`

गरिबी र असमानताको अन्त्य कहिले ?

-रिसव गौतम

 बढ्दो गरिबी र असमानता समकालीन विश्वको सर्वाधिक चिन्ताको विषय हो । तर एकातिर पछिल्लो दशक जसरी विश्वभर गरिबी र असमानता झाँगिदै गएको छ, उसैगरी धनीहरु भने झन धनी भइरहेका छन् । खासगरी बितेका केही वर्ष विश्व समुदायलाई नै अति प्रभावित तुल्याएको कोभिड–१९ को महामारी र केही देशहरुबीच भएको युद्धका कारण विश्वमा गरिबी तथा असमानता थप बढाएको तथ्याङ्कहरुले नै देखाएको छ ।

सन् २०२३ जुलाई ११ मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको कूल एक सय ११ देशलाई समेटेर तयार पारेको प्रतिबेदन ‘ग्लोबल मल्टिडाइमेन्सनल प्रोभटी इन्डेक्स २०२३ (एमपिआई) को अनुसार विश्वमा अझै एक अर्ब १० करोड मानिस गरिबीको रेखामुनि छन् ।

एमपीआइले नै सन् २०२२ मा सार्वजनिक गरेको प्रतिवेदले विश्वमा एक अर्ब २० करोड मानिस गरिबीको अवस्थामा रहेको देखाएको थियो । प्रतिवेदनअनुसार गरिबी केही घटेको देखिए पनि सन् २०२३ मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० लाख पुगिसकेको छ ।

एकातिर विश्वको जनसङ्ख्या पृथ्वीले नै धान्न नसक्ने गरी बढिरहेको छ भने अर्कोतिर न्यून उत्पादन, भोकमरी, गरिबी र असमानताको दारुण अवस्था घट्न सकेको छैन । यसले गर्दा सन् २०३० सम्म विश्वबाट गरिबीको उन्मूलन गर्ने दिगो विकास लक्ष्यहरुका उद्देश्य पूरा नहुने स्पष्ट हुँदैछ ।

विश्वका नेताहरुले मानिस, पृथ्वी र समृद्धिका लागि तयार पारेको कार्ययोजनामा दिगो विकासका लागि गरिबीको अन्त्य अपरिहार्य भनिएको छ । दिगो विकास लक्ष्यअन्र्तगत गरिबीको अन्त्यसहित निर्धारण गरेका १७ वटा लक्ष्यमा साविकको अवस्थाबाट सन् २०३० सम्म उपलब्धि हासिल नहुने एमपीआईकै सन् २०२३ को प्रतिवेदनले सङ्केत गरिसकेको छ ।

एमपीआईको प्रतिवेदनअनुसार दुई तिहाइ गरिबहरु ग्रिबी घटाउन धुरन्धर लागिपरेका मध्यम आय भएका मुलुकहरुमा बसोबास गर्छन् भने ३५ प्रतिशत गरिब न्यून आय भएका मुलुकमा बस्छन् । विश्वका गरिबमध्ये ८४ प्रतिशत मानिस ग्रामीण भेगमा बस्ने गरेका छन् भने विश्वका गरिबहरुमध्ये ५३ करोड ४० लाख मानिस सव–साहारा अफ्रिकामा बस्छन् । गरिबहरुमध्ये पनि ४८ करोड ५० लाख मानिस अति गरिबीको अवस्थामा गुज्रिएका छन् भने ५६ करोड ६० लाख गरिबहरु १८ वर्ष मुनिका बालबालिकाहरु रहेका छन् ।

एमपीआईले स्वास्थ्य, शिक्षा र जीवनस्तरको क्षेत्रमा त्यसभित्रका विभिन्न उपसूचकहरुमा केन्द्रित रहेर गरेको अध्ययन प्रतिवेदन तयार गरेको हो । पछिल्लो समय विश्वव्यापी गरिबीको बहुआयामिक आयामहरु समेटेर तयार गरिएको यो नै यस्तो प्रतिवेदन हो । यसले समकालीन आधुनिक विश्व जगत्मा गरिबीको दारुण अवस्थाको चित्र उतारेको छ ।

यसरी पछिल्लो दशक विश्वभर नै आर्थिक असमानता घट्न नसकेकोतर्फ विश्वका धेरै अर्थशास्त्रीहरुले चिन्ता र चासो व्यक्त गरिरहेका छन् । आर्थिक असमानता र गरिबी घटाउन महत्वपूर्ण कदम चाल्नसक्ने सङ्घसंस्थालाई विश्वका अर्थशास्त्रीहरुले सुझाव समेत दिइरहेका छन् ।

सन् २०१९ र २०२० मा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा बढी असमानता बढेको र विश्वका सबैभन्दा धनी १० प्रतिशतले विश्वका आयको ५२ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ । विश्वका आधा जनसङ्ख्यामा कुल आयको ८.५ प्रतिशत हिस्सा मात्र रहेको अवस्था छ ।

एकातिर अहिले विश्वका अर्बौं मानिसले खाद्यान्नमा महँगी, अभाव र भोकमरी झेलिरहेका छन् भने अर्कोतर्फ यही अवधिमा विश्वमा अर्बपतिहरुको सङ्ख्या बढिरहेको देखिन्छ । विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आएको फोब्र्सको नयाँ सूचीअनुसार सन् २०२४ मा विश्वमा दुई हजार सात सय ८१ जना डलरमा अर्बपति छन् । पछिल्लो सूची अघिल्लो सन् २०२३ कोभन्दा १४२ जनाले बढी हो । सो सूचीअनुसार विश्वमा सबैभन्दा बढी डरलमा अर्बपति अमेरिकाका छन् ।

अमेरिकामा सन् २०२४ सम्ममा आठ सय १३ जना डलरमा अर्बपति पुगिसकेका छन् । अथाह पैसा कमाउने स्वतन्त्रता र वातावरण प्रदान गरेको विश्वकै पुँजीवादको खुला मैदान अमेरिकामा एलन मक्सको मात्रै आजको मितिमा ४२४ विलियन डलर सम्पति छ । जबकी संसारको २९ औँ नम्बरको अतिकम विकासित तर करिब तीन करोड जनसङ्ख्या भएको देश नेपालको कूल गार्हस्थ्य उत्पादनको आकार जम्मा ४२ विलियन डलरको रहेको छ ।

अर्थात् संसारका धनी एलन मक्स एक्लैको सम्पत्ति पूरै नेपालको कुल गार्हस्थ उत्पादनको आकार भन्दा १० गुणा बढी देखिन्छ । संसारमा धनी र गरिबबीचको असमानता कसरी बढिरहेको छ, त्यो नै उदाहरण काफी छ । पछिल्लो समय चीनमा पनि अमेरिकाकै रफ्तारमा डलर अर्बपति बढिरहेका छन् । चीनमा सन् २०२४ सम्ममा ४७३ जना अर्बपति छन् । भारतमा नै पछिल्लो समय दुई सय जना अर्बपति पुगिसकेका छन् ।

सन् २०२४ मा विश्वका मुठिभर अर्बपतिहरुको कुल सम्पत्ति १४२ खर्ब डलर (१४ दशमलव दुई ट्रिलियन) रहेको छ । पछिल्ला वर्ष एसिया महादेशमा झन बढी अर्बपतिहरु थपिएका छन् । त्यसले युरोप अमेरिकाभन्दा बढी असमानता एसियामा भित्रिरहेको देखाएको छ । फोब्र्सको सूचीमा भारतीय नागरिकको सङ्ख्या दुई सय पुगिसकेको छ ।

त्यसैगरी समाजवादको अभ्यास गरिरहेको चिनिया अर्बपति सङ्ख्या फोब्र्सको अनुसार चार सय ७३ जना पुगिसकेका छन् । नेपाल जस्तो गरिब देशले समेत विनोद चौधरीलाई अर्बपतिको रुपमा लगातार उल्लेख गर्दै आएको छ । यसरी विश्वभर नै चरम पुँजीवाद मौलाएको छ । यसले गर्दा सक्नेले धन बृहत्रुपमा थुपारिरहेका छन् ।

धनीहरु धनकै आडमा झन धनी भइरहेका छन् भने नसक्ने, गरिबहरु अभाव, रोगभोग, असमानताको दारुण जिन्दगी बाँचिरहेका छन् । पछिल्लो चुनौती के पनि छ भने गरिबी र असमानता कुनै वर्ग क्षेत्र अथवा देशमा सीमित नभएर सम्हाल्नै मुस्किल पर्ने गरी फैलिएको छ ।

