`

तेस्रो लहान मेयर गोल्डकप फुटबल सोमबारदेखि

सिरहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा दश टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए । उनका अनुसार सोमबार उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेतालाई दुई लाख ११ हजार र उपविजेतालाई एक लाख ११ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागि लहान नगरपालिकाले २० लाख सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।

दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो । सो प्रतियोगितमाा सलहेश युवा क्लब, सिरहा उपविजेता बनेको थियो ।

शेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार नेप्से ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज मिथिला लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन् ।

आइतबार शीतल निवासमा सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।

उनले आगामी दिनमासमेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आइतबारको  बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले भने, विधेयकमा अत्यन्त सकारात्मक र राम्रा प्रावधान समेटिएका छन्, यसले सेवा प्रवाह अझ प्रभावकारी बन्छ, यसमा विरोध गर्नुपर्ने कुनै ठाउँ नै छैन ।

सुशासन कायम तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रस्तुत विधेयकलाई पारित गरेर सहयोग गर्न आग्रह गरे ।

सैद्धान्तिक छलफलमा सांसदहरु डा बेदुराम भुसाल, कृष्णबहादुर रोकाया, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, इन्दिरादेवी गौतम, गङ्गाकुमारी बेल्वासे, राजेन्द्रलक्ष्मी गैरे, डा अञ्जान शाक्य, तारामान स्वाँर, भुवनबहादुर सुनार, गोपाल भट्टराई, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, शारदादेवी भट्ट, सुरेशकुमार आले मगर र श्रीकृष्णप्रसाद अधिकारीले भाग लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सञ्चारमन्त्री गुरुङले राष्ट्रियसभाको यही चैत ८ गतेको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा उक्त विधेयक प्रतिस्थापन विधेयकका रुपमा नआएको भनी प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नियमापत्ति गरेपछि छलफल हुन सकेको थिएन ।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्नसक्ने व्यहोरा जानकारी गराए । 

रसुवा जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ ।

‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

सो संस्थाले विशेषज्ञ चिकित्सक उपलब्ध गराएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ । रसुवा जिल्ला अस्पतालले सोही संस्थाको सहयोगमा १८ जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरी बच्चा पैदा गराएको जनाएको छ ।

विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा दासले बताए ।

‘बुस्कोपान’ नामक दुखाई कम गर्ने ‘इन्जेक्सन’ दिइ काठमाडौँ पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेपछि रसुवावासीको खुशीको सीमा नरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।

यसैगरी पाठेघरको नलीमा गर्भ बस्न गई जोखिममा परेकी २८ वर्षीया एक महिलालाई पनि गत शुक्रबार नै सफलतापूर्वक शल्यक्रिया गरिएको रसुवा अस्पतालले जनाएको छ ।

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो–२०२५’ आयोजना गरी पर्यटन प्रवद्र्धन गर्न थालेको हो ।

नेपाल र म्यानमारबीचको ६५औँ कूटनीतिक सम्बन्धका अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा यही चैत ८ र ९ गते भएको एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनमा जोड दिइएको बोर्डले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । बौद्ध पर्यटन प्रवद्र्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरेको हो ।

   एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता थियो । नेपालकोतर्फबाट बौद्ध पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।
     
यसका साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको पनि बोर्डले उल्लेख गरेको छ । कार्यक्रमको संयुक्त रूपमा म्यानमारका सङ्घीय मन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले उद्घाटन गरेका थिए ।

     सङ्घीयमन्त्री यु टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना र मानवसंशाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
     
त्यसक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । 

कार्यक्रमकैबीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले आयोजना गरको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
     
नेपाली दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकारहरू जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको हो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूलेसमेत नेपाली खानाको स्वाद लिएका छन् । 

त्यसैगरी पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिबद्धता जनाएको छ ।

विकासको गतिमा देश अगाडि बढेको छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार आयोजना गरेको ‘टुुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

‘हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुुभएको छ, यो अहिलेको समयको उपलब्धि हो ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे ।

‘हामी भावनात्मक ढङ्गले चल्नुु हुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुुपर्छ’, उनले भने ।

कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब एक सय ४० युवाको सहभागिता थियो । उनीहरुले आ–आफ्नो क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैनः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा सभापति देउवाल राजतन्त्र फर्किने सम्भावना पनि नरहेको र ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि भएको बताएका हुन् ।

उनले पूर्वराजालाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापति बन्न सुझाव दिए । उनले भने, ‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ ।’

सभपाति देउवाले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

दीपक मल्लिकको घर भत्काइएकाबारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । ‘दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,’ उनले भने, ‘यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।’

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताए । सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उनले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरिन् । सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगबाट नागरिकलाई जोगाउने योजना ल्याउन सरकारसँग आग्रह गरिन् । सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गरिन् । 

सांसद विष्णुकुमारी सापकोटाले गुल्मी छत्रकोट रुरु गाउँपालिकाका उखु किसानलाई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्नुका साटो विभिन्न बहानामा किसानलाई दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाइन् ।

