`

भ्रष्टाचार छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्न सांसद गुरुङको माग

Nepal One HD २३ वैशाख २०८२ १४:१९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद गुरुङले आयोग गठनको माग गरेका हुन् ।

सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।

त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति जफत हुनुपर्ने उनको भनाइ छ ।

उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि प्रस्तुत नीति तथा कार्यक्रमको स्वागद गर्दै सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिए । उनले संविधान संशोधनका निम्ति सर्वदलीय समिति गठन गरिनुपर्ने बताए ।

उपसभापति गुरुङले सरकार गठनका क्रममा राजनीतिक दलबीच समन्वय, आपसी संवाद, सहकार्य र सहमति भए जस्तै देशको विकासका निम्ति पनि दलहरुबीचको सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘फरक पार्टी वा फरक विचार हुँदैमा शत्रुतापूर्ण व्यवहार नगरौँ, हाम्रो साझा शत्रु गरिबी हो, गरिबीको विरुद्ध लागौँ,’ उनले भने ।


प्रतिक्रिया