एकातिर विश्वभर पुँजीवाद मडारिएको छ भने समाजवाद र समाजिक न्याय यत्रतत्र कमजोर बनिरहेको छ । पृथ्वीमा उपलब्ध साधन स्रोत हरेक मानिसले समान रुपमा उपयोग गर्न पाउनु उसको मानवअधिकार हो । तर चरम पुँजीवादले उपलब्ध साधन र स्रोतहरु सीमित व्यक्तिमा निहित गरिरहेको छ । यसले चरम असमानता र गरिबी निम्त्याइरहेको छ । पुँजीवाद विकासको अस्त्र भए पनि त्यसलाई छाडारुपमा विकसित हुन नदिई सन्तुलन गर्दै समाजवादतर्फको यात्रा तय गर्नु आजको आवश्यकता हो ।

नेपालमा गरिबीको अवस्था

आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा कोरानो महामारी, भूकम्पलगायतका प्राकृतिक विपत्तिलगायत कारण निरपेक्ष गरिबीमा रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा (५८ लाख ६३ हजार गरिब) उक्लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०)’ मा उल्लेख छ । नेपालमा बहुआयामिक हिसाबको गरिबीमा जनसङ्ख्याको २८.६ मानिस बाँचिरहेका छन् ।

नेपालको आर्थिक विकास र समृद्धि नहुनुको काँडेतार गरिबी नै हो । यसलाई उन्मूलन गर्ने कुरामा सर्वपक्षीय ध्यान र लगानी जरुरत देखिन्छ । निरपेक्ष गरिबीले तोकिएको आयभन्दा कम आयले जीवनका आधारभूत आवश्यकता समेत पूरा गर्न कठिनाइको अवस्था इंगित गर्छ । त्यसलाई उन्मूलन गरेर आम मानिसको ध्यान विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

नेपालमा गरिबी निवारण गर्ने उद्देश्यले नै सरकारी तबरबाटै विभिन्न कार्यक्रम सञ्चालित छन् । तर ती कार्यक्रम प्रभावकारी हुन नसकेकाले लक्षितरुपमा गरिबी घट्न नसकेको तथ्याङ्कले पुष्टि गरिरहेको छ । बरु पछिल्लो दशक जे–जति गरिबी घटिरहेको छ त्यसमा नेपालीहरुको वैदेशिक रोजगारीका कारण भित्रिएको रेमिट्यान्सले निकै ठूलो योगदान दिएको छ । सरकारले गरिबी घटाउन लक्षित गरिबी निवारण कोष नै भ्रष्टाचारको थलो भएपछि २०७८/७९ को बजेट वक्तव्यमार्फत खारेजी गरेको थियो । गरिबी घटाउन स्थापित संस्था नै भ्रष्टाचारले खारेजी भएपछि गरिबी घटाउने प्रयास कसरी सफल होला ?

गरिबी निवारण गर्न युवा स्वरोजगार कार्यक्रम, गरिबसँग विश्वश्वर कार्यक्रम, ग्रामीण स्वावलम्बन कार्यक्रम, लघुउद्यम विकास कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता अरु विविध कार्यक्रम सरकारी तबरमै सञ्चालित छन् तर ती कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् । खासगरी त्यस्ता कार्यक्रममा सिर्जनात्मकताको अभाव, भ्रष्टाचार र अनियमितताको व्यापकता, कमजोरीहरुको निरन्तरताले प्रभावकारी हुन सकेका छैनन् ।

सरकारी तवरबाट सञ्चालित गरिब लक्षित कार्यक्रम प्रभावकारी हुन नसक्दा अहिले पनि नेपालमा भोकमरी र असमानताको अवस्था व्यापक छ । ‘कन्सर्न वल्र्ड वाइड र वेल्ट हङ्गर हाइलाइफ’ले तयार पारेको विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसार एक सय २१ मुलुकमा नेपाल ८१ औँ स्थानमा रहेको छ ।

प्रतिवेदनले नेपाललाई भोकमरीमा मध्यम स्तरको जोखिममा रहेको देखाएको छ । प्रतिवेदनअनुसार भोकमरीको जोखिम सबैभन्दा कम रहेकोमा बेलारुस एक नम्बरमा छ भने सबैभन्दा बढी भोकमरीको अवस्थामा यमन १२१ औँ नम्बरमा रहेको छ ।

प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी भोकमरीको जाखिम कर्णाली प्रदेशमा रहेको छ । नेपालमा ४० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा रहेको हुनसक्ने अनौपचारिक अध्ययनहरुले देखाएका छन् । यो अवस्थाको अन्त्य नभएसम्म गरिबी निवारणको लक्ष्य पूरा हुन सक्दैन ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । जिल्ला अदालत काठमाडौंको परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राईलाई पक्राउ गरेको हो । उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ । योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसीलाई पक्राउ गरिसकेको छ । यस प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

मेक्सिको । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गरेकी छन् । 

“भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमाः पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भनिन् ।

उनले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गरिन् तर स्पष्ट रूपमा उल्लेख गरिनन् । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् । 

आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उनले जानकारी दिइन् ।

“यदि उनीहरूले मेक्सिको फर्कने वा मेक्सिको आउने निर्णय गरे भने उनीहरूलाई यहाँ खुला हातले स्वागत गरिने छ”, सेनबमले भनिन् । 

यद्यपि वामपन्थी राष्ट्रपतिले उनको पूर्ववर्ती एवं सल्लाहकार एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालमा ट्रम्पसँग ‘राम्रो सम्बन्ध’ भएको उल्लेख गरे ।

“त्यसैले हामी राम्रो समझदारीमा पुग्नेछौँ भन्ने मलाई लाग्छ”, सेनबमले भनिन्, “तर जे भए पनि, यसलाई राम्ररी बुझियोस्, टाढासम्म सुनियोस : मेक्सिको कसैको उपनिवेश होइन, कसैको संरक्षित राज्य होइन ।” 

आफ्नो कार्यालयमा फर्कने क्रममा ट्रम्पले मेक्सिकोलाई बारम्बार हप्काएका छन् । साथै उनले मेक्सिकोले सीमा पार गर्ने अवैध आप्रवासी र लागूपदार्थको प्रवाह नरोकेसम्म संयुक्त राज्य अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरू मध्ये एकबाट आयातमा कडा शुल्क लगाउने धम्की दिएका छन् । 

सम्बन्धलाई थप प्रगाढ बनाउन चीन अमेरिकासँग सहकार्य गर्न तयार छः चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन् ।

चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताएका हुन् ।

उनले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताए ।

अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पगेका छन् । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाएको थियो भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएको थियो ।

हानले भने, “जबसम्म दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हितका लागि सहकार्यको सिद्धान्तलाई कायम राख्छन्, तबसम्म उनीहरूले एकअर्काको प्रगतिमा योगदान पुर्याउनेछन्, दुई देशलाई फाइदा पुर्याउनेछन् र विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिनेछन् ।” उनले आर्थिक र व्यापारिक सम्बन्ध दुवै पक्षका साझा चासोका महत्वपूर्ण विषय भएको उल्लेख गरे ।

चीन र संयुक्त राज्य अमेरिकाबीच मतभेद र तनावका बावजुद, उनीहरूले व्यापक साझा हित र स्थानका लागि काम गरेका छन् र दुवै पक्षले यस सम्बन्धमा संवाद र परामर्शलाई बलियो बनाउन सहकार्य गर्ने हानले उपराष्ट्रपति भान्ससँगको भेटवार्तामा बताए ।

उद्घाटन दिवस, ट्रम्प–शैली : के हुनेछ ?

