`

प्रधानमन्त्री कप क्रिकेट सुरु, उद्घाटन खेलमा दार्चुला विजयी

बैतडी । प्रधानमन्त्री कप   पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा सुरु भएको छ । 

दशरथचन्द क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई  ११ रनले हरायो । जितका लागि पाएको एक ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन  बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

पहिला ब्याटिङ गरेको दार्चुला २४.४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे । 

प्रतियोगिताको  प्रारम्भ नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले  उद्घाटन गरेको थियो । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी,उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह,बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए ।
 
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम  प्रदेशका आठ टोलीबीच स्पर्धा हुँदैछ ।

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जोडियो

जानकी। जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, वासस्थान, संरक्षण, विविध गतिविधि अलोकन गर्ने उद्देश्यले क्यामेरा जडान गरिएको हो । 

जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुप्रै कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए । 

उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिन अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

‘जिल्लाका विभिन्न ठाउँमा गरी आठ वटा नर्सरीबाट स्थानीय मागअनुसारको उच्च मूल्यका बिरुवा उत्पादन गर्न सुरु भइसकेको छ’, वन अधिकृत गुप्ताले भने, ‘आठ वटै नर्सरीमा आठ लाख बिरुवा उत्पादन गर्न सुरु भएको छ । कुनै ठाउँमा बिरुवा छर्ने तयारी गरिएको छ भने कुनै ठाउँमा बिरुवालाई प्लास्टिकमा राखेर सुरक्षित गर्ने काम गरिएको छ ।’ सहरी क्षेत्रमा लगाउने बिरुवाहरू उत्पादन गरिएको पनि उनले बताए ।  

राप्तिसोनारी–९ ढकेरीमा वनक्षेत्रको अतिक्रमण हटाएर बनाइएको उच्च प्रविधिको नर्सरीलाई श्रीखण्डको बिरुवा उत्पादनका लागि विशेष रूपमा निर्माण गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए । करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात टहरा हटाएर उक्त हाइटेक नर्सरी निर्माण गरी चालु आर्थिक वर्षदेखि श्रीखण्डको बिरुवा उत्पादन सुरु गरिएको उनले बताए । उनका अनुसार जिल्लामा आयआर्जनका लागि सामुदायिक वनमा लाहा खेती पनि सुरु गरिएको छ । 

बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको गुप्ताले बताए । 

‘हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौँ । यसले बाघको सङ्ख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ । साथै बाघ र आहारका प्रजाति पनि के–कति छन् ? भन्ने जानकारी लिन सकिन्छ ।’ उनले भने । यसरी क्यामेरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उनका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ । 

जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सञ्जय कँडेलले कम्दी करिडोरमा जडान गरिएको क्यामेरा ट्र्यापिङले यस क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने बताए । 

‘जैविक मार्ग भनेको आफैँमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हो । बाघ तथा अन्य वन्यजन्तुहरू कुन दिशाबाट विचरण गरेका छन् भन्ने कुराको अध्ययन गर्न सजिलो हुन्छ’, उनले भने, ‘आहार प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी प्राप्त हुन्छ ।’

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले स्थानीय सरकारले ऐन र कार्यविधि बनाएर वन वातावरण र जैविक विविधताका क्षेत्रमा काम गर्दै आएका बताए । 

वन र वन्यजन्तुको उचित संरक्षणसँगै पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सबैको समन्वयात्मक प्रयास आवश्यक हुनुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले वन्यजन्तुको व्यवस्थापन, वासस्थान र संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।’ 

व्यवस्थापनका लागि प्राविधिक सहयोग बाँके र बर्दियास्थित राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाबाट आर्थिक सहयोग लिइएको उनले जानकारी दिए । 

‘बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको सङ्ख्या निर्धारण गर्ने एउटा प्रमुख तत्त्व आहार प्रजाति भएको हुनाले अनुगमनमा पनि आहार समावेश गरिएको हो’, जेडएसएलका कार्यक्रम अधिकृत कँडेलले भने । 

उनका अनुसार अहिले बाघ तथा आहार प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर वन क्षेत्रमा ९५ वटा क्यामेरा जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामराबाट अनुगमन गरिने र प्राप्त विवरण सार्वजनिक गरिने उनको भनाइ छ ।  

ज्ञानेन्द्रले फेरि राजा बन्ने प्रयास गरे पूर्वराजाको हैसियत समेत गुम्छः वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग लिन सुझाव दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा गौतमले फेरि राजा बनाउ भन्नु उचित नभएको भन्दै दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।

उनले भने, ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन । तपाईंले पुनः राजा बन्ने चाहना त्याग्नुस् र आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् ।’

उनले फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने बताए । गौतमले मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्ने बताए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

प्रहरी प्रधानकार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार

काठमाडौँ । गृहमन्त्रालयले दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।

“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने–“ डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र प्रभावकारी रुपमा डेस्क सञ्चालन एवं व्यवस्थापन गर्न भनेका छौँ ।”

फुटबल प्रतियोगिताको उद्घाटनमै प्रधानमन्त्री ओलीले काटे बर्थ डे केक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ७४ वर्ष लागेका छन् । उनी ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ ।

यसपटक अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम राखिएको छैन । केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स पुगेका उनले त्यहीँ शुभकामना साटासाट गरेका हुन् । त्यहाँ आयोजक युवा संघ नेपालले ओलीलाई जन्मदिनको शुभकामना दिँदै केटको व्यवस्था गरिदिएको थियो ।

आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका थिए, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्मिएका थिए ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेका संस्थापकमध्ये एक हुन्। उनी २०७१ असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमाले अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको नेतृत्व गरिरहेका छन् ।

०७८ मंसिरमा चितवनमा भएको दशौँ महािधवेशनमा फेरि अध्यक्ष भएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा गत असार ३१ गतेदेखि प्रधानमन्त्रीको भूमिकामा छन् ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता शेयर एक लाख आठ हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार छ सय १२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, लगानी एक दशमलव ३३, जीवन बिमा शून्य दशमलव ८६, उत्पादन तथा प्रशोधन दुई दशमलव ७८, म्युचुअल फण्ड शून्य दशमलव शून्य दुई, निर्जीवन बिमा शून्य दशमलव १३ र अन्य समूह तीन दशमलव ७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव ४५, होटल तथा पर्यटन शून्य दशमलव ५०, जलविद्युत् शून्य दशमलव ५६, लघुवित्त शून्य दशमलव ६६ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य सात दशमलव २४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको  ९५ करोड ६४ लाख ५१ हजार तीन सय ६६ बराबरको नौ लाख ९० हजार छ सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

घोराही उपमहानगरपालिकाको कर वृद्धिको निर्णयको किन भइरहेको छ विरोध ?