सांसद कृष्णबहादुर राकोयाले मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको मडेला जोड्ने भेरी नदीमा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्बाटै पुनः लोडसेडिङ हुन्छ भनेर भन्नु गलत भएको बताए । उनले भने, ‘नेपाल विद्युत प्राधिकरण भनिरहेको छ, जनताको घरमा लोडसेङिहुन दिन्नौं  । तर मन्त्रीजी लोडसेडिङ हुँदैछ भन्दै विवादास्पद अभिव्यक्ति दिँदै हुनुहुन्छ । यो भनेको के हो ? लोडसेडिङ अन्त्यको तत्कालिक कारण सरकार र प्राधिकरण हो । भारतले विजुली पुरस्कारमा दिएको होइन, खरिद गरेको हो । सम्मानीय अध्यक्ष महोदय नेपाल स्काउटको जग्गा र संरचना कौडीको भाउमा भाडामा दिएर अहिले सत्ताको आडमा अहिले साढे तीन करोड भाडा मिनाहा गराउने दाउमा मन्त्रीजी हुनुहुन्छ भन्ने व्यापक छ, सदनलाई जानकारी गराइयोस् ।’

सांसद पूजा चौधरी, बलदेव बोेहरा, सावित्री मल्लले समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराए । 

सरकार र संसद दुवैलाई विद्यालय शिक्षा विधेयक उच्च प्राथमिकतामा राख्न सांसहरुको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्न माग गरेका छन् ।

आइतबारको राष्ट्रियसभा बैठकमा सांसद बोहराले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारको सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘आठ वर्षदेखि प्रयास गरी संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमाथि सरकार र संसद दुवैले उच्च प्राथमिकतामा राखी दफावार छलफल गर्दै चालु अधिवेशनबाटै पारित गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

अमेरिकाले सत्यलाई तोडमोड गरेको हमासको आरोप

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह ( हमास)ले बन्धकहरूलाई रिहा गर्न इन्कार गरेर इजरायलसँग युद्ध रोजेको भन्दै संयुक्त राज्य अमेरिकाले सत्यलाई तोडमोड गरेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजको आरोपको जवाफमा हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासले बन्धकहरूलाई रिहा गर्नुको साटो युद्ध रोजेको भन्ने दाबी तथ्यलाई तोडमरोड गर्नु हो ।’

यसअघि प्रवक्ता ब्रायनले भनेका थिए, ‘हमासले युद्धविराम लम्ब्याउन बन्धकहरूलाई रिहा गर्न सक्थ्यो तर त्यसको साटो इन्कार र युद्ध रोजेको छ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘यी पहलहरूलाई अस्वीकार गरेको र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न तिनीहरूलाई जानीजानी तोडमरोड गरको’, प्यालेस्टिनी लडाकू समूहले बताएको छ ।

गाजामा बन्धक बनाइएका बन्धकहरूको परिवारसहित इजरायलमा उनले सामना गर्नुपरेको आलोचनापछि नेतन्याहूले हमासका कारण समस्याको समाधान निकाल्न नसकिएको प्रमाणित गर्न र आफ्नो सत्ता लम्ब्याउन खोजेको आरोप उनले लगाए ।

इजरायलले मङ्गलबार गाजामा हवाई आक्रमण पुनः सुरु गरेको थियो र त्यसपछि युद्धविरामका क्रममा खाली गरिएका क्षेत्रमा सेना फिर्ता पठाएको थियो ।

जनवरी १९ देखि लागू भएको युद्धविरामको समयावधि बढाउने विषयमा हमाससँग हप्तौँदेखि असहमति भएपछि यो कदम चालिएको हो ।

इजरायलले थप बन्धकहरूलाई मुक्त गर्न र मरेका वा जीवित रहेका करिब ६० बन्दीहरूको स्वतन्त्रता सुरक्षित गर्न आफ्नो सैन्य अभियान आवश्यक रहेको बताएको छ।

धेरै बन्धक परिवारहरूले यसको साटो फेरि युद्धविरामको माग गरेका छन् र जीवितै फर्केका अधिकांश बन्दीहरूले युद्धविरामको माग गरेका छन् ।

हमासले संयुक्त राज्य अमेरिकाले आक्रमणकारीलाई पीडितसँग तुलना गरेको आरोप लगाएको छ ।
‘अमेरिकी वक्तव्यले फेरि एकपटक हाम्रा जनताविरुद्धको आक्रमणमा उसको पूर्ण संलग्नता र गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीविरुद्ध नरसंहार, भोकमरी र घेराबन्दीमा उसको संलग्नता प्रकट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते

अमेरिका । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।
प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ ।

‘लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए ।

घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए । घटनाले फेसबुक पोस्टमा घाइतेको सङ्ख्या १४ बाट १५ पुग्यो ।

लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारको लागि एल पासो लगिएको बताए ।

चार जना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चार जनाको अवस्था भने अज्ञात रहेको उनले उल्लेख गरे । ‘यो हाम्रो समुदायको लागि दुखद दिन हो । म समुदायलाई एकसाथ भेला हुन, बलियो र एकताबद्ध भएर उभिन र हाम्रो शहरमा भएको यो दुखद घटनाको सामना गर्न आग्रह गर्न चाहन्छ ।’

लस क्रुसेस अमेरिका–मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ ।

गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने ।

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उनलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा एक व्यक्तिको हत्या गरिएको अवस्थामा शव फेला

भक्तपुर । भक्तपुरमा आइतबार एक व्यक्तिको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका प्रहरीले जनाएको छ ।

राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन संक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ ।

व्हाट्सएपमा नयाँ फिचरः एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वासिङटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दैछ ।

मोशन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ । परम्परागत तस्बिरभन्दा फरक, मोशन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ ।

‘वाबबीटाइन्फो’ का अनुसार मोशन फोटोहरूको लागि एपको मिडिया–साझेदारी क्षमताहरू विस्तार गर्ने लक्ष्य व्हाट्सएपले राखेको छ । व्हाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोशन फोटोहरूको लागि समर्पित नयाँ बटन देखा पर्नेछ, जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्दछ ।

यो सुविधा विशेष गरी केही मोबाइल उपकरणमा लोकप्रिय छ, किनकि यसले स्थिर तस्बिरहरूमा गतिको स्पर्श थपेर स्थिर तस्बिर र भिडियोहरू बीचको खाडललाई कम गर्छ ।
मोशन फोटो सुविधा सामान्यतया विभिन्न स्मार्टफोनहरूमा उपलब्ध छ, जस्तै सामसुङ ग्यालेक्सी ।

यो सुविधा हाल आईफोनका लागि आइओएसमा उपलब्ध भएपनि एन्ड्रोइडका लागि व्हाट्सएपमा मोशन फोटो–सेयरिङ सुविधा अझै विकासको क्रममा छ ।

बीमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छः अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा हस्तक्षेपकारी नियमनभन्दा पनि संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको सम्मान तथा ‘अबको बीमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बीमा क्षेत्रको योगदान विश्लेषण गर्नुका साथै सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्या समाधान गर्न नियामकीय कदम चालिने बताए । 

“बीमा क्षेत्रमा ‘अन्डरराइटिङ’ का विषयमा देखिएका समस्या समाधानमा नियामकको हस्तक्षेपकारी भूमिकाबाट मात्रै हुने नभई बीमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन पनि कायम राख्नुपर्छ । यस क्षेत्रले राष्ट्र निर्माणमा पुर्याउनसक्ने योगदानलाई केन्द्रमा राखेर हामीले आवश्यक नियामकीय हस्तक्षेप गर्छौं”, अध्यक्ष ओझाले भने । विगतमा भएका असल अभ्यासको निरन्तरता र सुधारका प्रयासलाई थप व्यवस्थित एवं परिस्कृत बनाउँदै लगिने उनले प्रतिबद्धता जनाए ।

बीमा क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थकर्ता, सर्भेयर सङ्घलगायत सरोकार भएका निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको उनले जानकारी दिए । बीमा संस्थाको वित्तीय अवस्था बलियो बनाउन सबै क्षेत्रबाट पहल हुनुपर्नेमा उनले जोड दिए ।

प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृतस्वरुपमा ल्याउन लागिएको ओझाले उल्लेख गरे । “कार्यान्वयन गर्न सहज र व्यवस्थित होस् भनेर छरिर रहेका निर्देशनहरूलाई एकीकृत निर्देशिकाका रूपमा ल्याउन लागेका छौँ । केही नियमावलीमा परेका विषयहरू पनि निर्देशिका छन्”, उनले भने,“आन्तरिक समिति बनाएर एकीकृत निर्देशिका तयार पार्ने काम सुरु भइसकेको छ । एक–दुई महिनाभित्रै यो काम सकिन्छ ।”

बीमा विज्ञ डा रवीन्द्र घिमिरेले यस क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने पार्दै सूचना प्रविधिको अधिकतम प्रयोग गर्न आवश्यक रहेको धारणा राखे । बीमा क्षेत्रमा कर्मचारीको सानो गल्तीका कारण ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक संस्था, तालिम केन्द्र तथा अनुसन्धान केन्द्रसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

बीमा कम्पनीले अस्वस्थ प्रतिस्पर्धा गरेर आफ्नो हैसियतभन्दा बढीको बीमा गर्दा समस्या भएको पनि घिमिरेको भनाइ छ । यस क्षेत्रमा सम्पत्ति शुद्धीकरणका विषयलाई पनि गम्भीरतापूर्वक हेरिनुपर्ने उनले उल्लेख गरे ।

सुनको मूल्य घट्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आइतबार ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सर्लाहीमा मापदण्डविपरीत संचालित १९ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार ती अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा ती संस्थाहरूमा देखिएका अनियमितताका कारण १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको हो । यी अस्पतालहरू सेवा सञ्चालन अनुमतिपत्र बिना वा मापदण्डविपरीत सेवा दिइरहेको पुष्टि भएपछि यो कडा कदम उठाइएको मुख्यमन्त्री सिंहले बताए ।

सिंहले भने, ‘सर्लाहीको लालबन्दी नगरपालिकाका लालबन्दीचोक र नवलपुरचोकस्थित २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेँ । तीमध्ये दुईवटासँग सेवा सञ्चालन अनुमतिपत्र दुरूस्त रहेको र दुईवटाले नवीकरण गर्नुपर्ने देखियो । सेवा सञ्चालन अनुमतिपत्र नरहेका र मापदण्डअनुसार सेवा सञ्चालन नभएका १९ अस्पताललाई बन्द गर्ने निर्देशन दिइएको छ ।’