वासिङ्टन। चाहे नवनिर्वाचित होस् वा कार्यालयमा फर्किरहेको होस्, आगामी नेताको व्यक्तिगत विशेषताले आकार दिएको भव्यताबीच लामो समयदेखि स्थापित समारोहमा हरेक चार वर्षमा अमेरिकाको राष्ट्रपतिले उद्घाटन दिवसमा शपथ लिन्छन् ।

यहाँ सोमबार ट्रम्प ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा हुने भव्यता र समारोहको एक झलक प्रस्तुत गरिएको छ ।

– शपथ –

अमेरिकी संविधानले प्रत्येक नयाँ राष्ट्रपतिको कार्यकाल जनवरी २० को मध्याह्न (वा यदि यो आइतबार परेमा भोलिपल्ट) सुरु हुने र राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिनुपर्ने अनिवार्य गरेको छ ।

हालका वर्षहरूमा राष्ट्रपतिहरूले क्यापिटलको मनोरम पश्चिमी लनमा एक विशाल अस्थायी मञ्चबाट शपथ लिने गरेका छन् । यस वर्ष चिसो मौसमको पूर्वानुमानका कारण यो क्यापिटल रोटुन्डा भित्र हुनेछ ।

प्रायः सर्वोच्च अदालतका प्रधान न्यायाधीशद्वारा शपथ दिलाइन्छ र सोमबार ट्रम्पका लागि जोन रोबट्र्सको दोस्रो पटक अध्यक्षता हुनेछ ।

नयाँ राष्ट्रपतिले आगामी चार वर्षका लागि आफ्ना योजनाहरू प्रस्तुत गर्दै उद्घाटन सम्बोधन पनि गर्नेछन् । रिपब्लिकन राष्ट्रपति ट्रम्पले सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा ‘अमेरिकी विनाश’ को विशेष रूपमा अन्धकारमय भाषणसँगै सुरु गरेको थियो । आगामी उपराष्ट्रपति जे.डी. भान्सले पनि शपथ लिनेछन् ।

– पाहुनाहरू –

विशेष गरी ट्रम्पियन मोडमा ट्रम्पले आफ्ना क्याबिनेट मनोनीतहरू जस्ता परम्परागत पाहुनाहरूसँगै उद्घाटनमा भाग लिन धेरै प्रविधि दिग्गजहरूलाई निमन्त्रणा गरेका छन् ।

अमेरिकी मिडियाका अनुसार अर्बपति एलन मस्क, जेफ बेजोस र मार्क जुकरबर्गका साथै चिनियाँ सामाजिक मिडिया दिग्गज टिकटकका प्रमुख शौ च्यु उपस्थित हुनेछन् ।

ट्रम्पले प्रविधि उद्यमीहरूसँग नजिकको सम्बन्ध बनाएको छ र उनको अभियानले टिकटक, मस्कको एक्स र जुकरबर्गको फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक मिडिया प्लेटफर्महरूमा फैलिएको गलत सूचनाबाट फाइदा लिएको छ ।

सन् २०२० मा आफूले ट्रम्पलाई हराउँदा ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा उपस्थित हुन अस्वीकार गरेपनि निवर्तमान राष्ट्रपति जो बाइडेन समारोहमा उपस्थित हुनेछन् ।

सबै जीवित पूर्व राष्ट्रपतिहरू– बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामाका साथै मिशेल ओबामाबाहेक उनीहरूका पत्नीहरू उपस्थित हुनेछन् ।

यसको अर्थ सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनका साथै गत नोभेम्बरमा पराजित उपराष्ट्रपति कमला ह्यारिस पनि त्यहाँ हुनेछन् ।

परम्परागत रूपमा राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिँदैन तर ट्रम्पले केही विदेशी नेताहरूलाई निमन्त्रणा पठाएको छ । यसमा उनको दक्षिणपन्थी राजनीति साझा गर्ने केही नेता समावेश छन् ।

इटालीका दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनी उपस्थित हुने कुरा उनको कार्यालयले शनिबार पुष्टि गरेको छ । हङ्गेरीका भिक्टर ओरबान, अर्जेन्टिनी राष्ट्रपति जाभियर मिलेई र चीनका सी जिनपिङलाई पनि निमन्त्रणा गरिएको छ, तर सबै उपस्थित हुनेछैन ।

सीले आफ्नो स्थानमा उपराष्ट्रपति हान झेङलाई पठाएको छ । हानले आइतबार जे.डी. भान्ससँग भेट गरे ।

– भित्र सार्ने निर्णय –

भीडको आकार ट्रम्पको प्राथमिकता हो, तर भित्री कार्यक्रममा अन्तिम क्षणको परिवर्तनले उनको घमण्डलाई धक्का पुर्याउन सक्छ ।

ट्रम्पले शुक्रबार चिसो तापक्रमका कारण उद्घाटन क्यापिटल रोटुन्डामा सार्ने घोषणा गर्नुअघि दुई लाख २० हजारभन्दा बढी टिकट सार्वजनिक रूपमा वितरण गरिँदै थियो । क्यापिटल रोटुन्डामा करिब छ सय जना मात्र बस्न सक्छन् ।

ट्रम्पले समर्थकहरूले वासिङ्टनको क्यापिटल वन खेलकुद क्षेत्रबाट प्रत्यक्ष फिड हेर्नसक्ने बताए । त्यहाँ २० हजारसम्मको क्षमता छ । ट्रम्पले पछि आउने वाचा गरे ।

– आदेशहरू –

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन करिब १०० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहेको बताएको छ । तीमध्ये धेरै बाइडेन प्रशासनका नीतिहरू उल्ट्याउने लक्ष्य राखिएको छ ।

“पदभार ग्रहण गरेको केही घण्टाभित्रै मैले दर्जनौँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु, लगभग १०० वटा । तीमध्ये धेरै म भोलिको मेरो सम्बोधनमा वर्णन गर्नेछु”, ट्रम्पले आइतबार उद्घाटन–पूर्व क्यान्डल लाइट डिनरमा समर्थकहरूलाई भने ।

आफ्ना धेरै प्रतिज्ञामध्ये उनले सामूहिक निर्वासन कार्यक्रम सुरु गर्ने र तेल उत्खनन बढाउने वाचा गरेका छन् ।

उनले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा तोडफोड गर्ने आफ्ना दङ्गाकारीहरूलाई छिट्टै माफी दिनसक्ने पनि बताएका छन् ।

उद्घाटन लगत्तै अमेरिकी अधिकारीहरू र जापान, भारत र अस्ट्रेलियाका विदेशमन्त्रीहरूबीच बैठक हुने योजना छ । यसलाई ‘क्वाड’ भनिन्छ र चीनको प्रतिवजनका रूपमा हेरिन्छ ।

– सङ्गीत –

ट्रम्पको सन् २०१७ को पहिलो उद्घाटनमा उनीसँग जोडिन चाहने थोरै ए–लिस्ट सङ्गीतकारसँग सेलिब्रिटी शक्तिको कमी देखिएको थियो ।

ट्रम्पको उद्घाटन २.० अझ राम्रो अवस्थामा छ । शपथ ग्रहण समारोहमा कन्ट्री स्टार केरी अन्डरवुडले ‘अमेरिका द ब्युटिफुल’ गाउनेछन् ।

कन्ट्री गायक ली ग्रिनवुडले पनि प्रस्तुति दिनेछन् । उनको देशभक्तिपूर्ण गीत ‘गड ब्लेस द युएसए’ ट्रम्प र्यालीहरूमा मानक छ ।

आइतबारको उद्घाटनपूर्व र्यालीमा किड रक र भिलेज पिपलको प्रदर्शन समावेश थियो । उनीहरूले सन् १९७० को दशकको हिट ‘वाई.एम.सी.ए.’ प्रस्तुत गर्दा उनीहरूसँग ट्रम्प स्टेजमा नाचे ।

– द गलास –

जेसन एल्डियन, रास्कल फ्लाट्स र गेभिन डेग्रा प्लस द भिलेज पिपल लगायत देशका सङ्गीतकारहरूले सोमबार राति ट्रम्पका तीन आधिकारिक उद्घाटन नृत्य समारोहहरूमा प्रस्तुति दिनेछन् ।

ट्रम्प निमन्त्रणा–मात्र भएका तीनै समारोहहरूमा उपस्थित हुने अपेक्षा गरिएको छ । अन्य धेरै अनौपचारिक समारोहहरू पनि योजना गरिएका छन् । 

चितवनमा युवक कुटपिट घटना छानबिन गर्न समिति गठन

काठमाडौ । चितवनमा युवकलाई निर्घात कुटपिट गरिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।

घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनलेले बताए । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

हेमन्त केसी, सुर्खेत । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले १६ अर्बमा पुनः ठेक्का आह्वान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।

गत जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो । आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई कम्पनीको जेभी, झोङदिङ इन्टरनेसनल, पटेल इन्जिनियरिङ, लामा कन्स्ट्रक्सनलगायत सातवटा कम्पनीले आवेदन दिएका थिए । उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्द गरिएको हो ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नवील बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नबिल बैंकले गर्दै रू चार अर्ब ४० करोड लगानी गरेको छ । सह–वित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंक रहेका छन् ।