दाङ । दाङको घोराही उपमहानगरपालिकाले १३७ प्रतिशतसम्म गरेको कर वृद्धि र फोहरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयले नगरवासी असन्तुष्ट बनेका छन् । उपमहानगरपालिकाको पछिल्लो निर्णयले जनतामा थप आर्थिक बोझ थपिएको भन्दै नगरवासी असन्तुष्ट बनेका छन् । उपमहानगरले नगरवासीलाई सहुलियत दिनुपर्नेमा ठेकेदारलाई फाइदा पुग्ने गरी राजस्व संकलन गर्ने नीति लिएको आरोप नगरवासीले लगाएका छन् । ठेकेदारलाई १० रुपैयाँ लागतमा छापिएको कार्ड १०० रुपैयाँमा बेच्ने अवसर दिनु अन्यायपूर्ण भएको गुनासो नगरवासीको छ ।

सानो व्यवसाय सञ्चालन गर्ने व्यक्तिले घरमै गरेको व्यापारका लागि घर तथा पसल दुबैको फोहर कर तिर्नुपर्ने, व्यवसाय दर्ता, घर निर्माण, नक्सा स्वीकृति, सम्पत्ति कर, फोहर करलगायतका अतिरिक्त करले जनतालाई आर्थिक बोझ थोपरिएको भन्दै फिर्ता लिन नगरवासीले माग गरेका छन् ।

नेपाली क्रिकेट टीमका म्यानेजरसमेत रहेका प्रदीप मजगैयाँले कर वृद्धिको निर्णय अस्वीकार्य रहेको बताएका छन् । उनले उपमहानगरको निर्णयको सामाजिक संजालमार्फत विरोध गरेका छन् ।

यस्तो छ मजगैयाँको भनाई

राज्यको मुख्य भूमिका जनतालाई सेवा, सुविधा, र राहत प्रदान गर्नु हो, र संघीयताको मर्म समावेशी शासन र सामाजिक न्याय स्थापना गर्नु हो । तर, घोराही उपमहानगरपालिकाले हालै १३७ प्रतिशत कर वृद्धि गरेको र फोहरमैला व्यवस्थापन निजी क्षेत्रलाई दिइएको निर्णयले जनतालाई थप आर्थिक बोझ र सार्वजनिक सेवाको पहुँचमा असमानता ल्याउने खतरा सिर्जना गरेको छ । कोभिड र आर्थिक मन्दीका कारण प्रभावित जनतासँग २९ प्रतिशत सेवा शुल्क घटाउन सकिने आधार हुँदाहुँदै पनि राहत दिनुको साटो नगरले ठेकेदारबाट उठेको राजस्व आफैं पाउने सम्झौता अन्यायपूर्ण छ ।

१० रुपैयाँमा छापिएको कार्ड १०० रुपैयाँमा बेचेर लाखौं मुनाफा कमाउने अवसर ठेकेदारलाई दिइनु पूर्णरूपमा गलत छ।
सबैभन्दा अन्यायपूर्ण पक्ष भनेको सानो व्यवसायी र घरधनीलाई दोहोरो कर लगाउनु हो। एउटा सानो घर भएको व्यवसायीले घरमै गरेको पसलको र घर दुबैको फोहरको कर तिर्ने र फोहर नै निस्कँदैन भने पनि पसलको फोहर शुल्क तिर्नुपर्ने अवस्था सिर्जना गरिएको छ । त्यसका साथै, व्यवसाय दर्ता गर्दा अर्को कर, घर बनाउँदा कर, नक्सा कर, सम्पत्ति कर, फोहर कर जस्ता विभिन्न करहरूको बोझ पनि ? यसरी जनतालाई दोहोरो–तेहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना गर्नु भनेको सरासर अन्याय हो ।

२०७५ मा घोराही उपमहानगरपालिका, ऊर्जा विकास कम्पनी, र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौताअनुसार लाखौ खर्च गरेर स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले फोहरको अभावमा खेर जाने अवस्थामा छ। नगरपालिकाले खरिद गरेका फोहर व्यवस्थापनका गाडी, उपकरणहरू र लाखौ खर्च गरेर क्षमता विकास गरेका मानव संसाधन प्रयोगविहीन भइरहेका छन् । जनताको करबाट बनाइएका पूर्वाधार खेर जानु, निजी ठेकेदारलाई फाइदा पुग्ने गरी निर्णय हुनु—यो कहिल्यै स्वीकार्य हुन सक्दैन !

सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ ।

यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

पोप फ्रान्सिसको स्वास्थ्य जटिल

भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको छ।

गत फेब्रुअरी १४ देखि अस्पताल भर्ना भएका पोपलाई लामो समयसम्म श्वासप्रश्वासमा समस्या भएको र रगत चढाउनुपर्ने अवस्था आएको द होली सीले पोपको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन शनिबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

‘शनिबार राति पोपले शान्तिपूर्वक आराम गरेको’ होली सीले आइतबार बिहान दिएको संक्षिप्त अपडेटमा उल्लेख छ ।

सन् २०१३ देखि क्याथोलिक चर्चका प्रमुख रहेका अर्जेन्टिनी धर्मगुरुलाई सुरुमा ब्रोन्काइटिसका कारण रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो।

भ्याटिकनले शनिबार साँझ नियमित मेडिकल बुलेटिनजारी गर्दै भनेको छ, “होली फादरको अवस्था गम्भीर रहेको छ, त्यसैले उहाँ अझै ‘खतरामुक्त’ हुनुहुन्न ।”

