`

ट्रम्प प्रशासनले चार देशका पाँच लाख भन्दा बढी आप्रवासीको कानुनी मान्यता खारेज गर्ने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ ।

अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी अप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ ।

ट्रम्पका पूर्वर्ती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत ती देशहरूबाट ५ लाख ३० हजार मानिसहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो ।

उनीहरूलाई कानुनी रूपमा अमेरिका बसाइसराइका निम्ति बाटो खोल्ने उद्देश्यले बसोबास अनुमति दिइएको थियो । उक्त कार्यक्रमलाई सीएचएनभी भनिन्छ र त्यसमा ’स्पोन्सरशीप’ प्रक्रियाका माध्यमबाट मानिसहरूलाई अमेरिकामा बसोबास गर्न दिइएको थियो ।

ट्रम्पले कार्यभार सम्हालेपछि त्यो कार्यक्रमलाई रद्द गरिदिएका छन् । ती आप्रवासीमध्ये कतिले अन्तरिम परिस्थितिमा अमेरिकामा बस्नका लागि कानुनी बसोबासको अनुमति लिने सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन ।

बाइडनका पालामा सन् २०२२ मा उक्त कार्यक्रम सुरु भएको थियो । अन्य देशहरूमा विस्तार गर्नुअघि सुरुमा भेनेजुएलाका नागरिकका लागि त्यो लागु भएको थियो । उक्त कार्यक्रम अन्तर्गत आप्रवासी र उनीहरूका नजिकका पारिवारिक सदस्यलाई अमेरिकी ‘स्पोन्सर’ भए दुई वर्षका लागि अमेरिकामा बस्ने अस्थायी आप्रवासन सुविधा दिइएको थियो। त्यसलाई ‘परोल’ भनेर चिनिन्छ ।

बाइडन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पुर्याउने तर्क गरेको थियो ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शुक्रबार पहिलेको प्रशासन आफ्नो उक्त लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ ।

महायज्ञ विवाद प्रकरणः दीपक मरिकको परिवार विस्थापित

सिरहा । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् । असुरक्षा बढ्न थालेपछि दीपककी श्रीमती अनिता मरिक सिरहा नगरपालिका १९ सन्हैठामा आफन्तका बस्न गएकी छन् । दीपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गरेको स्थानीयले बताएका छन् ।

उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए । प्रहरीले सुरक्षाका कारण दीपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा प्रहरीले सुरक्षा व्यवस्था बढाएको छ ।

मरिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ । औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मरिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो।

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुर । राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको शनिबार बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए ।

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका .थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।

टडकमा पैसा ओसार्ने काम सकाए हुन्छ….

के-के खानुछ कसकसलाई , खाए हुन्छ
भारतले सरकार अहिले नपर्ने रैछ !

टडकमा पैसा ओसार्ने काम सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

पाँचसय किलोका माला अझै लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ!

कुलमान खेद्ने खाडल अझै गहिरो बनाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

संसद बन्द गरेर अध्यादेश अझै ल्याए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

लुकाउन बाँकी भए-
भ्रष्टाचारका फाइल अझै लुकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

खतरा छ राजनेताहरुलाई कुलमान, बालेन हर्कबाट-
पाँच पाँच जिल्लामा पाँचपाँच मुद्दा लाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

देश अब कलिकति बाँकी छ, बाँकी किन राख्नु सकाए हुन्छ
भारतले सरकार अहिले नफेर्ने रैछ !

-कवि अर्जुन पराजुली

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

मुस्ताङ । जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव पर्दै गएको छ। जलवायु परिवर्तनकै कारण हिमाली जिल्ला मुस्ताङको जनजीवनसमेत प्रभावित भइरहेको छ। असमान मौसम परिवर्तन, प्राकृतिक प्रकोप, अनियमित हिमपात हुने र कुनै वर्ष हिउँ नै पर्न नसक्नेजस्ता प्राकृतिक प्रकोपको समस्या झेल्नुपर्ने अवस्था विद्यमान छ।

जलवायुकै कारण पछिल्लो समय हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै जान थाले भने हिमनदीको स्रोत पनि सुक्दै जान थालेका छन्। यसरी जलवायु संकटकै कारण हिमाली जिल्ला क्षेत्रको कृषि र पशुपालनलगायत क्षेत्रमा यसको नकारात्मक असरहरू देखिन थालेको छ।

जलवायु संकटकै यस्तै एउटा पीडा थेगिरहेको छ मुस्ताङको सम्जुङ गाउँ। लोमान्थाङ गाउँपालिका– २ मा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ गाउँ विगत डेढ दशकअघिदेखि मानवविहीन अवस्थामा छ। त्यहाँ १८ घरधुरी थिए। अहिले त्यहाँ पुरानो शैलीका परम्परागत घरहरू जीवितै छन्।

सम्जुङमा पूर्ववत् अवस्थामा घरहरू यथास्थितिमा रहे पनि त्यहाँका मानिसहरू त्यहाँबाट विस्थापित भइसकेको पनि करिब डेढ दशक भइसकेको छ। त्यहाँ बर्खायाममा भेडाच्याङ्ग्रा, याक र चौँरी रेखदेख गर्ने केही घरधुरीका कुरुवा बस्ने गरेको पाइएको छ। त्यसबाहेक लोमान्थाङ– २ को सम्जुङ बस्ती मानवविहीन रित्तो अवस्थामा छ।

जोमसोम–कोरला मुख्य राजमार्ग सडकबाट झन्डै पाँच घण्टा पैदल हिँडेर पुग्न सकिने मुस्ताङको सम्जुङ गाउँ भौगोलिक रूपमा निकै नै पिछडिएको र विकट स्थानमा अवस्थित छ। त्यहाँ डेढ दशकअघि स्थानीय घरधुरीले कृषि र पशुपालन व्यवसाय गरी बस्ने गर्थे। त्यहाँ कृषि र पशुपालनमा समस्या देखिन थालेपछि त्यहाँका स्थानीय घरधुरीले बस्ती स्थान्तरणको मार्ग रोजे। जलवायु परिवर्तनकै कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि त्यहाँको सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो। यसैका कारण जलवायु अनुकूलका लागि त्यहाँका स्थानीय नागरिकहरू त्यहाँबाट बसाइँसराइ बाटो रोजे।