एचआइडिसीएलले रू चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रू चार अर्ब, लक्ष्मी सन्राइज बैंकले रू दुई अर्ब र एभरेष्ट बैंकले रू एक अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि रू २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रू १६ अर्ब ऋण र रू सात अर्ब इक्विटी (शेयर)बाट जुटाउन लागिएको हो ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच अघिल्लो वैशाख २८ गते पिपीए भएको थियो । आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । नौ वटा बेलिब्रिज बनाउनुपर्छ । जसको काम सुरू भइसकेको कम्पनीले जनाएको छ । धेरैजसो पूर्वतयारीका कामहरू अन्तिम चरणमा रहेको बताइएको छ ।

यस आयोजनाबाट निर्माण थालेको पाँच वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्त्वपूर्ण रहेको छ । कम्पनीले एक सय २० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरू हुने तयारीमा छ । भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णालीको डोल्पामा बन्न लागेको यो आयोजनाले विकासको ढोका खोल्ने विश्वास लिइएको छ ।

यो आयोजना निर्माण हुने भएपछि यस क्षेत्रमा सडक सञ्जाल विस्तार भएको छ । दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ । आयोजनाका कारण स्थानीय उत्पादनको बिक्रीवितरण बढ्दो छ । रोजगारीको खोजीमा कालापहाड चहार्नुपर्ने डोल्पालीले थोरै मात्रामा भए पनि घरआँगनमै रोजगारीको अवसर प्राप्त गर्ने विश्वास लिएका छन् ।

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ । पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि समेत शेयर लगानी गर्न सक्नेगरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ । यस्तै एचआइडिसीएल को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको शेयर स्वामित्व छ । सर्वसाधारण शेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ । आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ ।

यस्तै जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरूङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युतगृहमा खसालेर बिजुली निकालिने छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुड्केचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ । हाल त्रिवेणीमा पुल निर्माणको काम जारी छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुल निर्माणले भने गति लिनसकेको छैन । त्यस्तै आयोजनाबाट उत्पादित बिजुली जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माण हुने चार केभी क्षमताको सबस्टेशनमा जोडिनेछ ।

सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको पनि अध्ययन जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय अध्ययन, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । यस आयोजनाको कूल लागत रू २७ अर्ब जति रहने अनुमान गरिएको छ ।

त्यसैगरी २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययन कार्य सुरू भएको छ । आयोजनाको निर्माणपछि वार्षिकरूपमा रू चार अर्ब ८० लाख बराबरकोे आम्दानी हुनेछ । त्यसबाट सङ्घीय सरकारले वार्षिकरूपमा रू १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले रू नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले रू नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ ।

प्रसारण लाइन प्रभावितले आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीयवासीमा आयोजनाप्रति अपनत्वको महसुससमेत हुने विश्वास लिइएको छ ।

भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्ने विश्वास छ । त्यस्तै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजनाको निर्माणपछि रोयल्टी बढेर रू २० करोड बराबर पुग्नेछ । आयोजनाले रू एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ ।

यो आयोजना सम्पन्न भएसँगै विकासमा पछाडि परेको डोल्पामा नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्त्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ । लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन् । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीसमेत कर्णालीवासीले पाउने विश्वास लिएका छन् । आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेत समेटिएको छ ।

एमाले नेतृत्वकाविरुद्धको घेरावन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू–राजनीतिक द्वन्द्वको खेल हो

शंकर पोखरेल ।
यतिबेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरित मान्यताका रुपमा अथ्र्याउने कोशिस भइरहेको छ । नेपालको सम्विधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्वीकार गरेबाट राजनीतिक दलको संख्या संविधानको भावना अनुरुप धेरै हुनसक्ने देखिँदैन । समाजवाद उन्मुख आर्थिक–सामाजिक व्यवस्था विश्वमा प्रचलित मान्यताका हिसावले दुई प्रकारका रहेका छन् पहिलो बैज्ञानिक समाजवाद र दोश्रो प्रजातान्त्रिक समाजवाद । नेपालका सन्दर्भमा नेपाली कांग्रेसले स्थापना कालमा प्रजातान्त्रिक समाजवादलाई आफ्नो लक्षका रुपमा प्रस्तुत गरेको पाइन्छ भने नेपालका कम्युनिष्ट पार्टीहरुले बैज्ञानिक समाजवादलाई लक्षका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

समान सोंच र समान लक्ष राख्नेहरुको एउटै पार्टी हुनु पर्दछ भन्ने मान्यता राख्ने हो भने स्वभाविक रुपमा नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुविकरणलाई अपरिहार्य मान्दछ । जहाँसम्म जनताको बहुदलीय जनवाद एकदलीयताको विरुद्धमा प्रतिस्पर्धा र पहकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने बाटो हो । जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोंच्नु पनि उचित हुँदैन । कम्युनिष्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भईरहनु पर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।

नेपालको कानूनी व्यवस्थाका आधारमा दल खोल्न र त्यसका आधारमा जनतामा परिक्षित हुने अधिकार सबैलाई प्राप्त छ । तर विकास र समृद्धिको कोणबाट विवेचना गर्ने हो भने राजनीतिक स्थायित्व अपरिहार्य छ । त्यसका लागि जनमतलाई ध्रुविकरण गर्नसक्ने बलिया राजनीतिक दलहरुको आवश्यकता पर्दछ ।
केही समय अघि सम्पन्न भएको अमेरिका राष्ट्रपतिको चुनावमा दुईभन्दा बढी राष्ट्रपति पदका उम्मेद्वारहरु थिए । तर कसैले पनि डोनाल्ड ट्रम्प र कमला ह्यारिस बाहेकको चर्चा सुनेनन्, डोनाल्ड ट्रम्प विजयी भए । कमला ह्यारिस निकटतम् प्रतिद्वन्द्वी भइन् । बाँकी उम्मेद्वारहरुले कसैले पनि ०.५ मत कटाउन सकेनन् । यस प्रकारको राजनीतिक ध्रुविकरणले नै त्यहाँ राजनीतिक स्थायित्व कायम भएको छ ।

पछिल्लो समयमा हाम्रा छिमेकी मुलुकहरु विकास र समृद्धिको यात्रामा तिब्र गतिमा अघि बढिरहेका छन् । चीनमा राष्ट्रपति प्रणाली छ, चीनका राष्ट्रपति सीले तेस्रो कार्यकालको नेतृत्व गरिरेहका छन् । भारतमा कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । तब न ती मुलुक विकासको बाटोमा अघि बढ्न सफल छन् । तर यही अवधिमा हाम्रो मुलुकमा कति प्रधानमन्त्री बने, कति मन्त्रीहरु फेरिए हिसाब गरि साध्य छैन । भारतमा अहिले भारतीय जनता पार्टीको एकल बहुमत छैन । तर त्यहाँका सहयोगी पार्टीहरुले प्रधानमन्त्रीमा दावी गरेनन् । महत्वपूर्ण मन्त्रालय चाहियो भनेर विवाद गरेनन् । प्रधामन्त्रीलाई मन्त्री छान्ने अधिकार छ भनेर सालिनता पूर्वक सहयोग गर्ने काम गरे ।

तर नेपालका हकमा भन्ने हो भने २७५ सिटको प्रतिनिधि सभामा जम्मा ३२ सिट पाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि कहिले एमाले कहिले कांग्रेसतिरको गठवन्धन बनाए । उनीहरुलाई विश्वासमा लिएर भन्दा घुक्र्याएर शासन गर्ने र सरकारमा टिकिरहने नीति लिए । अनि भन्न थाले ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो । यसले त पाँचै वर्ष शासन गर्ला जस्तो छ । यही प्रवृति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यस प्रवृत्तिलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस एमालेका नेताहरु पनि जिम्मेवार छन् । जुनकुरा यतिबेला आएर उनीहरुले महसुस गरेका छन् ।

लोकतान्त्रिक व्यवस्था जनताको व्यवस्था हो । लोकतान्त्रिक व्यवस्थामा राज्य बलियो नभईकन जनता बलिया हुन सक्तैनन् । यतिबेला राजनीतिक अस्थिरताका कारणले जनतामा बढ्दो निराशा र त्यसको जगमा हुर्किएको सामाजिक अराजकता नेपाली लोकतन्त्रको सबैभन्दा ठूलो चुनौति हो । अराजकता लोकतन्त्रिक विकासको चुनौती हो, राजनीतिक स्थायित्वका लागि बाधक हो, विकास र समृद्धिको यात्राको तगारो हो । यसमाथि समाजले विजय हासिल गर्नु अपरिहार्य छ ।