भ्याटिकनले फ्रान्सिस अझै पनि सतर्क रहेको र अघिल्लो दिनको तुलनामा बढी दुःख भोगेको भए तापनि कुर्सीमा दिन बिताएको बताएको छ ।

“नियमित रक्त परीक्षण भइरहेको र आइतबारको रिपोर्टमा रक्तअल्पतासँग सम्बन्धित ‘थ्रोम्बोसाइटोपेनिया’ समस्या पनि देखिएको छ,” विज्ञप्तिमा भनिएको छ।

थ्रोम्बोसाइटोपेनिया रगतमा प्लेटलेटको सङ्ख्या धेरै कम हुँदा हुन्छ र यसले रक्तस्राव रोक्न नसक्ने समस्या निम्त्याउन सक्छ र मानव स्वास्थ्यमा अत्यधिक जोखिम हुन सक्छ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ ९एनआईएच० का अनुसार अत्यधिक रक्तस्राव भइरहेको छ वा रक्तस्रावको उच्च जोखिममा छ भने जोखिम कम गर्नका लागि रक्तनलीमा ‘इन्ट्राभेनस (आईभी)’ लाइनमार्फत रक्तनलीमा रगत वा प्लेटलेट ट्रान्सफ्युजन गरिन्छ ।

इटालीको कोरिएरे डेला सेरा अखबारले आइतबार बिहान ‘पोपको अवस्था झनै बिग्रँदै गएको’ शीर्षकमा समाचार छापेको छ भने ला रिपब्लिकाले भ्याटिकनको ‘सबैभन्दा कालो दिन’ भनेको छ । 

केबलकार निर्माण रोक्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले केबलकार निर्माण तत्काल रोक्न माग गरेकी हुन् । उनले निर्माण रोकी आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोज्न र थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

उनले भनिन्, ‘अहिले दैनिकजसो प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको अवस्था छ । हिजोमात्र त्यहाँ असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ । राज्यको अर्कमर्णयताका कारण नागरिक ‘एस’ केवलकार र ‘नो केवलकार’ मा विभाजित भए । समाजवादको नारा भजाउने पार्टी नै सरकारमा हुँदा पनि यस्तो तनाव किन ?’

आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनले बताइन् । उनले भनिन्, ‘यसअघि सरकारले सम्झौता गरेको थियो । तर, कार्यान्वयन भएन । निशःर्त रिहा गर्ने भनेकामा धरौटी लिइएको छ। सरकारबाट सहमति उल्लंघन भएको छ । सरकारप्रति नागरिकको विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माण हुँदैछ, त्यही ठाउँमा नागरिकलाई लाठ्ठी हानेर, गोली प्रहार गरेर गरिएको विकास भन्ने कि विनाश ? हामी पार्टीको तर्फबाट केबलकार निर्माण रोक्न माग गर्दछौँ ।’

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

अर्थसमितिको आइतबारको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे।

“युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ । अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भने ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भन्नुभएको हो बुझ्नुपर्ने बताए । उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाए । अर्थ समितिमा छलफलको क्रममा रहेका विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गोमा पुर्‍याउनुपर्ने पनि उनको भनाइ छ ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभइ संसद्मा छलफल गरिनुपर्ने बताए । ‘ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समिति भन्दा पनि संसद्को विषय हो’, उनले भने,‘युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँं र मन्त्रालयसँग विवरण मागौँं ।’

त्यस्तै, अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूची भन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उनले उठाए । 

केबलकार निर्माण गर्न नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको होः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका हुन् ।

उनले केवलकार नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको विषय स्मरण गर्नुपर्ने बताए । उनले भने, ‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई केही दिनदेखि दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले लोकतन्त्रमा विरोध गर्न पाइने, तर सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउन आवश्यक रहेको बताए । पाथीभरा केवलकार निर्माण विवाद चर्किदै जाँदा प्रहरी र नो केबलकार समूबीच पटक पटक झडप भएको छ ।

शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएको छ ।

ऊर्जामन्त्रीको विरोध गर्नेलाई जिम्मेबारीबाट हटाउन कुलमानलाई निर्देशन

काठमाडाैँ । ऊर्जामन्त्री दीपक खड्काले दूधकोसी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन ठाडो आदेश दिएको पाइएको छ । मन्त्री खड्काले आफ्नाबारेमा सामाजिक सञ्जालमा ‘गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण’ गरेको आरोप लगाउँदै तत्काल जिम्मेवारीबाट हटाउन आदेश दिएका हुन् ।

मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन आदेश दिएको छ ।

पत्रमा लेखिएको छ, ‘तहाँ प्राधिकरणअन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ ।

रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “संसद्मा सांसदहरुले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसद्मा सांसदहरुले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसद्मा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो”, उनले भने । सांसद पासवानले सदाको बलात्कार घटनाको सम्बन्धमा पटक–पटक संसद्मा कुरा उठाउँदासमेत सुनुवाइ नभएको उल्लेख गर्दै असन्तुष्टि जनाए ।

“बलात्कार भएको घटना भएको आज १५ दिन भएको छ, तर अहिलेसम्म सरकारले संसद्मा आएर जवाफ दिएको छैन, प्रहरीले घटनामा सङ्लग्न व्यक्तिलाई अहिलेसम्म समाउन सकेको छैन, जतिसक्दो चाँडो दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउछु ।”

गत माघ ३० गते नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार भएको थियो । माघ २७ गते राति शौच गर्न घर बाहिर निस्केकी रिङ्कुकुमारीको स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कार भएको थियो । उनी भोलिपल्ट बिहानमात्रै घर पुगेकी थिइन् ।

वडासदस्यसहितका स्थानीयको संलग्नतामा भोलिपल्ट र तेस्रो दिन पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । सोही साँझ (माघ ३० गते) पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाहिरबाट ढोका बन्द गरिएको अवस्थामा भित्र झुण्डिएको भेटिएकाले उनको मृत्युलाई परिवारले शङ्कास्पद भनेको छ । सदाको बलात्कार र शङ्कास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ ।

‘ग्रे लिस्ट’मा पर्नु सरकारको असफलताः सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको भन्दै सापकोटाले यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको ठहर्ने बताए ।

