`

२० लाख ९२ हजार रुपैयाँसहित तिब्बती महिला पक्राउ

काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक तिब्बती महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिब्बत घर भएर भारतको जोगिन्दनगर बस्ने रिक्सी वाङ्जीमो छिन् । उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले महावौद्धबाट २० लाख ९२ हजार रुपैयाँसहित पक्राउ परेको हो ।

रास्वपाले भन्यो-डा. राजकुमार राई ३ महिनाअघि नै पार्टीबाट अलग भएका व्यक्ति हुन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर सामाजिक सञ्जालमा आएका समाचारप्रति आपत्ति जनाएको छ ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्ति विगत करिब ३ महिना अगाडि देखि नै पार्टीबाट अलग भएको स्वघोषणा गरेका बताएका छन् ।

उनीहरू हाल रास्वपाको कुनै जिम्मेवारीमा नरहेको रास्वपाको प्रष्टीकरण छ । कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानूनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानूनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

मधेशकेन्द्रित सात दलले गरे ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौं । मधेशकेन्द्रित सात दलले छुट्टै मोर्चा बनाएका छन् । मधेशकेन्द्रित विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका हुन् ।

संविधान संशोधनलगायतका विषयमा साझा धारणा बनाउन मधेशकेन्द्रित दलहरूले अलग्गै मोर्चा बनाएका हुन् । मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समेटिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिबद्धताहरू रहेका छन् ।

यु-१९ एक दिवसीय क्रिकेटः अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । नेपाल विरुद्धको यु-१९ एक दिवसीय क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा अफगानिस्तान १३० रनले विजयी भयो ।

अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रन बनाउँदा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाए पनि उनलाई अन्य ब्याटरले साथ दिएनन् । र नेपाल फराकिलो हार व्यहोर्न बाध्य भयो । यस्तै अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए ।

अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए ।

यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए । नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को वृद्धिदर ३.९ प्रतिशतको तुलनामा बढी हो ।

विश्व बैंकको नेपाल विकास प्रतिवेदनः आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन अनुसार यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ । प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।

‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलत वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ’, विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।

प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास) हरूलाई पनि औंल्याएको छ, जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् ।

यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।

तिनकुने घटना छानबिनका लागि आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तिनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन् ।

राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ।

नेपालमा लगानी गर्न थाई लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणको तेस्रो दिन थाई र नेपाली व्यवसायीसँग छलफल गरेका छन्।

सो क्रममा नेपालमा लगानीका सम्भावना र अवसरबारे सहकार्यका विषयमा छलफल भएको छ। नेपालमा लगानीको सम्भावना र अवसरबारे प्रधामन्त्रीले नेपाल र थाइल्याण्डका व्यापारीसँग छलफल गरे।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले दुई देशका व्यापारीहरुको छलफलमा लगानीका विविध आयामका विषयमा छलफल भएको बताए।

उनका अनुसार छलफलका क्रममा लगानीमात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश प्रधानमन्त्री ओलीले थाई उद्योगी व्यापारीसहित लगानीकर्ताहरुलाई दिए।

निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी थिए। उनीहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताएका थिए।

‘निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनु भयो। त्यसका लागि उपयुक्त पार्टनहरुको खोजी हामी गर्छौं भनेर थाई लगानीकर्ताले गर्नुभएको छ‚’ छलफलबारे जानकारी दिँदै खतिवडाले भने‚ ‘लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको व्यवस्थाका बारेमा चासो रह्यो। कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिनुभयो।’

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुबारे छलफल भएको बताए। उनका अनुसार ती क्षेत्रमा लगानीका लागि प्रधानमन्त्री ओलीले आह्वान गरे।

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ढकालले आफ्नो भनाइ राख्दै कानूनहरु संशोधनपछि लगानीमा सहज बनाएको र थाई व्यवसायीलाई नेपालमा लगानीका लागि सहज रहेको बताए।

‘नेपालमा इनभेष्ट गर्नुपर्ने जति पनि सेक्टर छन् ती सेक्टरमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो। धेरैजसो लगानीसम्बन्धी कानूनहरु परम्परागत थिए, ती लगानीका लागि बाधक थिए,’ उनले भने‚ ‘ती सबै कानूनहरुलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको कमिटमेन्ट इन्स्योरेन्स गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ।’

छलफलका क्रममा थाई व्यवसायीहरुले पर्यटन, होटल, हस्पिटल, निर्माणजन्य कच्चा पदार्थ जस्ता नेपालमा सम्भावित लगानीका क्षेत्रमा लगानी गर्न चासो देखाएका थिए।

लगानी गर्नका लागि कानून सहज भए/नभएको, लगानीपछि मुनाफा फिर्ता लैजाने कानूनी प्रवन्ध के कस्तो रहेकोबारे चासो राखेका थिए। नेपालमा विदेशी मुद्राको सहजता, रिजर्भहरु के कस्तो छ भन्ने उनीहरुको चासो रहेको थियो।

थाई व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपाली व्यवसायीको प्रतिनिधिमूलक टोलीले नेपालमा लगानीका लागि धेरै सम्भावना रहेको बताएको थियो।

जलविद्युत क्षेत्रमा भारतसँग १० हजार मेगावाटको सम्झौता भएको थियो। सोहीअनुसार उत्पादन गर्नुपर्ने अवस्था, पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्न पनि नेपालमा प्रचुर सम्भावना रहेको कुरा छलफलमा राखिएको ढकालले जानकारी दिए।

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काकी प्रधानमन्त्री डा हारिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले श्रीलङ्काकी प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता गरेका हुन्।

बिम्स्टेकसहित सार्क राष्ट्रका सदस्य रहेका दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोलगायत विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा आयोजित कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओलीको बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आएका सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँगको ‘साइडलाइन’ भेटवार्तासहित अन्य छलफल तथा भेटघाटमा व्यस्त हुने कार्यसूची रहेको छ।

शिक्षकहरूलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका थिए भने आज पनि प्रदर्शन गरिरहेका छन् ।

राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

म्यान्मारमा भूकम्पमा परी तीन हजार भन्दाबढीको मृत्यु

म्यान्मा । म्यानमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघेको जुन्ता सरकारले बिहीबार जनाएको छ ।

छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि १७ देशबाट करिब एक हजार टन राहत तथा अन्य सामग्रीसहित सयौँको सङ्ख्यामा उद्धार तथा सहायताकर्मी आइपुगेको जाउ मिन तुनले जानकारी दिए ।
उनले भने, “हामीले खोजी र उद्धारकार्यलाई निरन्तरता दिइरहेका छौँ, साथै, हामी अन्तर्राष्ट्रिय समुदाय र मेडिकल टोलीको कडा परिश्रमप्रति विशेष कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।”

बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्डमा

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनेछन्, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् ।

सम्मेलनमा बिम्स्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्याण्डका उच्च प्रतिनिधि सहभागी हुन बैङ्कक पुगिसकेका छन् ।

बङ्गलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् ।

सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीपदबाट हटाएपछि उनी नयाँदिल्लीमा शरण लिन पुगेकी थिइन् । हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार बिजेता युनुसले बङ्गलादेशको बागडोर सम्हालेका थिए ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनी प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबीचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् ।

भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलङ्का जाने बताएका छन् ।

श्रीलङ्काको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलङ्काको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ ।

गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो ।

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो ।

“पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उनले भने, “नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।”

पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताए । होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताए ।

महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उनले भने, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।” पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।

ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताए । “ट्रेकिङ रुटहरुमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उनले भने, “शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।”

अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए ।

गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काठमाडौं महानगरको कार्यालय पुग्दा…

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार महानगर पुगेका गुरागाईंलाई कर्मचारीहरूले स्वागत गरेका थिए ।

नगरप्रहरीले उनलाई कार्यालय प्रवेशमा रोक लगाएपनि नगरप्रहरीको घेरा तोडेर उनी कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए ।

गत पुस १४ गते निलम्बनमा परेका गुरागाईं आज कार्यालय गएका हुन् । काठमाडौं टावरको नक्सा अनियमित तवरले गरेको आरोपमा गुरागाईंलाई मेयर बालेन साहले कार्यालयमा उपस्थित हुन रोक लगाएका थिए । त्यसयता महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

मेयर साहले संघीय सरकारलाई पत्राचार गरेपनि प्रमुख प्रशासकीय अधिकृत पठाएको थिएन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलब समेत खान पाएका छैनन् ।

बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकी छिन् ।

बैंककमा आयोजित छैटौँ बिमस्टेक समिटअन्तर्गत बिहीबार २०औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन् ।

‘बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एसियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो र यसका रंगले यस क्षेत्रको समृद्ध सभ्यता, संस्कृति, इतिहास, पारिस्थितिक विविधता बोकेको छ । यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्दछ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय समुदायको एक जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्तिपूर्ण, समतामुलक र समावेशी रूपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्त्व दिँदै आएको पनि उनले स्पष्ट पारिन् । ‘हामी शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ पार्न क्षेत्रीय र विश्वव्यापी सबै मञ्चहरूमा सक्रिय रूपमा संलग्न छौँ । संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै शान्ति सैन्य पठाउने देशका रूपमा पनि हामी गर्व गर्दछौँ,’ उनले भनिन् ।

मन्त्री राणाले सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको वडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात गरेको बताइन् । मन्त्री राणाले बंगालको खाडी क्षेत्र जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनास र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले जोखिममा रहेकाले पूर्वाधार निर्माण, पूर्वचेतावनी प्रणालीमार्फत विपद्‌ रोकथाम तथा स्थानीय समुदायहरूलाई वातावरण संरक्षणमा संलग्न गराउनु अहिलेको अत्यावश्यकता भएको बताइन् ।

मन्त्री राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिरसमेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका सदा अग्रणी रहने विश्वास पनि व्यक्त गरिन् । उनले बिमस्टेकलाई बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गरी समयानुकूल सशक्त क्षेत्रीय संगठन बनाउन विभिन्न सुझाव पनि
राखिन् ।

बिमस्टेक फ्रि ट्रेड एरियाको सञ्चालन, इपिजी रिपोर्टको कार्यान्वयन, ट्रान्सपोर्ट कनेक्टिभिटीका लागि मास्टर प्लान र आयोजनाहरूको पहिचान तथा क्षेत्रीय केन्द्रहरूको पूर्ण परिचालन बिमस्टेक आवश्यक रहेको उनको सुझाव थियो । मन्त्री राणाले उपलब्ध स्रोतहरूको उपयोग, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा सहयोग तथा व्यापार, पर्यटनको विकास, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, एकीकृत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताइन् ।

मन्त्री राणाले सदस्य राष्ट्रहरुबीचको सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि विकास साझेदार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा जोड दिइन् । बैठकमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको सहभागिता थियो ।

काठमाडौँको वायु प्रदूषणकोस्तर ‘खतरनाक,’ सतर्कता अपनाउन मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । 

एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए ।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न, स्वास्थ्यमा विशेष सतर्क रहन अनुरोध गरेको छ ।

गर्मी मौसम बढ्दै जाँदा बढ्दो वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषणकोस्तर उच्च हुँदै गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, एलर्जी, टाउको दुख्नेलगायत स्वास्थ्यमा समस्या बढ्नसक्ने उल्लेख गरेको छ । यसै सन्दर्भमा जनतासँगै उद्योग, व्यवसाय, निर्माणसम्बन्धी काम सञ्चालन गरिरहेका निकायलाई वायु प्रदूषण न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

प्राधिकरणले सम्बन्धित निकायलाई वायु प्रदूषणमापन गरी तत्काल सुधारका उपाय अपनाउन सरकारमार्फत निर्देशन दिएको छ । साथै, विपद् न्यूनीकरण प्राधिकरणले आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।

मधेसी समुदायका निम्ति संविधान संशोधन गर्नुपर्छः सांसद राय

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भएको करिब दुई वर्ष भयो । प्रतिनिधिसभामा रहँदैगर्दा दुई वर्षको समय खासगरी संविधानको मर्मअनुसार कानुन निर्माणमा केन्द्रित रह्यो । त्योसँगै जनताका समसामयिक विषयलाई संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने काम गर्दै आएको छु । विशेष गरी मधेस प्रदेशभित्र रहेका आठ वटा जिल्लाका जनताको शिक्षा, स्वास्थ्य र बेरोजगारीलगायतका समस्या संसद्मा उठाउने काम भयो ।

अब छिट्टै ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’, ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ र ‘नेपाल प्रहरी ऐन, २०१२’ आउँदै छ । त्यसैगरी ‘कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’, ‘मिडिया काउन्सिल विधेयक २०८०’, ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’, ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८९’ छलफल भएको छ ।

सरकारले अध्यादेशमार्फत ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ ल्याएको छ । त्यसैगरी सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ल्याएको छ ।

नेपालको भौगोलिक क्षेत्रअनुसार तराईको क्षेत्रफल २३.१ प्रतिशत र जनसङ्ख्या ५३.६६ प्रतिशत छ । मूल रुपमा तराई क्षेत्रमा मधेसी समुदायको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार २२.२२ प्रतिशत पूर्ण मधेसी समुदायको जनसङ्ख्या छ । मधेसी आयोगले पछिल्लो समय गरेको अध्ययनअनुसार नेपालको कूल ८६ हजार दुई सय ९६ निजामती कर्मचारीमध्ये आठ प्रतिशत सङ्ख्या मधेसीको छ ।

स्थानीय तहमा मधेसी सुमदायको २४ प्रतिशत, प्रदेशसभामा छ प्रतिशत, प्रतिनिधिसभामा १७ प्रतिशत राष्ट्रियसभामा आठ प्रतिशत र १२ प्रतिशत रहेको छ । निजामतीमा मधेसी समुदायलाई २२ प्रतिशत आरक्षण गरिएको छ । मधेसी समुदायको हक हित प्रवद्र्धन गर्दै उनीहरूलाई राज्यको मूलप्रवाहमा प्रवाहीकरण गर्न नेपालको संविधानको धारा २६२ मा मधेसी आयोगको व्यवस्था गरिएको छ ।

संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक, समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने भनिएको छ । तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।

पहिलो कुरा, संविधानमा मधेसी समुदायको अधिकार पूर्ण रुपमा समावेश गरिएको छैन । दोस्रो कुरा, मधेस समुदायबारे संवैधानिक अधिकारको कार्यान्वयन हुन सकेको छैन । मुख्यगरी मधेसी समुदायको कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद्) र न्यायपालिका (अदालत) लगायत राज्यका नीति निर्माण तहमा जनसङ्ख्याको आधारमा सहभागिता हुनुपर्छ । जसरी संसद्मा महिलाको ३३ प्रतिशत सुनिश्चित गरिएको छ ।

त्यसैगरी मधेसी समुदायको पनि संवैधानिक रुपमा सुनिश्चित गर्नुपर्छ । तराईमा भारतसँगको सिमानाको समस्या उत्तिकै छ । दैनिक उपभोग्य वस्तु किनमेल गर्न भारतबाट सहज हुनुपर्छ । कम्तीमा पाँच हजारदेखि दश हजारसम्मको वस्तुमा लाग्ने भन्सार छुट दिनुपर्छ ।

पछिल्लो समयमा रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । अध्ययनको लागि विदेश जाने नेपालीको सङ्ख्या पनि उत्तिकै छ । त्यो जनशक्तिलाई रोक्नको लागि सरकारले शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ । व्यवहारिक र रोजगारमूलक शिक्षा प्रणाली बनाउनुपर्छ । अर्को रोजगारीका लागि विदेश जाने युवा पुस्तालाई रोक्नका लागि सरकारले कलकारखाना खोल्नुपर्छ । उद्योग खोल्नुपर्छ । देशको पर्यटन क्षेत्रमा अझै लगानी बढाउनुपर्छ । देशको मुख्य भनेको कृषि हो । सरकारले कृषिमा लगानी गर्न सकेको छैन ।

तराईमा सिँचाइको व्यवस्था गर्नुपर्ने आवश्यक छ । त्यसैगरी खेतीको लागि मल र बीउ पनि पाउन सकेका छैनन मधेसका किसानहरूले । भारतसँगको बोर्डरका कारण मधेसका जनताले पहिलेदेखि नै समस्या भोग्नु परेको छ । त्यो समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा मधेसी समुदायलाई जहिल्यी विभेद गरिएको छ । राज्यले मधेसी समुदायलाई धेरै कुरामा विभेद गरेको छ । मधेसी समुदायको निम्ति छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार मधेस प्रदेशको एउटा पनि जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेको छैन । रौतहट, महोत्तरी र सर्लाहीको साक्षरता दर औसत जिल्लाहरूभन्दा खस्किएको छ । ५७ प्रतिशत साक्षरता रहेको रौतहट, ५९ प्रतिशत साक्षरता रहेको महोत्तरी र ६० प्रतिशत साक्षरता रहेको सर्लाहीको अवस्थाभन्दा मधेसको अन्य जिल्लाको शैक्षिक अवस्था त्यति फरक छैन ।

धनुषा, सिरहा र सप्तरी पनि शिक्षामा कमजोर छ । त्यसैले सरकारले मधेसको शिक्षामा लगानी बढाउनुपर्छ । गणतन्त्रको विकल्प भनेको सुधारिएको गणतन्त्र नै हो । यद्यपी लोकतन्त्रमा राजतन्त्रको माग गर्न पाइन्छ । मानिसले आफ्नो माग राख्न पाउने अधिकार हुन्छ । तर अब यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ ।

गणतन्त्र बलियो बनाउनका लागि राजनीतिक दलको मुख्य भूमिका हुन्छ । दलहरू बीच एकता नभएका कारण पनि राजतन्त्रवादीहरू सलबलाउने मौका पाएका छन् । अब जनताको अवस्था अझै सुधार गर्नका लागि दलहरू बीच एकताको आवश्यकता छ । दुई÷चार जनाले संसद् वा सडकमा उफ्रिएर केही हुँदैन । मेरो पक्षमा जनता छैनन् भन्ने कुरा पूर्वराजाले बझ्नुपर्छ ।

सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउनका लागि संविधानलाई स्थानीय तहलाई दिएको अधिकारको उपयोग गर्न दिनुपर्छ । प्रदेश र स्थानीय तहको अधिकार सङ्घीय सरकारले हस्तक्षेप गर्नुहुँदैन । बरु सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई आवश्यक कानुन जतिसक्दो चाँडो बनाइदिनुपर्छ । नेपालको प्रतिनिधिसभामा रहँदैगर्दा मेरो भूमिका कानुन निर्माणमा केन्द्रित हुन्छ । मधेसी समुदायको निम्ति संविधान संशोधन गर्न पल गर्ने मेरो अबको भूमिका हुन्छ । त्यसैगरी मधेसी समुदायको अधिकारप्राप्तिका लागि पहल गर्ने मेरो भूमिका हुन्छ ।

 सांसद महेन्द्रकुमार रायको परिचय

नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्य हुन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट भएका हुन् । सांसद रायले जनता समाजवादी पार्टीका नेता डा सुरेन्द्र यादवलाई चार हजार १२४ मतान्तरले पराजित गरेका थिए । रायले २०४३ सालदेखि तीन कार्यकाल महोत्तरी जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका राय २०५६ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति तथा सहकारीमन्त्री बनेका थिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको प्यानलै निर्वाचित भएको छ । बिहीबार बिहान सकिएको मत गणनाअनुसार त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

नेविसंघकै बागी उम्मेदवार सागर न्यौपानेलाई पराजित गर्दै कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले १ हजार २ सय १५ मत पाउँदा न्यौपानेले ६८३ मत पाएका छन् ।

तेस्रो भएका अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत पाए । यसैगरी, सचिवमा नेविसंघकै आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन् ।

जापान र कोरियाले विकासको फड्को मार्दा हामी किन पर्यौं पछि ?

-केशवप्रसाद भट्टराई

विकास र समृद्धिको यात्रामा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान आदि र नेपाल पछि पर्नुको एउटा कारण २०१७ सालले देशलाई राजाको हुकुमी शासन दियो–२०७२ले नेपाललाई तीन दलको हुकुमी शासन दियो !