विकास र समृद्धिका लागि मुलुकमा बढ्दो निराशा र अराजकतालाई चिरेर आशा जागृत गर्नु आवश्यक छ । आशावादी, जागृत र अनुशासित जनता र समाजले मात्र विकास र समृद्धिको यात्रामा सफलता हासिल गर्न सक्दछ । समाजलाई आशावादी, जागृत र अनुशासित बनाउने कामको नेतृत्व राज्य र राजनीतिक दलहरुले नै गर्नु पर्दछ ।

नेपाल जस्तो संवेदनशील भू–राजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव हुँदैन । त्यसमाथि विकास र समृद्धिका लागि राज्य बलियो हुनु अपरिहार्य छ । राज्यलाई बलियो बनाउनका लागि नीतिमा आधारित राजनीतिक स्थायित्व आवश्यक पर्दछ । त्यसका लागि बलिया राजनीतिक दलहरुको आवश्यकता पर्दछ । यस उद्देश्य प्राप्तिका लागि नेकपा(एमाले) हरेक हिसाबले योग्य र सक्षम छ ।

अहिले नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेरावन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू–राजनीतिक द्वन्द्वको खेल हो । नेपालका साना राजनीतिक दलहरु या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेका छन् र नेकपा(एमाले)को नेतृत्व माथि हमला गरिरहेका छन् । यो प्रवृति हरेक हिसावले जनता र राष्ट्रका लागि घातक छ । समाजवादको यात्रका लागि त झनै वाधक छ ।

यतिबेला नेकपा(एमाले) विरुद्ध संचालित साइवर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा(एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो । मिस इन्फर्मेसन र डिसइन्फर्मेसनको वाढी त्यसै उद्देश्य तर्फ लक्षित देखिन्छ । नेकपा(एमाले)को तीन महिने जराकेन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ ।

आगामी चुनावमा निर्वाचनपूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष गरेर नेकपा(एमाले) र नेपाली कांग्रेसले आम निर्वाचनलाई एजेण्डा केन्द्रित गर्ने संकल्प गरेका छन्। चुनाव पछि जसको बहुमत आउँछ उसले पाँच वर्ष सहज नेतृत्व गर्ने अवस्था निर्माण गर्नु पर्दछ । कसैको बहुमत नआएको अवस्थामा पनि प्रमुख दललाई सरकारको नेतृत्व दिन तयार हुनुपर्दछ । तब मात्र नेपालको लोकतन्त्रले जनभावना अनुरुप विकास र समृद्धिको दिशामा अग्रसर हुने अवसर प्राप्त गर्नेछ ।

महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो ।

स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट निर्माण तथा कृषि, पर्यावरण र धर्म संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानस्वरुप उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उपाध्यक्ष गोलेले गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा गरेको सक्रिय भूमिकाको कदरस्वरुप सम्मान गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ । उक्त वर्षासँगको बाढी पहिरोमा परेर महाङ्काल गाउँपालिकामा मात्रै १३ जनाको मृत्यु, एक जना बेपत्ता र तीन सय घरपरिवार विस्थापित भएका थिए ।

सो संस्थाले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा समाजसेवाका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न छवटा विधामा सम्मान गर्दै आएको छ । यस वर्ष नेपालबाट उपाध्यक्ष गोले महिला नेतृत्व सम्मान पाएकी हुन् ।

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड निर्माणका लागि बजेट अभाव

बागलुङ । भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका-६ र बागलुङको जैमिनी नगरपालिका-८ को सिमाना पालुङ खोलादेखि मालढुंगसम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।

उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उहाँको भनाइ छ ।

पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् । उनले भने , “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।”

कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्‍याउने उनको भनाइ छ ।

“कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरहवासँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रूपमा विकास हुँदै गएको छ,” उनले भने “अब गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरूले राख्नुपर्छ ।”

नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुंगा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ ।

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो ।

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए ।

‘पुस १९ गतेपछि किसान आउन छोड्नुभएको छ, धेरै किसानले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला,’ उनले भने, ‘हामीले लक्ष्य लिएअनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्‍यौँ ।’

गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यसवर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए ।

बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यसवर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो ।

मोटा धानको मूल्य तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष मोटा धान दुई करोड ६१ लाख दुई हजार एक सय ३३ रुपैयाँ ६५ पैसा र मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, उक सय ६२ रुपैयाँ २३ पैसा गरी कूल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपैयाँ ८८ पैसाको धान खरिद गरिएको हो ।

धान बिक्रीका लागि जिल्लाका छ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि पाँच ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो

वीरगञ्ज (पर्सा) । मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन(मधेश प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन पाँच दशमलव ०४ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार तीन सय ८६ मेट्रिक टन रहेको थियो । मधेश प्रदेशमा भएको कूल माछा उत्पादनमा बारा जिल्लाको हिस्सा सबैभन्दा धेरै अर्थात् २२ दशमलव ४३ प्रतिशत रहेको छ । पर्सा जिल्लामा भएको माछा उत्पादनको हिस्सा सबैभन्दा कम सात दशमलव ९९ प्रतिशत रहेको छ ।

पर्साको पकहाँमैनपुर गाउँपालिकामा व्यावसायिक ढङ्गले दिपेन्द्र माछापालन उद्योग सञ्चालन गर्दै आएका दीनानाथ साहले माछा उत्पादनमा वृद्धि भए पनि माछाको उचित बजार मूल्य नपाएको गुनासो गर्नुहुन्छ । ‘‘विगतमा भारतबाटै माछाको आयात धेरै हुने गर्थ्यो । अहिले कम्तीमा पनि यहाँ माछाको उत्पादन बढिरहेको छ,’’ उनले भने,‘‘ माछाको भुरा र माछापालन सम्बन्धित प्राविधिक ज्ञानको अभाव भने खड्किरहेको छ ।’’

राष्ट्र बैंकको प्रतिवेदनले माछा उत्पादन मात्रै नभएर यस प्रदेशमा दूधजन्य पदार्थको उत्पादनमासमेत वृद्धि भएको देखाएको छ । आव २०८०/८१ म मधेश प्रदेशमा दूधको उत्पादन एक दशमलव ९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार एक सय २३ लिटर पुगेको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये दूध उत्पादनको सबैभन्दा ठूलो हिस्सा भने सिरहा जिल्ला रहेको छ । सो जिल्लाको हिस्सा २० दशमलव ४४ प्रतिशत रहेको छ, भने सप्तरी जिल्लाको हिस्सा सबैभन्दा कम सात दशमलव ८३ प्रतिशत रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा मासुको उत्पादन दुई दशमलव ९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६ सय ७० मेट्रिक टन पुगेको छ । मधेश प्रदेशमा अण्डाको उत्पादन पनि बढेको देखिन्छ । आव २०७९/८० को तुलनामा मधेश प्रदेशमा अण्डाको उत्पादन पनि दुई दशमलव ७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ ।

म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा

म्याग्दी । म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर झलकमोहन ओझाले सबै घरपरिवारमा केन्द्रिय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाको पहुँच पुगेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

‘राष्ट्रिय जनगणनाको प्रतिवेदन र कार्यालयले गरेको सर्वेक्षणका क्रममा म्याग्दीका सबै घरमा कुनै न कुनै किसिमको विद्युत् सुविधा पुगेको देखिन्छ’, उनले भने, ‘स्थानीय तहमार्फत तथ्याङ्कलाई पुष्ट्याइ गरेर उज्यालो जिल्ला घोषणा गर्न लागिएको हो ।’

केन्द्रिय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने विषयमा पनि स्थानीय तहमार्फत जानकारी गराइएको कार्यालय प्रमुख ओझाले बताए ।

राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरपरिवारमध्ये उज्यालोका लागि ९५ दशमलब एक प्रतिशतले बिजुली, तीन दशमलब चार प्रतिशतले सोलार, शूून्य दशमलब पाँच प्रतिशतले मट्टितेल, शून्य दशमलब चार प्रतिशतले बायोग्यास र शून्य दशमलब नौ प्रतिशतले अन्य माध्यम प्रयोग गर्छन् ।

जनगणनाका क्रममा कुनै पनि विद्युत्को सुविधा नपुगेको देखिएको धवलागिरि गाउँपालिकाको मराङ, सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका एक सय २० र मालिका गाउँपालिकाको जेमका एक सय घरमा प्रदेश सरकारको बजेटबाट सौर्य ऊर्जा जडान गरिएको थियो । तीमध्य अधिकांश बस्तीहरुमा अहिले केन्द्रिय प्रशारणलाइनको विद्युत् पुगिसकेको छ ।