उनले सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्त्वका रूपमा दिन ध्यानाकर्षण गराए ।

लुटतन्त्रको विरोधी हो र विरोध गरिरहन्छौंः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले आफूहरु लोकतन्त्रको विरोधी नभएको तर लुटतन्त्रको भने विरोध गरिरहने बताएका हुन् ।

उनले आफू नेपालमा राजालाई कुनै स्पेश दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्दा गणतन्त्र विरोधीको रुपमा नबुझ्न पनि आग्रह गरे ।

उनले भने, ‘म राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं ।’

त्यस्तै उनले पाथीभरामा केबलकार निर्माण गरी वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । उनले पाथीभरामा केबलकार निर्माण रोक्न माग समेत गरेका छन् ।

निर्वाचनमा भाग लिएर संसदमा आउन पूर्वराजालाई सांसद न्यौपानेको चुनौती

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर संसदमा आउन चुनौती दिएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानेले फेरि सत्तामा आउने भए निर्वाचनमार्फत जनअनुमोदित हुन पूर्वराजालाई चुनौती दिएकी हुन् ।

उनले कसैको कृपा र टीका लगाएर नेतृत्वमा आउने अपेक्षा नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘यदि सत्तामा फर्किने हो भने २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । अब कसैको कृपा र टीका लगाएर आउने अपेक्षा नगर्दा हुन्छ ।’ उनले पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न आग्रह गरिन् ।

उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको सन्देशले तरंग पैदा भएको बताइन् । उनले भनिन्, ‘गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो ।’

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

माघ महिनामा मात्रै तीन हजार भन्दाबढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।


सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ ।


सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 


उनीहरुबाट  २३ करोड ९२ लाख ९१ हजार जरिवाना उठाइएको छ । उनीहरु कूल छ सय ७२ वर्ष छ महिना २३ दिन कैद तोकिएका व्यक्तिहरु हुन् । प्रवक्ता आचार्यका अनुसार कोशी प्रदेशबाट मात्रै पाँच सय २७ र मधेस प्रदेशबाट सात सय १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।


यस्तै बागमती प्रदेशबाट एक सय ७०, गण्डकी प्रदेशबाट दुई  सय १७, लुम्बिनी प्रदेशबाट पाँच सय ८३, कर्णाली प्रदेशबाट ५५ र सुदूरपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट नौ सय तीन र केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न क्षेत्रबाट सात जना फरार प्रतिबादी पक्राउ गरेको छ । 


उनीहरुलाई अदालतमा पेस गरिएको र अदालतबाट कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

 लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् ।

दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो ।

शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ ।

शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ ।

यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क संकलन गरिने दूतावासले जनाएको छ ।

कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले राससलाई जानकारी दिए ।

लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उनले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गरे ।

‘हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ’, नेपालले भने, ‘दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।’

पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिए । उनका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिएका छन् ।

दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।

लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् ।

दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।

यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो ।

यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल पोर्चुगल आउन नपाएपछि फिर्ता बोलाइएको थियो ।

नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उनी स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारीसमेत सम्हालेका छन् ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गरेका थिए।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघ पोर्चुगललगायत यहाँ रहेका नेपाली संघसंस्था, सामाजिक अभियन्तालगायत पोर्चुगलवासी नेपालीले लामो समयदेखि संघर्ष गर्नुका साथै विभिन्न दबाबमूलक कार्यक्रमसमेत हुँदै आएको थियो ।

चुलिँदै हङ्कङ फ्लुको प्रकोप

-डा. शेरबहादुर पुन

केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङ्कङ फ्लुको नामले परिचित इन्फ्लुइञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरु देखिएको भनेका थिए । तर माथि उल्लेख गरे झैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रष्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोष्ट भाइरल कफ’ भन्ने गरिन्छ । र यस्तो अवस्था हाल समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया तीनदेखि आठ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोष्ट भाइरल कफ’ वा ‘पोष्ट इन्फेकसियोस कफ’ भन्ने गरिन्छ ।

सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुई पटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्दछ । यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बि’, ‘सी’ र ‘डि’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बि’ भाइरसले विशेषतः स्वास्थमा समस्या निम्त्याउने गर्दछ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा पेनडेमिकको रुप दोहोरिने गरेको विगतका अनुभवहरु छन् ।

कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले पेनडेमिक घोषणा गरेको थियो । यो भाइरसलाई शुरुमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भएता पनि पछि ‘एचवान एनवान पिडिएम ०९’ नामकरण गरिएको थियो । हाल यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । हरेक बर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिदै आइरहेको छ । त्यस्तै सन् १९१८ मा पनि फ्लु ‘ए’अन्तर्गत ‘एचवानएनवान’ प्रजातिको भाइरसले महामारीको रुप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासको उच्चतम घातक सङ्क्रामक रोगको रुपमा पनि लिने गरिन्छ । सो समयमा यो प्रजातिको भाइरसले विश्वको झण्डै एक तिहाइ जनसङ्ख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झन्डै पाँच सय लाख मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइब एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणको रुपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पन्छीबाट मानिसमा सर्ने गर्दछ । यद्यपि हालसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने, बर्ड फ्लु पन्छीबाट मात्र मानिसमा सर्ने देखिएकामा केही महिना अगाडि अमेरिकामा गाईबस्तु वा सोको दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसको लागि यो नयाँ चुनौतीका रुपमा खडा भएको देखिन्छ ।

नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिएको थियो । तर दुर्भाग्यबस सो सङ्क्रमित युवाको भने सोही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पन्छीमा ‘एचफाइब एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइब एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।

के हो त ‘हङकङ फ्लु’ ?

फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचथ्री एनटु’ अर्को मुख्य प्रजाति हो । नेपालमा यो भाइरस ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरससँगै बर्सेनि देखिने गर्दछ । यसलाई ‘हङ्कङ फ्लु’ को नामले पनि चिनिने गर्दछ । सन् १९६८ मा पहिलोपटक हङ्कङमा प्रकोपको रुपमा देखिएको यो भाइरसले १० देखि ४० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ । तर हाल यो भाइरस पनि ‘मौसमी फ्लु’ का रुपमा परिणत भइसकेको छ । दुई महिना अगाडिसम्म पनि व्यापक रहेको ‘एचवान एनवान पिडिएम ०९’ प्रजातिको भाइरसलाई नयाँ साल सन् २०२५ लागेसँगै ‘हङ्कङ फ्लु’ ले तीव्र गतिमा प्रतिस्थापन गरिदिएको छ ।

‘हङ्कङ फ्लु’ फैलन सुरु भएसँगै धेरै मानिसहरु बिरामी भई घरमा नै आराम गर्नुपर्ने अवस्था÷बाध्यता सिर्जना गरिदिएको छ । माथि उल्लेख गरे झैँ धेरैलाई लामो समयसम्म खोकीले समेत नछोडेको अर्थात् ‘पोष्ट भाइरल कफ’ को समस्या समेत देखिने गरेको छ । ‘पोष्ट भाइरल कफ’ को कारणमा ‘हङ्कङ फ्लु’सँगै वायु प्रदुषणको समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन । हाल वायु प्रदूषणले नेपाल आक्रान्त भइरहेको छ ।

लक्षणहरु के के हुन् त ?

यसमा समान्यतया सङ्क्रमण भएको दुई दिनमा फ्लुका लक्षणहरु देखिन सुरु हुन्छ । अचानक ज्वरो आउनु, खोकी लाग्नु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, घाटी दुख्नु, नाकबाट पानी बग्नु, बालबालिकामा विशेषतः बान्ता हुनु जस्ता फ्लु भाइरसका प्रारम्भिक तथा मुख्य लक्षणहरु हुन् । अरु लक्षणहरु केही दिनमा (एक हप्तामा) कम हुँदै जाने भए तापनि खोकी भने दुई हप्ता वा सोभन्दा बढीसम्म रहन सक्दछ । कतिपयमा भने निमोनिया वा सेप्सिस जस्तो जटिलताहरु पनि देखिने गर्दछ । ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बालबालिका, दीर्घरोगी आदि फ्लु जटिलताको जोखिम पर्ने समूहहरु हुन् ।

उपचार के छ त ?

खोक्दा, हाच्छिउँ गर्दा वा सङ्क्रमितले खोख्दा र्यालको छिटा सतहमा रहेको र सो ठाउँलाई हातले छोई नाक मुख आँखामा छोए सङ्क्रमण सर्ने गर्दछ । तसर्थ, सङ्क्रमित व्यक्तिले खोक्दा हातको बाहुलीले छोपेर मात्र खोक्नु पर्दछ । फ्लु पुष्टि भई लक्षणहरु देखिए ‘ओसेल्टेमिभिर’ नामक एन्टीभाइरल औषधि दिन सकिन्छ । यो औषधि नेपाल सरकारले विशेषतः जोखिम समूहकालाई भाइरस पुष्टि भएमा निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ । भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (केन्द्रीय प्रयोगशाला) मा हुने गर्दछ । यद्यपि, कोभिड–१९ को लहरपछि भने निजी अस्पताल वा प्रयोगशालाहरुले पनि परीक्षण गर्ने गरेको पाइन्छ । भाइरसको जटिलताबाट बच्ने उत्तम उपाय भनेको खोप नै हो । यो खोप शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललगायत विभिन्न निजी अस्पतालहरुमा लगाउने गर्दछ ।

अन्तमा, मध्य डिसेम्बरसम्म चार प्रतिशतको हाराहारीमा देखिएको फ्लु भाइरस सन् २०२५ लागेसँगै ह्वात्तै बढेर झण्डै ३१ प्रतिशतको हाराहारीसम्म पुगेको छ । ‘स्वाइन फ्लु’ अर्थात् ‘एचवान एनवान पिडिएम ०९’ लाई प्रतिस्थापन गर्दै ‘एचथ्री एनटु’ अथवा ‘हङ्कङ फ्लु’ हाल तीव्र गतिमा फैलिरहेको तथ्याङ्कले देखाउँछ । तीव्रता पाएको मात्र होइन, धेरै मानिसमा लक्षणले कडा रुप लिएकोसमेत देखिन्छ । अनि कतिपयमा खोकीले हप्तौँसम्म दुःख दिएको वा लम्बिएको पनि देखिन्छ । फ्लु बर्सेनि देखिने भाइरस हो र धेरैले केही दिनको आराम पनि स्वास्थ लाभसमेत गर्दछन् तर जोखिम समूहका व्यक्तिहरुले भने जटिलताको सामना गर्नुपर्ने जोखिम भएकाले सङ्क्रमित भएको अवस्थामा चिकित्सकको परामर्श लिनु उत्तम हुनेछ । फ्लुविरुद्धको खोप पनि सहज उपलब्ध भएकाले फ्लुको जटिलताबाट बच्न जोखिम समूहकाहरुले खोप लिनु सबैभन्दा राम्रो उपाय हुनेछ ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

कम्बोडियामा ग्रिनेड विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु

नोमपेन । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको अधिकारीले आइतबार बताएका छन् ।

सन् १९८० र १९९० को दशकमा कम्बोडियाली सरकारी सैनिक र खमेर रुज लडाकुका लागि युद्धस्थल रहेको उत्तरपश्चिमी सिम रिप प्रान्तको दुर्गम गाउँमा शनिबार विस्फोट भएको हो ।

मृत्यु हुनेमा दुई वर्षका एक बालक र एक बालिका रहेका छन् ।

कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) का महानिर्देशक हेङ रतनाले भने, “अनुसन्धान प्रतिवेदनअनुसार दुई जना बालबालिका खेल्ने क्रममा जमिनमा माटो खनिरहेको बेला खन्ने औजारले ग्रिनेडलाई कोप्दा विस्फोट भएको र विस्फोटका कारण ती दुई बालबबालिकाको ज्यान गएको छ ।”

