`

मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व

झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा  आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा  नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

चालु आवको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ ।

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

भैरहवा (रुपन्देही) । कोटहीमाई गाउँपालिका-५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।

भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन्। करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ ।

हाल उनीसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ ।

मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहाँ रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि बिस्तारै उहाँहरूको रुचि यसबाट घट्न थालेको छ ।

“पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ ।” पालले भने, “केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले संख्या घटाएर ३५ मात्र पालेको छु ।”

यसअघि विभिन्न स्थानबाट क्रेताहरू भेडिहार खोज्दै उनीहरूको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ ।

भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउछन् ।

“पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो ।” उनले भने, “अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।”

भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट रु दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रूपमा महँगा भएकाले ऊनको माग घटेको उनको बुझाइ छ ।

यसबाहेक अहिले तराईमै भेडाहरूको लागि चरन क्षेत्रको समस्या पनि छ । “पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो”, स्थानीय नापु पालले सुनाए, “चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।”

मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरू उल्लेख्य सङ्ख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरूले पालेको पाल बताउछन्। चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उनको गुनासो छ ।

भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिन्छन् ।

ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उनी बताउछन् ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

अनर्गल प्रचार नगरिदिन महजोडीको आग्रह

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी यस्तो अनर्गल प्रचार नगरिदिन आग्रह गरेका हुन् । उनीहरुले यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको बताएका छन् ।

उनीहरुले आफूहरु दुवैजना अहिले चलचित्रमा काम गरिरहेका बेलामा अनर्गल प्रचार गरेर दुःख दिइएको बताए ।

हरिवंशले भनेका छन्, ‘०५२ सालमा सराध्य बनाएका थियौँ । त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ । पण्डित भन्दैमा भगवान हुँदैनन् । म पनि पण्डितको छोरो हो । कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ ।’

अब राजसंस्था फर्केर देश चलाउन सक्छ भन्ने सम्भावना छैनः सचिव भट्टराई

सुर्खेत । नेकपा एमाले सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न आग्रह गरेका छन् ।

बिहीबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन पूर्वराजालाई आग्रह गरेका हुन् । उनले जनताले फ्याँकिसकेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।

उनले भने, ‘उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो । फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन । अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन ।’ उनले पूर्वराजाको वक्तव्यपछि राजावादीहरु हौसिनुको कुनै अर्थ नरहेको बताए ।

उनले भने, ‘उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो । अब राजतन्त्र आउनेभो भनेर हौसिनुको अर्थ छैन ।’

प्रजातन्त्र दिवसका अवसरमा मंगलबार भिडियो सन्देश जारी गरी पूर्वराजा शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

वीरगञ्जका अधिकांश निजी अस्पताल नियमविपरीत संचालन

वीरगञ्ज । जनकपुरधामका निजी अस्पतालको अनुगमनपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जका निजी अस्पतालको छड्के अनुगमन सुरु गरेका छन् ।

बुधबार मुख्यमन्त्री नेतृत्वको अनुगमन टोली वीरगञ्जको भवानी हस्पिटल, प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पतालको छड्के अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भवानी अस्पतालमा निस्किने फोहोरमैला छुट्टै व्यवस्थापन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । त्यस्तै प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल बन्द गर्न निर्देशन दिएका छन् ।

अनुगमन गर्ने क्रममा अस्पतालले अनुमति नलिई सञ्चालन गरेको पाइएकोले अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुररले जानकारी दिए ।

अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टरको अस्पताल सञ्चालनका लागि आवश्यक इजाजत पत्र लगायत कुनैपनि कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न पत्र काटेको अनुगमन टोलीमा सहभागी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा अस्पतालजन्य फोहोर पदार्थको उचित व्यवस्थापन नगरिएको, विपन्न, ज्येष्ठ नागरिकलाई उपचार शुल्कमा दिनुपर्ने १० प्रतिशत छुटको प्रावधान लागू नगरिएको, इजजात लिएको भन्दा बढी संख्यामा शय्या सञ्चालन गरेको पाइएको थियो ।

यसअघि मुख्यमन्त्री सिंहले जनकपुरका पनि ४० भन्दा बढी निजी अस्पतालहरूको छड्के अनुगमन गरेर नियम विपरीत सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

काभ्रे । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।

ट्रम्प रुसको दुष्प्रचारबाट प्रभावित भएको जेलेन्स्कीको आरोप

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसबाट धेरै दुष्प्रचार बेहोरेको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यसबाट प्रभावित भएको बताएका छन् । ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको रेटिङ् ४ प्रतिशतमा झरेको भनेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई रुचाएको उनले बताए । उनी सन् २०१९ मा पाँच वर्षका निम्ति युक्रेनका राष्ट्रपति निर्वाचित भएका हुन् ।

युक्रेन युद्धपश्चात् अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा मङ्गलवार भएको पहिलो प्रत्यक्ष वार्तापछि बोल्दै राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौता हासिल हुने बारे आफू थप विश्वस्त भएको बताएका छन् ।