गण्डकी प्रदेश सरकार स्थापना भएदेखि नै उज्यालो प्रदेशको कार्यक्रममार्फत विद्युत् सुविधा विस्तारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केन्द्रिय लाइन नपुगेको र पुुग्न नसक्ने ठाउँमा लघुजलविद्युत् परियोजना निर्माण, मर्मत सम्भार र सौर्य ऊर्जा जडान गर्ने योजना सञ्चालन भएको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा बाहेकका बस्तीमा चालुआर्थिक वर्षमा केन्द्रिय प्रशारण लाइनको विद्युुत् सुविधा पुग्ने नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित दुई सय ५० घरपरिवारको बसोबास रहेको गुर्जामा लद्युजलविद्युत् परियोजनाको सुविधा छ ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तरर्गत २३ हजार विद्युत्का ग्राहाक छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय, २०७९/८० मा हजार दुई सय ३८ र २०७८/७९ मा सात सय ७० घरमा केन्द्रिय लाइन जडान भएको विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

यस वर्ष मालिका गाउँपालिकाको पात्ले, चिउरीबोट, धवलागिरिको लुलाङ, लमसुङ, खोरिया, नेरवाङ, अर्चे, मल्कवाङ र रघुगङ्गाको कुइनेमङ्गले क्षेत्रका करिब छ सय घरमा केन्द्रिय लाइनको विद्युत् विस्तारको काम अन्तिमचरणमा पुगेको छ । म्याग्दीका दुई हजार घरधुरीमा केन्द्रिय लाइन विस्तारका लागि विसं २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत रु २० करोड बजेट विनियोजन गरेर योजना सञ्चालन गरिएको छ ।

एमालेका ५९ नेताले छाडे पार्टी

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन् । डा.भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै उनीहरुले सामूहिकरुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् । उनीहरुले रावललाई हटाउने निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

इजरायलमा बन्धक मुक्तपछि परिवार पुनिर्मिलनको भावुक क्षण(तस्बिरमा)

काठमाडौं । इजरायल–हमास युद्धविराम सम्झौता लागू भएसँगै हमासले सुरुमा तीन बन्धक रिहा गरेको छ । त्यसको सट्टामा इजरायलले ९० जना प्यालेस्टिनीलाई रिहा गरेको छ । युद्ध विराम सुरु भएकोमा खुसीयाली छाएकोमा बन्धक रिहा भएपछि भने दुबै तर्फ झनै खुसीयाली छाएको छ । रिहा भएपछि उनीहरुले आफन्त भेट्दाको खुसी साटिरहेका छन् ।

हमासले एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती छन् । युद्ध रोकिएपछि गाजा क्षेत्रबाट विस्थापित भएकाहरु पनि आफ्ना घरमा फर्किरहेका छन् ।

तस्बिरः एएफपी

हमासद्वारा तीन बन्धक रिहा

बीबीसी । हमासले पहिलो चरणमा आइतबार गाजामा तीनजना बन्धक रेडक्रसलाई बुझाएको छ । यसअघि रिहा गरिने ती महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको थियो ।

यसको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्ने हमासले जनाएको छ । यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा विस्थापित गाजाका मानिसहरू त्रिपाल, लुगाफाटा र सरसामानसहित आफ्नो पुरानो घर भएको ठाउँ फर्किरहेका छन्।

जसक्रममा बालबालिकासहितका धेरैजसो परिवारहरू टाँगा, कार, ट्रकको प्रयोग गरेका छन् भने कोही पैदल नै घर फर्कँदै छन् ।

दक्षिणी सहर खान यूनिसमा हमासका लडाकुहरू निस्कँदा त्यहाँ मानिसहरूको भिडले नाराबाजीसहित उनीहरूलाई स्वागत गरेको थियो।

विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा बन्द हड्ताल नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी विश्वविद्यालयअन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्रालयले शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न पनि आग्रह गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका थप एकजनालाई पक्राउ परेका छन् ।

माघ २ गते जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको सूर्यदर्शन हाइट बस्ने वर्ष ३२ का महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । यसअघि कुटपिटमा संलग्न अर्का एकजना पक्राउ परिसकेका छन् ।

अब एमालेमै फर्किन्छुः वामदेव गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा फर्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि गौतम एमालेमै फर्किन सहमत भएका हुन् ।

प्रधानमन्त्रीसँगको फोन वार्तापछि गौतमले आफू एमालेमा नै जान तयार भएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीसँग फोनवार्ता भएको र कुरा सकारात्मक भएको गौतमले जानकारी दिएका छन् ।

पछिल्लो समय गौतम नेकपा एकीकृत समाजवादीमा फर्किने कुरा भएको थियो । त्यसक्रममा गौतम र माधव नेपालबीच पटक पटक वार्तासमेत भएको थियो । तर जिम्मेवारीबारे कुरा नमिलेपछि उनी एमाले नै जान तयार भएका हुन् ।

राष्ट्रिय परिचयपत्र कार्यान्वयनका लागि सरकारलाई बाटो खुल्यो, सर्वोच्चद्वारा विवादसम्बन्धी रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवाद सम्बन्धी रिट खारेज गरेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गरेको हो ।

सर्वोच्चले केही विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले राष्ट्रिय परिचयपत्र सम्बन्धी रिट खारेज गरेसँगै अव यसको काम अघि बढाउने बाटो सरकारलाई खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

यसअघि २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा साउन १ बाट लागू हुनेगरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

यसलाई विस्तार गर्दै दोस्रो चरणमा २०८१ माघ १ बाट थप ३८ जिल्लामा अनिवार्य गर्ने तयारी थियो । तर सर्वोच्चमा रिट परेकाले कार्यान्वयन हुन सकेको थिएन ।

होटल बराही काठमाडौँलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र

काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौँ’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।

टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आज आयोजना गरिएको कार्यक्रममा बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा उक्त जानकारी दिए ।

विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको उनको भनाइ छ ।

टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार वटा मापदण्ड समावेश गरेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप नै भएको उल्लेख गरेको छ ।

होटलका कर्पोरेट निर्देशक योगेन्द्र बिक्रम थापाले बाराही होटल दिगो विकासमा सधैं चिन्तित रहेको र संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मेहनत र साथले यो उपलब्धि हासिल भएको बताए ।

टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।

साथै दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरुको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो ।

त्यसैगरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सीप र खानाको प्रबर्द्धन र स्थानीय उत्पादनको खपत होटलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरिएको थियो । साथै चौथो मापदण्डमा सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रबर्द्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।

मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रबर्द्धन, अपांगता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।

कम्पनीले होटलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराएको छ । होटलले स्थानीय संस्कृति प्रबर्द्धन, सीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रबर्द्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाइएको थियो ।

त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्यांकनमा समावेश गरिएको थियो ।

होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौँले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै नेपाल सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन बिभागमा पहल गर्ने बताए ।

नेपाल ट्राभल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गर्दै यसप्रकारको अभ्यास सामान्य जीवनयापनमा समेत लागू गर्न सबैजना सचेत हुनुपर्नेमा जोड दिइन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले होटलहरुले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने बताए । वातावरण संरक्षणमा चासो राख्ने पर्यटकमा होटलप्रतिको विश्वस्नीयता बढेको उल्लेख गर्दै उनले होटल धेरैभन्दा धेरै पर्यटकको रोजाइमा पर्नेमा विश्वास व्यक्त गरे ।

बाराही हस्पिटालिटीअन्तर्गत रहेको होटल बाराही काठमाडौँ २०२३ जुलाइदेखि सञ्चालनमा आएको हो । सातौं तल्लामा अल डे डाइनिङ रहेको होटलको नवौं तल्लामा इन्फिनिटी लाउन्ज छ । भुइँ तल्लामा इली कफी आउटलेट सञ्चालनमा आएको छ । ब्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सञ्चालनको तयारी भइरहेको छ । होटलमा स्पा र फिटनेस सेन्टर निमाणाधिन छ । सातौ तल्लामा नारायणहिटी दरबार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटलको आकर्षण हो ।

बाराही काठमाडौँ होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ । साथै नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी (अतिउत्तम वर्गीकरण) प्राप्त गरेको छ ।

बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा ‘होटल बाराही पोखरा’, ‘साराङकोट माउन्टेन लज’, ‘आबास पोखरा’ तथा चितवनमा ‘बाराही जंगल लज’ र काठमाडौँमा ‘बाराही काठमाडौँ’ सञ्चालनमा छन् । चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको छ भने अन्य होटल पनि यसका लागि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

