`

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।

सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाए । बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरे ।

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए ।

यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । तीनवटै पुरस्कारको राशि जनही २५ हजार छ ।

दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।

वीरगञ्जलाई आर्थिक राजधानी बनाउन प्रभु साहको माग

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले मंगलबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष साहले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा दिएका हुन् ।

साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’ उनले भने, ‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’

असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने भारतीय मौसम पूर्वानुमानकर्ताहरूको चेतावनी

नयाँदिल्ली भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ ।

देश तातो गर्मीका लागि अपरिचित छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले तातो छालहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गइरहेको पत्ता लगाएको छ ।

भारतमा ग्रीष्म ऋतु अप्रिलदेखि जुनसम्म रहन्छ । यो अवधिमा मौसमको उच्च तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघेको हुन्छ ।

यस वर्ष गर्मी मौसममा देशका अधिकांश भागमा सामान्यभन्दा माथि अधिकतम तापक्रम देखिने भारतीय मौसम विभाग (आइएमडी) ले सोमबार राति एक पूर्वानुमानमा भनेको छ ।

जब असामान्य रूपमा उच्च तापक्रम दीर्घकालीन औसतभन्दा धेरै डिग्री रेकर्ड गरिन्छ गर्मी लहरका दिनहरूको सङ्ख्या पनि बढ्नेछ ।

“विशेष गरी पूर्वी भारतमा १० दिन वा सोभन्दा बढी गर्मीको लहर आउने अपेक्षा गर्न सकिन्छ र यसले गर्मीको तनाव निम्त्याउँछ”, मौसम ब्युरोका प्रमुख मृत्युञ्जय मोहपात्राले पत्रकारहरूलाई भने ।

भारतमा सामान्यतया अप्रिल र जुनको बीचमा चारदेखि सातवटा गर्मीको लहरको अनुभव हुन्छ ।
शिशु, वृद्ध, स्वास्थ्य समस्या भएका मानिस र बाहिरी कामदारहरू विशेष गरी उच्च तापक्रमको जोखिममा छन् ।

परिणामस्वरूप हुने गर्मीको तनावले चक्कर आउने र टाउको दुख्नेदेखि लिएर अङ्गको विफलता र मृत्युको लक्षणहरू निम्त्याउन सक्छ ।

कङ्क्रिट, इँटा र अन्य गर्मी सोस्ने सतहहरूले घेरिएका सहरवासीहरू पनि उच्च जोखिममा छन् ।
चरम गर्मीको लामो अवधिले विद्युतीय ग्रिड र यातायात प्रणाली जस्ता पूर्वाधारमा पनि दबाब दिन सक्छ ।
आइएमडीले ती चुनौतीलाई सम्बोधन गर्न गर्मी कार्ययोजनाहरू तयार गर्नुपर्ने बताएको छ ।

“यसमा शीतलन केन्द्रहरूमा पहुँच प्रदान गर्ने, गर्मीसम्बन्धी सल्लाहहरू जारी गर्ने र प्रभावित क्षेत्रहरूमा सहरी गर्मी द्वीपको प्रभाव कम गर्न रणनीतिहरू कार्यान्वयन गर्ने समावेश छ”, आइएमडीले भनेको छ ।
भारतले गत वर्ष आफ्नो हालसम्मकै लामो गर्मी लहरको सामना गरेको थियो । त्यस समयमा तापक्रम नियमित रूपमा ४५ डिग्री सेल्सियस नाघेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष कम्तीमा पाँच लाख मानिस गर्मीले मर्ने गणना गरेको छ तर वास्तविक सङ्ख्या त्योभन्दा ३० गुणासम्म बढी हुनसक्ने चेतावनी दिएको छ ।

अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मंगलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताए छ र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका छन् ।

उनले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताएका छन् ।इसिबाले मंगलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा बोलेनन् तर उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताए ।

अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न ‘हामी सक्दो प्रयास गर्नेछौँ’ भने ।

“जापान अमेरिकाका लागि सबैभन्दा ठूलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ”, उनले पत्रकार सम्मेलनमा भने, “यदि मैले आफैँ (संयुक्त राज्य अमेरिका) भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।”

शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्ट्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताएका छन् ।

“राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहेका छन् । यो बुझ्न धेरै कठिन छ”, इसिबाले एक संसदीय यी समिति बैठकमा भने ।

संसद अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सांसद पद निलम्ब फुकुवा गरिदिन सभामुखलाई रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्ब फुकुवा गरिदन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

मंगलबार पार्टीका सांसदहरुलाई लिएर सभामुखलाई भेट्न गएका सभापति लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

जवाफमा सभामुखले आफूले अहिलेको कानुनी व्यवस्था जे छ आफूले त्यही गरेको बताएका थिए । लामिछानेले सरकारले कानुनको दुरुपयोग गरिरहेको भन्दै त्यसलाई रोक्न पनि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा छ । यसअघि पनि उनले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका थिए ।

लामिछानेले आज पनि सोही विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन् । यसअघि सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छुटेलगत्तै उनले सभामुखलाई लिखित निवेदन दिएर आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिनु अनुरोध गरेका थिए ।

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।

सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ७९ हजार ७०० रुपैयाँकायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

राप्रपाका सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

उनी लामो समयदेखि अस्वस्थ थिए । बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनको पार्थिव शरीरलाई आज जहाजबाट गृहजिल्ला रुपन्देही लगिने र भोलि बिहान काठमाडौं फिर्ता ल्याई दिउसो राप्रपा पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र पार्टी कार्यालयबाट पशुपतिसम्म शवयात्रा गरिने पाठकले जानकारी दिए ।

निलम्बन फुकुवाका लागि रविले सभामुखलाई आग्रह गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दैछन् । लामिछानेले पार्टीका सांसदहरुसहित आज सभामुखलाई भेट्न लागेका हुन् ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।

तर लामिछानेले संबिधान विपरित सांसदबाट आफूलाई निलम्बन गरिएको बाताउँदै आएका छन् । सभामुखसँगको भेटमा रास्वपाले लामिछानेको निलम्बन फुकुवाका लागि आग्रह गर्नेछ ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्दैछन् ।


थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।


प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली यही आज दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा सोमबार सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसकेका छन् ।


यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।


“दुई देशबीच ६५ वर्षको कूटनीतिक इतिहासमा यो एउटा औपचारिक भ्रमणको आदानप्रदानको नयाँ सुरुआत हो । हाम्रो तर्फबाट यो विल्कुलै नयाँ सुरुआत हो”, प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधनमा भनेका थिए ।


थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।


चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइनण्द्दज्ञड वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनेछन् । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् ।


प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन् ।  


भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक जानुभएको छ भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनेछन् । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनेछन् ।


प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वतयारी र परामर्शका क्रममा आइतबार पूर्वप्रधानमन्त्री र  पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गरेका थिए । छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।

मन्त्रिपरिषद बैठकद्वारा संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार मंगलबार मध्यरातदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस निर्णय भएको हो ।

भूकम्पका कारण म्यान्मामा एक हप्ताको राष्ट्रिय शोक घोषणा

म्यान्मा । म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ । शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सरकारले अप्रिल ६ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन् । कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन् । केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन् ।

मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीहरूलाई बाहिरै उपचार गरिँदै छ । अस्पतालको पार्किङस्थलमा बिरामीहरूलाई टेन्टभित्र राखिएको छ । गर्मीका कारण उपचारमा थप समस्या भएको छ । स्वास्थ्यकर्मीहरूले न्यून स्रोतसाधनमा सक्दो सहयोग गरिरहेको बताएका छन् ।

भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ । थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन् ।

चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यान्माले अन्तर्राष्ट्रिय सहायता मागेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ । रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपील गरेको छ ।

चीन, रूस, भारत लगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यान्माको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण जारी राखेको छ । एउटा जातीय सशस्त्र समूहका अनुसार भूकम्पपछि भएको हवाई आक्रमणमा सात लडाकु मारिएका छन् ।

थाइल्यान्डमा भने उद्दारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका मानिसहरूलाई खोजिरहेका छन् । बैङ्ककमा ७५ जना अझै बेपत्ता छन् । उद्दार टोलीहरूले जीवित भेटिने आशा नरहेको बताएका छन् ।

इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ जना घाइते

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर सडकमा बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

प्रान्तीय राजधानी केरमानबाट राभर काउन्टी जाने बाटोमा स्थानीय समय अनुसार साँझ ५ः१७ बजे यो घटना भएको इरान प्रान्तको आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीले जानकारी दिए ।

