भारतद्वारा पाकिस्तानमाथि आक्रमण


बीबीसी । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ ।
भारतको रक्षा मन्त्रालयका अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिइएको उक्त कारबाही अप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई ‘जबाफदेह’ बनाउने ‘प्रतिबद्धता’को हिस्सा हो ।
गत महिना भएको उक्त पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई ‘अकारण’ भनेको छ र प्रधानमन्त्री शेहबाज शरिफले उक्त ‘दुष्टतापूर्ण आक्रामण’को बदला लिइने बताएका छन् ।
दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ । ती स्थानमा ‘आतङ्कवादी संरचनाहरू’ भएका र त्यहाँबाट भारतविरुद्धका हमला ‘नियोजित र निर्देशित’ भएको उसको दाबी छ ।
उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही ‘केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी’ भएको जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जियो टिभीसँग कुरा गर्दै ती हमलाले गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन्।
उनका अनुसार भारतले ‘आतङ्कवादीका शिविरलाई लक्षित गरिएको’ भनेर झुटो बोलेको हो । पाकिस्तान सेनाका प्रवक्ता अहमद शरिफले बीबीसीलाई दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताए ।
पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणपश्चात् दक्षिण एशियाका यी दुई परमाणुशक्तिसम्पन्न देश भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पृथ्वीको जुनसुकै कुनासम्म’ पुगेर भएपनि सन्दिग्ध आक्रमणकारी तथा तिनका योजनाकारलाई खोजिने अनि ‘तिनको कल्पनाभन्दा कडा सजाय दिइ’ चेतावनी दिएका थिए।