१. १९५० –६० सम्म सम्म जापान कृषिमा आश्रित एक विकासोन्मुख मुलुक थियो । १९५३–१९६६ को वीचमा जापानले ३१ परियोजनाका लागि करिव ८६ करोड डलर ऋण विश्व बैंकबाट लियो र १९७० मा जापान विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुग्यो । १९६० सम्म संसारका निर्धन मुलुकमा गणना हुने सिङ्गापुर , ताइवान, दक्षिण कोरिया , हंगकंग दश वर्षकै अवधिमा एसियन टाइगर बने –विश्वमा शीघ्र विकास र समृद्धिको मानक बने ।

२. १९८१ सम्म चीनका झन्डै ९० प्रतिशत जनता गरीव थिए । चीनको कूल गार्हस्थ उत्पादन २९ अर्व डलर आसपास थियो–आज १८ खर्ब डलर छ । चीन आज झन्डै गरीवीविहीन मुलुक हो ।

३. १९९१ मा संसारका करिव २०० मुलुकमा भारत पुछारबाट संसारको १७ औँ अर्थतन्त्र थियो आज माथिबाट संसारको पाँचौ ठूलो अर्थतन्त्र भएको छ । १९६० मा नेपालको प्रतिव्यक्ति आय दक्षिण कोरिया, सिङ्गापुर, ताइवान आदि मुलुक को हाराहारीमा थियो । १९८० को चीनको र १९९० को भारतको प्रतिव्यक्ति आयकै हाराहारीमा थियो । आज मैले भनिरहन पर्दैन ।

४. मुलुकको विकास र समृद्धिको पनि एउटा आचार शास्त्र हुन्छ, आचार संहिता हुन्छ, त्यो भनेको राज्यका साधन र स्रोतको उपयोगको नैतिक र आचार पक्ष हो । त्यस्तो नैतिक र आचार पक्षलाई केन्द्रमा राखेर संविधान र कानुनले विकास र समृद्धिका उद्देस्यले सङ्गठित सिद्धान्त र व्यवहारमा जनता प्रति उत्तरदायी र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय सँस्था , संरचना र संगठनहरू राज्यले निर्माण गरेको हुन्छ । परिवर्तन भनेकोनै उत्तरदायी संरचनाहरू निर्माण हो । क्रान्ति र आन्दोलन भनेकै उत्तरदायी शासन र संरचनाहरू निर्माणका लागि हुन्छन् ।

५. २०१९ पुस १ मा राजा महेन्द्रबाट घोषणा भई जारी भएको संविधानमा राज्य शक्तिको स्रोत राजालाई मानिएको थियो र तत्कालीन मन्त्री परिषद र व्यवस्थापिका ( राष्ट्रिय पंचायत) राजा प्रति उत्तरदायी थियो । १९६० अर्थात् २०१७ साल र त्यसपछि २०१९ सालको संविधानले राज्य शक्तिको स्रोत राजालाई मान्यो र राजाकै सक्रिय र प्रतक्ष नेतृत्व अन्तर्गतको संवैधानिक व्यवस्था अवलम्वन गर्यो । त्यस्तो गलत संवैधानिक सिद्धान्त र मान्यतामा उभिएको कारण त्यो व्यवस्था उत्तरदायी थिएन , त्यसलाई उत्तरदायी व्यवस्था मानिदैन र त्यस्तो अनुत्तरदायी व्यवस्थाकै कारण नेपाल उक्त कालखण्डमा विकास र समृद्धिको बाटोमा अघि बढ्न सकेन । मुलुक २० वर्ष संविधान अनुसार नै राजाको हुकुमी शासनमा चल्यो ।

६. २०७२ सालमा जारी भएको संविधानले जनतालाई राज्य शक्तिको स्रोत मान्यो । जनतालाई सार्वभौम मान्यो । तर सिद्धान्तमा मात्रै सीमित रह्यो व्यवहारमा नेपालमा दुई वा तीन दल मात्रै राज्य शक्तिको स्रोत बनेका छन् । व्यवहारमा तीन दलको हुकुमी शासन देशमा छ ।

७. मुलुकको प्रधानमन्त्री, मन्त्रिपरिषद, संसद र अदालत लगायतका सवै संवैधानिक निकायमा तिनै तीन दलका कार्यकर्ता, समर्थक भर्ती गरिने अभ्यासका कारण ती प्रतक्ष /परोक्ष दल प्रभावित, नियन्त्रित शाखाको रूपमा रहेको दुःखद स्थिति पनि छ । १९ सालको संविधानले घोषित रूपमा राजालाई राज्य शक्तिको स्रोत मान्यो र २०७२ सालको संविधानले व्यवहारमा तीन दलका नेतालाई राज्य शक्तिको स्रोत मान्यो र सरकार र राज्य सत्तालाई उत्तरदायी बन्न दिएन । अनुत्तरदायी व्यवस्था भनेको यस्तै हुन्छ–जस्तो हामीले आज बेहोरिरहेका छौँ ।

ट्रम्पको आयात शुल्कको विश्वव्यापी प्रभाव

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् ।

उनको ती योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत त्यस्ता शुल्क लाग्ने छ। त्यो गत वर्षको चुनावी अभियानका बेला उनले गरेका प्रस्ताव अनुरूप नै हो ।

ह्वाइटहाउसले युरोपेली सङ्घ र चीनसहित ‘सबैभन्दा खराब अपराधी’ भनेर व्याख्या गरेका झन्डै ६० व्यापार साझेदारहरूका वस्तुहरूले उच्च दरको सामना गर्नुपर्ने छ । ट्रम्पले यसलाई अनुचित व्यापार नीतिहरूको नतिजा बताएका छन्।

यस व्यापार युद्ध बढ्दा अमेरिकामा उच्च मूल्य र सुस्त वृद्धिदर देखा पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। त्यसैगरी विश्वभरका केही देश आर्थिक मन्दीमा समेत पर्न सक्छन् । त्यसैगरी विश्वभर केही देश आर्थिक मन्दीमा समेत पर्न सक्छन् ।

तर बुधबार ह्वाइटहाउसमा गरिएको घोषणामा चाहिँ ट्रम्पले यी उपायहरू आवश्यक रहेको बताए । अरू देशहरूले उच्च शुल्क र अन्य व्यापार अवरोधहरू लगाएर अमेरिकाको फाइदा उठाइरहेको उनको भनाइ थियो ।

अमेरिकाले अप्रिल ५ मा १० प्रतिशत शुल्क लगाउन सुरु गर्ने जनाएको छ भने अन्य केही देशहरूका लागि तोकिएका उच्च शुल्क अप्रिल ९ देखि सुरु हुनेछ । आयात शुल्कले सन् २०३४ सम्ममा २.२ ट्रिलियन डलर अमेरिकी राजस्व बढाउन सक्ने ‘नन पार्टिसन कङ्ग्रेसनल बजेट अफिस’ले जनाएको छ ।

त्यसक्रममा चीनबाट आयात हुने सामान, विदेशी कार, स्टील र आल्मुनियममा आयात शुल्क बढाउने र मेक्सिको र क्यानडाबाट आउने केही सामानहरूमा २५ प्रतिशत शुल्क बढाउने अन्य आदेशहरू भएका थिए ।

ह्वाइटहाउसका अनुसार यस घोषणाले अमेरिकाका दुई निकट व्यापार साझेदार मेक्सिको र क्यानडाका लागि तत्कालका लागि केही परिवर्तन गर्ने छैन । तर अन्य साझेदारहरूले भने नयाँ करहरूको सामना गर्ने छन्।

त्यसमा ब्रिटेनका लागि १० प्रतिशत र युरोपेली सङ्घ ईयूका लागि २० प्रतिशत समावेश गरिएको ट्रम्पले बताएका छन् ।

चीनबाट आउने सामानहरूमा लाग्ने अमेरिकी आयात शुल्क ३४ प्रतिशतले बढ्ने छ जुन अहिले नै २० प्रतिशत रहेकाले त्यसमा थप हुँदा त्यो कुल शुल्कका रूपमा ५४ प्रतिशत पुग्ने छ । जापानबाट आउने सामानहरूमा २४ प्रतिशत र भारतबाट आउने सामानहरूमा २६ प्रतिशत भन्सार शुल्क लाग्ने छ ।