फुट्यो वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग भएका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् ।

अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् ।

उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् ।

वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् । वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरुले बताए । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष छ ।

छविराज ओझा र दिजेन्द्र शाक्यले ‘मंगलम २’ निर्माण गर्ने

काठमाडौँ । नवल नेपालको निर्देशनमा फिल्म ‘मंगलम्’ को दोस्रो भाग बन्ने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यले निर्माण गर्न लागेका हुन् ।

निर्माता ओझा र निर्देशक नेपालबीच आइतबार सम्झौता भएको छ । ‘मंगलम’ २०७४ सालमा निर्माण भएको थियो। फिल्ममा समावेश गीत ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चित छ ।

फिल्म छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो। यही ब्यानरमा यसअघि निर्देशक नवलले ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए।

गाजामा युद्धविराम सुरु

बीबीसी । हमासले पहिलो चरणमा रिहा गरिने तीन महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको छ ।

यसको बदलामा इजरायलले केही दर्जन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताइएको छ । यसैबीच इजरायलका अतिदक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । यसैबीच हमास नेतृत्वको सिभिल डिफेन्स एजेन्सीले आइतबार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन् ।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार ६ जना गाजामा मारिएका थिए भने ३ जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै थप २५ जना घाइते भएका थिए ।

इजरायली प्रधानमन्त्रीले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए । इजरायली सेनाले युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा कोशीद्वारा बागमती पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १२ दशमलव एक ओभरमा ५३ रनमा समेटियो । बागमतीका लागि सविका यादवले २० र विपिशा शाहीले अविजित १२ रन बनाइन् ।

कोशीका लागि कप्तान रूबिना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई/दुई विकेट लिए । फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कोशीले निर्धारित १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनायो । उसका विमला मलाहाले अविजित १९ र कप्तान रूविना क्षेत्रीले १५ रनको योगदान दिइन् ।

बागमतीका लागि मनिशा उपाध्यायले ह्याट्रिकसहित चार विकेट हात पारिन् । मनिशा जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनिन् । कोशीकी कप्तान क्षेत्री प्लेयर अफ द म्याच भइन् ।

समूह ‘ए’बाट एपिएफ र सुदूरपश्चिमले शीर्ष चारमा स्थान बनाइसकेका छन् । यही माघ १ गतेदेखि सुरू प्रतियोगितामा नौ टोलीको सहभागीता छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई रु २५/२५ हजार पुरस्कार दिइनेछ ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से १२.५८ अङ्कले बढेर २ हजार ६०१.२१ विन्दुमा पुगेको छ ।

आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज फाइनान्स र उत्पादन समूहको शेयर दुई प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बजार दोहोरो अङ्कले बढेको दिन बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन गएको बिहीवार ५ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३२५ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा  सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्रीनिवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए ।

उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुने गरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भनेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा. शम्भु आचार्य, सदस्यहरु डा. भगवान् कोइराला, डा. रघुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।

हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यक्रममा कुल जनसंख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।

कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

रुपन्देहीमा रविसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध ठगी कसुर र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता भएसँगै अब लामिछाने रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ । सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ । लामिछानेविरुद्ध सहकारी ठगी करणमा तेस्रो अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यी दुई अदालतले उनलाई धरौटीमा रिहा गरेका थिए । अब रुपन्देही अदालतमा थुनछेक बहस हुनेछ । लामिछानेविरुद्ध चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता हुने क्रममा छ ।

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

दमास्कस । सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्युत गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बरयता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गरे ।

सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्यांकमा उल्लेख छ ।

उनले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशहरूको भ्रमण गर्ने योजना पनि घोषणा गरेका छन् ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर), संयुक्त राष्ट्र संघीय शरणार्थी निकायको समर्थनलाई बलियो बनाउन समयसीमा निर्दिष्ट नगरिएको भए पनि क्रमिक रूपमा कार्यतालिका सावजनिक गरिने र शरणार्थीको फिर्ती तथा व्यवस्थापन गरिनेछ।

यसैबिच, युएनएचसिआरका अनुसार सन् २०२४ मा पाँच लाख ५० हजारभन्दा बढी सिरियाली आफ्नो देश फर्केका छन् । फिर्ता भएका शरणार्थीमध्ये सबैभन्दा बढी उत्तरी अलेप्पो प्रान्तका रहेको बताइएको छ ।

धेरै सिरियाली शरणार्थीले स्वदेश फर्कन चासो देखाए पनि युएनएचसिआरले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मिश्रित भावना रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये धेरैले सिरियाभित्र आफ्नो जीवन र घरहरू फर्कन र पुनर्निर्माण गर्न सक्षम हुन वित्तीय तथा बन्दोबस्तीका सामानको सहायताको आवश्यकतामा जोड दिएका छन्।

प्रत्युत्तरमा युएनएचसिआर र यसका साझेदार संस्थाहरूले शरणार्थीको स्वदेश फिर्तीका लागि अन्तरनिकाय योजना अघि सारेको प्रतिवेदनमा उल्लेख छ । निकायले शरणार्थी र उनीहरूलाई स्वागत गर्ने समुदाय दुवैका लागि दिगो कोष र सुरक्षा कार्यक्रमहरूको महत्त्वलाई पनि जोड दिएको छ।

युद्धविराम अझै लागू नभएको भन्दै गाजामा इजरायली सेनाको आक्रमण

जेरुसेलम । इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ ।

“आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भनेका छन् ।

एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।

करिब ३० मिनेटपछि एएफपी टिभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस्लो उठेको देखायो। उक्त क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गरेपछि उक्त दृष्य देखिएको हो ।

हमासले सम्झौता अनुरूप फिर्ता गर्ने ३३ जना बन्धकको सूची पठाउन प्राविधिक समस्याका कारण ढिलो भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

वासिङ्टन ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन्।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उदृत  गर्दै द वाल स्ट्रीट जर्नलकोसमाचारमा उल्लेख छ।

ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि सपथ लिने। उनले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गरेका छन् भने शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गरेका थिए।

सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा

मनाङ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामेखण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।

डुम्रे–बेँसीसहर–चामे आयोजनाले गत आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीसहरबाट खुदीसम्म आठ किलाेमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

सबइन्जिनियर अधिकारीले भने, ‘मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका स्थानमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका सवारीसाधन आवतजावत गर्नुपर्ने भएकाले यहाँको विकासलाई पनि सहयोग पुगेको छ ।’ बेँसीसहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि रु. ५१ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए ।

आयोजना निर्माणस्थलमा आवश्यक सामग्री ल्याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतीकमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार सडक आयोजनासँग सम्झौता गरी आपसी समन्वयका आधारमा काम भइरहेको हो ।

प्रबन्धक प्रधानले भने, ‘ऊर्जा उत्पादनले मात्रै जिल्लाको विकास सम्भव छैन । मनाङ पर्यटकीय क्षेत्र पनि हो, यहाँ सडक सञ्जाल विस्तार गरी यात्रा सहज बनाउन सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक स्तरमा सुधार हुँदै जाने थियो । ऊर्जा उत्पादनसँगै सडक सञ्जालको विकासले स्थानीयको दैनिकी र पर्यटकलाई आवागमनमा सहयोग पुर्‍याइरहेको छ ।’

मनाङको चामे गाउँपालिका– १, २ र ३, नासोँ गाउँपालिका–९, ८, ४ र ५ नम्बर वडामा पर्ने गरी निर्माणाधीन १३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रबन्धक प्रधानले बताए ।

उक्त जलविद्युत् आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबिच ०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता १३५ मेगावट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

आयोजनामा नेपाली साझेदार बिपिसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससिआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्युवाइसी इन्टरनेसनलले संयुक्त रूपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी समझदारी भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाको कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत पुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड पुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।

आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको हुने कम्पनीका प्रबन्धक प्रधानले जानकारी दिए । वार्षिक ७६६.५९३ गिगावाट विद्युत् उत्पादन हुने अपेक्षा लिइएको उनले बताए । 

काठमाडौंमा चिनियाँ नयाँवर्ष परेड

काठमाडौं । काठमाडौंमा पनि चिनियाँ नयाँवर्ष मनाइएको छ । आइतबार काठमाडौंको ठमेलमा चिनियाँ नयाँवर्ष मनाइएको हो । नयाँवर्षका अवसरमा ठमेलमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।

लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ । ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो।

देशमा लगानीको वातावरण सिर्जना गर्न अध्यादेशः गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । 