घाइते सबैलाई अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको बताउँदै घटनाको कारणबारे केही समयमै जानकारी हुने बताए ।

राष्ट्रनिर्माणसम्बन्धी खाका तयार गर्न रास्वपाले बनायो कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको हो ।

त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

सभापति रवि लामिछाने साढे ५ महिनापछि सोमबार केन्द्रीय बैठकमा सहभागी भई पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएका छन् ।

पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाई निरन्तर अगाडि बढाउन साथ सहयोग पुर्याउने सम्पूर्ण पार्टी सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

केन्द्रीय समितिको दोश्रो बैठक पार्टी सभापति लामिछानेको सभापतित्व सम्पन्न भएको थियो । बैठकमा पार्टी सभापति लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति सुनाउँदै पार्टी जीवनको सङ्घर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

त्यसैगरी आजको दिनमा राज्य सत्ताद्वारा लादिएको पीडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको उल्लेख गर्दै लामिछानेले नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तिनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेकोप्रति सचेत गराएका थिए ।

उनले यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेकोले अब पार्टीको संरचनामा काम गर्न पार्टी सदस्यहरुलाई आव्हान गरे ।

बैठकमा उनले भने, ‘गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं । गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं ।’ ‘मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।’ बैठकमा सभापति लामिछानेले भने ।

डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार मध्यरातिदेखि लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घको जित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी भएका छन् । 


कुल खसेको तीन हजार १०८ मतमध्ये उनले ७८९ मत प्राप्त गरेका छन्  । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् ।


नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७०१ मत प्राप्त गरेका छन् ।


सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन् ।  

राष्ट्रपतिद्वारा पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपतिले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।यी विधेयक आजै सङ्घीय संसद्का दुवै सदनबाट पारित भएका थिए ।

सभामुख घिमिरेद्वारा पाँच वटा विधेयक प्रमाणित

काठमाडौं सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा उत्पत्ति भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् ।

सोमबार सभामुख घिमिरेले सङ्घीय संसदले नेपालको संविधानको धारा १११ बमोजिम पारित गरेकाले सभामुखले धारा ११३ (१) बमोजिम विधेयकहरू प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।

सभामुख घिमिरेले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रमाणित गरेका हुन् ।

सरकारले तिनकुने घटनाका दोषीलाई कारबाही गर्छः गृहमन्त्री लेखक

काठमाडौं ।  नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालसहित आठजनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए। ‘तीनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो’, गृहमन्त्री लेखकले भने, ‘विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ।’

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजनी गर्ने एवं सञ्चार गृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए।

उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ छ।

राजावादीको अभियानविरुद्ध काठमाडौंमा एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादी अभियानविरुद्ध नेकपा एमालेले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले मोटरसाइक्ल र्‍याली निकालेको हो ।

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित र्‍याली निकालेको हो ।

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न आईजीपी अर्यालको निर्देशन

धरान । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा उनले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराहवाहिनी मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिए।

अर्यालले वाहिनी र मातहतका युनिटले सीमित बन्दोबस्ती तथा संरचनाका बाबजुत बेसको सीमा सुरक्षा, लागुऔषध विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा देखाएको प्रभावकारी कार्य सम्पादन प्रशंसनीय रहेको बताए।

वाहिनीको स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अवार्ड, विपद् उद्धार, आन्तरिक व्यवस्थापन, अपरेसन कार्यलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारी वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने सङ्घसंस्थालाई महानिरीक्षक अर्यालले सम्मान गरेका थिए।

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

झापा । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ ।

झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ ।

जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ । जिल्लामा चालू आर्थिक वर्षका लागि ११ हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो ।

किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण वैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए । ‘माग धान्ने गरी हामीसँग रासायनिक मल छैन’, प्रमुख राजवंशीले भने, ‘स्टक राखिएको मल पनि सकिन लाग्यो, वैशाखसम्म धान्न सक्छ ।’ थप रासायनिक मल वैशाखमा मात्र आउने बताइएको छ ।

चालू आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए । उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए । उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए ।

यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।

दुर्गेशले गाए ‘कर्मा’को गीत

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायाँकन भएको छ ।

दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय छ । गीत केही दिनमा नै सार्वजनिक हुनेछ । नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म आगामी चैत २९ गते रिलिज हुँदैछ ।

फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

चीनमा नयाँ तेल खानी भेटियो

बेइजिङ । चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठूलो तेल खानी पत्ता लगाएको जनाएको छ।

चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९–६ तेलक्षेत्र रहेको कर्पोरेसनले जनाएको हो।

परीक्षण ड्रिलिङबाट दैनिक ४१३ ब्यारेल कच्चा तेल र ६८ हजार घनमिटर प्राकृतिक ग्यास उत्पादन भएको सीएनओओसीले जनाएको छ।

सरकारी स्वामित्वको तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत झोउ सिन्ह्वाईले दक्षिण चीन सागरको पूर्वमा तेल र ग्याँस अन्वेषणमा क्रमिक सफलताको प्रशंसा गरेका छन्।

सीएनओओसीले ‘लगातार दुई वर्षमा १० मिलियन टन तेल क्षेत्रहरू पत्ता लगाएको छ, जसले अपतटीय तेल र ग्याँस उत्पादनमा निरन्तर वृद्धिको लागि नयाँ आशा सिर्जना गरेको छ,” उनले थपे।

अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण धेरै हदसम्म कम अन्वेषण गरिएको तर पत्ता लागेका अधिकांश तेल र ग्याँस निर्विवादित क्षेत्रमा रहेको बताएको छ।

चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन्।

सीएनओओसीका प्रमुख भूगर्भविद् जु चाङगुईले यो खोज ‘ठूलो सफलता’ भएको बताएका छन्।

“यो खोजले भूगर्भीय भण्डारको हिसाबले दक्षिण चीन सागरको उत्तरी भागमा सबैभन्दा ठूलो ‘क्लास्टिक होल’लाई तेल क्षेत्र साबित गरेको छ,” उनले भने।

अमेरिकी सरकारको विश्लेषणअनुसार गत वर्ष दैनिक एक करोड ११ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको चीन विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो।

ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान

कायरो । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गरेका छन्।

सामी अबु जुहारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न विश्वको जुनसुकै कुनामा पनि हतियार बोक्न सक्ने जो कोहीले पनि कदम चाल्नुपर्छ।”

उनले भने, “विष्फोटक पदार्थ, गोली, चक्कु वा ढुङ्गा नरोक्नुहोस्। सबैले आफ्नो मौनता तोडिदेओस्।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गर्नुरेका हुन्। तर गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न माग गरिएको थियो।

उक्त अवसरमा नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको बताए।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोबास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’को संज्ञा दिएका छन्।

गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गरेका थिए तर यसको अरब राष्ट्रहरूसहित विश्व समुदायबाट विरोधपछि उनले उक्त प्रस्तावको चर्चा गरेका थिएनन्।

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । सोमबारको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए ।

‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ तथा ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरिएको हो ।

राष्ट्रियसभामा संशोधनसहित दफावार छलफलपछि विधेयक पारित गरिएको हो । सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।

पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

राप्रपाले सोमबार माइतीघरमण्डलामा प्रदर्शन गरेको हो । राप्रपा र निकटका भातृ संगठनले नेताहरूलाई पक्राउ गरी झूठो मुद्दा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्नुपर्ने माग राखेका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलाप गर्न उक्साएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेताकार्यकर्ता पक्राउ परेका छन् ।

दुई तिहाईको सरकारले जिउँदो छाड्नु नै मेरो जित होः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाईको सरकारले आफूलाई जिउँदो छाड्नु नै आफ्नो जित भएको बताएका छन् ।

सोमबार रास्वपाको केन्द्रीय समितिको बैठकअघि पार्टी कार्यालयमा सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न कहिल्यै पनि पछि नहट्ने बताएका हुन् ।

उनले जतिसुकै मुद्दा लगाएपनि शरीरमा एक थोपा रगत हुनजेलसम्म लुटतन्त्रको विरोधमा उभिने बताए ।

उनले भने, उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ । केही नभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तिमीहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे । उनले जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको बताए ।

लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गरे ।

उनले भने, ‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन ।’

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

एकीकृत समाजवादीको कार्यालय पुगेर प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली सोमबार आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य रहेका कोइरालाको आइतबार राति ८७ वर्षको उमेरमा राति निधन भएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहेका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो ।

नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौं ।  प्रतिनिधिसभा बैठकले नागरिकता विधेयकसहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेको उक्त प्रस्ताव पनि सर्वसम्मत्तिले स्वीकृत भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको हो ।

बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देश टेबुल गरेका हुन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन् । उक्त विधेयकमाथि ५० जना सांसदहरूबाट ३६ वटा दफा र दुईवटा अनुसूचीमा १५७ वटा संशोधन परेको सभापति सिंहले बताए ।

विधेयक र संशोधनमाथि औपचारिक एवं अनौपचारिक गरी विभिन्न बैठकमा छलफल भएको र विषयविज्ञसँग पनि छलफल भएको उनको भनाइ छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका थिए ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि कुनैपनि विरोधको सूचना प्राप्त नभएपछि कानुनमन्त्री चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा कानुन व्यवसायी परिषद् विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो । उक्त छलफलमा अशोक चौधरी, दामोदर वैरागी, रञ्जुकुमारी झा, दुर्गा राई, ज्ञानु बस्नेत सुवेदी, प्रेम सुवाल, दयालबहादुर शाहीलगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गरी कानुन व्यवसायी परिषद्अन्तर्गत कानुन व्यवसायी प्रतिष्ठान (लयर्स एकेडेमी) को स्थापना गर्ने तथा परिषद्ले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन कानुन विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा व्यवस्था गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको कानुनमन्त्री चौरसियाले बताए ।

त्यसैगरी, परिषद्ले कानुन व्यवसायीलाई निरन्तर कानुनी शिक्षाको प्रबन्ध गर्ने र सोको लागि आवश्यक पाठ्यक्रम, पाठ्यसामग्री, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्ने उनको भनाइ छ ।

कानुन व्यवसायीको पेसागत आचरणलाई नियमन गर्न, कानुन व्यवसायीले पक्षसँग लिने शुल्क बैंकिङ च्यानलमार्फत लिने व्यवस्था गरी कानुन व्यवसायीले लिने शुल्क पारदर्शी बनाउन तथा नेपालको संविधानले अवलम्बन गरेको संघीय शासन प्रणाली बमोजिम परिषद्को संरचनालाई प्रदेशसम्म विस्तार गर्नका लागि पनि यो विधेयक आवश्यक रहेको कानुनमन्त्री चौरसियाले बताए ।

प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्ययोजना सार्वजनिक गर्दै नेपालको शिक्षा विकास र विस्तारका लागि कार्ययोजना प्रभावकारी र उपलब्धिमूलक हुने बताए ।

कार्ययोजनामा निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने र त्यसका लागि आवश्यकताअनुसार तीनै तहका सरकारसँग सहकार्य गर्ने, विद्यालय शिक्षालाई सबै नेपालीको पहुँचभित्र रहन आवश्यक प्रवद्र्धनात्मक क्रियाकलाप गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिने उल्लेख छ ।

यस्तै प्याब्सनले निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमा रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानीमैत्री वातावरणको सिर्जना गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।

यस्तै निजी विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीको सेवासुविधाका सवालमा जिम्मेवार बन्दै सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै लैजानेसमेत योजना रहेको छ ।

पछिल्लो समयमा देखिँदै गएको पठनपाठन संस्कृतिप्रतिको ह्रासप्रति संवेदनशील बन्दै पढ्ने संस्कृतितर्फ उन्मुख गराउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नै, बाल शिक्षामैत्री विद्यालय निर्माणका लागि आवश्यक वातावरण बनाउने, सम्पूर्ण शिक्षक कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा गोष्ठीको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।

यस्तै कार्ययोजनामा उच्च शिक्षाका लागि विदेश पलायन हुने वर्तमान रफ्तारलाई कम गर्न सम्बन्धित सरकारी तथा निजी निकायसँग आवश्यक सहकार्य गरी कमाउँदै पढ्दै गर्ने नीतिलाई सहयोग पुर्याउने रहेको छ ।

विभिन्न छात्रवृत्ति कार्यक्रममा देखापरेका समस्याप्रति गम्भीर हुँदै उक्त छात्रवृत्ति कार्यक्रमलाई लक्षित वर्ग र व्यक्तिसम्म पुर्याउनका लागि पहल गर्ने तथा ४५ प्रतिशत आरक्षित छात्रवृत्तिको विषयमा मिति २०८० चैत १४ गतेको सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्ययोजनामा उल्लेख छ ।