बैतडीकी ऋतुलाई ‘स्पेशल अवार्ड’

बैतडी । बैतडीकी घर भएकी महिला क्रिकेट खेलाडी ऋतु कनौजियाले ‘स्पेशल अवार्ड’ जितेकी छिन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा धनगढीमा सम्पन्न ‘छैठौँं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड–२०८१’ मा ऋतुले ‘स्पेशल अवार्ड’को उपाधि जितेकी हुन् ।

अवार्डसँगै ऋतुले २५ हजार पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । लामो समयदेखि सक्रिय रूपमा खेलकुद क्षेत्रमा योगदान दिइरहेका खेलाडीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ ।

ऋतुले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै क्रिकेटमा आफूले गरेको योगदानको कदर गरिएको बताइन् । उनले भनिन्, “यो अवार्डले मलाई अझै क्रिकेटमै लागिरहन प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टोलीबाट खेलेर सन्यास लिने सोचमा छु ।”

कनौजिया नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् । उनी अहिले पनि क्रिकेट खेलाडीकै रूपमा सक्रिय छिन् । ऋतुले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानीसमेत गरिसकेकी छिन् ।

दशरथचन्द नगरपालिका–४ गढी घर भएकी कनौजिया अहिले पनि राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी छिन् । यसका साथै उनले स्थानीय खेलाडीलाई प्रशिक्षणसमेत दिइरहेकी छिन् ।

सन् २००७ मा मलेसियामा भएको एसिसी वुमन्स क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डसँग पहिलो पटक अन्तरराष्ट्रिय खेल खेलेको थियो ।

उक्त प्रतियोगितामा नै ऋतुले अन्तरराष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी थिइन् । विसं २०३९ मा जन्मिएकी ऋतुले १५ वर्षदेखि नै क्रिकेट खेल्न थालेकी हुन् ।

जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै नेपालको टोलीको कप्तानी गरेर अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेकी ऋतु अहिले घरेलु क्रिकेटमा सक्रिय छिन् ।

नेपाल सुपर लिगमा ललितपुर सिटीको पहिलो जित

काठमाडौँ । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।

ललितपुरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे । यस्तै खेलको ४२औँ मिनेटमा पोखराका समिर तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पूर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै आफ्नो टोलीको अग्रता बनाए ।

यसपछि खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे । ललितपुरले ३–२ गोलअन्तरले जित निकाल्यो ।

ललितपुरले दुई खेलबाट चार अङ्क बनाएको छ । ललितपुरले पहिलो खेल काठमाडौँसँग २–२ गोलको बराबरी खेलेको थियो । पोखरा यसअघि पहिलो खेलमा चितवनसँग २–० गोलअन्तरले हारेको थियो ।

‘समर सेड्युल’ नहुँदा भैरहवा विमानस्थल फेरि सुनसान

भैरहवा (रूपन्देही) ।भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ। मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन्। यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन्।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले ‘समर शेड्युल’ नलिएको बताए। उनले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताए। ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिए।

साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गरे। “सुरूमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो। तर यो नगण्य मात्रामा थियो”, उनले भने, “वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन।”

साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गरे। “विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ”, उनले भने, “काठमाडौँबाट उड्ने सबै यात्रु काठमाडौँकै होइनन्, समग्र नेपालका हुन्। यस्तो अवस्थामा सबै यात्रु काठमाडौँबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ।”

प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्रावल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन। काठमाडौँमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने यहाँको बुझाइ छ। यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ।

तर निजी क्षेत्र भने प्रवक्ता साहको यो भनाइ सत्य नरहेको बताउँछन्। एयरपोर्ट सञ्चालनको लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रूपन्देही र यसलाई नेतृत्व गर्नुहुने अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउँछन्। नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उनले बताए। उनका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ। यसबाहेक काठमाडौँ केन्द्रित व्यवसायीले काठमाडौँभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उनको छ। ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानिय फेरि आन्दोलित हुने वातावरण बनाएको बताए।

त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्याङ्कले देखाउँछ। विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराउनुभएको जानकारीअनुसार ‘विन्टर शेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार एक सय ४८ जना यात्रुले सेवा लिएका छन्। यसमा आठ सय हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट सात हजार एक सय नौ जना उडेका छन्।

मार्च महिनामा मात्रै सात हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन्। यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाई दुबईले यात्रु बोकेको तथ्याङ्कबाट देखिन्छ। जजिराले मार्च महिनामा तीन हजार छ सय सात यात्रु र फ्लाई दुबईले दुई हजार तीन सय २३ यात्रु बोकेको छ।

विमानस्थलबाट उडान नहुनु सरकारी उदासिनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ। गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो।

मङ्गलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यको भनाइ छ। काठमाडौँको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनको लागि डाइभर्सन पूलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उनको भनाइ छ।

अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गर्नुभयो। उनका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। भैरहवा र पोखराका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तरराष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ।

निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाइ इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ। सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाइ टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ।

काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ। तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा आगजनी, तोडफोड गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।

विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अपराध गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर, झापाको गौरादह नगरपालिका–१, गौरादह घर भएका २१ वर्षीय समीर मगर, रामेछापको सुनापाति गाउँपालिका–१ घर भएका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ घर भएका २३ वर्षीय सुशील बराल, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पञ्चदेवल नगरपालिका २० वर्षीय गोकर्ण शाही र संखुवासभाको पाँचखपन नगरपालिका–२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३९ वर्षीय मुकुन्द दाहाल रहेका छन् ।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

रविन्द्र मिश्र र धवलशम्सेरलाई थप ६ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गर्न उक्साएको आरोपमा पक्रउा परेका उनीहरुलाई थप ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले मिश्र र राणासहित ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराएको थियो ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

काठमाडौं ।  थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गरेका छन्।

सगरमाथा आरोहण गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन्।

रेविका र दिनेशमाथि झुक्किएर गोली लागेको प्रहरीको दाबी

काठमाडौं । प्रहरीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डीआईजी दिनेश आचार्यले भिड नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएका हुन् ।

उनले भिड उत्तेजित भएपछि दिउँसो २ः५४ बजे गोली चलाएको बताए । प्रवक्ता आचार्यले विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको बताए । भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजु दिनेशमाथि परेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले ठूलो भिड भएकाले दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न नसकिएको बताए । उनले भने, ‘ठूलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव भएन ।’ उनले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताए ।

उनले घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको र ५८ राउन्ड गोली प्रहार गरेको जानकारी दिए । त्यस्तै ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको बताए ।

तिनकुने घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार हजारको भिड व्यवस्थापन गर्ने सरकार क्षमता नभएको हो ? भन्दै प्रश्न गरेका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले चार हजारको भिड नियन्त्रण गर्न सरकार असक्षम हुनु गम्भीर विषय भएको बताए ।

उनले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीलाई समितिलाई जानकारी गराउन माग गरे ।