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अगाडि सारेको छ ।

यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र अब आउने दिनहरूमा झन् बढी सर्तकता अपनाइने मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले मधेस प्रदेशका जिल्लाका निजी अस्पतालको पछिल्लो समय अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा अधिकांश अस्पताल मामदण्डविपरीत संचालन गरेको पाइएको छ ।

विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्यः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्य भएकाले प्रविधिको प्रयोग गरेर पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार लागेको बताए ।

मौसमसम्बन्धी देशको पूर्वानूमान प्रणालीलाई सबल बनाउन ‘राडार तथा सेटेलाइट’ प्रविधिको प्रयोगलाई सरकारले विस्तार गरिरहेको बताउँदै उनले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार गरिएको जानकारी दिए ।

मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा च्छोरोल्पा र इम्जा हिमतालको जलस्तर घटाउने काम सफलतापूर्वक सम्पन्न भएको बताउँदै यस्ता कार्यले हिमतालजन्य बाढी जोखिम न्यूनीकरणमा सहयोग पुगेको उल्लेख गरे ।

मुलुकका जलविद्युत् परियोजना, सिँचाइ योजना र दैनिक उपभोगका लागि उपलब्ध पानीको स्रोतको मुख्य आधार हिमनदी भएकाले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै हिमनदीहरूको संरक्षण, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम घटाउनु सरकारको पहिलो प्रमुख प्राथमिकता भएको बताए ।

जल तथा मौसम विज्ञान सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था नभएकामा मन्त्रालयको नेतृत्वमा जल तथा मौसम विज्ञान नीति, २०८१ त लागू गरिएको मन्त्री खड्काले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसम विज्ञान विभागको सेवालाई विस्तार मन्त्रालयको प्राथमिकता रहेको बताइन् ।

आयोगका सचिव मधुप्रसाद भेटुवालले जल तथा मौसम सेवा, जलवायु अनुकूलन र हिमनदी संरक्षणको क्षेत्रमा सरकारले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिए ।

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल । अन्न उब्जनी नहुने इलामको माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।

हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक  २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले  एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काइएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ ।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रुपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले सङ्गन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए ।

रकेट प्रहार भएपछि लेबनानमा इजरायली सेनाको आक्रमण

बीबीसी । इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएदेखिको यो सबैभन्दा ठूलो आक्रमण हो ।

लेबनानबाट इजरायलमा धेरै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले दक्षिणी लेबनानमा इरानी समर्थित मिलिशिया र राजनीतिक समूह हिजबुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चरहरू र कमाण्ड सेन्टरमा प्रहार गरेको बताएको छ लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई हमलामा एक बालकसहित सात जनाको मृत्यु भएको र ४० जना घाइते भएका बताएको छ । लेबनानमा धेरै सशस्त्र समूहहरू सक्रिय छन्, जसमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू समावेश छन्, र कसैले पनि आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

पहिलो आक्रमणको केही घण्टा पछि, इजरायली सेनाले कमाण्ड सेन्टर, पूर्वाधार साइटहरू र लेबनानमा हतियार भण्डारण सुविधासहितमा लक्षित दोस्रो आक्रमण गरेको छ ।

इजरायलले गाजामा हिज्बुल्लाहको सहयोगी हमास विरुद्धको आक्रमणलाई बलियो बनाएको केही दिनपछि लेबनानबाट शनिबारको रकेट आक्रमण भएको हो ।

इजरायली सेनाले उत्तरी इजरायली शहर मेतुलामा तीनवटा रकेटहरू रोकेको बताएको छ र कुनै हताहत भएको छैन । हिजबुल्लाहले आफ्नो कुनै संलग्नता नभएको बताएको छ र यो युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ ।

चलचित्रमा कलाकारिताको वर्गीकरण

काठमाडौँ । एउटा चलचित्रमा भिन्नभिन्न भूमिकामा धेरै कलाकार हुन्छन् । कोही मुख्यमा, कोही सहायकमा र कोही नकारात्मक (भिलेन) भूमिकामा दर्शकले बुझ्ने गरेका छन् ।

विशेषतः कथालाई अगाडि बढाउने र सकारात्मक रुप दिने पात्रलाई ‘हिरो’ भन्ने गरिन्छ । तर, नाटकमा यस्तो हुँदैन, सबैको समान भूमिका हुन्छ ।

त्यसो भए चलचित्रमा कलाकारिता गर्ने कलाकारलाई किन विभाजन गरिन्छ ? निर्देशक दीपक रौनियारले थापागाउँस्थित मण्डला नाटकघरमा चलिरहेको ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ मा आयोजित अन्तरक्रियामा नेपाल र भारतमा बन्ने चलचित्रमा मात्र मुख्य, सहायक जस्ता शब्द अभिनेता वा अभिनेत्रीको अघि जोडिने गरेको बताए ।

उनले भने, “मैले नेपाल र भारतमा बनेकाभन्दा बाहिरका चलचित्रमा अभिनेताको वर्गीकरण देखेको छैन । यसलाई बढाउन अवार्डको पनि भूमिका हुन्छ जस्तो लाग्छ । अवार्डमा हास्य, सहायक, मुख्य भनेर दिने गरिन्छ । त्यसले विस्तारै हामीलाई अभिनयको वर्गीकरणबारे प्रभाव पारेको हुनसक्छ ।”