उनकाअनुसार एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

“कम्बोडियामा पूर्ण रूपमा युद्ध समाप्त भएको छ र २५ वर्षभन्दा बढी समयदेखि शान्ति छ तर बारूदी सुरङ्ग र युद्धका अवशेषका कारण कम्बोडियाली जनताको रगत बगिरहेको छ,” हेङ रतनाले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि विदेशी सहायता रोक्का गर्ने आदेश दिएपछि वासिङ्टनले अचानक आर्थिक सहयोग रोकेपछि कम्बोडियाले केही हप्ताका लागि डिमाइनिङ अपरेसन आंशिक रूपमा स्थगन गरेका समय यो दुर्घटना भएको हो ।

शुक्रबार कम्बोडियाली अधिकारीहरूले अमेरिकाले देशमा कामको लागि वित्त पोषण जारी राख्नको लागि छूट प्रदान गरेपछि नफुटेका युद्ध सामग्रीहरू सफा गर्ने कार्यलाई निरन्तरता दिइनुपर्ने बारूदी सुरूङ सफाई अधिकारीले बताएका छन् ।

कम्बोडियामा सन् १९६० को दशकदेखि सुरु भएको दशकौँ लामो युद्धका समय फ्याँकिएका गोलाबारुद र हातहतियार अहिले पनि व्यापक रूपमा भेटिने गरेका छन् ।

अमेरिकामा सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी पत्र, उपलब्धिको सूची नबुझाए राजीनामा दिन चेतावनी

बीबीसी । अमेरिकाका सरकारी कर्मचारीहरूलाई इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको छ । यो डोनल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो ।

ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले ‘गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि’ कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए। उनले लेखेका थिए, ‘उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ।’

मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन् । ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो । त्यसको विषयमा ‘तपाईंले गत साता के गर्नुभयो?’ भनेर लेखिएको थियो ।

इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ । बीबीसीले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।

यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन । उक्त निकायले ‘दक्ष र जवाफदेही सङ्घीय जनशक्तिप्रति ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा’ कर्मचारीहरूले उनीहरूका प्रबन्धकलाई पनि ‘सीसीमा राख्दै’ इमेल गरेर गत साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ । यसमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारेको छ।

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो ।

कांग्रेस नेता मोहम्मद अफताब आलमले आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो । आलम हाल हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो। तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो । फिल्मको पोष्टरमा सिताराम कट्टेल (धुर्मुस) ले आलमजस्तै देखिने भूमिकामा देखिएका थिए । फिल्म फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।

पूर्व फुटबलर श्रेष्ठको हृदयघातबाट निधन

काठमाडौं । नेपाली फुटबलका प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ५४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

श्रेष्ठको प्रशिक्षणमै न्युरोड टिम (एनआरटी) ले २५औँ संस्करणको बुढा सुब्बा गोल्डकपको उपाधि जितेको थियो । प्रतियोगिताकै क्रममा प्रशिक्षक श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्रेष्ठले एनआरटीसँगै थ्रीस्टार, आरसीटी र मनाङ मस्र्याङदी क्लबबाट घरेलु फुटबल खेलेका थिए । श्रेष्ठले नेपालको १९ वर्षमुनिको टिमको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय कायम भएको छ ।

चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रहेको चाँदीको मूल्य आइतबार एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर । भोजपुर  जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।

स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो ।

कावाखोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

“धेरै पहल र प्रयत्नपश्चात कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ”, अध्यक्ष राईले भने, “यो खोला पुल नुहँदा दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर थियो । अब भने सदरमुकामसम्मको आवतजावतका लागि सहज अवस्था बनेको छ ।”

कावाखोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताए । वर्षात्को समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उनको भनाइ छ ।

“करिब पाँच वर्षको पर्खाइपछि कावाखोलामा पुल निर्माण भएर सञ्चालन आएको छ”, वडाध्यक्ष थापाले भने, “यहाँ पुल नहुँदा नागरिकले भोगेका दुःखको वयान गरिसाध्य छैन । वर्षात्को समयमा मानिस वारिका वारि, पारिका पारि हुने अवस्था थियो । पुल निर्माणले स्थानीयमा उत्साह बढेको छ ।”

यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो ।

डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।

नो केबुलकार समूहको प्रदर्शनका कारण ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर प्रदर्शन दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले फुङलिङ नगरपालिकाको बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले फुङलिङ नगरपालिका–७, सल्लेरी, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), वडा नम्बर –४, उकालीपानी र वडा नम्बर– ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

 मच्छिन्द्र क्लबलाई इटहरी गोल्डकपको उपाधि

धरान । पन्ध्रौँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ । 

शनिबार उपाधिका लागि इटहरी रङ्गशालामा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो । 

मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो । 

यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद  एक लाख पुरस्कार प्रदान गरिएको छ । 

आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ । झडपका कारण फुङलिङ बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

शनिबार साँझ बजार क्षेत्रमा मसल जुलुससहित प्रदर्शकारीहरु निस्किएपछि झडप भएको हो । झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । ‘नो केवलकार’ समुहले राँके जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको स्थानीयहरुले बताएका छन् ।

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रुपमा चित्रण गर्दै यो विशेषताको नियमित प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

भुइँखेल चउर र धर्मचक्र पार्कमा शनिबारदेखि सुरु गरिएको ‘स्वयम्भू महोत्सव’ उद्घाटन गर्दै उनले भने, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’

उनले पर्यटन पूर्वाधारको विषय उठाउँदै भने, ‘सुक्ष्म पोषक तत्वयुक्त मौलिक खानाको विशेषता अतुलनीय छ । यसलाई प्याकेजिङ् गरेर प्रवर्धन गर्न सकिन्छ । प्याकेटको बाहिर खानामा पाइने तत्वहरु उल्लेख गर्ने हो भने खाना सेवाको व्यवसायिक उचाइ धेरै माथि पुग्नेछ । यससँगै कला र संगीत पनि पर्यटकका लागि चाख लाग्ने क्षेत्र हुन सक्छन् । महोत्सवका यस्ता पक्ष थप उजागर हुने अपेक्षा लिएका छौँ ।’