प्याब्सन विद्यालयको गुणस्तर सुनिश्चितताको मापदण्ड बनाई गुणस्तर प्रयत्न प्रदान गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने योजना छ । प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले शिक्षा ऐन चाँडै ल्याउन माग गर्दै ऐनमा निजी विद्यालयको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

पूर्वराजाका सेवासुविधा कटौती गर्नुपर्छः सचिव भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताएका छन् ।

“राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ, तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फरक छैनौँ”, प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भट्टराईले भने, “नेपालको संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सिङ्गो राजनीतिक दल एकताबद्ध छौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलको उठाएको विषयलाई संविधान, नियम, कानुन, संसद्को नियमावलीमा रहेर संसद्मा सम्बोधन गरिरहँदा अवरोध गर्ने कार्यप्रति दल र संसद्को तर्फबाट उनले निन्दा गरे ।

“प्रधानमन्त्रीले नेपालको संविधान, कानुन, संसद्को नियमावलीमा रहेर विपक्षीले उठाएको प्रश्नको विषयमा कुरा राखिरहँदा जसरी असाध्यै असहिष्षुण तरिकाले अवरोध गर्न खोजियो, नेपालको इतिहासमा एउटा कालो धब्बा होला”, एमाले सचिव भट्टराईले भने, “तर यो संसदीय व्यवस्थामा यतिमै अतालिँदैन, क्षणिक आवेशबाट विचलित छैनौँ, सिङगो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु विचलित भएका छैनौं ।”

सचिव भट्टराईले गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको अप्रिय घटनामा परी श्रमजीवी पत्रकार सुरेश रजकको मृत्युप्रति भत्र्सना गरे ।

उनले भने,“तीनकुनेमा इतिहासमा कहिल्यै नभएको घटना भयो, उक्त घटनाको म निन्दा गर्दछु, सांसद सन्तोष परियारको गाडीमा आगो लगाउने काम भयो, नचिनेको हुनाले उहाँ बच्न सफल हुनुभयो, दलको तर्फबाट म उहाँप्रति सहानुभूति प्रकट गर्दछु ।”

सचिव भट्टराईले नेपालमा संवैधानिक राजतन्त्र र राजा चाहिन्छ भन्ने विषय सुुनिएको उल्लेख गर्दै विगतमा राजा र राजनीतिदलप्रति भएको सम्झौता पटक–पटक इतिहासमा उल्लङ्घन भएको बताए ।

“राजा र संसद्बीचको सम्झौता पटक–पटक भयो । विसं २००७, विसं २०१५ सालको कुरा हेरौँ, पञ्चायतलाई जिताउनका २०३७ सालमा षडयन्त्रलाई हेर्न सकिन्छ, त्यो नभएको भए नेपालको लोकतन्त्र अझै सुदृढ हुने थियो”, उनले भने, “विगतमा धेरै पटक सम्झौता भङ्ग भएको छ, २०४७ सालको संविधानमा बेलायत, थाइल्याण्डभन्दा पनि राम्रो राजतन्त्रको व्यवस्था ल्याइएको थियो, तर त्यो पनि कार्यान्वयन हुन सकेन ।”

उनले जनताको रगत र पसिनाबाट बनेको संसद् विश्वविद्यालय भएको र संसद् भवनमा आचरण, व्यवहार र पद्धति नभत्किने प्रष्ट पारे । उनले भने, “२१औँ शताब्दीको सभ्य समाजमा छौँ, पूर्वराष्ट्रअध्यक्षको सुविधा दिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा राखिएको छ, उहाँले यो सम्झौता पनि भङ्ग गर्नुभएको छ, उहाँको सेवासुविधा अब के हुन्छ सरकारलाई सोध्न चाहन्छु ।”

उनले राजतन्त्रको पालामा बेचिएका मूर्ति अहिले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले फिर्ता ल्याइरहेको हुँदा त्यो व्यवस्था कस्तो थियो अहिले पनि प्रष्ट भएको उल्लेख गरे । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै वसं २०४७ साल र अहिलेको तथ्याङ्कसमेत प्रस्तुत गरे । विसं २०४७ सालमा नेपालको कूल ग्राह्स्थ्य उत्पादन करिब चार अर्ब भएको र करिब ५४ अर्ब कूल ग्राह्स्थ्य उत्पादन रहेको जानकारी उनले दिए ।

