`

रेशम पक्राउको छानबिन गर्न सांसद श्रेष्ठको माग

Nepal One HD २३ वैशाख २०८२ ११:४६
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले घटनाको गहिरो अनुसन्धान गर्न माग गरेकी हुन् । उनले यो घटनाले संघीयता र समावेशीतामा चोट लागेको बताइन् ।

उनले आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भन्ने सुनिश्चितताको मागसमेत गरेकी छन् । उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ दिइयोस्।’

उनले लोकतन्त्रप्रति विश्वास कायम रहने अवस्था बनाउन आग्रह गरिन् । उनले भनिन्, ‘लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् । र, सत्यप्रति सरकारको जवाफ नटुटोस् ।’

वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रका आधारमा रेशम चौधरी पक्राउ परी पाँच घन्टा डिल्लीबजार कारागारमा रहेर रिहा भएका थिए । सर्वोच्चका कर्मचारी विष्टलाई प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया