`

सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

पर्वत।  गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ। नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो। यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो।

सडक स्तरोन्नतीमा रचनात्मक दबाब सिर्जना गर्नका लागि महोत्सवको आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताए। उनका अनुसार महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि मन्त्री, सांसद तथा राजनीतिक दलका नेतालाई सहभागी गराएर सडकको दुरावस्था देखाउने मुख्य उद्देश्य रहेको छ।

वर्षेनी झण्डै १५ करोडसम्मका सुन्तला उत्पादन हुने भए पनि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँलेले यस्तो जुक्ति निकालेका हुन्। बाँसखर्क जोड्ने वारीवेनी–बगरफाँट–बाँसखर्क सडक स्तरोन्नती हुन नसक्दा गाउँसम्म सवारी साधन पुग्न समस्या भएको छ।

ठुला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानीमा समस्या भएको अगुवा कृषक जगतबहादुर खत्रीले जानकारी दिए। सुन्तला बिक्रीबाट उनले यस वर्ष मात्रै ४० लाख आम्दानी हुने अपेक्षा गरेका छन्। सडक सास्तीका कारण ढुवानीमा समस्या रहेको उनको गुनासो छ।

उनले भने, ‘साना खालका बोलेरो जीपमा थोरै थोरैै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठुलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता रहेको छ, यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ।’ सडकका कारण गन्तव्यमा पुर्याउँदा सुन्तला थिचिने मिचिने र कुहिने समस्या रहन्छ।

ढिलोगरी तयार हुने यहाँका सुन्तला माघ दोस्रो सातापछि मात्र बजार पठाउने गरिएको छ। गत वर्ष ढुवानी गर्ने समयमा गाउँपालिकाले सामान्य सडक मर्मत गरेको भए पनि वर्षायामको बाढी पहिरोले सडकमा सवारी साधन चलाउनै नसक्ने अवस्था रहेको अर्का कृषक मेखबहादुर खत्रीले बताए। यहाँको सडक मर्मतमा कुनै निकायले चासो नदिँदा समस्या भएको छ।

प्रदेश सरकारदेखि यस क्षेत्रको राजनीतिक नेतृत्वलाई नै गाउँमा उतारेर सडकको दुरावस्थाका बारेमा जानकारी गराइ सडक स्तरोन्नती र कालोपत्र गर्नका लागि बगानमै महोत्सव गरिने भएको छ। महोत्सवमा सुन्तलाखेती प्रदर्शन, सुन्तलाका विभिन्न परिकार तथा स्वाद आगन्तुकलाई पस्किने आयोजकको तयारी छ।

अहिले बाँसखर्कसम्म पुग्न बारीबेनी र मिलनचोकबाट कच्ची सडकको खुलेको भए पनि घण्टौँ लगाएर साना सवारी साधनमा पुग्नुपर्ने बाध्यता छ। जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म जान सक्दैनन्। सानो बोलेरो जीप मात्र मुस्किलले गाउँसम्म पुग्ने भएकाले व्यवसायीलाई सुन्तला निकासीमा समस्या भएको कृषक खत्रीले गुनासो गरे।

ठूला ट्रक तथा कन्टेनरबाट एकै पटक ढुवानी गर्न पाएमा आफूलाई सहज हुने सुन्तला खरिदका लागि बगानमा आएका काठमाडौँको कालीमाटीका व्यवसायी रमेश ढुङ्गेलले बताए। “यति ठूलो सुन्तला बगानको सहजताका लागि राज्यसमेतले पूर्वाधार निर्माण गरिदिनुपर्दछ”, उनले भने। करिब १० किलोमिटरको दुरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको व्यवसायीको गुनासो छ।

गण्डकी प्रदेश र बाहिर पनि बाँसखर्कको सुन्तला राम्रो मूल्यमा जाने गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले प्रचारप्रसार गर्न तथा सुन्तलालाई ब्रान्डीङ गरेर बाहिर निर्यात गर्नुका साथै बगैँचासम्म जाने सडक सुधारका लागि महोत्सव आयोजना गरिएको बताए। यहाँका कृषकले गत वर्ष ११ करोड भित्र्याएका थिए भने अहिले क्षेत्रफल र उत्पादन दुवै बढेकाले १५ करोडसम्म आम्दानी हुने आकलन गरिएको उनले बताए।

बाँसखर्कको अधिकांश सुन्तला काठमाडौँ पुग्ने गर्दछ भने केही मात्रामा पोखरा, नारायणगढ र बुटबलमा बिक्री हुने गरेको कृषकले बताएका छन्। व्यवसायिले यहाँका सुन्तला बुकिङ्ग गरिसकेका छन्। अन्यत्र याम सकिएपछि मात्र यहाँ सुन्तला टिप्न आउने कृषक सोमबहादुर तिलिजाले बताए।

यहाँका २५० घरधुरी अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन्। हरेक परिवारले न्यूनतम पाँच लाखदेखि ४० लाखसम्म आम्दानी गर्दै आएका छन्।

जलपर्यटन: ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन’, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।

उनी पूर्वी क्षेत्रमा विभिन्न कारणले जलयात्रा (र्‍याफ्टिङ) संकटमा पर्न थालेको भनेर चिन्ता व्यक्त भइरहँदा ‘भर्जिन’ क्षेत्रका रूपमा रहेको पश्चिम नेपाल, विशेषगरी सुदूरपश्चिममा यसको व्यावसायिक विकासका लागि गम्भीर विमर्श हुनै नसकेको धारणा राख्छन् । ‘विभिन्न मञ्च र संवादमा पूर्वतिर काम गरिरहेका व्यवसायीहरूले जलयात्राको युग सकिन लागेको भनेर चिन्ता व्यक्त गर्छन् । सुदूरपश्चिममा भने अझै व्यावसायिक युग सुरु भएन’, कर्णाली नदीको बाजुराखण्डमा र्‍याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्छन्,’राज्यले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि लगानी र प्रचारप्रसार नै गर्न सकेको छैन । व्यवसायीले पनि पूर्वमा मात्रै गतिविधि गर्ने र केही समस्या भएमा पलायन हुने तर सुदूरका सम्भावनाबारे चासो नराख्ने समस्या यथावत छ । म त भन्छु धेरै कुरा पूर्वमा सुरु हुन्छ, त्यतै अन्त्य हुन्छ । जलपर्यटनको हल्ला पनि यही हो ।’


अर्का व्यवसायी देवराज जैशी विगतमा भूगोल र सम्पर्क सञ्जालको अभावका कारण सुदूरपश्चिमलगायत पश्चिम क्षेत्र ओझेलमा परे पनि अब त्यो अवस्था नरहेकाले राज्यले गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गरेमा समग्र देशले नै लाभ लिनसक्ने बताउँछन् । ‘जलयात्राका हिसाबले विश्वप्रसिद्ध कर्णाली, महाकाली, सेती कर्णाली, बुढिगङ्गालगायत नदीहरू र खप्तड, बढिमालीका, रामारोशन, शुक्लाफाँटा, अपिसैपालजस्ता प्राकृतिक सम्पदा यही क्षेत्रमा छन् । धार्मिक पर्यटनको त्यत्तिकै सम्भावना छ । सरकारले चाहेमा यहाँ जलपर्यटनको विकासमार्फत समग्र क्षेत्रको विकासमा टेवा पुग्नसक्छ ।’ तर विडम्बना यी सम्भावनाको सदुपयोग गर्ने विषयमा अझै योजनाबद्ध विकासको खाका तयार गर्न सकिएको छैन । जल पर्यटनको हिसाबले त सुदूरपश्चिम झन् उपेक्षामा छ । नेपालमा जलयात्रा शुभारम्भ भएको ५० वर्ष पुग्न लागिसक्यो तर पश्चिम नेपाल भर्खरै बामे सर्दैछ । महाकालीमा त अझै जलयात्राको व्यावसायिक विकास हुनसकेको छैन ।


नेपाल एशोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का निवर्तमान अध्यक्ष शिव अधिकारी देशका अन्य भूभागमा जलयात्रा अभ्यासको आधा शताब्दी हुँदासम्म महाकालीलगायत सुदूरपश्चिमका नदीहरूको व्यावसायिक प्रयोग नहुनु दुःखद भएको बताउँछन् । उनी भन्छन्, ‘विडम्बना नै भन्नुपर्छ देशमा अनुमतिप्राप्त नदीमध्ये महाकाली मात्रै र्‍याफ्टिङ नचलेको नदी हो जबकि यो नदी सम्भावनाका हिसाबले विश्वभर प्रसिद्ध छ । देशमा र्‍याफ्टिङ सञ्चालन भएको दशकौँ हुँदासमेत यहाँ भर्खरै सम्भावनाका कुरा हुँदैछन् ।’

नाराका नवनिर्वाचित सचिव जैशी काम गर्न चाहने व्यवसायीको अभावले नभई राज्यको नीतिकै कारण सुदूरपश्चिम क्षेत्रका प्राकृतिक स्रोतको उपयोग र पर्यटन प्रवद्र्धन हुनुनसकेको धारणा राख्छन् । उनी वागमति, गण्डकी र त्यस आसपास केन्द्रीत गतिविधिले महाकाली र कर्णालीजस्तो विश्वप्रसिद्ध नदीमा जलयात्राको व्यावसायिक विकास हुननसकेको र अन्य नदीमा पनि विभिन्न समस्या रहेको बताउँछन् । ‘महाकाली नेपाल भारत सीमा नदीसमेत भएकाले यहाँ व्यवसायीले मात्रै चाहँदैमा केही गर्न सकिने अवस्था छैन । नीतिगत रूपमा निर्बाध जलयात्रा गर्न सकिने गरी सरकारले सहजीकरण गरेमा नीजि क्षेत्र काम गर्न तयार छ तर सरकारका कुनै निकायको यसतर्फ चासो छैन’, उनले भने,’अन्य नदीमा पनि त्यस्तै समस्या छ । सरकारले आवश्यक अध्ययन गरी सम्भावित रुट, बाटो विस्तार, प्रस्तानबिन्दु र गन्तव्यबिन्दुमा बासस्थानलगायत अत्यावश्यक पूर्वाधारमा लगानी र व्यवस्थापन नगर्दा अझै लाभ लिन सकिएको छैन ।’

डडेल्धुराको परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशी अब महाकाली सीमा नदी हो भनेर पन्छिनुभन्दा पनि भारतसँगको सहकार्यमा यहाँ जलयात्राको विकास गरिनुपर्ने बताउँछन् । ‘दार्चुलादेखि कञ्चनपुरको दोधारा चाँदनीसम्म सहजै जलयात्रा गर्न सकिन्छ । गत वर्ष हामीले परशुरामधामदेखि कञ्चनपुरको खल्लासम्म करिब दुई घण्टामै यात्रा तय गरेर त्यो पुष्टि गरिसकेका छौँ । अब यसको व्यावसायिक विकासको खाँचो छ । त्यसका लागि भारतसँग संवाद गरेर, उसका सुरक्षा चासोलाई सम्बोधन गर्दै काम अगाडि बढाउनुपर्छ’, उनले भने,’देशमा तीन तहका सरकार छन् । सङ्घ सरकारले दशकौँदेखि पर्यटन क्षेत्रमा करोडौं खर्चिरहेको छ तर सुदूरपश्चिममा त्यसको नगन्य हिस्सा लगानी भइरहेको छ । त्यसको उदाहरण जलयात्रा पनि हो । थोरै लगानी गरेर धेरै लाभ लिन सकिने यो क्षेत्रमा केही वर्षदेखि चर्चा सुरु भएको छ । अब यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक सहजीकरणको खाँचो छ ।’

कुनै समय नेपालको जलपर्यटनमा स्वर्णीम युग थियो । यस क्षेत्रका जानकारहरू त्यो युग सन् १९९० को दशकलाई मान्ने गर्छन् तर सुदूरपश्चिमलाई त्यसले छोएन । यहाँ सम्भावनाका कुरा भए तर त्यसअनुसार काम भएनन् । विगत नौ वर्षदेखि कर्णाली (बाजुरा) खण्डमा र्‍याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्छन्,’पूर्वमा निजी सङ्घसंस्था, सरकारका सम्बद्ध निकाले हल्लाखल्ला गरे, लगानी बढाए, पूर्वाधारको विकास गरे त्यहाँ पर्यटन क्षेत्र फस्टायो तर हामीलाई भूगोल र पूर्वाधारले नै ठग्यो । अब त त्यो अवस्था छैन । पर्यटकहरूले हेर्न चाहने ग्रामीण जीवन, विकासको अवस्था, फरक रहनसहन, धार्मिक आस्था, प्राकृति विशिष्ट भूबनोट रहेको सुदूरपश्चिमको विकासका लागि अब सरकारले गन्तव्य सुदूरपश्चिमको सङ्कल्पसहित यहाँ केन्द्रीत हुन आवश्यक छ ।’

बिच्किदै पर्यटक, पलायन हुँदै व्यवसायी

सन् १९७५ लाई आधार मान्ने हो भने नेपालमा जलयात्राको व्यावसायिक सुरुआत भएको पाँच दशक भयो । साना र ठूला गरी देशमा छ हजारभन्दा बढी नदी छन्, तीमध्ये सरकारले १८ वटा नदीलाई जलयात्राका लागि औपचारिक रूपमा खुला गरेको छ । अन्तिमपटक २०५९ पौष १२ गते तत्कालीन मन्त्रिपरिषद्ले निर्णय गर्दासम्म १८ नदी खुला गरिएको भनिए पनि हाल देशका अन्य विभिन्न नदीमा औपचारिक र अनौपचारिक रूपमा जलयात्रा भइरहेका छन् । विशेषगरी त्रिशूली, कालिगण्डकी माथिल्लो खण्ड, कालिगण्डकी तल्लोखण्ड, सेती खोला, मस्र्याङ्दी, बुढीगण्डकी, सुनकोशी, सुनकोशी माथित्लोखण्ड, भोटेकोशी, बलेफी, तल्लो अरुण, तमोर, दूधकोशी, कर्णाली, महाकाली, सेती कर्णाली, भेरी र बबै जलयात्राका लागि प्रसिद्ध छन् ।

उच्च हिमशृङ्खलाबाट निश्रृत नदी अटुट रूपमा पाखा, पखेरा, हिमचुचुरालाई चुम्दै बग्ने भएकाले पनि यी मनमोहक नदीहरूमा जलयात्रा गर्न स्वदेशी तथा विदेशीहरू लालायित हुन्छन् । यसर्थ नेपाल विश्वका साहसिक पर्यटकको एक आकर्षक गन्तव्य हो । ‘उच्च हिमशृङ्खलाबाट बग्ने कञ्चन र निश्चल नदीहरूमा साहसिक कार्य, मनोरञ्जन र शारीरिक फिटनेसका लागि मात्रै होइन यहाँको प्राकृतिक भूबनोट, भिन्न जनसाङ्ख्यिक उपस्थिति, अद्वितीय प्राकृतिक सुन्दरता, अनकन्टार गाउँ—बस्ती, सांस्कृतिक धरोहर र जङ्गली जनावर, वनस्पति र जैविक विविधता देख्न पनि जलयात्राले अवसर प्रदान गर्छ । त्यसैले नेपाल विश्वका साहसिक जलयात्रीको रोजाइमा पर्छ’, नाराका निवर्तमान अध्यक्ष अधिकारी भन्छन् ।

एकै यात्रामा हिमाल, पहाड र तराईको अनुपम दृश्यावलोकन गर्ने सौभाग्य संसारका अन्य देशमा विरलै देख्न पाइने भएकाले पनि नेपाल जलयात्राको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको व्यवसायी गङ्गाप्रसाद नेपालको भनाइ छ । यति महत्वपूर्ण क्षेत्र पछिल्लो समय राज्यको नीतिकै कारण समस्यामा परेको व्यवसायीको गुनासो छ । नदी तथा खोलालाई डम्पिङ साइट बनाउने, हाइड्रो पावरको नाममा अन्य पक्षलाई खालै नगरी ड्याम बाधेर खोला सुकाउने, डाडा खनेर नदीको प्राकृतिक बहाबलाई छेक्ने गरी बाढीपहिरो जानेजस्ता समस्याले यो क्षेत्र संकटमा पर्दै गएको व्यवसायी निमबहादुर मगरको भनाइ छ । ‘सरकारको नीति नै प्रष्ट भएन । एकातिर धेरै खोलाहरू हाइड्रोका नाममा जलयात्रा प्रतिकूल बन्दैछन् । हुँदाहुँदा सरकारले अन्नपूर्ण बेसक्याम्प निजिकैको नदीमा हाइड्रो बनाउँदैछ । हाईड्यामकै कारण विश्वप्रसिद्ध भोटेकोशी, मस्र्याङ्दी, कालिगण्डकीको जल पर्यटन खुम्चिने मात्रै होइन, मासिने अवस्थामा पुगेको छ । दूरगामी सोचका साथ काम नहुँदा पानीको बहाब छेकिएको छ । प्राकृतिक बहाबका लागि छोड्नुपर्ने ३० प्रतिशत पानी पनि छोडिदैन । बाढीपहिरो, भूक्ष्यले खोलाको अवस्था तहसनहस हुँदैछ । यसले जलयात्रा जोखिममा छ । पर्यटक बिच्किँदै गएका छन्’, उनीले भने ।

यसका अतिरिक्त सङ्घ, प्रदेश र पालिकापिच्छे कर तिनुपर्ने तर राज्यका तर्फबाट सहुलितका लागि ठोस पहल नहुँदा व्यवसायीहरू पलायन हुने स्थितिमिा पुगेका नाराका पूर्वअध्यक्ष मगरको भनाइ छ । ‘सुनकोशीको दोलालघाटदेखि चतरासम्म एउटा पर्यटकले २५/३० हजार तिर्नुपर्छ । यसले पर्यटकहरू फर्केर आउँदैनन् । अर्कोतर्फ यो व्यवसायी धेरै महङ्गोमा पर्छ । एउटा डुङ्गालाई नै १३ लाखभन्दा बढी तिर्नुपर्छ तर सहुलियत छैन । मर्मतको त्यस्तै समस्या छ । यसकारण व्यवसायीहरू पलायन हुने अवस्थामा छन् । कुनै बेला १३० भन्दा बढी व्यवसायी थिए, अहिले घटेर ७५ जति मात्रै छन्, तीमध्ये सबै क्रियाशील हुने अवस्था पनि छैन ।’

यस्तै भनाइ छ व्यवसायी मेघ मगरको । एकातिर खोलाको प्राकृतिक अवस्था बिग्रिँदै गएको र अर्कोतिर यस क्षेत्रको विकास, प्रवद्र्धन र नियमनका लागि राज्यले उचित ध्यान नदिँदा व्यवसायीको लगानी नै जोखिममा रहेको उनीको भनाइ छ । ‘सन् १९९० को दशकमा नेपालमा र्‍याफ्टिङ गर्ने विदेशी पर्यटकको सङ्ख्या राम्रो थियो । एकप्रकारले त्यो समय स्वर्णीम युग नै थियो तर द्वन्द्व, भूकम्प, राजनीतिक अस्थिरतालगायत कारणले यो विथोलियो । त्यसपछि लय समात्न सकेन । राज्यले टे«किङ, पर्वतारोहणलाई मात्रै ख्याल गर्‍यो । र्‍याफ्टिङ र रिभर टुरिजममा लगानी भएन, जबकि र्‍याफ्टिङ, कायकिङजस्तो जलपर्यटनमा नेपाल विश्वस्तरीय गन्तव्य हो । अहिले हामी साँच्चै समस्यामा छौँ ।’

जल पर्यटनमा पश्चिम नेपाल

यहाँ कर्णाली, महाकाली, सेती कर्णाली, राप्ति, बबै, ठूलो भेरी, सानो भेरी, भेरी, हुम्ला, मुगु र टिला कर्णाली, बुढीगङ्गाजस्ता नदीहरू छन् । यी सबै नदीका आआफ्नै विशेषता छन् । कोही कायकिङ, कोही फिसिङ्, कोही र्‍याफ्टिङ्का लागि राम्रो छन् । यिनको व्यावसायिक प्रयोगका लागि भने ठोस पहल भएको देखिँदैन । प्राप्त जानकारीअनुसार कर्णालीमा एकदेखि १८ दिन, भेरीमा १० दिन, पश्चिम सेती कर्णालीमा १४ दिन, महाकालीमा पनि एक दिनदेखि छ/सात दिनसम्मको प्याकेज बनाएर जलयात्रा गर्न सकिन्छ तर त्यसको प्रचार हुनसकेको छैन ।

कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक जैशी भन्छन्,’हालसम्म काठमाडौँमा बसेर केही संस्थाले बनाएका नीतिअनुसार काम भइरहेको छ । कतिपयले त यहाँका १४ दिनसम्म जलयात्रा गर्न सकिने नदीलाई पनि केवल १० मिटरको मात्रै त हो नि भन्ने ढङ्गले कुरा गरेको सुन्छु । यहाँ आधा दिन, एक दिनदेखि १८ दिनसम्मको जलयात्राको प्याकेज बनाउन सकिन्छ तर हामीले यसको प्रचारप्रसार गर्ने प्लेटफर्म नै पाएनौँ ।’

पश्चिम नेपालमा हाल चार/पाँच वटा संस्था मात्रै इजाजत प्राप्त रहेको बताइन्छ । ती पनि सबै क्रियाशील छैनन् तर इजाजत नपाएका कम्पनीहरूले पनि आफूखुसी नदीमा प्रवेश गर्ने अवस्था छ । ‘हामीले करोडौ लगानी गरेर यस क्षेत्रमा काम गरिरहेका छौँ । एउटै बोटको रु १३ लाभन्दा बढी पर्छ । सबै ठाउँमा मर्मत केन्द्र छैन । राज्यले सहुलियत र प्रोत्साहन गर्दैन’, जैशीले भने,’त्यसैमाथि इजाजत नपाएका कम्पनी, व्यक्ति, स्वदेशी तथा विदेशीलेसमेत बिनारोकतोक र्‍याफ्टिङ चलाउने जाने अवस्था छ । कुन नदीको कुन रुटमा सञ्चालन गर्ने वा नगर्ने भन्ने नियम नै छैन । भएको नियमको पनि नियमन गर्ने निकाय नहुँदा व्यवसायी मारमा परेका छौँ ।’

व्यवसायी भण्डारी पनि अब विगतको नीतिलाई सुधार गर्दै पश्चिम नेपालको पर्यटन सम्भावनालाई साकार गर्न राज्य र निजी क्षेत्र मिलेर अगाडि बढे जलपर्यटनको माध्यमबाट देशको मुहार फेर्न सकिने दाबी गर्नुहुन्छ । ‘सुदूरपश्चिमलाई दूरीले टाढा छ भनेर उपेक्षा गरियो । यहाँ लक्षित पर्यटन टुर प्याकेज कहिल्यै बनेनन् । अहिले तीन तहका सरकार छन् तर पनि अवस्था फेरिएको छैन । अब सम्भावनाको अन्त्य होइन, सुदूरपश्चिमबाट नयाँ आशा जगाउन सकिन्छ । खस्किँदै गएको जलपर्यटन र समग्र पर्यटनमा नयाँ लय फर्काउन सकिन्छ’, वलिभ इकोभिलेज होटलका सञ्चालकसमेत रहेका भण्डारी भन्छन्,’सुदूरपश्चिम पर्यटनका दृष्टिले ‘भर्जिन ल्याण्ड’ हो । पहिले नजिक र टाढाको भाष्यका कारण ओझेलमा पर्‍यो । अब त धेरै ठाउँमा सडक बनेका छन्, हवाई सुविधा छ । अब नेपालमा सबै बिग्रिँदैछ भनेर होइन सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो भनेर गन्तब्य सुदूरपश्चिमको भावनासहित अगाडि बढ्न आवश्यक छ ।’

जल पर्यटन विशुद्ध नदीको कुरा मात्रै होइन त्यससँग कला, संस्कृति, रहनसहन, शिक्षा र समाज, आस्था र सभ्यता पनि जोडिने भएकाले यी हरेक दृष्टिले सुदूरपश्चिम अबको गन्तब्य हुनसक्ने जानकारहरू बताउँछन् । यहाँ परशुरामधाम, उग्रतारा, मेलौली भगवती, शैलेश्वरी, बैद्यनाथधाम, बडिमालीका, कालिकार्जुन, बेहडाबाबा, ब्रह्मदेव, बडिकेदारजस्ता धामिक आस्थाका केन्द्र तथा खप्तड, रामारोशन, टीकापुरपार्क, कर्णाली चिसापानी, सूर्योदय हेर्न मिल्ने राजकाँडा, रामारोशन, झिलमिला ताल, बेदकोट ताल, घोडाघोडी सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता प्राकृतिक क्षेत्र छन् । यही भूगोलभित्र राउटेदेखि खसआर्यका मौलिक परम्परा, भाषा र साहित्य, राना थारुदेखि सौका जातिसम्मका फरकफरक वेशभूषा, रहनसहन, खानपिन, जीवनशैली पर्यटकका लागि एक ‘प्याकेज’ हुन सक्छन् ।

भीमदत्त नगरपालिका कञ्चनपुरका प्रमुख पदम बोगटी पूर्वमा त्रिशूली, भोटेकोशीलगायत नदी क्षेत्रको विकासजस्तै सुदूरपश्चिमका कर्णाली र महाकालीको विकासका लागि सबै जुट्नुपर्ने बताउँछन् । ‘विसं २०३४/३५ तिरै त्रिशूलीमा ‘इन्जोय द बिच’ भनेर ठूला अक्षरले लेखिएको मलाई सम्झना छ । त्यो भनेको बालुवाको तप्पडमा गएर आरामले सुत्ने भनेको रहेछ । धेरै वर्षदेखि त्रिशूली रिभर बेसिनलाई त्यसरी प्रयोग गरियो । आज त्रिशूली हेर्नुस् त त्यहाँ वरिपरि होटल र रिसोटै रिसोट छन् । त्यो सम्भावना महाकाली र कर्णालीमा पनि छ तर अहिलेसम्म त्यसलाई प्रयोग गर्न सकिएन’, उनीले भने,’यहाँ ठूला पाँचतारे होटल नभए पनि हाम्रा बस्तीहरूलाई होमस्टे बनाएर परम्परागत परिकारहरूको स्वाद दिएर पर्यटक आकर्षित गर्न सकिन्छ ।’

अब यसो गरौँ

‘हामीलाई जलविद्युत् मात्रै चाहिएको हो कि समृद्धि ? राज्य प्रष्ट हुनुपर्‍यो । समृद्धिको कुराले त निमुखा ग्रामीण जनता, नदी किनारका बस्ती लाभान्वित हुन्छन् तर प्राकृतिक नदी प्रणाली मासिएमा कसैलाई लाभ हुँदैन’, व्यवसायी मेघ आले भन्छन्,’हाइड्रो नदीको जुनसुकै खण्डमा पनि हुनसक्छ तर र्‍याफ्टिङ सबै ठाउँमा हुँदैन । त्यसैले दुवै कुरालाई सुनिश्चित गर्दै लाभ लिन सकिन्छ । राज्य गम्भीर बनोस् ।’ उनी पूर्वका नदीहरूको प्राकृतिक स्वरूप थप नबिगार्न सुदूरपश्चिमका कर्णाली र महाकालीको भरपूर प्रयोग गर्न अब ढिला गर्न नहुने बताउँछन् । कर्णाली अझै पनि विश्वका पाँच वटा प्रमुख नदीभित्र पर्ने र महाकालीको पनि त्यस्तै सम्भावना भएकाले यहाँको प्रचारप्रसार जरूरी रहेको मगरको भनाइ छ ।

नाराका निवर्तमान अध्यक्ष अधिकारी धेरैको चासो अब महाकाली नदीमा भएकाले भारतसँग सहकार्य गरेर त्यसको प्रयोग गर्नुपर्ने र कर्णाली, पश्चिम कर्णाली नदीप्रतिको विश्वव्यापी चासोलाई समयमै सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताउँछन् । ‘धेरैले भारतले के गर्ला भन्छन्, भारतसँग सहकार्य गर्‍यो भने केही पनि हुँदैन । उनीहरूले त्यही महाकालीमा र्‍याफ्टिङ सञ्चालन गरेर करोडौँको कारोबार गरिरहेका छन्, हामी के गर्छ भनेर चुप लागेर बस्छौँ । अब संवाद र सहकार्यको माध्यमबाट अगाडि बढौँ, ढिलो नगरौँ’, उनीले भने ।

व्यवसायी जैशी सरकारले नदीको रुट निर्धारण, प्रवेश र गन्तव्य क्षेत्रमा पूर्वाधार, इजाजतप्राप्त कम्पनीलाई प्रोत्साहन, अबैध नदी प्रवेशमा रोक र प्रचारप्रसारमा सहजीकरण गरेमा धेरै समस्या समाधान हुने बताउँछन् । ‘अहिले यहाँका धेरै नदीमा सम्भाव्यता अध्ययन र रुटको आधिकारिक पहिचान नै हुन सकेको छैन । इजाजत प्राप्त कम्पनी पहिचान, प्रोत्साहन, नदीको नियमका लागि कुनै पहल भएको छैन । भारतीय र बेलायतका कम्पनीले उतैबाट र्‍याफ्ट ल्याउने र नदीमा प्रवेश गरी फर्किने, अन्य देशका कम्पनीले पनि आफैंले कायकिङ बोट ल्याएर प्रयोग गर्छन्, जान्छन् । हामी करोडौँ लगानी गरेर निरीह जस्तै छौँ । यो अवस्था अन्त्य हुनुपर्‍यो’, उनीले भने ।

नाराका पूर्वअध्यक्ष नेपाल पनि अब सुदूरपश्चिम गन्तव्यको विकास, प्रवद्र्धन र प्रचार गर्न आवश्यक रहेको बताउँछन् । सुदूरपश्चिम गन्तव्यका लागि केही समयका लागि हवाइ टिकटमा सहुलियतको नीति, विश्वका ठूला मञ्चमा यहाँको प्रचारप्रसार, लगानीका लागि व्यवसायीलाई प्रोत्साहन, सरकार प्राथमिकता, निजी क्षेत्रका व्यावसायिक संस्थाहरू नेपाल एशोसियसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) लगायतले पनि सुदूरपश्चिमको पर्यटन सम्भावनाको विकासमा थप योगदान गर्नुपर्ने यस क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली कार्यक्रमहरूमा सहभागी भएका छैनन् भने निवास बालुवाटारमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओली बुधबार सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भने पनि स्वास्थ्यमा समस्या देखिएपछि निवासमै आराम गरेका हुन्।

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ । यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुआत गरेको छ ।


वित्तीय सुधार कार्यक्रम कार्यान्वयनमा आएपछि निरन्तर मुनाफा हासिल गर्न सफल भएको बैँकद्वारा आज यहाँ जारी विज्ञप्तिमा सो जनाइएको छ । बैंकको सञ्चालनगत एवम् व्यवस्थापकीय कार्यदक्षतालाई वार्षिकरूपमा आर्जन हुने मुनाफाले प्रतिविम्बित गर्दछ । विसं २०५८ मा लागू भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रमुख परिसूचकहरूमा बैंकले उल्लेख्य सुधार गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंक लि विसं २०२२ माघ १० गते स्थापना भएको बैंक साविक राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापना भई बैंकसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार विसं २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यस बैंकले वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्दै आएको छ ।

गत आव २०८०/८१ मा दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकले आव २०७५/७६ देखि नै बैंकिङ क्षेत्रमा उल्लेखनीय मुनाफा आर्जन गर्दै मुनाफा आर्जनलाई निरन्तरता दिएको छ । आर्जित मुनाफाबाट आव २०७५/७६ मा १२.० प्रतिशत नगद लाभांश, आव २०७६/७७ मा ४.५० प्रतिशत (२ प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश), आव २०७७/७८ मा ३३.० प्रतिशत (३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश), आव २०७८/७९ मा १२.५० प्रतिशत (५.० बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश) र आव २०७९/८० मा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनीलाई समेत प्रतिफल दिन सफल भएको बैंकले जनाएको छ ।

विज्ञप्तिका अनुसार २०८१ असार मसान्तमा बैंकको अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । व्यवसाय विस्तारको परिणामस्वरूप हासिल गरिएको मुनाफाको बाँडफाँट तथा सम्पत्तिको पुनःमूल्याङ्कनबाट कोषहरूको वृद्धिसँगै २०८१ असार मसान्तमा बैंकको पुँजी कोष ५२ अर्ब चार करोड पुगेको बैँकले जनाएको छ ।

निक्षेपको आयतन नै बैंकउपर निक्षेपकर्ताले गरेको विश्वासको प्रतिविम्ब भएको विज्ञप्तिमा उल्लेख छ । बैंकले सर्वसाधारण तथा संस्थागत गरी करिब ४५ लाख ५० हजारभन्दा बढी निक्षेपकर्ताहरूबाट आव २०८१/८२ को पुस मसान्तसम्ममा चार खर्ब ४७ अर्ब ३२ करोड निक्षेप परिचालन गरेको छ ।

बैंकले समाजका हरेक वर्गका सर्वसाधारण तथा उद्यमी व्यवसायीसम्म वित्तीय सेवा पु¥याउने हेतुले राष्ट्रव्यापी शाखा सञ्जालद्वारा भौतिक एवम् डिजिटल प्रविधिमार्फत विभिन्न वर्ग, पेसा, व्यवसाय, लिङ्ग आदि लक्षित आकर्षक र नवीनतम बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

सरकारको प्रमुख सहयात्री

सङ्घीय सरकारका कूल ८१ कोष तथा लेखानियन्त्रक कार्यालयमध्ये ५०, प्रदेश सरकारका ७७ मध्ये ५१, एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार यसै बैंकमार्फत हुने गरेको जनाएको छ । यस्तै बैंकले राजस्व सङ्कलन गर्ने प्रयोजनका लागि शाखा तथा विस्तारित काउन्टरका साथै अन्य सबै शाखा सञ्जालमार्फत सरकारको राजस्व सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । समग्रमा, नेपालको कूल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यसै बैंकमार्फत हुँदै आएको छ ।

सरकारका निजामती, सेना, प्रहरी, शिक्षकलगायतका सेवाबाट सेवानिवृत्त एक लाख ६० हजारभन्दा बढी व्यक्तिहरूको निवृत्तिभरण भुक्तानी गर्ने सो बैंकको निवृत्तिभरण भुक्तानीमा ६० प्रतिशतभन्दा बढी हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ । समयानुकूल प्रविधिमैत्री प्रणालीमार्फत कारोबार गर्दै जाने नेपाल सरकारको योजनामा हातेमालो गर्दै बैंकले आफ्नो बैंकिङ प्रणालीलाई सोहीअनुरूप परिमार्जन गर्दै लगेको छ । साथै सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको भुक्तानीसम्बन्धी अधिकांश कारोबार यसै बैंकमार्फत हुने गरेको छ ।

पञ्चवर्षीय राणनीतिक योजना २०२०–२०२५ तयार गरी कार्यान्वयनमा ल्याइसकेको बैंकले आर्जन गरेको नाफाबाट प्रचलित कानुनबमोजिम सरकारलाई आयकर भुक्तानी गर्नुका साथै ब्याज कर तथा स्रोतमा करकट्टीलगायतका कार्य गरी सरकारको राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्दै आएको छ ।

आयकरबापत सरकारलाई गत आव २०८०/८१ मा एक अर्ब ७५ करोड, आव २०७९/८० मा दुई अर्ब १८ करोड, आव २०७८/७९ मा एक अर्ब ७९ करोड ४० लाख दाखिला गरेको छ भने आव २०७४/७५ मा बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्येमा सबैभन्दा बढी आयकर दाखिला गरेबापत आठौँ राष्ट्रिय कर दिवस २०७६ का अवसरमा सरकारबाट सम्मानप्राप्त गरेको छ ।

सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुई सय ९४ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ शाखारहित बैंकिङ एकाइमार्फत बैंकले आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संरचनाअनुरूप सातै प्रदेशमा प्रादेशिक कार्यालयमार्फत ग्राहक सेवालाई छिटो र प्रभावकारी बनाइएको छ ।

व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरूप चालु आवसम्ममा शाखा सङ्ख्या ३३० पु¥याउने लक्ष्य रहेको बैकले जनाएको छ । ग्राहक, विभिन्न तहका सरकार, नियामक निकाय तथा सर्वसाधारणको सहयोग तथा भरोसाका कारण यो बैंक ठूलो शाखा सञ्जालसहित अग्रणी वाणिज्य बैंकका रूपमा सञ्चालित छ ।

रोजगारी सिर्जनामा योगदान

प्रत्यक्षरूपमा करिब तीन हजार जनशक्तिलाई रोजगारी प्रदान गरेको यस बैंकले स्थापनाकालदेखि नै बैंकका लागि आवश्यक जनशक्ति परिपूर्तिमार्फत रोजगारी सिर्जना गर्दै आएको छ । बैंकले प्रवाह गरेको कर्जामार्फत राष्ट्रिय उत्पादनको वृद्धि तथा बढ्दो आर्थिक गतिविधिकोे परिणामस्वरूप अप्रत्यक्षरूपमा रोजगारी सिर्जना हुन गई गरिबी निवारणमा समेत सकारात्मक योगदान गरेको बैँकले जनाएको छ ।

बैंकले लघु, साना, कृषि तथा सहुलियतपूर्ण कर्जा लगानीमार्फत ऋणी तथा निजका परिवारलाई स्वरोजगार बनाउँदै लगेको छ । चालु आवको कार्यक्रममा स्थानीय सीपको प्रयोगमार्फत ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सिर्जना तथा स्थानीय जीवनस्तर सुधारका लागि ‘ग्रामीण जीवनमा सुधार, एसएमई कर्जाको विस्तार’ कार्यक्रम तय गरी कार्य प्रारम्भसमेत गरिसकेको जनाइएको छ ।

बैंकले स्थापनाको सुरुआतदेखि लामो समयसम्म हस्तलिखित खाता प्रणालीबाट कारोबारको हिसाबकिताब राख्दै आएकोमा विसं २०६० देखि आरबिबी एसवाइएस बाट कारोबारलाई कम्प्युटर प्रणालीमार्फत अटोमेसन गर्ने कार्य सुरु गरेको र हालको कारोबार प्रणालीलाई समेत समयसापेक्ष सुधार गर्न आइटी इन्हासमेन्ट रोडम्याप तयार गरी सोको कार्यान्वयनमार्फत कारोबार प्रणालीको स्तरवृद्धि गर्ने चरणमा रहेको छ ।

प्रविधिमा आधारित अत्याधुनिक वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिई मौजुदा प्राविधिक पूर्वाधारको स्तरोन्नतिका लागि बैंकले योजनाबद्ध रूपमा लगानी वृद्धि गर्दै आएको बैकले जनाएको छ । आव २०७९/८० र आव २०८०/८१ मा समेत बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी डिजिटल कारोबार (सरकारी कारोबार समेत) गरेबापत नेपाल क्लियरिङ हाउसबाट प्रोत्साहन प्राप्त गरिरहेको छ ।

बैंकले समाजप्रतिको बृहत्तर उत्तरदायित्व निर्वाह गर्ने क्रममा दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, देशको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा वातावरण सम्वद्र्धन तथा संरक्षण, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिक स्तरवृद्धिका लागि विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम, सामाजिक संस्थारपार्क व्यवस्थापन कार्यमा सहकार्य, स्थानीय निकाय, क्लब तथा सामाजिक संस्थासँगको सहकार्यमा अन्य सामाजिक कार्यमा उल्लेखनीय आर्थिक सहयोग पु¥याउँदै आएको छ । यसै वर्ष असोज महिनामा आएको बाढीबाट प्रभावितलाई राहत तथा उद्धारका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड रकम सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रमबमोजिम राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि, जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि पुँजी उपलब्ध गराउने, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका लागि महिला उद्यमशील कर्जा, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जालगायतका विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा तथा आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै पक्षलाई समेट्ने गरी व्यावसायिक/परियोजना कर्जा तथा उपभोक्ता कर्जा योजनाहरूमार्फत २०८१ पौष मसान्तसम्ममा दुई लाखभन्दा बढी ग्राहकलाई दुई खर्ब ७९ अर्ब ५७ करोड कर्जा लगानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको निष्क्रिय कर्जा विगत वर्षहरूदेखि क्रमिकरूपमा घट्दै गइरहेकोमा हाल बैँकिङ प्रणालीमा नै निष्क्रिय कर्जाको अनुपात वृद्धि भइरहेको अवस्थामा २०८१ असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत बिन्दुमा रहेकोे बैकले जनाएको छ ।

विज्ञप्तिमा वित्तीय बजारमा प्रतिस्पर्धी रहिरहन बैंकले पुँजी आधार तथा व्यावसायिक क्षमता विस्तार, बैंकिङ सेवाको गुणस्तरमा वृद्धि, आवश्यक नीति नियमको तर्जुमा, सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष सुदृढीकरण, बैंकिङ तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, डिजिटल तथा भौतिक माध्यममार्फत वित्तीय सेवा पहुँचमा विस्तार, सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण, कर्मचारीको कार्यदक्षता अभिवृद्धि, रेमिट्यान्स कारोबारमा बैंकको हिस्सा वृद्धि, सरकार तथा नियामक निकायका नीति नियमको पूर्णपालना गरी सरल, पारदर्शी, प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको उल्लेख छ । 

सांगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल भएका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर…’ बोलको गीत गाएका थिए ।

विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय रहेका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साङ्गीतिक क्षेत्रमै भविष्य खोजिरहेका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनबाट ब्याटल अडिसनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

चारजना प्रशिक्षक रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिसनका लागि छनोट भएका प्रदीपले प्रशिक्षक उदय सोताङलाई रोजेका छन् । आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाएकी चर्चित गायिका मेलिना राई र गायक तथा सङ्गीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सङ्गीतकार सोताङसँग जानेक्रममा अन्य प्रशिक्षकहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिएका छन् ।

घरपरिवार तथा विशेष गरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साङ्गीतिक यात्रामा लागेको बताउँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गरेका छन् । खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिसनकै क्रममा बताएका छन् ।

किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सङ्गीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त गरिसकेका छन् । प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिसन गुमाएका छन् । ब्लाइण्ड अडिसनमा बेजोड प्रस्तुति दिएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका छन् ।

अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरह प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताउनुभएको छ । “जहाँ रहे पनि जसरी भए पनि गीत÷सङ्गीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ, कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उनले ब्लाइण्ड अडिसनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेखेका छन्, “खैर सम्पूर्ण शुभचिन्तकप्रति माया र हौसलाका लागि आभारी छु, मेरो गीत÷सङ्गीतसँगको यात्रा जारी रहिरहनेछ ।”

साङ्गीतिक कक्षासँगै औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ सम्मको अध्ययन पूरा गरेका प्रदीपलाई साङ्गीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताए । केही वर्षअघि नै साङ्गीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिँदै प्रदीपले पुनः गीत÷सङ्गीतमै फर्किन प्रशिक्षक मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे…’ बोलको गीतले प्रोत्साहन गरेको बताए ।

भ्वाइस अफ नेपालको ब्याटल तथा अडिसनका प्रतिस्पर्धीलाई विदेशबाटै भए पनि अडिसन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्रले बताए । “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन, साङ्गीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह गर्यौँ, परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ, तर देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उनले भने, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ, भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिसन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिसनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ ।”

पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल…, रगतको नाता…’लगायत विभिन्न गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन् । खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत÷सङ्गीतकै क्षेत्रमा योगदान गर्ने बताएका छन् ।

कालीगण्डकी कोरिडोरअन्तर्गत मार्फाखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए ।

“चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,” उनले भने, “मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।”

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

पक्कि पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु. २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

जोमसोम देखि कागबेनी–छुसाङ –उपल्लो मुुस्ताङ हुदै चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्र्तगत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो । कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधी सुदीप खड्काले बताए ।

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले सुगम बनाउन थालेको छ ।

लोकमार्गको कूल लम्बाई एक हजार आठ सय ७९ किलोमिटरमध्ये एक सय १७ किमी तेह्रथुममा पर्दछ । जिल्लाको आठराई गाउँपालिका–६ स्थित तमोर नदीको माझिटारबाट तेह्रथुम प्रवेश गर्ने लोकमार्ग जिल्लाकै पुरानो शैक्षिक केन्द्र चुहानडाँडा, आठराई क्षेत्रको पुरानो व्यापारिक केन्द्र सङ्क्रान्ति, फेदाप, सदरमुकाम म्याङलुङ हुँदै पर्यटकीय बजार वसन्तपुर भएर अघि बढेको हो ।

आर्थिक वर्ष २०६४-६५ देखि निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गले जिल्लावासीलाई यातायात सेवाको सहज पहुँचमा जोडेको हो । लोकमार्ग बन्नुअघि आठराई क्षेत्रका स्थानीयले छिमेकी जिल्ला पाँचथरको फिदिमबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । त्यतिबेलाको एक दिनको बाटो लोकमार्ग बनेपछि एक घण्टामा छोटिएको आठराईका नरेन्द्र इङनामले बताए ।

लोकमार्ग नहुँदा प्रशासनिकसहित अन्य कामका लागि सदरमुकाम म्याङलुङ एक दिन पैदल हिँडेर आउनुपथ्र्यो । अहिले लोकमार्गको बाटो भएर सवारीसाधनमार्फत् तीन घण्टामा पुगिने आठराई–१ का वडाध्यक्ष रोहित कन्दङवाले जानकारी दिए ।

लोकमार्गले जिल्लाको आठराई, फेदाप, लालिगुराँसलगायत पालिकालाई सदरमुकाम म्याङलुङसँग प्रत्यक्ष जोडेको छ भने अन्य पालिकाबासीलाई पनि सदरमुकाम पुग्न सहज भएको छ । जिल्लाका उत्पादनलाई बाहिर जिल्ला पठाउन र जिल्लाका बजारसम्म पुर्याउन सुविधा भएको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बताए।

पाँचथरको चिवाभञ्ज्याङबाट मध्यपहाडैपहाड बैतडीको झुलाघाट जोड्ने लोकमार्गअन्तर्गत तेह्रथुममा २४ दशमलव चार किमी बाहेक सबै सडक कालोपत्र भइसकेको छ ।

फेदाप गाउँपालिकास्थित यावरा–पञ्चमी हुँदै खोरङवा खोलासम्मको खण्ड कालोपत्र हुन बाँकी रहेको मध्यपहाडी लोकमार्ग फिदिम पाँचथर कार्यालयका इन्जिनियर राजनारायण सरदारले जानकारी दिए। सोमध्ये १० किमी कालोपत्रको काम भइरहेको उनले बताए।

बाँकी खण्डको कालोपत्रका लागि भने बजेट सुनिश्चितता भइनसकेकाले अन्योलता आएको उनको भनाइ छ ।

विश्वकप महिला क्रिकेटः नेपाललाई अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ  विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको हो । 

अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् । 

अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।

नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने

सियोल । दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधहरूलाई परिवर्तन गर्ने बताएका छन् ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो ।

यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

दक्षिण कोरियाली र अमेरिकी अनुसन्धानकर्ताहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

अनुसन्धानका क्रममा ध्यान धेरै सम्भावित कारणहरूमा केन्द्रित गरिएको छ । विमानहरूलाई उनीहरूको अवतरणमा नेभिगेट गर्न मद्दत गर्न प्रयोग गरिने ‘कंक्रिट अवरोध’ पनि दुर्घटनाका लागि जिम्मेवार ठहर गरिएको छ ।

भूमि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष सुरक्षा निरीक्षणले देशभरका सातवटा विमानस्थलमा ‘लोकलाइजर’ को सुधार आवश्यक रहेको देखाएको छ ।”

मन्त्रालयले लोकप्रिय पर्यटक आकर्षण र राजधानी सियोलको सेवा गर्ने इन्चोनपछि देशको दोस्रो सबैभन्दा ठूलो विमानस्थल मुआनकोेजु अन्तर्राष्ट्रिय विमानस्थलसहितका सात वटा विमानस्थलमा ‘लोकलाईजर’ र अन्य संरचना सुधारका लागि आवश्यक रहेको भनी समावेश गरेको छ ।

यी संरचना सुधारका लागि जगहरू भूमिगत स्थानान्तरण गर्ने र तिनीहरूलाई हल्का इस्पातका संरचनाहरूसँग प्रतिस्थापन गर्ने” सुझाव दिइएको छ ।

मन्त्रालयले भनेको छ, “मुआन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान कङ्क्रिटको ढिस्कोपूर्ण रूपमा हटाइनेछ र ‘लोकलाइजर’ लाई सजिलै तोडिन योग्य संरचनाहरू प्रयोग गरेर पुनः स्थापना गरिनेछ ।”

बङ्गलादेश एयरलाइन्सको विमानमा बमको धम्की

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ ।

ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।

विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए ।

विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।

भारतमा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।

घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए । 

सहकारीका ६ हजार भन्दा बढी बचतकर्ताद्वारा बचत रकम फिर्ताको माग गर्दै महानगरमा निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबीसहित निवेदन दिएका छन् ।

महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदाबी गरेका हुन् ।

संघीय सरकारअन्तर्गतको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले सहकारी क्षेत्रका वर्तमान सवाल र समाधानका लागि सहकार्यका विषयमा कुरा गर्दै यस सम्बन्धी जानकारी दिएका हुन् ।

‘महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १ हजार ७४४ संस्था दर्ता भएका छन् । तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या भने ८३८ मात्र छ ।’

यसरी सम्पर्क वाहिर भएका सहकारीहरुको व्यवस्थापन, महानगरपालिकाले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरणलगायत विषयमा संघीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागका बिचमा समन्वयका विषयमा कुरा गर्दै ढकालले महानगरपालिकाभित्र भएका सहकारीहरुको अवस्थाका विषयमा जानकारी गराए ।

संघीय सहकारी विभागमातहतका १४७ वटा सहकारी संस्था छन् । यस्तै वागमती प्रदेश कार्य क्षेत्र भएका सहकारीको संख्या ३ हजार २०७ छ । त्यस क्रममा रजिष्ट्रार घिमिरेले, ‘संकटग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेर महानगरपालिकाले व्यवस्थापनको काम थालनी गर्न सुझाव दिए ।

‘आफ्नो क्षेत्राधिकार भित्र भएका सहकारीहरुको अवस्था अध्ययन गर्नु, अवस्थालाई तथ्याङ्कमा यकिन गर्नु, अनुगमन तथा व्यवस्थापनको ढाँचा आफैँ तयार पार्नु’ घिमिरेले सुझाव दिँदै भने, ‘निकायगत समन्वयबाट प्रवर्धन र व्यवस्थापनका काम गर्न सकिन्छ ।’

सहकारी प्रवर्धन कोषको रकम खर्च गर्ने विषयमा कुरा गर्दै उनले संघीय कानुनले गरेको व्यवस्थाबमोजिम महानगरपालिकाले कानुन बनाएर कोषको रकम खर्च गर्ने विधि बनाउनु उपयुक्त हुने बताए ।

सहकारीका समस्या समाधान गर्न अन्तरसरकार समन्वय छैन । महानगरपालिकाको सहकारी नियमन महाशाखा प्रमुख सुशिल सुवेदीले छलफलमा भने, ‘महानगर कार्य क्षेत्र भएका ५ वटा सहकारीलाई प्रदेश सहकारी विभागले आपसमा मर्ज (गाभिदियो) गरिदियो । गाभिएका सहकारीहरुको फाइल हामीसँग छ । हामीसँग फाइल भएका सहकारी प्रदेशले कसरी गाभ्यो? हामीलाई सोधेको पनि छैन । जानकारी पठाएको पनि छैन । मर्ज भएका सहकारीहरु हामी त मर्ज भयौँ भन्दै आएपछि हामीलाई थाहा भयो ।’

‘मर्ज हुनुअगाडि डिडिए (ड्यु डेलिजेन्स अडिट) भएको देखिँदैन । वित्तीय कारोवार गर्ने सहकारीहरुको वित्तीय तथा व्यवस्थापकीय अवसर, दायित्व, जोखिम, व्यवस्थापन जस्ता पक्षको अध्ययन नै नगरी कसरी ती सहकारी मर्ज भए? महानगरपालिकालाई नसोधी कसरी मर्ज भए, हामी आफैँ अचम्मित छौँ ।’ सुवेदीले भने ।

छलफलमा उपरजिष्ट्रार रघुनाथ महत र शशिकुमार लम्सालले, अन्तरसरकार समन्वयमा सहकारी क्षेत्रको व्यवस्थापन हुने कुरामा जोड दिँदै यसका लागि दायित्वको भार स्थानीय तहलाई धेरै भएको उल्लेख गरे ।

सहकारीहरुको वित्तीय व्यवस्थापनका लागि प्रयोग हुने सफ्टवेयरको न्युनतम मापदण्ड तोकेर योग्य र भरपर्दा प्रणालीलाई महानगरपालिकाले सूचीकरण गर्नुपर्छ । विश्वसनीय सफ्टवेयरको प्रयोगले पनि वित्तीय विकृतिका धेरै जोखिम नियन्त्रण गर्न सकिन्छ । छलफलका क्रममा सुझाव प्राप्त भएको छ ।

छलफलमा संकटग्रस्त सहकारीको व्यवस्थापन, कारवाही र अनुसन्धानका लागि पठाइएका सहकारी व्यवस्थापन, निष्क्रिय सहकारी व्यवस्थापन, सहकारीका असल र सफल अभ्यासको प्रवद्र्धनलगायत विषयमा कुराकानी भएको थियो ।

महानगरपालिकाको विभाग, सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित धेरै उजुरी र गुनासा आउने गरेका छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, वचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या हुन् ।

बचत रकम, शेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरु भाग्न लागेकोले आफ्नो वचत जोखिममा परेको, समयमा साधारण सभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता समस्या वचतकर्ताहरुबाट आउने गरेका छन् । सहकारीले मिटर व्याज लिएको, थाहै नदिई घरजग्गा लिलाम प्रक्रिया अगाडि बढाएको, घरजग्गा रोक्का गरिदिएको भन्ने गुनासो र रोक्का भएको घरजग्गा फुकुवा गरिदिन, ऋण मिनाहा गरिदिन ऋणीहरुबाट माग आउने गरेको छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले २०७४ साउन १ गते निर्णय गरेको थियो । त्यसअनुसार २०७५ साउन १ गतेदेखि डिभिजन सहकारीले गर्दै आएका काम महानगरमा हन्तारन्तरण भएर आयो । हस्तान्तरण हुनु अघि नै अर्थात् २०७४ सालमा नै काठमाडौं महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो ।

चिनियाँ सामानको आयातमा थप कर लगाउने ट्रम्पको तयारी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउनेबारे आफूले सोचिरहेको बताएका छन् ।

आफ्नो प्रशासनमा त्यसबारेको छलफल ‘उनीहरूले मेक्सिको र क्यानडामा फेन्टनिल नामक औषधि पठाइरहेको तथ्यमा आधारित’ रहेको बताए । ट्रम्पले मेक्सिको र क्यानडामाथि २५ प्रतिशतले आयात कर लगाउने चेतावनी दिइरहँदा यस भनाइ आएको हो ।

ट्रम्पले आफ्ना ती छिमेकी देशहरूलाई कागजातविहीन आप्रवासी र औषधि आफ्नो देशमा आउन दिइरहेको आरोप लगाउँदै त्यसो भनेका हुन् । मङ्गलबार वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली सङ्घ ईयूलाईसमेत आयात शुल्क लगाउने वाचा गरे ।

मङ्गलबार  शपथग्रहण गरेलगत्तै नयाँ राष्ट्रपतिले सङ्घीय अधिकारीहरूलाई हाल कायम रहेका व्यापार सम्झौताहरूको समीक्षा गर्न र अमेरिकाका व्यापार साझेदारहरूबाट भएका अनुचित अभ्यास पहिचान गर्न निर्देशन दिएका छन् ।

चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने वाचा गरेका थिए।

अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा जापान, भारत र अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको एक दिनपछि रुबियोले वासिङ्टनमा क्वाड समूहका आफ्ना समकक्षी मुलुकका कुटनीतिज्ञहरूसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

रुबियो र उनका समकक्षीहरूले एक संयुक्त वक्तव्यमा ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्र बनाउनका लागि काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वक्तव्यमा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ आक्रामकताप्रति संकेत गर्दै यसको विरुद्धमा सहयोगी मुलुकहरूबिच सहकार्य हुने उल्लेख गरिएको हो । चारै मुलुकका कुटनीतिज्ञले विधिको शासन, लोकतान्त्रिक मूल्यमान्यता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि सहकार्य गर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बल प्रयोगद्वारा यथास्थितिलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको पनि हामी कडा विरोध गर्दछौं ।’

विदेशमन्त्रीहरूको भेटवार्तामा यस वर्ष भारतमा क्वाड शिखर सम्मेलन आयोजना गर्न काम गर्ने विषयमा पनि छलफल भएको थियो ।

यसको अर्थ ट्रम्पले बढ्दो अमेरिकी साझेदारको प्रारम्भिक भ्रमणका रूपमा उक्त सम्मेलनमा सहभागिता जनाउन भारत भ्रमण गर्ने संकेत गरिएको छ । क्वाड समूहलाई प्रायः वासिङ्टनमा चीनविरुद्धको सुरक्षा कवचको रूपमा हेरिन्छ ।

उक्त अवसरमा विदेशमन्त्री रुबियोले प्रत्येक देशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए ।

जापानी विदेशमन्त्री ताकेशी इवायासँग रुबियोले उत्तर कोरिया र चीनको गतिविधिबारे संयुक्त प्रयासका लागि गर्न सकिने पहलबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले बताए ।

जापानका दिवंगत प्रधानमन्त्री शिन्जो आबेले क्वाडको परिकल्पना गरेका थिए । चीनले क्वाडलाई उदीयमान एसियाली शक्तिलाई घेर्ने अमेरिकी षडयन्त्र भएको भन्दै बारम्बार आलोचना गर्दै आएको छ ।

विश्वकप महिला क्रिकेटमा अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

काठमाडौँ।   आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।

नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान पूजा महतोसँगै साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, तृषना विक, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत छन् ।

सुनको मूल्य तोलाको एक लाख ६० हजार 

काठमाडौँ । सुनको मूल्य बुधबार प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ ।

मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  एक हजार नौ सयले बढेर  एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला  एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।

लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत होः शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले अध्यादेशले शासन संचालन गर्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार नेपाल प्रेस युनियनले कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले संसद नराखी अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् । उनले अध्यादेश राम्रा भएपनि संसद बोलाएर ल्याउनुपर्ने बताए ।

उनले भने,‘देशै नचल्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हो । अहिले विषयबस्तु अनुसार ल्याइएका सबै अध्यादेश खराब छ भन्दिनँ । तर संसद बन्द गर्ने अनि अध्यादेश ल्याउने ?’

कोइरालाले अध्यादेशबाट मुलुक चलाउनु निरंकुशताको एक चरण भएको भएको बताए । त्यस्तै उनले लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने बताए ।

उनले भने, ‘लोकतान्त्रिक ब्यवस्थामा संयन्त्रले देश चलाउने होइन भन्ने बुझ्नु पर्यो । सरकारले चलाउने हो । संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्रीजी त्यो गलत हो ।’ उनले दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताए ।

उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गंभीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो । ६ महिनाको यो अवधि काममा धेरै त होइन । तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’

कोइरालाले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने बताए । उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।

उनले भने, ‘सबै दलको सहमतिमा संविधान संशोधन हुनुपर्छ । यो विषयमा सबै दल र जनतालाई पाच्य हुनेगरि काम गर्नुपर्छ । माओवादी, मधेसका दलसहित अन्य दलहरूसँग पनि सहमति गरेर अगाडि जानुपर्ने हुन्छ । संविधान यस्तो डकुमेन्ट हो ।’

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका छन् ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताइएको छ ।

चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते निजको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।

टर्कीमा होटलमा आगलागीबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

बीबीसी । टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएका बताएका छन् । आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले जनाएको छ ।

टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् । बोलुस्थित १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३ः२७ बजे आगलागी सुरु भएको थियो। जतिबेला होटलमा २३४ जना बसिरहेका थिए ।

२०८२ भदौमा विधान अधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी भदौ २०,२१ र २२ मा गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विधान महाविधेशन गर्ने निर्णय गरेको हो । यसअघि एमालेले २०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो ।

‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’

काठमाडौं । फिल्म ‘मायाबी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ । गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर सुन्न सकिन्छ।

दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ । दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाईं, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ।

गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ । फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कुल ९ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाखबराबरको मात्रै निर्यात भएको छ ।

गत आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापारघाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्धवार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।

नेपालले सबैभन्दा धेरै व्यापारघाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापारघाटा चार खर्ब २९ अर्ब १४ करोड बराबर छ ।

त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड व्यापारघाटा व्यहारेको छ । नेपालले एक सय २३ मुलुकसँग व्यापारघाटा व्यहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा व्यहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।

बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् ।

प्रहरी महानिरीक्षक तथा सेनाद्वारा सञ्चालित स्वास्थ्य संस्थाका प्रमुखहरुसँग मंगलबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा पालो कुर्नुपर्ने अवस्था हुँदा सुरक्षा निकायका अस्पतालमा ‘अपरेसन वार्ड’ खाली भएमा सेवा उपलब्ध गराउने गरी सहकार्यको प्रस्ताव गरेका हुन् ।

मन्त्री पौडेलले भने, ‘सङ्घीय अस्पतालहरुमा ‘सिफ्ट’ थप्ने तथा अतिरिक्त समयमा काम गरी बिरामीको चाप व्यवस्थापन भइरहेको छ । सरकारीमा चाप भएका बेला सुरक्षा निकायका अस्पतालमा ‘रेफर’ गरेर कसरी उपचार दिन सकिन्छ, सहकार्य आवश्यक छ ।’

उनले स्वास्थ्य बीमा कार्यक्रम सुरक्षा निकायका अस्पतालमा प्रभावकारी बनाउनेबारे सुझाव दिनसमेत आग्रह गरे ।

सुरक्षा निकायका अस्पतालसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापनका लागि आवश्यक खाका तयार पार्न अतिरिक्त सचिव डा टङ्क बारकोटीको नेतृत्वमा गत साता मन्त्रालयले कार्यदल बनाएको छ ।

त्यसैगरी, मन्त्री पौडेलले आपत्कालीन अवस्थामा नागरिकको उद्धारका लागि एयर एम्बुलेन्स नभएकाले सहयोग गर्न सेनासँग आग्रह गरे । बैठकमा प्रहरी महानिरीक्षक बसन्त कुँवर तथा सेनाका उच्च अधिकारीको सहभागिता थियो । 

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु

भारत । भारतीय सुरक्षा बलले एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाईंहरू मध्ये सबैभन्दा ठूलो भनेका छन् ।

गृह मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।

नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जङ्गलमा रहेका छापामारहरूको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मङ्गलबारको झडप भएको हो ।

भारतको स्रोत सम्पन्न मध्य क्षेत्रमा सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूले गरेको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका थिए ।

नक्सलाइट भनेर पनि चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओ त्से तुङबाट प्रेरित थिए । नक्सलाइट सन् १९६७ मा उनीहरूको सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट राखिएको हो ।

“नक्सलवादलाई अर्को ठूलो झट्का”, गृहमन्त्री अमित शाहले १४ विद्रोहीलाई ‘समाप्त’ बनाएको पुष्टि गर्दै विज्ञप्तिमा भनेका छन् ।

विद्रोहीहरूलाई परास्त गर्न सन् २०२६ मार्चको समयसीमा तय गर्नुभएका शाहले ‘नक्सलवादले अन्तिम सास फेरिरहेको’ बताए ।

यस क्षेत्रमा अतिरिक्त बल पठाइएको प्रहरीले जनाएको छ । “सुरक्षा बल अझै जङ्गलभित्र छ”, छत्तीसगढको माओवादी विरोधी अभियानका प्रमुख विवेकानन्द सिन्हाले भने ।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरूले भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे र सन् २००० को सुरुआतसम्म आन्दोलन शक्ति र सङ्ख्यामा बढ्दै गयो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो ।

यस द्वन्द्वमा सरकारी बलमाथि पनि धेरै घातक आक्रमणहरू भएका छन् । यस महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ जना भारतीय सैनिकको मृत्यु भएको छ ।

सी र पुटिनबीच भिडियो वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ ।

सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गरेको’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

प्रसारकले वार्तामा के विषयमा छलफल भयो भन्ने बारे तत्काल विवरण दिएको छैन ।

चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

तर बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन । त्यसैले केही नाटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’ का रूपमा चित्रण गरेका छन् ।

दुवै पक्षले सी र पुटिनको कथित बलियो व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन् । सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन् भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’ का रूपमा प्रशंसा गरेका छन् ।

गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले ‘विश्व शान्ति र विकास’ लाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको सिसिटिभीले जनाएको छ ।

“एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैर–द्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्”, प्रसारकले सीलाई उद्धृत गरेको छ । 

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्याँस सिलिण्डर

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताका लागि गत कात्तिक ९ गते निवेदन दिएकामा मंगलबार आयोगले दल दर्ताको प्रमाणपत्र दिएको अध्यक्ष महतोले जानकारी दिएका छन् ।

लोसपा छाडेपछि महतोले पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए । आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ ।

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्रीः घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

सरकारले सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालिन योजना तयार गर्छः गृहमन्त्री लेखक

उदयपुर । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् ।

उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए ।

‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो । तर स्थायी रुपमा कटान रोक्न मित्र राष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने मन्त्री लेखकले उल्लेख गरे ।

गृहमन्त्री लेखकले आज बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका हुन् ।

तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।

उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद डा. नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए । बर्सेनि सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायीरुपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ’, उनले भने । गृहमन्त्री लेखकले आजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गरेका सांसद डा. खड्काले बताए ।

निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि यस क्षेत्रमा जंगली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साँझ परेपछि दुईपांग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक रूपमा मात्र पठाउने गरिएको छ।

उनले भने, ‘निकुञ्ज हुँदै कसराको बाटो प्रयोग गर्नेलाई साँझ ५ः३० बजेपछि एक्लै यात्रा नगर्न अनुरोध गरेका छौँ।’ समूहमा यात्रा गर्न या ठुला सवारीसाधनको पछि मात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए। ध्रुवे हात्ती निकुञ्ज मुख्यालय क्षेत्र र कसरा सडक क्षेत्रमा रहेकाले सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

भरतपुर–माडी दैनिक पाँच सय दुईपांग्रे तथा चारपांग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन्। साँझपख बढीजसो दुईपांग्रे सवारीसाधन गुड्ने गरेका छन्। सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापामगरले बताए।

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

बाँके। बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ।

‘गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ,’ उनले भने, ‘शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पार्‍यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाबारे जानकारी लिँदै छौँ।’

गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको उनको भनाइ थियो।

‘गोहीको संरक्षण गर्ने दायित्व स्थानीय समुदायको पनि भएको हुनाले हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उहाँहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका छौँ,’ उनले भने, ‘गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उहाँहरू अग्रसर हुनुहुनेछ।’

बाँके र दाङको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पंगेनीले जानकारी दिए। ‘हामीले नदीको कुसुम, अगैयालगायत क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिँदैछौँ,’ उनले भने, ‘हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ? कति जीवित छन्? उनीहरूको आहाराको अवस्था के कस्तो छ? जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आइरहेका छौँ।’

गत वर्ष मात्र चितवनबाट १४ घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो। हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ। घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन्।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको र बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन्। सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ। सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन्।

महोत्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ ।

तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताए । 

निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।

समितिको मंगलबारको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए ।

समितिमा परेका उजुरीहरुको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन हालसम्म प्राप्त नभएकाले पुनःमाग गर्ने, रासायनिक मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउने, हुलाकी राजमार्गलगायत विभिन्न सडकखण्डको काममा ढिलाई भएको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय पनि आजको बैठकले गरेको सभापति पोखरेलले जानकारी दिए । 

प्रधानमन्त्री कप महिला क्रिकेटमा आर्मीको दोस्रो जित

धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नाै विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोरनजिक पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरु हुँदा खेल २० ओभरबाट सातमा झारिएको थियो ।

बलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याचसमेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई विकेट लिइन् ।

आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ .२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् ।

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ दी सिरिजलाई ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

नेप्सेमा ६ अर्ब भन्दाबढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार नेप्से बढेको छ । मंगलबार नेप्से आज ५.०८ अङ्कले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ ।

मंगलबार बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन रिभर फन्ड पावर कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ । नेप्से बढे पनि आज शेयर कारोबार रकम भने घटेको छ । आज ३ सय ११ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ६ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।

धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग मंगलबार आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए ।

मन्त्री यादवले भने, ‘जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।’

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।
त्यसअघि मेयर राई रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्न खोजेका थिए । प्रहरीले गाग्री खोसेपछि उनी रित्तै सिंहदरबार छिरेका थिए । 

यो सरकार धेरै जाँदैन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले छिटै ढल्ने संकेत गरेका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गद अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो प्रथामिकतामा सरकार छैन । हामी संगठन निर्माणमा छौं । तर यो सरकार धेरै जाँदैन ।’

उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै ओली सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको आरोप लगाए ।

प्रचण्डले सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको दाबी गरे ।

क्यानले गर्‍यो सन्दीपमाथि कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि कारबाही गरेको छ । जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पायरको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले सन्दीपमाथि कारबाही गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिएका छन् ।

उनका अनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो । सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।

यो बीचमा सन्दीपले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै सन्यास लिने आशयको अभिव्यक्ति सामाजिक संजालमार्फत व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको मंगलबार शुभारम्भ गरेका छन् ।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा मंगलबार  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् । 

सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।

प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरेका छन् । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्नेगरी घोषणा गरी तयारीको सुरुवात गर्न लागेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । 

पहिलोपटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ । संवाद आयोजनाका लागि संयोजन गरिरहेका ढकालले हिमाली देशहरुमा जलवायु परिवर्तनले गरेका असर र समाधानका उपायबारे विभिन्न आयाममा र विषयगत छलफल गरी निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइने बताए ।

न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको पीडाका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानीको सन्दर्भमा समेत संवादका क्रममा पैरवी गरिने बताइएको छ ।

सरकारले संवादको तयारीका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा निर्देशन समिति, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा व्यवस्थापन समिति र वन मन्त्रालयका सचिवको संयोजकत्वमा सचिवालय स्थापना गरेर तयारी थालेको छ ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा गरेको असरका विषयमा पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरुपता ल्याउने तथा जलवायुको न्यायको लागि पैरवी गर्ने उद्देश्यका साथ संवाद गर्न लागिएको हो ।

साथै जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय एजेण्डालाई अझ मुखरित गर्ने तथा थप प्रभावकारी बनाउन पर्वतीय मुलुकहरूसँगै काम गर्नेसमेत संवादको लक्ष्य छ ।

संवादमा विशेषगरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, सञ्चारक्षेत्रका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।    

संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अविधेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा दलका प्रमुख सचेतकहरुले देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणलाई परिणाममुखी तुल्याइने बताए ।

सङ्घीय संसद्को अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ । हिउँदे अधिवेशनलाई विधेयक अविधेशनका रुपमा लिइन्छ । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा विचाराधीन छन् ।

पाँचौँ अधिवेशनबाट कानुन निर्माणमा अधिकतम उपलब्धि हासिल गर्छौं’: महेश बर्तौला, मुख्य सचेतक, एमाले

       सरकारले हिउँदे अधिवेशन आह्वान गरेको छ । यो विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयक पारित गर्ने अधिवेशनका रुपमा यसलाई स्थापित गर्न चाहन्छौँ । यसबीचमा भएका चार अधिवेशन कानुन निर्माणको दृष्टिकोणबाट फलदायी भएनन् भनेर टिप्पणी भइरहेको छ । अबको अधिवेशनबाट नयाँ २० भन्दा बढी कानुन पारित गर्नेगरी काम गर्छौं । राष्ट्रियसभामा चार र प्रतिनिधिसभामा १५ विधेयक विचाराधीन छन् । विधेयक पारित गर्ने सन्दर्भमा सकभर शतप्रतिशत वा नभए ७० प्रतिशत प्रगति हासिल गर्छौं । संविधान कार्यान्वयनसँग सम्बन्धित कैयौँ कानुन निर्माण गर्नुपर्नेछ । यस अधिवेशनमा सरकारले बढीभन्दा बढी विधेयक सदनलाई दिनेछ । सदनले ‘बिजनेस’ पाएन भनी सांसदले सरकारसँग गुनासो गर्नुपर्ने अवस्था अन्त्य गर्नेगरी विधेयक ल्याउने तयारी छ । दुईवटा विधेयक संसद् सचिवालयमा दर्ता भइसकेका छन् भने अन्य विधेयक ‘पाइपलाइन’ मै छन् । 

सृजनात्मक, रचनात्मक र बौद्धिक विमर्श हुने थलो संसद्मा समग्र राष्ट्र र जनताको विषय, विकास निर्माण र संसद्मार्फत सरकारलाई ध्यानाकर्षण गर्ने विषय बलशाली रुपमा अघि बढाउनुपर्छ । राष्ट्रिय महत्व र जनसरोकारका विषय तथा नीतिगत पक्षमा पनि बहस पैरवी गरिनेछ । संसद्मा सांसदहरुले विषय राख्ने तर सरकारले नसुन्ने भन्ने गुनासो आइरहने परिस्थिति अब अन्त्य गरिनेछ । सदनमा सांसदहरुमार्फत मुखरित भएका जनसरोकार र राष्ट्रिय सरोकारका विषय गम्भीरताका साथ ग्रहण गरी सम्पत्तिका रुपमा लिएर अगाडि बढ्नेछ । मौजुदा कानुनलाई समयानुकूल परिमार्जन र व्यवस्थित बनाएर कानुन निर्माण गर्न संसद् सफल भयो र जनसरोकारका विषय कार्यान्वयन गर्दै अघि बढेको सन्देश दिनेगरी काम गर्छौं । सांसद मात्रै होइन, मन्त्रीको उपस्थिति नभई सदन अघि बढ्दैन । संसदीय प्रक्रियामा उपस्थिति मात्र नभई सम्बन्धित मन्त्रीले पनि अर्थपूर्ण भूमिका खेल्नुपर्छ । हरेक सांसदलाई संसदीय मामिला तपाईंहरुको पहिलो प्राथमिकता हो भन्छौँ । संसदीय प्रक्रियामा सहभागिता र भूमिकाका आधारमा कार्यसम्पादन मूल्याङ्कनको विषय बनाइनेछ । यस अधिवेशनमा मन्त्रीको उपस्थिति नभएर बैठक बस्न नसक्ने अवस्था आउन दिनेछैनौँ । हरेक सांसदलाई सदन चलेका बेलामा कानुन निर्माणमा मात्रै केन्द्रित गराइनेछ । संसद्को बैठक, कोरम र प्रभावकारिताको जस तथा अपजसको भागेदार सत्तापक्ष र प्रतिपक्ष दुवै हुनुपर्छ । अधिकतम उपलब्धि हासिल गर्नेगरी अबको अधिवेशनलाई केन्द्रित गराइनेछ ।

संसद्लाई ‘विजनेस’को अभाव हुँदैन’:  श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस

यो विधेयक अधिवेशन हो । उक्त अधिवेशनबाट २० भन्दा बढी विधेयक पारित गर्ने लक्ष्य राखिएको छ । यो अधिवेशनको मूल लक्ष्य नै विधेयक परित गर्ने र पूर्वबजेट छलफल हो । यही विषयमा केन्द्रित हुन्छ । संसद्मा प्रतिपक्षीहरु सङ्गठित हुने र आफ्ना विचार राख्ने लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो । यसका बाबजुद पनि विधेयक निर्माणमा सहयोग तथा सहकार्य गर्ने नेपाली राजनीतिको स्वाभाविक र असल अभ्यास छ । त्यसकारण विधेयकलाई निष्कर्षमा पु¥याउनेमा सबैको सहयोग, समन्वय हुन्छ नै । अध्यादेशबाट जारी भएका विषय तोकिएको समयभित्र सदनबाट पारित गर्नुपर्छ । विचाराधीन विधेकयमाथिको प्रक्रिया तीव्र गतिमा अघि बढेको तथा केही नयाँ विधेयक सरकारले दर्ता गरेकाले पनि यस अवधिवेशनमा संसद्ले पर्याप्त मात्रामा ‘बिजनेस’ पाउनेछ ।

‘सरकारले बाटो बिराउन खोजे खबरदारी गरिरहेनछौँ’: माधव सापकोटा, सांसद, माओवादी

  हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनुपर्छ । विद्यालय शिक्षा, सङ्घीय निजामती, प्रहरी विधेयकलगायत विधेयक पाइपलाइनमा छन् । मूल रुपमा संसद् र सांसद विधेयक अधिवेशन भएकाले त्यसैमा लाग्नुपर्छ । प्रतिपक्षीले सरकारका कामकारबाही र क्रियाकलापलाई लिएर जुन अडान लिइरहेका छन् सार्वजनिक रुपमै विपक्षी दलहरुले धारणा सार्वजनिक गरिसकेका छन् । तिनै विषयवस्तु र मुद्दालाई लिएर प्रतिपक्षले सदनमा बहस गर्नेछ । संसदीय समितिमा छलफलका क्रममा रहेका विधेयक फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

संसद्लाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरु अध्यादेशमार्फत ल्याइएको, देशमा महँगी र सार्वजनिक ऋण बढेको, आर्थिक क्षेत्र चलायमान हुन नसक्दा आर्थिक परिसूचकहरू सकारात्मक हुन नसकेकालगायत विषयवस्तु प्रखर रुपमा उठाइनेछन् । ‘थ्रेसहोल्ड’ या अन्य कुनै नाममा दुई दललाई मात्रै सीमित तुल्याउन नहुने र शान्ति प्रक्रियाका बाँकी कामसँग सम्बन्धित बेपत्ता नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया अवरुद्ध पारिएका विषयमा पनि सदनमार्फत जनतालाई जानकारी गराइनेछ । जनअपेक्षाअनुरुप काम गर्न, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न सदैव सरकारलाई खबरदारी गरिरहेनछौँ ।

‘जनताको अधिकार सङ्कुचित गरिए बेजोड आवाज उठाउँछौँ’:  सन्तोष परियार, प्रमुख सचेतक, रास्वपा

  एउटा जिम्मेवार प्रतिपक्षका हिसाबले लामो समयदेखि सरकारलाई हामीले मूलतः हिउँदे अधिवेशन सुरु गर्न आग्रह गरिरहेका थियौँ । हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने भएकाले सभामुखसँग छलफल गरी समयमै सदन खोली संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन तर्जुमा गर्न पाए हुन्थ्यो भन्ने धारणा थियो । सरकारले अलि ढिला गरे पनि हिउँदे अधिवेशन बोलाएको छ । यो स्वागतयोग्य नै छ । रास्वपा सरकार र सदनलाई दुईवटा अङ्गका रुपमा बुझ्दछ । सरकारका कामकारबाहीको निगरानी र कानुन निर्माण गर्ने संसद्को प्रमुख जिम्मेवारी हो । देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणमा सशक्त र प्रभावकारी रुपमा काम गर्छौं । सरकारले गरेका गलत कार्यको संसद्मा बेजोड तरिकाले निगरानी गर्छौं र त्यससम्बन्धी मुद्दा उठाउँछौँ । महँगी, बेरोजगारीलगायत नेपाली जनताका मुद्दा सदनमा उठ्नुपर्छ । पछिल्लो समय सत्ताधारी दलका मुख्यसचेतकसँगको अनौपचारिक छलफलमा भएको सहमतिअनुसार विषयगत समितिलाई पनि प्रभावकारी ढङ्गबाट अगाडि लैजाने र कानुन निर्माण प्रक्रियालाई पनि सहज बनाइनेछ । सदनको गएका चारवटा अधिवेशनमा १२ वटा मात्र विधेयक पारित भएकाले आगामी अधिवेशनलाई कानुन निर्माण, जनताको मुद्दा उठाउने, सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्धमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइनेछ । सरकारको कामको गुण र दोषका आधारमा हाम्रा प्रस्तुति रहन्छन् ।

रास्वपाको प्रतिपक्षीय भूमिका विगतमा पनि राम्रो थियो भन्ने लाग्छ । अहिले पनि सदनमा चौथो ठूलो दलका रुपमा प्रतिपक्षमा बसिरहँदा सदन विशेषतः प्रतिपक्षको हो । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष प्रभावकारी भएन भने सदनको गरिमा घट्छ । जनताका मुद्दाका हिसाबमा राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी प्रतिपक्षी चरित्रलाई प्रभावकारी बनाउँछ । कानुन निर्माण गर्ने क्रममा रास्वपा प्रतिपक्षमा रहिरहँदा पनि संविधानले व्यवस्था गरेका जनताका अधिकार सुनिश्चित गर्न र राज्य सञ्चालन गर्ने आवश्यक पर्ने कानुन बनाउन सतापक्षसँग मिलेर काम गर्नेछौँ । तर सरकारले जनताको अधिकार सङ्कुचित गर्ने कार्य गर्छ भने सदनमा बेजोड आवाज उठाउँछौँ । सदनले सदैव सरकारलाई निगरानीमा राख्छ । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ ।

‘संविधान कार्यान्वयनदेखि जनसरोकारका विषय प्राथमिकता बन्नुपर्छ’: प्रभु साह, सांसद, आम जनता पार्टी

संविधान कार्यान्वयन, प्रदेश र स्थानीय तहका हकअधिकार, सुशासन, शान्ति प्रक्रिया र जनसरोकारका विषयलाई प्राथमिकताका साथ सदनमा उठाइनेछ । संविधान जारी भएको दशक पुग्न लागे पनि अझै त्यससँग सम्बन्धित कानुन निर्माण हुन सकेका छैनन् । अत्यावश्यक कानुन नहुँदा सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था छ । सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरीलगायत विधेयक संसद्मा विचाराधीन छन् । यी विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न सरकारको ध्यानाकर्षण गराइनेछ ।