उनले युक्रेनले युद्ध समाप्त पार्न यसअघि नै सम्झौता गर्न सक्थ्यो पनि भनेका थिए । आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आश्चर्य प्रकट गरेकोप्रति ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् ।

किएभले आफू सामेल नभई गरिएका कुनै शान्ति सम्झौतालाई मान्यता नदिने भनेको छ । यसबीच मस्कोमा बोल्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका निम्ति मूल कारणहरूको सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले रुसविरुद्धका सुरक्षा खतरा हटाउन जरुरी भएको र त्यसको सिर्जना युक्रेनलाई नेटो गठबन्धनमा तान्ने प्रयासले गरेको बताए । युक्रेन हाल नेटो गठबन्धनमा छैन तर सन् २००८ मा उक्त गठबन्धनले युक्रेनलाई पनि भविष्यमा सदस्यता दिइने सहमति गरेको थियो ।

युक्रेनको नेटो सदस्यता आफूलाई सुरक्षा खतरा हुने रुसले बताउने गरेको छ भने नेटोले चाहिँ सदस्यता लिने वा नलिने भन्ने विषय कुनै पनि देशको सार्वभौम निर्णयको मामिला भन्ने गरेको छ ।

असार २७ मा ‘यो मन त मेरो नेपाली हो’

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रालिले वितरण गर्नेछ ।

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ । अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

भारतबाट प्रकृतिको शव ल्याइयो नेपाल

बुटवल । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत फेला परेकी रुपन्देहीकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

बुधबार साँझ बेलहिया नाका हुँदै प्रकृतिको शव नेपाल ल्याइएको हो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा उनको शव भैरहवा ल्याएको हो ।

केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याइएको हो ।

प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिनेछ । प्रकृतिको शंकास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । गत आइतबार प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । घटनालगत्तै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।

तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

भाजपाले रेखा गुप्तालाई बनायो दिल्लीको मुख्यमन्त्री

नयाँदिल्ली । भारतको राजधानी दिल्लीको मुख्यमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) ले नेतृ रेखा गुप्तालाई चयन गरेको छ ।

भाजपाको बुधबारको बैठकले मुख्यमन्त्रीमा गुप्ताको नाम चयन गरेको हो । दिल्लीको शालिमारवाग क्षेत्रबाट विधान सभा सांसद रहेकी गुप्ता विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् ।

गुप्ताले १९९२ मा दौलत राम कलेज, दिल्ली विश्वविद्यालयमा अखिल भारतीय विद्यार्थी परिषद मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । नयाँदिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी छन् ।

कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्था मिलाउनओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले ओडिसाका शिक्षामन्त्री सूर्यवंशी सुरजसँग नेपालका विद्यार्थीको सुरक्षाकाबारेमा चासो राखेकी छन् ।

परराष्ट्रमन्त्री राणाले बुधबार टेलिफोन गरी शिक्षामन्त्री सुरजसँग नेपाली विद्यार्थीको सुरक्षाकोबारेमा कुराकानी गरेकी हुन् ।

उनले प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिएकी छन् ।

जवाफमा मन्त्री सुरजले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए । साथै मन्त्री सुरजले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताए ।

त्यस्तै उनले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिएका थिए । कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएका छन् ।

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

सङ्खुवासभा । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।

विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए।

उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।

‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार

गलकोट । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो ।

करिब  ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा  ७० लाख र दोस्रो चरणमा  साढे दुई करोड गरी  तीन करोड २० लाखको पूर्वाधार निर्माण गत वर्षदेखि सुरु भएको हो । 

उक्त पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न गत वर्ष मात्रै  ७० लाखको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष साढे दुई करोडको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न ठेक्का आह्वान गरिएको नगर कार्यालयले जनाएको छ ।

पर्यटकीय गन्तव्य बनाउन पालिकाले गत वर्षदेखि गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पूर्वाधार निर्माण गर्न  २४ करोड ५६ लाख २२ हजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो ।

मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको बागलुङ–९ का वडाध्यक्ष राजु थापाले बताए । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ । यहाँ सडक स्तरोन्नति आवश्यक छ”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउने छन् ।”

गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्नेलगायत पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवनमाथि विशाल शिवमूर्ति निर्माण गर्ने योजनासहित बोलपत्र आह्वान गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गरिनेछ । 

दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो बजेट लगानी गरिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरले गत वर्ष यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाख बजेट विनियोजना गरी उक्त बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम सम्पन्न गरिसकेको छ । यस वर्ष बहुउद्देश्यीय भवन निर्माण र मूर्ति बनाउन ठेक्कामा दिने तयारी थालिएको नगरप्रमुख श्रेष्ठले उल्लेख गरे । 

 “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय वातावरणीय हिसाबले हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी गत वर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष  साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँबाट हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमाल देख्न सकिन्छ ।”

समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपिआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, नीलगिरि अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । 

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले  विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ ।

जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए ।

ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

“आयातित कारहरूमा थप अमेरिकी कर दर करिब २५ प्रतिशत हुनेछ,” अप्रिल २ को आसपास सार्वजनिक गर्ने शुल्कको बारेमा नयाँ जानकारी दिँदै उनले मङ्गलबार भने ।

विश्व व्यापार सङ्गठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार सङ्गठनको निर्णय लिने ‘जनरल काउन्सिल’को यस वर्षको पहिलो बैठकमा भने, “विश्वले करका लागि शृङ्खलाबद्ध झट्काको सामना गरिरहेको छ ।”

“अमेरिकाले विश्व व्यापार सङ्गठनको नियमको ठाडो उल्लङ्घन गर्दै चीनलगायत आफ्ना व्यापारिक साझेदारहरूमाथि एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की दिएको छ। चीनले यस्ता कदमको कडा विरोध गर्दछ।

उनले भने, “यी करसम्बन्धी निर्णयले आर्थिक अनिश्चितता बढाउँछ, विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछ, र घरेलु मुद्रास्फीति, बजार विकृति वा विश्वव्यापी मन्दीको जोखिम पनि बढाउँछ।”

लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताए ।

पूर्वराजाको सन्देशपछि हौसिए राजावादी

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार साँझ भिडियो सन्देश जारी गरे । सन्देशमा उनले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका छन् । पूर्वराजाले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’ देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन् ।

पूर्वराजाको यो सन्देशपछि राजावादीहरु खुसीले जुर्मुराएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यसलाई सकारात्मकरुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दिइएको राजा ज्ञानेन्द्रको यो सन्देश सुनौँ । राष्ट्रिय मेलमिलापको यो सन्देशलाई सकारात्मक रुपमा ग्रहण गरौँ । देश बचाउन र बनाउन राजाबाट सहयोगका निम्ति आह्वान भएको छ । विना आग्रह पूर्वाग्रह राजाको आह्वानमा सहयोगको हात बढाऔँ ।’

त्यसैगरी राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि पूर्वराजाको सन्देशबाट खुसी भएका छन् । उनले सन्देश प्रशंसनीय रहेको बताएका छन् । उनको टिप्पणी छ, ‘फाल्गुन ७ को दिन राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट हाम्रो देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन हो । नेपालीहरुको लागि यो ऐतिहासिक महत्व र उपलब्धिको दिन हो । यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहासिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ । यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्य सम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ ।’


पूर्वराजाको सन्देशपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पाँच वटा माग अघि सारेका छन् । उनले राष्ट्रपति वा राजसंस्थाको बारेमा जनमत संग्रहको माग पनि अघि सारेका छन् ।
यस्ता छन् शाहीका माग

अवस्था र व्यवस्था बदल्न भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न सबै एकजुट बनौँ।
१) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
२) प्रदेश संरचनाको खारेजी
३) राष्ट्रपति वा राजसंस्थाको बारेमा जनमत संग्रहको माग
४) हिन्दू ,बुद्ध ,किरातँ सहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना
५) भ्रष्टाचारीलाई आजीवन कारावास गर्न एउटा शक्तिशाली नागरिक आयोगको गठन

त्यसैगरी पूर्वराजको सन्देशको समर्थ गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजा आफैंले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला आएको बताएका छन् ।

उनले भनेका छन्, ‘अब भएन भनेर बस्ने होइन, राजा आफैले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो । हेर्दा सुन्दर लागेर मिठो होला भनेर टिपेको फल विषाक्त निस्किएको थाहा पाएपछि पनि खायौं भने असर गर्छ नै । त्यस्तै यो व्यवस्था पनि मिठो, पौष्टिक सोचेको तर विषाक्त फल निस्कियो । यो विषाक्त व्यवस्था फालेर सारा नेपाली अट्ने, सिङ्गो नेपाल देखिने, राजा र वौद्धिक सनातन हिन्दू धर्मसहितको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, जनतालाई सेतो हात्ती बनेको प्रदेश खारेज, समानुपातिक खारेज, धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्रसहितको सुन्दर शान्त परिस्कृत नेपाल निर्माणको महाअभियानमा सबै जोडिन म सबै नेपाली नागरिकहरुलाई पुनः आव्हान गर्न चाहान्छु ! जय देश !!’

