले किएभको हित सुनिश्चित गर्न असफल भएको र देशका लागि आवश्यक सुरक्षा ग्यारेन्टीको अभाव रहेको बताएको छ ।

स्टारलिङ्कको मालिक डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकाले युक्रेनी पहुँच रोक्ने धम्की दिएको भन्ने रिपोर्टलाई अस्वीकार गर्दै सामाजिक सञ्जालमा लगाइएका आरोपहरूलाई ‘झुटो’ भनेका छन् । 

रुसको कब्जामा रहेको तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी ‘महत्त्वपूर्ण’ स्रोतहरू रहेको किएभको भनाई

किएभ । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले  बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ ।


किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ ।


तर युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ ।


“दुर्भाग्यवश, अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ”, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने ।


उनका अनुसार भण्डारहरूको केही तथ्याङ्कहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्याङ्कमा आधारित छ ।


राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरू जस्ता महत्त्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् । तिनीहरू इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्त्वपूर्ण छन् ।


ट्रम्प र उनका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


युक्रेनको एक स्रोतले एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन ‘तयार छैनन्’ ।


उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए । “कसैले पनि केही अस्वीकार गरेका छैनन् । सामान्य कार्य प्रक्रिया चलिरहेको छ र यसमा एक दिन वा महिना लाग्न सक्छ”, उनले भने । 

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ ।

यसका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गर्ने संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले जानकारी दिए ।

महाशिवरात्रिमा यहाँ आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि संस्थानले बस्ने, खाने र धुनी जगाउन दाउराको व्यवस्था गर्ने परम्परा छ । यसरी राखिएकालाई संस्थानले फागुन कृष्ण औँसीका दिन स्तरअनुसार दक्षिणासहित बिदाई गर्ने परम्परा पनि छ । महाशिवरात्रिका लागि मित्रराष्ट्र भारतबाट हजारौँ साधुसन्त आउने गरेका छन् ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तका लागि बस्ने, खाने र धुनी जगाउन दाउरा दिन फागुन कृष्ण एकादशीका दिन राष्ट्राध्यक्षले सङ्कल्प पूजा गर्ने विधि रहेको छ । सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा सङ्कल्प पूजा गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।

सङ्कल्प पूजामा राडी, कमण्डलु, चमर, खाद्य सामग्रीलगायत साधु सन्तलाई दिइने चीजबीज राखिने संस्थानले जनाएको छ । यस वर्ष भारतको प्रयागराजमा जारी कुम्भ मेलाका कारण त्यता स्नान गरी भक्तजन यता पनि बढी नै आउने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमाबीचको खेल बराबरी

काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आइतबार भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल २–२ गोलको बराबरी खेलेका हुन् । 

दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।  

पहिलो हाफमा खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेलको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । उनले खेललाई १–१ गोलको अवस्थामा पुर्याइन् ।  

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । यसअघि नेपाल र म्यानमाले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमाबीच बुधबार फाइनल खेल हुने छ ।  

शेष घलेको उच्चस्तरीय समितिलाई कार्यालय बुझाउन बद्री केसी पक्षलाई सर्वोच्चको पत्र

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिलाई संघको कार्यालय बुझाउन बद्री केसी पक्षलाई निर्देशन दिएको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार संघलाई पत्र पठाउँदै उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको हो । उच्चस्तरीय समितिको संयोजक पूर्वअध्यक्ष शेष घले रहेका छन् ।

तर, संघको बालुवाटारस्थित सचिवालयबाट बद्री केसीले कामकारबाही गर्दै आएका छन् । एकता महाधिवेशन गराउने जिम्मा अदालतले दिएपनि घलेले हालसम्म संघमा प्रवेश पाउन सकेका छैनन् ।

तन्नेरीले हाँकेको ‘परशुराम’

टीकाराम सुनार, काठमाडौं ।  भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित पर्शुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाका बीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । त्यो पनि पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा ।