उनले भने, ‘राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्री ज्युलाई बोलाउनुपर्छ । गृहमन्त्रीले राज्य प्रशासनको तर्फबाट राज्यको बुझाई के हो ? भएको विषय वस्तु के हो ? ४ हजारसम्मको भिड व्यवस्थापन गर्न क्षमता नभएको हो राज्यसँग ? यो समग्र विषयमा समितिलाई जानकारी गराउन ध्यानाकर्षण गर्दछु ।’

महामन्त्री शर्माले पत्रकार सुरेश रजक र सविन महर्जनको हत्याका विषयमा फरक फरक विषय बाहिर आएकाले यो घटनाको छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने बताए ।

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिनको माग गरे । राप्रपाका नेताहरु समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि प्रसाईंको फोटो देखेपछि नगएको उनले बताए । तामाङले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको बताएका थिए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तिनकुने घटनामा सरकारले सरकारले चाँडै जवाफ दिनुपर्ने बताए । उनले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे ।
छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई आगामी शुक्रबार बैठकमा बोलाइने जानकारी दिए ।

कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट बुधबार पनि हेर्दाहेर्दैमा परेको छ ।

सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ ।

मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि हेर्दा हेर्दैमा राखिएको छ । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।

ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा नारी टिभीद्वारा डिजिटल वित्तीय आधारभूत शिक्षा कार्यक्रम आयोजना

काठमाडौं । डिजिटल सेवाहरूले वित्तीय व्यवस्थापन गर्ने तरिकालाई नयाँ आकार दिइरहेको युगमा, ई–बैंकिंग र व्यक्तिगत वित्तमा महिलाहरूको सशक्तीकरणका निम्ति नारी टेलिभिजले बुधबार डिजिटल वित्तीयका आधारभूत र आवश्यक सीप तथा संशाधनहरूको बिषयक कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको हो । करिब १०० जना महिलाहरुको लागि कार्यक्रम गरिएको नारी टिभीले दोस्रो पटक गरेको हो । वित्तीय व्यवस्थापन, नारी सशक्तिकरण कार्यक्रमका अलावा महिला उद्यमशीलता प्रवद्र्धनका निमित्त यसअघि पनि कार्यक्रम गरिएको जानकारी नारी टिभीकी अध्यक्ष निकिता पौडेलले दिइन् ।

उनले भनिन्, ‘नेपालमा महिलाहरूले वित्तीय स्रोतहरूमा पहुँच र व्यवस्थापनमा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छन्। वित्तीय समावेशीकरण मा वृद्धि भए तापनि वित्तीय साक्षरता, डिजिटल बैंकिङ पहुँच र आर्थिक सहभागितामा अन्तर कायमै छ । यस पहलले महिलाहरूलाई उनीहरूको वित्तीय स्वतन्त्रता बढाउनका लागि तालिम, र परामर्श प्रदान गरेर यी खाडलहरूलाई कम गर्न सहयोग गर्छ ।’

कार्यक्रम मा ग्लोबल आइएमइ बैंकका Incharge Transaction Banking Sales and Business डिलन शाक्यले डिजिटल साक्षरता र जागरुकताको विषयमा छलफल गराएका थिए । त्यस्तै कार्यक्रममा नेपालमा बैंकिङ सुरक्षाको अवस्थाको विषयमासमेत छलफल भएको थियो ।

मोबाइल बैंकिङबाट घरायसी कार्यहरु बिजुलीको बिल तिर्नदेखि व्यवसायहरु कसरी गर्न सकिन्छ, सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने लगायतमा सहजीकरण गराएका थिए । त्यस्तै ग्लोबल बैंकको सेवा अन्य बैंकको सेवा भन्दा फरक र प्रभावकारी रहेको उल्लेख गरे । मोबाइल एपहरुबाटै गर्न सकिने सुविधा, जहाजको टिकट लिन सकिने सुविधा रहेको छ ।

त्यस्तै, सुरक्षित मोबाइल बैंकिङ सम्बन्धि विभिन्न भिडियो सामग्री प्रस्तुत गरिएको थियो । उनले नेपालमा एउटा बैंकको शाखाले करिब चार हजार सात सय नब्बे जना ग्राहकलाई सेवा प्रदान गरिरहेको बताए । त्यस्तै नेपालको पचासी प्रतिशत नागरिकले मोवाइल बैंकिङ सेवाको प्रयोग गरेको बताए । उनले मोवाइल बैकिङबाट के के सेवाहरु लिन सकिन्छ भन्ने विषयमा जानकारी दिए । सहभागीहरुले बैकिङ सुरक्षा सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।

साथै कामना सेवा विकास बैंककी राधे राधे शाखा प्रमुख गमला वनले वित्तीय अनुशासन र लक्ष्यको विषयमा बताइन् । नेपालको सन्दर्भमा महिलाहरु राम्रो बचतकर्ता भएको बताइन् । घरायसी बजेट कसरी बनाउने ?किन आवश्यक छ ? वित्तिय रुपमा महिलाहरु कसरी साक्षर हुने भन्ने विषयमा छलफलसमेत भएको थियो । वित्तीय साक्षरता भनेको के हो ? वित्तिय आक्षरता किन आवश्यक छ ? पैसाको उचित व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण गर्ने विषयमा सहजीकरण गराए । त्यस्तै कार्यक्रममा सहभागी महिलाहरुले वित्तीय क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए ।

तिनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौंको तिनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।

पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।

मुस्ताङका ७८ च्याङ्ग्रा फार्म सूचीकृत

-सुन्दरकुमार थकाली

मुस्ताङ । च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास कार्यान्वयनमा रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले आव २०७८/७९ देखि च्याङ्ग्रा जोन विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मुस्ताङमा पुस्तौँपुस्तादेखि व्यावसायिक रुपमा यहाँका स्थानीय किसानले च्याङ्ग्रापालन व्यवसायलाई पेशाका रुपमा अपनाउँदै आइरहेका छन् । च्याङ्ग्रा पालन व्यवसायलाई परिस्कृत गर्दै लैजाने र च्याङ्ग्रा पालन व्यवसायलाई प्रर्वद्धन गर्ने गरी मासुको आयात प्रतिस्थापन गर्न च्याङ्ग्रा जोन विकास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको हो ।

च्याङ्ग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा आएको चौथो वर्ष हालसम्म मुस्ताङका तीन स्थानीय तहमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा ७८ कृषि फार्म सूचीकृत भइसकेका छन् । च्याङ्ग्रा जोन विकास कार्यक्रमका लागि सूचीकृृत हुन बर्सेनि कार्यालयले प्रस्ताव आह्वान गर्ने र त्यसपछि प्राथमिकताका आधारमा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृत गर्दे लैजाने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये मागका आधारमा तीन स्थानीय तहका किसानलाई च्याङ्ग्रा जोन विकास कार्यक्रममा आबद्धता गरिएको कार्यालय प्रमुख गौतमले बताए । जिल्लाको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गरी कूल ७८ फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएका हुन् । त्यसअन्तर्गत बारागुङ मुक्तिक्षेत्रमा ५६ फार्म, लोघेकर दामोदरकुण्डमा १६ फार्म र लोमान्थाङ गाउँपालिकामा नौ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृत भएको कार्यालय प्रमुख गौतमले उल्लेख गरे ।