अग्लो पठार नांगाे डाँडाकाँडाको फेदमा अवस्थित उपल्लो मुस्ताङको सम्जुङ बस्तीले जलावायुको संकट थेगिरहँदा त्यहाँका स्थानीय नागरिकलाई दैनिक जीविकोपार्जनमा निकै नै ठुलो चुनौतीहरूको सामना गर्न बाध्य भए। यिनै जलवायु संकटले गर्दा सिँचाइ, खानेपानी र चरन क्षेत्र असहज हुँदा बस्ती रित्तिन पुगेको हो।

जलवायुपीडित सम्जुङ गाउँ कहाँ सर्‍यो ?

उपल्लो मुस्ताङस्थित लोमान्थाङ– २ को सम्जुङ गाउँ डेढ दशकअघिदेखि सोही वडाको नामासुङ भन्ने स्थानमा स्थानान्तरित भएको छ। त्यहाँका कुल १८ घरधुरीका पूरै नागरिक नामासुङमा सरेर नयाँ बस्ती निर्माण भइसकेको छ। राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य सडकमार्गदेखि नजिकै छोसर खोलाको पूर्वतर्फको स्थानमा सम्जुङ बस्ती नामासुङमा स्थान्तरित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए।

मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टका नाममा रहेको करिब एक सय रोपनी लालपुर्जावाला बाँझो जग्गा जलवायुले विस्थापित बस्ती सम्जुङ गाउँलाई निःशुल्क दान गरेपछि त्यहाँ नयाँ बस्ती बसेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ। त्यहाँ जलवायुले विस्थापित बस्ती सम्जुङको प्रत्येक घरधुरीलाई चार चारआना क्षेत्रफलमा टहरा निर्माण गर्ने र बाँकी क्षेत्रफलमा खेती गर्ने सुविधा उपलब्ध भएको अध्यक्ष विष्टले उल्लेख गरे।

मुस्ताङी राजाले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा सम्जुङ गाउँलाई उपलब्ध गराइएपछि त्यहाँ १८ वटै घरधुरीले समान आकारको उस्तै प्रकृतिका घरटहराहरू निर्माण गरेका थिए। लोमान्थाङ गाउँपालिका– ५ लोमान्थाङका पूर्ववडाध्यक्ष नवाङकुंगा लामा विष्टको समन्वय र सहकार्यमा त्यहाँ नयाँ बस्ती संरचना निर्माण भएको हो। पूर्ववडाध्यक्ष विष्टका अनुसार सम्जुङबाट विस्थापित बस्तीलाई पुनर्वासको व्यवस्थापन गर्न स्थानीय घरधुरीसँग लागत साझेदारी गरी त्यहाँ घरटहरा निर्माण भई नयाँ बस्ती बसेको हो। त्यहाँ एक स्विट्जरल्यान्डको एक संस्थाको ५० प्रतिशत र स्थानीय घरधुरीको ५० प्रतिशत लागत साझेदारी रहने गरी डेढ दशकअघि त्यहाँ बस्ती स्थान्तरण भएको लोमान्थाङ– ५ का पूर्ववडाध्यक्ष विष्टको भनाइ छ।

बस्ती स्थान्तरणका लागि आफूले व्यक्तिगत रूपमा पहल गरेको वडाध्यक्ष विष्टले खुलाए।

लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जलवायुकै संकटले त्यहाँका कृषि र पशुपालन प्रणालीमा प्रत्यक्ष/परोक्ष असर देखिएकाले नामासुङमा बस्ती स्थानान्तरण हुन पुगेको बताए। प्राकृतिक स्रोतहरूको अभाव हुँदै जानु र त्यहाँबाट केही सहज स्थानमा बसोबास गर्ने मनसायका कारण त्यहाँका घरधुरी नामासुङमा बस्ती सरेको आफूले बुझेको बताए।

नामासुङमा स्थानान्तरण भएका घरधुरी कहिलेकाहीँ सम्जुङ गाउँमा पशुचौपाय लिएर जाने र त्यहाँको गोठमा गएर बस्ने गरेको लोमान्थाङका निमित्त प्रशासकीय अधिकृत केसीले उल्लेख गरे। नयाँ स्थानान्तरण भएको बस्ती नामासुङ पुग्न जोमसोम–कोरला सडकमार्गबाट १५ मिनेटको पैदल हिँडेर पुग्न सकिने उनले बताए।

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि इन्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव, २०२५ सुरू भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भारतको उत्तराखण्ड प्रदेश सरकारको संयुक्त आयोजनामा सुरू महोत्सवको शुक्रबार साँझ उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरेका छन् ।

सात दिनसम्म चल्ने महोत्सवमा नेपाली व्यवसायीका ५० र भारतीय व्यवसायीका एक सय ५० प्रदर्शनी कक्ष छन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले दुई देशका व्यवसायी सहभागी यस महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए । “दुवै देशको सांस्कृति र भावनात्मक सम्बन्ध थप बलियो बनाउनका लागि यो महात्सव फलदायी हुनेछ, आर्थिक सम्बन्ध थप बलियो हुनेछ”, उनले भने ।

उनले दुई देशबीचको सीमामा रहेको वनबासा नजिकको पुलबाट आवातजावत गर्ने समय दैनिक चार घण्टाबाट बढाएर सात घण्टा बनाइएको र आगामी दिनमा समयसीमा अझै बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मेला दुवै देशका व्यापारी, कालीगढको विकासका लागि सहयोगी हुनेमा विश्वस व्यक्त गर्दै यो मञ्च आर्थिक सम्बन्ध बलियो बनाउन माध्यम हुने बताए ।