पार्टीले विश्वास गर्‍यो तर जनताले के गर्लान् ? धेरैको मनमा प्रश्न थियो । जोशी भने चुनाव जित्नेमा ढुक्क । पुरानो पार्टीमा टिकट पाउनु नै जितको सुरुवात ठानेका उनमा जनमत पाउने अझ बढी आत्मविश्वास थियो । त्यसको आधार थियो, कोरोना महामारीका समयमा जनताको घरघरमा पुगेर औषधोपचारलगायत तत्कालीन समस्या नजिकबाट नियाल्नु र समाधानमा भूमिका खेल्नु । सङ्कटका बेला साथ दिएका जोशी धेरैजसो स्थानीयका लागि परिचित नै थिए । अपरिचितमा पनि चुनावी अभियानकै क्रममा आफ्नो मुद्दा बुझाएर आशाको दियो जगाए । फलतः निर्वाचनमा विजयी भए ।

देशभर युवापुस्ताको प्रतिनिधित्वको प्रश्न । त्यहीबेला पुरानो लोकतान्त्रिक पार्टीबाट सम्भवतः देशभरकै तन्नेरी (कान्छो) उम्मेदवारको जित । चर्चा थप चुलियो । पार्टीको साधारण कार्यकर्ता, राजनीतिमा नयाँ नयाँ । धेरैलाई चासो थियो, अब नगरमा के हुन्छ भनेर । ‘युवा एजले होइन, एजेन्डा’ले हुने हो भनेर बहस हुने पार्टीमा त झन् चासो हुने नै भयो । यही चर्चा र चासोका बीच उहाँको आधा कार्यकाल बित्यो । उल्लेखित संशय र प्रश्नको जवाफ कसरी दिइरहेका छन् त जोशीले ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘एकाध वर्षमा धेरै परिणाम खोज्न थालियो भने हामी सबै त्यसैमा अल्मलिन्छौँ । त्यसैले विकास भनेको ठूला भवन र पूर्वाधार, चिल्लो सडक र यस्तै कुरालाई सम्झिने परिपाटी छ तर हामीले यहाँको सर्वाङ्गीण विकासको कुरा गरिरहेका छौँ । त्यो भनेको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक जागरण, उद्यमशीलता, नवप्रवर्तन र सामूहिक भावनालाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हाम्रो सोच छ, सोहीअनुसार काम गरिरहेका छौँ ।’

यही सोचका कारण सकेसम्म आफूले फरक अभ्यास गर्न खोजेको नगरप्रमुख जोशीको दाबी छ । स्थानीय जनजीवनलाई केन्द्रमा राखेर स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, पूर्वाधार, खेलकुद र सामाजिक जागरणका काम सँगसँगै अगाडि बढाइएको उनको भनाइ छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सेवामार्फत समाज सेवामा जुटेका जोशीले नगरप्रमुख भएपछि नागरिकमा गुणस्तरीय स्वास्थ्य पहुँच विस्तारमा जोड दिएको बताए । ‘त्यसका लागि नगर अस्पताल सुधारमा लागियो । हाल एक एमडी र तीन जना एमबिबिएस चिकित्सकमार्फत सेवा प्रवाह, बहिरङ्ग सेवा विस्तार, दन्तसेवा प्रवाह, वडामा डाक्टर, नगर क्षेत्रका विद्यार्थीको स्वास्थ्य विवरण तयार गरी विद्यालयमै स्वास्थ्य जाँच, गर्भवतीलाई अन्यत्र रेफर गरे निःशुल्क एम्बुलेन्स सेवा दिने काम भइरहेका छन्’, उनले सुनाए ।

जोशीले घरघरमा सिंहदरबारको नीतिअनुसार सम्भव भएसम्म सबैजसो सेवा वडाबाटै प्रवाहका लागि पहल गरेका छन् । हाल सामाजिक सुरक्षा भत्ता, योजना सम्झौता, बैंक खाता सञ्चालन र रकम भुक्तानीको काम वडाबाटै सुरु भएका छन् । शिक्षा सुधारका लागि सामुदायिक विद्यालय सुधार, उच्च शिक्षाका लागि विद्यार्थी सहुलियत कर्जा, छोरी बुहारी छात्रवृत्ति कार्यक्रम, एक करोड ६० लाख बढीको आधुनिक पुस्तकालय, गाउँमै लोकसेवा कक्षा, युवालाई ‘करियर काउन्सिलिङ’ जस्ता कार्यक्रम अगाडि बढाइएका छन् ।