त्यस्तै, प्रतिव्यक्ति आय १८० डलर भएकोमा अहिले १४ सय डलर भएको, सिमेन्टको घर भएका मानिस ११ प्रतिशत भएकोमा अहिले ५६ प्रतिशत भएको उनले बताए । मातृमृत्यृदर, बालमृत्युदरमा उल्लेख्य रुपमा घटाउन सकेको उल्लेख गर्दै सचिव भट्टराईले राजनीतिक दलहरुबीच केही कमजोरी भए वा यो व्यवस्थाअनुसार काम गर्न नसकिएकोमा दलहरुले आत्मआलोचना गरेर अघि बढनुपर्ने बताए ।

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल

भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। यहाँ तीन करोड २१ लाख रूपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो।

लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए। लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख रूपैयाँ लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए।

‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता बनेको छ।’

पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए। वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दुरी छोटिएको प्रमुख रायाको भनाइ छ।

‘लामो समयको प्रतीक्षापछि लेगुवा खोला पक्की पुल सञ्चालनमा आएको छ,’ प्रमुख रायाले भने, ‘यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको छ।’

पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुवात गरिएको छ। धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताए।

खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताए। पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ।

‘बर्सातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘खोलामा बाढी आउँदा सङ्खुवासभा जिल्लाको सडक भएर नगरपालिका केन्द्र जानुपर्ने अवस्था थियो, पुल बनेपछि हाम्रो दैनिकी सहज बनेको छ।’ 

राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ ।

सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १६औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा सहभागी हुन यहि चैत १४ माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले बताए ।

आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् ।

“उनीहरूले हानि पुर्‍याउने धम्की दिएका छन्,” नेता खामेनीले मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको उपलक्ष्यमा इद अल–फित्रको अवसरमा एक भाषणको क्रममा ट्रम्पको पछिल्लो चेतावाीबारे भने ।

उनले थपे, “यदि यो गरियो भने, उनीहरूले निश्चित रूपमा कडा जवाफी हमला प्राप्त गर्नेछन्।”

शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा उनीमाथि बम प्रहार गरिने बताएका थिए ।

“यदि उनीहरूले सम्झौता गरेनन् भने त्यहाँ बमबारी हुनेछ,” एनबीसी न्यूजले ट्रम्पलाई उद्धृत गर्दै लेखेको छ। ट्रम्पले इरानलाई ‘अतिरिक्त कर’को सजाय दिने चेतावनी पनि दिएका छन् । यद्यपि, ट्रम्पले अमेरिकाले सिधै अमेरिकी विमानबाट बम बारी गर्ने धम्की दिएका थिए वा इजरायलसँगको समन्वयमा आक्रमण गर्ने चेतावनी दिएकाहुन् भन्ने खुलेको छैन।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले इरानमाथि ‘अधिकतम दबाब’ अभियान पुनः सुरु गरेका छन् ।

आफ्नो पहिलो कार्यकालमा उक्त नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गरेका थिए भने त्यसपछि तेहरानमाथि पुनः कडा प्रतिबन्ध लगाएका थिए ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । यसलाई तेहरानले अस्वीकार गर्दै आएको छ।

तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको उक्त सम्झौतामा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई सीमित गर्न आवश्यक थियो । गत मार्च ७ मा ट्रम्पले खामेनीलाई आणविक वार्ताका लागि आह्वान गर्न पत्र लेखेका थिए र तेहरानले नमाने सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले मार्च १२ मा तेहरानलाई उक्त पत्र पठाउनु भएको थियो । बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको पत्रको जवाफ ओमानलाई दिइसकेको बताएका थिए ।

अराघचीले ‘अधिकतम दबाब र सैन्य कारबाहीको धम्कीमा’ संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष रूपमा वार्तामा संलग्न हुन नचाहने इरानको अडानलाई कायम राख्दै ‘अप्रत्यक्ष वार्ता’ को लागि ढोका खुला रहेको बताए ।

ओमानले सन् १९७९ को इस्लामी क्रान्तिपछि अमेरिका र इरानी कूटनीतिक सम्बन्ध टुटेको अवस्थामा विगतमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

पश्चिमा मुलुकहरूले इरानले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न आतङ्कवादी सङ्गठनका रूपमा व्यापक रूपमा प्रतिबन्धित छद्म शक्तिहरू प्रयोग गरेको आरोप पनि लगाउँदै आएका छन् ।