नाटक र चलचित्र दुवैमा अभिनय गरेका अभिनेता आशान्त शर्माले अभिनयलाई चलचित्रमा वर्गीकरण गर्नु गलत भएको बताए । कथामा सबै पात्रको महत्त्वपूर्ण प्रभाव रहेने भन्दै सहायक वा सहयोगी भनेर कुनै कलाकारलाई सीमित र कसैलाई मुख्य भनेर असिमित दृश्य दिन नहुने उनले बताए ।

“छोटो समयका लागि चलचित्रमा देखिने कलाकारलाई सहायक बनाएर प्रस्तुत गरिन्छ । यो प्रचलन सही हो जस्तो लाग्दैन, नाटकमा सबै समान हुन्छन् भने चलचित्रमा किन हुनसक्दैनन् ? यसमा लेखकसँगै निर्देशकको कमजोरी हुनसक्छ । चलचित्रमा सबैले उत्तिकै मेहिनतका साथ काम गरेका हुन्छन् तर मुख्य र सहायकको नाममा विभाजन गरिन्छ”, अभिनेता शर्माले भने ।

उनले यसको प्रभाव पारिश्रमिकमा पारिरहेको भन्दै यो दुःखद विषय भएको बताए। अन्तरक्रियामा निर्देशक निश्चल बस्नेतले कुनै कलाकारले सङ्घर्ष गर्दै आफ्नो बजार प्रभाव तयार गरेर मुख्य पात्र बन्नु गलत नरहेकामा जोड दिए । उनले बजारमा माग हुँदै गएपछि कलाकारको दृश्य चलचित्रमा बढ्ने बताए ।

“स–साना भूमिका देखिएर प्रमुख भूमिकामा अभिनय गर्ने कलाकार धेरै हुनुहुन्छ हामीसँग । यो हामीले दिएको भन्दा पनि कलाकारले गरेको अभिनयको उपलब्धि हो । म कथा लेख्दा होस् वा पात्र सिर्जना गर्दा त्यसको प्रभावसँगै कथा अगाडि बढाउन चाहिने तत्वलाई जोड्ने गर्छु । आवश्यकता अनुसार कथामा कलाकार राखिने हुँदा मेरा लागि सबैको सहभागी उत्तिकै महत्त्वपूर्ण हुन्छ, तर बजारका कारण कोही अगाडि वा मुख्य बन्ने गरेका छन्”, निर्देशक बस्नेतले भने ।

उनले आफूले कलाकारलाई पारिश्रमिक दिँदा पनि उक्त कलाकारले दिने समय र चलचित्रमा गर्ने कामका आधारमा निर्धारण गर्ने गरेको बताए ।

निर्देशक रौनियारले चलचित्रमा सबैको भूमिका महत्त्वपूर्ण भए पनि दर्शकको ध्यान कुनै एउटा पात्रमा जानु स्वाभाविक रहेको बताए । “जसरी फुटबल खेल्दा सबैको सहभागिता महत्त्वपूर्ण भएपनि कुनै खेलाडी विस्तारै आफूलाई अगाडि ल्याउँदै धेरैको रोजाइमा पर्नुहुन्छ, चलचित्रमा पनि त्यस्तै हुन्छ । त्यसलाई हामीले अन्यथा बुझ्नु हुँदैन”, उनले भने ।

अन्तरक्रियामा सहभागी अभिनेत्री केकी अधिकारीले महिला कलाकार सधैँ सहयोगी वा सहायकको रूपमा चलचित्रमा प्रस्तुत हुने भन्दै नयाँ पुस्तामा यो विस्तारै कम हुँदै गएको बताइन् । कतिपय आफूले गरेका कामहरू अहिले हेर्दा ती महिला कलाकारको रूपमा मुख्य भए पनि कथाका हिसाबले सहायक वा सहयोगी भएको उनको बुझाइ छ ।

“धेरै चलचित्रमा महिला कलाकारको काम भनेकै मुख्य अभिनेतालाई सहयोग गर्ने किसिमको हुन्छ । कथालाई अगाडि बढाउन एउटा महिला पात्र चाहिने भएकाले त्यहाँ अभिनेत्री हुन्छन्, उनीहरूको आफ्नै कथा वा उपस्थिति निकै कम चलचित्रमा पाइन्छ । त्यसकारण मलाई अधिकांश महिला कलाकारहरू अभिनेत्री भए पनि सहायक भूमिकामा हुन्छन्, मेरो हकमा मैले गरेका कामको मूल्याङ्कनका आधारमा यो भनिरहेकी छु”, अभिनेत्री अधिकारीले भनिन् ।

झन्डै एकदशक अगाडि ‘चारुमती’ नामक नाटकमा अभिनय गरेकी अभिनेत्री अधिकारी त्यसपछि रङ्गमञ्चमा प्रस्तुत भएकी छैनन् । चलचित्रमार्फत अभिनय प्रारम्भ गरेकाले नाटकमा दिनुपर्ने समय र चाहिने धर्यताका कारण आफू रङ्गमञ्चको अभिनयमा फर्किन नसकेको उनले बताइन् ।

बाह्र देशका १७ नाटक सहभागी निटफेस्टमा कला प्रदर्शनी, सङ्गीत, नृत्यलगायत गतिविधिसँगै परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको महोत्सव निर्देशक अभिनेता दयाहाङ राईले जानकारी दिए । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित लोकनृत्य, लोकसङ्गीतदेखि चित्रकलासम्मका अन्य गतिविधि समावेश भएको महोत्सव यही चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