यसका अतिरिक्त उज्यालो नगर, पर्शुराम साहित्य महोत्सव, खेलकुदको प्रवर्द्धनका लागि भलिबल, क्रिकेटमा आफ्नै टोली, बन्द प्रशिक्षणजस्ता कार्यक्रम कार्यान्वयन भइरहेका छन् । पर्शुराम गौरव योजनाअन्तर्गत क्रिकेट रङ्गशाला, कबर्डहल, धार्मिक पर्यटन विकासका लागि पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण योजना, महाकालीमा जलपर्यटन विकासका लागि स्थानीय युवालाई ‘र्‍याफ्टिङ गाइड तालिम’ दिएर स्वरोजगार बनाउने प्रयासको थालनी भएको छ ।

आफ्नो पालिकामा नागरिकलाई दिने सुविधाबारे चिन्ता त छँदैछ, समग्र सुदूरपश्चिमका विकास प्राथमिकता र सम्भावनाबारे सामूहिक चिन्तनको विकासमा पनि पर्शुराम अगाडि छ । गत पुस १५ र १६ मा सम्पन्न पहिलो सुदूरपश्चिम मेयर फोरमसमेत त्यसैको उपज हो । ‘हाम्रो प्रदेशमा ८८ वटा पालिका छन् । हामीभन्दा धेरै अनुभवी, स्रोतसाधन सम्पन्न पालिका त अरु पनि छन् तर यो सामूहिक भावनाको विकासको सुरुआत पर्शुरामले नै गरेको छ’, नगरप्रमुख जोशीले भने, ‘पछिल्लो समय खेलकुदमा युवाको लगाव बढ्दै छ । पर्शुरामको पहिचानका लागि भलिबल र क्रिकेटमा आफ्नै टोली बनाएका छौँ । हालसम्म हाम्रो टोली सहभागी भएका खेलमा राम्रो नतिजा आइरहेको छ ।’

फरक पार्टीबाट भए पनि युवा नै छन् उपप्रमुख विमलाकुमारी बोहरा । हाल प्रमुख प्रशासकीय अधिकृत रहेकी कल्पना भट्ट पनि उस्तै । उमेरले मात्रै होइन, कामले पनि तन्नेरी भएको देखाउनु छ नगरप्रमुख जोशीको टोलीलाई ।

प्रमुख प्रशासकीय अधिकृत भट्ट स्थानीय सम्भावनाको प्रवर्द्धन, युवा जनशक्ति, कृषि, धार्मिक पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले काम गरिरहेको बताउँछिन् । स्थानीय आवश्यकता सम्बोधनका साथै पर्शुरामको पहिचान निर्माणका लागि रचनात्मक कार्यक्रम पनि अगाडि बढिरहेका उनले बताए । ‘यहाँका गाउँघरमा अहिले महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै देखिन्छन् । हुन त यो देशकै समस्या हो । यो भित्री मधेश हो, तराईबाट नजिक र पहाडसमेत भएको हिसाबले उत्पादनको राम्रो सम्भावना छ । भारत पनि जोडिएकाले व्यापारको त्यत्तिकै सम्भावना छ । सुन्तला, आलु, सिड फ्रुटहरूलगायतको उत्पादन राम्रो हुन्छ । पशुपालन (भेडा, बाख्रा) को प्रचुर सम्भावना छ । युवालाई यही रोक्न सकियो भने धेरै काम गर्न सकिन्छ । यसमा हाम्रो प्रयास जारी छ’, उनले भने ।

भट्टले हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्शुरामधामको विकास, महाकाली नदीको जलस्रोतको उपयोगका विषयमा पनि काम भइरहेको बताए । उनले भने, ‘पारीको पूर्णागिरिमा त्यत्रो भीड हुन्छ, पर्शुरामधाममा नहुने भन्ने होइन । महाकाली नदीमा पुल र पर्शुरामधामलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसक्यो भने त्यो सम्भावना यहाँ पनि छ । त्यसैले पर्शुरामधाम सौन्दर्यीकरण तथा पूर्वाधार निर्माण, शिवालयमा धार्मिक बगैँचा, गौशाला र धर्मशाला, ताल निर्माणका काममा लगानी बढाइरहेका छौँ ।’

नगरपालिकाले उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई) वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिनाब्याजमा कर्जा दिइरहेको छ । नगरपालिकाको १४औँ नगरसभाबाट पारित निर्णयअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिनाब्याजमा रू पाँच लाखसम्म कर्जा दिन थालिएको हो ।

आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई बिनाब्याज कर्जा दिन थालिएकामा हालसम्म यसबाट ३० जना लाभान्वित भएका छन् । 