इरानले इजरायलविरुद्ध तथाकथित ‘प्रतिरोधको धुरी’को नेतृत्व गरिरहेको छ । यसका लागि प्यालेस्टिनी भूभागमा हमास, लेबनानमा हिजबुल्लाह, यमनमा हुथी विद्रोही र इराकमा सशस्त्र समूहहरूलाई सहयोग गर्दै आएको छ ।

“यस क्षेत्रमा एउटा मात्र छद्म बल छ र त्यो भ्रष्ट यहूदी शासन हो,” खामेनीले भने । उनले इजरायललाई ‘उन्मूलन’ गर्ने बताए ।

इरानले उसको कट्टर शत्रु इजरायल र यस क्षेत्रमा संयुक्त राज्य अमेरिकाको मुख्य सहयोगीलाई मान्यता दिँदैन र बारम्बार यसकोविरुद्ध आक्रमणको आह्वान गर्दछ।

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिनेछ । “कर वृद्धि सबै देशहरूबाट सुरु हुनेछ, त्यसैले हेरौं के हुन्छ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने ।

कर नीति कुन कुन देशमा लागु गरिनेछ भन्ने प्रश्नमा उनले भने, “मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।”

ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो,” अमेरिकी अर्थमन्त्रीस्कट बेसेन्टले भने ।

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गरेका छन् । उनले भने, “यी देशहरूको हाम्रा लागि भन्दा यो कर धेरै उदार हुनेछ ।”

ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् । आयातित सवारी साधन (कार)मा पनि अप्रिल ३ देखि अतिरिक्त कर लागू हुनेछ ।

ट्रम्पका प्रमुख व्यापार सहयोगी पिटर नाभारोले चार पाङ्ग्रे सवारी साधनको आयातमा लगाइएको करले वार्षिक १०० अर्ब डलर उठाउन सक्ने दावी गरेका छन् ।

“यसबाहेक, अन्य करबाट वार्षिक लगभग छ खर्ब डलर उठ्नेछ र यो १० वर्षको अवधिमा करिब छ ट्रिलियन डलर हुनेछ,’ नाभारोले फक्स न्यू सन्डेसँग भने ।

पारस्परिक ट्यारिफको एक विस्तृत श्रृङ्खला जारी गर्ने ट्रम्पको योजनाले विश्वव्यापी व्यापार युद्धको खतरा छ । कर नीतिबाट प्रभावित हुने देशहरूले पहिले नै प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको व्यापक कर वृद्धिको नीतिले मुद्रास्फीतिलाई बढावा दिने र मन्दीलाई बढाउने चेतावनी दिएका छन् ।

ट्रम्पले सरकारी राजस्व बढाउने र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने तरिकाको रूपमा आफ्नो सरकारको कर नीतिको बचाउ गरेका छन् । 

ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

तेहरान ।  इरानी राष्ट्रपति मसुद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । उनले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पारेका छन् । ट्रम्प प्रशासनले यदि तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएका छन् ।

राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नुपर्ने बताएका छन् । उनका अनुसार, जबसम्म अमेरिकाले विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन । इरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा यदि इरानले सम्झौतामा सहमति जनाएन भने अमेरिका बम आक्रमण गर्न सक्ने बताएका छन् ।

उनले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । विश्लेषकहरूका अनुसार, इरानले ट्रम्पमाथि विश्वास नगर्नु ठीक हो, किनभने उनले २०१५ मा भएको आणविक सम्झौता तोडेका थिए ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको बताएका छन् । उनले अप्रत्यक्ष वार्ताबाट इरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार, इरानले आणविक हतियार बनाउन लागेको छैन, तर उसँग आवश्यक आणविक सामग्री भने छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्वपूर्ण बनाएको छ । तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ ।

तिनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैनः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत शुक्रबार तिनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तिनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताए ।

‘तिनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्’,उनले भने, ‘ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’

सांसद झाले सदन शालिन, भद्र र संसदीय प्रणालीअन्तर्गत सदन चलोस् भन्ने चाहेको पनि स्पष्ट पारे ।

पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।

उनले भनिन्, ‘अहिले संविधान र कानूनभन्दा माथि कोही छैन। चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्। सबैलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो दलको तर्फबाट माग गर्छौँ।’

उनले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको बताइन्।