“हामीले उत्तराखण्ड र नेपालबीच कारोबार सहज बनाउनका लागि विभिन्न पूर्वाधार निर्माण गरेका छौँ, यसबाट दुवै देशका व्यवसायी र नागरिकले आर्थिक लाभ लिन सक्नेछन्”, उनले भने । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले महोत्सव दुई देशबीचको सम्बन्ध आर्थिक रूपमा बलियो बनाउने आधार भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले महोत्सवले दुवै देशबीच व्यापार अभिवृद्धि गर्नुका साथै पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए ।

“देहरादून ठूलो सङ्ख्यामा नेपालीभाषी भएको ठाउँ हो, नेपालमा उत्पादित कृषि उपजको व्यापारका लागि यो राम्रो बजार बन्न सक्छ र यहाँबाट सुदूरपश्चिम र समग्र नेपालमा भारतीय पर्यटक बढाउन पनि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ”, उनले भने ।

उनले कञ्चनपुर जिल्लासँग जोडिएको भारतको वनबसास्थित नेपाल–भारतबीचमा रहेको शारदा ब्यारेजको पुल दैनिक नौ घण्टा खुला गर्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष आग्रह गरे ।

“नेपाल–भारतबीचको व्यापरिक सम्बन्धले आर्थिक रूपान्तरण आयआर्जन र वस्तु तथा सेवाका विविधिकरणमा सहयोग पुर्याउँछ”, उनले भने, “दुई देशबीचमा रहेको सामाजिक धार्मिक सम्बन्धले हरिद्वारदेखि मुक्तिनाथ, केदारनाथदेखि पशुपतिनाथलगायतमार्फत धार्मिक पर्यटनको प्रवद्र्धन गरी व्यापार र आर्थिक उत्पादनलाई बजारीकरण गर्न आवश्यक छ ।”

महोत्सवमा, काठमाडौँ, चितवन, पाल्पादेखि सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा उद्यमी सहभागी मेला उत्पादनको बजारीकरण तथा प्रवद्र्धनको उपयुक्त थलो भएको अध्यक्ष जोशी भनाइ छ । उनले महोत्सव आयोजनाका लागि उत्तराखण्ड सरकारको सहयोग र सद्भावका लागि धन्यवाद दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले यसअघि सन् २०१७ र २०१८ महोसत्व आयोजना गरिएको र यसले दुई देशबीच व्यापार तथा व्यवसाय सहज भएको बताए । महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको उनको भनाइ थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सदस्य तेज चन्दले दुई देशबीचको मैत्रीपूर्ण महोत्सवले दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवद्र्धनमा एकापसमा हातेमाले गरेर जानुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

महोत्सवमा सहभागी व्यवसायी माधव जोशीले महोत्सवका कारण नेपाली उत्पादन प्रवद्र्धन, बजारीकरणमा सहयोग पुगेको बताए । “विगतका अनुभवका आधारमा भन्नुपर्दा भारतीय व्यापारीबाट राम्रो रिअर्डर पनि आएको थियो, महोत्सव एउटा माध्यम हो, व्यापारिक सम्बन्ध विस्तारको अवसर पनि हो”, उनले भने ।

हेल्प क्रसका संस्थापक तथा वीर गोरखाली कल्याण समितिका महासचिव विशाल थापाले यस प्रकारका महोत्सव दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण हुने बताए ।

उनले दुवै देशबीच धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले ‘केदारनाथ टु पशुपतिनाथ’ नाममा पर्यटन करिडोर आवश्यक भएको बताए ।

“दुवै तीर्थस्थल हाम्रा लागि निकै महत्त्वपूर्ण छन्, यी दुवै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न करिडोर बनाउने विषयमा उत्तराखण्ड सरकार र नेपाल सरकारबीच छलफल जरूरी छ, ट्राभल कम्पनीहरूले पनि सोहीअनुसार प्याकेज निर्माण गर्नुपर्छ”, थापाले भने ।

महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले एक करोड ५० लाख र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले एक करोड ५० लाख खर्च गरेको उनले जानकारी दिए ।

महोत्सवमा नेपालस्थित भारतीय राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्प क्रसलगायतको सहयोग रहेको छ । उद्घाटनका अवसरमा कलाकारहरूले नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति दिएका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको खेलमा नेपालले एक शून्यले जित निकालेको हो ।

नेपालको जितमा जिलस्पीजंग कार्कीले निर्णय गोल गरे । उनले खेलको १२औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालले अब एसियन कप क्वालीफायरमा मलेसियाविरुद्ध खेल्नेछ । यो खेल मार्च २५ मा मलेसियाकै मैदानमा हुनेछ ।

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वायत्मक रुपमा गर्ने निर्णयसमेत भएको छ ।

यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा मागअनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता/सहसचिव रामचन्द्र तिवारीले जानकारी दिए ।

यस्तै, पछिल्लो समय बढ्दै गएको लागुऔषध दुव्र्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधलगायत सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने निर्णय भएको छ ।

प्रहरी समायोजन कार्यलाई निष्कर्षमा पु¥याउन आवश्यक कानुन परिमार्जन तथा व्यवस्थापकीय तयारी कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ । “देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रूपमा देखिएका सुरक्षा चुनौतीहरूको विश्लेषण तथा समीक्षा गरिएको छ”, प्रवक्ता तिवारीले भने, “ बैठकमा भएका निर्णय र प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषद्मा पठाइनेछ ।”

पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधिलाई निस्तेज गर्दै विद्यमान सुरक्षा चुनौतीहरूको सुक्ष्म निगरानी तथा नियन्त्रण गरी आमनागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयबीचको सहकार्यलाई प्रभावकारी बनाउनेसमेत निर्णय भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री लेखकले प्रादेशिक आपत्कालीन गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए । “कर्णाली र सुदूरपश्चिममा प्रदेश सरकारलाई गोदामघर हस्तान्तरण गरिसकेका छौँ । अरु प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिकास्तरसम्म गोदाम सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ”, उनले भने ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा दिनेश भट्टलगायतले आआफ्नो धारणा राखेका थिए ।

‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी–नेपाल) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र युएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र यूएनडीपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सीईओ जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्न अघि बढाइएको यो परियोजनाको सफलताका लागि सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताएका छन् ।

कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रत्येकले १.५ मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप २ मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ ।

यस परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) २,५०० दिगो रोजगारी सिर्जना गर्ने र ५,००० जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवद्र्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गरिनेछ यस परियोजनाको लक्ष्य रहेको छ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ जोशीले युएनडीपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘यस परियोजनाले नेपालमा पर्यटन अनुभवलाई मात्र उन्नति गर्ने होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्छ।’

त्यसैगरी, युएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडीपीले जोडिन पाउँदा गर्व महसुस गरेको छ । यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दीगो पर्यटनलाई प्रवद्र्धन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।’

परियोजनाले नेपालको १६ औं योजना, दिगो विकास लक्ष्य (SDGs) र नेपाल पर्यटन दशक (२०२३–२०३२) परिकल्पना गरेको प्राथमिकता (२०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउनु र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउने) लाइ बल पुर्याउने बोर्डले जनाएको छ । नेपाल पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३.५ मिलियन पुर्याउने लक्ष्य लिएको छ ।

नेपाल पर्यटन बोर्ड र युएनडीपी–नेपालले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी)’ ले कोभिड–१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै १,६०० जनालाई रोजगार सिर्जना गरेको थियो ।
यस नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।

९ थान ट्याब र २७१ थान चोरीका मोबाइलसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले चोरीका २७१ थान मोबाइलसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् ।

उनीहरुबाट विभिन्न ब्राण्डका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए । चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको एसपी बोहोराले बताए ।

पृथ्वी राजमार्गको अवरोध हट्यो

तनहुँ ।  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ । राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ । विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो ।

विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो । राजमार्ग विस्तारको कामका लागि चुनपहरास्थित सडक निर्माण कार्यलाई तीव्रता दिन एक महिनासम्म आंशिक रुपमा बन्द गरिएको थियो । यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिक रूपमा बन्द गरिएकामा आजदेखि सहज रूपमा सवारीसाधन सञ्चालन हुने भएको हो ।

उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्म बन्द गरी काम गर्ने गरिएकामा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । निर्माणको काम भने जारी रहेकाले आंशिक रूपमा करिब १५ मिनेटसम्म अवरोध हुन सक्ने उनले बताए ।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाखको लागतमा निर्माण भइरहेको छ ।

भारतका नेताहरुमा नेपालको व्यवस्था नै परिवर्तन गर्ने खालको आशय देखिनँः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।

भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारत नेपालमा पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताएकी हुन् ।

भारतीय नेताहरुसँगको भेटमा व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा नभएको आफूले पाएको बताइन् ।

उनले भनिन्, ‘उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

भारत रहँदा आफूले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।

राइसिना डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यस्तै उनले कार्यक्रममा सहभागी हुन आएका विभिन्न देशका समकक्षीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

उनी मार्च १० मा भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।

जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर भएनौं भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रियामा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए ।

‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ कोइरालाले भने ।

उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको बताए ।

कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे ।

‘नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुपर्यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्यो । त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ कोइरालाले भने । कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उनको भनाइ थियो ।

ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ ।

धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माणसम्पन्न भई गत असारदेखि सञ्चालनमा आइसकेको छ ।

ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा (चार्ज) ल्याइएको छ । हाल चालु रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई उक्त स्थानमा ‘ट्यापिङ’ गरी बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको बताए ।

“हिउँदयाममा हाल देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ, यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङदीजस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझको पिक र राति चलाउन सकिन्छ, यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ”, कार्यकारी निर्देशक घिसिङले भने ।

बर्खायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यातको परिमाण बढाउन सकिने तथा हाल चालु रहेको १३२ केभी प्रसारण लाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको उनले बताए ।

प्राधिकरणले मकवानपुरको हेटौँडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) को काम गरिरहेको छ । पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गर्न हेटौँडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमता (High Temperature Low Sag-HTLs) को नयाँ तार राख्न लागेको कार्यकारी निर्देशक घिसिङले बताए ।

यसमध्ये हेटौँडाबाट बाराको पिलुवा सबस्टेसनसम्मको दुवै सर्किटको तार पर्ने काम सम्पन्न भइसकेको छ । ढल्केबरबाट सर्लाहीको लालबन्दीसम्मको एउटा सर्किटको काम सम्पन्न भएको छ । स्थानीयको अवरोधका कारण लालबन्दीभन्दा अगाडि तार फेर्ने काम रोकिएको छ । तार फेर्न लाइन बन्द (सट डाउन) गर्नुपर्ने र यसले गर्दा त्यस क्षेत्रको विद्युत् आपूर्ति नै प्रभावित हुने भएकाले काम अगाडि बढ्न सकेको थिएन । अब ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएकाले उक्त लाइनबाट विद्युत् प्रवाह गरी तार फेर्ने काम अगाडि बढाउन सकिने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

अहिले पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुँदै आएकामा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब ४०० मेगावाट प्रवाह हुन्छ । यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्मको २८८ किलोमिटर ४०० केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माणसम्पन्न भई सञ्चालनमा आइसकेको छ । हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन छ ।

यस खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, १६ तथा १७ स्थिति हटिया क्षेत्रका केही स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै करिब ८ वर्षदेखि निर्माणमा अवरोध गरिरहेका छन् । हटिया क्षेत्रमा १६ वटा र हेटौँडा–११ स्थित थानाभर्याङमा दुईवटा गरी १८ वटा टावर निर्माण गर्न बाँकी छन् । बाँकी दुईवटा टावर निर्माणाधीन छन् ।

आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजनाअन्तर्गत सुरु गरिएको हो । विश्व बैङ्कको ऋण अवधि सकिएपछि बाँकी काम हाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।