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् ।

अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उद्धार गरिएको हो ।

पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

जेरुसेलम। इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी शिविरलाई सेनाले ‘खाली’ गरेको जनाएको छ । शिविरमा आगामी एक वर्षसम्म अन्य बस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ ।

‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर शम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भने, ‘मैले सेनालाई खाली शिविरहरूमा लामो समयको उपस्थितिको लागि तयारी गर्न र त्यहाँका बासिन्दाहरूको फिर्ती र आतङ्कवादको पुनरुत्थान रोक्न निर्देशन दिएको छु।’

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिबद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् ।

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौँ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ ।

बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भए पनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाइ गरेको छ ।

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले त्यसको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना एजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए ।

“अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्याउने काम कहीकतैबाट हुनु हुँदैन”, सांसद बाँस्कोटाले भने, “नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो? सोबारे स्पष्ट हुनु जरुरी छ ।”

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म छ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति–कति रकम कहाँ खर्च भयो ? भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे ।

“कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ”, सांसद बाँस्कोटाले भने, “प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।” उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याए ।

इजरायल र हमासबीच आरोप–प्रत्यारोप, इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् ।

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भएपनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाई गरेको छ ।

युद्धविरामको पहिलो चरण जनवरी १९ मा सुरु भएयता हमासले गाजाका विभिन्न स्थानमा भेला भएका समारोहबीच २५ जना जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ ।

सशस्त्र नकाबपोश लडाकुहरूले बन्दीहरूलाई नाराले सजिएका मञ्चहरूमा राख्ने, सम्बोधन गर्न लगाउने र हात हल्लाउन लगाएर विदाइ गर्नेजस्ता कार्यप्रति इजरायलले आपत्ति जनाएको हो ।

रेडक्रसले यसअघि ‘सबै पक्ष’लाई ‘सम्मानजनक र निजी’ तरिकाले बन्धक र बन्दीको आदानप्रदानका लागि आग्रह गरेको थियो ।

सातौं समूह अन्तर्गत हमासले शनिबार छ जना इजरायली बन्दीलाई रिहा गरेको थियो तर इजरायलले बदलामा प्यालेस्टिनी कैदीलाई रिहा गर्न रोकेको थियो ।

–आरोप–प्रत्यारोप–

मार्चको सुरुमा समाप्त हुने भनिएको पहिलो चरणको युद्धविराम सम्झौता अन्तर्गत कैदी आदानप्रदानमा ढिलाइ हुनुलाई प्यालेस्टिनी लडाकू समूह हमासले युद्धविराम सम्झौताको ‘घोर उल्लङ्घन’ भनेको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासले सहमतिका बुँदालाई पटक–पटक उल्लङ्घन गरेको र हाम्रा बन्धकहरूको अपमान गर्ने लज्जाजनक समारोह र प्रोपोगान्डाका लागि बन्धकहरूको निन्दनीय प्रयोगलाई ध्यानमा राख्दै ‘आतङ्कवादी’हरूको रिहाइमा ढिलाइ गर्ने निर्णय गरिएको छ ।”

“अपमानजनक समारोह बिना अर्को बन्धकहरूको रिहाई सुनिश्चित नभएसम्म यो ढिलाइ जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, वासिङ्टनबाट अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हमासले बाँकी रहेका सबै बन्धकलाई रिहा नगरे समूह ‘ध्वस्त’ हुने चेतावनी दिएका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको थियो । प्यालेष्टिनी लडाकू समूहहरूको दक्षिणी इजरायलमा भएको उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने इजरायलको जवाफी कारबाहीमा ४८ हजारभन्दा बढीको मृत्यु भएको दुवै पक्षका आँकडाहरूले देखाएका छन्। 

केपी ओली कप उद्घाटन समारोह(फोटोफिचर)

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओली आइतबार ७४ वर्ष लागेका छन् । ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर प्रधानमन्त्रीले ओली कपको शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी

बैतडी । प्रधानमन्त्री कप   पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । 

दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई  ११ रनले हरायो । जितका लागि पाएको एक ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन  बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

पहिला ब्याटिङ गरेको दार्चुला २४.४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे । 

प्रतियोगिताको  प्रारम्भ नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले  उद्घाटन गरेको थियो । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी,उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह,बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए ।
 