नेपाल प्रेस युनियनले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए । 

“मुलुकमा स्थायित्य र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ”, गृहमन्त्री लेखकले भने, “सरकारले सोहीअनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ ।” उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केही कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए । 

गृहमन्त्री लेखकले सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी दिए । “अधिवेशन बोलाउनेबित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन्, पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्”, उनले भने, “यसरी समयसापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै हामी विकास र समृद्धिको गतिमा अगाडि बढिरहेका छौँ ।” 

गृहमन्त्रीले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गरे । “दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन् हामी त्यो सहमति कार्यान्वयन गर्छौं, त्यहीअनुसार सरकार अघि बढ्छ”, उनले भने, “हाम्राबीचमा कुनै समस्या छैन, बेलाबेलामा विभिन्न खालका हल्ला सुन्ने गरिन्छ, यो सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहन्छ ।”

गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह चाँडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए । –

रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आइतबार बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौरजहारी बजारबाट घर जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए। लामिछानेको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु

बागमती । भिरबाट लडेर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिन रहेको प्रहरीले जनाएको छ ।

शनबार अपरान्ह ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

सिसी र चक्की भिटामिनको भ्रम

डा. अरुणा उप्रेती ।
‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ ।

पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरु जताततै भिटामिनको खोजीमा छन् । कतिचोटी ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, “मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।” औषधि पसलेले कुनै ‘कुनै रङ्गीन झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन् ।

विशेषगरी गाउँघरतिर महिला ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । सहरका महिलाले पनि आफैँ ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भन्दै औषधि पसलबाट किनेर ल्याउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटी महिला खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन् । यदि उनीहरुलाई भिटामिन नदिने हो भने “कस्तो डाक्टर होला । केही रोग छैन भनेर भिटामिन दिएन” भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् ।

भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।

गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्व एवं भिटामिनहरु बढी चाहिन्छन् भन्ने कुरा पनि प्रायःलाई थाहा हुन्छ, तर ती आवश्यक तत्वहरु प्राकृतिक भोजनमै धेरै हुन्छ भन्ने कुरामा कमैले ध्यान पु¥याएको देखिन्छ । आमा पनि चाहे काखको बच्चा होस् चाहे बढ्ने बच्चा सबैलाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन्, बच्चालाई पोषण दिइरहेको ठान्छन् । बाबु आमा कमैलाई थाहा छ– भान्छामा भएको भोजन नै बच्चालाई सबैभन्दा उपयुक्त हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटस भनेका थिए, “भोजन नै औषधि हो ।” विभिन्न विज्ञापनका भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारणले नै मानिसहरु सिसी र चक्की भिटामिन औषधि किनेर खान्छन् । हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामीहरु धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका टनिक किनेर खान्छौँ ।

भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरु बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् भन्ने गलत धारणाले गर्दा गाउँघरमा प्रत्येक रोगको लागि भिटामिन सुई लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेक भ्रामक र अज्ञानताको कारणले पछिल्लो समय गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरु छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिनेक्रम बढ्दै गएको छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभीजस्ता सञ्चार माध्यमहरुमा हर्लिक्स्, बुष्ट, बोर्नभिटाजस्ता भिटामिनहरुको प्रचारप्रसार अत्यधिक हुनु पनि हो ।

भिटामिन ‘ए’ को कमीले हुने राति अन्धो हुने रोगको लागि ‘भिटामिन ए’ को  क्याप्सुल बाँडिन्छ । तर तपाईको घरको बारीको फल मेवा वा अम्बा खाउँ है भनेर भनिदैन । जुन ठाउँमा पर्याप्त मात्रामा अमला पाइन्छ त्यो ठाउँमा भिटामिन सी’ को चक्की बेचिन्छ महँगोमा । सस्तोमा पाइने अमला भिटामिन सीकोभन्दा धेरै सस्तो भएर पनि बेवास्ता गरिन्छ ।

मानिसहरुले आफ्नो धेरै कमाई भ्रममा परेर यस्ता रङ्गीन झोलमा खर्च गरिरहेका छन् । औषधि पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि तपाईं डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमा नै मलाई भिटामिन जरुरी छ ?’ भोक लगाउने टनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यहरुलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरुबारे तपाईंलाई जानकारी दिइएको छ ? कतिपय विकसित देशहरुमा कुप्रभाव पर्छ भनेर भनिएका यस्ता भिटामिनका चक्की वा झोलहरु नेपालमा प्रश्रयका साथ बिक्री वितरण भइरहेको छ । सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ भनेर बुझ्नसक्यो भने भिटामिन झोल र टनिकको कसैलाई पनि जरुरत हुँदैन ।

त्यसैगरी धेरै मानिसहरु भोजन भनेर पाचन गराउने रस किनेर खान्छन् । तर घरमै भएका खानेकुरा ज्वानो, हिङजस्ता तत्वहरुको प्रयोग गरे पनि पच्ने प्रक्रिया राम्रो हुन्छ भनेर धेरै थोरैलाई मात्र थाहा हुन्छ होला । युवा पुस्तामा त यस्ता कुराहरुमा कमैले चासो दिएको पाइन्छ । तराईमा घरघरमा पाइने मेवा पाकेर झरिरहेका हुन्छन् । त्यसलाई हेरेर आँखा तर्काएर हिँड्नेहरुलाई थाहा छैन कि मेवा कस्तो औषधि, पाचन रस र भिटामिनले भरिएको खानेकुरा हो भनेर । खाना पचाउने भनेर थरिथरिका सिसीहरु बजारबाट किनेर ल्याउनेहरुलाई थाहा छ कि छैन मेवामा शरीरका भोजन पचाउन चाहिने सबै पाचन रसहरु जस्तै– पापायीन, खिम्मोपापिन आदि हुन्छ ।

मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । कतै पाकेको, कतैकतै पाकेको फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कि शरीरमा रहेका अन्य समस्या जस्तो कब्जियत हुने, खाना नपच्ने समस्या हुने आदि हटाउन पनि सक्छ । मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ ।

आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्यकस वोल्फले क्यानेडियन सिपाहीहरुमा अनुसन्धान गरेका थिए । उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरुको खान दिएका सिपाहीहरुको स्वास्थ्यमा मात्र सुधार भएन कि उनीहरुमध्ये जसलाई धेरै रुघाखोकी लागि रहन्थ्यो दुई तिहाईलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाई सिपाहीलाई रुघाखोकी लागे पनि कडा रुपले लागेन । प्रोफेसर वोल्फले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि, शरीरमा पर्याप्तमात्रामा पाचन रस हुने हो भने व्यक्तिहरुको शरीरमा किटाणुहरुले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरु नै खानेकुरा पचाउन पर्याप्त छन् ।

तरै प्रायः मानिसहरु घरमा फलेको मेवा खान छोडेर, औषधि पसलमा गएर पाचन गर्ने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोल भनेर अनेकथरीका थरीथरीका बट्टाहरु किनेको पाइन्छ । नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भने झैँ आफूसँग भएको वस्तुको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरु किन्नेक्रम बढिरहेको छ । यसले आर्थिक रुपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदा पुगेको छैन ।

(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुनुहुन्छ)

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।

“चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो ।

त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् रू ५९ अर्ब तीन करोड प्राप्ति भएको छ ।

सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अमेरिकामा टिकटक बन्द

बीबीसी । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटक बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै ‘अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने जानकारी गराइएको थियो ।

यसअघि टिकटकले बाइडन प्रशासनले प्रतिबन्ध कार्यान्वयन हुने आश्वस्त नगरे आइतबारबाट सेवा बन्द हुने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि आफूले टिकटकलाई ९० दिन प्रतिबन्धबाट उन्मुक्ति दिने बताएका थिए ।

प्रयोगकर्ताहरूले अमेरिकामा गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरिरहेको जनाएका छन् ।

यसअघि उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतबारबाट अमेरिकामा आफ्नो सेवा ‘नचल्ने बनाउन’ बाध्य हुने बताएको थियो ।

शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडियो शेयरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो ।

सुदूरपश्चि प्रदेशका पूर्वमन्त्रीसहित दुई जनालाई एमालेबाट निस्कासन गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न एमालेले सिफारिस गरेको छ।

नेकपा एमाले कैलालीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुुक्त गर्दै संगठित सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको बताए ।

भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका डा. भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको बताए।

पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका उनीहरु बुवा–छोरा हुन् । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन्।