सिरहामा जातीय विभेदको घटनामा पीडित परिवारबाट तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए । उनले भने,’पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।’

दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ ।

औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ । बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातिय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ । त्यसैगरी राष्ट्रय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन् ।

टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीको आन्तरिक सङ्कट गहिरिएको छ ।

हजारौँ  मानिस सडकमा ओर्लिएका छन् र धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप र गिरफ्तारी भएको छ।

राजनीतिक उथलपुथलका बीच टर्कीएको शेयर बजारमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो गिरावट आएको छ भने टर्कीएको मुद्रा लिरामा पनि गिरावट आएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै शुक्रबारको प्रार्थनापछि आफ्नो सरकारले ‘तोडफोड’ र ’सडकमा देखिएको आतङ्क’ विरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, ‘हामी सार्वजनिक अव्यवस्था स्वीकार गर्दैनौँ ।’

टर्कीका विपक्षी नेतालाई पक्राउ गरेपछि प्रदर्शनकारीहरु देशभरका सडकमा उत्रिएका छन् । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि सीएचपीको उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार प्रहरीले इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक दिन अघि, इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिप्लोमालाई अवैध घोषित गरेको थियो। राष्ट्रपति पदका उम्मेदवारका लागि विश्वविद्यालयको डिग्री वा डिप्लोमा अनिवार्य छ ।

सीएचपीको राष्ट्रपति मनोनयनको चुनाव आइतबार हुन गइरहेको छ, जसमा १५ लाख सदस्यहरूले मतदान गर्नेछन् र इमामोग्लु एक मात्र उम्मेदवार हुनुहुन्छ ।इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

टर्कीमा प्रदर्शनमा लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीहरू शुक्रबार तेस्रो दिन पनि सडकमा उत्रिएका छन् । टर्कीएको गृह मन्त्रालयले बिहीबार ५३ र शुक्रबार ९७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । प्रशासनले अनुसन्धानको सिलसिलामा इमामोग्लुसहित १०० भन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरूलाई गिरफ्तार गरेको छ ।

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् ।

प्रेस सेन्टरले फुङलिङमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो सुझाव दिएका हुन् ।

‘पाथीभरा राष्ट्रको धार्मिक धरोहर हो, यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी हो,’ उनले भने ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।

स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र समूहको जितले मात्र क्याम्पसमा शैक्षिक वातावरण बन्छः सभापतिका उम्मेदवार बोहरा

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रत्न राज्यलक्ष्मी क्याम्पस(आरआर) मा स्ववियु सभापतिका उम्मेदवार हर्कबहादुर बोहराले स्वतन्त्र विद्यार्थी समूहको प्यानलको जितले मात्रै क्याम्पसको शैक्षिक वातावरण बन्ने दाबी गरेका छन् ।

स्वतन्त्र समूहको प्यानलबाट सभापतिका उम्मेदवार बोहराले क्याम्पसमा दलगत हस्तक्षेप हुन नदिन स्वतन्त्र समूहको जित आवश्यक भएको बताएका हुन् ।

दलका भातृ संगठनका कारण क्याम्पसमा तालाबन्दी, गुण्डागर्दी र अराजकता बढेको उनको भनाई छ । विद्यार्थीले कक्षाकोठामा भोगिरहेका समस्या समाधानका लागि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदै आएका बोहराले विद्यार्थीका समस्या समाधान गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

बोहराले उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले आरआर क्याम्पससम्म आइपुगेका विद्यार्थीहरुलाई विषयवस्तुलाई सहयोग पुग्ने गरि हरेक वर्ष विद्यार्थी, शिक्षक र क्याम्पस प्रशासनसँगको समन्वय र सहकार्यमा निः शुल्क अतिरिक्त अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

विद्यार्थी नेतृत्वले व्यक्तिवादी प्रवृत्ति भन्दा माथि उठेर विधि पद्धति र थिति कायम गर्नुपर्ने उनको भनाई छ । अनुशासित विद्यार्थी र जिम्मेवार प्रशासन बनाउन बारम्बार आफूले आवाज उठाएको र त्यसको परिणाम पनि देखिएको उनी बताउँछन् । २०३६ सालदेखि करिब ५० वर्षमा पार्टीका भातृ संगठनले नगरेको कार्य आफूले यो ४ वर्षमा गरेको र बाँकी स्ववियुमा जितेपछि गर्ने संकल्प उनले गरेका छन् । चैत पाँच गते रोकिएको स्ववियु निर्वाचन आरआर क्याम्पसमा चैत १६ गते हुँदैछ ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार तनहुँको दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा उनले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे । उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुननुहुने बताए ।

महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए । उनले पार्टी बलियो हुनुपर्ने र त्यसका लागि सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको बताए ।

अझै लुट भनेर भ्रष्टलाई उर्जामन्त्री बनाइएको छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको बताएका छन् ।

तराई–मधेस जागरण अभियान अन्तर्गत शनिबार चितवनको जगतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई उर्जामन्त्री बनाइएको बताएका हुन् ।