पूर्वमन्त्री विराजभक्त श्रेष्ठले, महोत्सवबाट छायाँमा परेका सम्पदाको महत्व उजार हुने अपेक्षा राखे । त्यसक्रममा पूर्वमन्त्री जीवनराम श्रेष्ठले, काठमाडौँको मौलिकता बचाउन महानगरपालिकाले परम्परागत बस्तीका घरहरुको मोहडालाई मौलिक बनाउन ल्याएको कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । त्यस क्रममा प्रदेश सभा सदस्य उद्धव थापाले, छोडिएका संस्कारलाई पुनजागृत गराउँदै जानु पर्नेमा जोड दिए ।

महोत्सवले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा दिगो मद्दत गर्ने धारणा राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा दिने उनको भनाइ थियो । नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लोककथनमा आधारित मान्यता सुनाउँदै, नागार्जुन बनबाट महामञ्जुश्रीले हेर्दा सबै तलाउ भइकन पनि स्वयम्भूमा दीप देखिएको मान्यतालाई धार्मिक पर्यटन प्रवर्धनको रुपमा विस्तार गर्नु पर्ने धारणा राखिन् ।

महोत्सव तयारीका क्रममा वडाका विभिन्न स्थानका सडक मर्मत गरिएको, ढुङ्गा छाप्ने काम गरिएकोले धुलोमुक्त वडा बनाउन सहयोग भएको उल्लेख गरिन् ।

महोत्सव सुरु हुनु अघि सांस्कृतिक झाँकीसहित वडाका विभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो । वडा परिक्रमामा महानगरपालिकाका उपप्रमुख डंगोल, वडाका जनप्रतिनिधिसहित स्थानीयबासीहरुले उल्लासमय रुपमा भाग लिएका थिए ।

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट प्रवर्धन भएको पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय राखिएको छ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिएको छ । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका आकर्षण हुन् ।

स्थानीयबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलापले महोत्सव अवलोकन जाने सहभागीलाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचान हो । उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयम्भू उत्पत्ति भएको मानिन्छ । महामञ्जुश्री (बोधिसत्व) ले फूच्व, धिलाच्व, जामाच्व र सिपूच्व गरी चार दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ । बस्ती बसेपछि राजा बनाइएका प्रचण्डदेवले अर्धगोलाकार गुम्बज बनाएर स्वयम्भूको संरक्षण गरेका थिए ।

स्थूरको गर्भमा पञ्चबुद्ध (पञ्चतत्वको प्रतीक) चारतारा (चतुर्महाभूतको प्रतीक) विराजमान गराइएको छ । त्यसमाथि बुद्धका आँखा प्रज्ञा र उपायको रुपमा, प्रश्नबाचक चिन्ह सम्पूर्ण प्रकारका प्राणीहरुलाई उद्धार गर्ने प्रतीकका रुपमा राखिएको छ । अर्धगोलाकार आकृतिमाथि रहेको त्रयोदश भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाका रुपमा लिइन्छ ।

प्राचीनकालमा गोशृङ्गपर्वत क्षेत्रलाई सिंगु/स्यंगु नामबाट स्वयम्भू हुन गएको भन्ने कथन पनि रहेको छ । स्वयम्भू स्तूपका चार दिशामा चार वटा पुर रहेका छन् । आग्नेय कोणमा बसुपुर (पृथ्वी), नैर्ऋत्य कोणमा वायुपुर (वायु), वायव्य कोणमा अग्निपुर (तेज) र ईशान कोणमा नागपुर (जल) रहेका छन् । यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारका प्रतीक मानिन्छ ।

शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, ससुख्वात टोलमा रहेको सरस्वती मन्दिर, डल्लु टोलमा रहेको महाविष्णु मन्दिर र गणेश मन्दिर, धिमेल्वहँमा रहेका भीमसेन मन्दिर र नासल देवता स्थानीयको आस्थाको देवस्थानहरु हुन् ।

यस्तै तुलसीधारामा रहेको माधवनारायण मन्दिर, धुम्बाखेलमा रहेको बाघभैरब मन्दिर, मचाखुशीमा रहेको घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा मार्गमा रहेको विश्वकर्मा मन्दिर,किमडोल डाँडामा रहेको सेतीदेवी मन्दिर, डल्लुमा रहेको भेलु (भिंपु) महादेव, भगवान पाउनमा रहेको सूर्यविनायक, चक्रपथ बाहिर रहेको कार्य विनायकप्रति स्थानीयको प्रगाढ आस्था छ । वडाभित्र साम्हेगु विहार, किण्डोल बिहार, आनन्दकुटी बिहार, आनन्द भूवन बिहार, भुइखेल बहाल, जगतउद्धार बिहार, सिद्धि विहार, धिमेल्वहँ बौद्ध विहार, श्रद्धा कीर्ति विहार बौद्ध विहार हुन् ।

प्रसिद्ध कर्णदीप, लामाहरुको दीप, कपालीहरुको समाधिस्थल, लखुतीर्थ दीप, मुस्लिमहरुको चिहान, भन्तेहरुको दीप यस वडामा रहेका मृत्य संस्कारसँग सम्बन्धित स्थलहरु हुन् ।

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व होः मुख्यमन्त्री कँडेल

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।

शनिबार कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राखे ।

कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कुलले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गरे। उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिँदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्न सक्ने समेत बताए।

‘कर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ । बरु यहाँ भएको सिकाइ अभ्यास र गतिविधिहरू सामुदायिक विद्यालयसँग आदान–प्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला’, उनले भने।

मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नं ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गरे ।

कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले १५ वर्षको सङ्घर्षमय यात्रामा सबैको सहयोग र सद्भाव रहेको बताए। उनले म्यागीसहित आफूले लोटा र डोकाबाट काम गर्दै अगाडि बढ्दा शैक्षिक क्षेत्रमा पछाडि परेको कर्णाली प्रदेशलाई केही दिने प्रयासले निरन्तरता पाएको बताए।

समारोहमा बालबालिकाकाले हिंसासम्बन्धी लघु नाटकसहित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेश पत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्त्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन आग्रह गरेका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार तनाव र रणनीतिक प्रतिस्पर्धाका बेला यो कदम चालिएको हो । ह्वाइट हाउसले भनेको छ, “यसको उद्देश्य विदेशी लगानीलाई बढावा दिनु हो र अमेरिकी राष्ट्रिय सुरक्षा हितलाई ‘विशेष गरी चीनजस्ता मुलुकबाट उत्पन्न खतराहरूबाट’ रक्षा गर्नु हो।”