डिभोर्सपछि ओशो सन्यासी बनिन् शिल्पा पोखरेल

काठमाडाैँ। अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्न्यासी’ बनेकी छन्।

छवि ओझासँगको डिभोर्सपछि अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी हुन्। ओशो सन्यासी बनेसँगै उनको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।

ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्-‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्‍याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

‘लज्जा’बाट डेब्यु गरेकी उनले हवलदार सुन्तली, फागु, किस्मत २, मंगलमलगायतका चर्चित फिल्म खेलिसकेकी छन्।

शिल्पाले केही समय अघि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।

‘लाज शरणम्’ को प्रचारमा रोक लगाएकोमा चौतर्फी आलोचना

काठमाडौं। चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ ।

महाशिवारत्रिका दिन फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश जारी गरेपछि नेपाली सिने क्षेत्र आन्दोलित भएको छ ।

पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मको प्रचार रोक्न आदेश दिएको हो । आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ ।

अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार-प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।

आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो, तर अदालतको आदेशसँगै ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ । पूर्वमन्त्री आलमले अदालतमा दायर गरेको रिटमा चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।

उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको ‘लाज शरणम्’को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बुधबार विज्ञप्ति जारी गर्दै चलचित्र ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई राम्ररी झस्काएको समेत जनाएको छ ।

‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ । यसरी बनेको कथाले कुनै व्यक्ति वा समुदायका व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्ने चलचित्र विकास बोर्ड र चलचित्र जाँच समिति आदि सरकारी निकाय अस्तित्वमा छ,’ समाजका अध्यक्ष जनकदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको फिल्ममा सीताराम कट्टेलसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सहनिर्माताको रूपमा रहेका छन् ।

चलचित्रकर्मी, पत्रकार, नागरिक अगुवासमेतले ‘लाज शरणम्’ लाई कानुनी उल्झनमा फसाएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा अहिले यो विषयलाई लिएर अदालतको आलोचना हुन थालेको छ ।

५३ मेगावाटको अपर म्याग्दी–१ को बाँध निर्माण सुरु 

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । 


म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरेका छन्।
गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत


जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो ।  जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।


“विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ”, उनले भने, “विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिव्रता दिएका छौं ।” 


विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए ।


पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए । 
  
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । 
बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ ।


हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । 


उर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी उर्जा डेभलपर्स प्रालिमा आबद्ध छ । 
  
भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको ६ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म  एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ ।

माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह

माले । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ ।

उच्च श्रेणीको हिन्द महासागरीय छुट्टी गन्तव्य (होलीडे डेस्टिनेसन) ले सन् २०२५ मा आफ्नो अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अपेक्षा गरेको छ तर आइएमएफले यो सुनौलो पूर्वानुमानले सम्भावित चुनौतीहरू लुकाएको चेतावनी दिएको छ ।

“पूर्वानुमानको वरिपरि ठूलो अनिश्चितता छ र जोखिमहरू नकारात्मक दिशामा झुकेका छन्”, वासिङ्टनस्थित अन्तिम सहाराको ऋणदाताले विज्ञप्तिमा भनेको छ, “थप तत्काल र बलियो वित्तीय सुदृढीकरणको आवश्यकता छ । अत्यधिक खर्च रोक्न समग्र खर्चलाई युक्तिसङ्गत बनाउनु आवश्यक छ ।”

यो सानो देशले गत वर्षको अन्त्यमा आइएमएफको राहत ऋणलाई अस्वीकार गरेको थियो र राष्ट्रपति मोहम्मद मुइज्जुले ५० प्रतिशत तलब कटौतीको घोषणा गरेर सरकारले गम्भीर खर्च कटौतीको घोषणा गरेको थियो ।

मुइज्जुले अधिकांश सार्वजनिक क्षेत्रका जागिरमा अनिवार्य १० प्रतिशत तलब कटौती पनि लागु गरेका छन् ।

माल्दिभ्सले सेप्टेम्बरमा आफ्नो वित्तीय समस्या ‘अस्थायी’ भएको र सम्भावित सार्वभौम डिफल्टको चेतावनीका बावजुद उसको राहत माग्ने कुनै योजना नभएको बताएको थियो ।

आइएमएफले समग्र वित्तीय घाटा र सार्वजनिक ऋण उच्च रहने अनुमान गरेको छ र तत्काल नीति समायोजनको आह्वान गरेको छ ।

“माल्दिभ्सले समष्टि आर्थिक स्थिरता र ऋण दिगोपनलाई तत्काल पुनःस्थापना गर्न महत्त्वपूर्ण क्षणमा यात्रा गरिरहेको छ”, आइएमएफले भन्यो ।

निर्मल सेतो बालुवा किनार र एकान्त रिसोर्टहरू भएको विलासी छुट्टी गन्तव्यका रूपमा परिचित माल्दिभ्स भू–राजनीतिक ‘हटस्पट’ पनि बनेको छ ।

भूमध्यरेखामा छरिएका एक हजार १९२ कोरल टापुहरू मिलेर बनेको माल्दिभ्सका लागि चीन र भारत दुई ठूला द्विपक्षीय ऋणदाता हुन् ।

बेइजिङले सन् २०२३ मा मुइज्जुको जितपछि थप कोष उपलब्ध गराउने वाचा गरेको छ । मुइज्जुले विकास कोष उपलब्ध गराउनमा ‘निस्वार्थ सहयोग’ गरेकामा चीनलाई धन्यवाद दिएका छन् ।

मुइज्जुलाई अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा स्वागत गरेका थिए । उनले टापुसमूहको सङ्घर्षपूर्ण अर्थतन्त्रलाई बलियो बनाउन आर्थिक सहयोग प्रदान गरे ।