सम्बन्धित क्षेत्रको विज्ञलाई मन्त्री बनाउनुपर्नेमा अहिले त्यसको ठिक उल्टो भएको बताए । उनले भने, ‘मन्त्रीका अनुहारहरू हेर्नुभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर । अनि काम गर्नेलाई उसले कोपरेको छ ।’

प्रचण्डले करोडौं खर्च गरेर सांसद बन्ने र ती सांसद नै मन्त्री बन्ने प्रणाालीले भ्रष्टाचारको रोग फैलिएकाले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘वडाध्यक्ष जित्न दुई–तीन करोड, पालिका जित्न पाँच–सात करोड, प्रदेश सदस्य जित्न आठ–१० करोड र संघीय संसद जित्न पनि करोडौं खर्च गर्नुपर्ने निर्वाचन प्रणाली जनमुखी भएन, यसलाई परिवर्तन गर्नुपर्छ ।’

उनले जनताले अबको भरोक्ष्सा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको दाबी गरे । प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’

उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए ।

उनले भने, ‘जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन् । तपाईंहरुले सुन्नुभएकै होला ।’

प्रचण्डले सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको र चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गरे ।

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले तीन दिने शोकको घोषणा गरेको छ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजन मार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटामा रहेको मस्जिदमा भएको ‘बर्बर’ आक्रमणमा उनीहरुको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएको जनाएको छ। मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो।

आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ। सरकारले अपराधीहरूको खोजी गरी उनीहरूलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएकोे छ।

मन्त्रालयका अनुसार इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध समुहहरू वर्षौँदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानाको नजिकको क्षेत्रमा आक्रमण भएको हो।

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । शनिबार पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् ।

यसैबिच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान : ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । जलशक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीव्र सामुदायिक पहल’माथि जोड दिएको छ ।

अभियानले जलवायु परिवर्तन र बढ्दो जलजन्य चुनौतिको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको सञ्चयलगायतलाई जोड दिएको छ । अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हितग्राहीहरूबिच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ ।

अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो । अभियानले नागरिकलाई जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न आह्वान गरेको छ । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा वार्षिक रुपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।

पूर्वविशिष्टहरुलाई मानसम्मान गर्नु ठीक भएपनि सुविधा भने दिन नहुने स्वास्थ्यमन्त्रीको भनाई

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था नहुने बताए ।

राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भएपनि सुविधा भने दिन नहुने बताए ।
उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैंले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ’, उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए ।

उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए ।

उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।

कसैले कसैको पनि कुभलो नचिताओस्: पूर्वराजा शाह

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । शनिबार गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले अहिले देशमा शान्ति चाहिएको बताएका हुन् ।

लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको भन्दै पूर्वराजा शाहले भने, ‘कसैले केही गर्नलाई डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् । कसैले कसैको पनि कुभलो नचिताओस् ।’

मन्दिर पूजाअर्चनका लागि पूर्वराजा पुग्दा त्यहाँ स्थानीयले स्वागत गरेका थिए । त्यसक्रममा उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

राजतन्त्रको विषयमा कल्पना गर्नु भ्रम मात्रै होः बाबुराम भट्टराई

जनकपुरधाम । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूतमा परिणत भइसकेको बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले राजतन्त्रको विषयमा कल्पना गर्नु भ्रम मात्रै रहेको बताए ।

उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने तथा उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नभएको बताए । अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा, र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरे ।

उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन । मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन् र तिनलाई छलकपट गर्न अब कठिन छ । लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ । राजतन्त्र भूत हो— भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’

उनले भ्रष्टाचार र बेथिति सम्बन्धमा प्रस्ट धारणा राख्दै भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो । तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे । त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनताले पढ्न र लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो । राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो ।’

संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताए ।

उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए ।

सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए ।

संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताए ।

सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताए ।

जापान, चीन र दक्षिण कोरिया शान्ति र सहयोग प्रवर्द्धन गर्न सहमत

जापान । चीन, जापान र दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञको बैठकले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको निष्कर्ष निकालेको छ ।

गत बर्षको मे महिनामा सियोलमा भएको दुर्लभ त्रिपक्षीय शिखर सम्मेलनपछि शनिवार भएको वार्तामा ऐतिहासिक र क्षेत्रीय विवादबाट गुज्रिरहेका छिमेकीहरू सम्बन्धलाई प्रगाढ बनाउन सहमत भएका हुन् । उनीहरूले कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणको आफ्नो लक्ष्यलाई दोहोर्‍याएका छन् ।

उत्तर कोरियाले गरेको हतियार परीक्षण र युक्रेनविरुद्धको रुसको युद्धलाई समर्थन गर्न उसले तैनाथ गरेको सेनाको तैनाथीबारे चिन्ता बढिरहेका बेला यस क्षेत्रमा अमेरिकाले व्यापार कर वृद्धि गरेको छ ।

‘कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्नु तीनै देशको साझा हित र जिम्मेवारी हो भन्ने कुरामा हामीले पुनः पुष्टि गरेका छौँ,’ दक्षिण कोरियाका राष्ट्रपति चो ताइ–युलले शनिवार भने, ‘यसका साथै मैले रुस र उत्तर कोरियाबीचको अवैध सैन्य सहयोग तत्काल रोक्नुपर्नेमा जोड दिएको छु ।’