एक महिनामा आगलागीका घटनामा परी ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट  ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए । मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए ।

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् । अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट शुक्रबार विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे ।

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) रहेका छन् ।

यस्तै, चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भए ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।

२०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।

म जनतासँगै रहन्छु, २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैनः प्रचण्ड

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

प्रेस सेन्टर पर्साले वीरगञ्जमा शुक्रबार आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।’

प्रचण्डले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्काे भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे ।

‘हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,’ उनले भने ।
अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताएका थिए ।

धनुषाको मुखियापट्टीमा तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा तस्करीको सामान नियन्त्रणमा लिनकालागि प्रहरीले गोली चलाएको छ ।

मुखियापट्टी मुसहरनिया वडा नम्बर ६ बैरिया टोलमा प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करले रोकेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको प्रहरीले गोप्य सूचनाको आधारमा सामान नियन्त्रणमा लिनका लागि पुग्दा तस्करहरुले प्रहरीलाई रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । प्रहरीले हवाई फायर गरेपछि तस्करहरु फरार भएको उनले बताए ।

तस्करीका सामानहरु नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ । यद्यपि तस्करीका सामानका विषयमा प्रहरीले खुलाएको छैन ।

लेखा समितिद्वारा उजुरीहरुमाथि छानबिन गर्न सातवटा अध्ययन कार्यदल गठन

काठमाडौँ । संसदको जसार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्याउने निर्णय गरेको छ ।

समितिको शुक्रबारको बैठकले त्यसका लागि विषयगत रुपमा सातवटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकमा उनले भने, ‘सात दिनभित्र समिति सचिवालयले सबै उजुरीका सम्बन्धमा तत्तत् निकायसँग प्रतिक्रिया माग गर्ने तथा १५ दिनभित्र सबै उजुरीलाई निर्णयमा पुर्याइनेछ ।’

समितिले छानबिनका लागि छनोट गरेका उजुरीमा नेपाल टेलिकमसँग सम्बन्धित ६, धितोपत्र बोर्डसगँ सम्बन्धित पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नागरिक उड्डयन प्रधिकरण, लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमसँग सम्बन्धित ६ छन् ।

त्यसैगरी नेपाल स्काउट, नेपाल टेलिभिजन, वैदेशिक रोजगार विभाग, अर्थ मन्त्रालय, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी), क्रसर उद्योग, विद्युत् प्राधिकरण, मोबाइल बैंकिङ, दूरसञ्चार प्राधिकरण, स्वास्थ्य सेवा विभाग, पराष्ट्रमन्त्रालय, खेलकुद परिषद् तथा सहरी विकास मन्त्रालयसँग सम्बन्धित उजुरी रहेको समितिको सचिवालयले जनाएको छ ।

सरकारी जग्गा फिर्ता, केन्द्रीय अनुसन्धान ब्युरोको सिम लोकेटर खरिद, बीमा र बाटो ग्राभेलसँग जोडिएका उजुरी पनि छन् ।

विसं २०८० वैशाख १५ गते समिति गठन भएयता एक सय वटा उजुरी परेकामा समितिका सदस्य सञ्जयकुमार गौतमको संयोजकत्वमा गठित उपसमितिले ४८ वटा मात्र छानबिन गर्न सिफारिस गरेको थियो । अरु ५२ वटा उजुरी भने अख्तियारले छानबिन गरिरहेको, अदालतमा मुद्दा चलिरहेको तथा केही उजुरीमा लगाइएको आरोप आग्रह र पूर्वाग्रहबाट मात्र प्रेरित देखिएको, समितिको कार्यक्षेत्रभित्र नपरेका तथा त्यसमा सत्यताको अंश कमजोर भएको उपसमिति सदस्यहरुको भनाइ थियो ।

पोखरा र भैरहवा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता छानबिन उपसमितिलाई पनि आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउन बैठकले निर्देशन दिएको छ ।

समितिका सदस्यद्वय योगेशकुमार भट्टराईको संयोजकत्वमा भैरहवा र राजेन्द्र लिङ्देनको संयोजकत्वमा पोखरा विमानस्थल निर्माणका बखत भएको भनिएको अनियमितता छानबिन गर्न गठित उपसमितिले काम गरिरहेको छ ।

राष्ट्रको सम्पत्ति दुरुपयोग र अनियमिता नहोस् तथा भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनमा सहयोग पुर्याउने किसिमका समितिमा प्राप्त उजुरीको तत्काल छानबिन गरी निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने सदस्यहरुको भनाइ थियो ।

बैठकमा समितिका सदस्य रामकृष्ण यादवले जिल्ला प्रहरी कार्यालयको उजुरी शाखा जस्तो जुनसुकै उजरी लिँदा समितिको ओज खस्कन सक्ने हुँदा त्यो पाटोमा ध्यान पुर्याउन सुझाव दिए ।

केही सदस्यहरुले भने समितिले दिएका निर्देशनलाई सरकारले वास्ता नगरेकै कारण कार्यान्वयमा जान नसेको गुनासो गरे । उनीहरुले समितिले दिएका निर्देशन के–कति कार्यान्वयन भए नभएकाबारे सम्बन्धित निकायसँग जानकारी माग गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सदस्यहरुले देशको हित चाहने र नागरिकलाई राहत दिने हो भने समितिमा प्रवेश पाएका विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने सुझाव दिए ।

पछिल्लो समय समितिमा प्राप्त थप १६ वटा उजुरीबारे छानबिन गर्न पनि सदस्य गौतमकै संयोजकत्वमा रहेको उपसमितिलाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी पराजित

घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो । 
 लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो ।

उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९,  कमल परियारले १७ तथा कप्तान बिपिन खत्रीले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए । 

एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए । 

बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए । 

योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ । यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

नवलपरासी  । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।

पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताइन् ।  ।

पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उनले बताइन् । गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ ।

“यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकालमा यहाँ शीतभण्डार बनाइयो, जसकारण यसको प्रयोग हुनसकेको छैन । ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय हो । त्यसैले निजी क्षेत्रलाई ठेक्कामा दिएर यसको उपयोग गर्ने सोच बनाएका छौँ”, उनले भनिन् ।

गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार गरिएको बताइन् । गाउँपालिका आफैँले शीतभण्डार सञ्चालनका लागि धेरै प्रयास गरे पनि सफल नभएको उनले बताइन् ।

“किसानलाई आलु, प्याज उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानको कार्यक्रम पनि अगाडि सार्‍यौँ । त्यसका लागि चालु आर्थिक वर्षमा अनुदान दिनका लागि आलुमा १० लाख र प्याजमा रु चार लाख बजेट नै विनियोजन गरिएको छ । त्यसका लागि आवेदन पनि माग्यौँ तर किसानले चासो राखेनन्”, उपाध्यक्ष चौधरीले भनिन् ।

एक वर्षअघि शीतभण्डार गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसपछि पनि पालिकाले केही अधुरा काम सम्पन्न गरिसकेको छ ।

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताएका छन् । शीतभण्डारको क्षमता एक हजार मेट्रिक टन छ । 

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौं ।  प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधि सभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रिय सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावमाथिको छलफल सुरु भएलगत्तै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गरेकी थिइन्। उनको नियमापत्तिपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नियमावलीमा भएका व्यवस्था बाझिएकाले केही समयका लागि बैठक स्थगित भएको घोषणा गरे।

“यो विधेयक सन्देशसहित प्रतिनिधि सभाबाट आएको हो। प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रतिनिधि सभाले पठाएको हो। तर राष्ट्रिय सभा नियमावलीमा भएको व्यवस्था केही फरक रहेको र बाझिएको छ। हामीले मान्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्था हो,” उनले भने, “यस विषयमा थप केही छलफल गर्नुपर्ने भएकाले १५ मिनेटका लागि बैठक स्थगित हुन्छ।”

आजै राष्ट्रियसभामा तीन विधेयक टेबुल भएका छन्। राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका थिए।

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् ।

नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे ।

कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार तत्पर रहेकोे बताए ।

क्रान्तिका लागि तयार रहन रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछाने ले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे ।

उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । जब दुईवटा ठूला राजनीतिक दलहरु मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति भयावह हुन्छ अन्दाज गर्नुहोला भनेर संसदमै भनेको थिएँ । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिनका लागि अदालत घुमिरहेको छु । समयआउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । गेट रेडी फर द रेभुलेसन ।’

उनले आफू आवेग र उत्तेजनामा नरहेको बताए । उनले भने, ‘देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ । एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवं भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामाआएर उत्तर दिने पक्षमा छैन ।’

लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको र बदर हुनुपर्ने माग राखी लामिछानेले निवेदन दर्ता गराएका हुन् । उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

मोरङमा एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् ।

यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो ।

प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा +२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए । कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छः मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद भुवनबहादुर सुनारको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोशी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको जनाए ।

मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेपानी आपूर्ति बढाउने मन्त्रालयको योजना रहेको बताए ।

तराई–मधेसका जिल्लाहरूमा भूमिगत पानीको सतह घट्दै गइरहेको हुँदा तराईका जिल्लाहरूमा तत्काल समस्या समाधान गर्न सम्बन्धित आयोजना कार्यालयबाट डिप बोरिङका आयोजनाहरु सुरु भइरहेको उनको भनाइ छ ।

मन्त्री यादवले भने, ‘लामो समयदेखि निर्माणाधीन अवस्थामा रही अधुरा रहेका तराई मधेसका ‘ओभरहेड ट्यााङ्की’लगायत २८० खानेपानी आयोजना प्रदेश र स्थानीय तहसँग समन्वय गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने गरी बजेटको तयारी भइरहेको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिई तराई मधेसका ३८ वटा खानेपानी आयोजनाको ठेक्कामार्फत निर्माण कार्य अघि बढाइएको छ ।’

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) को सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा पानीका स्रोत÷मुहानहरूलाई पुनर्जीवित गराउन अध्ययन–अनुसन्धान र मुहान संरक्षण कार्य सुरु गर्ने योजना रहेको मन्त्री यादवले जानकारी गराए । उनका अनुसार सुरक्षित खानेपानीको सुनिश्चितताका लागि प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन युनिट’ जडान कार्य अघि बढाइएको छ । 

युक्रेनबारे ‘गठबन्धन’ शिखर सम्मेलनको घोषणा

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकहरूको गठबन्धनका नेताहरूको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताएका छन् ।

ब्रसेल्समा इयूको शिखर सम्मेलनपछि म्याक्रोँले भने, “हामी आगामी बिहीबार पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा गठबन्धनको इच्छुक सदस्यको अर्को बैठक गर्नेछौँ ।’

“हामी युक्रेनी सेनाको लागि अल्पकालिक समर्थन र रूसी आक्रमण रोक्न युक्रेनको सशस्त्र बलको लागि दिगो मोडेलको रक्षा गर्न र युरोपेली सेनाहरूले प्रदान गर्न सक्ने सुरक्षा ग्यारेन्टीमा हाम्रो कामलाई अन्तिम रूप दिनेछौँ,” उने भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना रुससँग प्रत्यक्ष वार्ता सुरु गरेदेखि नै म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग मिलेर युक्रेनको समर्थनमा गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन् ।
म्याक्रोँले भने, “युद्धविरामलाई समर्थन गर्ने तरिकाबारे हामीले बेलायतसँग धेरै काम गरेका छौँ । कुनै पनि युद्धविराम विश्वसनीय छ भनेर सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ ।” फ्रान्सेली नेताले भने, “यो छलफल गर्ने र सुधार गर्ने अवसर हुनेछ।”