आधिकारिक तथ्याङ्कले माल्दिभ्सको विदेशी ऋण सन् २०२४ को पहिलो त्रैमासिकमा तीन अर्ब ३७  करोड डलर देखाएको छ । यो कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग ४५ प्रतिशत हो ।

चीनले विदेशी ऋणको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ भने भारतको मात्र १८ प्रतिशतभन्दा कम स्वामित्व रहेको छ ।

कांग्रेस सभापति देउवा भोलि भारत जाँदै

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।

उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा गंगामा स्नान गरेर फर्किएका थिए ।

यसबाहेक भारतमा देउवाको अन्य कार्यक्रमसमेत तय भएको स्रोतले जनाएको छ । प्रयागबाट देउवा नयाँदिल्ली जानसक्ने बताईएको छ । दिल्लीमा पुगेर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको प्रयास गर्ने उच्च स्रोतले जनाएको छ ।

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

पाल्पा । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समय नकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ ।

पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

शिक्षालाई समयानुकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए।

“पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ”, उनले भने ।

रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन् । कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्त्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए ।

क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ ।

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैनः अध्यक्ष केसी

ढोरपाटन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् ।

बागलुङमा बुधबार ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गरे । सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उनको सुझाव थियो ।

केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए । जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उनले दाबी गरे ।

‘अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यसकारण आवश्यक छैन भन्न थालेका छन्’, केसीले भने, ‘प्रतिगामीहरुले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटेका छन् ।’

उनले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरङ्कुश शासन ढालेर ल्याएको बताए । सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैंं स्थायी हुने अध्यक्ष केसीको भनाइ छ । नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उनले उल्लेख गरे ।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताए ।

जनताको चाहना र आवश्यकताअनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे । सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिए ।

रुसले बर्बरता रोक्न चाहन्छ… यो अर्थहीन युद्ध हो : राष्ट्रपति ट्रम्प

वासिङ्टन । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबीचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उदृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले युद्धलाई ‘अर्थहीन’ भनेर जोड दिए र यो कहिल्यै हुनु नहुने थियो भन्दै उनको नेतृत्वमा यो हुने थिएन भनी जोड दिए ।

युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी अधिकारी र रुसी प्रतिनिधिहरूबीचको वार्ताको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफू ‘धेरै बढी विश्वस्त’ भएको र ‘वार्ता धेरै राम्रो भएको’ बताए ।

“रुसले केही गर्न चाहन्छ । उनीहरू त्यहाँ भइरहेको बर्बरतालाई रोक्न चाहन्छन् । साप्ताहिक रूपमा हजारौँ सैनिक मारिँदैछन् । रुसी र युक्रेनी सैनिकहरूबाहेक धेरै कोरियाली मारिएका छन्”, मार–अ–लागोमा मङ्गलबार (स्थानीय समय) कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “हामी यसलाई अन्त्य गर्न चाहन्छौँ, यो एक अर्थहीन युद्ध हो । यो कहिल्यै हुनु हुँदैनथ्यो म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन ।”

उल्लेखनीय छ, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अन्य अधिकारीहरूसँग वार्ता गरे । वार्तामा युक्रेनको स्थितिसहित विभिन्न विषयमा केन्द्रित भएर दुवै पक्षले सङ्घर्ष समाधान गर्न र यसका मूल कारणहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साउदी अरबमा चार घन्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चारवटा मुख्य सिद्धान्तमा सहमत भएको मङ्गलबार रुबियोले बताए । यसमा ‘युक्रेनमा द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न र काम गर्न’ मद्दत गर्न एक उच्चस्तरीय टोली नियुक्त गर्नु समावेश छ जुन ‘संलग्न सबै पक्षहरूलाई स्वीकार्य छ’, भनी सिएनएनले जनाएको छ ।

तथापि छलफलको हिस्सा नभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन ‘रुसको अल्टिमेटमलाई आत्मसमर्पण गर्नेछैन’ भन्दै युक्रेनको सहभागिता बिना भएको कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गर्ने कुरामा जोड दिए।

एक्समा एक पोस्टमा रूसी विदेश मन्त्रालयले लेखेको छ, “विदेशमन्त्री सर्गेई लाभरोभ र राष्ट्रपतिका सहयोगी युरी उशाकोभले विदेशमन्त्री रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग वार्ता गर्नुभयो । दुवै पक्ष रुस–अमेरिका संवाद स्थापना गर्न सहमत भएका छन् ।”

रुस–अमेरिका परामर्शमा रुसी विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ, “सहभागीहरूले द्विपक्षीय सम्बन्धहरूलाई सामान्य बनाउने सम्भावनासहित विषयहरूको व्यापक दायरामा छलफल गरे । पक्षहरू सकेसम्म चाँडो सम्बन्धित राजदूतहरू नियुक्त गर्न र दुई देशका कूटनीतिक मिशनहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू हटाउन उपविदेशमन्त्रीहरूको स्तरमा परामर्श सुरु गर्न सहमत भए ।”