सियोल र टोकियोले प्योङयाङको सबैभन्दा महत्वपूर्ण सहयोगी र आर्थिक हितैषी रहेको चीनभन्दा उत्तर कोरियाविरुद्ध बलियो अडान लिने गरेका छन् । जापानका विदेशमन्त्री ताकेशी इवायाले आफू, चो र चीनका विदेशमन्त्री वाङ यीबीच त्रिपक्षीय सहयोग र क्षेत्रीय अन्तर्राष्ट्रिय मामिलामा स्पष्ट विचार आदानप्रदान भएको बताए । ‘हामी भविष्य–केन्द्रित सहयोगलाई बढावा दिनेछौँ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् गम्भीर बन्दै गएको छ र हामी इतिहासको एउटा निर्णायक मोडमा छौँ भन्नु अतिशयोक्ति होइन ।’

बैठकमा जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र व्यापारलगायतका विषयमा शनिबार छलफल हुनुका साथै विपद् राहत र विज्ञान तथा प्रविधिमा मिलेर काम गर्ने विषयमा छलफल हुने अधिकारीहरूले बताएका छन् ।

हालैका हप्ताहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र केही हदसम्म दक्षिण कोरिया र जापानमाथि लगाएको करको मारले यी तीनै मुलुकलाई प्रभावित बनाएको छ । कुनै पनि मन्त्रीले प्रेसलाई दिएको बयानमा यस मुद्दालाई प्रत्यक्ष रूपमा सम्बोधन गरेनन् ।

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले इरानी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताएका छन् ।

एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले ट्रम्पले इरानको सरकारलाई हालै लेखेको पत्रलाई धम्कीको रुपमा नराखिएको बताए ।

संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि दुश्मनी रहेको छ । गाजामा लक्ष्यमा नयाँ इजरायली आक्रमण र यमनको इरान समर्थित हुथी विद्रोहीहरूको मालबाहक पानीजहाजलाई धम्की दिएपछि सम्बन्धमा नयाँ समस्या देखिएको छ ।

गत मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र लेख्दै इरानी आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न आग्रह गरेका थिए ।

उनले सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिएका थिए। खामेनीले शुक्रबार टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुर्‍याउँदैन ।’

ट्रम्पको पहुँचको बचाउ गर्दै विट्कोफले कार्लसनसँग भने, ‘ट्रम्पको सेनामा उच्च हात छ र इरानीहरूले कूटनीतिक समाधानका लागि दबाब दिनु स्वाभाविक हुनेछ तर उहाँले त्यसो गरिरहनुभएको छ,’ उनले पत्रको बारेमा भने।

‘पत्रमा राष्ट्रपति ट्रम्पले ‘म शान्तिको राष्ट्रपति हुँ। म यही चाहन्छु । हामीले सैन्य रूपमा यसो गर्नुपर्ने कुनै कारण छैन। हामीले वार्ता गर्नुपर्छ,’ भन्नुभएको छ,’ विटकोफले भने ।

उनले भने, ‘हामीले प्रमाणीकरण कार्यक्रम सिर्जना गर्नुपर्छ ताकि कसैले पनि तपाईंको आणविक सामग्रीको हतियारीकरणको बारेमा चिन्ता नगरोस् किनभने यो धेरै राम्रो विकल्प होइन।’

विटकोफले भने, “इरानसँग अमेरिकी वार्ता धेरै मुलुक र धेरै माध्यम वा ‘अप्रत्यक्ष च्यानल’, मार्फत जारी छ ।”

उनले भने, “इरानसँग सबै कुरामा सफाइ लिने अवसर खुला छ । यसले उनीहरूलाई विश्व समुदायबाट टाढिएको सम्बन्धलाई जोड्नेछ र एक पटक फेरि एक महान राष्ट्र बन्नाउनेछ । ट्रम्पले इरानीहरूसँग भरोसा बढाउन चाहनुहुन्छ।”

गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’: थाइल्याण्ड

बैंकक । गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ ।

गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भंग भएपछि इजरायलले मंगलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरीमा युद्धविराम लागू भएयताको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजा क्षेत्रमा शत्रुताको पुनरागमनप्रति थाइल्याण्ड निकै चिन्तित र निराश छ ।”

दक्षिणपूर्वी एशियाली राष्ट्रले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न र युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ ।

थाइल्याण्डले गाजामा रहेका एक जना थाइसहित बाँकी बन्धकहरूको रिहाइ र दुई जना थाई नागरिकको शव फिर्ता गर्न माग गरेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा ३१ जना थाईनागरिकको अपहरण गरिएको थियो, जसमध्ये २३ जनालाई सोही वर्षको अन्त्यसम्ममा रिहा गरिएको थियो भने मे महिनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

जनवरीमा भएको युद्धविरामको एक भागको रूपमा फेब्रुअरीमा अपहरणमा परेका थप पाँच थाईहरू घर फर्केका थिए । एक थाई नागरिक अझै गाजामा जीवित रहेको विश्वास गरिएको छ।

खोटाङमा भएका बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु

खोटाङ । बेग्लाबेग्लै घटनामा यहाँ दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको छ।

आज बिहान ४ बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौँ लाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चितवन । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए । 

छावाको नामकरण बाह्रौँ दिनमा गरिनेछ ।  केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् ।

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् ।