ह्वाइट हाउसका अनुसार विशेष गरी, पत्रमा चीनलाई ‘आफ्नो सैन्य, गुप्तचर र अन्य सुरक्षा उपकरणहरूको विकास र आधुनिकीकरण गर्न संयुक्त राज्य अमेरिकाको पुँजीको बढ्दो दोहन’बारे लक्षित गरिएको हो ।

यसले अमेरिकामा विदेशी लगानी सम्बन्धी समिति (सीएफआईयूएस) लाई प्रविधि, महत्त्वपूर्ण पूर्वाधार, स्वास्थ्य सेवा र ऊर्जाजस्ता प्रमुख अमेरिकी क्षेत्रहरूमा चिनियाँ लगानीलाई प्रतिबन्धित गर्न प्रयोग गर्न आह्वान गरेको छ।

सीएफआईयूएस संयुक्त राज्य अमेरिकामा विदेशी लगानीको राष्ट्रिय सुरक्षा प्रभावको तौल गर्ने एक समिति हो । ह्वाइट हाउसले भनेको छ, ‘राष्ट्रपति ट्रम्पले विदेशी शत्रुहरूलाई संयुक्त राज्य अमेरिकाको फाइदा लिनबाट रोक्ने आफ्नो वाचा पूरा गरिरहनुभएको छ ।’

ट्रम्पले यस महिनाको सुरुमा चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएपछि शुक्रबारको आदेश आएको हो।

बेइजिङले उक्त आरोपको विरोध गर्दै यसको खण्डन गरेको छ । गत बुधबार, अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका थिए ।

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको ६ भने सातजना घाइते भएका छन् । स्कार्पियो शुक्रबार अबेर राति भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना भएको हो ।

ट्याक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे शनिबार ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।

त्यसक्रममा मन्त्री राणाले नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि आग्रह गरेकी छन् ।

मन्त्री राणाले भनिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री माझीसँग आग्रह गरेँ । उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।’

परराष्ट्रमन्त्री राणाले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका जानकारी दिइन् ।

केआईआईटीमा अध्ययनरत थप २० विद्यार्थी नेपाल फिर्ता

झापा ।  भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।

गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

‘दैनिक एक दुई जना फर्किरहेका छन्’, उनले भने, ‘आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।’

काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहेका छन्।

त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन्।

यसैगरी सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँ इचम्भु–१ का २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

हमासद्वारा दुई इजरायली बन्धक रिहा

राफा । प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकलाई मुक्त गरेका छन्। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ।

गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो ।

युद्धविरामको पहिलो चरण अन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।

लडाकूहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगी सोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकावधारी लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।

प्यालेस्टिनी लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो।

मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताएअनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरूलाई पनि शनिबार नै रिहा गर्नेछ ।

इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए।

पटेल एफबीआई प्रमुख निर्वाचित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ।

पटेलको मनोनयनपछि डेमोक्र्याटिक्स पार्टीको चर्को विरोध भए पनि अन्ततः यो विरोध निरर्थक बनेको छ । उनलाई सिनेटले ५१–४९ मतले अनुमोदन गरेको छ ।

दुई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मुर्कोवस्कीबाहेक अन्य दुई रिपब्लिकन सिनेटरबाहेक सिनेटमा मतदान हुँदा दलगत आधारमा मत विभाजन भएको थियो ।

पटेल ३८ हजार सदस्यीय संघीय अनुसन्धान विभागको प्रमुखका रूपमा निर्वाचित भएका हुन् । पटेलले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् (क्यापिटोल)मा आक्रमण गर्ने ट्रम्प समर्थक दंगाकारीहरूको बचाउ र रिपब्लिकन राष्ट्रपतिको विरोध गर्ने कथित ‘डिप स्टेट’ का सदस्यहरूलाई जरैदेखि उखेलेर फ्याँक्ने आफ्नो प्रतिज्ञाको लागि डेमोक्र्याट्सहरूबाट आलोचना खेप्नुपरेको थियो ।

डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले सिनेटमा पटेलको मनोनयनको विरोध गर्दै निर्वाचन पूर्व संसदमा भएको बहसमा भने, “पटेल खतरनाक र राजनीतिक रूपमा ‘अतिवादी’ सोच राख्नुहुन्छ र उहाँले आफ्ना राजनीतिक शत्रुहरूविरुद्ध प्रतिकार गर्न हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण कानून प्रवर्तन एजेन्सी प्रयोग गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गर्नुभएको छ ।”

सिनेटले ट्रम्पको क्याबिनेटका सबै निर्णयलाई अनुमोदन गरेको छ । यसले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडलाई स्पष्ट पारेको छ। पटेलले एफबिआईको निर्देशक बन्न पाएकोमा आफू गौरवान्वित भएको बताएका छन् ।

“अमेरिकी जनता पारदर्शी, जबाफदेही र न्यायप्रति प्रतिबद्ध एफबीआईको हकदार छन्,” उनले भने “हाम्रो न्याय प्रणालीको राजनीतिकरणले जनताको विश्वासलाई कमजोर बनाएको थियो तर त्यो आज समाप्त भएको छ,” राम्रो प्रहरीलाई थप जिम्मेवारी दिने र एफबीआईप्रतिका विश्वास पुनः निर्माण गर्ने निर्देशकको रूपमा मेरो अभियान हुने बताए

उनले भने, “अमेरिकीलाई हानि पुर्‍याउन खोज्नेहरूलाई यो चेतावनी मान्नुहोस् । हामी तिमीहरूलाई पृथ्वीको हरेक कुनामा गएर प्रतिकार गर्नेछौँ ।’

मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा कालोपत्र गर्न सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । 

दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उनले बताए । 

उनले भने, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।” बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । 

पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । 

यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

‘आफ्नै पसिना र मेहनतले बनाएको बालकोटको घरलाई भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ । शनिबार एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा शाक्यले गरिब दुःखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन् । उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तकमा समेटिएको बताइन् । साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् ।

बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको प्रष्ट पारिन् ।

उनले भनिन्, ‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्टाचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन ।’