“दुवै पक्षले युक्रेन वरपरको स्थितिमा विचार आदानप्रदान गरे र द्वन्द्व समाधानका लागि आपसी प्रतिबद्धता दोहोर्याए । रुसी पक्षले द्वन्द्वका मूल कारणहरू हटाउन, दीर्घकालीन र स्थायी शान्ति प्राप्तिका लागि उचित अवस्था सिर्जना गर्न र यस क्षेत्रका सबै देशहरूको सुरक्षा र वैध हितहरू सुनिश्चित गर्ने महत्त्वलाई जोड दियो । निकट भविष्यमा नियुक्त हुने विशेष दूतहरूमार्फत यस क्षेत्रमा संयुक्त कार्य जारी राख्ने सहमति भयो”, विज्ञप्तिमा उल्लेख छ ।

आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मामिलाहरूमा रुस र संयुक्त राज्य अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै राष्ट्र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न सञ्चार माध्यमहरू पुनः सुरु गर्न पनि सहमत भएका छन् ।

विज्ञप्तिमा उल्लेख भए अनुसार रुसी र अमेरिकी राष्ट्रपतिहरूबीचको बैठक तयार गर्न संयुक्त कार्य जारी राख्ने चासो पुष्टि गरिएको छ ।

रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध

किएभ । युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठूलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको छ ।

विद्युत आपूर्ति अवरूद्ध हुँदा उक्त क्षेत्रमा वस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधबार बताएका छन् ।

नगर प्रमुख गेन्नाडी ट्रुखानोभले टेलिग्राममा भनेका छन्, ‘शहरको घना बस्ती भएको क्षेत्रमा शत्रुको ठूलो आक्रमणका कारण आवासीय क्षेत्रको ठूलो भागमा बिजुली, पानी र विद्युतको अभावमा अन्य सेवा प्रभावित बनेका छन् ।’

उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । विगत तीन वर्षदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारका साथै यसका शहर र गाउँहरूलाई लक्षित गर्दै आएको छ।

युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले वार्ताका लागि टोली गठन गर्न सहमत भएको एक दिनपछि ओडेसामा आक्रमण भएको हो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कार घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित भएका हुन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।

म्याग्दीको सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा १२ लाखको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजना मार्फत ३० घरपरिवार लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा बिनियोजन गरेको आठ लाख बजेट र चार लाख बराबरको श्रमदानमा योजना निर्माण भएको जानकारी दिए ।

“छ्यारछ्यारेमा मुहान, पाइपलाइन, टंकी र २२ वटा नयाँ धारा निर्माण गरिएको छ भने आठ वटा पुराना धारालाई मर्मत गरेर खानेपानी वितरणको व्यवस्था मिलाएका छौ,” उनले भने, “घरघरमा मिटर सहितको धाराबाट खानेपानी वितरण भएपछि समयको बचतका साथै पानीका कारणले हुने सामाजिक दन्द्ध न्युनीकरण भई सद्भाव कायम गर्न सहयोग पुगेको छ ।”

खानेपानी योजना निर्माणका लागि कुल लागतको दश प्रतिशत श्रमदान गर्नुपर्ने नगरपालिकाको नीति भएपनि प्रतिघर २७ दिनका दरले चार लाख बराबरको श्रमदान भएको उपभोक्ता समितिका सचिव लालबहादुर कार्कीले बताए ।

यसअघि वि.स. २०६५ मा निर्माण भएको योजनाको सार्वजनिक धारा पुरानो भएको र पानी वितरण गर्न असहज भएपछि नयाँ निर्माण गरिएको उनले बताए । यसअघि सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए ।

वितरण प्रणालीलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दिर्घकालिन सञ्चालन गर्न धारामा मिटर जडान गरेर पानीको खपतको आधारमा शूल्क संकलन गर्ने ब्यवस्था मिलाइएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले सम्झौता भन्दा बढी रकम बराबरको श्रमदान गरेर सिस्नेरा र बाजगराका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका बताए ।

बेनी नगरपालिकाको वडा नं.–४ मा पर्ने डाडाखेतमा एक घर, एक धारा सहितको खानेपानी योजना निर्माणका लागि प्रदेश सरकारबाट गत वर्ष २० लाख बिनियोजन गरेर शुरु गरेको योजनाका लागि यस वर्षपनि २० लाख बिनियोजन भएको र निर्माणाधिन रहेको वडा अध्यक्ष खड्काले बताए ।

उनका अनुसार आठ सय ३४ घरपरिवारको बसोबास रहेको बेनी नगरपालिकाको वडा नम्बर–४ को डाडाखेत र थामडाडा बाहेकका टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगेको छ ।

थामडाडाको खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले बिनियोजन गरेको दुई लाख बजेटबाट काम भैरहेको छ । सिंगा, सुर्केमेला, बास्कुना, स्वाँत, ठुलोखोला, राक्से टोलमा एक घर, एक धारा सहितको खानेपानी सुविधा पुगिसकेको वडा अध्यक्ष खड्काले बताए ।