स्टार्मरले बिहीबार गठबन्धनमा चासो राख्ने राष्ट्रका करिब ३० जना वरिष्ठ सैन्य योजनाकारसँग वार्ताको आयोजना गर्दै युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको ‘राजनीतिक मनसाय’ ‘वास्तविकता’ बनिरहेको बताएका थिए ।

बेलायती नेताले भने, “सीमाको रक्षाको सम्बन्धमा चाहे त्यो समुद्र वा आकाशमा के हुन सक्छ ती योजनाहरू एकसाथ आउँदैछन् ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई पश्चिमी सैन्य सहायता बन्द गर्न माग गरेपछि उक्त समूहले के गर्न सक्छ भन्ने प्रश्न उठेको छ ।

स्टार्मर र म्याक्रोँ दुवैले आ–आफ्ना सेनालाई मैदानमा उतार्न तयार रहेको बताएका छन् ।

युक्रेनमा नेटो सैनिकको कुनै पनि उपस्थिति स्वीकार नगर्ने रुसले बताएको छ भने वासिङ्टनले जमिनमा सैनिक तैनाथ गर्नका लागि सुरक्षा सहायता गराउन इच्छुक हुने कुनै सङ्केत दिएको छैन ।

इन्डोनेसियाको माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोट, सतर्कता अपनाउन आग्रह

जकार्ता । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ ।

विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो । स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन ।

पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।

अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन् ।

विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन् ।

ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले विज्ञप्तिमा बताएको छ ।

नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए ।

एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो ।

इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो । यहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुन्छन् । यसमा एक सय २० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’ मा अवस्थित छ । रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे–नाल आकारको शृङ्खला हो ।

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।

म्याप बायोमास अनुगमन प्लेटफर्मको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ देखि गत वर्षसम्म देशले चार लाख हेक्टर जलीय सतह गुमाएको छ । यो लगभग अमेरिकी राज्य रोड आइल्यान्डको आकार बराबरको क्षेत्र हो ।

पछिल्लो १६ वर्षमा केवल सन् २०२२ ले वृद्धि देखिएको छ र १९८५ देखि मुलुकले सुक्खा, सहरी विकास र जमिनमुनिको पानीको सतहबाट अति पम्पिङका कारण करिब २४ लाख हेक्टर नदी र तालको सतह गुमाएको छ ।

“भूमि अधिग्रहण र उपयोगको गतिशीलता, साथै विश्व तापमानले गर्दा भएका चरम जलवायु घटनाहरूले ब्राजिललाई अझ सुक्खा बनाउँदै छन्”, म्यापबायोमास अगुआ प्रतिवेदनका समन्वयक जुलियानो शिर्मबेकले विश्व जल दिवसअघि प्रतिवेदनमा भनेका छन्, “यी तथ्याङ्कले यस प्रवृत्तिलाई उल्ट्याउने अनुकूलन जल व्यवस्थापन रणनीति र सार्वजनिक नीतिहरूको आवश्यकताबारे चेतावनीका रूपमा काम गर्दछन ।”

ब्राजिलले नोभेम्बरमा अमेजन राज्य पाराको राजधानी बेलेममा कोप–३० संयुक्त राष्ट्र जलवायु सम्मेलनको आयोजना गर्नेछ ।

ब्राजिलको सतहको लगभग दुई तिहाइ पानी अमेजनमा पाइन्छ, जसले ग्रह–तापक्रम कार्बन डाइअक्साइड अवशोषित गर्दछ र जलवायु नियमनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

गत वर्ष अमेजनमा सतहको पानीको विस्तार सन् २०२२ को तुलनामा ४५ लाख हेक्टरले सङ्कुचित भएको प्रतिवेदनले बताएको छ । यो डेनमार्कको आकारको क्षेत्र बराबर हो ।

गत वर्ष खडेरी र डढेलोले ध्वस्त पारिएको पान्टानल सिमसार क्षेत्र सन् २०२४ मा पानीको सतहबाट सबैभन्दा बढी प्रभावित बायोम थियो । यो सन् १९८५ पछि मापन गरिएको औसतभन्दा ६१ प्रतिशत कम थियो ।

मानव निर्मित जलाशय र बाँध जस्ता जलाशयहरू सन् १९८५ देखि ५४ प्रतिशतले विस्तार भए पनि यसले प्राकृतिक ताजा पानीको स्रोतको नोक्सानीको क्षतिपूर्ति गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । 

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार केही उडान पहिले नै मोडिएका थिए भने विमानस्थल अधिकारीहरूले विमानस्थल अधिकारीहरूले ‘आगामी दिनहरूमा महत्त्वपूर्ण अवरोधको अपेक्षा’ गरेका छन् ।

‘हिथ्रोले महत्त्वपूर्ण विद्युत् कटौतीको अनुभव गरिरहेको छ’, विमानस्थल अपरेटरले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा भने, ‘यो शुक्रवार मध्यरात (२३५९ जिएमटी) सम्म बन्द हुनेछ, विमानस्थल पुनः नखुलेसम्म यात्रुहरूले कुनै पनि परिस्थितिमा विमानस्थलमा यात्रा गर्नु हुँदैन ।’

लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा ‘उल्लेखनीय’ आगलागी भएको बताएको छ ।

‘आगलागीले ठूलो सङ्ख्यामा घर र स्थानीय व्यवसायलाई असर गर्ने विद्युत् कटौती निम्त्याएको छ र हामी अवरोधलाई कम गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गरिरहेका छौँ’, सहायक आयुक्त प्याट गलबोर्नले भने, ‘यो एक अत्यधिक दृश्यमान र महत्त्वपूर्ण घटना हो र हाम्रा अग्निशामकहरू आगोलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन चुनौतीपूर्ण अवस्थामा अथक रूपमा काम गरिरहेका छन् ।’

पर्थबाट आउने क्वान्टास उडान पेरिसको चाल्र्स डे गलमा मोडिएको थियो भने न्युयोर्कबाट युनाइटेड एयरलाइन्सको उडान आयरल्यान्डको श्यानोनमा अवतरण हुने भएको थियो । हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ । 