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम  प्रदेशका आठ टोलीबीच स्पर्धा हुँदैछ ।

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जोडियो

जानकी। जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, वासस्थान, संरक्षण, विविध गतिविधि अलोकन गर्ने उद्देश्यले क्यामेरा जडान गरिएको हो । 

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुप्रै कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए । 

उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिन अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

‘जिल्लाका विभिन्न ठाउँमा गरी आठ वटा नर्सरीबाट स्थानीय मागअनुसारको उच्च मूल्यका बिरुवा उत्पादन गर्न सुरु भइसकेको छ’, वन अधिकृत गुप्ताले भने, ‘आठ वटै नर्सरीमा आठ लाख बिरुवा उत्पादन गर्न सुरु भएको छ । कुनै ठाउँमा बिरुवा छर्ने तयारी गरिएको छ भने कुनै ठाउँमा बिरुवालाई प्लास्टिकमा राखेर सुरक्षित गर्ने काम गरिएको छ ।’ सहरी क्षेत्रमा लगाउने बिरुवाहरू उत्पादन गरिएको पनि उनले बताए ।  

राप्तिसोनारी–९ ढकेरीमा वनक्षेत्रको अतिक्रमण हटाएर बनाइएको उच्च प्रविधिको नर्सरीलाई श्रीखण्डको बिरुवा उत्पादनका लागि विशेष रूपमा निर्माण गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए । करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात टहरा हटाएर उक्त हाइटेक नर्सरी निर्माण गरी चालु आर्थिक वर्षदेखि श्रीखण्डको बिरुवा उत्पादन सुरु गरिएको उनले बताए । उनका अनुसार जिल्लामा आयआर्जनका लागि सामुदायिक वनमा लाहा खेती पनि सुरु गरिएको छ । 

बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको गुप्ताले बताए । 

‘हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौँ । यसले बाघको सङ्ख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ । साथै बाघ र आहारका प्रजाति पनि के–कति छन् ? भन्ने जानकारी लिन सकिन्छ ।’ उनले भने । यसरी क्यामेरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उनका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ । 

जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सञ्जय कँडेलले कम्दी करिडोरमा जडान गरिएको क्यामेरा ट्र्यापिङले यस क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने बताए । 

‘जैविक मार्ग भनेको आफैँमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हो । बाघ तथा अन्य वन्यजन्तुहरू कुन दिशाबाट विचरण गरेका छन् भन्ने कुराको अध्ययन गर्न सजिलो हुन्छ’, उनले भने, ‘आहार प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी प्राप्त हुन्छ ।’

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले स्थानीय सरकारले ऐन र कार्यविधि बनाएर वन वातावरण र जैविक विविधताका क्षेत्रमा काम गर्दै आएका बताए । 

वन र वन्यजन्तुको उचित संरक्षणसँगै पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सबैको समन्वयात्मक प्रयास आवश्यक हुनुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले वन्यजन्तुको व्यवस्थापन, वासस्थान र संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।’ 

व्यवस्थापनका लागि प्राविधिक सहयोग बाँके र बर्दियास्थित राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाबाट आर्थिक सहयोग लिइएको उनले जानकारी दिए । 

‘बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको सङ्ख्या निर्धारण गर्ने एउटा प्रमुख तत्त्व आहार प्रजाति भएको हुनाले अनुगमनमा पनि आहार समावेश गरिएको हो’, जेडएसएलका कार्यक्रम अधिकृत कँडेलले भने । 

उनका अनुसार अहिले बाघ तथा आहार प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर वन क्षेत्रमा ९५ वटा क्यामेरा जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामराबाट अनुगमन गरिने र प्राप्त विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।  

ज्ञानेन्द्रले फेरि राजा बन्ने प्रयास गरे पूर्वराजाको हैसियत समेत गुम्छः वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग लिन सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा गौतमले फेरि राजा बनाउ भन्नु उचित नभएको भन्दै दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।

उनले भने, ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन । तपाईंले पुनः राजा बन्ने चाहना त्याग्नुस् र आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् ।’

उनले फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने बताए । गौतमले मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्ने बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

प्रहरी प्रधानकार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार

काठमाडौँ । गृहमन्त्रालयले दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।

“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने–“ डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र प्रभावकारी रुपमा डेस्क सञ्चालन एवं व्यवस्थापन गर्न भनेका छौँ ।”