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताए ।

“लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले भने, “सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यसबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुनेछौँ ।”

प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताए । लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको जनाउँदै उनले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच, राज्यको संस्थागत र सामथ्र्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताए ।

प्रधानमन्त्रीले भने, “हाम्रो युवा पुस्ता देशको भविष्य हो । उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअपमार्फत उद्यमशीलताको थालनी गरिएको छ ।” उनले मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गरे ।

‘राष्ट्रको समृद्धि र जनताको सुख’लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’मा समान पहुँचको पैरवी गरेको बताए । उनले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमान्दारीपूर्वक हिँडिरहेको बताए ।

फागुन ७ ले मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रुपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताए । “प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो”, उनले भने, “पुस्तान्तरको समयचापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रीको क्रूरतम् स्मृतिलाई गुमाउन पुग्छ र भन्छ– ‘प्रजातन्त्रले के गरेको छ ?, त्यसले त अझै राणाकालका दरवारहरुबाट निर्वाह गरिरहेको छ’ ।”

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताए । “निरङ्कुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन सक्छ र ?”, उनले भने, “यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ ।”

फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पुँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ ।

“आजको दिन प्रजातन्त्र स्थापनाको सङ्घर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस सङ्घर्षमार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न सङ्कल्प गर्ने दिन पनि हो”, उनले भने ।

नेपाली हाते कागज उद्योगलाई कच्चा पदार्थको अभाव

 गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पदार्थको अभाव हुन थालेको छ ।

गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पदार्थको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।

उद्योगले कच्चा पदार्थको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,।’

उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पदार्थ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘‘वर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पदार्थ पाइन्छ’, उनले भने ‘तर जंगलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’ जंगलबाट झिकेर ल्याएको कच्चा पदार्थ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ ।

शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए। ‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’

मजदुरहरुले जंगलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । ‘‘रोजगारीका हिसावले त कच्चा पदार्थ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ, उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’

उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०/३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए। शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।

बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।”

ट्रम्पले भने, “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनः स्थापित गर्नुपर्छ । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ!”

सत्तासिन राष्ट्रपतिले आफ्ना पूर्ववर्तीले मनोनीत गरेका अमेरिकी न्यायाधिवक्ताका रूपमा चिनिने संघीय अभियोजकहरूको स्थान लिनु सामान्य अभ्यास हो।

देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् ।

अमेरिकी वकिलहरू प्रत्येक जिल्लामा शीर्ष संघीय कानून प्रवर्तन अधिकारी हुन् ।

गत नोभेम्बरमा भएको चुनावमा ट्रम्पको जितपछि डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएका पूर्व राष्ट्रपति बाइडेनले मनोनीत गरेका केही अमेरिकी वकिलले राजीनामा दिए पनि अधिकांशले आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् ।

ट्रम्पले आफूमाथि अन्यायपूर्ण ढंगबाट मुद्दा चलाएको आरोप लगाउँदै आएको न्याय विभाग रिपब्लिकनले पदभार ग्रहण गरेदेखि नै व्यापक हलचलको निशानामा परेको छ र कैयौँ उच्च पदस्थ अधिकारीहरूलाई बर्खास्त गरिएको छ, पदच्युत गरिएको छ वा पुनः नियुक्त गरिएको छ।

बर्खास्त गरिएकामध्ये ट्रम्पविरुद्ध दुई वटा फौजदारी मुद्दा दायर गरेका विशेष सल्लाहकार ज्याक स्मिथको कार्यालयका सदस्यहरू पनि थिए ।

न्यूयोर्कका मेयर एरिक एडम्सविरुद्ध भ्रष्टाचारको आरोप हटाउन न्याय विभागले आग्रह गरेपछि ट्रम्पले नियुक्त गरेको न्युयोर्कको शक्तिशाली ‘साउदर्न डिस्ट्रिक्ट’का कार्यवाहक अमेरिकी महान्यायाधिवक्ताले गत साता राजीनामा दिएका थिए ।

जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय

टोकियो । जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । चुनाव प्रचारका क्रममा घरेलु विस्फोटक पदार्थले गरिएको आक्रमणमा किशिदालाई कुनै क्षति पुगेन । घटनास्थलबाटै २५ वर्षीय आरोपी र्‍युजी किमुरालाई पक्राउ गरिएको थियो।

पश्चिमी जापानमा भएको यो घटना सन् २०२२ जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनाव प्रचारका क्रममा भएको हत्याको एक वर्ष पनि नबित्दै भएको थियो ।वाकायामा जिल्ला अदालतले किमुरालाई हत्याको प्रयास गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको जिजी प्रेस र सार्वजनिक प्रसारक एनएचके लगायत सञ्चारमाध्यमले बताएका छन् ।