महायज्ञ प्रकरणः सिराहाका सिडीओ गृह मन्त्रालय तानिए

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालयमा तानेको छ । दाहाललाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ । महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ ।

यसैबीच, समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष समाजले माग गरेको हो ।

नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको १८ वर्ष बितिसकेको, नेपालको संविधान र कानुनले दण्डनीय अपराधका रूपमा किटान गरिसकेको अवस्थामा पनि जनप्रतिनिधिसमेत संलग्न भई विभेद गरी उठिबास लगाउने यस्ता कार्य हुनु जघन्य अपराध भएको समाजको ठहर छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

एसपीमा बढुवा भएका कार्की र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा गुप्तचर निकायका प्रमुख बर्खास्त

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पूर्वानुमान गर्न विफल भएको भन्दै देशको आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुखलाई पदमुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई हटाउने औपचारिक निर्णय गरेको हो । शिन बेट इजरेलको आन्तरिक गुप्तचर निकाय हो। युद्धमा यो निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले गर्ने गतिविधि र यसमा संलग्न हुने व्यक्तिहरूलाई राज्यले गोप्य राख्छ ।

प्रधानमन्त्रीका उच्च सहयोगीहरूले कतारको पक्षमा पैरवी गरिरहेको विषयमा शेन बेटको छानबिन गरिरहेको थियो । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा नेतन्याहू र बारबीच गम्भीर मतभेद थियो। दुवैले एकअर्कालाई विफल भएको आरोप लगाउने गरेका छन्।

यो निर्णयबाट बारलाई पदमुक्त गर्ने नेतन्याहूको योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई आक्रोशित तुल्याउने देखिन्छ । बार सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए ।

आइतबार एउटा भिडियो सन्देशमा नेतन्याहूले बारलाई पदमुक्त गर्ने आफ्नो उद्देश्य घोषणा गरेका थिए। उनले आफूहरूबीच ‘अविश्वास कायम’ रहेको र ‘समयक्रममा त्यो अझ बढेको’ बताए ।

यो घोषणाले आक्रोश उत्पन्न गराएको थियो र जेरुसलेममा सरकारविरोधी प्रदर्शनहरू चर्किएका थिए। इजरेलले गाजामा गरेका ताजा आक्रमणको विरोध गर्दै हजारौँ मानिसहरू सडकमा भेला भएका थिए । बारले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् ।

भिमादमा सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।

पुल दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।

विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे ।

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ ।

अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र सञ्चालन

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ ।

यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

बाँकेमा सुकुम्बासी आयोगद्वारा लगत सङ्कलन सुरु

नेपालगञ्ज । बाँकेका दुई पालिकाबाहेक छ स्थानीय तहमा सुकुम्बासी समस्या समाधान आयोगले लगत सङ्कलन सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाबाहेक, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, वैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाका जग्गा नापजाँचका लागि लगत सङ्कलन सुरु भएको यहाँस्थित सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ ।

आयोगका बाँके अध्यक्ष घननाथ खनालले राप्तीसोनारी गाउँपालिका–७ मा केही दिनअघि मात्रै जग्गाको नापजाँच सुरु गरेको जानकारी दिँदै जग्गाको लगत सङ्कलनका लागि जिल्लामा ३९ कर्मचारी परिचालन भएका बताए ।

“कतिपय स्थानमा लगत सङ्कलन अपुरो भएकाले र वास्तविक तथ्याङ्क आओस् भनेर जग्गाको लगत सङ्कलन सुरु गरेका हौँ”, उनले भने ।

यसअघि गठन भएको सुकुमबासी समस्या समाधान आयोगमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकामा १२ हजार ५२३, वैजनाथमा १० हजार ११२, नेपालगञ्जमा तीन हजार ४२, नरैनापुरमा दुई हजार ३४५ र जानकीमा दुई हजार ८१० कित्ता नापजाँचका लागि निवेदन परेको थियो ।

बाँकेमा दलित भूमिहीनतर्फ तीन हजार ६८१ कित्तामध्ये ८३९ कित्ता वास्तविक कित्ता भएको र त्यसलाई वडा कार्यालयबाट प्रमाणीकरण गरेको उल्लेख गर्दै भूमिहीन सुकुमबासीतर्फ छ हजार ७९८ कित्ता रहेको बताए । उनले बाँकेमा ४३ हजार २२६ कित्ता जग्गामा अव्यस्थित बसोबासीको रहेका जनाउँदै यही चैत १४ गतेपछि क्रमशः सबै ठाउँमा जग्गा नापजाँच गरिने योजना सुनाए ।

“कतिपय ठाउँमा विगतमा जग्गाको नापजाँच भएको तर जग्गाधनीले उपभोग गर्न नपाएको अवस्था छ, त्यसको अन्त्य गरिने छ”, उनले भने । चिसापानीदेखि कुसुम क्षेत्रको वन इलाकामा पनि नापजाँच हुने जानकारी उनले बताए ।

मुख्यमन्त्री सिंह र उत्तरप्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटघाट भएको छ ।

कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्मन्त्री सिंह र सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेटवार्ता भएको हो ।

भेटमा जानकीको पवित्र भूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको मुख्यमन्त्री सिंहले जानकारी दिएका छन् ।

त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेस प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोगलगायतका विषयमा भेट केन्द्रित भएको उनले बताए ।

ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि उनले चुनावी अभियानकै क्रममा शिक्षा मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको बताएका थिए । अब यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ ।

ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरु सबै कर्मचारीबाट ट्रम्पले कानूनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

वसन्त र एलिनाको ‘रिटिङ र्‍याइँ र्‍याइँ’

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ र्‍याइँ र्‍याइँ ’ सार्वजनिक भएको छ ।

भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द गीतकार राजेन्द्र थापाले लेखेका हुन् ।

अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ । डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भ्वाइससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन र कलर छ ।