च्याङ्ग्रा जोन विकास कार्यक्रमको पहिलो आव २०७८/७९ मा आठ फार्म, दोश्रो वर्ष आव २०७९/८० मा १६ र तेस्रो आव २०८०/८१ मा १७ फार्म सूचीकृत भएका थिए । चालु आवको चौथौ वर्ष २०८१/८२ मा ३७ पशु फार्म च्याङ्ग्रा जोन विकास कार्यक्रममा सूचीकृृत भएको परियोजना कार्यान्यन एकाइले जनाएको छ । च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो वर्ष रु ७५ लाख ३० हजार, दोश्रो वर्ष रु ७२ लाख ४० हजार, तेस्रो वर्ष रु ८० लाख ४७ हजार र चालु आवमा रु ५९ लाख ११ हजार बजेट विनियोजन भएको थियो ।

पहिलो वर्षको च्याङ्ग्रा जोन कार्यक्रममा रु ४९ लाख १० हजार, दोस्रो वर्ष रु ७२ लाख नौ हजार र तेस्रो आवमा रु ५७ लाख ९८ हजार बजेट खर्च भएको कार्यान्वयन एकाइले जनाएको छ । परियोजना कार्यान्यवन एकाइअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा च्याङ्ग्राको खोर सुधारतर्फ ८५ प्रतिशत अनुदान सहुलियत दिने गरी सूचीकृृत १० खोरका लागि रु ३० लाख बजेट बजेट छुट्याइएको छ ।

स्थानीय तहसंगको समन्वयमा पशु नश्ल स्रोत केन्द्र स्थापना सुदृढीकरण सूचीकृत एक फार्मलाई ८५ प्रतिशत अनुदानमा रु आठ लाख ९२ हजार बजेट परेको छ । लक्षित जोनमा पशु नश्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रममा रु १२ लाख, पशु आहारा व्यवस्थापनमा रु तीन लाख १८ हजार र जोन सुधार सहयोग तथा जोन क्षेत्रमा कृषि यान्त्रिकीकरणतर्फ रु पाँच लाख बजेट ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यक्रम तय भएको कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

यसअघि मुस्ताङमा सञ्चालित च्याङ्ग्रा जोन विकास कार्यक्रमअन्तर्गत पहिलो आवमा सूचीकृृत आठ फार्मलाई च्याङ्ग्राका पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट, रेन्कोट र पाल वितरण गरिएको छ । खोर सुधारमा आठ फार्म, पशु नश्ल स्रोत केन्द्र स्थापना एक र खसी बोका संकलन केन्द्र स्थापना केन्द्रतर्फ एक फार्मले अनुदान पाएका थिए ।

आव २०७९/८० मा सूचीकृृत १३ फार्मले च्याङ्ग्रा पाठापाठी वितरण, सोलार चार्जर, टर्च लाइट र डिजिटर तराजु पाएका थिए । यस्तै पशु रोग नियन्त्रण गर्न औषधि वितरण २१ फार्म, खोर सुधार १० फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापना दुई सूचीकृत फार्मले च्याङ्ग्रा जोनको अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०८०/८१ मा च्याङ्ग्राका पाठापाठी वितरणमा १० फार्म, औषधि वितरण २९ फार्म, च्याङ्ग्रा आहारा ३६ फार्म, खोर सुधार सात फार्म र पशु नश्ल स्रोत केन्द्र स्थापनातर्फ दुई पशु फार्मले जोन विकासको अनुदान लिएका थिए । परियोजना कार्यान्वयन एकाइका कार्यालय प्रमुख गौतमले पशु वृद्धि गर्न पाठापाठी वितरण, औषधि, पूर्वाधार निर्माणका साथै च्याङ्ग्रा पालनमा आवश्यक उपकरण तथा प्रविधि अनुदानमा उपलब्ध गराइएको बताए ।

आगामी वर्षमा पशुको नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादन तथा पश्मिना व्यवसायतर्फ पशु फार्मलाई आकर्षित गर्दै लैजाने योजना रहेको प्रमुख गौतमको भनाइ छ । जोन कार्यक्रममा रही अबका वर्षमा पश्मिना उद्योगमा जोड दिने कार्यालयको उद्देश्य रहेको उहाले उल्लेख गरे । च्याङ्ग्रा जोन कार्यक्रमले स्थानीय पशुपालकको व्यवसायको संरक्षण, व्यावसायिकरणका साथै सबै सूचीकृृत पशु फार्महरुमा कम्तीमा तीन÷चार जनाले रोजगारी प्राप्त गरेको प्रमुख गौतमले जानकारी दिए ।

मुस्ताङमा च्याङ्ग्रा जोन विकास कार्यक्रमले सम्बन्धित पशु फार्महरुले सरकारबाट प्राप्त सुविधा लिएर च्याङ्ग्राको उत्पादन तथा बिक्री वितरणका साथै पश्मिना निकालेर दोहोरो आम्दानी लिनसक्ने वातावरण सिर्जना भएको कार्यालय प्रमुख गौतमको भनाइ छ । 

अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड डलर बराबरको लडाकू विमान बिक्री गर्ने

वासिङ्टन । अमेरिकाले फिलिपिन्सलाई पाँच अर्ब ५८ करोड अमेरिकी डलर बराबरको एफ–१६ लडाकू विमान बिक्री गर्न स्वीकृति दिएको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले २० वटा एफ–१६ जेट विमान र त्यससँग सम्बन्धित उपकरणहरु संयुक्त राज्य अमेरिकाको सन्धिमा बाँधिएको सहयोगी फिलिपिन्सलाई बिक्री गर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बिक्रीले दक्षिणपूर्वी एसियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्वपूर्ण शक्तिका रुपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा सुधार ल्याउनेछ ।”

“यसले फिलिपिन्सको वायु सेनाको समुद्री डोमेन जागरूकता सञ्चालन गर्ने क्षमतालाई पनि बढावा दिनेछ र ‘दुश्मनको हवाई आक्रमण र दमनको थप प्रतिरक्षा गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच महिनौँदेखि जारी टकरावपछि यो समाचार सार्वजनिक भएको हो, जसलाई बेइजिङले आफ्नो दाबीको कुनै आधार नभएको अन्तर्राष्ट्रिय फैसलाको बावजुद लगभग आफ्नो सम्पूर्णता दाबी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बुधबार भनेका छन्, “खरिद साझेदारबाट ‘मागपत्र र स्वीकारोक्ति’ प्राप्त भएपछि मात्र यो सम्झौतालाई अन्तिम रुप दिइनेछ ।

“यस्तो निर्णयबारे आफूलाई कुनै आधिकारिक सूचना प्राप्त भएको छैन,” फिलिपिन्सको रक्षा मन्त्रालयका प्रवक्ता आर्सेनियो एन्डोलोङले एएफपीसँग भने ।

चीनले फिलिपिन्सले क्षेत्रीय शान्तिलाई ‘चुनौति’ दिइरहेको भन्दै मनिलालाई उक्त खरिद नगर्न चेतावनी दिएको थियो ।