आसाही शिम्बुन दैनिकका अनुसार न्यायाधीशले अदालतमा किमुराले ‘लोकतन्त्रको आधारशिला मानिने निर्वाचन भाषणको स्थलमा यो कार्य गरेको’ बताए ।अभियोजनकर्ताहरूले १५ वर्षको सजायको माग गरेका थिए भने किमुराले उनले किसिदालाई मार्ने अभिप्राय अस्वीकार गरेकाले उनको प्रतिरक्षा टोलीले तीन वर्षसम्म जेल सजायको तर्क गरेको थियो ।

अदालतका प्रवक्ताले तत्काल यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन् । आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शङ्कास्पद बारुद, पाइप जस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए ।

एनएचकेका अनुसार सुनुवाइका क्रममा किमुराका वकिलहरूले उनको ‘उद्देश्य (सार्वजनिक) ध्यान आकर्षित गर्नु थियो’ भन्दै उनको आरोप हत्या प्रयास नभई ‘चोट पुर्‍याउने’ हुनुपर्ने बताए । तथापि अभियोजकहरूले यो घटनालाई ‘दुर्भावनापूर्ण आतङ्कवादी कार्य’ भन्दै आक्रमणकारीलाई आफ्नो विस्फोटक घातक भएको थाहा थियो भनी बताएका छन् ।

पहिलेका रिपोर्टहरूका अनुसार किमुराले एक पटक राजनीतिक उम्मेदवारहरूको न्यूनतम उमेर र राष्ट्रिय कार्यालयका लागि उम्मेदवार बन्न कम्तीमा ३० लाख येन (१९,७०० डलर) आवश्यक पर्ने प्रावधानलाई चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

जापानी कानूनअनुसार माथिल्लो सदनको चुनावका लागि उम्मेदवारहरू ३० वर्ष वा सोभन्दा माथिको हुनुपर्छ भने संसद्को तल्लो सदनमा उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्ष तोकिएको छ ।

जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशीला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् ।

‘नेपाली जनताको बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको छ’, अध्यक्ष दाहालले भनेका छन्, “यी उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनको निर्णायक भूमिका छ ।’

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक

काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको छ ।

फिल्ममा विनयसहित सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । फिल्ममा निरोज महर्जनले निर्देशन र कथा छ ।

भारतद्वारा केआईआईटी घटना छानबिन गर्न गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी दूतावासले ओडिसा राज्य सरकारले यस विषयमा जानकारी लिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा सरकारले नेपालीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ ।’

भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ । ओडिसा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुव्र्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ ।’

राष्ट्र जोगाउने हो भने मलाई साथ दिनुस्ः पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।’

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ। तर, उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन् ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fphanir.pathak.3%2Fvideos%2F980854880153627%2F&show_text=false&width=560&t=0

एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । ट्रम्पले कुनै पनि अमेरिकी विदेशी सहायता रकम ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसअनुसार यूएसएडका कार्यक्रमहरू रोकिएको यसअघि नै अर्थ मन्त्रालयले जनाएको थियो ।

तर, एमसीसीबारे भने अन्योल कायम रहेका बेला मंगलबार अर्थ मन्त्रालयले एमसीसीको रकम पनि रोकिएको जनाएको हो । एमसीसी र नेपाल सरकारको रकमबाट अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना अगाडि बढाइएको थियो । यो परियोजना पाँच वर्षभित्र सक्ने गरी कामहरू धमाधम भइरहेका थिए । जग्गा अधिकरणलगायतका कामहरू भइरहेका बेला अनुदान रोकिएसँगै नेपालको संसदले समेत ठूलो कसरतका साथ अनुमोदन गरेको यो परियोजनाको भविष्य नै अन्योलमा परेको छ ।

अध्यादेशको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।

सरकारले  ६ वटा अध्यादेश ल्याएको छ । ती अध्यादेशहरू १८ माघमा संसदमा प्रस्तुत गरिए पनि पारितका लागि निर्णयार्थ पेस भएको छैन ।

माघ २४ को संसद बैठकको कार्यसूचीमा अध्यादेश पारित गर्ने विषय समावेश गरिए पनि राष्ट्रियसभामा अनुकूल संख्या नभएपछि सरकारले त्यसयता अध्यादेश अगाडि बढाएको छैन । त्यस दिन कार्यसूचीबाट अध्यादेशको विषय हटाइएको थियो ।

पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट

काठमाडौँ । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा यही फागुन २२ देखि चैत ४ गतेसम्म सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट खेलको लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाएको हो ।

छनोट हुने टोलीमा कप्तान इन्दु बर्मासहित रचनाकुमारी चौधरी, साना प्रवीन, रिया शर्मा, सीमाना केसी, शोभा रोकाया, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, रूविना क्षेत्री र ममताकुमारी चौधरी छन् ।

त्यसैगरी कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, विन्दु रावल र मनिषा कुमारी उपाध्याय छन् ।

संगठनको निर्देशन विपरीत काम गरेको आरोपमा १२० सशस्त्र प्रहरी कारबाहीमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशनविपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका एक सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।

सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, छ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो ।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।

सङ्गठनको नियम विपरित कार्यगर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढङ्गको तस्विर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशनसमेत दिएको छ ।