“फिलिपिन्सको अन्य देशसँगको रक्षा र सुरक्षा सहकार्यले कुनै पनि तेस्रो पक्षलाई लक्षित गर्नु हुँदैन वा तेस्रो पक्षको हितलाई हानि पु¥याउनु हुँदैन।

यसले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरामा पार्नु हुँदैन वा क्षेत्रीय तना लाई बढावा दिनु हुँदैन,” विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।

मनिला र वासिङ्टनले सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि र दक्षिण चीन सागरमा बेइजिङको व्यापक दाबीलाई पछाडि धकेल्न थालेपछि आफ्नो रक्षा सहयोगलाई अझ प्रगाढ बनाएका छन् ।

गत डिसेम्बरमा फिलिपिन्सले आफ्नो सामुद्रिक हितलाई सुरक्षित राख्न अमेरिकाको मध्यम दूरीको टाइफन क्षेप्यास्त्र प्रणाली अधिग्रहण गर्ने योजना बनाएको बताएपछि चीन आक्रोशित बनेको थियो ।

बेइजिङले यस्तो खरीदले क्षेत्रीय ‘हतियारको होडबाजी’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बढ्दो चीनको सामना गर्न र विशेष गरी ताइवानमा तनाव बढ्दै जाँदा र युक्रेनमा रुसको आक्रमणका बावजुद युरोपमा संलग्नता कम गर्न अमेरिकी सैन्य प्रयासलाई एशियामा पुनः र्निर्देशित गर्ने प्रयास गरेको छ।

मङ्गलबार चिनियाँ जहाज र लडाकु विमानले ताइवानलाई सिमुलेटेड नाकावन्दीमा घेरिरहेका बेला फिलिपिन्सका सैन्य प्रमुख जनरल रोमियो ब्राओनरले स्वशासित टापुमा आक्रमण गरिएमा आफ्नो देश ‘अनिवार्य रूपमा’ संलग्न हुने बताएका थिए ।

“ताइवानमाथि आक्रमण भएमा कारबाहीको योजना बनाउन थाल्नुहोस्,” उनले उत्तरी लुजोन टापुमा रहेका सैनिक निर्देशन दिए ।

यदि ताइवानमा केही भयो भने अनिवार्य रूपमा हामी यसमा संलग्न हुनेछौं।

उनले यस महिनाको संयुक्त सैन्य अभ्यासको अधिकांश भाग ताइवाननजिकै फिलिपिन्सको उत्तरी लुजोनमा हुने पनि बताए ।

“यी ती क्षेत्रहरू हुन् जहाँ हामी आक्रमणको सम्भावना देख्छौं। म तयारीको घण्टी बजाउन चाहन्नँ, तर हामीले तयारी गर्नुपर्छ,” उनले भने ।

ब्रुनरको टिप्पणीबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओले भने, “ताइवानको समस्या समाधान चिनियाँ जनताको विषय हो ।”

“हामी फिलिपिन्सका केही व्यक्तिहरूलाई आगोसँग नखेल्न वा ताइवानको मुद्दामा उक्साहट नगर्न सल्लाह दिन्छौं, आगोसँग खेल्नेहरू जल्नेछन्,” उनले भने ।

गत साता मनिलाको भ्रमणका क्रममा रक्षामन्त्री पिट हेगसेथले ‘कम्युनिस्ट चिनियाँहरूको धम्की’लाई ध्यानमा राख्दै ‘इन्डो–प्यासिफिक क्षेत्रमा पुनः प्रतिरोध स्थापना गर्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्ससँग अमेरिकी प्रतिरक्षा प्रतिबद्धता दोहोर्‍याएका थिए । यो ट्रम्प प्रशासनले युरोपका मित्रराष्ट्रहरूद्वारा संयुक्त राज्य अमेरिकाबाट ‘फ्रिलोड’ गर्ने बारम्बारको कुरा विपरीत हो। 

गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ

जेरुसेलम । इजरायली रक्षामन्त्रीले बुधबार गाजामा ठुलो सैन्य कारबाही विस्तारको घोषणा गर्दै सेनाले प्यालेस्टिनी क्षेत्रको ‘विशाल क्षेत्र’ कब्जा गर्ने बताएका छन् ।

‘आतङ्कवादी तथा यसले प्रयोग गर्ने पूर्वाधारलाई नष्ट गरी इजरायलले गाजामा आफ्नो उपस्थिति विस्तार गर्ने तयारीमा रहेको घोषण रक्षा प्रमुखले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

विस्तारित सुरक्षा कारबाहीले ‘इजरायलले नयाँ क्षेत्रहरू कब्जा गर्ने विश्वास उनले व्यक्त गरेका छन् । गत हप्ता नै सेनाले थप भागहरूमा चाँडै कब्जा गर्ने चेतावनी दिईएको थियो ।

इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण गरेपछि हमाससँगको युद्धमा लगभग दुई महिनाको युद्धविरामको अन्त्य गर्दै नयाँ आक्रमण सुरु गरेको हो ।

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गगरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् ।

यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

शेयर बजारमा २३ अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । बुधबारदेखि शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन सुरु गरेका हुन् ।

राजधानी केन्द्रित आन्दोलन गर्न देशभरबाट शिक्षकहरू काठमाडौं आएका छन् । शिक्षकहरूले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।

उनीहरूले सरकारले विगतमा आफूहरूसँग गरेको सहमतिअनुसार काम नगरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।

महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताएका छन् ।

चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताए ।

अभिनेता खड्काले भने, ‘निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु ।’

उनले बिना सम्झौता चलचित्र तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिए ।

प्राय: प्रेम कथानक चलचित्रमा अभिनय गरेका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधामा तयार भएको चलचित्रमा अभिनय गरेका हुन् । सो चलचित्रकी निर्देशक कृषा चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताए ।

‘यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो । त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्यो । चलचित्र भव्य बनेको छ । यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले म प्रति गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ । मैले चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरेकी छैन । महिला भएकै कारण सामाजिक विधामा मात्र चलचित्र बनाउन सक्छन भन्नेलाई मेरो कामले जवाफ दिएको छ’, उनले भने।

सो चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । 

दुई देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउँछौंः थाइ प्रधानमन्त्री

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा बुधबार दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाइ उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताइन् ।

उनले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री शिनावात्राले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबीच छलफल भएको जानकारी दिइन् ।

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताएका छन् ।

सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालको हीरक महोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने बताउँदै संविधानको व्यवस्था, मर्म र भावना कसैले भुल्न नहुने स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले भने, ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ । यस्ता प्रकृतिका घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कार बसैले पनि बिर्सन नहुने बताए ।

उनले भने,’लामो सङ्घर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गरिरहँदा हामी राज्य, कानुन र जनताप्रति जिम्मेवार पनि हुनु जरुरी छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै राष्ट्रपति पौडेलले सञ्चार जगत्को यो महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्णप्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको बताए ।

उनले आफू र आफ्ना पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको जनाउँदै समाचार र कैयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायत कार्यक्रम आफ्नो स्मृतिमा आज पनि मिठो सम्झना बनेर झञ्कृत भइरहेका उल्लेख गरे ।